परराष्ट्र मन्त्रालय अन्तर्गत नेपाली राजदूतावासमा सेवा गर्ने क्रममा सन् २०१६ देखि २०१९ सम्म चीनको बेइजिङमा काम गर्ने अवसर प्राप्त भयो।
झन्डै साढे तीन वर्षको बसाइमा संसारलाई चकित पार्दै आएको चीनको आर्थिक, प्राविधिक र सामाजिक तथा सांस्कृतिक विकासका विभिन्न नमूनाहरू अवलोकन गर्न र तिनको अनुभव सँगाल्न पाइयो।
स्रोतसाधन र समयले भ्याएसम्म चीनका केही प्रान्तका ग्रामीण क्षेत्र, सहरोन्मुख ग्रामीण क्षेत्र र विकसित सहरहरूको भ्रमण गरियो। चीनले राष्ट्र निर्माण तथा समग्र विकासका लागि अवलम्बन गरेका नमूनाहरू अवलोकन र अनुभव गर्ने अमूल्य अवसर मिल्यो।
ग्रामीण महिला सशक्तीकरण तथा ग्रामीण विकासको विद्यार्थी भएकाले मेरो रोजाइ धेरैजसो ग्रामीण क्षेत्र नै हुन्थ्यो।
सन् १९६० को दशकमा भोकमरीका कारण लाखौं मानिसले ज्यान गुमाएको र आर्थिक रूपले निकै विपन्न राष्ट्र चीनको आधुनिक विकासको इतिहास त्यति लामो छैन।
सन् १९७८ मा प्रभावशाली राजनेता देङ स्याओपिङको नेतृत्वमा आएको दीर्घकालीन योजना तथा नीतिबाट विकासमा पाइला चाल्न सुरू गरेको चीनले साढे चार दशकमा आर्थिक, प्राविधिक, सामाजिक-सांस्कृतिक विकासको क्षेत्रमा उच्च सफलता हासिल गरेको छ। चीनको यो सफलता विश्वभर विकासको नमूना भएको छ।
चीनले 'स्वस्थ व्यक्ति तथा समृद्ध समाज' निर्माणको काम प्राथमिकताका साथ अघि बढाएको छ। यसलाई चीनले 'नवयुग निर्माण लागि सामाजिक विकास' भनेको छ।
विकास निर्माणका विभिन्न नमूनाहरूमध्ये 'स्वस्थ मानव, समृद्ध समाज' निर्माणका लागि जनघनत्व बढी भएका प्रमुख ठूला तथा साना सहरहरूमा चलाएको सामाजिक तथा सांस्कृतिक विकासको एउटा नमूना यहाँ प्रस्तुत गर्छु।
'नवयुग' को सहज परिभाषा 'युग सुहाउँदो र समय सान्दर्भिक समाज निर्माण' अर्थात् नयाँ परिवेश निर्माण हो। हामीले वर्तमानमा अनुभव गरेका राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, आध्यात्मिक, धार्मिक आदि अवस्थाहरूमा व्याप्त नकारात्मक पक्ष तथा समस्या न्यूनीकरण गर्दै युग सुहाउँदो बनाउनु नवयुग निर्माण गर्नु हो। वर्तमानका प्रतिकूल परिस्थितिलाई अनुकूल र समय सान्दर्भिक बनाउनु पनि नवयुग निर्माणको अंग हो।
विश्व इतिहासमा प्राचीनकाल, मध्यकाल तथा आधुनिककालमा तत्कालीन परिस्थितिको माग अनुसार समय सान्दर्भिक समाज निर्माण गर्ने उद्देश्यले कयौंपटक नवयुग निर्माणका प्रयासहरू भएको पाइन्छ।
व्यक्ति, परिवार, समाज, राष्ट्र हरेकका लागि मानवीय संसाधन अत्यन्तै महत्त्वपूर्ण पक्ष हो। मानवीय संसाधन चुस्तदुरूस्त तथा प्रभावकारी हुन हरेक मानव सुखी, खुसी, शान्त, आनन्दित र हरप्रकारले समृद्ध हुन आवश्यक हुन्छ।
