मेरो देशको अवस्था हेर्दा प्रायः मलाई खाँदबारीमा बारीको आँपको रूखको याद आउँछ।
बालवयकी मलाई त्यो आँपको रूख अचम्मको लाग्थ्यो। त्यसको फेदबाटै दुईतिर फिँजारिएका दुई वटा ठूला हाँगामा बेग्लाबेग्लै आँप फल्थे। एउटामा गोलो आकारको ठूलो आँप फल्थ्यो। काँचैमा पनि गुलियो हुन्थ्यो। अर्को हाँगामा केही सानो र लाम्चो आकारको फल्थ्यो र काँचोमा चिरिक्क अमिलो हुन्थ्यो।
आँपको बोट झ्याम्म परेको र हरियो थियो। मैले थाहा पाउँदा त्यो बोटमा दुई वर्ष मजाले आँप फल्यो। त्यसपछि बिस्तारै पात पहेँलिन थाल्यो। के भयो, किन पहेँलियो भनेर बुबाआमा कुरा गर्नुहुन्थ्यो। दिन बित्दै जाँदा पात अझै बढी पहेँला हुँदै गए। बुबाआमाले पहेँला पात झारेर फाल्ने निधो गर्नुभयो।
बेलुका स्कुलबाट फर्केपछि हामीलाई बोटबाट आफैं झरेका र झारिएका पहेँला पात जम्मा गरेर बारीकै एक छेउमा थुपार्न लगाउनुभयो। यो काम दुई–तीन दिन चल्यो। हामी दाजुभाइ र दिदीबहिनीले तँछाड मछाड गर्दै पात जम्मा गर्यौं।
रूखमा पात पहेँलिन छाडेन। गाउँमा त्यति राम्रो रूख किन पहेँलियो भन्ने चर्चा चल्यो। कुनै रोग लाग्यो भन्ने कुरा भयो। कृषि प्राविधिकको सल्लाह बमोजिम विषादी छिटियो। बुबाले हामीलाई केही दिन आँपको रूखतिर नजानू भन्नुभयो। विषादीले हानि गर्छ भनेर त्यसो भन्नुभएको रहेछ।
पात पहेँलिने र झर्ने क्रम रोकिएन। झन् बढी पहेँलिन थाल्यो। पहेँलिएका पात झार्ने काम पनि चलिरह्यो। करिब डेढ महिनामा सबै पात झरे, रूख सुक्यो। हेर्दाहेर्दै यसरी आँपको रूख मर्यो। अलिक पछि काटेर दाउरा बाल्यौं। रूखको नामनिशान मेटियो।
जरा उखेल्दा बुबाले देख्नुभएछ, रूखको मूल जरो त किराले भुसुक्कै पारेको रहेछ। जरामा किरा लागेर पात पहेँलिएको हो भन्ने थाहा पाएको भए रूख सुक्नुअघि उपचार हुन सक्थ्यो होला। रूख केही वर्ष रहने थियो होला। बुबा पछुताउनुभयो। हामी सबैले नरमाइलो मान्यौं तर उपाय बाँकी थिएन, समय बितिसकेको थियो।
हाम्रो राज्य संयन्त्रबाट भएका कामकारबाही र सुधारका प्रयासलाई समाजमा देखिएको परिणामसँग जोडेर हेर्दा म त्यही आँपको रूखको दृष्टान्त लिन उपयुक्त ठान्छु।
म यस लेखमा हालसम्मको मेरो प्रशासनिक अनुभव र आध्यात्मिक यात्राको सुरूबाटै ममा गढेको जनशक्ति विकासको महत्त्व उजागर गर्ने प्रयास गर्नेछु।
देशको उन्नति र विकासको कुरा गर्दा समस्या पहिचान प्रमुख हुन आउँछ। समस्याको पहिचान भएपछि मात्र समाधान गर्ने दिशामा अघि बढ्न उपयुक्त हुन्छ।
नेपालमा भएका पछिल्ला गतिविधि नजिकबाट नियाल्दा हामीले गरेका राजनीतिक, आर्थिक र सामाजिक परिवर्तन तथा उद्योगको विकास; शिक्षा र स्वास्थ्य क्षेत्रमा गरेको लगानी सबैले अपेक्षाकृत परिणाम दिन नसकेको अनुभूति हुन्छ। कतै हाम्रो राज्य प्रणालीको हालत पनि आँपको त्यही रूख जस्तो त हुने होइन भन्ने डर लाग्छ।
