बिपी राजमार्ग हुँदै सिन्धुली जाने बाटो साह्रै घुमाउरो छ।
यो काठमाडौंलाई पूर्वी तराईसँग जोड्ने छोटो बाटोका रूपमा परिचित छ। जापान सरकारको सहयोगमा बनेको यो राजमार्गमा धेरै नागबेली घुम्ती छन्। सडकमार्गको यात्रा कसैका लागि आनन्ददायी हुन्छ भने कसैका लागि सकसपूर्ण।
गाडी लागेर बान्ता गर्ने समस्या भएकाहरूलाई त यस्तो बाटोको यात्रा निक्कै कष्टकर हुन्छ। सडकमार्ग भई धेरै यात्रा गरिरहने मानिसलाई गाडी लाग्ने समस्या खासै हुँदैन। तर अरू बाटाघाटामा सजिलै यात्रा गरेको मान्छेलाई पनि सिन्धुली जाने यो बिपी राजमार्गको बाटोमा भने अस्पट र असहज हुन्छ।
यो बाटोका घुम्तीहरू काट्दा रिंगटा लाग्ने र पेट हुँडल्ने गरेको धेरैको अनुभव छ। सायद यही कारण हो, कोही गाडी लाग्ने डरले कागती टोक्न थाल्छन्। कोही बान्ता रोक्ने दबाइकै सहारा लिन्छन्। मेरो एक जना साथीलाई चाहिँ अमिलो पाचकले काम गर्छ रे। यो बाटोमा यात्रा गर्दा उसको झोलामा अरू कुरा छुटोस्, नछुटोस् — पाचकको डब्बा चाहिँ छुट्दैन रे।
काठमाडौंबाट सिन्धुली आउन यो बाटोमा धेरै माइक्रोबस र सुमो चल्छन्। आजकल धेरै मात्रामा विद्युतीय माइक्रोहरू चल्न थालेका छन्। यात्रा गर्दा मेरो रोजाइ चाहिँ धेरैजसो विद्युतीय गाडी नै हुन्छ।
एकपटक काठमाडौंबाट यस्तै एउटा विद्युतीय गाडी चढेर सिन्धुली आउँदै थिएँ। म ठ्याक्कै चालक पछाडिको सिटमा बसेको थिएँ। गाडीमा पश्चिमतिरको कुनै भाका बज्दै थियो। हामी नेपालथोक आइपुगेका थियौं।
एक्कासि चालकले गाडीको गति कम गरेर पछाडितिरबाट हुइँकिँदै आइरहेको सानो पिकअप भ्यानलाई बाटो सहज गरिदिए। मैले अगाडिको सिसाबाट बाहिर चियाएँ। भ्यानमा पिलिक-पिलिक गरेर दुइटै साइडलाइट बलेका थिए — जसले कुनै आकस्मिक अवस्थाको सूचना दिन्थ्यो।
अलि ध्यान दिएर हेरेँ — भ्यानले एउटा लाम्चो आकारको काठको बाकस बोकेको थियो। त्यो शव बोक्ने 'कफिन' थियो।
हाम्रा चालकले एउटा हातले निधारमा छोए र सोही हातले छातीमा छोए। यो उनले शवलाई गरेको नमस्कार थियो। मैले पनि उनकै सिको गरेँ।
'यो बाटोमा यस्तो बाकस कति देखिन्छ, देखिन्छ,' चालकले अगाडि सिटमा बसेका भाइलाई सुनाए।
तर अगाडि सिटमा बस्ने भाइले त्यो कुरामा खासै चासो देखाएनन्।
'जहाज चढेर गयो, बाकस चढेर फर्क्यो, यस्तै छ दैवको लीला,' यति बोलेर चालक गाडीको गति बढाउन थाले।
हाम्रो गाडी अघिल्तिर कुदिरहेको त्यो कफिन बाकस बोकेको भ्यान कहाँ हो कहाँ पर पुगिसकेको थियो। कहीँ कतै घुम्तीमा भ्यान फ्याट्ट देखापर्थ्यो।
मेरो मनमा भने माइक्रो चालकले भर्खरै भनेको कुरा गढिराखेको थियो — बाकसमा लमतन्न परेको त्यो मान्छे को होला? उसको घर कहाँ होला? उसका परिवारलाई ऊ बाकसमा घर आइरहेको छ भन्ने खबर सुनेर कस्तो भइराखेको होला?
