सन् १९४७ — भारतमा लामो समय शासन गरेपछि अंग्रेजहरू आफ्नो देश फर्किने तर्खरमा थिए। मेरी आमालाई भने मलाई स्कुल पठाउन हतारो हुँदै थियो।
म जम्मा साढे चार वर्षको थिएँ, जति बेला मलाई लाहोर (हाल पाकिस्तान) मा रहेको एउटा स्कुलको किन्डरगार्टेनमा भर्ना गरियो।
मेरो कक्षामा मसहित सबै साथीहरूको पेन्सिल बक्स थियो। मेरो छेउमा बस्ने साथी आयानको भने थिएन।
मेरै अर्को छेउमा कक्षाकै सबभन्दा धनी केटा बस्थ्यो। ऊ एक मात्र यस्तो विद्यार्थी थियो, जो कार चढेर स्कुल आउँथ्यो। ऊसँग दुइटा पेन्सिल बक्स थियो। ऊ यति धनी थियो, उसको एउटा पेन्सिल बक्स त बेलायतमा बनेको थियो।
एउटा साथीसँग दुइटा पेन्सिल बक्स हुनु र अर्कोसँग एउटा पनि नहुनुले मलाई सधैं नराम्रो लागिरहन्थ्यो। त्यही भएर एकदिन सबै जना ब्रेकमा खेल्न गएको मौका पारेर मैले धनी केटाको पेन्सिल बक्स चोरेँ र आयानको डेस्कमा राखिदिएँ।
ब्रेक सकिएपछि सबै जना कक्षामा आए। आफ्नो पेन्सिल बक्स फेला नपरेपछि धनी केटा करायो, 'मेरो पेन्सिल बक्स कसले चोर्यो हँ?'
शिक्षकले सबैको डेस्क र ब्याग खोजखाज पार्न थाल्नुभयो।
जब आयानको पालो आयो, उसले भन्यो, 'मेरो डेस्कमा पेन्सिल बक्स छ तर यो मैले चोरेको होइन। यहाँ कसरी आयो मलाई थाहा छैन।'
शिक्षक मेरो नजिक आउनुभयो। उहाँलाई देखेर म हल न चल भएँ।
मैले आयानको अनुहार हेरेँ तर सत्य कुरा बताउन सकिनँ। उसलाई कक्षामा सबैको अगाडि उभ्याएर सजाय दिइयो।
सजाय पाउनुअघि उसले मलाई हेर्दै भनेको थियो, 'मैले गरेको होइन भन्ने त तिमीलाई पनि थाहा छ। भनिदेऊ न सबैलाई।'
त्यस बेला मैले त्यो काम आफूले गरेको भनेर सबैका अगाडि स्वीकार गर्नुपर्थ्यो।
तर म चुपचाप बसेँ।
यतिका वर्षपछि पनि म त्यो घटना झलझली सम्झन्छु र सोच्छु, 'त्यति बेला म किन बोलिनँ होला? किन आयानको लागि पेन्सिल बक्स चोरेँ होला?'
