हामीकहाँ पछिल्लो समय नृत्यसम्बन्धी राष्ट्रिय कार्यक्रमहरूमा मिथिलाको लोकनृत्य 'झिझिया' ले निकै व्यापकता पाएको देखिन्छ।
आफ्नै किसिमका भाव-भूमि, अदा-अन्दाज, परिवेश, गतिशीलता र सांगीतिक माधुर्यको पहिचान बोकेको झिझिया मिथिलाका श्रमजीवी महिलाहरूबीच खास विश्वास र उद्देश्यका साथ आयोजना गरिने नृत्यमूलक खेल हो।
यहाँ मिथिला भन्नाले बृहत् विष्णुपुराणमा वर्णित कोशी-गण्डक र गंगा-हिमालयबीचको भू-भाग बुझ्नुपर्छ, जुन भू-भागको संस्कृतिमा मिथिलाको वैशिष्ट्य अहिले पनि पाइन्छ। यसलाई वर्तमानमा नेपाल र भारतका मैथिली तथा भोजपुरी भाषी क्षेत्रका रूपमा बुझ्न सकिन्छ।
दुई दशकअघिसम्म यो नृत्य मिथिलाका ग्रामीण महिलाहरूमा सीमित थियो। तर एक्काइसौं शताब्दी सुरू भएसँगै यसले मञ्चमा केही विस्तारपूर्वक स्थान, पहिचान र सम्मान पाउन थालेको छ।
ग्रामीण महिलाहरूको आस्था, मनोरञ्जन र अनुष्ठानका रूपमा चिनिने यस मैथिली लोकनृत्यले आम जनमानसबीच व्यापकता र लोकप्रियता पाउनुमा 'गीत घर-घरके' नामक मैथिली लोकगीतहरूको क्यासेट एलबमले विशेष भूमिका खेल्यो। जनकपुरधाममा सक्रिय सुनीलकुमार मल्लिक, आभास लाभ, अशोक दत्त, रश्मिरानी, प्रवेश मल्लिक लगायतका संगीतकर्मीहरूले २०६० सालतिर भारतको राजधानी दिल्लीबाट उक्त क्यासेट निकालेका थिए।
जन्मदेखि मृत्युसम्मका प्रत्येक क्षण, मौसम, मनस्थिति, अवस्थाका लोकगीतहरू प्रचलित रहेको मैथिल समुदायमा वास्तविक अर्थका समग्र लोकगीतहरू समावेश भएको यही पहिलो क्यासेट एल्बम थियो भन्दा अत्युक्ति नहोला।
त्यसअघि हजारौंको संख्यामा लोकगीतहरू रेकर्ड भए पनि ती प्रायः ब्राह्मण-कायस्थजस्ता कथित उच्च जातिमा प्रचलित लोक-संस्कार गीतहरूमा सीमित हुन्थे। यस्तोमा अधिकांशतः श्रमजीवी वर्ग र जातिहरूमा प्रचलित लोकगीत समावेश गरिएको उक्त एल्बमका गीतहरू साँच्चिकै घर-घरका गीत बन्न पुगे।
यसैमा समावेश 'तोहरे भरोसे बढम बाबा झिझरी बनेलियै' बोलको झिझिया गीतको कीर्तिमानी लोकप्रियताले झिझियालाई मिथिलाका जन-जनमा सुपरिचित बनाउँदै यसलाई पुनर्जागृत बनाउने काम गर्यो।
यसरी अवसर-विशेषमा गरिने आनुष्ठानिक ग्राम्य झिझिया नृत्य मिथिलाका मञ्चहरूमा सार्वकालिक रम्य नृत्यका रूपमा स्थापित भयो। मिथिलाका हरेकजसो मञ्चीय सांस्कृतिक कार्यक्रमहरूमा झिझिया गीत-नृत्य अनिवार्यजस्तो हुन थाल्यो।
यद्यपि आजीवन सक्रिय र प्रतिष्ठित सांस्कृतिक अभियन्ता चतुर्भुज आशावादी र उहाँकी धर्मपत्नी माया पौडेलले यसपूर्व पनि 'कओने भैया अइथिन झिझिया खेलैथिन' बोलको झिझिया गीतमा नृत्य तयार गरी त्यसलाई नेपाल र भारतका विभिन्न मञ्चहरूका साथै युरोपसम्म पुर्याइसकेका थिए।
