जे खाने थाकी जे थावे थाकी!
मोन अमार गोर्खाली!!
हाम्रो संवादका क्रममा मनोज बहादुर गोर्खाले नेपाली गीतको एक अंश बंगाली भाषामा सुनाए।
गीत थियो– जसो गर जे भन जतासुकै लैजाऊ मलाई, यो मन त मेरो नेपाली हो।
उनले गीतमा रहेको 'नेपाली' शब्दको सट्टा 'गोर्खाली' प्रयोग गरे।
'नेपाली' को सट्टा 'गोर्खाली' किन?
उनले भने, 'म नेपाली होइन, बंगलादेशी नागरिक हुँ। म बंगलादेशी गोर्खा हुँ।'
मनोज बहादुर चार वर्षपछि दोस्रो पटक यही वैशाख दोस्रो साता बंगलादेशबाट नेपाल आएका थिए।
यस पटक उनी चार मुख्य उद्देश्यले आएका थिए – गोर्खा र लुम्बिनी जाने, एउटा माझी बस्ती पुग्ने र राजा ज्ञानेन्द्र शाहलाई भेट्ने। अतिरक्त उद्देश्य राष्ट्रपतिलाई भेट्ने पनि थियो।
उनी गोर्खाको इतिहास खोज गर्दै छन्। एउटा टुंगोमा पुगेपछि पुस्तक लेख्ने योजनामा छन्। गोर्खा पुगेर उनले त्यहाँका ऐतिहासिक र धार्मिक क्षेत्रहरू अवलोकन गरे। आफ्नो नाममै 'गोर्खा' जोडेका छन् तर गोर्खा कहिल्यै पुगेका थिएनन्।
बंगलादेशमा जन्मेर जीवनको ६८ वर्ष बिताउन लाग्दा दोस्रो पटक नेपाल आए। पहिलो पटक २०७६ जेठमा आउँदा गोर्खा जान सकेका थिएनन्।
बंगलादेशमा मनोज बहादुर मात्र गोर्खा होइनन्, उनको थर माझी हो। बंगलादेशको चटगाउँबाट करिब ७० किलोमिटर पूर्वको रांगामाटी उनको गाउँ हो।
उनको गाउँमा ६० घरपरिवार जति नेपाली मूलका बंगलादेशी छन्। उनीहरू कोही नेवार छन् त कोही गुरूङ। क्षेत्री, राई, सार्की र अन्य केही थरका पनि छन्। उनीहरू सबै आफ्नो नामथरमा गोर्खा जोड्छन्; राई गोर्खा, सार्की गोर्खा, माझी गोर्खा इत्यादि।
मनोज बहादुरका जेठा छोराको नाम हिमाद्री बहादुर गोर्खा हो, कान्छा सञ्जित बहादुर गोर्खा।
यसरी सबैले 'गोर्खा' भन्नु–लेख्नुको कारण के होला?
