हाम्रो समयको जुद्धोदय पब्लिक हाई स्कुल
मैले अघिल्लो साताबाट आफू पढेको जुद्धोदय पब्लिक हाई स्कुलबारे धारावाहिक शृंखला लेख्न थालेको छु।
काठमाडौंको क्षेत्रपाटी चाक्सीबारी क्षेत्रमा रहेको जुद्धोदय पब्लिक हाई स्कुल (जेपी हाई स्कुल) देशका पुराना स्कुलमध्ये पर्छ। असी वर्ष पार गरिसकेको यो स्कुलमा मैले शैक्षिक वर्ष २००९/१० देखि २०१५/१६ सम्म जम्मा सात वर्ष बिताएको थिएँ।
अघिल्लो अंकमा मैले स्कुल स्थापनाबारे र हामी पढाउने मास्टर साहेबहरूबारे चर्चा गरेँ।
अब अगाडि —
भाग २ : शैक्षिक सत्र र परीक्षा
स्कुल वर्षको दस महिना चल्थ्यो। फागुन पहिलो साता नयाँ शैक्षिक सत्र सुरू हुन्थ्यो भने अर्को वर्ष मंसिरमा सकिन्थ्यो। पुस–माघ मीनपचास (हिउँद) बिदा हुन्थ्यो।
परीक्षाको कुरा गर्दा हामीले अर्धवार्षिक र वार्षिक गरी प्रत्येक वर्ष दुइटा परीक्षा दिनुपर्थ्यो। अर्धवार्षिक परीक्षा असार तेस्रो साता र वार्षिक परीक्षा मंसिर पहिलो वा दोस्रो साता हुन्थ्यो। मंसिरमा भएको परीक्षाको नतिजा मंसिरकै अन्त्य वा पुस पहिलो साता आउँथ्यो। समग्रमा वर्षभरिमा २०० दिन पढाइ हुन्थ्यो।
परीक्षाफल प्रकाशित भएको केही दिनमा नयाँ पाठ्यपुस्तकको सूची दिइन्थ्यो। अनि पुस–माघको मीनपचास बिदा सुरू भई फागुन १ गते नयाँ शैक्षिक सत्रका कक्षा चल्थे।
नयाँ शैक्षिक सत्र सुरू हुँदा नै पाठ्यपुस्तकसहित स्कुल पुग्नुपर्थ्यो। पाठ्यपुस्तक मखनटोलस्थित चिनियामान प्रकटमान सिंहको पुस्तक पसल र भोटाहिटीस्थित रत्न पुस्तक भण्डारमा किन्न पाइन्थ्यो।
भोटाहिटीमा पुराना किताब बेच्ने पसल पनि थियो। त्यहाँ पाठ्यपुस्तक सस्तोमा किन्न पाइन्थ्यो। कहिलेकाहीँ खाजा खान वा सिनेमा हेर्न पैसा नभए विद्यार्थीहरू आफूले पढ्नुपर्ने पाठ्यपुस्तक पनि त्यही पसलमा बेचबिखन गर्थे।
कक्षा समय र स्कुल आवतजावतको तरिका
स्कुलको कक्षा मौसमअनुसार चलाइन्थ्यो। गर्मी मौसमको दुई महिना वैशाख र जेठमा बिहान ७ देखि १० बजेसम्म कक्षा चल्थे। अरू महिना कक्षा १० बजे सुरू भई साँझ ४ बजेसम्म चल्थे।
बिहान कक्षा चल्दा हामी सबेरै उठ्थ्यौं। हतारहतार हातमुख धोएर किताब–कापी बोकेर वा झोलामा हालेर स्कुल कुदिहाल्थ्यौं।
स्कुलबाट फर्केर एकैपटक बिहानको खाना खाइन्थ्यो। दिउँसो कक्षा चल्दा भने ९ बजेतिर दाल, भात, एक थोक तरकारी खाएर स्कुलको बाटो लाग्थ्यौं। हाम्रो घर, अर्थात् झोछेँबाट स्कुल जान साधारणतया हामी काठमाडौं गणेशस्थान निस्कन्थ्यौं र त्यहाँबाट प्याफल, नरदेवी, रक्तकाली हुँदै क्षेत्रपाटीको सरस्वती मन्दिर फनक्क घुमेर स्कुल पुग्थ्यौं।
बाटोमा कहिलेकाहीँ सहपाठी दामोदर अर्याल, मिर्सुमान पिया, पशुपतिभक्त महर्जन, विनयराज पाण्डे वा बालकृष्ण सुवालसँग भेट हुन्थ्यो। फर्किँदा भने धेरै जना साथै हुन्थे। तिनमा केशरलाल श्रेष्ठ, विष्णु मानन्धर, जितेन्द्र मानन्धर, मोहनगोपाल खेतान आदिको नाम सम्झना आउँछ।
स्कुल समयपछि क्षेत्रपाटी र नरदेवीको बाटो घर फर्कन मन लाग्दैन थियो। त्यसैले साधारणतया थँहिति, बाँगेमुढा, इन्द्रचोक, नयाँसडक, जुद्धसडक भएर घुम्दै फर्किन्थेँ।
त्यति बेला स्कुलमा युनिफर्म लगाउने चलन थिएन। हामी आ–आफ्नो गक्षअनुसारको लुगामा स्कुल जान्थ्यौं। तैपनि अग्रज दाइ, सहपाठीहरू र कनिष्ठ कक्षाका भाइहरू साधारणतया कमिज–सुरूवालमा हुन्थे। म भने जाडोको समयबाहेक प्रायः खाकीको कट्टु र सेतो कमिज लगाएर स्कुल जान्थेँ।
जुत्ताको हकमा मेरा बा, काका र बाजे स्व. कविराज मुक्तिनाथ शर्मा ढुंगेल समेतले धेरै वर्ष पैतृक थलो भक्तपुर कटुञ्जेका सार्की दाइहरूले घरमै काँचो छालाबाट तयार गरेको जुत्ता लगाउनुभयो। त्यस्तो अवस्थामा हामीले छालाको जुत्ता पाउने सम्भावना एकदमै कम थियो।
एकाध दसैंमा बाजेले हाम्रो — म र भाइहरू (स्कुल जाने समयमा काकाका छोरासमेत हामी जम्मा पाँच भाइ थियौं) निम्ति कटुञ्जेका सार्की दाइहरूलाई छालाको जुत्ता सिउन लगाएको सम्झना छ। त्यसैले म छालाको जुत्ता लगाएर बिरलै स्कुल गएँ हुँला। रबरको चट्टी (स्लीपर) वा टेनिस सू लगाएर जान्थेँ। कतिपटक त खाली खुट्टै पनि स्कुल पुगेको सम्झना छ।
स्कुल जाँदा सधैं कक्षामा पढाइने किताब, कापी, बाँसको कलम वा काठको नीब राख्ने कलम र निलो रंगको स्वान मसीको सिसी लिएर जानुपर्थ्यो। तल्लो कक्षामा हुँदा यी सबथोक हातमा बोकेर वा खल्तीमा हालेर लगेको सम्झना छ। माथिल्लो कक्षामा किताब र कापी बढी भएकाले सूचिकारले सिएको खाकीको झोलामा राखेर, त्यसलाई जनै लगाएझैं काँधमा भिरेर फटाफट हिँड्दै स्कुल पुग्थेँ।
भौतिक सुविधा र विभिन्न सेक्सनमा कक्षा सञ्चालन
श्री ३ महाराज जुद्धशमशेरका छोरा बहादुरशमशेरले क्षेत्रपाटीको चाक्सीबारी क्षेत्रमा चन्दास्वरूप जमिन प्रदान गरेपछि त्यही स्थानमा २००६ सालमा दुईतले भवन निर्माण भएको स्कुलसम्बन्धी दस्तावेज पढ्दा थाहा भयो।
भवन बनाउन पनि श्री ३ जुद्धशमशेरबाट चन्दा प्राप्त भएको रहेछ। देहरादुन बस्न गएपछि पनि श्री ३ जुद्धले स्कुललाई आर्थिक सहायता दिएछन्।
यसरी क्षेत्रपाटीमा आफ्नै भवन बनेपछि भाडाको घरमा चल्नुपर्ने स्थितिबाट स्कुलले छुटकारा पाएछ। त्यसअघिसम्म बिरालोले बच्चा सारेझैं नयाँ सडक क्षेत्रको एक घरबाट अर्को घरमा स्कुल सरेकोबारे मैले अघिल्लो अंकमा चर्चा गरिसकेँ।
म चार कक्षामा भर्ना हुन जाँदा स्कुलको दुईतले भवन थियो। दक्षिणतर्फ मुख्य मोहडा भएको तथा पूर्व–पश्चिमतर्फ लाम्चो आकारको थियो स्कुलको दुईतले भवन, जसको चित्र तल दिइएको छ।
विद्यार्थी संख्या धेरै भएकाले तल्लो कक्षामा ए, बी र माथिल्लो कक्षामा ए, बी र सी सेक्सनमा राखेर पढाइन्थ्यो। के आधारमा कसलाई कुन सेक्सनमा राखिन्थ्यो भन्ने सम्झना छैन।
तल्लो कक्षामा हुँदा म 'ए' सेक्सनमा थिएँ भने माथिल्लो कक्षामा 'बी' मा थिएँ। यसबारे सहपाठी महेन्द्ररत्न ब्रजाचार्यसँग सोध्दा यस्तो जवाफ पाएँ, 'उमेर पाको भएका र उचाइ अग्लो भएकालाई 'ए' सेक्सनमा राखिन्थ्यो भने केटाकेटी देखिने र ऐच्छिक विषयमा हिसाब, भूगोल र नागरिकशास्त्र लिएकालाई 'बी' मा राखिन्थ्यो। त्यस्तै, इतिहास विषय लिएकालाई 'सी' मा राखिन्थ्यो।'
मेरो अनुहार केटाकेटीजस्तै देखिने र नागरिकशास्त्र लिएकाले 'बी' मा परेको थिएँ होला!
