पेरिस्कोपः रूस-युक्रेन युद्ध
गत जुनमा रूसले कब्जा गरेको आफ्नो भूमि फिर्ता गर्न युक्रेनले सुरू गरेको प्रत्याक्रमण हिउँद लागेसँगै लगभग सकिएको छ।
युक्रेनले सो प्रत्याक्रमण नेटोको सहयोगमा तयार पारेको थियो। त्यसका लागि अमेरिका लगायत मुलुकले युक्रेनी सेनाका नौवटा बिग्रेडलाई ट्यांकसहित सम्पूर्ण हातहतियार दिएर तालिम दिएका थिए।
यो प्रत्याक्रमणबाट सबै भूमि फिर्ता गर्न नसके पनि रूसलाई बलियो धक्का दिएर रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई वार्ताको टेबलमा ल्याउने युक्रेन र पश्चिमा मुलुकको आशा थियो। युक्रेनले केही समयअगाडि खार्खिभ र खेरसन सहर रूसबाट सजिलै खोसेको थियो। त्यसकारण पनि त्यो आशा धेरै महत्वाकांक्षी देखिँदैन थियो। तर अहिले त्यो आशा निराशामा परिणत भइसकेको छ।
युद्धमा जहिल्यै पनि आक्रमण गर्नुभन्दा रक्षा गर्न सजिलो हुन्छ। बराबर क्षमताका दुई सेना छन् भने सफल हुन आक्रमण गर्नेसँग एकको बराबर तीनजना सैनिक हुनुपर्छ भनिन्छ। दोस्रो विश्व युद्धपछि रूसी सेना संसारमै बलियोमध्येको रक्षात्मक संरचना बनाएर बसेको थियो। त्यसैले युक्रेनले रूसी सेनालाई लखेट्न गाह्रो हुने आकलन थियो। तैपनि आफ्नो देशको अस्तित्वकै लागि लडिरहेकाले युक्रेनी सेनाले केही उपलब्धि हासिल गर्छ कि भन्ने आशा पश्चिमा मुलुकहरूको थियो।
युद्धको सुरूदेखि नै रूसी सेनाभन्दा युक्रेनी सेना धेरै नै साहसी देखिएका पनि थिए।
त्यस्तै प्रत्याक्रमण सुरू भएको एक महिना नहुँदै, जुन २३ मा पुटिनका सेफ भनेर चिनिने रूसकै निजी सैन्य कम्पनी वागनर समूहका प्रमुख येवगेनी प्रिगोजिनले विद्रोह छेडे। त्यसले युक्रेनी पक्षको आशा छोटो समयका लागि उत्साहमा परिणत भयो। तर बेलारूसका तानाशाही राष्ट्रपति अलेक्जेन्डर लुकासेन्कोले प्रिगोजिन र पुटिनको सुलह गराइदिए। त्यो विद्रोह २४ घन्टा नपुग्दै शान्त भयो।
प्रिगोजिनले युक्रेनविरूद्ध युद्ध अनावश्यक भएको, कुलीन वर्ग र भ्रष्ट जनरलले निहित स्वार्थ र अहंकारका लागि आक्रमण गरेको, रूसले आक्रमण गर्नुअगाडि दाबी गरेजस्तो युक्रेन र नेटोले ऊमाथि आक्रमण गर्ने योजना नबनाएको लगायत कुरा गरेर पुटिनको भाष्यको धज्जी उडाएका थिए। त्यसैले उनको विद्रोह मत्थर भए पनि रूसी जनताले पुटिनको विरोध गर्न सक्ने अनुमान गरिएको थियो।
त्यस्तै सुलह गरे पनि युक्रेनसँगको युद्धमा रूसी सेनाभन्दा राम्रो प्रदर्शन गरेको वागनर समूहबाट पुटिनलाई झिनो भए पनि खतराको सम्भावना हुने मानिएको थियो। तर विद्रोह भएको दुई महिनापछि, अगस्ट २३ मा विमान दुर्घटनामा परी प्रिगोजिनकै मृत्यु भयो। दुर्घटनामा वागनर समूह स्थापना गर्ने रूसी स्पेसल-फोर्सका अवकाशप्राप्त लेफ्टिनेन्ट कर्नेल डिमित्री उट्किनको पनि मृत्यु भयो।
सुलह गरे पनि प्रिगोजिनको नियति पुटिनसँग दुश्मनी मोल्ने अरू व्यक्तिको भन्दा फरक भएन। पुटिनको विरोध गर्नेहरू अचम्म लाग्दो तरिकाले मरेका छन्, मारिएका छन्!