सायद त्यो एक किसिमको मेरो अस्थायी पागलपन थियो। यस्तो पागलपन ममा मात्र होइन, भारतभरि फैलिएको छ।
सन् १९४७ कै अगष्ट महिनामा भारत र पाकिस्तानको विभाजन भयो। दुवैतर्फबाट दुई करोड मानिस विस्थापित भए। हिजोसम्म छिमेकी, साथीभाइ र आफन्त रहेकाहरू एकअर्काका शत्रु बने। उनीहरूले आफ्नो पुरानो सम्बन्ध बिर्सिएर एकअर्कालाई काटमार गर्न थाले।
त्यस्तो डरलाग्दो अवस्थाबाट ज्यान जोगाउन हामी आफ्नो थलो छाडेर अन्यत्र भाग्न थाल्यौं।
हामी आफ्नो ज्यान जोगाउँदै जालन्धर रेल्वे स्टेसन आइपुग्यौं।
रेल्वे स्टेसनको पूर्वी प्लेटफर्ममा हिन्दु र शिखहरू थिए, जो दिल्ली जाने रेलको प्रतीक्षामा थिए। अर्कातिर, पश्चिमी प्लेटफर्ममा मुसलमानहरू लाहोर जाने रेलको प्रतीक्षामा थिए।
घन्टौं प्रतीक्षापछि बल्लतल्ल रेल आयो। हामीले मुश्किलले सिट पायौं।
म रेलको सिटमा बसेर झ्याल बाहिर नियाल्दै थिएँ। प्लेटफर्ममा मैले एक जना सुन्दर र अग्लो मुसलमान प्रहरी जवानलाई देखेँ।
म उनलाई हेर्दै थिएँ, त्यही बेला कता कताबाट दुई जना शिख किशोर हातमा किर्पान (हतियार) लिएर आए र मैले हेर्दाहेर्दै ती मुसलमान प्रहरी जवानको हत्या गरिदिए।
मेरी आमाले हत्तपत्त मलाई झ्यालबाट तान्नुभयो। बन्दै गर्न नमिल्ने झ्याल बन्द गर्ने प्रयास गर्नुभयो।
त्यस दिन जुन दृश्य मैले रेल्वे स्टेसनमा देखेको थिएँ, त्यो पनि एक किसिमको अस्थायी पागलपन नै थियो। यस्तो खालको पागलपनले पूरै भारतलाई जकडेको थियो। त्यो पागलपन किन छाएको थियो भनेर अहिलेसम्म कसैले राम्ररी व्याख्या गर्न सकेका छैनन्।
हामी अझै पनि भारतको विभाजन किन भयो भन्ने कुराको नजिक पुग्न सकेका छैनौं। त्यसका लागि हामीले सायद खत्रा लेखकलाई नै पर्खिनुपर्छ।
रूसी लेखक लियो टोलस्टोयले नेपोलियोनिक युद्धपछि 'वार एन्ड पिस' किताब लेखेर रूसीहरूका लागि जुन योगदान गरे, हाम्रोमा पनि त्यस्तै गर्नसक्ने कोही लेखक सायद भविष्यमा आउनेछन्। अहिलेलाई यो केवल एउटा घटना हो, जसले हाम्रो जीवन हरदिन त्रसित बनाएको छ।
भारतमा जुन पागलपन थियो, अहिले पनि त्यही पागलपन संसारभर देख्न सकिन्छ। इसराइल र गजाको युद्ध एक खालको अस्थायी पागलपन नै हो। संसारमा अहिले पनि थुप्रै निरंकुश शासकहरू छन्, जसले हामीसँग जति स्वतन्त्रता थियो, त्यसलाई पनि खुम्चाउँदै लगेका छन्।
म आफ्नो पढाइ र बुबाको कामका सिलसिलामा भारतका विभिन्न ठाउँ र संसारका थुप्रै मुलुक पुगेको छु। सन् १९५५ बाट म अमेरिकाको वासिङ्टन डिसीमा बसेर पढ्न थालेको थिएँ। हाइस्कुलको पहिलो दिन आमासँग प्रधानाध्यापकको कार्यालय पुग्दा मेरो छालाको रंग हेर्दे प्रधानाध्यापकले भन्नुभएको थियो, 'यहाँ गोरो छाला नभएकाहरूले त्यति धेरै अवसर पाउँदैनन्। तर यदि तिमीले मिहिनेतपूर्वक काम गर्यौ र समस्याबाट टाढा बस्यौ भने तिमीले कुनै व्यावसायिक विषयमा डिप्लोमा गर्न सक्नेछौं। त्यसपछि तिमीले कारखानाहरूमा काम पाउन सक्छौं। अमेरिकी सपनामा तिमीलाई स्वागत छ।'
