यति बेला नेपालका पाँच लाखभन्दा बढी विद्यार्थी विद्यालय शिक्षा परीक्षा (एसइई) मा सहभागी छन्। कक्षा १० को योग्यता मापनका लागि लिइने यो परीक्षाका केन्द्र वरिपरि प्रहरीको बाक्लो घेरा हुने गरेको छ। विद्यार्थी परीक्षा दिन बिहानै तोकिएको केन्द्रमा पुग्दा बर्दीधारी प्रहरी देख्छन्।
यसरी प्रहरी देख्दा ती विद्यार्थीहरूको मनमा के तर्कना आउला? हाम्रा विद्यार्थी, अभिभावक र समुदायले परीक्षा केन्द्रमा के त्यस्तो अपराध गर्लान् जसका लागि बर्दीधारी सुरक्षाकर्मी आवश्यक पर्छ? प्रत्येक दिनको एसइईमा ती सुरक्षाकर्मीले कस्तो सुरक्षा कारबाही गर्नुपरेको छ?
कल्पना गरौं त, विश्वभरका कति मुलुकमा विद्यालय तहको परीक्षा केन्द्रमा सुरक्षाकर्मी राख्ने व्यवस्था होला? सायद नेपाल मात्र यस्तो देश होला जहाँ विद्यालय तहका एसइई र एसएलसी तथा विश्वविद्यालयका परीक्षामा बर्दीधारी प्रहरीको सुरक्षा घेरा रहने व्यवस्था छ।
आखिर यस्तो व्यवस्था किन?
परीक्षाका केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष र निरीक्षकहरूले धान्न नसक्ने के त्यस्तो अपराध परीक्षार्थीले गर्लान् वा गरेका होलान्? परीक्षामा हुने अनियमितता र चोरीको घटना सुरक्षाकर्मीले नियन्त्रण गर्ने हो भने पनि हामीले परीक्षामा सुरक्षाकर्मी परिचालन गरेको यतिका वर्ष भइसक्यो, परीक्षामा हुने अनियमितता र चोरी रोकिएको छ?
हो, परीक्षामा प्रहरी परिचालनले परीक्षाको समयमा केही केन्द्रमा हुने बाह्य हुलदंगा रोकिएको होला। यस्ता ठाउँ र घटनासँग सम्बन्धित केन्द्रहरूका हकमा केन्द्राध्यक्षको विशेष अनुरोधमा शान्तिसुरक्षा सम्बन्धी छुट्टै व्यवस्था गर्न सकिन्छ।
आमरूपमा सबै परीक्षा केन्द्रमा बर्दीधारी प्रहरीको घेराले भने समाजमा तीन प्रकारका नकारात्मक प्रभाव परेको देखिन्छ।
पहिलो, प्रहरीको उपस्थितिसहित परीक्षालाई नीतिनियमको कठोर घेरामा राखेर हामीले यो परीक्षा भाबी सफलताका लागि पार गर्नैपर्ने कठिन 'आइरन गेट' हो भन्ने भाष्य निर्माण गरेका छौं। यही भाष्य नै सफलताका प्रारम्भिक मानक हुन गएको छ। परीक्षाको संख्यात्मक परिणाम केलाएर विद्यार्थी, विद्यालय र शिक्षकको मूल्यांकन गर्ने गरेका छौं।
फलस्वरूप विद्यालय, शिक्षक र विद्यार्थी परीक्षामा उत्कृष्ट सफलताका लागि हदैसम्म मरिमेट्छन्। यतिसम्म कि कक्षा १० को वर्ष विद्यार्थीहरू बुबाआमासँग भोजभतेरमा पुग्दा पनि आफन्तहरूले भन्छन् – यो वर्ष तिमी एसइई दिने होइन?
मानौं, एसइई दिने विद्यार्थी वर्षभरि कहीँकतै जानु हुँदैन, एकोहोरो पढिरहनुपर्छ।
यस्तो पारिवारिक र सामाजिक दबाबसँगै विद्यालयको दबाब पनि उस्तै हुन्छ। बिहान ६ बजेदेखि राति अबेरसम्म एकोहोरो पढाइ, ट्युसन, कोचिङ, एक्स्ट्रा क्लास कति हो कति!
