परापूर्वकालदेखि नै शिक्षाले व्यक्तिलाई अन्धकारबाट उज्यालोतर्फ डोहोर्याइ आत्मबोध गराउँछ, शिक्षित व्यक्ति आफ्नो परिवार र समुदायमा सकारात्मक परिवर्तनको संवाहक हुन्छ भन्ने मानिएको छ।
वर्तमानमा शिक्षा सामाजिक-आर्थिक विकासको पूर्वाधार, सभ्य समाज निर्माणको आधार र समग्रमा मानव जीवनमा सार्थकता ल्याउने अवयव मानिएको छ।
शिक्षाले व्यक्तिमा अन्तर्निहित क्षमता जागृत गराई विनम्रता, योग्यता र सक्षमता वृद्धि गर्दै श्रम बजारसँग जोड्न सक्नुपर्छ भन्ने मानिएको छ। शिक्षित जनशक्तिलाई उत्पादन तथा सेवा प्रवाहमा सरिक गराइ व्यक्तिगत सुखका साथै समाज र राष्ट्रको समृद्धिमा लगाउनुपर्छ भन्ने मानिएको छ।
शिक्षा गुणस्तरीय नभएमा अपेक्षित उद्देश्य पूरा हुन सक्दैन।
व्यक्तिगत, सामाजिक तथा राष्ट्रिय विकासका लागि गुणस्तरीय शिक्षा अपरिहार्य हुन्छ।
हरेक विषयको गुणस्तर समय, सन्दर्भ र परिवेशले निर्धारण गर्छ। शिक्षाको गुणस्तर गुणस्तरीय निवेश, गुणस्तरीय प्रक्रिया, गुणस्तरीय उपलब्धि तथा समाजमा सिर्जित सकारात्मक प्रभावले देखाउँछ।
गुणस्तरीय शिक्षाले व्यक्तिको व्यवहारमा सकारात्मक परिवर्तन गराइ समस्या हल गर्न सक्ने, कामको सम्मान गर्ने, उद्यमशीलता विकास गर्ने र समाजमा योगदान गर्न सक्ने सक्षम नागरिक तयार गर्छ। शिक्षाको माध्यमबाट व्यक्तिमा विषयको ज्ञान, सीप र क्षमता अभिवृद्धि भई व्यवहारमा सकारात्मक परिवर्तन हुनुपर्छ। यसो भएमा मात्र शिक्षा गुणस्तरीय रहेको मान्नुपर्छ।
शिक्षाको राष्ट्रिय उद्देश्य प्राप्तिमा राज्यको शिक्षा नीति, अन्तर्राष्ट्रिय मञ्चमा गरिएका प्रतिबद्धता, पाठ्यक्रम, पाठ्यसामग्री र सिकाइ वातावरणको भूमिका हुन्छ।
शिक्षकको योग्यता, शिक्षणकला, पेसाप्रतिको जबाफदेहिता; शैक्षिक व्यवस्थापन, अनुगमन, निरीक्षण, सुपरिवेक्षण र मूल्यांकन प्रणालीले शिक्षाको गुणस्तरमा प्रभाव पारेको हुन्छ।
प्राविधिक शिक्षाको गुणस्तर मापनमा शिक्षण संस्थाको सुशासन अवस्था, स्रोत व्यवस्थापन, भौतिक पूर्वाधार र सुविधाले प्रभाव पारेको हुन्छ। मानवस्रोत, शिक्षक-प्रशिक्षकको दक्षता र प्रशिक्षण विधिले सिकाइ उपलब्धिमा प्रभाव पारेको हुन्छ। सरोकारवालासँगको समन्वय र सहकार्य, अध्ययन-अनुसन्धान र तथ्यांक व्यवस्थापनको पनि प्रभाव हुन्छ।
शिक्षाको गुणस्तर मापनका आधारहरू पनि यिनै हुन्।
गुणस्तर सुनिश्चित गर्न तय गरिएका मापदण्डहरूका आधारमा शिक्षण सिकाइका कार्यक्रम कार्यान्वयन गर्दा मात्र शिक्षाको उद्देश्य पूरा हुन सक्छ।
युरोपेली युनियनले गुणस्तरीय प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिमका विशेषताहरू यस प्रकार उल्लेख गरेको छ–
- शैक्षिक कार्यक्रमहरू व्यक्ति, समुदाय र श्रम बजारको आवश्यकता ठीकसँग सम्बोधन हुने गरी कार्यान्वयन भएका छन् भने।
