– मह जोडीले कैलाश सिरोहियाको समर्थनमा विचार राखे? तर म त रवि लामिछानेको पक्षमा छु! ल है यिनीहरूको कार्यक्रम बहिष्कार गरौं!
– दीपाश्रीले राजेश हमाललाई महानायक मानिनन्? म त राजेश दाइको फ्यान हुँ। यो टोलीकै फिल्म बहिष्कार गरौं!
– पारस खड्काले सन्दीप लामिछानेको पक्षमा अझै केही बोलेन? मलाई त सन्दीपमाथि अन्याय भएको लाग्छ! पारस पनि उसलाई फसाउने षड्यन्त्रकारी होला!
– ए पारसले सन्दीपको पक्षमा पो बोल्यो? म त सन्दीपलाई बलात्कारी मान्छु। उसो भए पारस पनि बलात्कारी होला!
जो मभन्दा फरक बोल्छ, उसलाई समाजले नै बहिष्कार गर्नुपर्छ — 'क्यान्सल कल्चर' ले जानेको एक मात्र भाषा, एक मात्र वाक्य यही हो। यत्ति हो।
मानौं कुनै मान्छे आफूलाई गलत लागिरहेको छ तर उसलाई कानुनतः सजाय दिन मिल्दैन। यस्तो बेला के गर्न सकिन्छ।
त्यो मान्छेलाई गलत मानेर अथाह रिसाउन सक्ने आफूजस्तै अरू मान्छे खोज्ने, भिड बनाउने र भिड मिलेर उसलाई समाजबाट बहिष्कार गर्ने — क्यान्सल कल्चरको छोटो र तितो परिभाषा यही हो।
क्यान्सल कल्चर अर्थात् बहिष्कार संस्कृति, जसले भर्खरै कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई झन्डै काँचै निलिसकेको थियो। हतारहतार दुई हात जोडेर 'मिठो' माफी मागेपछि कसोकसो जोगिनुभयो।
घरका हजुरबाजस्ता दुई कलाकारले अनुहारभरी पिर र ग्लानी बोकेर दुवै हात जोडी माफी मागेको भिडिओ आयो।
हुन त माफी माग्नु आफैमा मिठो महानता हो, अरू गलत गर्नेलाई पनि गल्ती गरेँ भन्ने आँट दिन्छ। तर त्यो दृश्य मेरो घाँटीले मिठो महजसरी निल्न सकेन। बरू घाँटीमा गाँठो पर्यो। डरको अमिलो, तितो, टर्रो गाँठो। र, गाँठोले सोध्यो — के अब आफूलाई लागेको कुरा बोल्नु साँच्चै यति डरमर्दो भइसकेको हो?
यो एक विषयमा उहाँहरूले के बोल्नुभयो, कलाकार हुँदैमा जे पनि बोल्ने छुट हुन्छ कि हुँदैन, अदालतमा विचाराधीन विषयमा बोल्नु बुद्धिमता थियो कि थिएन, यी प्रश्नका अलग अलग जबाफ भेटिएलान्। तर जसरी माफी माग्नुभयो भयो, के त्यो याचना जरूरी थियो?
यो प्रश्नको केबल एउटै जबाफ भेटिन्छ — जरूरी थियो।
अहँ, यस कारण जरूरी होइन कि उहाँहरूले बोलेर 'पाप' गर्नुभयो। कुनै हत्यारालाई बुइँगलमा लुकाएर पुलिसलाई छक्क्याएको होइन। वस् एउटा विषयमा विनम्र भएर आफूलाई लागेको विचार राखेको हो।
तर पनि याचनापूर्ण माफी जरूरी भयो। त्यो यस कारण कि, माफी नमागेको भए उहाँहरूको भरोसामा लगानी गरेका थुप्रै मान्छेको लगानी डुब्न सक्थ्यो। यही बेला अस्ट्रेलियामा 'महजात्रा' हुँदैछ, मह जोडीको कला प्रदर्शनी उत्सव, अथाह श्रद्धाले सुरू गरिएको उत्सव। तयारी व्यापक चलिरहेको थियो।
तर मह जोडीको एक विचार बाहिर आउनेबित्तिकै बजारले रातारात उहाँहरूको सम्पूर्ण परिचयलाई लिलाम गरिदियो। उहाँहरूभन्दा फरक विचार राख्ने एक एक मान्छे धमाधम गाली बर्साउँदै, गालीको गमले आपसमा टासिँदै भिड बन्न थाले। भिडले किनिसकेको टिकट फिर्ता गर्ने अभियान नै चलायो। आयोजक थामिनसक्नु आक्रमण खेप्दै थिए। यसपछि पनि अझै थुप्रै आफूसंलग्न कार्यक्रम थिए, सब डुब्न सक्थे।
यो अप्रत्यासित गन्जागोलमा सायद मह जोडीलाई लाग्यो — अहिले आफ्नो अभिव्यक्ति स्वतन्त्रताको हक कुल्चिएर माफी माग्नु नै सबैलाई डुब्नबाट जोगाउने डुंगा हो।
