सुहाङ, सबभन्दा पहिले त निर्वाचित भएकोमा बधाई।
साथै नेपालको राजनीतिक धरातलमा स्वागत छ।
यो चुनावी अभियान दौरान, मैले केवल एक ठाउँमा मन्तव्य दिएँ। त्यो मन्तव्यमा मैले तपाईं लक्षित एक अभिव्यक्ति बोलेको थिएँ जुन सत्य हो। तैपनि त्यो सत्यले तपाईंलाई कतै चोट पुर्याएको छ भने अन्यथा नसोच्न अनुरोध गर्छु।
राजनीतिमा धेरै कुरा स्वाभाविक हुने रहेछ। तर अस्वाभाविक कुरा केलाउन सक्ने क्षमता हामीमा हुनुपर्छ।
तपाईंका बुबा स्वर्गीय सुवासचन्द्र नेम्वाङप्रति म लगायत मेरो पुस्ताका धेरै राजनीतिज्ञ र विशेष गरी मसम्बन्धित दल राष्ट्रिय स्वतन्त्र पार्टीका धेरै सांसदहरूको सम्मान र श्रद्धासुमन सदा छ। उहाँ हामी नयाँ आउँदै गरेका राजनीतिज्ञका लागि एक फरक दलको तर सन्तुलित अभिभावक हुनुहुन्थ्यो। हामीले त्यो कमी खेप्दै छौं।
सुवासचन्द्र नेम्वाङको मृत्यु देशकै लागि अनपेक्षित थियो। नेपाली राजनीति जगत, संविधानको अभ्यास गर्ने कार्यकर्ता र एउटा सन्तुलित राजनीतिक अभ्यास गर्ने व्यक्तिहरूका लागि दुःखद पनि थियो।
त्यस घडीमा तपाईंहरूले गर्नुभएको धैर्य धारणप्रति सहानुभूति र सम्मान छ।
सांसद भइसकेपछि सुवासचन्द्र नेम्वाङसँग तीन दिनको वैदेशिक भ्रमणको अवसर पाएको थिएँ। त्यो मेरा लागि धेरै नै अविस्मरणीय थियो र उहाँको मृत्युपछि त्यो भेटबारे मैले लेख पनि लेखेको थिएँ।
सुहाङ, तपाईंको उम्मेदवारी एउटा भावनात्मक सहानुभूति र क्रुर राजनीतिको उपज हो। यो यथार्थ नै हो। तर तपाईं अब लोकतान्त्रिक प्रक्रियाबाट प्रत्यक्ष निर्वाचित जनप्रतिनिधि र प्रतिनिधि सभा सदस्य हो। तपाईंको त्यो अस्तित्वको सम्मान गर्नु मेरो राजनैतिक र संवैधानिक धर्म हो।
नेपालमा केही जिल्ला छन् जसले पहाडको जटिलता, मध्य पहाडको शीतलता र भित्री मधेसको ताप सँगसँगै बोकिरहेका हुन्छन्। इलाम त्यसमध्ये एक हो। इलामको प्राकृतिक रमणीय दृश्यहरू, मान्छेको स्वभाव, खानपिन सबै कारणले मनपर्ने जिल्ला हो। पहिले पनि केही पटक पुगेको थिएँ, अलिअलि बुझेको थिएँ। तर यो निर्वाचन दौरान फेरि नजिकबाट हेर्न पाएँ, बुझ्न पाएँ।
इलाम बाहिरबाट हेर्दा जस्तो छ, भित्री रूप फरक छ।
बाहिरबाट हेर्दा रमणीय देखिन्छ, शीतल देखिन्छ। तर कैयौं भागमा खानेपानी समस्या छ। कन्याम, फिक्कल, अन्तु लगायत सरल देखिन्छन्। तर बाटो नभएका माई र चुलाचुली वा माङ्सेबुङको जटिलता टाढाबाट देखिँदैन।
यसपालि निर्वाचनमा मैले यो पनि बुझेँ कि, प्रशासनिक केन्द्र टाढा भएकाले माई र चुलाचुली पालिकाका नागरिकहरूले खेप्नुपरेको जटिलताको कारण सामान्य बौद्धिक दरिद्रता मात्र हो। सडक सञ्जाल निर्माण हुन नसक्नु गलत व्यक्तिलाई दिइने ठेकेदारीको जिम्मेवारी र भ्रष्टाचार मात्र हो। अपेक्षा निक्कै नै स्वाभाविक र सामान्य छ।