स्कुलको माथिल्लो तलाका कोठामा सिलिङ ठोक्ने काम २०१४ सालमा सम्पन्न भएको थियो। यसका लागि विद्यार्थीहरूबाट समेत गच्छेअनुसार चन्दा (एक रूपैयाँसम्मको) उठाइएको थियो। हामीले पनि चन्दा दिएको धमिलो सम्झना छ। कक्षा अपुग भएको देखेर तेस्रो तला थप्न भारतीय राजदूत भगवान सहायले स्कुललाई २० हजार नेपाली रूपैयाँ चन्दा दिएका थिए। तैपनि रकम अपुग भएकाले तला थप्ने काम सम्पन्न भएको थिएन। हामी पढ्दा (२०१६ साल) सम्म स्कुल भवन दुईतले नै थियो (हेर्नुहोस् चित्र १)।
स्कुलको अघिल्तिर सानो चोक थियो भने पछाडि दुई हात खाली जग्गा पनि थिएन। त्यहाँ चर्पीहरू बनेका थिए। चर्पीसँगै जोडिएर स्कुलको जमिन छुट्टयाउने गरी तारबार लगाइएको थियो। तारबारको उत्तरतर्फ पूर्व–पश्चिम फैलिएको ठूलो चाक्लो धानको खेत थियो।
मैले सम्झेसम्म खेतको सिमानाले चाक्सीबारीस्थित गणेशमान सिंहको घरजग्गाको सिमाना छुन्थ्यो।
पछाडि जमिन नभएकाले भवनको अघिल्तिरको खाली ठाउँ (चोक) पनि स्कुल भवनजस्तै पूर्वदेखि पश्चिमतर्फ लाम्चो परेको थियो। चौडाइका हकमा त्यस्तै १५–२० मिटर थियो होला। त्यही खाली ठाउँमा स्कुलका विभिन्न कार्यक्रम आयोजना गरिन्थे। खाली समयमा विद्यार्थी यताउता कुद्न र एकआपसमा बिगो गर्न प्रयोग हुने ठाउँ पनि त्यही थियो।
त्यसको पूर्व, दक्षिण र पश्चिममा अग्लो पर्खाल थियो। दक्षिणपट्टिको बीच भागमा स्कुलको मूलढोका थियो, जुन कक्षा चलेको दिन बिहान, दिउँसो हाफ–टाइम र साँझ बिदा बेला मात्र विद्यार्थीका लागि खुला हुन्थ्यो।
पछाडिपट्टिको जमिन दिलाइदिने आश्वासन श्री ३ जुद्धशमशेरका छोरा शशिशमशेरले नयाँ दिल्लीमा हेडमास्टर रामजीप्रसाद शर्मासँग भेट हुँदा दिएका रहेछन्। तर जमिन हामीले स्कुल छाडेको धेरै वर्षपछि २०२० सालमा राजा महेन्द्रको प्रयासमा प्राप्त भएछ।
स्कुलको पछाडिपट्टिको जग्गा उपलब्ध गराइदिनेबारे तत्कालीन श्री ५ को सरकार (मन्त्रिपरिषद) ले २०२० वैशाख २७ गते निर्णय गरेर त्यससम्बन्धी जानकारी त्यसै वर्ष चैत १७ गते नेपाल गजेटको भाग ३ मा प्रकाशित गरेको थियो (हेर्नुहोस् चित्र २)।
स्कुलको पूर्व र पश्चिमतर्फ दुवै लङमा दोस्रो तला उक्लने काठका भर्याङ थिए। भवनको मुख्य मोहडामा दुवैतर्फ काठका बार्दली थिए। माथिल्लो तलाको बीचमा हेडमास्टर र मास्टरहरू बस्ने कोठा थियो भने त्यसको ठिक तल ठूलो विज्ञान कक्षा थियो।
मासिक शुल्क तिर्ने कक्ष मूल भवनभन्दा बाहिर चोकको पूर्वी खण्डमा थियो। सुरू सुरूका वर्षमा हामी त्यही कोठामा शुल्क बुझाउँथ्यौं। शुल्क बुझ्न मास्टर शंकरमणि आदी बसेका हुन्थे। पछि शुल्क बुझ्न अर्कै कर्मचारी नियुक्त भएका थिए।
बाह्रकोठे भवनको एघार कोठामा कक्षा चल्ने गरेको मलाई सम्झना छ। ती प्रत्येकमा काठका कुर्सी र काठकै डेस्क थिए। पस्ने ढोकाको सँगैको भित्तामा कालो रंगले पोतेका काठमा बोर्ड झुन्ड्याइएको थियो। मास्टरहरूले त्यसैमा सेतो चकले लेखेर पढाउँथे। मेट्न डस्टर प्रयोग गर्थे।
कक्षामा जुनसुकै कुर्सीमा बस्न छुट थियो। सामान्यतया पहिले कक्षा प्रवेश गर्नेले पहिलो लहर प्रयोग गर्थे। प्रत्येक डेस्कमुनिको खण्डमा किताब र कापी राख्ने लामो र्याक हुन्थ्यो। हामी त्यसैमा किताब–कापी राख्थ्यौं। एउटै बेन्चमा पाँच–छ जनासम्म विद्यार्थी बस्नुपर्ने अवस्था थियो। त्यसैले पहिलो बेन्चका लागि प्रतिस्पर्धा हुने गरेको पनि सम्झना छ।
दक्षिणतर्फ मोहडा भएका कक्षामा गर्मी धेरै हुन्थ्यो। जाडोमा भने खासै समस्या हुँदैन थियो। उत्तरतर्फका कक्षामा जाडोमा दुःख पाइन्थ्यो। कहिले कक्षा सकिएला र केही बेर भए पनि बार्दली वा बाहिर चोकमा निस्केर घाम ताप्न पाइएला भन्ने लाग्थ्यो। प्रत्येक कक्षा एक घन्टाको हुन्थ्यो।
कक्षामा प्रवेश गरेपछि मास्टरले सबभन्दा पहिले हाजिर लिन्थे। फलानो भनेर बोलाएपछि हाजिर भन्नुपर्थ्यो।
मास्टरलाई कक्षा सञ्चालनमा सहायता पुर्याउन एक जना विद्यार्थीलाई अनुशासन कायम गर्ने 'मनिटर' छानिएको हुन्थ्यो। मनिटरको आफ्नै सानसौकत हुन्थ्यो, अन्य विद्यार्थीका अगाडि। सामान्यतया पढ्ने वा हट्टाकट्टा विद्यार्थीलाई मनिटर बनाइन्थ्यो। म कहिल्यै मनिटर बन्न पाइनँ। किनभने, म पढाइमा राम्रो विद्यार्थी थिइनँ, न हट्टाकट्टा नै थिएँ। दुब्लो, पातलो र च्याँसे केटा थिएँ।
मास्टरले पढाउनुपर्ने पिरियड र पढाउने तरिका
प्रत्येक मास्टरले दिनमा पाँच पिरियड पढाउनुपर्थ्यो। उनीहरू एक पिरियड कापी जाँचेर बिताउँथे। मास्टरहरू छडी लिएर कक्षा प्रवेश गर्थे। त्यसलाई अघिल्तिरको टेबलमा राख्थे। छडी अनुशासन कायम गर्ने र मास्टरी जनाउने साधन थियो।
कक्षा प्रवेश गरेर १० मिनेटजति हाजिर लिएपछि दिएको पाठ गरे कि गरेन भनेर मनिटरको सहायतामा हेर्ने काम हुन्थ्यो। पाठ नगरेको भए वा गलत गरेको भए कुटाइ खानुपर्थ्यो। यति मात्र होइन, मनिटरमार्फत् स्ट्यान्डअप भनेर बेन्चमा पनि उभ्याइन्थ्यो।
तल्लो कक्षाका विद्यार्थीको पाठका कापी मास्टरले कापी जाँच्न छुट्टयाइएको समयमा जाच्थे। अर्थात्, पाँचौं र छैठौं कक्षाका विद्यार्थीहरूको कापी कक्षामै शुद्ध गरिन्थ्यो भने माथिल्लो कक्षा; सातदेखि दससम्मका विद्यार्थीलाई महिनाको चारपटक लेख्ने पाठ दिइन्थ्यो र तिनलाई जाँच्ने काम मास्टर साहेबहरूबाट हुन्थ्यो। यसका लागि मास्टर साहेबहरूलाई दैनिक पाँच पिरियड पढाएपछि एक पिरियड समय दिन्थ्यो (स्कुल पत्रिका, २०१८, पृष्ठ ६)।
हाजिर लिने र पाठसम्बन्धी काम सिध्याएपछि मास्टर किताब–कापी झिक्न लगाउँथे अनि बोर्डमा लेखेर वा किताब हेरेर पढाउँथे। एकोहोरो बोलेर वा बोर्डमा लेखेर पढाउने चलन थियो। बीच बीचमा 'बुझ्यौ' भनेर सोध्थे। त्यस्तो बेला मात्र विद्यार्थीहरू आफूलाई लागेको प्रश्न सोध्थे। होइन भने पढाइरहेका बेला बीचमा बोल्ने हिम्मत हुँदैन थियो।