यसरी पुटिनले वागनर समूहबाट हुन सक्ने खतरा अन्त्य गरे। प्रिगोजिनलाई साथ दिएका केही सैनिक अधिकारीलाई पनि हटाए। यसपछि उनी आन्तरिक रूपमा झन् बलिया भए। उता युक्रेनी प्रत्याक्रमण पनि विफल भयो।
पुटिन अहिले प्रत्याक्रमण सुरू भएको समयभन्दा झन् बलियो स्थितिमा पुगेका छन्। प्रत्याक्रमणले अपेक्षित सफलता हासिल नगरेपछि पछिल्लो समय युक्रेनी सरकार र सेनाले एकअर्कालाई दोषारोपण गरेजस्तो देखिएको छ। यसले पनि पुटिनलाई थप हौसला दिएको हुनुपर्छ।
रूसले आफूसँग गोलावारूद कम हुँदै गएपछि उत्तर कोरिया र इरानबाट ल्याएर पनि युक्रेनी प्रत्याक्रमणको सामना गर्यो। इरानबाट ल्याएको आत्मघाती शाहिद ड्रोनले यो युद्धमा रूसलाई धेरै भरथेग गरेको छ। सो ड्रोन अब रूसमै बनाउन थालिनेछ। पुटिनले देशको सारा स्रोत युद्धका लागि खन्याएका छन्। गोलाबारूद, ट्यांक र अरू सैन्य सामग्री उत्पादनमा पनि व्यापक वृद्धि गरेका छन्।
अमेरिका लगायत पश्चिमा राष्ट्रले सुरूमा रूसी तेलमा प्रतिबन्ध लगाएका थिए। पछि मूल्यसीमा लगाए। तर चीन, भारत लगायत देशले ठूलो मात्रामा रूसबाट तेल किने। त्यसैले सोचेजस्तो आर्थिक कठिनाइ रूसलाई परेन, परेको छैन।
युक्रेनी सेना प्रमुख भेलरी जलुज्नी स्वयंले यो युद्ध 'डेडलक' को स्थितिमा पुगेको स्वीकार गरेका छन्।
'द इकोनमिस्ट' पत्रिकाले नोभेम्बर, पहिलो साता छापेको अन्तर्वार्तामा जुलज्नीले युद्ध पहिलो विश्वयुद्धको जस्तै 'स्टेलमेट' मा पुगेको भनेका छन्। त्यसमा उनले 'सम्भवतः कुनै गहिरो र सुन्दर सफलता हुने छैन' पनि भनेका छन्। रूस वा युक्रेन दुवैले एकअर्कालाई हराउन नसक्ने सो 'स्टेलमेट' तोड्न कुनै प्राविधिक छलाङ नै मार्नुपर्ने उनले बताएका छन्।
ड्रोन, इलेक्ट्रोनिक युद्ध, एन्टि-आर्टिलरी क्षमता र डिमाइनिङ उपकरण र रोबोटिक्स प्रयोगमा नवीनता ल्याउन सके त्यो स्टेलमेट तोड्न सकिने पनि उनले भनेका छन्।
उनले भनेजस्तो छलाङ मार्न युक्रेनलाई अमेरिका लगायत पश्चिमा देशहरूको सैन्य र आर्थिक सहयोगको निरन्तरता चाहिन्छ। अहिलेसम्म युक्रेनले दुई सय अर्ब डलरभन्दा बढीको यस्तो सहायता पाइसकेको छ। अमेरिकाले धेरै सैन्य सहयोग गरेको छ भने युरोपेली देशहरूले आर्थिक सहयोग गरेका छन्। आफ्नो व्यापक सहयोगका बाबजुद युक्रेनी प्रत्याक्रमणले आशातीत सफलता हासिल नगरेपछि पश्चिमा सहयोग निरन्तर हुने कुरा अनिश्चित भएको छ।