मनोरञ्जन होइन, अनुष्ठान हो झिझिया
झिझियालाई सामान्यतया नृत्य भनी बुझ्ने गरिए पनि यसको आयाम निकै फराकिलो छ।
यसको गीतमै 'झिझिया खेल' भनेर भनिन्छ। तर यो खेलमै मात्र सीमित छैन। पारम्परिक रूपमा यो शारदीय नवरात्रा अर्थात् दसैंको नौरथाभरि गरिने विशेष अनुष्ठानमूलक क्रियाकलाप हो, जो नृत्यप्रधान हुन्छ। अपनाइने प्रक्रियाहरूले गर्दा झिझिया आफैंमा उत्सवमय हुने गर्छ।
मैथिलीका सुप्रसिद्ध रंगकर्मी तथा अनुसन्धाता कुणाल यसको आनुष्ठानिक चरित्र स्पष्ट पार्दै भन्छन् – झिझियाको मूल उद्देश्यमा अभिव्यक्ति वा आनन्द नभई कामना हुन्छ।
उनका अनुसार तन्त्र-मन्त्र वा टुना-मुना गर्ने नकारात्मक शक्तिको तेजोवध वा पराभव यसको अभीष्ट कामना हुन्छ; जो परिवार, समाज र जनसामान्यको प्राण तथा प्रगतिलाई संकटमुक्त राख्ने उद्देश्यले सम्पादन गरिन्छ।
सामान्यतया यस्ता लोकअनुष्ठानहरूको पृष्ठभूमिमा कुनै न कुनै कथा जोडिएको हुन्छ। झिझियासँग पनि चित्रसेन नामक कुनै समयको मिथिलाका एक राजा, तन्त्र-मन्त्रमा सिद्ध उनकी निःसन्तान रानी, उनीहरूले पुत्रवत पालेका भान्जा बालरूचि र टुना-मुनामा निपुण एक वृद्धाको कथा गाँसिएको छ।
प्रारम्भमा रानीको दुष्ट र दुराचारी भावका कारण बालरूचि वृद्धाको शरणमा पुग्छन्। पछि घटनाक्रमले भान्जासँग राजाको भेट हुन्छ र रानीलाई पनि आफ्नो भूलको पश्चाताप हुन्छ। त्यसपछि बालरूचिलाई राज्य फर्काउने सन्दर्भमा वृद्धा र रानीबीच तन्त्र-मन्त्रको संघर्ष सुरू हुन्छ। यसमा रानीको विजय हुन्छ र बालरूचिलाई राज्यको उत्तराधिकारी बनाइन्छ।
बालरूचिको निष्कन्टक दीर्घजीवनको कामनाका साथ रानीले झिझिया नामक तान्त्रिक अनुष्ठान आयोजना गरेको र प्रजाजनमा पनि यो आयोजना गर्ने आदेश दिएको कथा प्रचलित छ।
सामान्यतया नृत्य भन्नाले स्थानविशेषमा गरिने अंग-सञ्चालनको बोध भए पनि आनुष्ठानिक प्रक्रियाहरूले गर्दा फरक-फरक ठाउँ पुगेर झिझियाको प्रदर्शन-चक्र सम्पन्न हुन्छ। नौरथा बेला रातको दोस्रो प्रहरमा गाउँका किशोरी/युवती/महिलाहरू झिझिया लिएर भगवती/देवीको गीत गाउँदै ब्रह्मस्थान वा डिहबार (ग्रामरक्षक) थान पुग्छन्। त्यहाँ डिहबारको अभ्यर्थना गर्दै झिझियाको भाकामा तत्सम्बन्धी गीत गाउने तथा त्यसमा नृत्य गर्ने गर्छन्। त्यसपछि नाच्दै-गाउँदै पूरै गाउँ घुम्छन्।
यसरी घुम्दै झिझियाका टोली-सदस्यहरू पर्वते संस्कृतिका भैलिनीहरूझैं मानिसका घर-घर पुग्छन्। ग्रामीणहरू पनि साक्षी र सहयोगी भावमा झिझियामा संलग्न हुन्छन्।