यस्तै यस्तै सोच्दै म आफ्नो गन्तव्य आइपुगेँ।
अस्पताल आएपछि काममा व्यस्त भइन्छ। यताकै दैनिक कामहरूमा हराइन्छ। हुन त मानिसहरू अस्पतालमा आफ्नो रोग र बेथाहरूसँगै एक भारी कथा पनि बोकेर आएका हुन्छन्। तर ती कथा सुन्न अनि लेख्न सधैं भ्याइँदैन। सोच्ने हो भने जन्म र मृत्युको शृंखला चलिरहने अस्पतालका भित्ताहरूले त्यस्ता कैयन कथाहरू सुनेका हुन्छन्। सायद ती कथाहरू कुनै न कुनै हिसाबले, कसै न कसैबाट लेखिन वा भनिन पर्खेर आफ्नो पालो कुरेर बसेका छन्।
मैले काम गर्ने अस्पतालको इमर्जेन्सी विभागमा एक जना ३५ वर्षे युवक आफ्नो कथा र बेथा दुवै बोकेर आइपुगे। मिर्गौलाको रोगले गर्दा हप्तामा दुई पटक डायलाइसिस गर्नुपर्ने अवस्थामा पुगेको रहेछन् उनी। काठमाडौंको वीर अस्पतालमा उनको रोग पत्ता लागेको रहेछ।
त्यो दिन चाहिँ उनी खुट्टा सुन्निएर अनि सास फेर्न असहज भएर हाम्रो इमर्जेन्सीमा आइपुगेका थिए। उनलाई कसरी मिर्गौलाको रोग लागेछ भन्नेबारे मैले थप जान्न चाहेँ। करिब सात वर्षअघि खाडी मुलुकमा काम गर्ने सिलसिलामा शरीरमा रोग थपिएको रहेछ।
उनी भन्दै थिए — खाडीको चर्को गर्मीमा रापिएर काम गर्नुपर्थ्यो। एक त कम्पनीले नै दिनभरलाई पुग्ने गरी खानेपानी व्यवस्था गरिदिँदैन थियो। त्यसमाथि आफैंले पनि पिसाब बढी लाग्छ भनेर कम पानी खाने बानी लाग्यो।
मैले अचम्म मान्दै सोधेँ — किन त्यस्तो?
जवाफमा भाइ बोले — डाक्टर साब, अग्लाअग्ला भवनबाहिर डोरीको सहायताले झुन्डिँदै रंगरोगन गर्ने, काँच पुछ्ने आदि काम गरिन्थ्यो। धेरैपटक पिसाब नलागोस् भनेर थोरै पानी खाइयो। रातिराति ज्यान थाकेर ब्रुफिन, ब्रुसेट जस्ता औषधि दैनिक खान्थेँ। आखिर तिनै कुराले मेरो मिर्गौला बिगारेछन्। वीर अस्पतालका डाक्टरले मलाई यसै भन्नुभएको थियो। जानी नजानी हेलचेक्र्याइँ भयो डाक्टरसाब!
उनको कुरा सुनेर मलाई निकै नमज्जा लाग्यो। मिर्गौलाको बेथालाई मैले गर्न सक्ने भनेको आजकल अस्पतालमै सुरू भएको डायलाइसिस सेवासम्म पुग्ने सहजीकरण थियो। त्यो बेला भने उनले भोगेको जीवनको त्यो कुरूप कथालाई कसरी थोरै भए पनि न्याय दिन सकिन्छ होला भन्ने सोचले मलाई नराम्ररी चिमोटेको थियो। तर कामले फेरि व्यस्त भइयो र त्यो छट्पटी बिस्तारै बिलाउँदै गयो।
चाडबाडका मौसम 'पिक' मा थियो। तिहारको छुट्टीमा घर आएको थिएँ। तिहार बिदा सकेर फेरि सिन्धुली फर्किनु थियो। यसपालि पनि कोटेश्वरबाट विद्युतीय माइक्रो चढेको थिएँ। माइक्रो चालक अलि बोलक्कड थिए। अगाडि सिटमा बसेका भाइ 'सुटेड-बुटेड' देखिन्थे।
कोटेश्वरमा माइक्रोले यात्रु कुरिराख्दा ती भाइलाई निकै छट्पटी भइराखेको देखिन्थ्यो। भाइले अगाडिको पान पसलमा गएर चुरोट सल्काए र केही गोला गोला धुवाँ काठमाडौंको आकाशमा छाडिदिए। चुरोट खाएर फर्केका ती भाइ अब अलि शान्त देखिन्थे तर पछाडि सिटमा बस्ने दिदीले मुख बिगार्दै पछ्यौराले मुख छोपिन्।
म सोच्दै थिएँ — चुरोट खानेलाई भन्दा नखानेलाई नै हो चुरोट गन्हाउने। सायद रक्सीको पनि फन्डा यही हो! नत्र किन कोही यी गन्हाउने पदार्थ सेवन गरेर फोक्सो र कलेजोलाई दुःख दिन्थ्यो होला?
