प्रिय पाठकहरू,
तपाईंहरूले धेरै माया र विश्वास गर्नुभएको सेतोपाटी आज एउटा महत्त्वपूर्ण घुम्तीमा आइपुगेको छ। यो घुम्तीबाट हामी नयाँ चरणको व्यावसायिक यात्रामा प्रवेश गर्न चाहन्छौं।
पत्रकारिता क्षेत्रमा लामो समय काम गरेको अनुभवका आधारमा सेतोपाटी टिमको एउटा निचोड छ — कुनै पनि सञ्चारगृहको वार्षिक खर्चको महत्त्वपूर्ण अंश पाठकहरूले नबेहोरून्जेल त्यो सञ्चारगृहले स्वतन्त्र र निष्पक्ष पत्रकारिता गर्न सक्दैन। आम्दानीको ८०–९० प्रतिशत विज्ञापनले धान्ने सञ्चारगृह अन्ततः पाठकमा होइन, बजारमाथि निर्भर हुन पुग्छ। अर्थशास्त्रको सामान्य तर क्रुर नियम यही हो।
लोकरिझ्याइँको हुरी चलेको यो समयमा नडराइकन र नबहकिकन आफ्नो कुरा भन्न सक्ने पत्रकारिताको महत्त्व समाजमा बढेको छ। त्यसैले पनि हिजोभन्दा आज पत्रकारितामा पाठकको लगानीको खाँचो झनै टड्कारो बनेको हो।
स्वतन्त्र सञ्चारगृह निर्माणमा पाठकको अभिरूचि र आर्थिक साथ अपरिहार्य हुन्छ भन्ने हामीले सुरूदेखि नै विश्वास गर्यौं। त्यही विश्वासमा टेकेर हामीले २०७३ सालमै तपाईंहरूलाई भनेका थियौं, सेतोपाटीले छिट्टै नै पाठकहरूसँग शुल्क लिनेछ।
त्यसका लागि हामीले तपाईंहरूको सुझाव पनि मागेका थियौं। धेरै पाठकहरूले नियमित शुल्क लगाउन सुझाव दिएर हामीलाई हौसला प्रदान गर्नुभएको थियो।
तर देशभित्र र बाहिरबाट शुल्क तिर्न 'पेमेन्ट गेट-वे' हरूको राम्रो विकास नभइसकेका कारण हामी त्यो बेला आफ्नो योजनामा अघि बढ्न सकेनौं। पछिल्लो समय डिजिटल पेमेन्टको क्षेत्रमा उल्लेख्य प्रगति भएको छ। केही समयदेखिको तयारीपछि हामीले ती सबै प्राविधिक काम सकेका छौं।
आज हामी तपाईंहरूलाई सेतोपाटीको वार्षिक वा मासिक सदस्य बनेर हाम्रो पत्रकारिताको यात्रामा साथ दिनु हुन हार्दिक अनुरोध गर्छौं। तिहारपछि सेतोपाटीमा प्रकाशित हुने प्रिमियम समाचार, लेख र शृंखलाहरू सदस्यता लिएका पाठकहरूले मात्र पढ्न पाउनु हुनेछ। अरू समाचार भने सबै पाठकहरूले पढ्न पाउनु हुनेछ।
केही समयका लागि हामीले सदस्यता शुल्कमा भारी छुटको व्यवस्था गरेका छौं। नेपालबाट 'वार्षिक सदस्य' बन्नेले मासिक एक सय रूपैयाँ र विदेशबाट 'वार्षिक सदस्य' बन्नेहरूले मासिक दुई डलर मात्र तिर्नुपर्ने छ। यो प्रकाशकीयको अन्त्यमा हाम्रो सदस्यता शुल्क योजनाहरूबारे विस्तृतमा उल्लेख छ।
नेपालबाट सदस्य बन्ने पाठकहरूले कुनै पनि बैंकको एटिएम कार्ड वा विभिन्न बैंक वा वित्तीय कम्पनीका क्युआर कोड प्रयोग गरेर शुल्क तिर्न सक्नु हुनेछ। विदेशमा बस्ने पाठकहरूले आफ्नो भिसा वा मास्टर-कार्ड प्रयोग गरेर शुल्क तिर्न सक्नु हुनेछ।
सेतोपाटी नेपालसहित संसारका दुई सय मुलुकमा बसोबास गर्ने नेपालीले नियमित रूपमा पढ्नु हुन्छ। यो हाम्रा लागि गर्वको कुरा हो। पाठकको यही विश्वास नै हाम्रो सबभन्दा ठूलो पुँजी हो। यसले हामीलाई हरेक दिन जिम्मेवार, निडर र निष्पक्ष पत्रकारिता गर्न प्रेरित गर्छ।
आर्थिक आत्मनिर्भरतासँगै हामी सेतोपाटीलाई थप सबल र थप सिर्जनशील बनाउने छौं। हामी पत्रकार र पाठक मिलेर नै नेपाली समाजमा बलियोसँग उभिने एउटा सशक्त सञ्चारगृह बनाउन सक्नेछौं। त्यसमा तपाईंहरूको साथ रहनेछ भन्ने हाम्रो दृढ विश्वास छ।