यो लेखको सुरूआत बालबालिकामा प्रहार गरिने चलनचल्तीका तीखा र अपरिष्कृत बोलीहरूको सन्दर्भबाट सुरू गर्न चाहन्छु।
– पढिनस् भने तेरो जीवन बर्बाद हुन्छ! फलानोको छोरीको 'ए', तेरो 'सी' लाज छैन?
– पढाइ खत्तम्, भोलि के गरेर खाने हो? हलो जोत्न जानु पर्ला!
– सरले यसलाई पढाइमा रत्तिभर डर छैन भन्नुभयो! तँलाई कुटीकुटी पढाउने मिसको कक्षामा राख्न भन्छु।
इत्यादि।
यस्ता खालका तर्साउने उद्देश्यले बोलिएका घातक वाक्यहरूलाई सायद हामी सहजै लिन्छौं। छोराछोरीको भलाइका लागि निष्ठासहित प्रेमले भनेको मान्छौं।
यहीँनेर हाम्रो गम्भीर त्रुटि छ। किनभने, यी शब्दका नकारात्मक छाप वा अपमानको भाव बालबालिकाको मानसपटलमा जीवनभरका लागि अमिट बस्छ। यतिमा मात्र सीमित होइन, यिनै शब्द ती केटाकेटी वयस्क बनिसकेपछि फेरि आफ्नै छोराछोरीलाई सुनाउँछन्। यो विषाक्त दुष्चक्र दोहोरिन्छ।
कुनै समयमा एसएलसी (हाल एसइई) लाई फलामे ढोका भनिन्थ्यो। खराब परिणाम आउने डर देखाउँदै स्कुलहरूमा सबेरैदेखि साँझसम्म घोकाइन्थ्यो। त्यो फलामे हाउगुजी परीक्षासँग अन्त्य भयो होला, तर त्यस्तै किसिमका अन्य हाउगुजीहरू भने छन्।
शैक्षिक हाउगुजीहरू अनेक रूपमा व्याप्त हुन्छन्। विद्यालय, शिक्षक, विद्यार्थी र अभिभावकहरूले सिर्जना गरेको यो काल्पनिक प्रेतको सबभन्दा धेरै असर केटाकेटीलाई पर्छ।
ज्ञान आर्जन र विकासको प्रक्रिया डरको संवेगभन्दा नितान्त फरक छ। वस्तुगत रूपमा शिक्षा र त्रास अन्तरसम्बन्धित छैनन्, यी दुवै भिन्दाभिन्दै पक्ष हुन्। हामी यिनको जालो बुन्छौं र यसैमा फस्छौं। यो यथार्थ नबुझ्दाको परिणाम हो।
यो लेखमा शैक्षिक भय, यसका कारणहरू, प्रभाव र व्यवस्थापन गर्ने पक्षहरूलाई अनुसन्धानका आधारमा प्राप्त तथ्यहरू लिएर विवेचना गरेको छु। आशा छ, यसले स्कुल, शिक्षक र अभिभावकहरूलाई व्यावहारिक अन्तरदृष्टि दिनेछ।
मनोविज्ञानको दृष्टिकोणबाट डर एउटा जटिल संवेगात्मक प्रतिक्रिया हो जसले व्यक्तिको अस्तित्वलाई खतराको बोध गराउँछ। मन र शरीरलाई 'या जुध या भाग' को निर्णय गर्न प्रेरित गर्छ।
डरको अवस्थामा उत्पन्न हुने हार्मोनहरू जस्तै कोर्टीसोल, इन्डोर्फिन र एड्रेनालिनले शरीरलाई उत्तेजित र मनलाई व्यग्र बनाउँछन्। त्रासको अवस्थामा क्रियाविज्ञानका परिवर्तनहरूले वौद्धिक चेतनालाई तुरून्त मन्द गरिदिन्छ। संज्ञानात्मक क्रियालाई असामान्य बनाइदिन्छ। मन अस्थिर बन्छ।
यो शरीरको प्राकृतिक रक्षात्मक प्रतिक्रिया भए पनि यसको दीर्घकालीन वा चक्रीय उपस्थितिले सम्पूर्ण स्वास्थ्यलाई खराब बनाउँछ। केटाकेटीमा डर कायम रहिरहेमा उनीहरूको विकास अवरूद्ध हुनुका साथै मानसिक स्वास्थ्यमा थप हानि र शारीरिक दुर्बलता हुने गर्छ।
