गएको साउनमा म 'पूर्वीय परम्परामा उदारवाद' विषयमा बोल्न काठमाडौंबाट धुलिखेल जाँदै थिएँ।
गाडीमा भक्तराज आचार्यको स्वरमा चालीस दशकको हिट गीत बजिरहेको थियो — जति चोट दिन्छ्यौ देऊ मायालु...।
गीत सकिएपछि रेडियोमा कार्यक्रम सञ्चालक बोल्न थालिन्, 'नमस्कार श्रोतावृन्द, आज हामी यो लोकप्रिय गीतका रचनाकारसँग कुरा गर्दैछौं...।'
हो, कार्यक्रमका अतिथि थिए रचनाकार सुवासचन्द्र ढुंगेल। अरूण थापाको स्वरमा रहेको 'चोट के हो, बेथा के हो' सहित रेडियो नेपालबाट त्यतिबेला बज्ने धेरै लोकप्रिय गीतका रचनाकार हुन् ढुंगेल। कार्यक्रम सञ्चालकले ढुंगेलसँग धेरै कुरा गरिन्।
कुराकानी क्रममा उनले सोधिन्, 'तपाईंहरूका पालामा कति राम्राराम्रा गीत लेखिन्थे जो आज पनि उत्तिकै लोकप्रिय छन्। तर आजकल यस्तो छैन। गीतको स्तर खस्किएको छ। नेपाली गीत लेखनको स्तर सुधार्न सरकारले के गर्नुपर्ला?'
प्रश्न अनपेक्षित भएकाले हुन सक्छ, ढुंगेल अलमलिए।
मलाई पनि जबाफ सुन्ने धैर्य भएन।
रेडियोमा सुनेको यही संवाद मैले देशका विभिन्न भागबाट मलाई सुन्न आएका युवाहरूको समूहलाई सुनाएँ। उनीहरू गलल्ल हाँसे।
दुई-तीन दिनदेखि विभिन्न राजनीतिक आर्थिक व्यवस्थाका विषयमा छलफल गर्दै आएका र सीमित सरकारको वकालत गर्ने उदारवादी दृष्टिकोणको विषयमा जानकारी पाएका ती युवालाई रेडियो कार्यक्रम सञ्चालकको प्रश्न पक्कै पनि हाँसो लाग्दो थियो।
तर हाम्रो समाजमा विभिन्न प्रसंगमा सरकारले यो गर्नुपर्छ, त्यो गर्नुपर्छ भन्नु, सुन्नु, सुनाउनु सामान्य हो। हामी सरकारबाट धेरै अपेक्षा गर्छौं। हामी धेरै शक्तिशाली सरकारको पक्षमा छौं। धेरै कुरा सरकारले गरिदेओस् भन्छौं।
भन्नलाई हामी राज्य भन्छौं। राज्यले सबथोक गरोस्। सबैथोक निःशुल्क प्रदान गरोस्। राज्य अभिभावक होस्, कल्याणकारी होस् भन्ने चाहना गर्छौं।
हामी बिर्सिन्छौं कि हामीले राज्य भन्दै गर्दा त्यो सरकारमा ओर्लिन्छ, सरकार सत्ताधारी दलमा र सत्ताधारी दल उक्त दलका प्रमुख नेताहरूमा सीमित हुन्छ। हामी हेक्का गर्दैनौं कि राज्य बलियो बनाउने र बलियो राज्यबाट लाभान्वित हुने रहर गर्दै गर्दा, हामी राजनीतिकर्मीहरूलाई बलियो बनाइरहेका हुन्छौं।
जब ती शक्तिशाली शासकहरूले हाम्रो अपेक्षा अनुसार काम गर्दैनन्, अनि हामी गुनासो गर्न थाल्छौं — यो भएन, त्यो भएन, यो नेता खराब, त्यो नेता खराब।
सेतोपाटीमा गएको महिना अमित ढकालको 'खराब राजनीतिज्ञ र खराब व्यवसायीबीचको नेक्सस' भन्ने लेखमा उठाइएको विषय धेरै हदसम्म यही शक्तिशाली शासक निर्माणसँग जोडिएको छ भन्ने मलाई लाग्छ।