कक्षामा धेरै विद्यार्थी हुने हुँदा मास्टरहरूले प्रत्येक विद्यार्थीलाई ध्यान दिन सक्दैनथे। तर कमजोर विद्यार्थीलाई ध्यानमा राखेर माथिल्लो कक्षामा विभिन्न विषयमा सहायक कक्षा चलाइएको सम्झना छ। अंग्रेजीको कक्षामा हरिहरनाथ रेग्मीसँग पढेको पनि म सम्झन्छु। यस्ता कक्षामा हरेक साता एक–एक विषयको प्रश्नको उत्तर तयार गराउने कार्यक्रम चलाइएको कुरा स्कुल पत्रिकामा उल्लेख छ (२०१६ साल)।
हरेक दुई पिरियडपछि १० मिनेट विश्राम दिइन्थ्यो। त्यस बेला विद्यार्थीले शौचालय जाने र पानी पिउने गर्थे। त्यो १० मिनेटको छुट्टीमा कक्षा जाने घन्टी बजे पनि कोही कोही हल्ला गरिरहन्थे। हेडमास्टर रामजीप्रसाद शर्मा र सेकेन्ड मास्टर रामलाल मानन्धर छडी लिएर 'कक्षा जाऊ' भन्दै धपाउन आएको सम्झना छ।
विद्यार्थीहरू मौका पाउनासाथ भाग्न खोज्नु स्वाभाविक नै हुन्छ। कोही भाग्थे पनि। यस्तो बानी रोक्न कक्षामा स्कुल पत्रिकाबाट प्राप्त जानकारीअनुसार तीनपटक हाजिर लिइन्थ्यो। हाजिर गर्दा कुनै केटा भागेको देखिए उसको नाउँ र क्रमसंख्या भगुवा कापीमा टिपिन्थ्यो र भोलिपल्ट सजाय दिइन्थ्यो (स्कुल पत्रिका, २०१८, पृष्ठ ८)। तर मलाई सम्झना भएसम्म प्रत्येक कक्षामा हाजिर लिने चलन थियो।
दिउँसोको फुर्सद/खाजा खाने समय
बिहानको पहिलो कक्षा चल्ने घन्टी लागेपछि स्कुलको मूलढोका बन्द हुन्थ्यो। त्यसपछि दिउँसो १ बजे हाफ–टाइममा आधा घन्टाका लागि ढोका खुल्थ्यो। अतः कारणवश शिक्षक अनुपस्थित भई कक्षा नचले स्कुलको अघिल्तिरको चोकमा बस्न पाइन्थ्यो। तर हल्ला गर्न पाइँदैन थियो।
चोकमा बस्न पाइनुको कारण स्कुलमा पुस्तकालय नभएर होला। अन्यथा, मास्टर साहेबहरूले शिक्षक अनुपस्थित हुँदा पुस्तकालयमा पढ्न जाऊ भन्थे होलान्। तर सामान्यतया हेडमास्टरले कक्षा खाली रहन दिँदैन थिए। त्यसमा पनि हातमा छडी लिएर हिँडेका हेडमास्टर र सेकेन्ड मास्टरले खाली समय चोकमा हल्ला गरेर बसे पिँडौला वा ढाडमा छडी प्रयोग गरिहाल्थे।
पाले दाइहरू पनि हेडमास्टर र मास्टरहरूभन्दा कम थिएनन्। हल्ला गरे वा ठूलो स्वर गरे फेला पारिहाल्थे। अनुशासन कडा थियो। यताउता गर्न कहाँ पाउनु!
हाफ–टाइम सकिएको घन्टी बज्यो कि कक्षामा पसिहाल्नुपर्थ्यो। तर विद्यार्थी न भयौं, ढाडमा राम्रैसँग छडी बर्से पनि हल्ला गर्न र कक्षा पस्न ढिलाइ गर्न कहाँ छाडिन्थ्यो र!
मेरो बा (पिताजी) बिहानको समय प्याफलस्थित काठमाडौं मेडिकल हलमा कम्पाउन्डर काम गर्नुहुन्थ्यो। स्कुल जाँदा कहिलेकाहीँ खाजा खर्च भनेर दुई वा पाँच पैसे ढ्याक दिनुहुन्थ्यो। त्यो पनि सधैं पाइँदैन थियो। कम्पाउन्डर जागिर, त्यसमाथि बिहानीपखको अतिरिक्त जागिरमा मलाई हरेक दिन खाजा खर्च दिन पुग्ने के तलब हुन्थ्यो होला र!
जुन दिन दुई पैसे वा पाँच पैसे ढ्याक पाउँथेँ, त्यस दिन दिउँसोको खाजा स्कुलको ढोकाअगाडि नाङ्लोमा बेच्न राखेको आलुको बारा वा तिलौरी, लट्टेपापा र चना किनेर खान्थेँ। बिहान स्कुल नचल्दाको गर्मीका दिनमा त आइसबक्समा राखेको आइसक्रिम किनेर खाँदैमा पैसा सकिन्थ्यो। ठोस कुरा किन्न पैसा हुँदैन थियो। एक प्रकारले म ठन्डारामको स्थितिमा हुन्थेँ।
होटलमा गएर खाजा खान सक्ने विद्यार्थी र शिक्षक वर्ग क्षेत्रपाटीको पञ्चनारायण मानन्धरको होटलमा पुग्थे, अनि आलुदम वा पनिरको तरकारी, चिउरा र चिया खान्थे। पन्ध्र वा २५ त्यस्तै कति पैसा पर्थ्यो कुन्नी!
कहिलेकाहीँ कक्षा; खासगरी इतिहासको कक्षामा राम्रो गरे पढाउने मास्टर साहेब विजयनन्दन जोशी पैसा (१० वा एक सुकी?) दिनुहुन्थ्यो। त्यस्तो बेला पञ्चनारायणको होटल पुग्दा आजको शब्दमा पाँचतारे होटल पुगेजस्तो हुन्थ्यो।
स्कुलबाट घर फर्केपछि भने सधैंजसो खाने खाजा भनेको भुटेको मकै र भटमास नै हुन्थ्यो। घरमा गाई पालेकाले मही प्रशस्त खान पाइन्थ्यो। महीको कुरा सम्झँदा बेलाबेला बिहान पकाइने ढिँडो महीमा मुछेर खाइन्थ्यो।
शारीरिक शिक्षा, स्काउट कार्यक्रम तथा शैक्षिक भ्रमण कार्यक्रम
सात वा आठ कक्षामा होला (२०१३ साल) शारीरिक शिक्षा कार्यक्रम (पिटी) सञ्चालनका लागि देवनाथ सेन शिक्षक नियुक्त गरिए। उनले शारीरिक शिक्षा कार्यक्रम सञ्चालन गर्न थाले। स्काउट शिक्षकका रूपमा उदयमान श्रेष्ठ कार्यरत छँदै थिए।
२०१४ सालदेखि प्रत्येक कक्षालाई शारीरिक शिक्षा अनिवार्य गरिएको थियो। एकातिर स्कुलमा यस्ता कार्यक्रम सञ्चालन हुँदै थिए भने अर्कातर्फ घरमा भने पढ्नेबाहेक अन्य कार्यक्रममा भाग लिन प्रोत्साहन गरिँदैन थियो। फेरि दुवै कार्यक्रमका लागि विशेष खालको पोसाक तयार गराउनुपर्थ्यो, जसले घरमुलीलाई थप आर्थिक भार पर्थ्यो।
यी कारणबाट स्काउट तालिममा नाम लेखाउने कुरै थिएन। तर जब शारीरिक शिक्षा कार्यक्रम चल्न थाल्यो, तब घरमा विद्रोह गरेरै भए पनि नाम लेखाएँ। अनि रोई–कराई भए पनि सेतो पाइन्ट सिलाउन सफल भएँ। पछि सेतो कमिज चाहियो, त्यसका लागि पनि रोई–कराई गर्नुपर्यो। टाई र जुत्ताका लागि कतिपटक रोई–कराई गर्नुपर्यो, त्यो चाहिँ सम्झना भएन।
पाइन्ट भने झोछेँमै सिलाएको सम्झना छ। कमिज सिलाउन पाटन पुग्नुपरेको थियो। स्कुलको शुल्क बाजेले दिनुहुन्थ्यो भने बाबाट शारीरिक शिक्षाको लुगाको खर्च गराएँ। यसरी शारीरिक शिक्षा कार्यक्रममा भाग लिन म समर्थ भएँ।
स्कुलले बेलाबेला उपत्यकाभित्र वा बाहिर तथा देशबाहिर पनि शैक्षिक भ्रमण कार्यक्रम सञ्चालन गर्थ्यो। यसरी सञ्चालन गरिएका केही कार्यक्रममा विद्यार्थीले पनि केही रकम तिर्नुपर्थ्यो भने कुनैमा पर्दैन थियो। पैसा तिर्नुपर्ने कार्यक्रममा जान पितामह स्व. कविराज मुक्तिनाथसँग माग्ने कुरा हुँदैन थियो। किनभने, उहाँलाई घर चलाउन र नातिहरूलाई पढाउन खर्च बेहोर्नुपर्थ्यो। बालाई यस्ता कुराप्रति खासै ध्यान थिएन। त्यसैले विद्यार्थीले तिर्नुपर्ने गरी आयोजित कार्यक्रममा भाग लिने कुरा हुँदैन थियो। अन्यमा भने म सक्दो भाग लिन्थेँ।
म स्कुलको विद्यार्थी छँदा २०१४ र २०१५ साल गरी लगातार दुई वर्ष स्कुलले हेडमास्टरको नेतृत्वमा केही विद्यार्थीलाई शैक्षिक भ्रमणका लागि क्रमशः पूर्वी नेपाल, भारत र उत्तरी भारतको भ्रमणमा लगेको थियो।