मनोज बहादुर भन्छन्, 'थर आआफ्नो वंश र परिवारको पहिचान हो। गोर्खा भन्नु पुर्ख्यौली थलो नेपाल भएका बंगलादेशीको साझा पहिचान हो। हामी सबै पुर्ख्यौली थलो नेपाल भएका बंगलादेशी हौं भनेर साझा पहिचान दिन चाहन्छौं।'
सबै 'गोर्खा' भएपछि सबैको जात एउटै भयो, एकता देखिने भयो, सामूहिकता प्रवर्द्धन हुने भयो।
उनका अनुसार बंगलादेशी गोर्खाहरू यस्तै साझा भावनाले ओतप्रोत छन्।
साझा पहिचान गोर्खा भइगयो। मनोज बहादुरको निजी पहिचान पनि छ। त्यो हो नेपालीहरूले लगाउने ढाका टोपी। उनको शिरमा सधैं ढाका टोपी हुन्छ। बंगलादेशमा आफ्नो घरबाट निस्किँदा ढाका टोपी लगाए। नेपाल घुम्दा शिरमा टोपी लगाइरहे। यसैगरी बंगलादेशमा पनि लगाउँछन्। घुमफिर र हरेक औपचारिक कार्यक्रममा लगाउँछन्। उनका अनुसार नेपाली टोपी उनी बंगलादेशी गोर्खा हुनुको पहिचान हो, अभिन्न वस्त्र हो।
मनोज बहादुरलाई अग्रजहरूले भनेअनुसार उनका हजुरबुबाका हजुरबुबा हितमान माझी गोर्खा रेजिमेन्टबाट सन् १८७१ मा हालको बंगलादेश पुगेका थिए। त्यो समय हालको भारत, पाकिस्तान र बंगलादेश एकै थियो, एउटै ठूलो देश थियो।
त्यो समयका शासकले हालको बंगलादेशी भूभागमा रहेको एउटा उग्रवादी समूहलाई निस्तेज बनाउन एउटा गोर्खा रेजिमेन्ट पठाएको थियो। त्यसमै थिए हितमान माझी।
सेवानिवृत्त भएपछि हितमान उतै बसे। उतै जमिन किने। सन्तान उतै हुर्के। हितमानपछिका पुस्ता श्रीलाल, सुसे र जित बहादुर बंगलादेशी नै भए। जित बहादुरका छोरा हुन् मनोज बहादुर। उनका दुई छोरा र एक छोरी बंगलादेशी हुने नै भए। नातिनी आराध्या गोर्खा बंगलादेशमा आठौं पुस्ता भएकी छन्।
मनोज बहादुर यस पटक गोर्खा मात्र गएनन्, बुद्ध जन्मस्थल लुम्बिनी पनि गए। समय छोटो थियो। केही घण्टा घुमे, मायादेवी मन्दिर दर्शन गरे। लुम्बिनी पुग्ने विदेशी पर्यटकको संख्याबारे जानकारी लिए।
उनलाई लुम्बिनीको पुरातात्विक र पर्यटकीय महत्वका बारेमा केही थाहा भए पनि त्यहाँको सौन्दर्य, विशालता र पर्यटकीय चहलपहलबारे अन्जान थिए। पर्यटकको सरदर संख्या सुनेर अचम्ममा परे।
उनलाई लाग्यो – नेपालले विश्वलाई बुद्ध जन्मस्थल अझै चिनाउन सकेको रहेनछ!
यसमा उनले नेपालको कमजोरी देखे।
यसपालि उनी सिन्धुपाल्चोकको मेलम्चीस्थित बाहुनेपाटीको माझी बस्तीमा पुगे। 'राष्ट्रिय माझी उत्थान संघ' ले उनलाई सम्मान गर्यो। उनले माझीबस्तीको वस्तुस्थिति र पुर्ख्यौली परम्पराबारे केही जानकारी हासिल गरे।
उनलाई नेपालमा आफ्नो पुर्ख्यौली थलो कहाँ हो भन्ने थाहा छैन। बंगलादेशी पूर्वजहरूले त्यसबारे बताएनन्। देशको कुनै माझी बस्ती उनको पुर्ख्यौली थलो हुनु पर्छ। उनी ठ्याक्कै त्यही थलो पत्ता लगाउन चाहन्छन् तर मेसो पाएका छैनन्। उनका पूर्वजबारे थाहा पाउने नेपाली भेटेका छैनन्।
उनी आशावादी छन् – एक दिन मेरा पूर्वजको थलो र तिनका सन्तान भेट्नेछु।
उनी शाह वंशका अन्तिम राजा ज्ञानेन्द्र शाहलाई भेट्न चाहन्थे। उनले बाबुबाजेबाट राजाबारे अनेक बयान सुनेका थिए। उनीहरूमा नेपालका राजाप्रति असीम आस्था थियो। राजालाई विष्णुका अवतार मान्थे। राजसंस्था नरहे पनि एक पटक अन्तिम राजालाई भेटेर मनका केही कुरा गर्न चाहन्थे। आफ्ना पूर्वजहरूको आस्था सुनाउन चाहन्थे।
नेपालमा उनको यात्रा व्यवस्थापन गर्ने लगायत अन्य सहयोगीहरूले पूर्वराजासँग भेट गराउने प्रयास गरे तर अवसर मिल्न सकेन। भेट गराउने अधिकारीको शर्त मनोज बहादुरलाई मान्य भएन। उनका बाबुबाजेले आस्था राखेको नेपाली राजसंस्था नरहेकोमा मनोज बहादुरको प्रतिक्रिया के होला!
