विश्व जनसंख्याको २.३ प्रतिशत अर्थात १८४ मिलियन मानिस तिनको राष्ट्रियता भएको मुलुकबाहिर अर्थात विदेशमा रहेको पृष्ठभूमिमा नेपाली युवाको विदेश मोह कुनै 'एडिक्सन' भन्दा कम छैन।
भौगोलिक हिसाबले गाउँका या सहरका। आर्थिक रूपले गरिब या धनी। शैक्षिक दृष्टिकोणले डिग्री होल्डर या साधारण लेखपढ गरेका। लैंगिक आधारमा महिला या पुरूष। सबैलाई विदेशिने नशा। आयस्तर। साथीभाइ र अग्रजको सिको। अवसर पाउने सम्भावना। देशप्रतिको वितृष्णा। एजेन्टको काउन्सिलिङ। यिनै र यस्तै कुरा हुन् विदेशिने युवाहरूको गन्तव्य देश टुंगो लगाउने।
त्यसैले गत एक वर्षमा लाखौं नेपाली युवा विश्वका एक सय पचास देश पुगे। कोही पुगेर सोचेझैं भयो, उतै बसे। कोही त्यहाँबाट पनि अझ राम्रो अवसर खोज्न अर्को देश हानिए। कोही भने कतै नपुग्दै बीचैबाट फर्किनुपर्यो।
यहाँ त्यसैगरी पटक पटक युरोप छिर्ने प्रयास गर्दा असफल भई इस्तानबुलबाट 'ब्याक टु तुलसीपुर' भएका दुई युवाको कथा छ।
भित्री मधेसको हावापानीमा हुर्किएका दुई युवाको भित्री मनमा विदेशिने सोच पहिले त पलाएकै थिएन। किनकि दाङको तुलसीपुर कलेज, यातायात, उपचार र अन्य सुविधामा दुर्गम पनि थिएन। कोरोनापछि अग्रज युवाहरू विदेशिने लहर बढ्यो। तुलसीपुरतिर डिभी भर्नेको लर्को पनि बढ्यो। २१ वर्षीय अनिलले न फ्याट्ट डिभी चिठ्ठा आफ्नै भाग्यमा छ कि भनेर जाँच्न डिभी भर्ने सोच बनाए। सोचले डिभी भर्न मिलेन। राहदानी चाहियो, त्यो पनि बनाए। तीन पटक डिभी भरेर हेरे पनि, तर डिभीले 'अभी नहीँ' भनिरह्यो।
हुन त प्लस टुको सर्टिफिकेट र पासपोर्ट एकैदिन हातमा परेको थियो उनको। दुवै महत्त्वपूर्ण कागजात एकसाथ पाउँदा अनिलको मनमा बहुत कुरा खेलेको थियो — सर्टिफिकेटभन्दा पासपोर्ट ठूलो हो कि क्या हो!
राप्ती बबई क्याम्पसमा पढाइ चलिरहेको थियो। केबल सर्टिफिकेटका लागि उनी कलेज गइरहँदा गाउँका युवाहरू त्यही बाटो विदेश पुगिरहेका थिए। कोही यतैबाट गन्तव्य देशको भिसा लगाएर, कोही पहिले अनअराइभल भिसा पाउने अन्य देश छिरेर उतैबाट युरोप, अमेरिका, अष्ट्रेलिया, कता हो कता जाने कोसिसमा थिए। उनले पनि कलेजको बाटो मोड्ने निर्णय गरे। पढाइ छोड्ने निर्णय गरे। बाआमालाई विश्वस्त बनाए। युरोप छिर्ने सोच पलाए पनि कसरी भन्ने टुंगो नभएको बेला उनको मोबाइल बज्यो — टुऽऽऽऽऽङ्ग।
'ह्याँ बसेर खोजेजस्तो कमाइ न हुने रैछ संघारी (साथी)। म त विदेश जाने भएँ, जाम् हिन्। नेपालको एजेन्टले समय लाग्छ भन्या छ। इन्डिया बस्ने दाइको उतैको एजेन्टसँग कुरा भइगो गरे। जाने भए झट्टै आउनु भन्या छन्। जतिसक्यो छिटो गइजाम् है,' दाङतिरै टायल मार्बल मिस्त्रीको काम गर्ने टोलकै चौधरी दाइले फोनमा भने।
चौधरी अनिलले केही दिनअघि मात्र विदेशिने इच्छा जाहेर गरेका व्यक्ति थिए। दुवैले केही दिन सल्लाह गरे। धेरै कुरा बुझे। जानैपर्ने भएपछि बरू केही दिन ढिलै भए पनि नेपालकै एजेन्टमार्फत नेपालकै बाटो जाने निधो गरे।
काठमाडौं आए। अजरबैजानको भिजिट भिसा निकाले। देशको नामै कति अप्ठ्यारो, अजरीभाइजान भन्दै थिए।
१३ डिसेम्बर २०२३। उड्ने दिन। भिजिट भिसा त आयो तर भिजिट भिसामा जान चाहिने सबै मापदण्ड पूरा गर्न सकेनन्। अध्यागमन अधिकृतले 'तपाईं नजानुस्, तपाईंहरू फस्नु हुन्छ, पैसा डुब्छ, दुःख पाइन्छ' भनेर सम्झाएको तिनलाई त्यति बेला कर्कश लाग्यो।
अधिकार सम्पन्न अध्यागमन अधिकृतसामु बोल्ने, प्रतिवाद गर्ने हिम्मत भने आएन। पहिलो प्रयास असफल भएकामा मंसिरको चिसोमा तिनको शरीरभन्दा मन चिसियो।
तर पनि तातेर मनमनै कड्किए, 'तिम्रा मात्रै एयरपोर्ट? भारतको बाटो जान सक्दैनम् र हामी? भारतवाला एजेन्ट जिन्दाबाद!'