लेखमा राजनीतिकर्मी र वरिपरिका मान्छेले सत्ताको दुरूपयोग कसरी गरिरहेका छन्, नेताले त्यसलाई किन रोक्न सकिरहेका छैनन्, कसरी रोक्न सकिएला भन्ने चर्चा गरिएको छ। लेखमा निष्ठावान राजनीतिकर्मीले सच्च्याउन सक्छन् भन्ने अपेक्षाका साथ मुख्य जोड त्यसैमा दिइएको छ।
मलाई भने हाम्रो समाज सामन्ती सोच र संस्कृतिबाट मुक्त नहुँदै सामूहिकतावादी भ्रममा फसेको जस्तो लाग्छ। सामूहिकतावादी शासन प्रणालीको डिजाइन नै गलत हुन्छ — कार्यान्वयन हुँदै जाँदा विकृतिहरू बिस्तारै उजागर हुँदै जान्छन्।
वामपन्थीहरूलाई सजिलो छ। उनीहरू पुँजीवादको अगाडि 'दलाल' विशेषण जोडेर राज्य सञ्चालनमा रहेका तमाम दोष त्यसैमाथि थोपर्छन्। अहिले विश्वभर शासन व्यवस्थाको प्रमुख समस्या के हो भनेर कसैले सोध्यो भने उनीहरूले सजिलै भनिदिन्छन् — दलाल पुँजीवाद।
वामपन्थीहरूका लागि सरकार दुई किसिमका हुन्छन् — एउटा जनताका पक्षमा काम गर्ने र अर्को व्यापारीका पक्षमा काम गर्ने। उनीहरू ठोकुवा गर्छन्, पुँजीवादी सत्ताले व्यापारीको काम गर्छ।
अंग्रेजीमा यसलाई 'क्रोनी क्यापिटालिजम' भन्छन्। तर पुँजीवादीहरू यसलाई अस्वीकार गर्छन्। 'क्रोनिइजम' पुँजीवादको विशेषता होइन। क्रोनिइजम जुनसुकै अर्थ राजनीतिक व्यवस्थामा हुर्किन सक्छ। उनीहरूका अनुसार सामूहिकतावादी व्यवस्था (साम्यवाद वा समाजवाद) क्रोनिइजमका लागि अझ उर्बर भूमि हो।
क्रोनिइजम (आसेपासेवाद) पुँजीवाद वा समाजवादभन्दा फरक हो। आदर्श पुँजीवाद वा समाजवादमा आसेपासेलाई ठाउँ हुँदैन। गलत पात्र सत्ताको केन्द्रमा पुग्यो भने आसेपासेवाद हाबी हुन्छ।
हामीले पुँजीवादी भनेर गाली गर्ने गरेको पश्चिम युरोप, उत्तर अमेरिका, जापान, दक्षिण पूर्व एसियाली मुलुकहरूमा भएका कैयौं काण्डलाई लिएर त्यसको दोष खुला तथा प्रतिस्पर्धात्मक अर्थ-राजनीतिक व्यवस्था (पुँजीवाद वा उदारवाद) लाई थोपर्ने गरेका छौं।
समाजवादको प्रयोगशाला बनेको रूस, दक्षिण अमेरिका, अफ्रिका, पूर्वी युरोप, भारत र चीनमा आसेपासेहरूको जगजगी कम रोचक छैन। सबैतिरबाट आजित भएर कतिपय मान्छे चीनको हालको शासन व्यवस्था (राज्य प्रायोजित पुँजीवाद) नै सही हो भन्ने निष्कर्षमा पुगेका छन्। तर चीनमा सामन्ती व्यवस्था अन्त्यपछि आसेपासे गतिविधि कम भएनन्, झन् बढेर गयो।
माओका कमरेडहरू, कमरेडहरूका श्रीमती, छोराछोरी, ज्वाँइ, बुहारी, नातिनातिना अहिले पनि चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रमा छन्। कुनै सरकारी उच्च पदमा छन्, नभए ठूला कम्पनीको कार्यकारी पदमा। पार्टी, सरकार र व्यावसायिक संसारको गठजोडमा माओकालीन क्रान्तिले बनाएको संभ्रान्त परिवारकै सदस्यको वर्चश्व छ।