हाम्रो स्कुलका आंशिक मास्टर कीर्तिरत्न बज्राचार्य राजा महेन्द्रको सचिवालयका असिस्टेन्ट सेक्रेटरी पदमा कार्यरत थिए। यो र प्रवेशिका परीक्षा लगायतका शैक्षिक गतिविधिमा राम्रो गरेकोबारे जानकारी हुनाले राजा महेन्द्रको हाम्रो स्कुलप्रति राम्रो दृष्टिकोण रहेको बुझिन्छ। साथै, स्कुलका हेडमास्टर रामजीप्रसाद शर्माको राजासँग पहुँच पनि सहज हुनुपर्छ। अन्यथा, जब उनले भारतको शैक्षिक भ्रमणको सोच बनाए र यसबारे जानकारी दिन तथा सहयोगको अपेक्षा गर्दै भेट्न अनुरोध गरे, तब उनलाई राजाले तुरून्तै भेट्ने समय दिए।
तोकिएको समयमा हेडमास्टर शर्मा केही विद्यार्थी समेतलाई लिएर राजा महेन्द्रलाई भेट्न नारायणहिटी राजदरबारस्थित उनको कार्यालय पुगे र शैक्षिक भ्रमणको कार्यक्रम बताए। राजा महेन्द्रले शैक्षिक भ्रमणमा जानु ठिक हो, तर पहिले आफ्नै देश भ्रमण गर्नु ठिक होला भन्ने सुझाव दिए। साथमा १० हजार रूपैयाँ आर्थिक सहायता पनि दिएको सम्झना गर्ने २०१५ सालको दस कक्षा समूहका डा. माधव गौतम छँदै छन्।
यति मात्र होइन, डा. गौतमका अनुसार राजाको सहयोगकै कारण १८ जना विद्यार्थीले ५० रूपैयाँ तिरेर कात्तिक ९ देखि २० दिनसम्म ८ शिक्षकका साथ नेपालको पूर्वी पहाडी जिल्ला इलामको इलाम र कर्फोक लगायत विराटनगर, धरान, चतरा, जनकपुर, जलेश्वर आदि स्थान भ्रभण गर्न पाए (स्कुल पत्रिका, २०१४)।
त्यस क्रममा भारतको रेल र मोटर बाटो प्रयोग गर्नुका साथै नेपालभित्र जयनगर-जनकपुर रेल र ट्रकमा यात्रा गर्नुपरेको पनि डा. गौतम सम्झना गर्छन्।
अर्को वर्ष दसैंको छुट्टीमा भारत सरकार (राजदूत भगवान सहाय, भारतीय राजदूतावास काठमाडौं र भारत सरकार) को सहयोगमा १६ जना विद्यार्थी तथा ९ जना शिक्षकले रक्सौलको बाटो समातेर २२ दिन भारतका विभिन्न स्थान भ्रमण गरे (स्कुल पत्रिका, २०१५)। भ्रमण टोली कलकत्ता, पुरी, मद्रास, बैंगलोर, पुना, बम्बई, वनारस आदि स्थानका सांस्कृतिक, धार्मिक र शैक्षिक केन्द्रहरू भ्रमण गरेर मुजफ्फरपुर–रक्सौल, वीरगन्ज तथा त्रिभुवन राजपथ हुँदै काठमाडौं फर्केको सम्झना गर्छन् भ्रमण दलमा संलग्न डा. माधव गौतम, डा. विजयलाल श्रेष्ठ र विष्णु मान्नधर।
भारत भ्रमणका लागि विद्यार्थीहरूले कति तिर्नुपरेको थियो भन्नेबारे यी तीन जनाबीच मतैक्य पाइएन। कसैको भनाइमा २००–३०० रूपैयाँ तिर्नुपरेको थियो भने कसैको भनाइमा एक हजारदेखि बाह्र सय रूपैयाँ तिर्नुपरेको थियो। दुवै भ्रमणको विस्तृत विवरण हेडमास्टर रामजीप्रसाद शर्माले स्कुलको २०१४ साल र २०१५ सालको पत्रिकामा प्रकाशित गरेका छन्।
प्रकाशित विवरणमा शर्माले आफ्नो देशभित्र भ्रमण गरेपछि मात्र भारतको शैक्षिक भ्रमण गर्न राजा महेन्द्रले दिएको सल्लाह र सुझावको स्मरण गरेका छन्।
उनले भारत भ्रमण क्रममा बैंगलोरमा श्री ३ महाराज तथा पूर्वप्रधानमन्त्री मोहनशमशेर जबरा र पूर्व रक्षामन्त्री बबरशमशेर जबरासँग भएको भेटको वर्णन पनि गरेका छन्। भारत भ्रमणमा जानुअघि भारतीय राजदूत भगवान सहायले भ्रमण टोलीमा संलग्न शिक्षक तथा विद्यार्थीहरूलाई बिदाइस्वरूप रात्रिभोज आयोजना गरेका थिए (हेर्नुहोस् चित्र ३)।
दोस्रो भ्रमणपछि पनि भारतको शैक्षिक भ्रमण गरेजस्तो लाग्छ। सम्भवत: जेपी नै पहिलो स्कुल हुनुपर्छ जसले विक्रम सम्बत् २०१० को दशकमै शैक्षिक भ्रमणको सुरूआत गर्यो, त्यो पनि राजा महेन्द्रको प्रोत्साहनस्वरूप।
भ्रमण टोलीमा संलग्न अग्रज तथा सहपाठीहरूका अनुसार शैक्षिक भ्रमणबाट आफ्नै मुलुक र भारतको शैक्षिक तथा अन्य अवस्थाबारे राम्रो ज्ञान प्राप्त भएको थियो। भ्रमणमा सहभागी अग्रज तथा सहपाठीहरूले अनुभव सुनाउँदा ट्वाँ परेर तिनका कुरा सुनेको सम्झना हुन्छ।
एकपटक फेरि शारीरिक शिक्षा कार्यक्रमतर्फ नै फर्किऊँ। यस कार्यक्रमअन्तर्गत हामीलाई शारीरिक व्यायाम, सैनिक तालिमभित्र पर्ने ड्रिल, सलामी दिने तरिका, नियम पालन तथा सरसफाइ, स्वास्थ्य, सदगुणजस्ता विषयमा प्रशिक्षित गरिएको थियो।
शारीरिक शिक्षा कार्यक्रमअन्तर्गत नै २०१५ साल असारमा शिक्षक र विद्यार्थी सम्मिलित एक टोलीलाई सुन्दरीजल लगिएको थियो। त्यो टोलीमा म पनि समावेश थिएँ। हामीलाई भूगोल विषयमा जानकारी दिन त्यहाँ लगिएको थियो।
क्षेत्रपाटीबाट नक्साल भगवती जाने मूलबाटो, अर्थात् सिफलको कालो पुल समातेर चाबहिल, बौद्धनाथ, चुच्चेपाटी हुँदै गोकर्ण पुगेपछि हामी चढेको लहरी बिग्रियो। वर्षाको समय थियो। कच्ची र हिलो बाटो थियो। सवारी साधन बिग्रेपछि त्यहाँबाट पानीमा भिजेर कन्तबिजोग बेहोर्दै साँझपख अबेर हामी गन्तव्य पुगेका थियौं।
हामी सुन्दरीजल जलविद्युत गृहको पानी जम्मा गर्ने पोखरी नजिकको बंगलामा रात बस्न पुग्यौं। अबेर पुगेकाले हामी सबै थकित थियौं। त्यसैले जे पकाइएको थियो, त्यो खाएर घुप्लुक्क सुत्यौं। मलाई सम्झना भएसम्म दाल, भात, तरकारी नै थियो। तर कसले पकाएको थियो भन्ने याद भएन।
भोलिपल्ट बिहान उठेपछि पो सुन्दरीजलको मनमोहक दृश्य, बिजुली उत्पादन गर्न जम्मा गरिएको पानीपोखरी र त्यससँग सम्बन्धित संरचना देखपछि बिजुलीबत्ती कसरी उत्पादन गरिँदो रहेछ भनेर प्रत्यक्ष देख्न पाइयो।
साथै, वरिपरिको जंगल क्षेत्र घुमाएर मास्टरहरूले विज्ञान विषयसँग सम्बन्धित वनस्पतिशास्त्रको जानकारी दिए।
आधा दिनजसो जंगल क्षेत्र घुमेर हामी साँझपख लहरीमै काठमाडौं फर्कियौं। फर्किने दिन बिहानै लहरी गोकर्णबाट सुन्दरीजलको फेदीमा आइपुगेको थियो।
त्यस्तै, २०१६ साल असोजमा स्कुलले नागार्जुन बंगला क्षेत्रमा झुटा लडाइँ कार्यक्रम आयोजना गरेको थियो। एक रात बसाइको त्यो कार्यक्रममा हामीलाई स्कुलबाट हिँडाएर लगिएको थियो। क्षेत्रपाटीदेखि बालाजु बाइसधारासम्म कच्ची बाटो थियो। पकनाजोलसम्म बाटोको दुवैतर्फ लहरै झिँगटीको छाना भएका घर थिए। कुनै कुनै घरका छिँडीमा किराना पसलहरू थिए। पकनाजोलबाट सोह्रखुट्टे ओरालोदेखि बालाजुसम्म घरहरूको संख्या पातलो थियो। त्यहाँ हिँडदा ग्रामीण वातावरणको अनुभव हुन्थ्यो। तर त्यो काठमाडौंबाट पश्चिमतर्फ लाग्ने मूलबाटो नै थियो।