अब गैरकानुनी बाटो भएर युरोप छिर्ने योजना बन्यो।
डिसेम्बर २५ मा मुम्बई पुगे। २७ मा मुम्बईबाट अजरबैजानको वाकु। तीस दिनको भिजिट भिसा भारतीय एजेन्टले निकालिदिएको थियो। मुम्बईमा भिजिटको मापदण्ड त हेरिएन तर, कति नेपालीलाई भारतको बाटो तेस्रो मुलुक जान चाहिने 'नो अब्जेक्सन सर्टिफिकेट' नभएकाले अध्यागमनले फर्काउँदै थियो।
संयोगले उनीहरूलाई त्यो मागिएन, सरासर जान पाए। पूरै भिसा अवधिभर वाकुमै बसे, घुमघाम गरे। उनीहरू जसरी नै त्यहाँ पुगेका थुप्रै नेपालीलाई भेटे।
उनीहरूलाई लाग्यो — नेपाल छोड्न चाहने एक नेपाल यता पनि रहेछ। यस्ता नेपाल अरू अरू देशमा पनि होलान्! नेपाल बनाउने हामी नेपालीहरू नेपालमै नबसेपछि कसरी बन्ला नेपाल!
तर फेरि सोचे — आफू बनेपछि न बन्ने हो नेपाल!
अजरबैजानको भिसा सकिनासाथ जनवरी २९ मा एजेन्टले इस्तानबुल जाने टिकट पठायो। वाकुबाट चार घन्टाको उडानपछि टर्कीको इस्तानबुलमा अवतरण भए। अब उनीहरूको न गन्तव्य छ, न भिसा। बिचल्लीमा पर्दैछौं त करिब करिब थाहा भइसकेको थियो। तर एजेन्टले भनेजसरी एयरपोर्टमै लुक्ने भए।
आठ दिन बडोमाको एयरपोर्टभित्र कहिले यो कुना, कहिले त्यो कुनामा लुकेरै बित्यो।
अनिल भन्छन्, 'मान्छे बिलाई जाने एयरपोर्ट रैछ। त्यहीँ लुकिरा थिएम्। एजेन्टसँग कुरा भइराथ्यो। पहिले पनि उसैले बेलाबे लामा टिकट हालिदिन्थ्यो। यसो गर, त्यसो गर भनिरहन्थ्यो। पर्ख भन्थ्यो। दुई दिन त इस्तानबुलमा पनि पर्खायो। त्याँपछि कुरा हुनै छाडिगो ऊसँग। हामी पर्खेको पर्ख्यै भएम्।'
चौधरी भन्छन्, 'त्यत्रो एयरपोर्ट। खासमा कसैलाई कसैको मतलब नहुने रैछ। तर नेपाली भन्ने थाहा पाएपछि त अलक्कै व्यह्वार गर्ने रैछन् तिनले। अर्कै लाइनमा बस भन्ने। झर्किने। मार्न त मार्दैनन् भन्ने थाहा थियो। तर कुकुरलाई जस्तै व्यवहार गरेको देख्दा बेकार विदेश आएम् भन्ने लाग्यो बेला बेला। राति मान्छे वेटिङ गर्ने बेन्चमा सुतेम्। रातभरि रोएम्। २५ डलर तिरेर चार टुक्रा चिकेन, कोक र पानी किन्थेम्। त्यै पनि दुई जनाले आधी आधी बाँडेर एक छाक मात्र खान्थेम्। भोक निकै लागे झोलामा भएको ड्राई फ्रुट्सले काम चलाउँथेम्।'
उनीहरूले थपे, 'हाम्रो लक त ह्याँ नेपालकै इमिग्रेसनमा बिग्रिगो। सरहरूले नजानू भनेर फर्काएपछि पनि दुःख दियो भनेर मनमनै गाली गरेर हिनेम्। हाम्रै लागि भनेको भन्ने नै लागेन। चुप लागेर घर गएको भए न यत्रो खर्च हुन्थ्यो, न टेन्सन। भारत भएरै भए पनि जाने उल्टो बुद्धि पलायो।'
'मुम्बईमा अर्को ब्याडलक भयो। हामीजस्तै अरूलाई उताबाट पनि फर्काइदियो, हामीलाई पठाइदियो। नेपालको खर्च त एक-डेढ लाख रूपैयाँ मात्र भएको थियो। इन्डियाको एजेन्टलाई ६ लाख भारू बुझाएम्। हाम्रो दुई-दुई लाख रूपैयाँ अरू खर्च भयो। स्टेप स्टेपमा। किस्ता किस्तामा पैसा बुझाउनुपर्ने रैछ। अजरबैजान जाँदा एक किस्ता। त्यहाँबाट टर्की जाँदा अर्को किस्ता। त्यहाँबाट पनि अरूतिर जान पाएको भए अरू बुझाउने कुरा भएको थियो। टर्कीबाट कहाँ जाने एजेन्टले भनेकै थिएन।'
'हो जायगा हो जायगा, भेज देंगे भिसा भन्दै भेजा गरिसकेको थियो। उसको भिसा त आएन, तर पुलिस आएर समातेर डिपोर्ट गरेर नेपाल पठाइदियो।'
'पोर्चुगलमा पिआर पाउन सजिलो छ र युरोप छिर्न पनि। त्यही भएर श्रम गरेर पोर्चुगल जाने चाहना थियो खासमा। तर निकै झन्झटिलो रैछ। समय पनि त्यति नै लाग्ने। खर्च पनि। उता खोजेजस्तो काम पनि नपाइने। सटकट हान्न खोज्दा इलिगल बाटोबाट युरोप छिर्न खोजेम्। निकै हन्डर खाइयो। गल्ती भइगो। अब नदोहोरिएला। अब हामी जसरी विदेश जान ह्याँ इमिग्रेसनमा आउनेलाई दुई झापट हानेर भए पनि सम्झाउनु होला सर,' आफ्ना कुरा सिध्याए दुई भाइ दंगालीले।
तिनलाई जानकारी रहेनछ — अब अध्यागमनले तिनलाई पहिले रोके जसरी कसैलाई रोक्दैन। भिजिट भिसामा पूरा गर्न नसक्ने मापदण्ड छैनन्। सत्र अप्ठ्यारा मापदण्डका कारण मान्छेले उनीहरूजस्तै दुःख पाएपछि सरकारले केवल छ वटा मापदण्ड पूरा गरे जुनसुकै देश जान पाउने बनाइसक्यो। पासपोर्ट, सम्बन्धित देशको भिसा, दुईतर्फी हवाइ टिकट, होटल बुकिङ, एकाघरको आफन्त भए नाता प्रमाणित वा पाँच सय अमेरिकी डलर साटेको प्रमाण। खाडी मुलुकमा जानेहरूले एउटा स्व-घोषणा गर्नुपर्ने। यति भए सररर भुइँ छोडेर पश्चिम दिशामा उड्न पाइन्छ।
उनीहरू डिपोर्ट भइआएको अभिलेख राखियो। उनीहरूबाटै धेरै कुरा बुझियो। लामो कुराकानीपछि घर जान अनुमति पाएर दुवै जना एकसाथ सोफाबाट उठे। बक्स पाइन्ट टकटकाए।
अनिलले केलमी ब्रान्ड र चौधरीले अमिरी ब्रान्डको निलो क्याप दुई हातले टक्क मिलाएजस्तो गरे। लगेजको नाममा भएको त्यही एउटा रूकस्याक पिठ्युँमा भिरै।
हात जोडेर लागे आफ्नो बाटो, युद्ध हारेर आएका सिपाहीहरू!
आफैंमा कम, एजेन्टमा बढी विश्वास भएपछि यस्तै हो। कहिले नेपालको एजेन्टले डुबाए, कहिले भारतको। युरोप सपना पूरा भएन। बरू व्यर्थमा पैसाको नास। समयको बर्बादी। पारिवारिक तनाव बढ्यो।
आखिरमा कुरो त्यही भयो — इस्तानबुलबाट ब्याक टु तुलसीपुर!
आशा गरौं, उनीहरू कुनै नयाँ तरिका फेला पारेर गलत बाटोबाट विदेश पुगेका छैनन्। फेरि विदेश मोह पलाएछ भने पनि नियमसंगत ढंगले जोखिममा नपरी जानेछन्।
(लेखक गोकर्णप्रसाद उपाध्याय वरिष्ठ अध्यागमन अधिकृत हुन्।)
(गोकर्णप्रसाद उपाध्यायका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुस्)