माओपछि देङ शाओपिङका पालामा पार्टी, सरकार र व्यवसायमा हालीमुहाली भएको देङसहितको आठ जना वरिष्ठ नेताहरूको समूह थियो। उनीहरूलाई ताओ परम्पराका 'एट इमोरटल्स' सँग तुलना गरिन्थ्यो। अर्को शब्दमा उनीहरू चिनियाँहरूका 'भाग्यविधाता' बनेका थिए।
वर्तमान राष्ट्रपति सी जिनपिङ माओकै पालाका कम्युनिस्ट नेताका छोरा हुन्। हाल जेलमा रहेका सी जिनपिङका कडा प्रतिस्पर्धी बो सिलाईका बुबा माओको पालामा कम्युनिस्ट पार्टीको उच्च तहमा थिए। बो सिलाईले राजनीति र व्यवसायमा तालमेल मिलाउन नसक्दा भ्रष्टाचार, हत्या, षड्यन्त्र, देशद्रोह लगायत मुद्दामा जेलमा परेको विश्वास गर्ने धेरै छन्।
चीनको राजनीतिमा चासो राख्ने धेरैलाई थाहा छ — अरू वरिष्ठ कमरेडहरूले जे गरे, बो सिलाईले पनि त्यही गरे। तर उनी सी जिनपिङका लागि खतरा बने। त्यसैले जेलमा परे।
देङ शाओपिङका छोराहरूले सरकारका विभिन्न निकायमा नियुक्ति पाएका थिए। चाउ एनलाईले धर्मपुत्र बनाएका ली पेङ ११ वर्षसम्म चीनको प्रधानमन्त्री भए। पेङका एउटा छोरा मन्त्री भए भने अर्का छोरा सरकारी कम्पनीको प्रमुख।
राष्ट्रपति जियान जेमिङका छोराले चाइना एकेडेमी अफ साइन्स तथा थुप्रै सरकारी संस्थाको प्रमुखको जिम्मेवारी पाए। प्रधानमन्त्री वेन जियाबाओका छोरा चाइना स्याटकमको प्रमुख बने। चाइना स्याटकम एसियाकै ठूलो स्याटलाइट कम्पनीमध्ये पर्छ।
असन्तुष्ट चिनियाँहरूले राजनीति, सरकार र व्यवसायको माथिल्लो तहमा रहने यो समूहलाई 'झाओ परिवार' को नाम दिएका थिए। झाओ परिवार प्रसिद्ध कथाकार लू सूनको 'आह क्यूको साँचो कथा' उपन्यासको शोषक सामन्ती परिवार हो। कथाको मुख्य पात्र दुःखी, गरिब आह क्यू भने आफूलाई ठूलो देखाउन झाओ परिवारकै सदस्य भएको दाबी गर्थ्यो।
क्रान्तिका क्रममा समाजमा देखा पर्न सक्ने प्रतिक्रान्तिकारी पात्र र प्रवृत्तिलाई उजागर गर्ने गरी लू सूनले यो सानो उपन्यास सन् १९२१ मा लेखेका थिए। माओको नेतृत्वमा भएको क्रान्तिपछि देखा परेका प्रवृत्तिले चिनियाँहरूलाई लू सूनकै कथाको झल्को दियो।
एक जना बेनामी लेखकले सन् २०१५ मा लू सूनकै कथासँग जोडेर यी 'लाल राजकुमार' का बारेमा इन्टरनेटमा राखेको सामग्री चर्चित भयो। सरकारले इन्टरनेटबाट 'झाओ परिवार' खोजीखोजी हटायो।