नेपाली जनताको आकांक्षाअनुसार भएको परिवर्तनमा उनको केही पनि टिप्पणी छैन। जो आवश्यक परेको हो त्यही भएको होला भन्ने उनको विश्वास छ।
राष्ट्रपति रामचन्द्र पौडेलले भेटको अवसर दिए। आपसमा खुब खुलेर कुरा भयो। मनोज बहादुरले आफू नेपाल आउनुको उद्देश्य जानकारी गराए। आफ्नो कविताकृति 'मेरो कविता' राष्ट्रपतिलाई उपहार दिए।
लघु पुस्तिका आकारको संग्रहमा मनोज बहादुरकृत बाह्र वटा लघु कविता संगृहित छन्। बंगाली भाषाबाट अनुदित थप चार वटा गीत पनि छन्। गीत बंगलादेशी लेखकका हुन्।
आपसमा कुरा गर्दागर्दै राष्ट्रपतिले लघु संग्रह सरसर्ती हेरे। उनले नेपाली माटो र नेपाली संस्कृतिप्रति बंगलादेशी नागरिकको प्रेम र आफ्नो पुर्ख्यौली माटोको गाथा फैलाउने प्रयासको खुलेर प्रशंसा गरे। 'गोर्खा इतिहास' लेख्ने अठोट पूरा हुने विश्वास प्रकट गर्दै शुभकामना दिए।
उनी वैशाख १४ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सोझै आफ्नो सम्मानमा आयोजित एक कार्यक्रममा सहभागी भए। उनको लघु कविताकृति त्यही कार्यक्रममा लोकार्पण भयो।
पहिलो कविताले बंगलादेशी प्रधानमन्त्री शेख हसिना वाजेदलाई 'देशरत्न' उपमासहित जन्मदिनको शुभकामना दिएको छ। यो कविता नेपाली भाषामा छ। बाँकी कविता र गीत पढ्दा नेपाली भाषा हो जस्तो पनि, होइन जस्तो पनि लाग्छ। नेपाली भनौं त आधाजति शब्द नेपाली जस्ता छैनन्, नभनौं त आधाजति शब्द नेपाली छन्।
केही कवितांश हेरौं–
शुभम् शुभम् जन्मदिनको
देशरत्न शेख हसिना तपाईंलाई
सन् ७५ को त्यो कालरात्रिपछि
नाउ डुब्न लागेको थियो खोलामा
सबैले भनेका थिए नाउलाई उठाउन को आउला
कसले उठाउला
त्यो सपना पूरा गर्ने
बंगबन्धुकी छोरीलाई
शुभम् शुभम् जन्मदिनको
देशरत्न शेख हसिना तपाईंलाई । (कविता १)
.......
पहाडी मानिसको विश्वासको नेता तिमी हे महान
तिमी ज्वालायेको थियो चेतनाको दीप
हर मानिसको मनाइमा । (कविता ४)
.......
हृदयको भावनालाई फूल ज्यस्त फुलायेर
झझलको श्रावनलाई आउँछ लियेर
कत्ति चिरा चिरा संसारको मुठ्ठीमा
समयले भरिदिनछ विषु अनि आयेर । (कविता ११)
.......