झिझियाको स्वरूप र इतिहास
झिझिया यस्तो नृत्य हो जसमा प्वालै-प्वाल पारिएको माटोको घैंटो वा गाग्रो शिरमाथि राखेर नाचिन्छ।
झिझियामा प्रयोग गरिने माटोको भाँडोलाई मिथिलामा तौला, घैला वा कोहा भनिन्छ। असंख्य प्वाल पारिएको घैंटोभित्र बलिरहेको दियो राखिएको हुन्छ। झिझियाका लागि त्यस्ता घैंटाहरूको निर्माण विशेष प्रकारले गरिन्छ। अर्थात्, भाँडो काँचै रहेको अवस्थामा त्यसलाई प्वाल पारेर भट्टामा पोलिन्छ। पछिल्लो समय भने तयारी भाँडोमा पनि प्वाल पारेर काम चलाइन्छ।
यसरी तयार पारिएका घैंटाहरू एकमाथि अर्को खप्टिँदै तीन-चारवटासम्म राखिन्छ। सबभन्दा माथि रहेको घैंटोको मुख माटाकै ढकनीले छोपिएको हुन्छ। अचेल मूल घैंटोसँग जोडेर अनेकौं घैंटाहरूको आकर्षक सजावट देखिने गरेको छ। यसरी प्वाल पारिएको घैंटो र त्यसको समग्र सजावटलाई नै झिझिया भनिन्छ।
तान्त्रिक विधिबाट आयोजना गरिने नृत्यमूलक अनुष्ठान भएकाले मिथिलामा तन्त्र-मन्त्रको प्रभाव व्यापक रहेको समयमै झिझियाको सुरूआत भएको धारणा प्राज्ञ रामभरोस कापडि 'भ्रमर' को छ। उनले कुमार अभिनन्दनका नामबाट लेखेको 'दुर्गास्तुतिक लोक-परम्परा : झिझिया' शीर्षक आलेखमा आठौं शताब्दीअघिदेखि झिझियाको चलन चलेको धारणा राखेका छन्।
झिझियाको प्रमुख विशेषता प्वाल पारिएका घैंटा शिरमाथि राखेर नाचिनु हो। प्वाल पारिएको घैंटाको प्रयोगसम्बन्धी इतिहास र प्राप्त अवशेषका आधारमा भने झिझियाको इतिहास त्यसभन्दा पनि प्राचीन रहेको मान्न सकिन्छ।
भारतीय पुरातत्त्वविद् डा. अशोककुमार सिन्हाले यसरी प्वाल पारिएका माटाका भाँडाहरू सर्वप्रथम सिन्धुघाटी सभ्यता क्षेत्रका पुरातात्त्विक अवशेषहरूमा पाइएको बताएका छन्। 'छिद्रित मृद्भाण्ड आ लोक संस्कृति झिझिया' शीर्षक आलेखमा उनले यसको साहित्यिक साक्ष्यका रूपमा 'शतपथ ब्राह्मण' ग्रन्थमा प्वालयुक्त घडाको उल्लेख भएको बताएका छन्।
यस प्रकार घटीमा पनि यसको प्रचलन इसापूर्व छैठौं-सातौं शताब्दीदेखि नै रहेको मान्न सकिन्छ।
प्रसिद्ध नाटककार तथा संस्कृतिविद् महेन्द्र मलंगिया पनि भाँड नृत्य वैदिक कालदेखि प्रचलित रहेको बताउँछन्। झिझियासँग जोडिएका तान्त्रिक पाटाहरूलाई समेत दृष्टिगत गर्दा यो निकै प्राचीन रहेको कुरा स्पष्ट हुन्छ।
झिझिया नृत्यको प्रक्रिया र प्रभाव
प्वाले घडा/घैंटाहरूलाई विभिन्न रङले रंग्याएर ती भित्र बलिरहेको दियो राखिन्छ।