यो सहायताको निरन्तरताका लागि युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्सकीले हालै अमेरिका र विभिन्न पश्चिमा देशको भ्रमण गरे। जो बाइडेन सरकारले युक्रेनलाई लगभग ६० अर्ब डलर सहायता दिन खोजेको पनि छ। तर रिपब्लिकन नियन्त्रणमा रहेको अमेरिकी संसदले डेमोक्रयाट्ससँग राजनीतिक मोलमलाइका लागि सीमा सुरक्षासँग जोडेर उक्त सहयोग रोकेको छ। उता युरोपियन युनियनले दिने भनेको ५० अर्ब युरो सहायता हंगेरीका दक्षिणपन्थी प्रधानमन्त्री भिक्टर ओर्बानले रोकेका छन्।
यसरी हेर्दा पश्चिमा देशहरू पुटिनले चाहेकै जस्तो युक्रेनलाई सहयोग गर्दा गर्दा थाके जस्ता देखिन्छन्।
त्यसै पनि किभ कब्जा गर्न नसकेर पछि हट्न परेदेखि नै पुटिनको योजना पूरा युक्रेन कब्जा गर्न नसके पनि युद्ध लम्ब्याएर पश्चिमाहरूलाई थकाउने थियो। उनको नजर त्यति बेलादेखि नै सन् २०२४ अन्तिममा अमेरिकामा हुने राष्ट्रपति निर्वाचनमा थियो। त्यो निर्वाचनमा डोनाल्ड ट्र्म्प वा उनीजस्तै विचार भएका रिपब्लिकन पार्टीका राष्ट्रपति आए तुरून्तै युक्रेनलाई दिएको सहायता रोक्छन् र मैले जितिहाल्छु भन्ने अनुमानका आधारमा उनी अघि बढेका थिए।
पश्चिमा राष्ट्रहरूलाई पुटिनको यो योजनाबारे थाहा थियो। त्यसैले अमेरिका लगायत राष्ट्रले यो प्रत्याक्रमणमा युक्रेनले केही न केही भूमि फिर्ता ल्याउनुपर्छ भन्ने लक्ष्य राखेका थिए। भरसक सन् २०१४ मा रूसले कब्जा गरेको, नभए पनि सन् २०२२ पछि कब्जा गरेको जमिन युक्रेनले फिर्ता ल्याओस् भन्ने चाहन्थे। तर प्रत्याक्रमणबाट युक्रेनले खास सफलता हासिल गरेन। युक्रेनलाई सधैं हतियार र पैसा खन्याइरहन पनि अप्ठ्यारो हुँदै जाने देखिन्छ।
उता पुटिनले चाहेजस्तै, राष्ट्रपति निर्वाचनमा डेमोक्र्याट्सका उम्मेदवार जो बाइडेनविरूद्ध रिपब्लिकन पार्टीबाट डोनाल्ड ट्रम्प उम्मेदवार हुने लगभग निश्चित देखिन्छ। ट्रम्पविरूद्ध विभिन्न राज्य र केन्द्रमा मुद्दा चलेका छन्। अदालतले उनलाई उम्मेदवार हुन रोक नलगाए उनी रिपब्लिकन पार्टीबाट उम्मेदवार हुन सक्नेछन्। त्यति मात्र नभएर, अमेरिकाको अनौठो निर्वाचन प्रणालीका कारण केही साना राज्यमा झिनो मतान्तरले जिते भने दसौं लाख कम लोकप्रिय मत ल्याए पनि राष्ट्रपति निर्वाचित हुन सक्नेछन्।
यो सम्भावनाका कारण झस्किएको युक्रेनले अमेरिकालाई सहायता निरन्तर दिइराख्न आग्रह र अनुरोध गरिरहेको छ। राष्ट्रपति जेलेन्स्कीले हालै अमेरिका भ्रमण पनि त्यसैका लागि गरेका थिए।
भर्खरै 'फरेन अफेयर्स' पत्रिकामा एउटा लेख लेख्दै युक्रेनी विदेशमन्त्री डिमित्रो कलेबाले 'युक्रेनी विजयका लागि रणनीतिक सहनशीलता र दुरदृष्टि चाहिन्छ' भनेका छन्। प्रत्याक्रमणमा हरेक वर्गमाइल भूमिको मुक्तिका लागि ठूलो संख्यामा सैनिकहरूले बलिदान दिनुपरेको तर अझै पनि विजय प्राप्त गर्नेमा शंका नभएको दाबी गरेका छन्।
