हालै भारतीय युट्युबर ध्रुव राठीले एउटा भिडिओ प्रकाशित गरे।
शीर्षक थियो — अरबिन्द केजरीवाल जेलमा! तानाशाही पक्का?
प्रकाशित भएको एक साताभित्रै राठीको उक्त भिडिओ झन्डै दुई करोड चालीस लाख पल्ट हेरिएको छ।
त्यही भिडिओको विषयमा राठीले अर्का युट्युबर आकाश बेनर्जीसित गरेको लामो कुराकानीको भिडिओलाई तीन दिनमा ३७ लाखभन्दा बढी पल्ट हेरिएको छ।
भारतमा व्यापक स्तरमा नरेन्द्र मोदी सरकारले देशलाई तानाशाहीतिर लैजाँदै त छैन भनेर बहस हुन थालेको चाहिँ ध्रुव राठीले फेब्रुअरी २२ मा एउटा भिडिओ प्रकाशित गरेलगत्तै हो। त्यसको शीर्षक थियो — के भारत तानाशाही बन्दैछ? चन्डीगढ चुनाव र किसान प्रदर्शन।
अहिले भारतमा मोदी सरकारको सम्पूर्ण संयन्त्र भारतको लोकतन्त्र ठिकठाक छ भनेर प्रमाणित गर्न प्रयासरत छ भने विपक्षीहरूले सन् २०२४ को आमचुनावलाई भारतमा लोकतन्त्र बचाउने अन्तिम उपायका रूपमा प्रचार गरिरहेका छन्।
कुन आधारमा भारतमा लोकतन्त्रको पतनबारे यस्ता बहस भइरहेका छन् त?
तिनबारे जान्न उल्लिखित भिडिओहरू हेर्न सक्नुहुन्छ। तर त्यस्तो पतनको उत्कर्ष यही मार्च २१ मा देखियो जब दिल्लीका पदासीन मुख्यमन्त्री अरविन्द केजरीवाललाई भारतको इडी भनेर चिनिने राजस्व विभागअन्तर्गतको निकायले पक्राउ गर्यो।
संसारभर लोकतन्त्रको स्वास्थ्यबारे अपडेट दिइरहने गोटेन्बर्गस्थित भी–डेम संस्थाका अनुसार २०१८ मा चुनावी अधिनायकवाद वा इलेक्टोरल अटोक्रेसी श्रेणाीमा झरेको भारतले त्यसयताका वर्षहरूमा थप ओरालो बाटो झरेको छ। संस्थाको 'डेमोक्रेसी रिपोर्ट २०२४' का अनुसार भारत यो समय संसारकै सबभन्दा तीव्र गतिमा तानाशाहीकरण भइरहेका देश (अटोक्रेटाइजर) हरूमध्ये पर्छ।
गजब चाहिँ के छ भने, मोदीको भारतीय जनता पार्टी (भाजपा) बाट परिचालित ट्रोलदेखि द प्रिन्टका सम्पादक शेखर गुप्तासम्मले यस्ता आरोपको खण्डनमा यत्ति भनिरहेका छन् — भारतमा तानाशाही हुन्थ्यो भने ध्रुव राठीजस्ता मानिस बोल्नै पो कहाँ पाउँथे!