वर्तमान समयमा करिब विश्वभरि नै विविध कारणहरूले मानवीय संसाधन विकासमा सबैभन्दा बढी ह्रास आएको छ। यस परिस्थितिले मानिसमा शारीरिक र मानसिक रोगहरू बढाएको छ। अस्पतालहरूले बिरामी थेग्न नसक्ने अवस्था सिर्जना हुँदै गएको छ।
विश्वमै सबभन्दा बढी जनसंख्या भएको देश चीनमा अस्पतालले बिरामीको चाप धान्न नसक्ने अवस्था सिर्जना भएपछि 'स्वस्थ मानव, समृद्ध समाज तथा नवयुग' निर्माणको उद्देश्यले गहन अध्ययन-अनुसन्धान गरेर दीर्घकालीन योजना बनाएर अभियान नै सुरू गर्यो।
चीनले यस अभियान अन्तर्गत पुराना बस्तीहरूमा सुधारको काम गरिरहेको छ। कतिपय बस्तीहरू स्थानान्तरण गर्दै छ।
यस्ता सबै बस्तीहरूमा साँझ-बिहान हिँडडुल तथा व्यायाम गर्न अनुकूल पार्कहरू निर्माण गरिँदै छ। यस्ता पार्कहरू ह्वीलचेयर तथा बेबीकार्टका लागि अनुकूल बनाइएको छ।
ती पार्क संरक्षणका लागि टोल समितिहरू बनाइएका छन्। त्यस्ता समितिले समुदायको सहयोगमा आआफ्ना पार्कमा सानातिना सुधारका काम पनि गर्नुपर्छ। समुदायले गर्न नसक्ने सहयोग सरकारले गर्ने नीति छ।
सार्वजनिक जमिनमा बाटो, नहर, खोला तथा नदीको किनारमा रहेका अव्यवस्थित बस्तीका बासिन्दालाई सुलभ मूल्यमा अपार्टमेन्ट उपलब्ध गराएर व्यवस्थित गरिएको छ।
साँघुरो सहरभित्र अव्यवस्थित ढंगले बसेका गरिब तथा सुकुम्बासीका लागि पनि यसैगरी अपार्टमेन्ट उपलब्ध गराइएको छ।
यस प्रक्रियाबाट खाली भएको जमिनमा पार्क निर्माण हुने गरेको छ।
यस्ता नयाँ बस्तीका बासिन्दालाई बिहान चाँडो उठ्न र बेलुका सूर्यास्तअगावै हल्का खान खान प्रोत्साहित गरिएको छ। पार्कमा बिहान र साँझ दुबैपटक ६ बजेदेखि ९ बजेसम्म भजनकीर्तन, गीतसंगीत, नृत्य, कम्फुकराते, तेक्वान्दो इत्यादि हुन्छ। हँसाउने गतिविधि पनि हुन्छ। विद्यार्थी तथा अन्य इच्छुकहरूका लागि क्यालिग्राफी (कलात्मक अक्षर लेखन) अभ्यास पनि हुन्छ।
यस्ता गतिविधिका लागि सरकारले पार्कलाई प्रशिक्षक दिएको छ।
पार्कमा हिँड्न ब्लक ओछ्याइएका र ग्राभेल गरिएका फराकिला बाटा छन्। खाली खुट्टा हिँड्न दुबो घाँस लगाइएको छ। पार्कमा फलफूल र जडिबुटीका बगैंचाको प्रशस्त हरियाली र सौन्दर्य छ।
स्थानको उपलब्धता अनुसार पार्कमा पोखरी पनि बनाइएका छन्। त्यस्ता पोखरीमा कमलको फूल खेती र माछापालनको व्यवस्था छ। यस्तो व्यवसाय गर्न मिल्ने प्रावधान पनि छ।
हरेक पार्कमा वाटर फाउन्टेन राखिएको छ। उमेर समूह अनुसार शारीरिक व्यायामका लागि उपकरणहरू पनि राखिएका छन्। वृद्धवृद्धाका लागि विश्रामको सुविधा छ।
बालबालिकाका लागि अलग्गै चिल्ड्रेन पार्क व्यवस्था छ। हरेक पार्कमा विद्युतीय प्रविधिबाट प्रशोधन हुने स्वच्छ पिउने पानी, सुविधायुक्त शौचालय, कपाल काट्ने सैलुन र औषधि पसल छन्।
पार्कमा दैनिक उपयोगका सामग्री र तरकारी पसल छन्। हर्बल चिया-कफी पिउन पाउने सुविधा छ। भटमासको ताजा दूध पनि पाइन्छ। डिब्बाबन्द तयारी खाना बेच्न पाइँदैन। घर फर्किन ट्याक्सी पाउने सुविधा छ।