यो अमेरिकामा नागरिक अधिकार आन्दोलन सुरू हुनुभन्दा अगाडिको कुरा हो। प्रधानाध्यापकले मेरो छालाको रंग हेरेर जे भन्नुभयो, त्यो सुरूआत मात्र थियो। अमेरिकामा रंगभेद कतिसम्म छ भन्ने मैले अझै देख्न बाँकी थियो।
स्कुल आएको केही समयपछि मैले पिङपोङ (टेबलटेनिस) खेल्न थालेँ। म अलाबामामा भएको एउटा प्रतियोगितामा पनि छानिएँ।
खेल सुरू हुनुअघि म शौचालय गएको थिएँ। त्यहाँ काला र गोरा जातिका लागि छुट्टाछुट्टै शौचालय थियो। म चुपचाप काला जाति लेखिएको शौचालय गएँ। त्यहाँबाट बाहिर निस्कँदा मलाई निकै हाँसो लाग्यो। तर यसमा म अभ्यस्त भइसकेको थिएँ।
रंगभेदको विषयलाई लिएर मसँग नमीठा अनुभव मात्र छैनन्, रोचक प्रसंगहरू पनि छन्।
एकपटक मेरो स्कुलको एक जना केटी साथीले आफ्नो जन्मदिन मनाउन काला र गोरा दुवै समूहका साथीहरूलाई बोलाएकी थिइन्। उनको कार्यक्रम भव्य थियो। त्यहाँ हामीले 'स्पिन द बोटल' अर्थात् बोतल घुमाउने खेल खेल्यौं, जुन त्यतिबेला निकै प्रसिद्ध थियो।
खेलको नियम थियो – बोतल घुमाउँदा त्यसको मुख जुन व्यक्तितिर फर्किन्छ, उसले आफ्नो विपरीत लिंगका व्यक्तिलाई चुम्बन गर्न पाउने; तर कालाले कालालाई र गोराले गोरालाई नै चुम्बन गर्नुपर्ने।
यही नियमअनुसार कालाले कालालाई र गोराले गोरालाई चुम्बन गर्न थाले। जब मेरो पालो आयो, म के गर्छु होला भनेर सबैले मलाई हेरे। मैले गोरा र काला दुवै महिलालाई चुम्बन गरेँ।
खेलमा मैले बोनस अंक पाउँदै गएँ र मैले सम्पूर्ण महिलालाई चुम्बन गरेँ। त्यो साँझ मैले मेरो जीवनको रहस्य भेटेँ।
अमेरिकाको स्कुलमा मलाई व्यावसायिक तालिम विभागमा राखिएको थियो। मैले त्यहाँ सिकर्मी काम, रेडियो बनाउने काम लगायत थुप्रै प्राविधिक सीपहरू सिकेँ। जब मेरी आमाले म स्कुलमा के पढिरहेको छु भन्ने थाहा पाउनुभयो, उहाँले भन्नुभयो, 'हाय्, हाय्! मेरो छोराले यो कस्तो काम गरिरहेको छ? यस्तो काम त भारतमा एकदम तल्लो जातका मानिसले गर्छन्।'
मलाई त्यति बेलासम्म तल्लो र माथिल्लो जात हुन्छ भन्ने नै थाहा थिएन। शिख, मुस्लिम र हिन्दुहरूको समाजमा हुर्किएको मैले सानोमा जातीय विभेद अनुभव नै गर्नु परेन। अमेरिकाको रंगभेदी समाजमा आएपछि बल्ल जात भन्ने पनि हुने रहेछ भन्ने थाहा पाएँ।
अमेरिका त्यति बेला समानताको प्रचार गर्दै थियो तर आफैं रंगभेद लगायत विषयमा असमानताको अभ्यास गर्दै थियो।
मेरो बुबा जीवन राम्रो हुनुपर्छ भन्ने मान्यता राख्नुहुन्थ्यो भने मेरी आमा राम्रो जीवनयापनको कुरा गर्नुहुन्थ्यो।
सन् १९४७ मार्चमा म किन्डरगार्टेन पढ्दाकै कुरा हो। म स्कुलको रिपोर्ट कार्ड बोकेर घर आएको थिएँ। आमाले ढोकामा उभिएर सोध्नुभयो, 'के तिमी कक्षामा पहिलो भयौ?'