- शिक्षामा सबैको पहुँच र सहभागिता सुनिश्चित छ र शैक्षिक कार्यक्रमहरूमा युवाको आकर्षण छ भने।
- सिकाइ योग्यता राष्ट्रिय र अन्तर्राष्ट्रिय श्रम बजारको स्तरमा मान्यताप्राप्त र प्रमाणीकरण भएको हुनुपर्छ।
- औपचारिक तथा अनौपचारिक कार्य क्षेत्रमा मार्यादित रूपमा दिगो काम गर्ने वातावरण सुनिश्चित भएको हुनुपर्छ।
- क्षमता अभिवृद्धि तथा निरन्तर सिकाइका अवसर उपलब्ध भएको र वृत्तिमार्गको सुनिश्चितता हुनुपर्छ।
उल्लिखित विशेषताहरू पूरा हुने गरी शैक्षिक प्रणाली तथा शैक्षिक कार्यक्रम कार्यान्वयनको उचित व्यवस्था गर्नुपर्छ।
नेपालको प्राविधिक तथा व्यावसायिक शिक्षा राज्यको प्राथमिकतामा परेको छ तर श्रम बजारको माग सम्बोधन गर्न सक्ने गुणस्तरीय शिक्षा नहुँदा युवाको आकर्षण घट्दो छ। प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिमको गुणस्तर सुधार गरी शिक्षामा युवाको आकर्षण बढाउन श्रम बजारको माग सम्बोधन गर्न सक्नुपर्छ।
रोजगारी दिनेहरूसँग समन्वय र सहाकार्य गरी घरेलु श्रम बजारमा दिगो तथा सम्मानित रोजगारीको वातावरण सिर्जना गर्नुपर्छ।
यस दिशामा अघि बढ्न आवश्यक सुधारका मुख्य आठ वटा विषयमा यहाँ चर्चा गरिएको छ।
१. युग सुहाउँदो शैक्षिक कार्यक्रम छनोट
प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिमका कार्यक्रमहरू युवाकेन्द्रित हुनुपर्छ। परम्परागत तथा परनिर्भरता बढाउने कार्यक्रम होइन, श्रम बजारको आवश्यकता पूरा हुने र युवाको आकर्षण हुने पेसासम्बन्धी कार्यक्रम चलाउनुपर्छ। यसो गर्न सक्दा मात्र प्राविधिक शिक्षाका कार्यक्रमहरू प्रभावकारी हुन्छन्।
कुनै पनि प्राविधिक विषय र व्यवसाय एउटै भौगोलिक तथा सामाजिक क्षेत्रमा लामो समय रहँदैन। व्यावसायिक क्षेत्रमा आउने परिवर्तनसँगै शिक्षाका कार्यक्रमहरू परिमार्जन गर्नुपर्छ। यसो गर्न आवश्यकताको अध्ययन-अनुसन्धान नियमित हुनुपर्छ।
२. शिक्षण संस्था विस्तार र पहुँच सुनिश्चितता
राज्यले शिक्षण संस्थाहरूको विस्तार र शिक्षामा समावेशीमूलक पहुँच सुनिश्चित गर्ने नीति अवलम्बन गर्न सक्दा मात्र इच्छुक सबैले शिक्षा पाउने वातावरण बन्छ। सीपको नक्सांकन गरी श्रम बजारको आवश्यकतामा आधारित भएर मात्र शिक्षण संस्था तथा शैक्षिक कार्यक्रम विस्तार गर्नुपर्छ।
निःशुल्क वा न्यून शुल्कमा पढ्ने र प्रशिक्षण लिने व्यवस्था भए शिक्षाको गुणस्तर सुनिश्चित गर्न सकिन्छ।
नेपालमा प्राविधिक शिक्षातर्फ हाल विस्तार गरिएका कतिपय शिक्षण संस्था तथा सञ्चालित कार्यक्रमहरूको आवश्यकता, उपयुक्तता पूर्वाधार तयारी, मानवस्रोत आदि हेरेर परिमार्जन वा स्थगन गर्नु आवश्यक देखिएको छ।