सोही वर्ष खोज पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल आइसिआइजेले चिनियाँ राजनीतिको कुलीन परिवारसँग जोडिएको २२६ वटा घटना सार्वजनिक गर्यो।
यसमा पहिलो प्रसंग विन्स्टन भनेर चिनिने तत्कालीन प्रधानमन्त्री वेन जियाबाओका छोरा वेन युनसोङको थियो। उनी चाइना स्याटलाइट कम्युनिकेसन्स (चाइना स्याटकम) का अध्यक्ष थिए। यो सरकारी स्वामित्वको कम्पनीले त्यतिबेलै अन्तरिक्षमा १५ वटा स्याटलाइट छाडेको थियो र त्यसबाट वार्षिक साढे दुई अर्ब डलर आम्दानी गर्थ्यो।
अरू 'लाल राजकुमार' जस्तै अमेरिकी विश्वविद्यालयमा शिक्षित विन्स्टनले ट्याक्स हेभन केम्यान आइल्यान्डमा पहिलो कम्पनी न्यू होराइजन क्यापिटल स्थापना गरेका थिए। यसले डच बैंक, जेपी मोर्गन चेज र युबिएसजस्ता बहुराष्ट्रिय वित्त कम्पनीबाट अढाई अर्ब डलर उठाएको थियो। कुनै राजनीतिकर्मीसँग सम्बन्ध नभएको चिनियाँ केटोले ती पश्चिमा कम्पनीबाट त्यत्रो ठूलो रकम पाउनु कल्पनातीत कुरा हो।
तत्कालीन राष्ट्रपति हु जिन्ताओका छोरा हु हाइफेङ सरकारी स्वामित्वको कम्पनी 'न्यू टेक' का अध्यक्ष थिए। पछि उनी सिंगुआ होल्डिङ्स गए। यसले न्यू टेकसहित २० कम्पनी सञ्चालन गर्छ।
चीनमा बहुराष्ट्रिय कम्पनीहरूले प्रायः यिनै 'राजकुमार' हरूसँग मिलेर व्यवसाय सुरू गर्छन्। हङकङ, दुबई, सिंगापुर, स्विट्जरल्यान्ड, क्यारेबियाका कर हेभन्समा दर्ता भएका होल्डिङ कम्पनीहरूमार्फत लगानी गर्छन्। यस किसिमको व्यापार तथा लगानीबारे कहीँ कतै खुलाउनु पर्दैन।
यस प्रसंगमा भारतीय अर्थशास्त्री स्वामिनाथन ऐयरले चोटिलो टिप्पणी गरेका छन् — देङ शाओपिङले धनी हुनु गौरवको कुरा हो भनेका थिए। उनका कमरेडहरूले आआफ्ना परिवारलाई धनी बनाए। अन्यत्र जस्तै चीनमा पनि राजनीति गर्ने भनेको पैसा कमाउनलाई हो। उनीहरूले बुझिसकेका छन्, व्यापारको अर्को नाम राजनीति हो। यो तथ्यले चिनियाँहरूलाई छक्क पार्दैन।
त्यसैले आसेपासेवादलाई पुँजीवादको विशिष्ट चरित्र मानेर हामीले सुख पाउँदैनौं।
हामी अरू छिमेकीबारे अद्यावधिक जानकारी राख्छौं भन्ने अनुमानका आधारमा यहाँ चीनको बढी चर्चा गरिएको हो। भारत, पाकिस्तान, श्रीलंका, बंगलादेशमा शासन व्यवस्थाको विकृति अझ निकृष्ट छ। आखिर सबैको उस्तै रहेछ, किन पिर मान्ने भन्ने पनि हुँदैन।
पहिला त आसेपासेवाद, पुँजीवाद र समाजवादको आधारभूत चरित्र छुट्ट्याउनुपर्छ। यो काम आसेपासेवाद जब्बर नहुँदै गर्नुपर्छ।
आसेपासेवाद