बुबाले आमाको कुरा सुनिरहनुभएको थियो। उहाँले त्यति नै खेर आमालाई भन्नुभयो, 'यो गलत प्रश्न हो। उसलाई बरू स्कुलमा चित्र बनाउन मनपर्छ कि, कविता भन्न मनपर्छ कि जस्ता प्रश्न सोध। उसका साथीहरू कस्ता छन् भनेर सोध।'
मैले मेरो जीवनमा आमा र बुबा दुवको विचारधारा अपनाएँ। हामी मध्यमवर्गीय परिवार थियौं। मेरी आमाले राम्रो जीवनयापन गरोस् भन्नु नौलो कुरा थिएन। उहाँ म राम्रो पढोस् र भविष्यमा राम्रो जागिर पाओस् भन्ने चाहनुहुन्थ्यो। मेरो बुवा भने यो विषयमा निश्चिन्त हुनुहुन्थ्यो। उहाँ मैले राम्रो जीवन बिताओस् भन्ने चाहनुहुन्थ्यो।
वासिङ्टनको हाइस्कुलमा पढ्दा मैले कक्षाका सबैलाई उछिनेँ र पहिलो भएँ। चार वर्षपछि पढाइ सक्दा मैले हार्भर्ड, प्रिन्सटन र येल विश्वविद्यालयबाट पढ्न छात्रवृति पाएँ।
पढाइमा राम्रो गरेकाले स्कुलका प्रधानाध्यापकले मलाई आफ्नो कार्यालयमा बोलाउनुभयो। उहाँको हातमा 'द वासिङटन पोस्ट' थियो, जसको पाँचौं पृष्ठमा मेरो फोटोसहितको स्टोरी छापिएको थियो। उहाँले भन्नुभयो, 'तिमीले मलाई गौरवान्वित बनायौ।'
त्यस बेला मैले उहाँले स्कुलमा पहिलो दिन गरेको व्यवहार सम्झिएँ। मलाई भन्न मन थियो, 'मेरा लागि अमेरिकी सपनाबारे तपाईंको के विचार छ?'
तर म भद्र भएर बसेँ।
सानोमा आयान र पेन्सिल बक्सको घटनामा केही भन्न नसकेझैं म त्यो बेला पनि हल न चल भएँ।
हाइस्कुल सकिएपछि म गर्मीको समयतिर भारत फर्किएँ। केही दिन घरमा बसेपछि म हार्भड पढ्न बोस्टन जाँदै थिए। मेरी आमा मलाई दिल्लीको पालम विमानस्थलमा विदाइ गर्न आउनुभएको थियो।
उहाँले आँखामा टिलपिल आँशु पार्दै मलाई भन्नुभयो, 'अब तिमीले हार्भडमा गएर केही राम्रो पढ्नू। कुनै दिन तिमीले राम्रो रोजगारी गरेर राम्रो जीवनयापन गर्नुपर्छ। बुबाजस्तै इन्जिनियर बन्दा पनि हुन्छ। इन्जिनियरका लागि राम्रा रोजगारीका अवसरहरू छन्।'
जब म हार्भड आएँ र पाठ्यक्रमको सूची हेरेँ, मैले आमाले दिनुभएको सल्लाह भुलेँ।
मैले दुई वर्ष ग्रीक ट्रयाजेडी, रूसी उपन्यास, पुँजीवादको इतिहास, वास्तुकला, रेनेसा पेन्टिङ, बेथोभन म्युजिक र संस्कृत प्रेम कविताहरू पढेँ।
हार्भड विश्वविद्यालयमा मैले संस्कृत पढिरहेको थाहा पाएपछि आमाले भन्नुभयो, 'हाय्, हाय्! अब यसलाई केवल मृत मानिसले जागिर दिनेछ।'
यति धेरै विषय पढेको देखेर हार्भडका शिक्षकहरू पनि मप्रति चिन्तित हुन थालेका थिए। तेस्रो वर्षतिर त्यहाँका डिनले मलाई बोलाउनुभयो र भन्नुभयो, 'तिमीले एउटा मुख्य विषय छान्नुपर्छ र त्यो विषयमा थेसिस लेख्नुपर्छ।'
अनि मैले दर्शनशास्त्र छानेँ।
डिनले सोध्नुभयो, 'दर्शनशास्त्र किन?'
मैले भनेँ, 'मलाई खुसीको विषयमा जान्न मन छ।'
दर्शनशास्त्रमा स्नातक सकेपछि मैले अक्सफोर्ड विश्वविद्यालयमा विद्यावारिधि गर्न छात्रवृत्ति पाएँ। त्यसबीच हार्भडको पढाइ सकेर म आफ्नो घर चन्डिगढ आएको थिएँ।
एक साँझ मेरो दिमागमा ख्याल आयो, 'के मलाई यस्तै अमूर्त विचारहरूको भुमरीमा बस्नु छ?'