यसपटक हामीले पाएको अपेक्षा गरेभन्दा निकै कम मत र हाम्रो तुलनामा तपाईंले पाउनुभएको पाँच गुणाभन्दा बढी मत, यो सबै पटकपटक सम्झिरहनुहोला। र, आगामी निर्वाचनसम्म इलामका समस्याका यी मुद्दा कायम नरहने गरी काम गर्नुहोला।
म प्रतिनिधि सभा सदस्य भएको १६ महिना भयो। यो १६ महिनामा मैले धेरै कुरा बुझ्न पाएँ र केही थोरै सिक्न पाएँ।
सदन पस्दै गर्दा एक किसिमको जिम्मेवारी महसुस हुन्छ।
पहिलो कुरा त धेरै अपेक्षा हुन्छ तर तालिम छँदै छैन। सबैले राष्ट्रिय गान गाउँदै गर्दा कसरी उभिने भन्नेधरि जानकारी छैन। पहिरन, शारीरिक हाउभाउ, बोल्दा शब्द उच्चारणका, तथ्यांकका, विषयगत सान्दर्भिकताका कुरा लगायतमा केही कमजोरी पाउनु हुनेछ। केही संख्यामा प्रतिनिधि हुनुहुन्छ जो शारीरिक रूपमा सधैं देखिए पनि वैचारिक रूपमा कहिल्यै देखिनु हुन्न।
सुहाङ, हामी त्यस्तो हुनु हुँदैन! त्यो तयारी गरेर आउनुस्!
म जनप्रतिनिधिहरूलाई दोष दिन चाहन्नँ। कोही महिला हुनुहोला जसका श्रीमानले युद्धबाट देशमा राजनीतिक परिवर्तन गर्ने चाहनामा ज्यान गुमाउनुपर्यो। ती महिलालाई राजनीतिक अवसर श्रद्धाञ्जली वा सम्मान स्वरूप आइलाग्यो। र, उहाँ जनप्रतिनिधि भएर प्रतिनिधि सभा सदस्य हुनुभयो। उहाँबाट सबै कुराको ज्ञानको अपेक्षा गर्न सकिँदैन। कोही पिछडिएको क्षेत्रबाट आउनुभएको होला जसको पृष्ठभूमिसँग जोडिएको आफ्नै विगत होला।
तर सत्य त वर्तमान हो र यसलाई नकार्न सकिँदैन।
विगत सधैं नबिके पनि भावनात्मक हुन्छ। भविष्यको विश्वास गर्ने धरातल असहज हुन्छ, त्यसैले संघर्षशील र तार्किक हुनुपर्छ।
सुहाङ, तपाईंका बुबाको कतिपय राजनीतिक संघर्ष र सम्झौता तपाईंका लागि व्यर्थको पनि लाग्थ्यो होला। तर अब सदन र संसदीय अभ्यासमा तपाईंले त्यसलाई नजिकबाट हेर्नु हुनेछ। राजनीतिमा केही विकृति यसरी गाडिएको छ, जति गन्हाए पनि पखाल्न सकिँदैन। त्यो हटाउन एक कठोर प्रयास आवश्यक छ।
तपाईं र म जस्तै कैयौं व्यक्ति राजधानीको कुनै कलेज वा विदेशको कुनै विश्वविद्यालयमा उच्च शिक्षा पढ्दै गर्दा अरू केही सदस्यका परिवार यो देशमा राजनीतिक परिवर्तनका लागि जंगलमा लड्दै थियो। केही त भूमिगत थिए। केही सदस्य विश्वका प्रतिष्ठित संस्थामा रहेर गरिमामय पदमा काम गरिरहँदा, अर्का सदस्य आधारभूत आवश्यकताका लागि लड्दै थिए।