महत्त्वपूर्ण र कठिन चुनौतीहरूका बाबजुद युक्रेनले हालैका महिनामा उल्लेखनीय नतिजा हासिल गरेको भनेका छन्। ब्ल्याक सीको लडाइँ जितेर आफ्नो अर्थव्यवस्था र विश्वव्यापी खाद्य सुरक्षा दुवैलाई फाइदा हुने गरी समुद्री निर्यातको स्थिर प्रवाह पुनर्स्थापित गरेको, ठूला रूसी आक्रमणहरू रोकेको र रूसी सेनामा ठूलो क्षति पुर्याएको लगायत सफलता औंल्याएका छन्।
'फेब्रुअरी २०२२ पछि रूसले कब्जा गरेको आधाभन्दा बढी क्षेत्र युक्रेनी सेनाले मुक्त गरिसकेको' समेत दाबी गरेका छन्।
कलेबाले अमेरिकासहित पश्चिमा देशले युक्रेनलाई दिइरहेको सहायता 'परोपकार' नभएको भन्दै अमेरिकाले नेतृत्व गरेको नियममा आधारित 'लिबरल इन्टरनेसनल अर्डर' का लागि युक्रेनीहरू लडिरहेको बताएका छन्। अमेरिकाले अफगानिस्तान, इराकमा जस्तो पैसा र हतियारसँगै सेना पनि पठाउनु नपरेको तथ्य पनि उनले देखाएका छन्। युक्रेनीहरूले आफ्ने रगत बगाइरहेको र अमेरिकाले पठाएको हतियार खपतको आर्थिक फाइदा पनि युक्रेनलाई नभएर, हतियार उत्पादन गर्ने अमेरिकी कम्पनी र अर्थतन्त्रलाई नै भएको उनले बताएका छन्।
त्यस्तै युरोपले दिएको सहायताको बदला विस्तारवादी पुटिनबाट युरोपेली देशहरूको सीमा रक्षा गरिरहेको उनले भनेका छन्। यी कारण देखाउँदै उनले पश्चिमा सहायताको निरन्तरता युक्रेनका लागि मात्रै नभएर उनीहरूका लागि पनि जरूरी भएको तर्क गरेका छन्।
पश्चिमा हतियार र सैन्य सहायताकै कारण युक्रेन अहिलेसम्म हारेको भने छैन। अमेरिकाले हतियार दिन ढिला नगरेको भए युक्रेनले जित नै हासिल गरिसक्थ्यो भनेर युक्रेनी सरकारले दाबी गरेको छ। यसलाई कतिपय अमेरिकी विश्लेषकहरूले पनि स्वीकार गरेका छन्।
तर रूस हारेमा पुटिनले तिल्मिलाएर आणविक युद्ध नै सुरू गर्नसक्ने खतरा छ। त्यसैले बाइडेन सरकारले जानीबुझी नै युक्रेनलाई नहार्ने गरी तर जित्न पनि नसक्ने गरी बिस्तारै हतियार दिएको अमेरिकी सरकारनिकट विश्लेषकहरूको दाबी छ।
कतिपयले भने पुटिनले आणविक हतियार प्रयोग गर्ने धम्की दिए पनि रूस ध्वस्त हुने र आफ्नो अन्त्य पनि सुनिश्चित हुने गरी आत्मघाती कदम नचाल्ने ठोकुवा गरेका छन्। आणविक हतियार प्रयोग गरियो भने अहिले तटस्थ बसेका भारत र साथ दिइरहेको चीन पनि रूसविरूद्ध लाग्छन् भन्ने तर्क उनीहरूको छ।
