जब हामीलाई चुप गराइन्छ, तब मात्र हामी हाम्रो आवाजको महत्त्व बुझ्छौं— युसुफजई मलालाले भनेकी थिइन्।
करिब एक शताब्दी अगाडिसम्म मात्र पनि नेपाली समाज सती प्रथामय थियो। श्रीमानको मृत्युसँगै जल्नुपर्ने चलन र नियमविरूद्धको सामाजिक जञ्जिरहरूले आतित थियो नेपाली समाज।
एक समय थियो कुनै दलितले धार्मिक बचन सुने मात्र पनि कानमा सिसा पगालेर हालिन्थ्यो।
हिजो पञ्चायत कालमा मात्र पनि समाजमा सामन्तहरूको रजगज आहा थियो। श्रम गर्ने वर्ग भोको थियो, सामन्तहरूको जीवन विलासी थियो।
अझै पनि कैयौं सामाजिक बेथिति र कुसंस्कारहरू छन्। विभेदका सामाजिक चरित्र, चिन्तन र व्यवहारविरूद्ध सिंगो समाजको चेतना र बुझाइ एक ठाउँमा आउन सकेको छैन। विसंगति र विद्यमान कुंसस्कारविरूद्ध सिंगो समाज लड्नुपर्छ भन्ने चेतना विकास अझै हुन सकेको छैन। समाजको सर्वांगीण विकास र पूर्ण स्वतन्त्रताको पक्षमा अहिले पनि नेपाली समाज अगाडि बढ्न सकेको छैन।
नेपाली समाजको एकल जातीय शासन (राणा शासन) र वंशीय शासन (राजतन्त्र) भत्काउन र जनताको शासन ल्याउन पनि करिब दुई सय वर्ष लाग्यो। विभेद र असमानताको खाडल पनि यही दुई सय वर्षमा डरलाग्दो रूपमा विकास भयो। समाजमा अराजकता, विभेद, शोषण, बेथिति, कुसंस्कार, वर्गीय असमानताले आकाश यही समयमा छोयो।
एकल जातीय र वंशीय शासन व्यवस्थाले धारादेखि मन्दिर, समाजदेखि राज्य, सबैतिर विभेदका संरचना निर्माण गरेको थियो। राज्यका उपरी संरचनाहरूले महिला, दलित, मधेसी, जनजातिको आवाजमा बन्देज लगाए। अन्य समुदायको आवाज नियन्त्रित थियो। सिंगो राज्यलाई एउटा वर्ग, एक जाति र एकल वंशको सेवकका रूपमा स्थापित गर्यो।
दलित आन्दोलन, दलित समस्या, छुवाछुत र दलित सवालको सन्दर्भमा सिंगो दक्षिण एसियाली समाजमा फरक बुझाइ छ। मुद्दागत र अधिकार प्राप्तिका सवालमा दलित आन्दोलनले सबभन्दा धेरै सवालको उत्तर प्राप्त गर्नुपर्ने थियो। तर नेपालको सवालमा बिस्तारै दलित आन्दोलन कमजोर बन्दै गएको देखिन्छ।
माओवादी युद्ध वरिपरि दलित आन्दोलनका मुद्दाले प्राथमिकता पाएका थिए। छुवाछुत, धार्मिक तथा सार्वजनिक स्थानमा प्रवेश रोक लगाउने जस्ता विभेदमा कारबाही गर्ने, जनसत्तामा दलित समुदायको नेतृत्व गर्ने, अन्तरजातीय विवाहको सामाजिक विभेदविरूद्ध उठाइने कयौं मुद्दाले दलित आन्दोलनमा ऊर्जा भरेको थियो। दलित समुदायका लागि विशेषाधिकार, राजनीति संगठनमा सम्मानजनक हैसियत जस्ता प्रगतिशील नारा भएकाले माओवादी आन्दोलनले दलित आन्दोलनलाई सबै पार्टी र राज्यका संरचनाले सम्बोधन गर्नैपर्ने बाध्यकारी परिस्थिति सिर्जना गरिदिएको थियो। तर अहिले दलित आन्दोलन सुषुप्त छ।
अस्पष्ट मुद्दा, कमजोर नेतृत्व, अवसरवाद, विचौलिया प्रवृत्ति, चाकरीवाद, योजना अभाव, राजनीतिप्रति दलित युवाको अरूचि, पार्टीभित्रको कमजोर उपस्थिति जस्ता कारणले दलित आन्दोलनमा अन्यौलता सिर्जना गरेको पाइन्छ।
अहिलेको अवस्थामा देशमा दलित आन्दोलनको सान्दर्भिकता झन् बढेको देखिन्छ।
सडकमा सामन्तका पुच्छरहरू व्यवस्थाविरूद्ध ओकलिरहेका बेलामा, दलितमैत्री ऐन-कानुन निर्माण गर्नुपर्ने बेलामा, दलित समुदायको गाँस, बाँस, कपास र रोजगारीको सुनिश्चितता गर्नुपर्ने बेलामा, स्थानीय सरकारलाई दलितमैत्री बनाउन अनवरत संघर्ष आवश्यक भएका बेलामा, विश्वव्यापी जलवायु परिवर्तनको प्रत्यक्ष प्रभाव नेपालजस्तो राष्ट्रका सीमान्तकृत र उच्च जोखिममा रहेको समुदायमा परिरहेका बेलामा — आन्दोलन सशक्त रूपमा अगाडि बढ्न नसक्नु सिंगो दलित समुदाय र उत्पीडित वर्गका लागि चिन्ताको विषय बनेको छ।