हेडमास्टर रामजीप्रसाद शर्माले नेतृत्व गरेको टोलीमा शिक्षक वर्ग र शारीरिक शिक्षामा भाग लिने विद्यार्थीहरू समावेश थियौं। नागार्जुन जंगल क्षेत्रमा झुटा लडाइँ आदि कार्यक्रम सिध्याएर हामी दोस्रो दिन फर्केका थियौं। बसाइ भने नागार्जुन बंगलामा भएको थियो। त्यो बेला बंगला खाली थियो।
नागार्जुन बसाइको एउटा घटना कहिल्यै बिर्सन सक्दिनँ।
त्यस बखत जातपातको भावनाका कारण मैले हाम्रो टोलीमा समावेश एक मुसलमान साथीसँग बसेर भात खान्नँ भनेको थिएँ। यसरी सार्वजनिक रूपमै अन्य जात र धर्म मान्नेसँग बसेर खाना खान्न भनेपछि हेडमास्टर रामजीप्रसादले सम्झाउँदै भने, 'म पनि बाहुन हुँ, तर ऊसँगै बसेर भात खान्छु। किनभने ऊ पनि मानिस नै हो।'
मलाई हेडमास्टर शर्माको भनाइ चित्त बुझ्यो, अनि मैले साथै बसेर खाएँ।
स्कुल सम्झाउने अविस्मरणीय घटना र दिनहरू
२०१५ साल असार ११ गते बुधबारका दिन सम्पन्न त्रिभुवन विश्वविद्यालयको शिलान्यास कार्यक्रममा भाग लिन पाउनु मेरो स्कुले विद्यार्थी जीवनको सबभन्दा नबिर्सने पहिलो अविस्मरणीय घटना वा दिन हो।
हेडमास्टर रामजीप्रसाद शर्माले केही दिनअगावै नौ र दस कक्षामा अध्ययनरत विद्यार्थीहरूलाई विश्वविद्यालय शिलान्यास कार्यक्रमबारे भनेका थिए। उनको भनाइ थियो, 'अब हाम्रै देशमा त्रिभुवन विश्वविद्यालय स्थापना हुने भयो। यो हामी सबैका लागि खुसीको कुरा हो। हामी पनि विश्वविद्यालयको शिलान्यास कार्यक्रममा भाग लिँदै छौं।'
हामीलाई असार ११ गते बिहानै स्कुलबाट हिँडाएर विश्वविद्यालय शिलान्यास स्थल कीर्तिपुर पुर्याइएको थियो। असारको महिना पानी परिरहेको थियो। ग्याजग्याज्दी हिलो बाटो हुँदै हामी कीर्तिपुर पुग्यौं। धेरै स्कुल–कलेजका विद्यार्थी र शिक्षक वर्गको साथमा हामीले पनि शिलान्यास कार्यक्रममा सहभागिता जनायौं। त्रिभुवन महाराजका बडामहारानीहरूबाट विश्वविद्यालय शिलान्यास गरिएको टाढैबाट हेर्यौ (हेर्नुहोस् चित्र ४ र ४ क)।
दोस्रो अविस्मरणीय दिन २०१५ चैत २६ गते रह्यो।
त्यो दिन स्कुलको एक्काइसौं जन्म जयन्ती कार्यक्रम आयोजना भएको थियो। स्कुल परिसरमा आयोजित कार्यक्रमका मुख्य अतिथि थिए, दार्जिलिङको कुनै अंग्रेजी स्कुलमा पढ्दै गरेका युवराज वीरेन्द्रवीर विक्रम शाह (हेर्नुहोस् चित्र ५ र ५ क )।
युवराज वीरेन्द्रका अतिरिक्त मन्त्रिपरिषदका अध्यक्ष सुवर्णशमशेर राणा, शिक्षामन्त्री रणधीर सुब्बा, स्कुल सञ्चालक समितिका अध्यक्ष तथा शिक्षा विभागका डाइरेक्टर शारदाप्रसाद उपाध्याय लगायत अन्य व्यक्तिहरूको पनि उपस्थिति थियो।
हेडमास्टर शर्माले स्वागत भाषण गरेर सुरू भएको कार्यक्रममा सञ्चालक समितिका अध्यक्ष उपाध्यायले विद्यार्थीहरूलाई सुकुलमा बसाएर पढाइ सुरू गरेको स्कुलले कति डेरा सर्नुपर्यो र कस्ता कस्ता भुमरीमा पर्नुपर्यो भन्ने जानकारी दिएका थिए। यति दुःखका बाबजुद स्कुलले पढाइमा राम्रो गर्नुका साथै समय समयमा खेलकुद, मनोरञ्जन, सांस्कृतिक कार्यक्रम र देश–विदेशमा भ्रमण कार्यक्रम आयोजना गरेर विद्यार्थीको बौद्धिक विकासमा सहयता पुर्याउँदैछ भन्ने उनको भनाइ थियो (स्कुल पत्रिका, २०१६, पृष्ठ १–४)।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्रिपरिषद अध्यक्ष राणाले प्रजातान्त्रिक देशलाई सुहाउँदो शिक्षा प्रचार गर्न एक नयाँ व्यवस्था गर्नुपरेको, सबै शिक्षण संस्थाहरूको आवश्यकता पूरा गर्नुपरेको तथा नयाँ शिक्षा प्रणालीमा राष्ट्रिय भावना बढाउन, आफ्नो इतिहासको पूरा ज्ञान गराउने संस्कृति र परम्पराको विशेष बोध गराउनतिर बढ्ता जोड दिनुपरेको छ भनेको हिजैजस्तो लाग्छ (ऐजन)।
शिक्षामन्त्री सुब्बाले यो स्कुलले पालना गरेको अनुशासनको सिको अरू सबै स्कूलले गरून् भनेका थिए।
स्कुलले गरेको मेहनतको परिणाम हरेक वर्ष प्रवेशिका परीक्षाले देखाइरहेको छ भन्दै उनले युवराज वीरेन्द्रको उपस्थितिले स्कुलको गौरव बढाएको छ भनेको आज पनि मेरो कानमा गुञ्जिरहन्छ।
समारोहमा विद्याथी तर्फबाट हाम्रो कक्षाका सहपाठी तथा स्कुल युनियनका सभापति भगवानरत्न तुलाधरले जमिनबिना स्कुललाई परेको मर्का सुनाएका थिए। उनले पनि युवराज वीरेन्द्रको आगमनले विद्यार्थी वर्गमा उत्साह र उमंग छाएको बताउँदा हामी खुसी भएका थियौं (ऐजन)।
प्रमुख अतिथिका रूपमा तत्कालीन युवराज वीरेन्द्रले यस्तो सम्बोधन गरेका थिए —
'यस स्कुलको बारेमा मैले धेरै सुनेको थिएँ। हाम्रो मुलुकको स्कुल हेर्ने मेरो ठूलो इच्छा थियो। तपाईंहरूको निमन्त्रणाले सो पूरा भयो। यसको निमित्त म तपाईंहरूलाई दिलैदेखि धन्यवाद दिन्छु। तपाईंहरूलाई थाहा भएकै कुरा हो, म पनि एक विद्यार्थी हुँ। अहिले म तपाईंहरूबाट टाढा छैन। म तपाईंहरूकै बीचमा छु। हाम्रो दिल खोली भएको कुराले हाम्रो खुसीलाई बढाउँछ। यो हाम्रो भेट मेरो सम्झनामा सदा ताजा भइरहनेछ। म जहाँ गए पनि यसलाई सम्झनेछु।
मैले भनिसकेको छु, म तपाईंहरूजस्तै एक विद्यार्थी हुँ। हामी विद्यार्थीहरूले पढाइ र खेल दुवैलाई ध्यान दिनुपर्छ। हामीले यी दुवैबाट स्थायी फाइदा लिनुपर्छ। यस स्कुलले यी दुवै कुरामा आफ्नो नाम उज्ज्वल पारेको छ भन्ने मलाई लागेको छ।
यहाँ उपस्थित मेरा सबै साथीहरूलाई थाहा नै छ, हामी आज्ञाकारी हुनुपर्छ र हाम्रो गुरूहरूलाई आदर गर्नुपर्छ। उहाँहरूबाट हामीले आज्ञाकारिता, अनुशासन, कर्तव्यपरायणता तथा आत्मसहायको पाठ सिक्छौं। मलाई लागेको छ, अध्ययन नै हाम्रो पहिलो र अघिल्लो कर्तव्य हो। यसले नै हामीलाई हाम्रो मातृभूमिको सेवामा योग्य र लायक बनाउँछ।
तपाईंहरूलाई थाहा छ, म एक अंग्रेजी स्कुलमा पढिरहेछु। त्यस कारण म नेपालीमा उत्तिको राम्रो छैन। आशा छ, मैले तपाईंहरूसँग अंग्रेजीमा बोलेकोमा केही ठान्नुहुने छैन।