हामी चढेको गाडी राम्रै गतिमा कुदिराखेको थियो। माइक्रोमा चालक र अगाडि बसेका ती भाइको रोचक गफ चलिरहेको थियो। म चालक पछाडिको सिटमा बसेर उनीहरूको कुराकानी सुनिरहेको थिएँ।
ती भाइ त्यही दिन बिहान कतारबाट काठमाडौं एयरपोर्ट झरेका रहेछन्। कतार गएको ६ वर्ष भयो रे। वर्षमा एकपटक नेपाल फर्किने रहेछन्। तर यसपालि चाहिँ यो दोस्रो पटक हो रे। प्रेमिकालाई भेट्न सुटुक्क आएको रे। घरमा खबरै नगरी।
उनको कुरा सुनेर चालक दाइले थपे, 'लौ हेर! गर्लफ्रेन्ड भेट्न भनेर त्यति दुःख गरेर कमाएको पैसा सकेर आउनुपरेको! यो लभ परेसी मान्छेले के के गर्छ, गर्छ!'
जवाफमा भाइ केही बोलेनन्। चालकलाई लागेछ भाइ रिसाए — रिसाउनुभयो कि क्या हो? म जिस्केको मात्रै हो ल!
उनको यस्तो कुरा सुनेर ती भाइ हाँसे मात्रै, केही बोलेनन्।
माइक्रो चार्ज गर्ने स्टेसनमा रोकियो। खाना खाने ठाउँ पनि यही हो। यो रूटका अधिकांश होटलका खानेकुरा खाई नसक्नु अवस्थाका हुन्छन्। यो विषयमा अनुगमन गर्ने निकायको निकम्मापन भनौं अझ साँठगाठ नै भन्दा पनि फरक नपर्ला, यो रूटको यात्रामा मान्छेले खाने स्तरको खाना मुस्किलले पाइन्छ। चरम व्यापारिक मानसिकताले गर्दा यात्रुहरूको स्वास्थ्यमा दिनदहाडै खेलबाड भइरहेको छ। तर कसैलाई केही मतलब छैन। यात्रुहरूलाई चाहिँ बाध्यता छ। त्यस्तै होटलहरूमा नखाई केही सीप लाग्दैन।
मेरो एक जना साथीले सायद यही बुझेर होला, यो रूटमा यात्रा गर्दा सधैं आफ्नो झोलामा फलफूल लगायत केही खाने चिजबिज राखेर हिँड्ने गरेको सुनाएको थियो। उसले भनेको थियो — म त यो रूटका होटलमा केही पनि खान्नँ। बढीमा कालो चियासम्म खान्छु। त्यो पनि अदुवा-मरिच राख्नू भनेर। नत्र त्यो पनि खाइनसक्नु हुन्छ।
मैले पनि आज त्यस्तै कालो चिया र झोलामा बोकेको स्याउ र केरा खाएर बाटो कटाउने निधो गरेँ।
माइक्रो चार्ज हुन ४५ मिनेट लाग्यो। यात्रुहरू सबै आ-आफ्नो सिटमा आएर बसे। गाडीले फेरि गति समात्यो।
यो रूटको अलि चहलपहल हुने ठाउँ मूलकोट आइपुग्न लागेको थियो। गाडीले गति कम गर्यो र साइडतिर लाग्यो। म किन गति कम भयो भनेर यसो सिसा बाहिर हेर्दै थिएँ। फेरि एकपटक लाम्चो बाकस बोकेको पिकअप गाडीलाई आफ्नै छेउबाट अघि बढेको देखेँ। मनमा निकै ननिको लाग्यो।
चालक दाइले अगाडि सिटमा बसेका, भर्खर विदेशबाट फर्केका ती भाइतिर साउती गर्दै भने, 'हेर्नुस् त! त्यो बाकसभित्रको मान्छे पनि विदेशबाटै आएको हो।'
चालकको कुरा सुनेर म एकछिन झसंग भएँ। अगाडि बसेका भाइ पनि ती चालकलाई बडाबडा आँखा गरेर हेर्दै थिए।