कति निजी विद्यालयले त वर्षभरि होस्टल बस्न अनिवार्य गरिदिन्छन् र १५–१६ घन्टा एकोहोरो पढाएको पढायै गर्छन्।
यस्तो कठोर पढाइले एकातिर उत्कृष्ट सिकाइ कम भएको छ भने अर्कातिर बालमनोविज्ञान र बालबालिकाको सर्वांगीण विकासमा नकारात्मक प्रभाव पारेको छ। परीक्षामा राम्रो अंक वा ग्रेड ल्याउनै पर्ने दबाबले विद्यार्थीमा चिन्ता र डर बढेको हुन्छ। कति जना त परीक्षा र परीक्षाफलको असरले मानसिक रोगको सिकार हुन पुग्छन्।
त्यसमाथि परीक्षा हलबाहिर सुरक्षाकर्मीको बाक्लो उपस्थितिले परीक्षाको मनोवैज्ञानिक वातावरणमा नकारात्मक असर पार्न सक्छ। सानैदेखि बालबालिकालाई 'पुलिस बोलाइदिऊँ' भनेर तर्साउने गरेको हाम्रो समाजले परीक्षामै बर्दीधारी सुरक्षाकर्मी उभ्याएपछि विद्यार्थीमा डरत्रासको मनोविज्ञान हाबी हुने सम्भावना धेरै हुन्छ।
अझ किताब, गाइड वा चिट बोकेको छ कि भनेर शरीर खानतलासी गर्ने, परीक्षाको सुरूमै केन्द्राध्यक्ष वा सहायक केन्द्राध्यक्षले लामो निर्देशन दिने जस्ता गतिविधिले विद्यार्थीमा त्रास झनै बढाइदिन्छ। यस्तो अवस्थामा परीक्षाकोठामा विद्यार्थीबाट सिर्जनात्मक र मौलिक जबाफ लेखिएला?
प्रहरीको उपस्थितिले परीक्षाको मर्यादित वातावरण बिगार्न खोज्नेलाई सचेत गराउने होइन, कारबाहीको बाटो खोलिदिन्छ। समन्वयात्मक विधिबाट सम्झाइबुझाइले नै समाधान निस्किने ठाउँमा प्रहरीसँगको घम्साघम्सीले द्वन्द्व र हुलदंगाको परिस्थिति जन्मिन सक्छ। फलस्वरूप प्रहरीको उपस्थिति नै अनावश्यक त्रास र द्वन्द्वको कारक बन्न पुग्छ।
अब हामी फेरि कल्पना गरौं, बर्दीधारी प्रहरीको घेरा नराख्दा एसइई सञ्चालन र व्यवस्थापन अस्तव्यस्त होला?
अवश्य पनि हुँदैन। बरू परीक्षाकेन्द्र शान्त र मर्यादित हुन्छ। यसले विद्यार्थीको मन आनन्दित बनाउँछ। विद्यार्थी र अभिभावक स्वतः अनुशासित र उत्तरदायी हुन पुग्छन्। जुन विद्यालयमा परीक्षा हुने हो त्यहाँका व्यवस्थापन समिति, प्रधानाध्यापक, शिक्षक र विद्यार्थीले आचारसंहिता बनाएर शान्त, सुरक्षित र संयमित वातावरणमा परीक्षा चलाउन सक्छन्।
कक्षा १ देखि ९ सम्मको परीक्षा शान्त, संयम र खुसीको वातावरणमा हुन्छ भने एसइई र एसएलसी मात्रै हुँदैन भन्ने होइन। यी दुई परीक्षामा अनावश्यक दबाब दिनु र त्रास उत्पन्न गराउनु आवश्यक छैन।
हामीले परीक्षालाई ठूलो त्रास र हाउगुजीको विषय बनाउने गरेका छौं। धेरै अघिदेखि यसै गर्यौं। फलस्वरूप हाम्रा विद्यार्थीहरूमा 'टेस्ट एन्जाइटी' अत्यधिक बढी हुन गयो। परीक्षाको समयमा हुने पारिवारिक र सामाजिक दबाबले राम्रो नसुती दिनरात पढिरहेका विद्यार्थीको 'एन्जाइटी' परीक्षाको प्रशासनिक कठोरताले बढाउँदो हो कि घटाउँदो हो?