३. पूर्वाधार, पाठ्यक्रम, सिकाइ र परीक्षा
कक्षाकोठा, प्रयोगशाला, कार्यशाला, फर्निचर, खेलमैदान र स्वच्छ खानेपानी शिक्षण संस्थामा हुनुपर्ने अनिवार्य भौतिक पूर्वाधार हुन्। साथै सुरक्षित घेराबार, उपयुक्त शैक्षिक वातावरण, पुस्तकालय, मेसिन, उपकरण, डिजिटल सामग्री चमेनागृह, आवास आवश्यक हुन्छ।
गुणस्तरीय शिक्षाका लागि पाठ्यक्रम, पाठ्यपुस्तक, सन्दर्भ सामग्री, शिक्षक निर्देशिका सहज रूपमा उपलब्ध हुनुपर्छ। सिकाइ सामग्रीहरू विद्यार्थी-प्रशिक्षार्थीको रूचिअनुकूल सान्दर्भिक, समयसापेक्ष, रचनात्मक र प्रविधिसंगत हुनुपर्छ। सीप र सिकाइ प्रत्यक्ष रूपमा श्रम बजारसँग जोडिएको हुनुपर्छ। यसो भए मात्र प्राविधिक तथा व्यावसायिक शिक्षाको गुणस्तर सुनिश्चित गरिएको मान्न सकिन्छ।
सिकाइ व्यावहारिक बनाउन बजारको माग सम्बोधन हुने गरी पाठ्यक्रम निर्माण तथा समयानुकूल परिमार्जन गर्नुपर्छ। प्राविधिक तथा व्यावसायिक शिक्षा व्यावहारिक बनाउन प्रयोगात्मक सिकाइमा जोड दिनुपर्छ, परीक्षणले सिकाइस्तर मापन गर्न सक्नुपर्छ।
हालको परीक्षा प्रणाली परिमार्जन गरी प्रयोगात्मक सिकाइको निरन्तर मूल्यांकन गर्नुपर्छ। थोरै भार मात्र अन्तिम लिखित परीक्षालाई दिनुपर्छ। यसो हुँदा मात्र कार्यस्थलमा सीप प्रयोग गर्ने दक्षता हासिल हुन्छ।
४. शैक्षिक नेतृत्व तथा मानवस्रोतको व्यवस्थापन
गुणस्तरीय शिक्षामा शिक्षण संस्थाको नेतृत्व तथा प्रशिक्षकहरू निवेशका रूपमा हुन्छन्। प्रतिस्पर्धाबाट सक्षम नेतृत्व छनोट गरेर जिम्मेवारी दिन सकेमात्र शिक्षण संस्थाको सुधार हुन सक्छ। भनसुन र नातागोताका भरमा पाएको नेतृत्व तथा अनिच्छुक व्यक्तिलाई बलपूर्वक थोपरिएको नेतृत्वबाट गुणस्तर सुनिश्चितता अपेक्षा गर्न सकिँदैन।
शिक्षाको गुणस्तर सुधार गर्न योग्य, क्षमतावान, दृढ इच्छाशक्ति र दूरदृष्टि भएको व्यक्तिलाई नेतृत्व दिनुपर्छ।
शिक्षक-प्रशिक्षकलाई शिक्षण संस्था व्यवस्थापनको तालिम दिने व्यवस्था हुनुपर्छ। नेतृत्व लिन चाहने व्यक्तिले तालिम प्राप्त गरी आफूलाई सक्षम बनाउने अवसर पाउनुपर्छ।
शिक्षाको गुणस्तर सुधारमा शिक्षक-प्रशिक्षकको भूमिका महत्वपूर्ण हुन्छ। यसकारण योग्य, सक्षम, जाँगरिला, समर्पित, सकारात्मक सोच भएका र आधुनिक प्रविधिसँग परिचित उत्कृष्ट व्यक्ति शिक्षण पेसामा आउने सुनिश्चिता गर्नुपर्छ। शिक्षाको गुणस्तर अभिवृद्धि गर्न उद्योगसम्बन्धी अनुभवप्राप्त, सिर्जनशील र लगनशील प्रशिक्षक आवश्यक पर्छ।
पुनर्ताजगी तालिम तथा कार्यक्रमले प्रशिक्षकको क्षमता अभिवृद्धि गर्छ र पेसाप्रति उत्प्रेरणा जगाइराख्न मद्दत पुग्छ।
५. प्रभावकारी प्रशिक्षण तथा सिकाइ