दुवैले एकैचोटि त्यो अगाडि दौडेको शवलाई ढोगे जस्तै गरेर हातले पालैपालो निधार र छाती छोए। मैले पनि त्यही सिको गरेँ।
'यो रूटमा हिँड्दा यस्तो बाकस बोकेको गाडी दैनिक देखिन्छ भाइ,' चालक दाइ कुरा थप्दै थिए।
अगाडि बसेको भाइ 'हँ या न' केही गरिराखेका थिएनन्। लाग्थ्यो — उनी कुनै गहिरो सोचमा डुबेका थिए।
काठमाडौंबाट हिँडेको करिब साढे पाँच घन्टामा म आफ्नो गन्तव्य आइपुगेँ। थकाइले चुर भइएको थियो। खाना खाएर बिछयौनामा पल्टेँ। अघिल्लो पटक बाटोमा देखेको बाकस बोकेको गाडी र आज देखेको उस्तै बाकस बोकेको गाडीको बारेमा विचारहरू आइरहेका थिए। यो रूटको यात्रामा पटकपटक किन यस्ता कफिन बाकस बोकेका गाडी देखिरहेको छु भनेर म आफैंलाई प्रश्न गरिराखेको थिएँ।
कतै त्यो बाकसभित्र सुतेका मान्छेहरूले उनीहरूका कथा कसैले त लेखिदियोस्, कसैले त सुनिदियोस् भन्ने पो चाहिरहेका छन् कि?
म अर्ध निद्रामा यस्तै यस्तै सोच्दै भुसुक्कै निदाएछु। रातभरि तिनै लाम्चा कफिन बाकस बाटोमुनिको सुनकोशी नदीमा तैरिरहेका कहालीलाग्दा सपना देखेँ। बिउँझिँदा पसिना पसिना भएको थिएँ। घडी हेरेको, बिहान ४ बजेको रहेछ। उठेर एक सासमा घटघट एक गिलास पानी पिएँ।
अनि कैयौं दिनदेखि बन्द रहेको मेरो ल्यापटप खोलेँ। केही लेख्छु भनेर बसेँ। शब्दहरू अघि बढ्न अटेरी गरिराखेका थिए। गुगलमा 'विदेशमा नेपाली कामदारको मृत्यु' भनेर टाइप गर्न नपाउँदै कयौं पुराना र नयाँ समाचार स्क्रिनमा देखा पर्न थाले। केही अत्यास लाग्ने तथ्यांकमा मेरा आँखा परे।
आर्थिक वर्ष २०६५/६६ देखि २०७८/७९ सम्म अर्थात् विगत १४ वर्षमा महिला र पुरूष गरेर जम्मा ५० लाख नेपाली वैदेशिक रोजगारमा गएका रहेछन्। अझ यही १४ वर्षको आँकडा हेर्ने हो भने १० हजारभन्दा बढी नेपालीले विदेशी भूमिमा आफ्नो ज्यान गुमाएका रहेछन्। अंगभंग हुनेहरू २ हजारभन्दा धेरै रहेछन्। अघिल्लो वर्ष मात्रै मलेसियामा सबभन्दा बढी ४११ जना नेपालीले आफ्नो जीवन गुमाएका रहेछन्। मलेसियापछि नेपाली कामदारले ज्यान गुमाउने देशमा साउदी अरेबिया, कतार, दुबई, कुवेत, बहराइन आदि रहेछन्।
तथ्यांकलाई नै आधार मान्ने हो भने विदेश जाने नेपाली कामदारको मृत्यु चाहिँ हृदयाघातले भएको देखाउने रहेछ। राति सुत्दा सग्लै र तातै सुतेको मानिस, बिहान उठ्दा अररो र चिसो भइसकेको अवस्थाको मृत्युलाई हृदयाघातकै 'ट्याग' लगाइन्छ।
आफन्तबाट टाढा, देश छाडी, विदेशमा रगतपसिना बगाइरहेको एउटा नेपालीको हृदयमा पर्ने घात र आघातहरूको खासमा लेखाजोखा गर्न कठिन छ।
विदेशी भूमिमा नेपालीहरूको मृत्युको अर्को कारण चाहिँ सडक दुर्घटना रहेछ। नेपाल र खाडी मुलुकमा गाडी हाँक्ने लेन फरक छ। कति नेपालीले यस्तै कुरा थाहा नपाएर सडक दुर्घटनामा परी आफ्नो ज्यान गुमाउनुपरेको रहेछ।