कुनै प्रकारको त्रासदीपूर्ण वाक्य वा दण्डको आधार राखेर शिक्षामा प्रेरणा जाग्छ भन्ने अनुमान गरी यो नकारात्मक अभिप्रेरणा प्रयोग गर्दा यसको ठीक उल्टो हुन्छ, ज्ञान आर्जनको प्रक्रियामा शिथिलता पैदा हुन्छ। यो अनुमान नै हाम्रो गम्भीर भूल हो। शिक्षामा त्रासको तत्व हाबी हुनासाथ शैक्षिक गतिरोध हुने अनुसन्धानले प्रस्ट पारेका छन्।
बलबालिकामा मुख्यतया चार प्रकारका डर हुन्छन्।
पहिलो हो अस्थायी। यसमा खतराको अवस्था पार गरेपछि नरहने, जस्तै गृहकार्य नगरी आएको र शिक्षकले माफी दिई सकेपछि तनावमुक्त हुने।
दोस्रो, अनिश्चितताले निम्त्याएको भय। जस्तै साथी, शिक्षक वा अभिभावकबाट धम्की आएको तर घटना नभइसकेको अवस्था।
तेस्रो, परिस्थिति वा वस्तुको भ्रमले सिर्जना गर्ने भय। जस्तै अन्धकार, उचाइ, जनावर इत्यादि।
चौथो, दीर्घकालीन (क्रोनिक) प्रकृतिको भय। जस्तै बालबालिकामा बाबुआमाको खराब सम्बन्धले आउने भावनात्मक असुरक्षा, वयस्कले डर सिर्जना गर्न बारम्बार चेतावनी वा दण्ड दिएर स्थापित गरिएको त्रास।
विद्यार्थीमा पनि डरका थुप्रै श्रोतहरू भेटिन्छन्।
किशोर-किशोरीमा आफूले पढ्न नसके बाबुआमाको सपना अधुरो हुने, ग्रेड राम्रो नआए आफ्नो बौद्धिक प्रतिष्ठामा आँच आउने र समाजले के भन्ला भन्ने भय, इत्यादि।
सक्षम विद्यार्थीले पनि आफूले गल्ती गर्नै हुँदैन र पढाइ त्रुटिरहित हुनुपर्ने मान्दा वा आफूले सक्नेभन्दा बढी थेग्न खोज्दा, अति महत्वाकांक्षी बन्दा पढाइमा भय सिर्जना हुन्छ।
परीक्षाले विद्यार्थीहरूलाई व्याकुल बनाउँछ। एकै किसिमको परीक्षाको साँचोमा फरक विशिष्टता भएकालाई राख्दा केहीले मात्र यसमा अनुकूलता पाउन सक्छन्। अन्यले यसबाट आउने दबाब र सम्भावित अवाञ्छित प्रतिफलका कारण प्रतिकार गर्छन्।
यसरी परीक्षा आफैंमा शैक्षिक त्रास उत्पन्न गर्ने कारक भएको शिक्षाविदहरू बताउँछन्। यसको दबाबपूर्ण अवस्थामा केटाकेटी अत्तालिएर दिग्भ्रमित बन्छन्।
अभिभावकको अप्रत्यक्ष दबाबमा, जस्तै आफ्नो काम राम्रै सम्पादन गरेको अवस्थामा पनि उनीहरूको क्षमताभन्दा बढी घुमाउरो पाराले राखिने अपेक्षाले बालबालिकाको मानसिक स्वास्थ्यमा असर गर्छ। तर त्यो अप्रत्यक्ष दबाबको स्थानमा प्राप्त उपलब्धिमा हौसला दिँदा उन्नति हुने विज्ञहरू बताउँछन्।
मीठो बोलीमा दबाब दिने अभिभावकहरूले पनि केटाकेटीको मानसपटलमा अप्ठ्यारो अवस्था र डर सिर्जना गरिदिन्छन्।
कति अभिभावकहरूले आफ्ना छोराछोरी पढाइमा गम्भीर नहुने कारण भविष्यको डर नभएको भन्ने विश्वास गर्छन्। तर डरले अध्ययनमा गम्भीरता होइन, माथि उल्लेख गरेजस्तै मानसिक उद्वेग र नकारात्मकतालाई मलजल गर्छ। यो घाउ कन्याएको जस्तै हो, तत्काल ठीकजस्तो लागे पनि यसले संक्रमण ल्याउन सक्छ!