हामीले गरेका हरेक परिवर्तन र आर्थिक विकास समग्रमा जीवनका लागि हुन्। सबै विकास र परिवर्तनको केन्द्रबिन्दुमा जीवन नै रहन्छ। हामीले गरेका हालसम्मका विकासका र सुधारका प्रयासहरूबाट समग्रमा नेपाली जनताको जीवनमा केकस्तो सारभूत परिवर्तन भयो भनेर हेर्नुपर्ने हुन्छ।
विकासका लागि हालसम्म हामीले गरेका सबै खाले प्रयास हाम्रो जीवनको मूल समस्या पहिचान गरेर त्यसमा केन्द्रित हुन नसकेको यथार्थ स्वीकार गर्नैपर्छ।
नेपालको मूल समस्या के हो? सम्बोधन कसरी हुनसक्छ? कहाँ हामी अलमलियौं? अबको बाटो के हो? आजका मुख्य प्रश्न यिनै हुन्।
हामीले गरेका परिवर्तन र सुधारका प्रयासहरू जनशक्ति विकासमा केन्द्रित हुन नसक्नु हाम्रो मूल समस्या हो। जीवनलाई केन्द्रमा राखेर, जीवनको मूल विज्ञानमा आधारित भएर काम गर्नुपर्ने थियो। हाम्रा राजनीतिक आर्थिक सामाजिक र भौतिक परिवर्तनको केन्द्रबिन्दु मानिसको जीवन नै हो।
हामीले गरेका विकासका प्रयास र परिवर्तनहरूमा जीवनलाई सतही रूपमा मात्रै हेरेको देखिन्छ। मूल रूपमा जीवनलाई केन्द्रमा राखेर आर्थिक विकास गर्न जनशक्ति विकास नै पहिलो प्राथमिकता हुनुपर्छ। योग्य र निष्ठावान जनशक्तिले राज्यका विभिन्न क्षेत्रमा आफ्नो क्षमता उपयोग गर्दा मात्र अपेक्षित विकास हुन सक्छ।
अपेक्षाअनुसार देश बनाउन योग्य र निष्ठावान जनशक्ति आवश्यक हुन्छ। जनशक्तिमा विषयको ज्ञान, काम गर्न आवश्यक सिप र इमानदारीपूर्वक काम गर्ने संकल्प चाहिन्छ।
अहिले हाम्रो देशमा केही अपवाद छोडेर जनशक्तिको ठूलो हिस्सामा ज्ञान र सीपको अभाव देखिन्छ। कतै ज्ञान भए सीप छैन, सीप हुनेमा ज्ञान छैन। ज्ञान र सीप दुबै भएका कतिपयमा इमानदारी र निष्ठाको अभाव छ। ज्ञान र सीप दुबै भएको जनशक्तिको निकै ठूलो हिस्सा विदेश पलायन भएको छ।
सानो आकारमा रहेको ज्ञान, सीप र निष्ठायुक्त जनशक्तिको महत्त्व बुझ्ने राजनीतिक नेतृत्वको पनि खाँचो छ। ज्ञान, सीप र निष्ठाको सन्तुलित गुण नभएपछि अनेक समस्याहरू देखा परेका छन्।
वर्तमानका खास समस्याहरू यी हुन्–
– व्यक्तिमा आफ्नो मन र भावना व्यवस्थित गर्ने सीप नहुँदा व्यक्तिहरू एन्जाइटी र डिप्रेसनबाट ग्रसित हुन थालेका छन्। परिणामस्वरूप आत्महत्याको दर बढ्दो क्रममा छ।
रामेछाप जिल्लाको पछिल्लो पाँच वर्षको आत्महत्याको तथ्यांक हेर्दा वर्षमा औसत ५० जनाले आत्महत्या गरेका छन्। आर्थिक वर्ष २०७९/८० को तथ्यांकअनुसार नेपालभर दैनिक सरदर १९ जनाले आत्महत्या गरेको देखिन्छ।