आणविक युद्धले रूसको अस्तित्व नै सकिने भए पनि अमेरिका लगायत सारा विश्वले त्यसको क्षति बेहोर्नुपर्ने हुन्छ। युक्रेन युद्धलाई आफ्नो अस्तित्वको सवाल बनाएका पुटिनले आणविक हतियार प्रयोग गर्न सक्ने झिनो खतरा भने छँदैछ। आफूले आणविक हतियार प्रयोग गरिहाले पनि अमेरिका भौगोलिक हिसाबले धेरै टाढा रहेको र उसका लागि युक्रेन आफ्ना लागि जस्तो महत्त्वपूर्ण नभएकाले आणविक युद्ध गर्न आउँदैन भन्ने उनको आकलन छ।
प्रत्याक्रमणबाट युक्रेनले आशातीत सफलता हासिल नगरे पनि, अमेरिकी लगायत पश्चिमा राष्ट्रका जनता लगातार युक्रेनलाई दिइरहेको सहायताले केही हदसम्म वाक्क भए पनि, सहायता नरोकिउन्जेल रूसले पनि युद्ध जितेर युक्रेन कब्जा गर्न गाह्रो छ।
विभिन्न समयमा पुटिन स्वयंले दिएको जानकारीका आधारमा अहिलेसम्म रूसी सेना र उसका लागि लडेका अरू देशका लडाकु (केही नेपालीसहित) हरू लगभग तीन लाख जनाको मृत्यु वा गम्भीर घाइते भएको आकलन 'द इकोनोमिस्ट' पत्रिकाले गरेको छ।
ठूलो देश भएकाले तेल बेचेर राम्रो कमाइ गरिरहेको रूसलाई सेना भर्ती गर्न युक्रेनलाई भन्दा केही सजिलो हुन्छ नै। तर फेरि युक्रेनमाथि कब्जा गर्ने गरी आक्रमक भए रूसी पक्षमा झन् धेरै हताहती हुनेछ।
पुटिनलाई आफ्ना जनताको खासै माया भएको देखिँदैन। धेरै लडाकु मारिन थालेपछि धेरै पैसा दिएर भर्ती गरेका गरिब र दुरदराजका अल्पसंख्यकको भरमा मात्रै युद्ध धानिँदैन। मध्यम र उच्च वर्गका मानिस पनि भर्ती गर्नुपर्ने हुन्छ। यसरी युद्धका कारण खासै धेरै दुःख नपाएका वर्गलाई जबर्जस्ती भर्ना गर्दा उनकै लागि खतरा हुन सक्छ।
त्यस्तै युरोपियन युनियनले युक्रेनलाई दिने भनेको ५० अर्ब युरो सहायता हाल ओर्बानका कारण रोकिए पनि युक्रेन युरोपियन युनियनको सदस्य हुने गति द्रुत छ।
यहाँनिर, भुल्न नहुने तथ्य के भने, युक्रेन युरोपसँग नजिकिएकै कारण पुटिन आक्रामक भएका हुन्।
सन् २०१३ अन्त्यतिर युक्रेनले युरोपियन युनियनसँग व्यापारिक सम्झौता गर्ने योजना बनाएको थियो। पुटिनलाई त्यो चित्त बुझेन। उनीसँग राम्रो सम्बन्ध भएका तत्कालीन युक्रेनी राष्ट्रपति भिक्टर यानुकोविचलाई 'बरू तिम्रो देश विकास गर्न रूसले नै अर्बौं दिन्छ' भनेर फकाए। व्यक्तिगत रूपमा पुटिनसँग राम्रो सम्बन्ध भएका र युक्रेनको पूर्वमा रहेको रूसीभाषीको बाहुल्य भएको क्षेत्रका यानुकोविचले मानिहाले। युरोपियन युनियनसँग हुन लागेको सम्झौता उनले रोके।
युरोपियन युनियनसँगको व्यापार सम्झौताले कालान्तरमा युक्रेनको विकास धेरै हुन्छ भन्ने ठान्ने जनता यानुकोविचविरूद्ध सडकमा ओर्लिए। जननिर्वाचित राष्ट्रपतिविरूद्ध नै भए पनि जनताको स्वस्फूर्त विरोध भनेर अमेरिका लगायत पश्चिमा देशले त्यो आन्दोलनको समर्थन गरे।