मह जोडी भिडको ढुंगाबाट बच्ने डुंगामा चढ्नुभयो।
तर यसपालि उहाँहरू यो डुंगामा चढेर खोलापर जहाँ पुग्नुभयो, सायद त्यहाँबाट अब हामीले उहाँहरूको व्यक्तिगत विचार कहिल्यै सुन्न पाउने छैनौं।
यो बहिष्कार संस्कृति यस्तै जब्बर रहिरहे सायद हामीले अब कसैको 'भिडभन्दा फरक विचार' कहिल्यै सुन्न पाउने छैनौं।
किनकि बहिष्कार संस्कृतिका अनुसार कुनै व्यक्तिको विचार, एउटा विषयमा उसको विचार मात्र होइन। व्यक्तिको एक विचार नै उसको सम्पूर्ण व्यक्तित्व हो। यदि त्यो एउटा विचार मेटाउनु छ भने, विचारबाहक मान्छे मेटाउनुबाहेक अरू कुनै उपाय नै छैन।
यो प्रवृत्ति चाहन्छ — कसैको आफूभन्दा फरक मत हुनेबित्तिकै उसलाई अब संसारले बहिष्कार गर्न थालोस्। नितान्त एक्लो बनाओस्। कतै जागिर रहेछ भने जागिरबाट निकालियोस्, कलाकार रहेछ भने उसको कलालाई सबैले थुकुन्, खेलाडी रहेछ भने मैदानबाहिर निक्लिने गरी घुँडा टेकोस्।
केबल बोल्नुले, एउटा विचार राख्नुले एउटा मान्छे झ्याम्मै कि दानव बन्छ कि देवता। एकपटक देवता बनिसकेको मान्छे, दशकौं देवताजसरी सम्मान पाएको मान्छे पनि जुनसुकै बेला केबल एक विचारले दानव बनिदिन्छ। अनि त्यो दानवलाई भिडले भोको सिंहजसरी गर्जिँदै लखेट्छ। लुछ्दै रगताम्मे पार्छ। यस्तो भयानक सत्य थाहा पाएपछि कोही पनि जिम्मेवार मान्छे कुन आँटले केही बोल्छ?
'सिनेमा आउँदैछ, राजनीतिक, सामाजिक कुनै विषयमा केही नबोल्नु है! व्यक्तिगत विचार भन्न पाइँदैन! केही गरी भिडलाई एउटा कुरा चित्त बुझेन भने सिंगै सिनेमा चैट् फेरि — अचेल सबै सिनेमाको रिलिज नजिकिन लाग्दा सिनेमाका कलाकारदेखि प्राविधिकसम्मले सुन्ने बिन्ती हो यो। मुख्य कलाकार भए त अझ झुक्किएर पनि बोल्नभएन!
गएको वर्ष मात्रै अभिनेता दयाहाङ राईका झन्डै एक दर्जन सिनेमा रिलिज भए। उनकै अनुहार र छविको तारमा झुन्डिएर लगानी लगाउँछन् कति निर्माता। यस्तो अवस्थामा, कुनै संवेदनशील विषयमा दयाहाङको व्यक्तिगत विचार अब वर्षौंवर्षसम्म पनि सुन्न पाइँदैन होला। जुन सम्भावनाको ज्वलन्त उदाहरण हुन् भारतमा बहिष्कार संस्कृतिको शिकार भएका शाहरूख खान र आमिर खान। जो पछिल्ला वर्ष राजनीतिक, सामाजिक, सबै विषयमा यसरी चुपचाप छन्, मानौं उनीहरूको दिमागले विचार बनाउन बन्द गरिसक्यो।
हामीले राजतन्त्रले बोल्न दिएन, आवाज कुण्ठित गर्यो भन्दै भिड बनाएर लोकतन्त्र ल्यायौं। तर अहिले त्यही भिड लोकतन्त्रको घाँटी न्याकेर बसिरेहको छ।
लोकतन्त्रको घाँटी न्याक्नु भनेको केबल बोल्यो कि पोल्योजसरी जेल जाक्नु मात्र होइन। सपना सम्झिने उमेरबाट सिनेमाको सपना देख्ने मान्छेका लागि आफ्नो सिनेमा बहिष्कार भएको देख्नु, जेल जानु नै हो। एउटा कविलाई उसका कविता कुल्चिएको देख्नपर्नु, जेल जानु नै हो। सरस्वती चरण पुकारेर स्टेजमा गीत गाइरहेको गायकको अनुहारमा बोतल फ्याँकिनु, जेल जानु नै हो। जागिर जानु, भोकै हुनु, आफ्नो कारण परिवारको पेट रित्तिनु, के जेलमा हुनुभन्दा कम लाचारी छ? समाजमा बस्ने मान्छेलाई समाजै मिलेर दिनरात दुत्कारेपछि, जंगली जनावर जसरी बहिष्कार गरेपछि राजाको आदेशमा हतकडी लगाएर जेल नै किन लगिरहनपर्यो?