यस्तो सबै व्यवस्था मिलाउने जिम्मेवारी टोल समितिको हुन्छ।
यसरी स्वस्थ, समृद्ध समाज तथा नवयुग निर्माण गर्ने उद्देश्यले बनाइएका पार्कहरूमा आधारभूत सुविधा उपलब्ध हुन्छ। यस्ता पार्कहरूमा सबै उमेरका व्यक्तिले गुणस्तरीय ढंगले समय बिताउन पाउँछन्।
व्यक्ति र समुदायमा यस्ता पार्कहरूको प्रभावकारिता परीक्षण गर्न विभिन्न समयमा गरिएका अध्ययन-अनुसन्धान र तथ्यांकहरूले उत्साहजनक परिणाम देखाएका छन्। अध्ययन-अनुसन्धानले बालबालिका, किशोरकिशोरी, काममा व्यस्त युवा तथा वयस्क, वृद्ध, बिरामी सबैले लाभ हासिल गरेको निष्कर्ष दिएका छन्।
चीनले आममानिसका लागि एकीकृत बस्ती तथा पार्क व्यवस्थापनको काम अझ द्रुत गतिमा अभियानकै रूपमा अघि बढाएको छ। पार्कमा घुमफिर गर्ने मानिसहरू खुसी देखिन्छन्। पार्कमा परोपकारी काम गर्न चाहनेलाई पनि अवसर छ। पार्क क्षेत्रमा व्यावसायिक विज्ञापन गर्न पाउने सुविधा पनि छ।
कतिपय पार्कको खर्च परोपकारीको दान र विज्ञापन शुल्कले नै धान्न थालेको छ। यसबाट पार्क व्यवस्थापन सहज हुँदै र सरकारी खर्च घट्दै गएको छ। पार्क व्यवस्थापनमा टोल समिति नै जिम्मेवार हुने भएकाले दिगोपन पनि सुनिश्चित भएको छ।
चीनको यस्तो कामबाट प्रभावित दक्षिणपूर्वी एसियाका कतिपय देशले हाल ठ्याक्कै त्यस्तै गर्न सुरू गरेका छन्।
नवयुग निर्माण र नेपाल सन्दर्भ
वर्तमानको उछलकुद, प्रतिस्पर्धा र तनावग्रस्त जीवनशैलीमा मानिसलाई केही राहत चाहिएको छ। फुर्सदको समय गुणस्तरीय ढंगले बिताउने उपाय चाहिएको छ। एक्लिँदै गएका व्यक्तिलाई सामूहिकता र सामाजिक परिवेश चाहिएको छ।
नेपाल पनि यही बिन्दुमा छ।
हालै नेपालको वैज्ञानिक-आध्यात्मिक संस्था 'जीवन विज्ञान प्रतिष्ठान' ले प्रधानमन्त्रीसहित प्रमुख दलका प्रमुख नेता तथा सदस्य र निजामती सेवाका उच्चपदस्थ अधिकारीको सहभागितामा लुम्बिनीमा सम्पन्न गरेको कार्यक्रम निकै महत्त्वपूर्ण छ। कार्यक्रमबाट 'लुम्बिनी संकल्पपत्र' जारी गरिएको छ।
सरकारले नीति तथा कार्यक्रममा योग, ध्यान, स्वजागरण, शान्ति पर्यटन जस्ता अध्यात्मका महत्त्वपूर्ण पक्ष समावेश गरेको छ।
चीनले अघि बढाएको नवयुग निर्माणको नमूना कामबाट नेपालले धेरै सिक्न सक्छ। सामाजिक-सांस्कृतिक क्षेत्रमा सकारात्मक काम गर्न सक्छ। आगामी दिनमा सरकारको प्राथमिकता यसतर्फ हुनुपर्छ।
स्थानीय निकायहरूले भौतिक रूपले सुविधायुक्त र प्राकृतिक सौन्दर्यले भरिपूर्ण पार्कहरू निर्माण गर्न सक्छन्। यसमा संघीय सरकार र प्रदेश सरकारले आवश्यक सहयोग गर्न सक्छन्।
नेपाल अब नवयुग निर्माणको बाटोमा अघि बढ्नुपर्छ। स्वस्थ मानवीय संसाधन सहितको समृद्ध समाज नै नवयुग हुनेछ।
(लेखक ग्रामीण विकासमा विद्यावारिधि उपाधि प्राप्त र जीवन विज्ञान प्रशिक्षक हुन्।)