यानुकोविचले सुरूमा त्यो आन्दोलन दमन गरे। पछि थेग्न नसकेर सन् २०१४ फेब्रुअरीमा भागेर रूस गए। त्यसपछि पुटिन विरोधी सरकार बन्यो। रिसको झोंकमा पुटिनले सामरिक र आर्थिक रूपले महत्त्वपूर्ण युक्रेनको क्राइमिया प्रायद्वीपमा रूसको आधिकारिक बर्दी नलगाएका सैनिक पठाए र सजिलै कब्जा गरे। पछि चुनाव गराएर रूसमा गाभिएको घोषणा गराए।
त्यसको आठ वर्षपछि पूरै युक्रेन नै कब्जा गर्न धावा बोले। यसपटक भने उनले नेटो विस्तार हुँदै रूसको दैलोमै आइपुगेको र 'नाजी युक्रेनी सत्ता' ले त्यहाँका रूसीभाषीको 'नरसंहार' गरेको दाबी गरे। एउटै जातीयता भएको युक्रेनमाथिको सो आक्रमणलाई युद्ध समेत नभनेर विशेष सैनिक अपरेसन भने।
तर पुटिनको आक्रामक रवैयाकै कारण रूसको एउटा छिमेकी फिनल्यान्ड गत अप्रिलदेखि नेटो सदस्य भयो। अर्को छिमेकी स्वीडेन पनि चाँडै नेटोमा आवद्ध हुनेछ। बिनाकारण आक्रमण गरेकाले र ठूलो मात्रामा धनजन क्षति भएकाले रूससँग सीमा जोडिएका युक्रेनी भूमिका धेरै रूसीभाषी पनि अहिले रूस विरोधी भइसकेका छन्।
पुटिनले सन् २०२२ मा पुरै युक्रेन कब्जा गर्ने गरी आक्रमण नगरेको भए यी सबै कुरा यति छिटो हुँदैन थिए। युद्ध चलुन्जेल अमेरिका लगायत पश्चिमा राष्ट्रसँग रूसको आर्थिक र कूटनीतिक सम्बन्ध पनि सुधारिँदैन। अर्कोतर्फ चीनप्रतिको निर्भरता बढिरहने छ।
पुटिनलाई पनि तेलबाट आएको पैसा अनन्तकालसम्म युद्धमा खन्याइरहन सजिलो हुने छैन। इरान र उत्तर कोरिया लगायत केही देशले रूसलाई हातहतियार दिएका छन्, तर पश्चिमा राष्ट्रले युक्रेनलाई दिएजस्तो सित्तैमा कसैले सहयोग गरेको छैन र गर्दैन। चीन र भारतले त झन् हतियार बेचेका पनि छैनन्, आफूलाई फाइदा हुने गरी अमेरिकाले लगाएको नाकाबन्दीको बेवास्ता गर्दै व्यापार मात्र गरेका छन्।
पुटिनले आफ्नो सारा स्रोत युद्धमा खन्याइरहेका छन्। रूसभन्दा धेरै धनी र ठूलो अर्थतन्त्रका पश्चिमा राष्ट्रले भने तुलनात्मक रूपमा थोरै मात्रामा युक्रेनमा लगानी गर्दा पनि युद्ध धान्न सक्ने अवस्था छ। यसकारण पनि पुटिनलाई युद्ध अनन्तकालसम्म लम्ब्याउन अप्ठ्यारो हुन्छ।
ट्रम्पले राष्ट्रपति चुनाव जितेर युक्रेनलाई अमेरिकाले दिइरहेको सैन्य सहायता तुरून्तै नरोके पुटिनले यो युद्ध जित्न सक्दैनन्। रूसले युक्रेन पूरै कब्जा गरेमा नेटो सदस्य राष्ट्र पोल्यान्डसम्म आइपुग्ने र पुटिनले फेरि पोल्यान्डमा समेत आक्रमण गर्नसक्ने खतरा छ। यसकारण रिपब्लिकन र डेमोक्र्याट्स दुवैले युक्रेनलाई सहायता निरन्तरता दिन भरमग्दुर प्रयास गर्नेछन्।
उसो भए अब आउने दिनमा यो युद्ध कसरी अगाडि बढ्ला?