झिझियामा घैंटा कतिवटासम्म राख्ने भन्ने कुरा झिझियाका मुख्य नृत्यांगनाको क्षमता र कौशलमा भर पर्छ। सामान्यतया शिरमाथि कपडा बेरेर घैंटा अड्याउने प्रयोजनका लागि बनाइएको 'बिरबा' माथि घैंटो राखिएको हुन्छ र त्यसै घैंटामाथि खप्टिँदै सोही प्रक्रियाले अन्य घैंटाहरू राखिन्छन्।
माथिल्लो घैंटोको मुख थुन्न राखिएको माटोको ढकनीमाथि गुइँठा सल्काएर राखिन्छ। नृत्य सुरू भएपछि त्यसमा मट्टीतेल खन्याउँदै ज्वाला दन्काइन्छ।
नृत्य गर्ने बेला हातले हाउभाउ प्रदर्शित गरिने हुँदा घैंटालाई समाउने अवस्था हुँदैन। तसर्थ हातले नसमातिकनै शिरमाथि घैंटाको सन्तुलन बनाउनुपर्ने हुन्छ।
नाच्ने बेला शिरबाट घैंटो झर्यो या भित्रको दियो निभ्यो भने त्यसलाई अनिष्टसूचक मानिन्छ। अझ घैंटाका प्वालहरू दुष्टात्माले दुरूस्त गन्न भ्याए नृत्यटोलीका सदस्यको कुभलो हुने विश्वासका कारण झिझिया उठाएदेखि सम्बद्ध नृत्यांगनाले अनवरत चलायमान रहँदै नाचिराख्नुपर्छ।
यी कुराहरूमा विचार गर्दा भन्न सकिन्छ – झिझिया गतिशीलता र सन्तुलनको पक्षपोषण गर्ने एक विलक्षण नृत्यकला हो।
झिझिया प्रायः दुई वा दुईभन्दा बढी युवतीले बोकेका हुन्छन्। झिझिया बोकेका मुख्य नृत्यांगना नृत्यटोलीको मध्यभागमा हुन्छन् भने अन्य सहभागीले उनीहरूलाई चारैतिरबाट घेरा हाली नृत्यमा साथ दिन्छन्।
झिझिया बोकेका नृत्यांगना पूर्ण वृत्ताकार तथा अर्द्धवृत्ताकार रूपमा घुम्दै, कमर र जीउडाल लच्काउँदै नृत्य गरिरहेका हुन्छन्। मिथिलाका लोकगीतमा अधिकांशतः महिला वर्गकै सहभागिता र वर्चस्व रहने गरे पनि महिलाप्रधान लोकगीत/लोकनृत्यहरूमा वाद्ययन्त्रहरूको प्रयोग पाइँदैन। त्यसैले व्यावसायिक झिझिया गीतहरूमा सुललित वाद्यवादनको संयोजनसमेत सुन्न पाइए पनि पारम्परिक झिझियामा भने यो पक्ष अनुपस्थित हुन्छ।
नृत्यमा सहभागी अन्य युवती/महिलाहरूले थपडी बजाउँदै दिएको तालकै आधारमा झिझिया नृत्य हुने गर्छ।
तन्त्र-मन्त्र, जादू-टुना, आस्था-विश्वास आदिको समागम यस अनुष्ठानमा झिझिया बोकेपछि नृत्य सुरू भइहाल्छ र झिझियालाई विधिवत सम्पन्न नगरेसम्म नृत्य अनवरत चलिरहन्छ। अर्थात्, झिझिया टोली बाटो हिँड्दा पनि नृत्यमय हुन्छ। त्यसैले सांस्कृतिक अनुसन्धाता शंकरदेव झा यसलाई पथ-नृत्यको संज्ञा दिन्छन्।
यसमा जोडिएका विविध पक्षहरूका आधारमा ग्रामीण जनसमुदायले झिझियाबाट आनन्द, रोमाञ्च र निर्भयता प्राप्त गर्छन्। प्रसिद्ध साहित्यकार तथा संस्कृतिविद् डा. राजेन्द्र विमल झिझियाको प्रभावलाई प्रतीकात्मक रूपमा निकै महत्त्वपूर्ण मान्छन्।
झिझियालाई वैदिक, तान्त्रिक र लौकिक महत्त्वले परिपूर्ण अनुष्ठानको संज्ञा दिँदै डा. विमल भन्छन् – घैंटाभित्र बलेको दियोको प्रकाश फैलिनु भनेको शरीरको रोम-रोमबाट चेतना निस्सरित हुनु हो।