मृत्युको अर्को कारण काम गर्ने ठाउँको वातावरण सुरक्षित नहुँदा आइपर्ने दुर्घटना र भवितव्यहरू रहेछन्।
यी कुरा पढ्दै गर्दा मैले अस्पतालमा मिर्गौला फेल भएर डायलाइसिसको पालो कुरिरहेका ती भाइलाई सम्झिएँ। विदेशमा धेरै नेपालीको मृत्युको कारण आत्महत्या पनि रहेछ। मानसिक तनाव, आर्थिक अभाव र परिवार एवं प्रियजनहरूसँग टाढा रहँदा बढ्ने एक्लोपन र दिकदारीले गर्दा कयौं नेपालीले आत्महत्याको बाटो रोज्ने गरेका रहेछन्।
विदेशी भूमिको गृहयुद्ध र द्वन्द्व पनि नेपालीले ज्यान गुमाउने अर्को कारण हो। भर्खरै मात्र विद्रोही समूह हमासको आक्रमणमा परेर इजरायलमा १० जना नेपाली विद्यार्थीले ज्यान गुमाए। विपिन जोशी भाइ अझै लापता छन्।
विदेशी भूमिमा नेपालीहरूले मृत्युवरण गर्नुपर्ने अवस्था आउन नदिन नेपाल सरकारको के कस्तो भूमिका हुनुपर्छ? विदेशस्थित नेपाली दूतावासले कस्तो समन्वय गर्न सक्छ? विदेशी कम्पनीहरूले नेपाली कामदारलाई सुरक्षित कार्यथलोको न्यूनतम मापदण्ड पूरा गरेका छन् कि छैनन्? उनीहरूको नियमन कसले, कसरी गर्ने? नेपाली कामदारहरूको स्वास्थ्य बीमा गरिएको छ कि छैन?
यी र यावत विषयहरूमा गहन अध्ययन र सघन कार्ययोजनाहरू बनाइनुपर्छ। कार्ययोजना अनुरूप काम भए-नभएबारे गम्भीर रूपमा अनुगमन हुनुपर्छ। मभन्दा यस विषयका ज्ञाता र अध्येताहरूले अझ बढी यी कुरालाई मिहीन केलाउन सक्नु हुन्छ भन्ने लाग्छ। मैले यो लेख सुझाव पेस गर्न लेखेको होइन। विदेशी भूमिमा यति धेरै नेपालीको मृत्यु भइरहेको छ भन्ने विषयको उठान पटकपटक गरिनुपर्छ भन्ने सोच हो मेरो। मोजमज्जा र रमाइलोमा रमाइरहेको हाम्रो पुस्ताले यो कहालीलाग्दो सत्य थाहा पाउनुपर्छ भन्ने मान्यता हो। त्यसैगरी कानमा तेल हालेर बसेका हरेक ती निकायलाई केही हदसम्म झक्झकाउन सकिन्छ कि भन्ने झिनो आशा पनि हो।
बाटाघाटामा हिँड्दा कफिन बोकेका गाडीहरू देख्न नपरे हुन्थ्यो भन्ने लाग्छ। जहाजमा उडेर गएका ताता मान्छेहरू कफिनमा चिसा बनेर फर्किनु नपरे हुन्थ्यो भन्ने लाग्छ। बाकसमा सुतेको त्यो चिसो मान्छे मात्रै अस्ताएको होइन, उसका सपनाहरू पनि अस्ताएको हो। विदेशी भूमिमा कोही पनि नेपालीले अनाहक र अकालमा ज्यान गुमाउनु नपरोस्। हाम्रा कोशी र कर्णालीमा विदेशबाट बाकसमा फर्किने दौंतरीका अस्तु नबगोस्, सपना नतैरियोस्!
(डा. आयास लुइँटेल सिन्धुली अस्पतालमा कार्यरत छन्।)
ट्विटर: @luintelaayas
(आयास लुइँटेलका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्)