चारपाटा मुण्डन गर्ने, 'जात खसाउने', र खोला कटाएर सामाजिक बहिष्कार गर्ने चलन झुर, पुरातनवादी भयो भनेरै विधि र कानुनी संरचना निर्माण गरेका हौं हामीले। अदालत, अधिवक्ता, न्यायाधीशको कल्पना गरेका हौं। जहाँ मत फरक होस्, तर फरक मत रिसिइबी नहोस्। जहाँ सबक होस्, तर अपराध नै अपराधीको जीवनभरको तक्मा नबनोस्। जहाँ प्राथमिकतामा सजाय होइन, सुधार होस्। सुन्दर आधुनिक समाज बनाउन भनेरै यो नयाँ बाटो खन्न थालेका थियौं हामीले।
तर थाहै नपाइ बिस्तारै हामी फेरि बाटोको पुच्छरतिरै फर्किँदैछौं। कसैले आफूलाई लागेको 'गलत' विचार राख्नेबित्तिकै उसको सामाजिक बहिष्कार होस् भन्ने चाह र चारपाटा मुण्डन गरेर खोला कटाउने चलन, दुवैको लक्ष्य एकै त हो।
आज मह जोडीलाई विचाराधीन मुद्दामा नबोल्नुस् भन्दा त भिडको तर्क सही थियो भन्न पनि सकिएला। तर भिडको तर्क सही हुँदा पनि भिडतन्त्र सही हुँदैन। हाम्रो बानी के छ भने, आफ्नो विचारसँग सहमत हुँदा हामीलाई तिनै मान्छे बौद्धिक जमात लाग्छ अनि अभिमत फरक हुनेबित्तिकै तिनै मान्छे 'भिड'।
जो रवि लामिछानेलाई रूचाउँदैनन्, उनीहरूका लागि रविको राम्रै कोसिसलाई सघाउँदा पनि, समर्थक जति सबै भिड हुन्। अनि जो रविलाई भगवानसरह देख्छन्, उनीहरूका लागि रविसँग विमति जनाउने सबै समूह पार्टीका भक्त भिड!
तर कोही पनि कुनै निश्चित विचार वा समर्थनकै कारण स्वतः भिड बन्दैन। एउटा मान्छे जब आफ्नोभन्दा फरक विचार सुन्नसमेत नसक्ने हालतमा पुग्छ, फरक बोल्ने जति सबलाई तथानाम तुच्छ गाली गर्नैपर्ने बन्छ, तब ऊ जति नै नैतिक पक्षमा उभिए पनि भिड हो। भिडतन्त्रको बेतलबी गुलाम।
लोकतन्त्रमा त फरक विचार के असाध्यै 'खराब' विचार राख्नेले पनि आफ्नो विचार निर्धक्क राख्न पाउनुपर्छ। किनकि खराबको परिभाषा मान्छेपिच्छे, मौसमपिच्छे बदलिरहन्छ।
पल शाहविरूद्ध समीक्षा अधिकारीको मुद्दा चल्दै थियो। सामाजिक सञ्जालमा सबका आआफ्ना धारणा चल्दै थिए, ठीकै थियो। एक्कासि केही 'अभियन्ता' ले 'समीक्षाको पक्षमा फैसला गर्न दबाब दिऔं, अदालतकै अघि नारा लगाउनुपर्छ' भन्न थाले। उनीहरू अक्सर भिडको विपरीत उभिने 'जाने-बुझेका' र 'प्रगतिशील' हरू थिए। हामी नबोल्दा कुनै महिलाले न्याय पाउँदिनन् कि भन्ने डरमा सायद सही नियतले नै बोलेका थिए। तर नियत सही भए पनि भिड गएर अदालतअघि नारा लगाउँदै फैसलामा प्रभाव पार्न खोज्नु उचित थिएन।
किनकि आज आफूलाई सही लागेको पक्षका लागि अदालतलाई दबाब दिँदा त त दबाबलाई न्यायको नाम दिइएला। तर भोलि विपक्षीले पनि त्यस्तै गर्यो भने? विपक्षीको भिड आफ्नोभन्दा बलियो भयो भने? त्यस बेला कुन नैतिकताले अदालतलाई 'भिडको पछि नलाग् है' भन्नु? भिडतन्त्र पल शाहविरूद्ध अदालतमा नारा लगाउन जाँदा पनि डरलाग्दो हो, अनि सन्दीप पक्षधरले अदालतअघि हुलदंगा मच्चाउँदा पनि।
एउटा सानो घटना सुनाउँछु।
गौशाला २६ को मुद्दामा उच्च अदालतले फैसला सुनाउने दिन थियो। एक संगीतकारले गौशाला २६ माथि असाध्यै निच टिप्पणी दिएर फेसबुक पोस्ट राख्नुभयो। मैले अथाह सम्मान गर्ने दिग्गज संगीतकारबाटै यी शब्द आएका हुन् त भनेर पत्याउन पाँचपटक स्ट्याटस पढेँ। निराशा र रिसले आगो भएँ।
केहीबेर छटपटिएँ, आफ्नै रिससँग बसेँ, सुस्ताएँ र अन्त्यमा आफैलाई सोधेँ, 'के म पनि उहाँसँग विमति राख्ने आफूजस्तै मान्छे खोजूँ र भिड जम्मा गरेर उहाँको संगीत बहिष्कार गरूँ?'