हे पशुपतिनाथ हे मेरो भगवान
तिमीलाई मेरो भक्ति चडाउ
सगरमाथा जनकपुर लुम्बिनी
मेरो हृदयमा बसेछन्
आशीर्वाद दिनुहोस हामी सबिलाई । (कविता १४)
कविता १ र अन्य कविताको शब्दशैलीमा किन यस्तो फरक?
यो जिज्ञासामा मनोज बहादुर मुस्कुराए। जिज्ञासा अनौठो लागेर होइन, स्वाभाविक ठानेर।
अनि बंगलादेशी जिभ्रोले नेपाली शब्द फड्कार्दै भने, 'कविता १ मा नेपाली भाषा छ। अरू कविता नेपाली भाषामा छैनन्। बंगलादेशी गोर्खाले बोल्ने भाषा गोर्खा हो। हामी जस्तो बोल्छौं त्यस्तै लेखेको हो।'
कविता १ पनि उनले बंगलादेशी गोर्खा शैलीमै लेखेका थिए। त्यसलाई आफैले नेपाली भाषामा अनुवाद गरे, त्यसमा नेपाली हास्यव्यंग्य कलाकार मनोज गजुरेलले सहयोग गरे।
मनोज बहादुरको प्रेम नेपाली भाषासँग त छँदै छ, त्योभन्दा बढी प्रेम बंगलादेशी गोर्खाले बोल्ने गोर्खा भाषासँग छ। उनको तर्क र विश्वास छ – बंगलादेशी गोर्खाले नेपाली भाषा जस्ताको तस्तै बोल्न र लेख्न सक्ने छैनन् तर नेपालीसँग मिल्दो गोर्खा भाषा जीवित राख्न सक्नेछन्।
पाँच दिनको नेपाल यात्रा पूरा गरेर उनी पाशुपत क्षेत्र गए। उनी पशुपतिनाथ मन्दिर मेलोमारी घुमेर दर्शन गर्न चाहन्थे तर समयले साथ दिएन। आधा घण्टा हाराहारी पनि समय पाएनन्। विमानस्थल पुग्न हतार भइगयो।
मनोज बहादुर सनातन संस्कृतिमा आस्था र विश्वास राख्छन्। उनको घरमा दसैं र तिहार मनाइन्छ; सबैजसो बंगालदेशी गोर्खाहरूले मनाउँछन्। दसैंमा दुर्गापूजा हुन्छ। टीका र जमरा लगाउँछन्। तिहारमा देउसी–भैलो खेल्छन्। भाइटीका पनि हुन्छ।
बंगलादेशमा उनले संगीत स्कुल 'सुर निकेतन' चलाएका छन्। सुर निकेतनले शास्त्रीय र आधुनिक संगीत तथा यस्तै नृत्य प्रशिक्षण दिन्छ। हाल सय जना जति प्रशिक्षार्थी छन्। नेपाली गीत पनि सिकाउँछन्।
एक प्रशिक्षार्थी उनका साथ नेपाल आएका थिए। मनोज बहादुरको सम्मानमा आयोजित कार्यक्रममा 'यो हो गीत तिमीलाई, यो हो प्रीत तिमीलाई...' बोलको गीत गाए। दोस्रो अन्तराका एउटा शब्दको उच्चारणमा अलमल भयो। थोरै लजाए अनि 'थ्यांक यू' भने।
संवादका क्रममा मनोज बहादुरले त्यही गीतको एक अन्तरा सुनाए।
उनले केही नेपाली गीत बंगाली भाषामा अनुवाद गरेका छन्। ती गीत सुर निकेतनका प्रशिक्षार्थीहरूलाई सिकाउँछन्।
उनलाई नारायण गोपालले गाएको 'तिम्रो जस्तो मुटु मेरो पनि...' गीत औधी मन पर्छ। 'एउटा मान्छेको मायाले कति...' पनि उस्तै मन पर्छ। उनले यी दुबै गीत बंगाली भाषामा अनुवाद गरेका छन्।