यस कारण पनि भारतीय सार्वजनिक विमर्शमा यो कुरा अहिले निकै पेचिलो बनेको छ।
देशका रूपमा भारतमा लोकतन्त्रको पतनबाहेक अहिले अर्को एउटा विषय चर्चामा छ — दलका रूपमा भाजपाको 'वासिङ मेसिन' जस्तो रूप।
आजसम्म विपक्षी दलको कुनै नेतालाई इडी लगायत राज्यका अनेक निकायले भ्रष्टाचारको आरोपमा लपेटिरहेका हुन्छन्। 'फलानो भ्रष्ट' भनेर भाजपाको आइटी सेलले उछितो काढिरहेको हुन्छ। तर भोलि उही नेता भाजपा प्रवेश गर्छ अनि इमानदार र स्वच्छ छविको प्रमाणपत्र मात्र पाउँदैन उसमाथिको छानबिन सामसुम हुन्छ। उसले टिकट पाउँछ, चुनाव जित्छ र राज्यको मुख्यमन्त्री समेत बन्न सक्छ।
तर अभियन्ता र विश्लेषक हर्ष मन्दरका कुरा मान्ने हो भने आजको भारतमा आधारभूत समस्या बेग्लै छ। यी जति पनि समस्या सतहमा छन्, ती एउटा गम्भीर समस्याका लक्षणहरू मात्रै हुन्।
त्यो गम्भीर समस्या हो पछिल्ला दशकहरूमा भारतीय समाजको यात्रा, जुन सन् १९३३ मा हिटलर सत्तामा पुग्नुअगाडि जर्मन समाजले गरेको यात्रासित मिल्छ।
मन्दर कतिसम्म भन्छन् भने, आजको भारतमा सबभन्दा ठूलो समस्या मोदीको व्यवहार वा तानाशाही चरित्र पनि होइन, समाजको अन्धता, असहिष्णुता र हिंस्रकता हो।
हजारौं वर्षसम्म अनेक थरी मानिस घुलमिल भएर बसेको भारतमा समाजको यस्तो विग्रहको विष कसरी फैलियो त?
मन्दर भन्छन् — महात्मा गान्धीले भारतीयहरूमा आफूभित्रको सबभन्दा सुन्दर कुरालाई बाहिर ल्याए; प्रेम, मैत्री, सहिष्णुता र न्यायचेत। अर्कोतिर नरेन्द्र मोदीहरूले भारतीयहरूभित्रको सबभन्दा कुरूप र क्रुर कुरालाई बाहिर ल्याइरहेका छन्; घृणा, द्वेष र हिंस्रकता।
अर्थात् हिटलरले ऊबेलाका जर्मनहरूभित्रका जुन कुरा सतहमा ल्याएर इतिहासकै भीषण रक्तपात सिर्जना गरेका थिए, आजको भारत पनि त्यही बाटोमा छ।
आजका दिनमा डेढ अर्ब मानिस भएको देशमा यस्ता मानवीय मूल्यहरू हुर्केपछि परिणाम के होला त? के यस्तो ओरालो यात्रापछि पछाडि फर्केर सामान्य बन्न भारतका लागि सहज होला?
यसमा मन्दर सम्झाउँछन् — ६० लाख यहुदीहरूलाई आफैं मारेको हिटलरले सुरू गरेको विश्व युद्धका कारण पाँच करोडभन्दा बढी मानिसहरू मारिए। तर पनि उसलाई जर्मनहरूले हराएका वा पदच्युत गरेका होइनन्, युद्ध जितेको विदेशी शक्तिले विस्थापित गरेको हो।
यसरी आजको भारतका लागि ध्रुव राठीले प्रकट गरिरहेको चिन्ताभन्दा हर्ष मन्दरले प्रकट गरेको चिन्ता धेरै गहिरो छ।
आखिर कुन आधारमा आफ्नो देशबारे यतिविधि चिन्तित छन् त हर्ष मन्दर?
प्रस्तुत छ विश्व सामाजिक मन्चका लागि उनी काठमाडौं आएका बेला मैले हर्ष मन्दरसित यलमाया केन्द्रमा गरेको डेढ घण्टे विस्तारित संवाद —
ट्विटरः @jiwan_kshetry
(जीवन क्षेत्रीका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्।)
(जीवन क्षेत्रीको पुस्तक 'नुन–तेलः विगततिर पदयात्रा' प्रकाशित छ र अमेजनमार्फत नेपाल बाहिरका ११ देशमा समेत उपलब्ध छ। उनले पाठकहरूका लागि नियमित रूपमा सिफारिस गर्ने सामग्रीहरूका लागि हेर्नुहोस् द हिमालयन गेज।)