मलाई त क्रियाशील जीवन बिताउन मन थियो। त्यही भएर मैले अक्सफोर्डलाई त्यहाँ पढ्न नआउने जानकारीका साथ पत्र लेखेँ। मेरी आमाको फेरि होस् उड्यो। हुर्किएको एउटा छोरा घरमा छ, जसको न कुनै काम छ र जसले भर्खरै अक्सफोर्ड पनि त्यागेको छ!
चन्डिगढमा अरूको चासो गर्ने खालका छिमेकीहरू थिए। उनीहरू मेरी आमालाई हरेक दिनजसो सोध्थे, 'थोडा मुन्डा कि करवे?' (तिम्रो छोराले के गरिरहेको छ?)
मैले केही नगरेको हुँदा मेरी आमालाई लज्जाबोध हुन्थ्यो। उहाँलाई लाजबाट मुक्त गर्नकै लागि मैले पत्रिकामा आएको एउटा विज्ञापन देखेर कामका लागि सम्पर्क गरेँ। त्यो 'भिक्स भेपोरव' बनाउने कम्पनीको जागिर थियो।
अन्तर्वार्ता लिने व्यक्तिले विभिन्न प्रश्न सँगसँगै यो पनि सोधे, 'तिम्रो जीवनको उद्देश्य के हो?'
मैले मार्केटिङ, उत्पादन वा अन्य केही भन्छु होला भन्ने उनलाई आशा थियो। तर मैले सधैं भन्ने उत्तर दिएँ, 'खुसी हुनु।'
मैले सानोमा किन्डरगार्टेन पढ्दादेखि दिने उत्तर यही थियो। तर खुसी कसरी हुने भन्ने कुरा म अझै पनि खोजिरहेको छु।
अन्तर्वार्ता लिने मान्छे सायद मेरो हार्भड डिग्रीले प्रभावित थिए। उनले मलाई सजिलै काम दिए।
म रातारात हार्भडबाट भारतको धुलाम्मे बजारमा आइपुगेको थिएँ। यो सन् १९६३ को कुरा हो। म बजारमा थोक बिक्रेता, खुद्रा बिक्रेता र औषधि बेच्ने व्यक्तिहरूसँग कुरा गर्दै हिँड्न थालेँ।
म उनीहरूलाई सोध्थेँ, 'एक दर्जन भिक्स लेना हे कि दो दर्जन लेना हे?'
धेरैले भिक्स भारतबाट अन्य मुलुकमा बिक्री गरिन्छ भन्ने सोच्छन्। खासमा त्यति बेला एउटा अमेरिकी कम्पनी थियो जसले १ सय ३५ देशमा भिक्स आपूर्ति गर्थ्यो। भारतले भने अरू देशको तुलनामा ठूलो व्यापार गरेको थियो। एकपटक भारतमा फ्लू चलेको थियो। त्यति बेला हामीले धेरै भिक्स बेच्यौं।
५० वर्षको उमेरमा मैले व्यापारको दुनियाँ त्यागेँ र लेखक बनेँ।
जागिर छाड्दा मेरी आमाको फेरि चिन्ता थियो, 'अब अर्को महिना रोजगारीको तलबको चेक कताबाट आउँछ होला?'