मनले जबाफ दियो — तर संगीतको के गल्ती? के एउटा असंवेदनशिलताले उहाँले आजसम्म आर्जन गरेको बाँकी सबथोकलाई शून्य बनाउँछ? के उहाँजस्तै उहाँको विचार पनि यही समाजको उपज होइन? उहाँ बोल्नुभयो र त मलाई थाहा भयो, यो समाजमा सोचको तह कहाँसम्म रहेछ। यो त ऐना देखाएर समाधान खोज्ने मौका दिएको हो। उहाँको बोल्न पाउने हक स्वीकार गरेर, अथाह साधनाबाट जन्मिने उहाँको संगीत र मलाई नपचेको विचार अलग खाडलमा राखेर, तथानाम गालीबाहेक अरू कुनै तरिकाबाट कोसिस गरेँ भने बरू सुन्नुहोला मेरो कुरा। होइन, उहाँले सुन्दै सुन्नुभएन भने पनि कम्तीमा मैले सुनाउनुपर्ने कुरा के रहेछ भन्ने त थाहा पाएँ। अब त्यो कुरा कलिला केटाकेटीलाई सुनाऔंला, महिला सम्मानको चेतना अर्को पुस्तामा सुधारिएला। तर सिधै उहाँलाई अपराधी करार गरेर संगीत र उहाँलाई बहिष्कार मात्र गरेँ भने उहाँको चेतना बदलिँदैन, केबल बोली बदलिन्छ।
चेतना नबदलिई बोली मात्र बदल्नु कमसल चेतना हुनुभन्दा बढी भयानक हो। कथित सही बोल्ने तर सत्य नबोल्ने मान्छे गलत बोल्नेभन्दा पनि घातक हुन्छ।
अनि जो मान्छे घातक हुन चाहँदैनन्, ती डरपोक बन्न थाल्छन्।
एक विचारलाई कलाकारको सम्पूर्ण परिचय बनाइ कलालाई नै बहिष्कार गरेको देखेपछि, मनमा जेसुकै लागोस्, हरकोही कलाकार डरले चुपचाप बन्छ। कलाकार मात्र कहाँ, अब त भिडको सामाजिक बहिष्कारले कुनै पेसा छोड्दैन। सुन्ने मान्छे डुबेर नमरून्जेल विषको नदी ओकलिरहन्छ। दिनरात लगातार अनवरत आक्रमण गरिरहन्छ।
यस्तै कुनै भिड आक्रमणले मार्ला भन्ने त्रासमा बिस्तारै मान्छे फरक विचार हुँदा बोल्नै छोडिदिन्छ। केही समय त नबोले पनि मनमा विचार उत्पादन भइरहला। तर पोखिने ठाउँ नपाएपछि माया त मर्छ, विचार झन् के बाँच्थ्यो। नबोल्दा, नबोल्दा, नबोल्दा एक दिन अकस्मात मान्छे सोच्दा पनि नसोच्ने बन्छ। फरक विचारको टुसा मात्रै पलाउन लाग्दा भिडको डरले विचार निमोठेर उतिबेलै मारिदिन्छ। मनभित्रै।
जुन देशमा विचार मरेका मान्छेहरू हुन्छन्, त्यो देश समावेशी, समाजवाद उन्मुख, लोकतान्त्रिक, गणतन्त्रात्मक, केही होइन, फगत मसानघाट हो!