हिउँद लागेकाले केही महिना टाढाबाट बमबारी गर्नेबाहेक युद्ध मैदानमा खासै धेरै हलचल हुने छैन। युद्धमा कसैले पनि नहारेर 'स्टेलमेट' भएकाले दुवै पक्षबीच वार्ता भएर सम्झौता हुने पनि खासै धेरै सम्भावना छैन।
युक्रेनले प्रत्याक्रमणबाट कुनै प्रगति गरेन भने पुटिन कुनै पनि हालतमा वार्तामा आउँदैनन् भनेर प्रत्याक्रमणअघि पश्चिमाहरूले विश्लेषण गरेका थिए। अहिलेको स्थितिमा उनी वार्तामा आएर युद्ध टुंग्याउँदैनन्।
आफू तटस्थ रहेको दाबी गरेको चीनले सुझाव दिएजस्तो अहिले जो जो जुन अवस्थामा छन्, त्यहीँ रहने गरी युद्धविराम हुने सम्भावना पनि कम छ। केही अमेरिकीहरूले पनि सन् १९५३ मा कोरिया युद्ध विराममा उत्तर र दक्षिण कोरिया त्यही स्थितिमा रहेजस्तै अहिले रूसी नियन्त्रणमा रहेको युक्रेनी भूभाग रूससँगै रहने र बाँकी भागमा युक्रेनले शासन गर्न सक्ने बताएका छन्।
तर आफ्नो भूमि माया मार्न युक्रेन अहिले तयार देखिँदैन। युद्ध विरामपछि शक्ति सञ्चय गरेर पुटिनले फेरि आक्रमण गर्ने खतरा देखाएर पनि पश्चिमा सैन्य सहायता आउन्जेल युक्रेन मान्ने छैन। कतिपयले भने पुटिनले त्यस्तो आक्रमण गर्ने छैनन् भनेर चीन ग्यारेन्टी बस्ने र त्यसो गरेमा युक्रेनका लागि अमेरिका लड्ने छ भन्ने सर्त राखेर सम्झौता गर्न सकिने बताएका छन्।
तर भोलिका दिनमा पुटिन वा उनीजस्तै विस्तारवादी उत्तराधिकारीले फेरि युक्रेनमाथि आक्रमण गरे भने, अहिलेजस्तै अमेरिका लगायत पश्चिमा राष्ट्रलाई रूससँग आणविक युद्ध हुने खतरा ज्यूँका त्यूँ रहन्छ।
त्यसैले पश्चिमा सहायताका भरमा युक्रेनले आफ्नो भूभाग रक्षा गरिरहनेछ। केही सैनिक रणनीतिकारहरूले प्रत्याक्रमणबाट युक्रेनले भूभाग फिर्ता गर्न नसके पनि रूससँग क्राइमियालाई जोड्ने कर्च पुल नष्ट गरेर यो युद्ध जित्न सक्ने दाबी गरेका छन्। तर त्यो पनि खासै सम्भव देखिँदैन।
सन् २०१४ मा क्राइमिया कब्जा गरेपछि रूसले झन्डै साढे ४ अर्ब डलर खर्चेर द्रुत गतिमा सन् २०१८ मै यो पुल बनाइसकेको थियो। १८ किलोमिटरभन्दा लामो यो पुलमा युक्रेनले पटक पटक हमला गरेर क्षति पुर्याएको छ। तर ज्यादै मजबुत यो पुल पूरै नष्ट गर्न धेरै कठिन छ। रूसले केही दिन वा हप्तामै त्यो पुल मर्मत गरेको छ, गर्न सक्छ।
त्यो पुल ध्वस्त भए रूसले युद्ध धान्न रेल र सडकबाट पठाइरहेको हतियार र बन्दोबस्तीका सामान आउने बाटो बन्द हुनेछ। रूसले युद्ध हार्न सक्छ।
तर अमेरिकाले धेरै शक्तिशाली हतियार नदिइ युक्रेन आफैंले त्यो पुल मर्मत नहुने गरी ध्वस्त पार्न सक्दैन। अमेरिकाले हतियार दिएर वा युक्रेन आफैंले त्यो पुल ध्वस्त पारे पनि, युद्ध हार्न लागेका पुटिनले आणविक हतियार प्रयोग गर्ने खतरा अहिलेको जस्तै रहिरहनेछ।
त्यसैले केही ठूलो उथलपुथल नभए यो युद्ध स्टेलमेटकै स्थितिमा रहनेछ। र, युक्रेनले पश्चिमा सैन्य सहायता पाउन्जेल अहिलेको भन्दा सानो रूपमा भए पनि लामो समयसम्म चलिरहने देखिन्छ।
(प्रेम ढकाल सेतोपाटी अंग्रेजी संस्करणका सम्पादक हुन्।)