मलाई लागेको थियो, व्यापार छाडेर लेखक बनेपछि म राम्रो मान्छे बन्नेछु। तर अहिले मैले निष्कर्ष निकालेको छु, व्यावसायिक व्यक्तिहरु बरू राम्रा मानिस हुन्।
म यो किन भनिरहेको छु भने व्यवसायीहरूले पहिलो दिनबाटै अन्तरनिर्भता सिक्नुपर्छ। तपाईं आफ्नो ग्राहकसँग राम्रो बन्नुपर्छ। आपूर्ति गर्ने मान्छेसँग राम्रो हुनुपर्छ। तपाईंका कर्मचारी हुन्छन्, जोबिना तपाईं कुनै काम राम्ररी गर्न सक्नुहुन्न। उनीहरूलाई पनि राम्रो व्यवहार गर्नुपर्छ। यसले तपाईंलाई अरू मान्छेबारे सचेत बनाउँछ।
तर लेखक त 'बबल' मा बस्छ। आफ्नो लेखन र अध्ययन गर्दा उसले कसैलाई देख्दैन। आफैंलाई पनि बिर्सिन्छ।
लेखनसँगै म पछि राजनीतिमा पनि जोडिएँ। सन् १९९७ मा म 'टाइम्स अफ इन्डिया' पत्रिकामा साप्ताहिक स्तम्भ लेख्थेँ, जसमा म राजनीतीक व्यक्ति र पार्टीबारे खुलेर आलोचना र प्रशंसा गर्थेँ।
त्यति बेला कांग्रेस दोस्रो कार्यकालका लागि सत्तामा आएको थियो। मनमोहन सिंह प्रधानमन्त्री हुँदा उनले भारतलाई आर्थिक स्वतन्त्रता दिलाएका थिए। अंग्रेजबाट स्वतन्त्र भएको ४० वर्षसम्म भारत आर्थिक रूपमा स्वतन्त्र थिएन। हामीले त्यो स्वतन्त्रता सन् १९९१ मा बल्ल पाएका हौं, जति बेला भारतको आर्थिक वृद्धि ८ प्रतिशत बढेको थियो।
कांग्रेसको दोस्रो कार्यकाल भने भ्रष्टाचारले भरिएको थियो। त्यस कारण सन् २००२ पछि भोट हाल्न खासै राम्रा उम्मेदवार थिएनन्।
मैले पहिला स्वतन्त्र पार्टीमा जोडिएर उनीहरूको चुनावमा काम गरेको थिएँ। म सधैं आफूलाई स्वतन्त्र र धर्मनिरपेक्षी मानिस मान्छु। तर पछिल्लो चुनावमा मैले मोदीलाई समर्थन गरेँ। त्यस बेला मलाई मोदी जान्ने मानिस हुन् भन्ने लाग्यो। उनको भाषण पनि एकदम ताजा र दमदार थियो। 'न्यूनतम सरकार, अधिकतम शासन' भन्ने मोदीको नारा मजस्तो व्यक्तिको कानलाई संगीतजस्तै थियो।
मैले उनका भाषणमा विश्वास गरेँ। आफ्नो साप्ताहिक स्तम्भमै उनलाई खुलेर समर्थन गरेँ। त्यस कारण मैले धेरै साथीहरू गुमाए। साथीहरू गुमाएपछि म स्वतन्त्र कम, एक्लो ज्यादा भएँ। त्यो अवस्था अहिलेसम्म उस्तै छ।
केही समयपछि मोदीप्रतिको मेरो मोह भंग भयो। उनले हिन्दु राष्ट्रको जुन व्यापार गरे, त्यो मलाई मन परेन। हामीले हाम्रो देशलाई हिन्दु राष्ट्र बनाउन उनलाई छानेका थिएनौं।
मैले गत महिना दिल्लीको इन्डियन नेसनल सेन्टरमा 'द डिलेमा अफ एन इन्डियन लिभरल' भन्ने शीर्षकमा भाषण दिएको थिएँ। मजस्तो स्वतन्त्र व्यक्तिलाई भएको दुविधा कस्तो हो भन्ने विषयमा मैले भाषण दिएँ। मेरो दुविधा के हो भने म एउटाको अर्थ व्यवस्थालाई विश्वास गर्न सक्दिनँ र अर्को समूहले भएको स्वतन्त्रता पनि हनन गरेकाले उसलाई पनि विश्वास गर्न सक्दिनँ।
त्यही शीर्षक 'द डिलेमा अफ एन इन्डियन लिभरल' लाई लिएर अहिले मेरो प्रकाशकले किताब लेख्न भनेका छन्। म त्यसैमा काम गर्ने तयारीमा छु। मानिसहरू विभिन्न तरिकाले आफ्नो समस्या सामाधान गर्छन्। म किताब लेखेर आफ्नो समस्या सामाधान गर्छु।