त्यस्तै, सगुन माग्दै घर-घर जाने टोलीको झिझियामाथि बलेको गुइँठामा घरपतिहरूले मट्टीतेल खन्याएर आगो प्रज्ज्वलित पार्ने कुरालाई उनी लोकचेतनाको विकासमा सिंगो समाजको सामूहिक सहभागिताका रूपमा अर्थ्याउँछन्।
पारम्परिक झिझियाको समय
मिथिलाका श्रमजीवी महिला वर्गद्वारा संरक्षण र निरन्तरता पाउँदै आएको आनुष्ठानिक झिझियाको आयोजना विजया दशमीको समयमा हुन्छ।
प्रायः मिथिलाको ग्रामीण क्षेत्रमा के विश्वास रहेको पाइन्छ भने, तन्त्र-मन्त्र तथा जादू-टुनाका लागि नौरथाको समयलाई दुष्टात्माहरूले उर्वर समय मान्छन्। यो बेला उनीहरू आफ्नो तन्त्र-मन्त्र वा मारक क्षमता अभिवृद्धिका लागि विशेष सक्रिय हुन्छन्। त्यसैले नकारात्मक शक्तिको साधना विफल पार्न तन्त्रोक्त विधिबाटै आफूलाई सुरक्षित पारी सामूहिक प्रतिकारमा युवती/महिलाहरू अग्रसर हुन्छन्।
लोकहितका लागि लिइने अग्रसरताको अनुष्ठान झिझिया घटस्थापनादेखि सुरू भई नवमीसम्म चल्छ।
आफ्नो परिवारसहित सकल समाजको मंगलकामनाका साथ नौ दिनसम्म निरन्तर झिझिया खेलिन्छ। अष्टमीको रात टुना-मुना वा नकारात्मक शक्ति विशेष बलशाली हुने विश्वासअनुसार झिझिया-मण्डली गाउँका सुनसान इलाका, बगैँचा, बाँसघारी, गल्ली-चोकहरूमा समेत पुगेर सतर्कतापूर्वक रातभरि झिझिया खेल्छन्।
झिझिया टोलीका सदस्यहरू नाचगानसँगै गाउँ भ्रमण गर्दै झिझियाको पूर्णाहुतिका निम्ति घर-घरबाट दक्षिणा, चामल आदि माग्ने गर्छन्। यो प्रक्रियालाई झिझिया माग्ने भनिन्छ। प्राप्त दक्षिणा लगायतको झिझियाबाट दशमीका दिन धूमधामका साथ भोजभतेर गरी प्रसाद वितरण गरिन्छ। यसरी त्यस वर्षको झिझिया अनुष्ठान सम्पन्न हुन्छ।
झिझिया निर्विघ्नतापूर्वक सम्पन्न हुनु भनेको आगामी वर्षदिन जनजीवन र खेतीपातीका लागि मंगलकारक तथा समृद्धिसूचक मानिन्छ।
वर्षा याममा खेलिने पावस झिझिया
शारदीय नवरात्राको समयबाहेक वर्षा सुरू हुनुभन्दाअघिको समयमा पनि कतै-कतै झिझिया खेलिन्छ। यतिखेरको झिझियालाई पावस झिझिया भनिन्छ।
पावस झिझियामा खेतीपातीका साथै पाल्तु पशुपक्षीहरू सप्रियून् भन्ने कामना निहित हुन्छ। राम्रो खेतीपातीका लागि समयमा र उचित मात्रामा वर्षा होस् भन्ने हेतुले इन्द्रदेवलाई रिझाउन यो झिझिया खेलिन्छ।
शारदीय झिझियामा ब्रह्म र भगवतीको आराधना गर्दै दुष्टशक्ति निस्तेज होस् भन्ने कामनाका गीतहरू गाइन्छन् भने पावस झिझियामा भगवान् इन्द्रलाई गुहार्दै गीत गाइन्छ –
चर सुखल चाँचर सुखल, सुखि गेल भैयाके जिराते हो ना