– बाल्यावस्थादेखि नै समूहकार्य, सहकार्य, समन्वय, सहअस्तित्वको भावना र सीप नसिक्दा–नसिकाउँदा मैले नै जित्नुपर्छ भन्ने अहंकार बढेको छ। यसले हिंसालाई बढवा दिएको छ। असफलता वा कमजोरी ढाकछोप गर्न अरूको दोष देखाउने र फसाउने प्रवृत्ति बढ्दो छ। राज्यका निकाय र व्यक्तिबीच समन्वयमा कमी हुँदा व्यक्तिको मेहनत र खर्च सार्थक हुन सकेको छैन।
– बाबुआमा, शिक्षक र समाजका अगुवाहरूले अभिभावकीय भूमिका निर्वाह गर्नमा कमजोरी भएको छ। परिणामस्वरूप शिक्षा र सीप भए पनि असल संस्कारको कमी भयो। जताततै व्यक्तिले योगदान गर्नेभन्दा लाभ प्राप्त गर्ने अवसरवादी प्रवृत्ति हाबी भयो।
– व्यक्ति, परिवार, समाज र आफू संलग्न संस्था व्यवस्थित गर्न नसक्दा यी सबै अंग कमजोर भए। साँचो अर्थमा व्यक्ति र संस्थाहरूको सशक्तीकरण हुन सकेन। अधिकार र कर्तव्यको सन्तुलित बोध भएन।
– हामीले समय पालना गर्न सिकेनौं, सिकाउन सकेनौं। निर्धारितभन्दा ढिलो गरी काम सुरू गर्ने र निर्धारित समयमा नटुंग्याउने प्रवृत्तिले ‘नेपाल समय’ भनेर नकारात्मक पहिचान बनायो। यस्तो प्रवृत्तिले हामी कमजोर भयौं।
– विचार, बोली, व्यवहार र काममा आफ्नो र अरूको हितलाई सँगै राखेर हेर्न सिकेनौं, सिकाएनौं। अर्काको हित भएको कर्ममा मात्रै आफ्नो हितमा हुन्छ भन्ने मूल भाव बेवास्ता गर्यौं। यस प्रवृत्तिले सामाजिक अपराधमा बढोत्तरी भयो।
– आफ्नो स्वभाव, प्रतिभा र क्षमता चिनेर त्यसको जगमा आफूलाई विकासित गर्न जानेनौं। देखासिकी र तुलनाको प्रवृत्तिले मूलबाटो छाडेर हिँड्न नपर्ने वा हिँड्नै नहुने बाटोतिर हिँडायो। कतिपय प्रतिभावान व्यक्ति देशबाट पलायन हुने र कतिपय व्यक्ति आफ्नो प्रतिभा पहिचान गर्न नसकेर बरालिने अवस्था भयो।
– हामीले आफूमा भर गर्न सकेनौं। अरूबाट सुख खोज्ने र अरूबाटै लिने प्रवृत्ति हाबी भयो।
–धैर्य र दूरदृष्टिको अभाव भयो।
– हामी भिडका पछि लाग्यौं र भिडकै पछि दौडिने समाज बनायौं। आफ्नो विवेकले सही र गलत छुट्ट्याएर निर्णय गर्न सिकेनौं, सिकाएनौं।
– आफूभित्र हेर्न र ध्यान गर्न सिकेनौं, सिकाएनौं। समस्या र असफलताका दोष अर्कोमाथि थोपर्ने प्रवृत्तिमा रमायौं।
उल्लिखित समस्याहरू निराकरण गर्दै अघि बढ्न तदनुकूल शिक्षा, सोच, व्यवहार र कर्म आवश्यक पर्छ।
‘यहाँ सबै कुरा संयुक्त छन्, ठीकसँग खोज्न जाने अँध्यारोमै पनि नै प्रकाश भेटिनेछ’ भन्ने अर्थपूर्ण एउटा भनाइ छ।
आध्यात्मिक दर्शनले भन्छ– जहाँ जन्म छ त्यहाँ मृत्यु अवश्यम्भावी छ। जहाँ दुःख छ त्यहाँ सुख पनि छ। जहाँ समस्या छ त्यहाँ समाधान पनि छ। जहाँ चुनौती छ, त्यहाँ अवसर पनि छ। जहाँ घृणा छ, त्यहाँ प्रेमको सम्भावना पनि छ। जहाँ अशान्ति छ, त्यहाँ शान्ति पनि छ। जहाँ चरम निराशा छ, त्यहाँ परम आशा र भरोसा पनि छ। जहाँ अज्ञान छ, त्यहीँ ज्ञान जन्मिन्छ।