गुणस्तरीय शिक्षाको सबभन्दा महत्वपूर्ण पक्ष प्रशिक्षण र सिकाइस्तर हो। विद्यार्थी-प्रशिक्षार्थीलाई सामाजिक, पारिवारिक, आर्थिक, मनोवैज्ञानिक रूपमा तयार गरी भयरहित र चिन्तारहित वातावरणमा सिकाउने व्यवस्था गर्नुपर्छ।
सिकाइ परीक्षामुखी मात्र हुन हुँदैन। शिक्षण-प्रशिक्षण डर-त्रासरहित वातावरणमा आधुनिक प्रविधिका साथ रचनात्मक, सिर्जनशील प्रयोगात्मक, खोजमूलक, स्थलगत भ्रमणमा आधारित, अनुसन्धानमूलक, परियोजना कार्यमा आधारित हुनुपर्छ।
गुणस्तर सुधार गर्न शैक्षिक गतिविधिको नियमित अनुगमन र सुपरिवेक्षण हुनुपर्छ। शिक्षकको एकल प्रयास मात्र गुणस्तर सुधारमा पर्याप्त हुँदैन। सबै सरोकारवालाको साझा प्रयास आवश्यक पर्छ।
शिक्षण संस्थाले आफ्नो लक्षित क्षेत्रमा रहेका उद्योग व्यवसाय र प्रतिष्ठानसँग समन्वय र सहकार्य गरी औद्योगिक प्रशिक्षण र कार्यगत तालिम चलाउनुपर्छ।
६. प्रशिक्षार्थी सेवा, वृत्तिपरामर्श र पदस्थापन
विद्यालयमा दिइने शिक्षाले व्यक्तिको सर्वांगीण विकासमा मद्दत गर्नुपर्छ। व्यक्तिको बौद्धिकता उजागर गर्नुपर्छ। शिक्षाले परम्परागत सीपको वैज्ञानिकीकरण र प्रवर्द्धन गर्नुपर्छ। शिक्षा व्यवसायका लागि हुनुपर्छ। शिक्षण संस्थाले विषयको ज्ञानका साथ जीवनोपयोगी सीप, परामर्श र वृत्तिमार्ग निर्देश गर्नुपर्छ। व्यक्तिलाई दक्ष बनाउन मद्दत गर्नुपर्छ।
विद्यालयको पढाइमा असफल भएका र विद्यालयबाट निकालिएका व्यक्तिहरू व्यावहारिक जीवनमा सफल भएका धेरै उदाहरण छन्। त्यस्ता कतिपय व्यक्तिमा औपचारिक शिक्षाको प्रमाणपत्र नहुँदा हीनताबोध भएको पनि देखिन्छ। शैक्षिक योग्यताको प्रमाणपत्र भएका तर तदनुरूप व्यावहारिक र जीवनोपयोगी सीप नभएका कारण बेरोजगार भएका व्यक्तिहरू पनि भेटिन्छन्।
गुणस्तरीय शिक्षाले व्यक्तिको रूचि र क्षमताअनुसार जीविकोपार्जनमा सहयोग पुर्याउँछ। प्रमाणपत्र दिनुका साथै सामाजिक परिवेशप्रति सचेत र उत्तरदायी पनि बनाउँछ।
७. अध्ययन, अनुसन्धान र तथ्यांक
प्रत्येक शिक्षण संस्थाले आफ्ना गतिविधिको सूचना र तथ्यांकहरू अभिलेखीकरण गरी अद्यावधिक गर्नुपर्छ। शिक्षाका सरोकारवालाहरू धेरै हुन्छन्। तिनलाई तथ्यांक आवश्यक पर्छ।
शिक्षण संस्थासँग प्रत्येक शैक्षिक सत्रका कार्यक्रमहरूमा आवेदकको संख्या, भर्ना भएका विद्यार्थी-प्रशिक्षार्थीको संख्या, बीचमा पढाइ छाड्नेको संख्या, उत्तीर्ण दर, रोजगारीको दर र आयआर्जनको पनि तथ्यांक हुनुपर्छ।
यस्ता तथ्यांकहरू विश्लेषण गरेर कार्यक्रमको प्रभावकारिता जाँच गर्न सकिन्छ। कार्यक्रममा सुधार गर्नुपर्ने पक्षहरूको लेखाजोखा राख्न, योजना तर्जुमा गर्न र कार्यक्रममा सुधार गर्न सहयोग पुग्छ।
८. सुशासन तथा व्यवस्थापन
हरेक संस्थाको विश्वसनीयता र दिगोपना संस्थाको सुशासनमा निर्भर हुन्छ। शिक्षण संस्थाको शैक्षिक, भौतिक तथा आर्थिक पक्षहरू चुस्तदुरूस्त र पारदर्शी हुनुपर्छ।