विकसित मुलुकमा सार्वजनिक ठाउँमा बर्दीधारी प्रहरीको उपस्थितिले नागरिक सुरक्षा बढाउँछ कि घटाउँछ भन्ने प्रशस्तै बहस भएको छ। अध्ययनहरूको निष्कर्षअनुसार सानो उमेरमा आत्मीयता र नजिकपनले सुरक्षाको अनुभूति बढी हुन्छ।
हामीले परीक्षामा प्रहरी राखेर बालबालिकामा चैन, आनन्द र सुरक्षाको प्रत्याभूति होइन; उल्टो तनाव, त्रास र 'एन्जाइटी' बढाउने काम गरेका छौं। विद्यार्थीहरू परीक्षामा आफूले जानेको कुरा पनि आत्तिएर वा डराएर राम्ररी लेख्न नसक्ने भएका छन्।
संसारका अरू मुलुकहरू परीक्षामा उत्पन्न हुने भय, त्रास वा एन्जाइटी कम गर्न परीक्षाको 'मनोवैज्ञानिक वातावरण' व्यवस्थित गर्न लागेको दशकौं भइसक्यो। हामी भने केन्द्रीकृत प्रशासन र प्रहरीको सहयोगमा मात्र परीक्षाको अनुकूल वातावरण तयार गर्न सकिन्छ भन्ने बासी मानसिकताबाट माथि उठ्नै सकेका छैनौं।
विश्वका ठूला र प्रामाणिक परीक्षाहरू क्याम्ब्रिज, ए लेभल, विकसित मुलुकहरूले चलाउने पिआइएसए परीक्षा प्रहरीको सुरक्षा घेराबिना नै विश्वसनीय ढंगले चल्ने गरेका छन्। ती परीक्षाका नतिजा संसारभर सबैले विश्वास गरेका छन्।
परीक्षामा चोरीको रोकथाम र विश्वसनीयता वृद्धि आन्तरिक रूपमा परीक्षा प्रणाली सुधारबाट नै गर्न सकिन्छ। प्रश्नमा सुधार गरेर मौलिकता जाँच गर्न सकिन्छ।
हाम्रा विद्यालय र विश्वविद्यालयका परीक्षा घरमै बसेर, समाजमा खोजी गरेर, दुई-चार दिन अध्ययन गरेर दिन सकिने गरी परिमार्जन गर्न जरूरी भइसक्यो। संसारभर यस्ता 'ओपनबुक एक्जाम' को प्रचलन आइसक्यो।
'तिम्रा जिजुआमा र जिजुबुबा कहाँ हुनुहुन्थ्यो? अहिले तपाईंको पुस्ता कहाँ बसाइँ सरेको छ? बसाइँसराइ किन भयो? यसले तपाईंको जीवनमा के कस्तो फेरबदल ल्यायो?'
किताब हेरेर जबाफ लेख्न नमिल्ने यस्ता प्रश्न दिने समय आएको छ।
हामी भने 'बसाइँसराइ भनेको के हो र यसका कारण के के हुन्?' जस्ता प्रश्न बनाएर किताबी ज्ञानकै मापन गर्दै छौं। मौलिक जबाफ दिने र खोजी गर्ने प्रश्न बनाउने हो भने चोरी रोकिन्छ। यस्तो प्रश्नले सिकाइ क्षमताको उच्च मापन गर्न सक्छ।
परीक्षा मर्यादित र राम्रो बनाउन हाम्रा विद्यालय, शिक्षक र समुदायलाई सबलीकरण गर्नु आवश्यक छ। विद्यार्थीले तोकिएको सिकाइ उपलब्धि कति मात्रामा हासिल गरेको छ भन्ने मूल्यांकन वर्षभरिको सिकाइ र व्यवहारको लेखाजोखाबाट मात्र सम्भव छ।
सिकाइको तरिका, गति र मात्रा स्वभावैले व्यक्तिपिच्छे फरकफरक हुन्छ। विद्यार्थीको सिकाइ क्षमताको अन्तर सम्बोधन गर्न सक्ने गरी परीक्षाका साधन र विधि विविधिकरण गर्ने दिशामा अबको प्रयास केन्द्रित हुनुपर्ने देखिन्छ।
यसको सुरूआत अर्को वर्षको एसइईबाटै गरौं।
सबभन्दा पहिले यो परीक्षा विकेन्द्रित गरेर प्रदेश वा स्थानीय स्तरमा लैजाऔं।
अनि परीक्षा निर्माण र परीक्षाफलको प्रकाशनको जिम्मा प्रदेशस्तरमा राखेर परीक्षा व्यवस्थापन र सञ्चालनको जिम्मा स्थानीय तह विद्यालयलाई दिऔं। सकेसम्म सार्न र चोर्न नमिल्ने र मौलिकता मापन गर्ने परीक्षा निर्माण गरौं।
स्थानीय निकायको समन्वयमा विद्यालय, अभिभावक, शिक्षक र नागरिक समाजले मर्यादित र शान्त वातावरणमा परीक्षा सञ्चालन गर्ने आचारसंहिता बनाऔं र परीक्षा सञ्चालन गरौं।
परीक्षाको यस्तो वातावरणमा बर्दीधारी प्रहरी होइन कि विद्यार्थीलाई पढाउने र माया गर्ने शिक्षक र अभिभावकहरूको प्रतिनिधि समूह परीक्षा केन्द्रको मूल ढोकामा फूलको गुच्छासहित बसौं। परीक्षार्थीलाई मुस्कान र फूलको गुच्छाले स्वागत गरौं, शुभकामना दिऔं।
यसरी न्यानो स्नेह र स्वागतसहित परीक्षाहलमा प्रवेश गरेका विद्यार्थीले आनन्दी मनले सोच्न र मौलिक ढंगले लेख्न सक्छ।
(लेखक त्रिभुवन विश्वविद्यालयमा पाठ्यक्रम तथा मूल्यांकन विषयको प्राध्यापक हुन्।)