फेरि एकपटक तपाईंहरूलाई धन्यवाद दिन्छु। जय नेपाल।'
(स्रोतः जुद्धोदय पब्लिक हाई स्कुल पत्रिका, २०१६)
तेस्रो अविस्मरणीय दिन प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालासँग सम्बन्धित छ।
२०१५ फागुन ७ बाट सुरू भएको प्रथम आमनिर्वाचनको अन्तिम नतिजा २०१६ वैशाख २८ मा निस्केको थियो (गृष्मबहादुर देवकोटा, नेपालको राजनीतिक दर्पण, दोस्रो भाग २०३३, पृष्ठ ७९)। आमनिर्वाचनमा नेपाली कांग्रेसले प्रतिनिधिसभामा दुईतिहाइ बहुमत ल्याएको थियो। उक्त पार्टीको संसदीय दलका नेता विश्वेश्वरप्रसाद कोइराला जेठ १३ गते मुलुकको प्रधानमन्त्रीमा नियुक्त भएका थिए (ऐजन, पृष्ठ ११८)।
मुलुकको प्रथम निर्वाचित प्रधानमन्त्रीका रूपमा कोइरालाको नियक्तिलाई स्कुलले हर्षका रूपमा लियो। अनि भोलिपल्ट, अर्थात् जेठ १४ गते बिहानपख हेडमास्टर शर्माको नेतृत्वमा शिक्षक तथा विद्यार्थीहरूको टोली बिपी कोइरालालाई प्रधानमन्त्री पदमा नियुक्त भएकामा बधाइ दिन प्रधानमन्त्री बसेको 'त्रिपुरेश्वर गेस्ट हाउस' भनिने हाल भन्सार विभाग रहेको परिसर पुग्यो। त्यहाँ पुग्ने टोलीमा मलाई पनि समावेश गराइएको थियो।
हेडमास्टर शर्माले प्रधानमन्त्री कोइरालालाई बधाइ दिएपछि दुईबीच निकै बेर भलाकुसारी भएको म सम्झन्छु।
प्रथम निर्वाचित प्रधानमन्त्री बिपी कोइराला र स्कुल क्षेत्र निवासी निर्माण, सञ्चार तथा नहर मन्त्री गणेशमान सिंहको स्वागतका लागि २०१६ कात्तिक १३ गते शुक्रबारका दिन स्कुलमा एउटा कार्यक्रम आयोजना गरिएको थियो, जसमा हामी विद्यार्थीहरूलाई पनि सहभागी गराइएको थियो।
आमन्त्रित महानुभावहरू स्कुल परिसरमा आगमन हुनासाथ शारीरिक शिक्षा कार्यक्रममा संलग्न विद्यार्थीहरूबाट सलामी दिएर स्वागत गरिएको थियो। त्यसपछि कार्यक्रमको सुरूआतमा सञ्चालक समितिका अध्यक्ष शारदाप्रसाद उपाध्यायबाट स्वागत मन्तव्य व्यक्त गरिएको थियो भने हेडमास्टर शर्माले स्कुलबारे छोटकरीमा जानकारी दिएका थिए। उनले स्कुलको भौतिक अवस्था बताउने क्रममा विद्यार्थीका लागि खेल्ने मैदान नभएको उल्लेख गरे।
कार्यक्रममा मन्त्री गणेशमान सिंहले भनेका थिए, 'शिक्षाबिनाको प्रजातन्त्र पानीबिनाको माछाजस्तै हुन्छ। त्यसैले नयाँ सरकारले शिक्षा प्रचार निम्ति साबिकभन्दा बढी रकम सारेको छ। आफ्नो संख्याअनुसार सरकारले दिएको आर्थिक सहायता सदुपयोग गरेर शिक्षण संस्थाहरूले अगाडि बढ्नुपर्नेछ।' (हेर्नुहोस् चित्र ६)।
कार्यक्रममा प्रधानमन्त्री बिपी कोइरालाले भनेका थिए —
'आजभन्दा करिब तीस वर्षअघि म वनारसको कुनै स्कुलमा पढ्थेँ। त्यो साह्रै ठूलो स्कुल ठानिएको थियो। आज मेरै अगाडि यो स्कुलमा एक हजार विद्यार्थीले हर साल शिक्षा हासिल गरेको देख्दा ज्यादै हर्ष लागेको छ र साथै ठूलो सन्तोष पनि।
यति पुरानो र यस्तो प्रगतिशील स्कुलले अरू साधारण स्कुल सरह पनि सरकारी सहायता नपाएको देख्दा मलाई बडो आश्चर्य लाग्यो। यस वर्षदेखि यस स्कुलले सरकारी आर्थिक सहायता अवश्य पनि बढी पाउने छ भन्ने विश्वास दिलाउँदछु।
देश–सेवाको पवित्र कार्यमा दत्तचित्त भएर हरेक मानिसले हरेक क्षेत्रमा कठिनभन्दा कठिन परिश्रम गर्नु ज्यादै जरूरी छ। यो मर्म बुझेर यो स्कुलले गरेको त्याग र तपस्या अति नै सराहनीय छ। त्यस्तो सहयोग यो स्कुलले सदा जारी राख्ने छ भन्ने मलाई पूरा आशा र भरोसा पनि छ। प्रजातन्त्रको पक्षपाती चिरपरिचित यस्तो सहयोगी स्कुलको उत्तरोत्तर उन्नति हुँदै आओस् भन्ने शुभकामना व्यक्त गर्छु (हेर्नुहोस् चित्र ६)।
(स्रोत: स्कुल पत्रिका, २०१६, पृष्ठ ७–८)
स्कुलले कोइराला सरकारका शिक्षामन्त्री परशुनारायण चौधरीलाई स्कुलको वस्तुस्थिति अवगत गराउने सोचसहित मंसिर २ गते एक कार्यक्रम आयोजना गर्यो, जसमा स्कुल सञ्चालक समितिका अध्यक्ष शारदाप्रसाद उपाध्यायले मन्त्रीको स्वागत गर्दै स्कुलले भोगेका समस्या उल्लेख गर्दै स्कुल कुन स्थितिमा छ भन्ने बताएका थिए।
आफ्नो सम्बोधन क्रममा मन्त्री चौधरीले प्रशस्त मेहनत नगरी शिक्षाको प्रचार हुन नसक्ने करा बताए।
'यो क श्रेणीको स्कुल हो। यस्तो स्कुलले सालको २१ सय रूपैयाँ मात्र सरकारी सहायता पाएको छ। यसलाई थप आर्थिक सहायता दिन म कोसिस गर्नेछु,' उनले भने, 'आर्थिक कठिनाइले पहाड–मधेसका स्कुलमा योग्य शिक्षकको साह्रै कमी छ। त्यसैले सरकारले आर्थिक सहायता दिँदा पहाड–मधेसका स्कुललाई प्राथमिकता दिनुपर्छ भन्ने मेरो राय छ। काठमाडौंमा यो स्कुलले ठूलो नाम कमाएको छ। यसबाट सारा प्रभावित छन्। काठमाडौंका स्कुलले थप सहायता पाउनेमा यो स्कुलको पहिलो स्थान छ।' (ऐजन, पृष्ठ ८)।
चौथो नबिर्सने दिन २०१६ चैत २० गते शनिबार हो।
त्यस दिन हाम्रो स्कुलले आफ्नै परिसरमा बाइसौं जन्मदिन आयोजना गरेको थियो। त्यस बखतसम्म हामी प्रवेशिका परीक्षामा सामेल भइसकेका भए पनि प्राविधिक रूपमा स्कुलको पूर्वविद्यार्थी भइसकेका थिएनौं। किनभने, परीक्षाफल निस्किसकेको थिएन। त्यसैले बाइसौं जन्मदिन कार्यक्रममा हामी सामेल हुन सक्थ्यौं।
कार्यक्रमका मुख्य अतिथि थिए तत्कालीन राजा महेन्द्र। अन्य आमन्त्रितमा प्रधानमन्त्री बिपी कोइराला, मन्त्रीगण लगायत अन्य विशिष्ट व्यक्तिका साथै पूर्वविद्यार्थीहरू पनि समावेश थिए। कार्यक्रमको अध्यक्षता प्रधानमन्त्री कोइरालाले गरेका थिए।
स्कुलका तर्फबाट राजाको स्वागत हेडमास्टर रामजीप्रसाद शर्माले गरेका थिए। कार्यक्रममा विद्यार्थीका तर्फबाट रमेश शर्माले बोलेका थिए। उनले बोल्ने क्रममा स्कुलको भौतिक स्थितिको सटिक वर्णन गरे —