संवादका सिलसिलामा यी दुबै गीतका बंगाली अनुवाद एकएक अन्तरा सुनाए।
मनोज बहादुर बंगलादेशलाई आफ्नो 'मातृभूमि' र नेपाललाई 'पितृभूमि' मान्छन्। उनका पूर्वज नेपाली थिए, नेपाली माटो र संस्कृति उनीहरूको थियो। हजुरबुबाका हजुरबुबा बंगलादेश पुगेर उतैका नागरिक भए तर उनीहरूले नेपालको माया बिर्सेनन्। त्यही गुण मनोज बहादुरमा जस्ताको तस्तै सरेको हो।
उनी अर्को पटक चाँडै नेपाल आउन चाहन्छन्। गोर्खा इतिहास लेख्नु छ, त्यसका लागि आउनु नै छ। त्योभन्दा बढी त पितृभूमि नेपालप्रति असीम प्रेम छ।
यो प्रेम उनका बुबाले जगाइदिएका हुन्। बुबाले नेपाल जानू, आफ्ना पूर्वजहरूको थलो खोज्नू, छोराछोरीलाई पनि लैजानू भनेका थिए।
पहिलो पटक एक्लै अएका थिए, यसपालि कान्छा छोरालाई लिएर आए। अब आउँदा जेठा छोरा र नातिनी ल्याउन चाहन्छन्।
बुबाको कुराले उनलाई त्यति बेलै भावुक बनाएको हो। पितृभूमिको स्मरण मात्रले पनि उनमा भावुकता जगाउँछ। नेपालबारे कुरा गर्दा त आफूलाई सम्हाल्नु पर्छ।
यसको अर्थ बंगालदेशप्रति कम भन्ने होइन, बंगलादेश त झन् मातृभूमि नै भइगयो। कुनै पनि अर्थमा प्रेम कम हुने होइन। उनी मातृभूमि र पितृभूमिको प्रेम जोड्न र फैलाउन चाहन्छन्। आफ्ना सन्तानमा पनि त्यो प्रेम जगाउन चाहन्छन्; पुस्तापुस्ता सर्दै जाओस् भन्ने चाहन्छन्।
मनोज बहादुरलाई नेपालीहरू वीर हुन्छन् भन्ने विश्वास छ। वीर हुनु भनेको बहादुर हुनु हो। बहादुर भएकैले नेपालीहरू विश्वभर फैलिएका हुन्, त्यसै भएर आफ्ना पूर्वज बंगलादेशका बासिन्दा भएका हुन् भन्ने उनको ठहर छ।
उनी आफूमा बहादुर नेपालीको अंश पाउँछन्। त्यही अंशको प्रवर्तन हो उनका नाममा जोडिएको 'बहादुर' शब्द। उनका दुबै छोराको नाममा 'बहादुर' जोडिएको छ।
मनोज बहादुरलाई आजकाल नेपाली पुरूषहरूले आफ्नो नाममा 'बहादुर' जोड्न छाडेका छन् भन्ने लागेको छ। यो उनलाई उति निको लागेको छैन। 'बहादुर' लेख्न छाड्नु भनेको आफ्नो पहिचान कमजोर बनाउनु हो भन्ने उनको निष्कर्ष छ।
उनी नेपाली साहित्य पढ्न र नेपाली भाषामा साहित्य लेख्न चाहन्छन्। लघु संग्रह 'मेरो कविता' उनको त्यही चाहनाको प्रारम्भ हो। उमेर ढल्किँदै छ तर जोसजाँगर ढल्केको छैन। उमेरले परिपक्व बनाएको हो, जोसजाँगर घटाएको होइन।
मनोज बहादुर यही विश्वास र आत्मबलले अघि बढेका छन्।
***
(गोविन्द लुइँटेलका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्)