शिक्षण संस्था सुधारका लागि प्रत्येक शैक्षिक सत्रको अन्त्यमा स्वमूल्यांकन गरेर सुधार गर्नुपर्ने पक्षहरूको सूची बनाउनुपर्छ। यस्तो सूचीमा सरोकारवालाहरूसँग समन्वय गरी रणनीतिक योजना बनाएर कार्यान्वयन गर्नुपर्छ। शिक्षा गुणस्तरीय हुन संस्थाको नीति, रणनीति, सहभागिता, समावेशिता निर्णय प्रक्रिया, सेवा प्रवाहको सुनिश्चितता आदि पारदर्शी हुनुपर्छ।
सम्पन्न भएको कामको सामाजिक तथा आर्थिक परीक्षण गराउनुपर्छ। सबै प्रक्रिया सहभागितामूलक हुनुपर्छ।
विद्यालय व्यवस्थापन समिति, शिक्षक–अभिभावक संघ र शिक्षक वर्गको सहभागितामा सबैको अपनत्व, जिम्मेवारी, जबाफदेहिता र उत्तरदायित्व हुने गरी निर्णय गर्नुपर्छ।
गुणस्तरीय शिक्षा र गुणस्तरीय शिक्षण देश विकासको आधारभूत स्तम्भ हो। अभिभावक र युवा विद्यार्थीहरूमा नेपालको शैक्षिक प्रणालीप्रति विश्वास घट्दै गएको छ। यस्तो अवस्थामा शिक्षण संस्थाहरूले गुणस्तरीय शिक्षा सुनिश्चित गर्दै विश्वास जित्नुपर्ने आवश्यकता छ।
संयुक्त राष्ट्र संघले समग्रमा उज्ज्वल तथा समृद्ध भविष्यका लागि गुणस्तरीय शिक्षा महत्वपूर्ण हुन्छ भनेको छ। गुणस्तरीय शिक्षाले परिवार, समाज र राष्ट्रको समृद्धिमा मद्दत पुर्याउँछ भनेको छ।
सबैका लागि जीवनपर्यन्त उपयोगी सिकाइका अवसरहरू सिर्जना गर्दै समावेशी र गुणात्मक शिक्षा सुनिश्चित गर्न सकिए मात्र शिक्षाको उद्देश्य पूरा हुन्छ।
राज्यको शैक्षिक नीति र पाठ्यक्रम श्रम बजारमा आधारित हुनुपर्छ। देशको प्राकृतिक स्रोतसाधन र औद्योगिक स्थिति अनुसारको व्यावहारिक सिकाइ हुनुपर्छ। यसरी मात्र विश्वसनीय शैक्षिक वातावरण बन्न सक्छ। हाल प्राविधिक शिक्षामा देखिएका समस्याहरू समाधान गर्न पनि विश्वसनीय शैक्षिक वातावरण आवश्यक छ।
राज्यले सबै सरोकारवालाहरूसँग राय-सुझाब लिएर आजको समाज, समयको माग र भाबी पुस्ताको आवश्यकता अनुसार गुणस्तरीय शिक्षाको मापदण्ड तय गर्नुपर्छ। वर्तमान शिक्षा प्रणाली, पाठ्यक्रम, पाठ्यपुस्तक, शिक्षण सिकाइ विधि लगायतमा समय सापेक्ष परिमार्जन गर्दै शिक्षा गुणस्तरीय, व्यावहारिक, जीवनउपयोगी, रोजगारीमूलक र अनुसन्धानमूलक बनाउनुपर्छ।
शिक्षण प्राविधिक कार्य हो। यसमा खास किसिमको सीप र दक्षता आवश्यक पर्छ। शिक्षण पेसाका शिक्षक-प्रशिक्षकले शिक्षण सिकाइमा आधुनिक स्रोतसाधन प्रयोग गर्न जान्नुपर्छ। सैद्धान्तिक, मनोवैज्ञानिक, व्यावहारिक र प्राविधिक ज्ञान हुनुपर्छ। यस्ता शिक्षक-प्रशिक्षकबाट शिक्षण-प्रशिक्षण हुन सके मात्र शिक्षाको उद्देश्य प्राप्त हुनेछ। शिक्षा गुणस्तरीय हुनेछ। देश समृद्धिको मार्गमा अघि बढ्नेछ।
(लेखक कुश्माकर भट्ट काठमाडौं विश्वविद्यालयमा आवद्ध छन्।)