मेरा चारवटा किताब मानिसको जीवन सार्थक बनाउन चाहिने चार पुरूषार्थसँग जोडिएका छन् – धर्म, अर्थ, काम र मोक्ष।
'इन्डिया ग्रोज एट नाइट' मा मैले पहिलो समस्या गरिबीलाई लिएर लेखेको थिएँ, जुन गरिब देशलाई धनी कसरी बनाउने भन्नेमा केन्द्रित थियो। म सायद पहिलो व्यक्ति थिएँ, जसले त्यस बेला भारतको उदयको भविष्यवाणी गरेको थियो। भारत समृद्ध त भयो, तर त्योसँगै भ्रष्टाचार पनि बढ्यो, जसले मलाई धर्मबारे लेख्न प्रेरित गर्यो।
मैले हार्भडमा संस्कृत पढेको थिएँ। त्यसले मलाई महाभारतमाथि विवेचना गर्ने हिम्मत दियो, अनि लेखेँ, 'द डिफिकल्टी अफ बिइङ गुड।'
मानिसको अर्को समस्या हो, काम वा वासना जुन हामी सबैसँग छ। मैले त्यसैमा आधारित भएर अर्को किताब लेखेँ, 'कामः द रिडल अफ डिजायर'।
चौथो किताब 'एनोदर सर्ट अफ फ्रिडम' मोक्षसँग जोडिएको छ। संस्कृतमा मोक्षको मूल अर्थ स्वतन्त्र हुनु नै हो।
बुद्ध धर्मको एउटा दर्शन के छ भने, त्यसमा आफू भन्ने कुरा हुन्न। आफू भनेको भ्रम मात्र हो। त्यसो हो भने आफू भन्ने कुरामा हामी किन यति गम्भीर हुन्छौं?
त्यही भएर पनि होला, मलाई व्यवसायीहरू लेखकभन्दा राम्रा मान्छे हुन् भन्ने लागेको। उनीहरू आफूभन्दा अरूका बारेमा बढी सचेत छन्।
किताब 'एनोदर सर्ट अफ फ्रिडम' मेरो जीवनी नभई आत्मसंस्मरण हो। जीवनीमा जन्मदेखि मृत्युसम्मका विवरण हुन्छन्। आत्मसंस्मरणमा सबै कुरा समेट्नु पर्दैन। त्यसमा जीवनका घटना छानेर जोड्ने सुविधा हुन्छ।
जब तपाईं आत्मसंस्मरण वा जीवनी लेख्नुहुन्छ, तपाईं आफ्नो जीवन पुनः जिउनु हुन्छ। यस क्रममा मैले के सिकेको छु भने, जीवन जिउनुभन्दा पुनः जीवन जिउन पाउनु धेरै राम्रो कुरा हो।
तपाईं पनि फर्किएर आफ्नो जीवन पुनः जिउनुहोस्। तर होस् गर्नुहोस्, आफूलाई राम्रो देखाउनु मानव स्वभाव हो। यदि तपाईंले सधैं आफूलाई एकदम राम्रो मात्र देखाउनुभयो भने मानिसले तपाईंलाई पत्याउँदैनन्।
आफूलाई एकदम नराम्रो देखाउनुभयो भने पनि तपाईंलाई मान्छेले एकदम निरिह ठान्छन् र यसको किताब किन पढ्नु भनेर पढ्दैनन्।
तपाईंलाई आफ्नो किताब चाखलाग्दो बनाउनु छ भने जीवनका चाखलाग्दा कुरा छान्नुपर्छ। तर यति चाखलाग्दो पनि नबनाउनुस् कि मान्छेले विश्वास नगरून्। यो संस्मरण लेख्ने एउटा तरिका हो।
मैले स्वतन्त्रतालाई लिएर किताब त लेखेँ, तर मैले जीवनमा अहिलेसम्म त्यस्तो स्वतन्त्रता भेटेको छैन जुन म खोजिरहेको छु।
मैले खोजेको स्वतन्त्रता कुनै कुराको अपेक्षा नहुनु हो – परिवार, साथीभाइ र आफ्नै पनि।
कुनै दिन म त्यस्तो स्वतन्त्रता भेट्छु कि!
(भारतीय लेखक तथा समालोचक गुरचरण दासले आफ्नो पछिल्लो किताब 'एनोदर सर्ट अफ फ्रिडम' बारे मंगलबार काठमाडौंमा नेपालयका किरणकृष्ण श्रेष्ठसँग अन्तरक्रिया गरेका थिए। यो लेख त्यही अन्तरक्रियामा आधारित छ।)