हामीले बुझेको आसेपासेवाद भनेको आर्थिक वा राजनीतिक मामिलामा नजिकका साथीहरू, सहयोगीहरू वा नातेदारहरूलाई विशेष फाइदा पुग्ने गरी विशेषाधिकार दिने वा कुनै अवसर प्रदान गर्ने हो। यसमा पारस्परिक लाभको लागि व्यक्तिगत सम्बन्धको प्रयोग गरिन्छ। निष्पक्षता, योग्यता, क्षमता ओझेलमा पर्छ। यसले सिर्जनशीलता, नवप्रवर्तन र प्रतिस्पर्धालाई रोक्ने भएकाले आर्थिक वृद्धि सुस्त हुन्छ, रोजगारी सिर्जना हुँदैन।
आर्थिक र राजनीतिक दुवै सन्दर्भमा आसेपासेवाद विभिन्न रूपमा प्रकट हुन सक्छ। राजनीति र प्रशासनका उच्च अधिकारीहरूसँग घनिष्ठ सम्बन्ध भएका व्यक्तिले व्यापार व्यवसाय, ठेक्कापट्टा, लाइसेन्स, इजाजत, एकाधिकार, नियुक्ति, अनुदान, सहयोग लगायत लाभ पाउँछन्। यसको लागत भने समग्र समाजले बेहोर्नुपर्छ।
सरकारी अधिकारी (राजनीतिकर्मी र प्रशासक) घुस, कमिसन, चन्दा तथा अन्य अवैध लाभका लागि शक्तिको दुरूपयोग गर्छन्। आफू र आफ्नाहरूको अनुकूल हुने गरी ऐन-नियम बनाइन्छ। अनावश्यक अड्डाहरू खडा गरिन्छ। अत्यधिक तजबिजी अधिकार प्रयोग गरिन्छ। नैतिकता, इमानदारी भन्ने हुँदैन। सबै काम औपचारिक कानुनी प्रविधि मिलाएर गरिन्छ। शासकहरू कानुनले मिल्ने जुनसुकै अनैतिक काम गर्न पछि हट्दैनन्।
पुँजीवाद
पुँजीवादी व्यवस्थामा निजी सम्पत्तिको अधिकार प्रधान हुन्छ। व्यक्ति वा कम्पनीले सम्पत्ति बढाउन सरकारी अधिकारीलाई प्रभावमा पार्न सक्छन्। यसले प्रतिस्पर्धालाई बिथोलिदिन्छ। धनसम्पत्ति निश्चित समूहमा थुप्रिँदै जाने जोखिम उच्च हुन्छ। धनीहरूले आफ्नो अनुकूल हुने गरी नियम-कानुन बनाउन शासकहरूलाई खरिद गर्न सक्छन्। पारदर्शिता र जबाफदेहिता खुम्चिँदै जान्छ। खुकुलो नियमनले स्वार्थ समूहकै हित गरिरहेको हुन्छ।
समाजवाद
समाजवादी व्यवस्थामा उत्पादनका साधनहरू राज्य वा समुदायको स्वामित्वमा हुन्छन्। हाल क्युबा र उत्तर कोरियामा मात्रै यस्तो होला। अन्यथा कुनै पनि कथित समाजवादी मुलुकमा राज्यको नियन्त्रणमा उत्पादनका साधन छैनन्।
उत्पादनका साधन राज्यको नियन्त्रणमा राख्ने र त्यसलाई आवधिक योजना अनुसार परिचालन गर्ने हो भने, आसेपासेको समस्या झन् चर्को हुन्छ। किनभने यस्तो व्यवस्थामा शासकहरूलाई तजबिजी अधिकार झन् धेरै हुन्छ।
यो व्यवस्थामा आसेपासेवाद राजनीतिक पक्षपातको रूपमा प्रकट हुन्छ। शासक र शासितको स्पष्ट विभाजन हुन्छ। अभिजात वर्गसँग घनिष्ठ सम्बन्ध भएकाहरूले प्राथमिकता पाउँछन्। प्रतिस्पर्धा शून्य हुन्छ, अकर्मण्यता र अदक्षताको चाङ लाग्छ।
समाजवादी नामको केन्द्रीकृत प्रणालीमा केही व्यक्तिहरूको हातमा शक्ति केन्द्रित हुन्छ। तिनै शक्तिशालीको निगाहामा आममान्छेको आर्थिक र सामाजिक सफलता निर्धारण हुन्छ। शक्तिशाली शासकले तपाईंलाई धनी बनाइदिन सक्छन्, उच्च पदमा पुर्याइदिन सक्छन्।