'सबभन्दा पहिले खडा भएको यो स्कुल सबभन्दा पहिले भत्केर नासिन नपाओस्। जसको बिहे उसैलाई देख्न नदे भन्ने उखानअनुसार हामीले हाम्रो स्कुलमा भएको कुनै पनि उत्सव हेर्न मूलबाटो छेकेर उभिन नपरोस्। मैले थाहा पाएअनुसार यो स्कुलले विद्यार्थीलाई राम्रोसँग एसएलसी पास गराउँदै ल्याएको छ। गएको वर्ष पनि एसएलसीमा पहिला र दोस्रा यही स्कुलका विद्यार्थी भए ... मास्टर साहेबहरूले दिलोज्यान दिएर पढाउनुहुन्छ, हामी मेहनतसाथ पढ्छौं। तैपनि स्कुलले कति भुक्तमान भोग्नुपरेको छ, कति कुराको अभाव छ, जो श्री ५ को सरकारले बुझेको छ। स्वयं सरकारबाट पनि आज नजर भएको छ। हामी विद्यार्थीले योभन्दा बढी उन्नति गर्ने मौका पाऔं (स्कुल पत्रिका, २०१७, पृष्ठ १–३)।
कार्यक्रममा राजा महेन्द्रबाट स्कुलको शैक्षिक तथा अन्य क्रियाकलापमा राम्रो गरेर पहिला, दोस्रा र तेस्रा भएकालाई पुरस्कार वितरण भएको थियो (हेर्नुहोस् चित्र ७)। साथै, स्कुलको अतिथि पुस्तकमा शुभकामना दिँदै राजा महेन्द्रले यस्तो लेखेका थिए —
'आज यस जेपी हाई स्कुलको बाइसौं जन्म जयन्तीको उपलक्ष्यमा आई केही बेर भाग लिन पाएकोमा मलाई खुसी लागेको छ। यस स्कुलले सुरूदेखि गरिआएको अनेक कठिनाइको सामनाको सराहना गर्न सकिन्छ र यो काठमाडौंको पुरानो पब्लिक स्कुलमध्येको हो भन्न पाउँदा पनि मलाई खुसी लागेको छ। हाम्रो देशले आज प्रत्येक छात्र–छात्राबाट भोलिको निमित्त ठूलो भरोसा राख्छ। तसर्थ यस स्कुलबाट उत्तीर्ण हुने प्रत्येक नेपाली विद्यार्थी सदैव अनुशासित तथा देशभक्त बनून्, यही मेरो हार्दिक शुभकामना छ। धन्यवाद। (ऐजन)।'
बाइसौं जन्मदिनको कार्यक्रममै सभापतिको आसनबाट बोल्दै प्रधानमन्त्री कोइरालाले भने —
'यो विद्यालयको ख्याति राम्रो छ। पढाइमा र अरू सक्रियतामा पनि राम्रो गरेको छ। आजका विद्यार्थीहरूलाई क्लासको नियमअनुसार शिक्षा प्राप्त गर्ने मात्र नबनाई देशको जिम्मेवारी वहन गर्न सक्ने योग्यता भएको पनि बनाउनुपरेको छ। देशको उन्नति विद्यार्थीहरूमा निर्भर गर्छ (ऐजन)।'
बाइसौं जन्मदिनको कार्यक्रमको अवसरमै मास्टर वासुदेव लुइँटेलले धन्यवाद ज्ञापन गरेका थिए भने असिस्टेन्ट हेडमास्टर हरिहरनाथ रेग्मीले स्कुल तर्फबाट राजा महेन्द्रमा चढाइएको अभिनन्दनपत्र पढेर सुनाएका थिए (हेर्नुहोस् चित्र ८)।
कार्यक्रमको अन्त्यमा राजा महेन्द्रबाट स्कुलको पुस्तकालयका लागि एक हजार रूपैयाँ र खेलकुदका लागि पाँच सय रूपैयाँ बकस प्राप्त भएको कुरा हेडमास्टर शर्माले सुनाउँदा विद्यार्थी वर्ग तथा शिक्षक वर्ग सबैले खुसी व्यक्त गरेका थिए (ऐजन)।
पाँचौं अविस्मरणीय दिन रह्यो २०१० साल जेठ १६ गते (अर्थात् सन् १९५३ मे २९)।
त्यस दिन तेन्जिङ नोर्गे र एडमन्ड हिलारीले संसारको सबभन्दा अग्लो हिमाल सगरमाथा चढेर विश्व कृतिमान कायम गरेका थिए। यो खबर काठमाडौं लगायत संसारभरि हावाजस्तो फैलिएको थियो। नेपालीले विश्व कृतिमान स्थापना गरेकामा देशभर खुसियाली छाएको थियो।
कवि माधवप्रसाद घिमिरेले 'सगरमाथा शिखर पुग्दछ पहिलो नेपाली' शीर्षकको कविता लेखे। त्यस्तै, जनकवि केशरी धर्मराज थापाले 'हाम्रो तेन्जिङ शेर्पाले चढ्यो हिमाल चुचुरो' गाउन थाले।
सगरमाथाको सफल आरोहण गर्ने टोली असार ७ गते काठमाडौं आएको थियो। उनीहरूको आगमनमा शोभायात्राको कार्यक्रम बनेको थियो।
काठमाडौं सहरमा सगरमाथा आरोहीहरूको भव्य स्वागतका सम्बन्धमा गोरखापत्रको भाग ५४ संख्या ३१ (२०१० असार ९ गते) मा यसरी समाचार छापिएको थियो —
नेपाल प्रातप्रवर्द्धक वीरू श्री तेन्जिङ शेर्पाको कान्तिपुरमा भव्य स्वागत। बनेपा, साँगा, भक्तपुर र काठमाडौंका जनताद्वारा अभूतपूर्व स्नेह प्रदर्शन। चौघोडे शाही बग्गीमा श्री तेन्जिङ शेर्पा, एक कोश लामो जुलुस, लाखौं मानिसको भीड। श्री ५ बाट सुप्रदीप्त मान्यवर नेपाल तारा प्रदान।
आँखाले देखेको वर्णन भनी यस्तो खबर प्रकाशित थियो —
काठमाडौं, अषाढ ७ गते। आज नेपालको उपत्यकामा अभूतपूर्व उल्लास छाएको छ। जनता वीर तेन्जिङको स्वागतका लागि उत्कण्ठित छ। बाटो सफा पार्ने काम स्वयं प्रकृतिले बिहान नै पूरा गरिसकेका छन्। आउनुहोस् नेपाल प्रतापप्रवद्र्धकको स्वागतार्थ १ नम्बर बनेपा जाऊँ। पूर्व २ नम्बर देखि नै स्वागत एवं अभिवादन ग्रहण गर्दै २ बजे तेन्जिङ बनेपा पुग्नुभयो।
आरोहण टोलीलाई बनेपामा स्वागत गरी काठमाडौं ल्याउने टोलीमा माथिल्लो कक्षामा अध्ययन गर्ने दाइहरू त्रिचन्द्र कलेजमा भेला भई बनेपातर्फ गएका थिए (स्रोतः तेन्जिङ–हिलारीले काठमाडौं टेकेको त्यो दिन — सुन्दरलाल श्रेष्ठ)।
स्कुलका अन्य विद्याथीलाई त्रिचन्द्र कलेज अगाडिको सडकको पेटीमा उभ्याइएको थियो। त्यहीँबाट शोभायात्रा गरी ल्याइएका कृतिमानी आरोहीहरूको स्वागत गरेको हिजैजस्तो लाग्छ।
शोभायात्रामा बग्गीमा सवार आरोहीहरूको अघि अघि घोडामा चार दिदीहरू शानका साथ चढेर आएको देख्दा हामी अच्चमित भएका थियौं।
हामी पेटीमा बसेर शोभायात्रा हेर्नेमा अनेक स्कुलका विद्यार्थी थियौं। त्यस बखत शोभायात्रा हेर्न त्रिचन्द्र कलेजको पेटीमा बस्नेहरूमध्ये जति छौं, आज पनि भेट हुँदा शोभायात्राको कुरा गर्न बिर्संदैनौं। यसका साथै आरोहीहरूलाई टुँडिखेल र वसन्तपुर गद्दी बैठकमा गरिएको स्वागत समारोह पनि हेरेको हो कि भन्ने सहपाठीहरू छन्।
स्मरण रहोस्, राजा त्रिभुवनबाट सगरमाथा आरोहीहरुमध्ये जोन हन्ट र एडमन्ड हिलारीलाई नेपाल प्रताप भाष्कर तक्मा प्रदान गरिएको थियो भने तेन्जिङलाई दरबारमा नेपाल तारा विभूषण प्रदान गरिएको थियो।
छैठौं अविस्मरणीय घटना महाकवि लक्ष्मीप्रसाद देवकोटासँग सम्बन्धित छ।
नेपाली साहित्यका नक्षत्र हुन्, महाकवि देवकोटा। मैले स्कुलमा उनको प्रवचन सुनेको थिएँ। उनी अर्वुद रोगबाट ग्रस्त थिए। जीवनको अन्तिम अवस्था भएपछि उनलाई आर्यघाट लगिएको थियो। त्यस बखत उनको स्वास्थ्यको कामना गर्न र अन्तिम दर्शन गर्न आर्यघाटमा भीड नै लागेको थियो।
हामीलाई पनि स्कुलबाट मृत्युशैयामा रहेका महाकवि देवकोटाप्रति श्रद्धा जनाउन मास्टर साहेबहरूका साथ आर्यघाट पुर्याइएको सम्झना गर्ने माथिल्लो कक्षाका अग्रज तथा सहपाठीहरू अझै छन्। महाकविलाई हेर्न आर्यघाट पुगेको कसरी बिर्सिस् भनेर मलाई भन्ने गर्छन्।