त्यसैले सबै सदस्यले सबै कुरा जानेकै हुनुपर्छ भन्ने सोच्नु हुँदैन। सबै प्रतिनिधि मत पाएर आउनुभएको छ। उहाँहरू जनताको आवाज र अधिकारको प्रतिनिधित्व हुनुहुन्छ। सबैको पृष्ठभूमि फरक फरक छ। फरक पृष्ठभूमिमा समान अपेक्षा न्यायिक हुँदैन। तर सदनमा उहाँहरूलाई साथ लिएर हिँड्ने उदारता लिएर आउन आवश्यक छ।
हामी देख्न सक्छौं, नेपालको बैंकिङ प्रणाली, विकासे संघसंस्थाको क्षेत्रमा वार्षिक रूपमा कम्तीमा नाफाको एक प्रतिशत तालिममा खर्च हुन्छ। कर्मचारीको क्षमता अभिवृद्धि सबभन्दा महत्त्वपूर्ण सरोकार रहन्छ। हाम्रो सदनमा भने यो कुराको कमी छ।
विदेशी दाताको अनुदान र परियोजना अन्तर्गत तालिम लिँदा जनमानसमा कयौं प्रश्न उठ्न सक्छ। त्यसमा कैयौं लुकेका स्वार्थ रहन सक्छन्। त्योबाट बचेर बस्न जरूरी हुन्छ। आफ्नो क्षमता अभिवृद्धिको जिम्मेवारी आफैले लिनुपर्छ। तर अरूको कमजोरीको फाइदा नलिने सर्तमा।
यसरी हेर्ने हो भने, विगतका केही चर्चित अनुहारहरूले सदनमा अरूको कमजोरी देखाएर आफ्नो केही सबलता बेचिरहेको पो हो कि जस्तो लाग्छ। त्यो गलत थियो, गलत हो। किनकि, मेरो सहकर्मी कमजोर छ भने म एक्लो कसरी बलियो हुन सक्छु र!
तसर्थ, फरक पृष्ठभूमिबाट आएका प्रतिनिधिहरूसँग सहकार्य गर्ने गरी आउनुस्। यो देशमा सकारात्मक परिवर्तनका लागि सहकर्मको आवश्यकता छ। त्यसका लागि मानसिक र बौद्धिक तयारी आवश्यक छ। त्यो उदारता लिएर आउनुस्।
हेर्नुस्, राजनीतिमा संयन्त्र महत्त्वपूर्ण हुन्छ। तर नेपालको राजनीतिमा षड्यन्त्र हाबी छ। त्यसका लागि पनि तयार भएर आउनुस्।
सदनमा देखिने धेरै अनुहारहरू निर्वाचन जित्न खप्पिस छन्। तर केही सीमित अनुहार छन् जसले राजनीति जित्न जानेका छन्। सुहाङ, तपाईंले यसपटक त निर्वाचन जितिहाल्नुभयो। अब सदनमा राजनीति जित्ने गरी आउनुस्।
बेलायतको सदनमा टोनी ब्लेयरको तार्किक मन्तव्य र योजना थियो। भारतीय सदनमा अटल बिहारी बाजपेयीको भावनात्मक शालीनता थियो। हाम्रो सदनमा स्वर्गीय प्रदीप गिरिको सान्दर्भिकताले भरिएको प्रवचन र सुवास नेम्वाङको शालीनताको कमी छ अहिले। अब हामीमध्येकै कसैले त्यो कमी पूरा गर्ने प्रयासमा लाग्नु छ। अचेल सदनमा बोल्दा आफ्नो मतदाता र करदाताभन्दा पनि सामाजिक सञ्जालमा आउने प्रतिक्रिया सम्झेर बोल्ने मानसिकता हाबी हुँदैछ। त्यसबाट ग्रसित नहुने गरी तयार भएर आउनुस्।
नयाँ बानेश्वरको सदनमा हुने प्रस्तुतिहरूको तार्किक अस्तित्व कमजोर हुन्छ। त्यो एक किसिमको वक्तृत्वकलाको प्रदर्शन मात्र हो कि भन्ने पनि लाग्छ। तर त्यसलाई मौका मानेर हरेक मौका प्रयोग गर्नुहोला।
हामी नयाँ सांसदहरूका लागि सबभन्दा महत्त्वपूर्ण पाटो नै हाम्रो उपस्थिति हो। त्यसैले सक्दो धेरै सहभागिताको प्रयास गर्नुहोला।