भारी बोकेर उकालो चढ्दै गरेको व्यक्तिको अवस्था र विद्यार्थीहरूलाई उनीहरूले लिएको शैक्षिक भारको दबाब र तिनलाई गन्तव्यमा पुर्याउने उस्तै हुन्छ। यदि बाह्य दबाबबाट भार असन्तुलित भएमा उनीहरूमा चुनौती थपिन्छ। यस अवस्थामा अझै चिन्ता र डर सिर्जना हुने अध्ययनहरूले देखाएका छन्।
यसरी विद्यार्थीलाई चौतर्फी रूपमा आउने थरीथरी दबाबबाट डरहरू सिर्जना हुन्छन्। उनीहरूले आफ्नै अभिभावक र विद्यालयलाई पनि डरको प्रतीकका रूपमा देख्छन्।
शैक्षिक विकासका लागि तनाव व्यवस्थापन गर्न अपरिहार्य हुन्छ। यसका विविध उपाय छन्। तीमध्येका केही मुख्यलाई यहाँ लिएको छु।
पहिलो र उत्तम अभ्यास भनेको यसको रोकथाम नै हो वा भय उत्पन्न हुन नदिने वातावरण सिर्जना गर्नु हो।
दोस्रो, स्कुलमा शिक्षक र अभिभावकबाट दिइने भावनात्मक सहायता हो।
तेस्रो, सचेतना अभ्यास हो।
चौथोमा डर गहिरो भएमा गरिने परामर्श र 'सिबिटी थेरापी' पर्छन्।
र, पाँचौं, सकारात्मक आत्मछविको निर्माणले शैक्षिक भय निस्तेज गरिदिन्छ।
बालापनको सुन्दरता आत्मसात गरी बालबालिकालाई त्यस्तै हुन दिँदा उनीहरूले भावनात्मक सम्बन्धको निकटता अनुभव गर्छन्। वयस्कहरूले पढाइलाई एक उन्नतिको प्रक्रियाका रूपमा राखेर उनीहरू जस्ता छन्, त्यस्तै स्वीकार गरेमा केटाकेटीले आफ्नो शैक्षिक व्यवस्थापन गर्न र वाञ्छित परिणाम ल्याउन स्वप्रेरित हुने अनुसन्धानले देखाएका छन्।
धेरै किशोर-किशोरीले आमाको मायाबाट भावनात्मक सहायता पाउने बताउँछन्। मातापिताको वात्सल्यता उनीहरूलाई जीवनको कठिन अवस्थामा पनि सहायकसिद्ध हुन्छ। शिक्षकको नरम भाव, समानुभूति र लचिलोपनबाट बालबालिकाले आफू स्वीकारिएको महसुस गर्छन्।
अनुसन्धान भन्छ — खुसी विद्यार्थीले धेरै सिक्छन्। अभिभावक वा शिक्षकले विद्यार्थीप्रति धैर्य राख्ने गर्दा, लचिलो बन्दा, पढाइको अनावश्यक भार कम गर्दा र भावनात्मक निकटता राख्दा उनीहरू खुसी हुन्छन्।
खुसी बालबालिकाको संज्ञानात्मक विकास द्रूत हुने अध्ययनले देखाउँछ। उच्च शैक्षिकस्तर भएका फिनल्यान्डका धेरै विद्यालयमा खुसी केटाकेटीलाई शैक्षिक सफलताको मुख्य आधार मानिन्छ।
भयरहित वातावरणका लागि चेतावनी र दण्ड प्रयोगमा ल्याउन नहुने, कुनै कट्टर औपचारिक ढाँचा वा कठोर अनुशासनको कठघरामा विद्यार्थीलाई राख्न नहुने अध्ययनहरूको निष्कर्ष छ। विश्वास राखौं — पढाइको गम्भीरताका नाममा दिइने शारीरिक या मानसिक चोट प्रगतिको ठीक विपरीत बाटो हो।
सचेतना अभ्यास (माइन्ड-फूलनेस) अध्ययनका थुप्रै निष्कर्ष प्रकाशित भएका छन्। यसले मस्तिष्कको 'ग्रे-म्याटर' को घनत्वमा वृद्धि, स्नायुमार्गको सूचनामा तीव्रता, एकाग्रताको विकास र 'सेन्सरी' क्षमतामा उल्लेख्य प्रगति आउने पुष्टि अनुसन्धानले गरेका छन्।