केही दिनको आर्यघाट बसाइपछि २०१६ साल भदौ २९ गते महाकविको देहावसान भयो। उनको निधनमा नेपाली साहित्य तथा शिक्षा क्षेत्रले शोक मनाएको भने सम्झना छ।
सातौं अविस्मरणीय घटनामा स्कुलमा मनाएको भानु जयन्ती, त्रिभुवन जयन्ती लगायत पर्छन्।
राजा त्रिभुवनको जन्म जयन्ती असार महिनामा पर्थ्यो। त्यस दिन राज्य तर्फबाट विद्यार्थी, कर्मचारी वर्ग तथा गन्यमान्य व्यक्तिहरूलाई बिहानै लैनचौरमा भेला गराएर हिँडाउँदै त्रिपुरेश्वर पुर्याइन्थ्यो र त्यहाँ रहेको त्रिभुवनको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम राखिन्थ्यो। हाम्रो स्कुलले पनि उक्त कार्यक्रममा भाग लिने गर्थ्यो। यसका लागि विद्यार्थीहरूलाई बिहानै लैनचौर पुर्याइन्थ्यो। त्यहाँ अन्य स्कुलका विद्यार्थी र अरू पनि भेला भएपछि राजा त्रिभुवनको तस्बिर राखेको बग्गीको पछि पछि हिँड्दै हामी त्रिपुरेश्वर पुग्थ्यौं।
एक त वर्षाको समय, त्यसमा पनि पोल्ने घाममा हिँडदा त्रिपुरेश्वर पुग्दै लोथ भइन्थ्यो। सडक पेटीमा उभिएर माल्यार्पण कार्यक्रम समाप्त भएपछि हिँडेरै घर फर्किँदा त धेरै थकित होइन्थ्यो।
बाटो र उभिने ठाउँमा मारवाडी सेवा समितिले पानी खुवाएर कार्यक्रममा भाग लिनेहरूको सास बचाउँथे।
स्कुलमा विशिष्ट महानुभावहरूको आगमनको सम्झना
स्कुलले बेला बेला समाजका विशिष्ट व्यक्ति आमन्त्रण गरी विद्यार्थी तथा शिक्षक वर्ग दुवैको मानसिक धरातल फराकिलो बनाउने, ज्ञानको भण्डार वृद्धि गराउने तथा मनोरञ्जनयुक्त वातावरण सिर्जना गर्ने काम गर्थ्यो।
यस क्रममा स्कुलले आमन्त्रण गरेका अनेक विशिष्ट व्यक्तिका प्रवचन र अनुभव सुन्न पाइयो। अनेक रमाइला सांस्कृतिक कार्यक्रम हेरियो र खेलकुदमा भाग लिएर पुरस्कारसमेत पाइयो।
सुनिएका अनुभव र प्रवचन तथा भाग लिइएका कार्यक्रममध्ये केही अझै मानसपटलमा छँदै छन्। तीमध्ये केही तल दिइएका छन् —
(क) २०१४ जेठ ११ गते श्री ५ महाराजाधिराजका प्रिन्सिपल सेक्रेटरी लोकदर्शन बज्राचार्य स्कुल निरीक्षणमा आएका थिए। उनले हालैमा आफूले सम्पन्न गरेको विश्व भ्रमणको अनुभव सुनाए। उनको अनुभव चकित हुँदै सुनेको हिजै हो कि जस्तो लाग्छ।
बज्राचार्यले आफ्नो अनुभव सुनाउने क्रममा कुनै पनि कुरा सुनेरभन्दा देखेर बढ्ता बुझिन्छ भनेका थिए। विद्यार्थीहरूले सकेसम्म धेरै विषयमा ज्ञान हासिल गर्नुपर्ने र उच्च शिक्षा हासिल गर्नुपर्ने अर्ती पनि दिएका थिए। विशेषगरी बज्राचार्यले आफूले भ्रमण गरेका देशको शासन पद्धति, चालचलन र संविधानबारे दिएको प्रवचनमा संसदीय प्रणालीका जननी बेलायतको संसदबारे बोलेको अझै सम्झना छ।
(ख) प्रधानमन्त्री टंकप्रसाद आचार्यले असार ११ गते स्कुल निरीक्षण गर्दै सरकारले स्कुललाई थप सहायता उपलब्ध गराउने आश्वासन दिएका थिए। उनलाई साधारण मानिसझैं आफूहरूबीच पाउँदा हामी विद्यार्थीले प्रभावित भएर नारा लगाएका थियौं (स्कुल पत्रिका, २०१४, पृष्ठ २)।
(ग) असार ३१ गते स्कुलले विद्यार्थीहरूले पढ्ने सामग्रीका लेखकलाई प्रत्यक्ष परिचय गराउन प्रसिद्ध कवि धरणीधर शर्माको सभापतित्वमा लेखक परिचय एवं साहित्यकारहरूबाट उनीहरूका कृति सुन्ने कार्यक्रम आयोजना गरेको थियो।
झरी परेको दिन थियो। तैपनि बालकृष्ण सम, लेखनाथ पौडेल, धर्मराज थापा, भीमनिधि तिवारी, केदारमान व्यथित, भवानी भिक्षु, माधवप्रसाद घिमिरे, विजय मल्ल जस्ता हस्तीहरूको उपस्थिति रह्यो। स्कुलको पूर्वविद्यार्थीका रूपमा नीरविक्रम प्यासीको पनि उपस्थिति थियो कि जस्तो लाग्छ।
स्कुलको आमन्त्रण स्वीकार गरेर उपस्थित भएकाहरूले आफ्ना रचना सुनाउनुका साथै गहकिला विचार व्यक्त गरेका थिए, जसबाट विद्यार्थी वर्ग प्रभावित भएको थियो (ऐजन, पृष्ठ ४)। त्यस बखत म आठ कक्षा पढ्ने विद्यार्थी थिएँ। दिमाग त्यति पाको थिएन। त्यसैले लेखक, साहित्यकारहरूका भनाइ रोचक मानेर सुनेँ, तर कति बुझेँ थाहा छैन।
(घ) २०१४ सालमै भारतीय राजदूतावासका सांस्कृतिक सहचारी डा. शिवमंगल सिंह सुमन, प्रोफेसर यदुनाथ खनाल, प्रोफेसर अमृतप्रसाद प्रधान, प्रोफेसर त्रैलोक्यनाथ उप्रेती र शिक्षाविद् कृष्णराज अर्याल, साहित्यकार तथा शिक्षाविद् धरणीधर कोइरालाले स्कुल निरीक्षण तथा विद्यार्थीहरूलाई सम्बोधन गरेका थिए। यी सबैले स्कुलको प्रगतिमा सन्तोष व्यक्त गर्दै शिक्षक तथा विद्यार्थी वर्गलाई शिक्षाको महत्त्वबारे प्रकाश पारेका थिए।
(ङ) २०१५ असार महिनामा नेपाली भाषाका प्रसिद्ध समालोचक तथा भारतको कालिङपोङ निवासी वकिल रामकृष्ण शर्मा (पछि कलकत्ता उच्च अदालतका न्यायाधीश) र प्रवासी समालोचक/साहित्यकार नरबहादुर दाहाल नेपाल भ्रमणमा थिए। उनीहरूलाई शिक्षकहरूले स्कुलमा आमन्त्रण गरे।
उनीहरूले स्कुल निरीक्षणका अतिरिक्त विद्यार्थी तथा शिक्षक वर्गलाई संयुक्त सम्बोधन गरे। सम्बोधन क्रममा समालोचक शर्माले विद्यार्थी जीवन के हो, समालोचना कसरी गरिन्छ भन्ने जस्ता विषय सरल रूपमा बताएका थिए।
साथै, स्कुलको आगन्तुक पुस्तिकामा यसरी स्कुल परिवारको हौसलासमेत बढाए — 'यो स्कुल बढोस्, यहाँका छात्र बढून्, फुलून् र सारा नेपाल त के, संसारमै सुगन्ध फैलाऊन् भन्ने मेरो शुभकामना छ।'
(च) २०१५ सालमा शिक्षामन्त्री रणधीर सुब्बा र भारतका राजदूत भगवान सहायको प्रवचनसमेत सुन्न पाइएको थियो। २०१५ सालमै नाट्य सम्राट तथा कवि बालकृष्ण समले स्कुलको अनुरोधमा आफ्नो नयाँ महाकाव्य 'चिसो चुह्लो' का विभिन्न सर्ग पढेर सुनाएका थिए, जसलाई विशेषगरी मास्टर वर्गले असाध्यै रूचि लिएर सुनेको थियो। हामी विद्यार्थीले भने के बुझ्यौं होला र खोई? तैपनि हामीले शिक्षक वर्गलाई साथ दिएका थियौं।
समले चिसो चुह्लोबारे वर्णन गर्नुका साथै सुरूदेखि २०१४ सालसम्म लेखिएका महाकाव्यहरूको संक्षिप्त वर्णनसमेत गरेका थिए।
अर्को अंकमा म खेलकुद क्रियाकलाप, त्यति बेलाको टुँडिखेल लगायत विषयमा चर्चा गर्नेछु।
अर्को अंक अर्को शनिबार।
***
यो पनि पढ्नुहोस्: