– नागरिकलाई लोकतन्त्र दिन्छौ भने पेट भर्ने विकल्प पनि देऊ, भोको पेटले लोकतन्त्र धान्दैन।
– नागरिकलाई स्वतन्त्रता महत्त्वपूर्ण छ। तर त्यसमा आत्मसम्मानपूर्वक बाँच्न पुग्ने रोजगार वा उद्यमको स्वतन्त्रता पनि हुनुपर्छ। पार्टीबाट नागरिकहरूले शासन मात्र होइन, उल्झिएर बसेका अनेक खाले प्रश्नहरूको जवाफ पनि खोजिरहेका हुन्छन्।
– पुँजीवाद धान्ने भनेकै ठूलो मध्यम वर्गले हो। अहिले भइरहेझैं ९९ प्रतिशत गरिब हुँदै जाने र १ प्रतिशत मात्रै धनी हुँदै जाने प्रक्रियाले मध्यम वर्ग धराशायी भइरहेको छ। यो अवस्थामा पुँजीवाद नै धानिन सक्दैन।
– लोकतन्त्रमा भद्रगोल हुन सक्छ। तर त्यसको विकल्प तानाशाही हुँदै होइन। भन्न त तानाशाहहरू ठुल्ठूला बाचा गर्छन्। तर सत्तामा पुग्नासाथ तिनलाई भ्रष्ट आसेपासे र नातेदारहरूको साङ्लोले घेरेर राख्छ। तिनले गर्नुसम्म भ्रष्टाचार गर्छन्, देश कंगाल हुन्छ। विरोध हुन थाल्छ। विरोध दबाउन तानाशाह क्रुर हुँदै जान्छ, समाज बर्बाद हुँदै जान्छ।
– संसारभर सुझबुझ, प्रेम, संयम र संवादको खडेरी छ। सुझबुझ नभएपछि मानिस एकअर्कालाई बुझ्दैनन्। अनि कुनै अतिवादीले भनिदिन्छ — फलानो तिम्रो समुदायको होइन, पराया हो। अनि भन्छ — ऊ दुश्मन हो, उसलाई मारिदेऊ। अनि हिंसाको दुश्चक्र सुरू हुन्छ।
– म २० वर्ष पहिले फ्रान्स जाँदा त्यहाँको मेट्रोमा ८० प्रतिशत युवा किताब पढिरहेका हुन्थे। दस वर्ष पहिले आधाले पढ्दै हुन्थे। अहिले सबै कानमा एअरफोन कोचेर भिडिओ हेरिरहेका हुन्छन्। ती भिडिओमा तिनले कुनै गहन कुरा सिक्दैनन्, संसार बुझ्न सक्दैनन्। मानिसले बुझ्न र सोच्न छाडेपछि समाज के हुन्छ त? धराशायी।
सन् २०१५ मा नोबेल शान्ति पुरस्कार पाउने ट्युनिसियाको नागरिक समाजका एक प्रबुद्ध अभियन्ता तथा अधिकारकर्मी मेसाउद रोम्दानीले यसै वर्ष फेब्रुअरीमा मसितको अन्तर्वार्तामा यी कुराहरू भनेका हुन्।
पछिल्लो दशकमा ट्युनिसियाले भोगेको उथलपुथल र खासगरी एउटा तानाशाहीदेखि लोकतन्त्र हुँदै अर्को तानाशाहीसम्म त्यहाँको समाजले गरेको यात्राबारे मैले यसअघि नै सेतोपाटीमा लेखिसकेको छु — राजावादी साथीहरूलाई ट्युनिसियाको पाठ!
पछिल्ला वर्ष ओरालो लागेका धेरै देशहरू (बर्मा, लेबनान, पेरू, श्रीलंका, इक्वेडोर, यमन, सिरिया, अफगानिस्तान, अर्जेन्टिना, फिलिपिन्स, इन्डोनेसिया आदि) मा विकसित घटनाक्रमलाई मैले नजिकबाट नियाल्ने प्रयास गरिरहेको छु। नेपालको जस्तो बर्बादीको नजिक नरहेको तर नागरिकहरूको छट्पटीले ग्रस्त देशले त्यस्ता धेरै देशको अनुभवबाट सिक्न सक्छ र त्यहाँका गल्ती यहाँ दोहोरिनबाट रोक्न सक्छ र रोक्नुपर्छ भन्ने पनि मलाई लाग्छ।
त्यसैले साथी उषा तितिक्षुको जोडबलमा २०२४ को विश्व सामाजिक मञ्चसित जोडिएलगत्तै मैले त्यस्तो सम्भावनाको खोजी गरेँ। संयोगवश आयोजक समितिका कसैको सिफारिसमा ट्युनिसियाका रोम्दानी मैले चलाएको सेसनमा जोडिए।
मञ्चको कार्यक्रम स्थल पुग्नासाथ मलाई लागिसकेको थियो, एकसाथ दर्जनौं कार्यक्रम हुने हुँदा त्यहाँ गहिराइमा पुगेर बहस गर्नु चुनौतीपूर्ण हुन्छ। त्यसैले मेरो सेसनका दुवै विदेशी वक्तासित मैले अलग अलग गहिरो संवाद गरेँ।
प्रस्तुत छ तीमध्ये मैले मेसाउद रोम्दानीसित उनको होटल पुगेर गरेको झन्डै सवा घन्टा लामो अन्तर्वार्ता, जहाँ ट्युनिसिया वा नेपालको भन्दा बढी हामीले विश्वभर आज बाँचिरहेको समयबारे संवाद गरेका छौं —
ट्विटरः @jiwan_kshetry
(जीवन क्षेत्रीका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्।)
(जीवन क्षेत्रीको पुस्तक 'नुन–तेलः विगततिर पदयात्रा' प्रकाशित छ र अमेजनमार्फत नेपाल बाहिरका ११ देशमा समेत उपलब्ध छ। उनले पाठकहरूका लागि नियमित रूपमा सिफारिस गर्ने सामग्रीहरूका लागि हेर्नुहोस् द हिमालयन गेज।)