मस्तिष्कको आधारमा लिम्बिक प्रणाली रहन्छ। यसमा भएका एमिग्डाला, हिप्पोक्याम्पस, थालामस र सिंगुलेट गाइरस जस्ता भागले भावना, संज्ञान र दीर्घकालीन स्मरण र एकाग्रता नियमन गर्छन्। केटाकेटीमा डर बसिरहेमा यसको कार्य कमजोर भएर उनीहरूको अध्ययनशीलता अवरूद्ध गर्छ।
एमिग्डाला ग्रन्थीले भावना, संज्ञान, तनाव र डर व्यवस्थापन गर्छ। सचेतनाले यसमा परिवर्तन आएको एमआरआई रिपोर्टले देखाउँछ। हाल कैयौं स्कुलले तनाव व्यवस्थापन गर्न सचेतना ध्यान प्रयोगमा ल्याएका छन्।
विद्यार्थीमा त्रासको गहिरो छाप बसेमा अनुमति प्राप्त थेरापिस्टबाट परामर्श र सिबिटी (कग्निटिभ बिहेभरियल थेरापी) लाई प्रयोग गर्न सकिन्छ। यसमा उत्पन्न विरूपित विचार (डिसटोर्टेड थट) र त्यसबाट भएका नकारात्मक अनुभव र स्वभावलाई विश्लेषण गरी स्वस्थ विचार स्थापना गरिन्छ। विद्यार्थीलाई उत्पन्न डरसँग क्रमशः परिचित गराउँदै जुझारू बनाइन्छ। विशेष मानसिक सीप विकास गरेर सबलीकरण गरिन्छ।
हामीले जान-अनजानमा गरेका गलत व्यवहार वा केटाकेटीका आफ्नै कारण उत्पन्न डरलाई उनीहरूमा सकारात्मक स्वधारणा र आत्मसम्मान विकास गरेर पनि हटाउन सकिन्छ।
विद्यार्थीहरूले बाह्य कारणबाट भएको गल्तीलाई आफ्नै व्यवहारले भएको भन्ने गलत बुझाइ राखेमा, आफैंलाई दोषी बनाएर आफैंलाई गाली गर्नुले नकारात्मक छवि बनाउँछ। यस्तो भएमा उनीहरू आफैंले आफैंलाई बिनाकारण धिक्कार्छन् र नकारात्मक स्वधारणा स्थापित गर्छन्। मानसिक रूपमा कमजोर बन्छन्।
स्वधारणा र आत्मसम्मानमा कमी आएमा उनीहरूलाई दोषी करार गर्ने ती बाह्य र आन्तरिक तत्वको पहिचान गरी निरूपण गर्नुपर्छ। उनीहरूमा आफैंप्रतिको सहानुभूतिको विकास गराउन सहायता गरेमा त्यो आफूलक्षित नकारात्मक आन्तरिक बोली सकारात्मक भएर स्वधारणा स्वस्थ बन्छ।
यो लेखको अभिप्राय केटाकेटीलाई सर्वेसर्वा बनाइ उनीहरूकै इच्छामा छाड्ने भनेको अवश्य होइन। तर यसभित्रका ज्ञानलाई आधार मानेर अभिभावक र शिक्षकहरूले बगैंचाका फूलबिरूवालाई छाँटकाँट, मलजल गरेजस्तै सन्तुलित तरिकाले फक्रिन दिनु हो।
घर र स्कुलको डर नकारात्मक अभिप्रेरणा हो। यसका परिणाम पनि नकारात्मक नै हुन्छन्।
तसर्थ, यो लेखमार्फत् अभिभावक, शिक्षक र विद्यालयलाई अहिलेसम्म यसरी नै चलेको छ र चल्छ, वा डर भएमा मात्र विद्यार्थीले पढ्छन् भन्ने गलत पूर्वाग्रह छाडी सफलताको कारण त जीवन र शैक्षिक कार्यको सन्तुलित जिम्मेवारी हो भन्ने तथ्यमा विश्वास गरी बालबालिकाप्रति करूणा राख्न आग्रह गर्छु।
(लेखक प्रविज्ञ रेग्मी न्यु मिलेनियम स्कुल इमाडोल, ललितपुरका संस्थापक प्रिन्सिपल हुन्)
(प्रविज्ञ रेग्मीका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्)