नेपालको समृद्धिका लागि खास चिन्तन र दृष्टिकोण हुनैपर्छ। राजनीतिक, आर्थिक, सामाजिक र भौतिक विकासमा जहाँ जेजे समस्या छन्, समाधान पनि त्यहीँ खोज्नुपर्छ। व्यक्तिको समस्यामा स्वयंले समाधान पहिल्याउनुपर्छ। जुन क्षेत्रको समस्या हो, त्यही क्षेत्रमा अनुभव हासिल गरेको जनशक्तिले समाधान खोज्नुपर्छ।
समस्या जुनसुकै होओस्, समाधानमा जीवनको मूल्य केन्द्रमा हुनुपर्छ। व्यक्तिको, स्वास्थ्य, सुख, साहस, प्रेम, ज्ञान, संकल्प र स्वीकारको क्षमता विकास हुनुपर्छ।
हाम्रा परिवार, विद्यालय, समाज र राष्ट्रका गतिविधिहरू व्यक्तिको क्षमता अर्थात् ज्ञान, सीप र निष्ठाको सन्तुलित विकास गर्ने किसिमको हुनुपर्छ। यस्तो क्षमता भएका व्यक्तिको प्रयासले समस्या समाधानमा मद्दत पुग्छ।
आफ्ना लागि योग्य व्यक्ति तयार गर्नु परिवार समाज, संघसंस्था र राज्यको प्राथमिकता हुनुपर्छ। सम्बन्धित क्षेत्रको ज्ञान र सीप हासिल गरेर निष्ठाका साथ सार्वजनिक हितमा काम गर्ने जनशक्ति आजको आवश्यकता हो। हामीलाई आफ्नो क्षमतामा भर गर्ने र सामूहिक भावनाले काम गर्ने गुणस्तरीय जनशक्ति चाहिएको छ।
हामी अहिले देखिरहेका छौं, स्वास्थ्यकर्मीहरू आन्दोलनमा छन्; शिक्षकहरू आन्दोलनमा छन्; सरकारी कर्मचारीहरू भित्रभित्रै आक्रोश र चरम निराशामा छन्; विभिन्न धर्म सम्प्रदायका आआफ्ना गुनासा छन्। विद्यार्थीहरू १२ कक्षाको पढाइ पूरा गरेर विदेश जाने दिनको पर्खाइमा छन्। भिड हिंसात्मक गतिविधिमा छ।
पत्रकार, बैंकर, नागरिक समाजका अगुवा, राजनीतिकर्मी, पेसाकर्मी र आमनागरिक सबैको साझा आवाज सुनिन्छ– सिस्टम नै भएन, यो मुलुक कहिल्यै बन्दैन।
यस्तो आवाजबारे सोच्ने राज्यले हो। त्यो राज्य भनेको को हो?
त्यो राज्यको एक अंग म अर्थात् व्यक्ति हो, हामी हो। हामी–हामी मिलेर राज्य बन्छ। यसर्थ, प्रत्येक व्यक्ति राज्यको अंग हो। समस्या समाधानमा पनि आआफ्नो ठाउँबाट प्रत्येक व्यक्तिको भूमिका हुन्छ। म जहाँ छु, जुन भूमिका वा जिम्मेवारीमा छु, मैले इमानदारी र निष्ठाका साथ पूरा गर्नुपर्छ। मेरो क्षमताको अधिकतम उपयोग गर्नुपर्छ। यसो गर्न सकूँ भन्ने चेतना हुनुपर्छ।
अर्कोले के गर्यो, गर्नुपर्थ्यो, यो प्राथमिक चासो होइन, हुनु हुँदैन। पहिले प्रत्येक व्यक्ति आफूतिर फर्किनुपर्छ, आफूलाई हेर्नुपर्छ।
म पत्रकार हुँ भने मैले पत्रकारिताको धर्म निर्वाह गरेको छु? म राष्ट्रसेवक हुँ भने तोकिएको जिम्मेवारीमा अधिकतम काम गर्न सकेको छु? म राजनीतिक कार्यकर्ता र नेता हुँ भने दलगत, गुटगत र व्यक्तिगत स्वार्थबाट माथि उठेर निर्णय गर्न सकेको छु? म कुनै पेसाकर्मी, व्यापारी उद्योगपति, कृषक इत्यादि हुँ भने सार्वजनिक हितप्रतिकूल नहुने गरी काम गर्न सकेको छु?