सदनको अर्को पाटो समिति हो। त्यसमा यथार्थ रूपमा जनप्रतिनिधिको बौद्धिकताको परीक्षा हुन्छ। कति अध्ययनशील छन्, कति अध्ययन गरेर आउँछन्, त्यो सबै स्पष्ट प्रदर्शन हुन्छ यहाँ।
सुहाङ, तपाईं संलग्न पार्टीको इतिहास धेरै लामो छ। धेरै गहिरो अनुभव गरेका नेतृत्वहरू हुनुहुन्छ। उहाँहरूले सघाउने सम्भावना त छ तर निश्चित छैन। नभए त संसदीय अभ्यास सुध्रिँदै र उत्पादनशीलता बढ्दै जान्थ्यो होला। त्यो देखिँदैन। त्यसैले आफ्नो र आफ्नाको जिम्मेवारी लिएर पनि लिएर आउनुस्।
यो एक वर्षमा मैले अनुभव गरेँ कि सदनलाई अझै सबल र उत्पादनशील बनाउन चार वटा पाटा महत्त्वपूर्ण छन् — तालिम, मूल्यांकन, संलग्नता र रिपोर्टिङ।
संसदीय व्यवस्था र विभिन्न साझेदार सचिवालयहरूबाट आवश्यक तालिमको व्यवस्था छैन। त्यसैले आफूलाई निखार्न र तिखार्न मेहनत गर्नुपर्छ। हामीलाई कसैले मूल्यांकन गरिदिएर अद्यावधिक रिपोर्ट प्रकाशन गर्ने व्यवस्था वा अभ्यास छैन। केही मिडियाले हाम्रोबारे मूल्यांकन गरेको देखिन्छ, तर भरपर्दो हुँदैन। तसर्थ, आफ्नो मूल्यांकन आफै गरेर हरेक पटक सुधार्ने गरी तयारी गर्नुस्। सके जतिको अवसरमा संलग्न हुने प्रयास गर्नुस्।
म संलग्न दलले एउटा राम्रो अभ्यास गरिरहेको छ। हरेक अधिवेशनपछि हामी आफ्नो रिपोर्ट आफै प्रकाशन गर्छौं। राम्रो त संसद सचिवालयले त्यो रिपोर्ट निकालिदिएको भए हुन्थ्यो। तर त्यसो नगरेको भनेर गुनासो गरेर बसिराख्न सकिँदैन। त्यसैले आफैले आफ्नो रिपोर्ट सार्वजनिक गर्ने गरी आउनुस्।
हाल सरकारमा एउटै गठबन्धनमा भए पनि तपाईं र हामी फरक दलका हौं। हामीबीच प्रतिस्पर्धा रहिरहनेछ। तर सम्झिनुस्, हामी प्रतिस्पर्धी हौं, दुश्मन होइनौं। त्यसैले सबै सम्भावित सहकार्यमा साथमा हिँड्न तयार भएर आउनुस्।
सुहाङ, तपाईं उमेरमा मभन्दा एक दशक कान्छो हुनुहुन्छ। तर मेरो अनुभवले भन्छ — यो सदनमा उमेरभन्दा इमानदार प्रतिनिधित्व र सबल प्रस्तुति आवश्यक हुन्छ।
हालै सम्पन्न इलाम-२ को उपनिर्वाचनले पनि एउटा सन्देश दिइसक्यो — यहाँ संस्कारको सुरूआत उचित उम्मेदवारीबाट हुन आवश्यक छ। काठमाडौंबाट गएर जति नै गर्जिएर भाषण गरे पनि जीत त मौनता र शालीनताको हुने रहेछ।
काठमाडौंमा बालेन शाहले केही नबोलेरै मेयर जिते। तपाईंको निर्वाचन अभियान पनि लगभग त्यस्तै रह्यो। यसले एक किसिमको सन्देश दिएको छ नेपाली राजनीतिलाई। सायद अब नेपाली राजनीतिले शालीनता र भद्रपन खोजिरहेको छ। सुवासचन्द्र नेम्वाङ यी सबै कुरामा अब्बल र स्वच्छ हुनुहुन्थ्यो। तपाईंबाट पनि त्यही आशा छ। र, त्यसैको अपेक्षासहित शुभकामना छ!
तपाईंलाई संघीय सदनमा स्वागत छ सुहाङ!
ट्विटर @manishjhanepal