सयौं पुस्ताको स्वतन्त्रताको सपना र सम्मानजनक सामाजिक हैसियतका ओजिला मुद्दा कमजोर बनेका छन्। दलित आन्दोलन, नेतृत्व र मुद्दाप्रति सिंगो दलित समुदायको विश्वास गुमिरहेको छ। यस्तो अवस्थामा आन्दोलनलाई समयसापेक्ष र अपेक्षाकृत मुद्दाहरू अगाडि ल्याउने र बढाउनुपर्ने जिम्मेवारी युवा पुस्ता र सचेत वर्गको काँधमा आइपुगेको छ।
दलित आन्दोलनलाई समाजवादी आन्दोलन र व्यवस्थासँग जोड्न केही सवालहरू बाधक बनेका छन्।
वर्तमानमा दलित आन्दोलन कुइरोभित्रको काग जस्तै बनेको छ। स्पष्ट नीति, नेतृत्व र योजना निर्माण हुन सकेका छैनन्। आन्दोलनले राजनैतिक, आर्थिक, सामाजिक, शैक्षिक, जनजीविका र सांस्कृतिक मुद्दाहरूको दस्तावेजीकरण गर्न सकिरहेको छैन। संवैधानिक तथा प्राप्त गनुपर्ने अधिकार र पेसागत सुरक्षाका सवालमा आन्दोलन कमजोर बनेको छ। अब आन्दोलनले स्पष्ट मुद्दा पहिचान गर्नुपर्ने आवश्यकता देखिन्छ। दलित आन्दोलनको समाजवादी कार्यदिशा निर्धारण गर्नुपर्ने देखिन्छ।
दलित आन्दोलनमा सवल नेतृत्व पनि स्थापित हुन सकेको छैन। पार्टीहरूले पनि सक्षम नेतृत्वभन्दा चाकरी गर्ने प्रवृत्तिलाई मलजल गरेको देखिन्छ। जनताको योजना निर्माण गर्न सक्ने, सिंगो वर्गको मुद्दा सम्बोधन गर्न सक्ने, प्रविधि र युगसँग परिचित सक्षम युवा नेतृत्व दलित आन्दोलनमा विकास हुनुपर्ने आवश्यकता देखिन्छ। चाकरीबाजहरूको हात माथि पर्दै जाँदा नेतृत्वमा असर परेको छ। अनि समग्र आन्दोलनलाई प्रभाव पार्दै लगेको देखिन्छ।
यो सवालमा सिंगो आन्दोलनले समीक्षा गर्नुपर्छ।
दलित आन्दोलनभित्र विकास भएको अवसरवाद अहिलेको प्रमुख चुनौती हो। आन्दोलन र संगठन सीमित व्यक्तिको स्वार्थमा प्रयोग गर्ने र हुने प्रवृत्तिले कमजोर बनेको छ। यो अवसरवादले एकातिर सिंगो दलित आन्दोलन बदनाम हुँदै गइरहेको छ, अर्कातिर युवा पुस्तामा आन्दोलन र वर्गप्रतिको विश्वास घट्दो छ।
व्यक्ति स्वार्थ र समूह स्वार्थ सिद्धिको हतियार बनाउँदा आन्दोलनमा लाग्ने र पलायन हुने प्रवृत्ति विकास भएको छ।यसकारण सिंगो दलित आन्दोलन कमजोर हुँदै अवसरवादीको हातमा पुगेर बदनाम हुन थालेको हो। व्यक्ति र गुटको स्वार्थका साथै बिचौलिया प्रवृत्ति पनि हाबी हुँदा आन्दोलनले मौलिकतामा गुमाएको देखिन्छ। यो प्रवृत्ति निस्तेज पार्न जरूरी छ।
अस्पष्ट मुद्दा, कमजोर नेतृत्व, अवसरवाद, पलायनवाद, बिचौलिया, चाकरीवाद प्रवृत्ति लगायतले दलित आन्दोलनमा विभाजन ल्याएको छ। पद वा प्रतिष्ठा प्राप्तिका लागि मात्र आन्दोलन र राजनीतिक, सामाजिक संगठनहरूको प्रयोग गर्ने अवसरवादी चिन्तन हाबी भएको देखिन्छ।
दलित समुदाय र दलित आन्दोलनका लागि गणतान्त्रिक व्यवस्था समन्यायिक व्यवस्था हो। गणतन्त्रमा मात्र दलित समुदायका बाँकी रहेका आन्दोलनका मुद्दा सशक्त रूपमा अगाडि बढ्न सक्छन्। दलित आन्दोलनभित्र हुर्केका गलत प्रवृत्ति निमिट्यान्न पार्दै, समाज सुहाउँदो समाजवादी व्यवस्था र आधार आन्दोलनका रूपमा दलित आन्दोलनलाई अगाडि बढाउन सकेको र एकीकृत आन्दोलनका रूपमा अगाडि बढाउन सकेको खण्डमा मात्र दलित आन्दोलन समाजवादी आन्दोलनको अंश बन्न सक्ने छ।
यदि दलित आन्दोलनले अहिलेको विश्व भूराजनिति, राष्ट्रिय राजनीति र परिवर्तित समाजको मनोविज्ञान सुहाउँदो कार्यक्रम निर्माण गर्न नसकेको खण्डमा, संगठित संघर्षको एक शताब्दी लामो संघर्षभित्र अल्मलिएको दलित आन्दोलनले स्पष्ट दिशा र जातीय समस्या समाधान गर्न चुक्ने निश्चित प्रायः छ।
लेखक राजन विश्वकर्मा (रमेश) नेपाल दलित मुक्ति मोर्चाका केन्द्रीय सदस्य हुन्।