प्रत्येक व्यक्तिले आज यी प्रश्न आफूलाई सोध्नैपर्ने भएको छ। आफैंले आफ्नो निर्मम समीक्षा गर्नैपर्ने भएको छ।
मानव जीवन र सार्वजनिक हितलाई केन्द्रमा राखेर क्षमता विकास र सशक्तीकरण आजको आवश्यकता हो। आज सार्वजनिक हित र खुसीका लागि काम गर्ने र त्यसैभित्र आफूलाई खोज्ने जनशक्ति चाहिएको छ। यस्तो जनशक्तिले राजनीति, राष्ट्रसेवा, समाजसेवा, स्वास्थ्यसेवा, शिक्षा, पूर्वाधार निर्माण, सञ्चार लगायत सबै पेसा-व्यवसायमा प्रभावकारी योगदान गर्न सक्छ।
अब हाम्रो क्षमता विकास र सशक्तीकरणका कार्यक्रम र प्रयासहरू निम्न पक्षमा केन्द्रित हुन आवश्यक छ–
– व्यक्तिले आफ्नो क्षमता र स्वभावको पहिचान गर्न सकोस्।
– सार्वजनिक हित नै आफ्नो हित मानोस् र यसैअनुसार लक्ष्य निर्धारण गरोस्।
– लक्ष्य हासिल गर्न आवश्यक ज्ञान र सिप पहिचान गरेर आर्जन गर्न सकोस्।
– लक्ष्य पूरा गर्न ठोस कार्ययोजना बनाएर कार्यान्वयन गर्न र गराउन सकोस्।
– आफ्नो क्षमताको पूर्ण प्रयोगबाट गरेको कामको नतिजा स्वीकार गर्न सकोस्।
उल्लिखित क्षमताको जनशक्ति विकासका लागि ध्यान सिक्नु महत्त्वपूर्ण हुन्छ। ध्यान भनेको आफूतिर फर्किने कला हो। जीवनलाई केन्द्रमा राख्ने र समाजमा व्यक्तिको योगदानको क्षमता बढाउने सीप हो। ध्यानबाट व्यक्ति आफ्नो मूल स्वभाव पहिचान गर्न सक्ने हुन्छ।
जीवनको मूल स्रोततर्फ फर्किन जानेपछि व्यक्ति आफ्नो रूचि अनुसारको ज्ञान, सीप र आचरण विकास गर्न सक्षम हुन्छ।
ध्यानबाट व्यक्तिको सिर्जनशीलता अभिवृद्धि हुन्छ। ध्यानले नेतृत्व क्षमता विकास गराउँछ। व्यक्तिको सजगता बढ्छ। सजगतापूर्वक विचार गर्ने र कर्म हुन्छ। प्रेमपूर्ण व्यवहार बढोत्तरी हुन्छ। अनुशासन र अभिभावकीय क्षमता विकास हुन्छ। समूहमा काम गर्न सक्ने हुन्छ।
यस्तो व्यक्तिबाट कहिल्यै गलत काम हुँदैन। व्यक्तिले सुखशान्ति र समृद्धि हासिल गर्न सक्छ।
ध्यानबाट आन्तरिक शक्ति जागृत हुन्छ, विवेकशीलता अभिवृद्धि हुन्छ। आफ्नो जीवनप्रति सन्तुष्ट रहन्छ अनि आफ्नो तन, मन र धनले सर्वजनिक हितको काम गर्छ। कल्याणकारी काम गर्छ।
ध्यानको कला जानेको व्यक्तिको प्राथमिकतामा कर्म हुन्छ। ऊ कर्मशील रहन्छ। समयको सदुपयोगमा उसको जोड हुन्छ। आफूले थालेको काम पूरा गरेर मात्रै विश्राम लिन्छ।
ध्यानी व्यक्ति भित्रैबाट शान्त रहन्छ। असफलताबाट सिक्छ, धैर्य गर्छ र आफूलाई तनावबाट मुक्त राख्छ। आफ्ना संवेगहरू व्यवस्थापन गर्न सक्छ र परिस्थितिलाई आफ्नो मनस्थितिले सहज बनाउन सक्छ।
जनशक्तिको मूल जग नै ध्यान हुने हो भने हामीले अहिले भोगिरहेका अनेकौं समस्या समाधान गर्न सक्ने योग्य जनशक्ति विकास गर्न सकिन्छ। राजनीति, शिक्षा, स्वास्थ्य, न्याय, कर्मचारी संयन्त्र, सुरक्षा, उद्योग, व्यापार निर्माण लगायत समाजका हरेक क्षेत्रको नेतृत्व तहमा रहेका व्यक्तिबाट ध्यानको सुरूआत गर्नुपर्छ। तत् तत् क्षेत्रको नेतृत्वमा बसेका व्यक्तिले आफू अन्तर्गतको जनशक्तिलाई ध्यानबाट दक्षता हासिल गर्न प्रेरित गर्नुपर्छ र त्यसमा संलग्न गराउनुपर्छ।
व्यक्तिगत रूपमा मैले यसैअनुसार आफ्नो मार्ग तय गरेकी छु।
समयमै रोग पहिचान गर्न सकियो भने उपचार सम्भव हुन्छ नत्र त पछुतो गर्ने मात्रै हो।
(लेखक निरौला नेपाल सरकारका सहसचिव हुन्। हाल रामेछाप जिल्लाको प्रमुख जिल्ला अधिकारी छिन्। उनी योग प्रशिक्षक पनि हुन्।)