राज्यको स्वामित्वमा रहेका उद्यम समग्र समाजका लागि ठूलो बोझ हुन्छन्। धेरै खर्च गरेर न्यून गुणस्तका थोरै वस्तु तथा सेवा उत्पादन गर्छन्। व्यावसायिक प्रतिस्पर्धा भन्ने हुँदैन। अत्यावश्यक वस्तु अभावको जोखिम उच्च हुन्छ।
सरकारी निकायमा नियुक्ति पाउनेहरू शासकप्रति बफादार भए पुग्छ। उनीहरूले जनतालाई गुणस्तरीय वस्तु र सेवा प्रवाह गर्नु पर्दैन। नोकरशाही र लालफिताशाही समाजवादको अभिन्न अंग बन्छ। यसबाट बिचौलियाले मात्र उन्मुक्ति पाउँछन्। मान्छे सकेसम्म नियम तोडेर अघि बढ्न खोज्छ — शक्तिशालीको सहयोग लिएर आफ्नो स्वार्थ सिद्ध गर्न खोज्छ।
सबैभन्दा माथि आसेपासेवाद
अहिलेको समस्या आसेपासेवादलाई मान्ने हो भने यसलाई पुँजीवाद वा समाजवादसँग जोडेर समाधान निस्किँदैन। हाम्रो आफ्नै अनुभव र अन्तराष्ट्रिय अनुभवले यो जहासुँकै फस्टाउन सक्छ भन्ने देखिन्छ।
शक्ति, साधनस्रोतको र केन्द्रीकरण जहाँ बढी हुन्छ, त्यहाँ आसेपासेवाद चर्को हुन्छ। जहाँ सरकारले सबथोक गर्नुपर्छ भनिन्छ, त्यहाँ आसेपासेवाद हाबी हुन्छ। जहाँ सरकार फैलिएको हुन्छ, त्यहाँ आसेपासेवाद फस्टाउँछ।
हामीले एकात्मक केन्द्रीकृत शासन प्रणालीलाई त्यागेर संघीय गणतन्त्र ल्यायौं भन्यौं। तर हाम्रो मनमस्तिष्कबाट त्यो हटेको छैन। लोकतान्त्रिक संस्थाहरूलाई बलियो बनाउने, पारदर्शिता र जबाफदेहिता अवलम्बन गर्ने, नागरिक समाजलाई जीवन्त बनाउने काम हामीले गरेकै छैनौं। नायकको खोजी र शक्तिशाली शासकको चाहनाले कहीँ पुर्याउँदैन।
प्राचीन चिनियाँ दार्शनिक लाओ जुले 'लय' शीर्षकमा यस्तो लेखेका छन् —
ज्ञानी (शासक) लाई सिध्याऊ, ज्ञान (शासन) लाई नकार।
अनि जनताको हित सय गुना बढ्नेछ।
नियम र शर्त बन्धनबिना समाजले संगति पाउनेछ।
सबै सत्वमा यिङ र याङ हुन्छ।
यिनैको अन्तर्क्रियाले लय प्राप्त हुन्छ।
जति धेरै बन्धन, त्यति धेरै गरिब जनता।
जति धेरै नियम-कानुन, त्यति धेरै चोर डाँका।
त्यसैले सन्त भन्छन् — मैले केही गर्दिनँ, मान्छे आफैं खुल्छ।
म चुप लाग्छु, मान्छे सही बाटोमा हुन्छ।
म निष्क्रिय रूपले क्रियाशील हुन्छु, मान्छेले समृद्धि छुन्छ।
माथिकाले धेरै कुत खाँदा जनता भोकमरीमा पर्छन्।
अनिकालको अरू कुनै कारण छैन।
मान्छेलाई तह लगाउन गाह्रो छ।
माथिका मान्छे हस्तक्षेप धेरै गर्छन्।
अराजकताको अर्को कारण छैन।
ट्विटरः @muraharip
(मुराहरि पराजुलीका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्)