हाली-हाली बरिसू इन्नर देवता, पानी बिनु पडलै अकाले हो ना
झिझिया खेलैते दैवा अइली दुअरिया, जी भरिके दिह' असीसे हो ना
हाली-हाली बरिसू इन्नर देवता, पानी बिनु जियरा बेहाले हो ना
सामान्यतया वर्षा नभई कृषिकर्म थाल्न नसकिएको खालि समयलाई सिर्जनात्मक र मनोरञ्जक बनाउने हेतुले नै जटजटिन नृत्यजस्तै झिझियाले पनि यस समयमा समेत आयोजना हुने अवसर पाएको हुन सक्छ।
मिथिला, तन्त्र र झिझिया
तन्त्रलाई सामान्यतया जादू-टुनामा सीमित राखेर अन्धविश्वासी र हल्का विषयका रूपमा लिने गरिन्छ। तर तन्त्रशास्त्रका ज्ञाता र प्रयोक्ता मैथिली आध्यात्मिक साहित्यका मनीषी अनन्तविहारी लालदास 'इन्दु' का अनुसार तन्त्र भनेको अन्धकारबाट प्रकाशतर्फ डोर्याउने विद्या हो। यसले मनभित्रको सुषुप्त अनन्तशक्तिलाई आत्मतत्त्वतर्फ उन्मुख गरी विराटता प्रदान गर्छ।
यो विषय कति गहन र विशद् हो भन्ने यथार्थ नेपाल प्रज्ञा प्रतिष्ठानले २०७९ असार २० गते 'तन्त्रविद्या र स्नायु विज्ञानको अन्तर्सम्बन्ध' विषयमा आयोजना गरेको विचार गोष्ठीले छर्लंग्याउँछ।
ज्ञान-विज्ञानको विशिष्ट प्रयोगस्थली मिथिला विगतमा तन्त्रोपासनाका दृष्टिले पनि प्रसिद्ध थियो। काठमाडौं उपत्यकामा मनाइने मुकुण्डो नाच लगायत विविध जात्रा-पर्वका अवसरमा गरिने तान्त्रिक क्रियाकलाप मिथिलाबाटै आएको कुरा शताब्दी वांग्मयपुरुष सत्यमोहन जोशी विविध सांस्कृतिक सन्दर्भमा भन्ने गर्थे।
प्राचीन समयमा आसाम, बंगाल र मिथिला तन्त्र-मन्त्रका दृष्टिले पनि उल्लेख्य थिए। बुढापाकाहरूबीच मोरङ (नेपाल) तथा कामाख्या (आसाम) का तन्त्र-मन्त्र र सिद्धिको कथा अहिले पनि प्रचलित छ। नेपालको मोरङकै समानान्तर भारतीय मिथिला क्षेत्र बेगूसरायतिर 'बहुरा गोढिन' को गाथा प्रचलित छ। उक्त गाथा आसामी तन्त्रलाई निस्तेज पार्ने दिशामा केन्द्रित रहेको पाइन्छ।
साहित्य-संस्कृतिका अध्येता अञ्जय चौधरी (कलकत्ता) आसाम र मिथिलाको तन्त्रबीच सधैं द्वन्द्व रहने गरेको उल्लेख गर्दै मिथिलाको तन्त्र सधैं लोककल्याणकारी रहेको र यसमा संहारक पाटो नभएको बताउँछन्।
मिथिलाका लोकगाथाहरू सलहेस, दीना-भदरी, कमला-कोइला, नैका-बनिजारा आदिमा तन्त्र-मन्त्र र जादू-टुनाका यथेष्ट प्रसंग आउँछन्।
प्राज्ञ भ्रमरले झिझियाको प्रसंगमा पनि तान्त्रिक विधिका ज्ञाता माली तथा मालिनी (फूलको खेती तथा व्यवसायसँग सम्बद्ध जाति) हरू देवीको पूजा-अर्चनामा संलग्न रहने उल्लेख गर्दै प्रारम्भमा उनीहरूकै अग्रसरता र सहभागितामा झिझिया मनाउने गरिएको लेखेका छन्।
संस्कृतिविद् प्रा. नमोनारायण झाले भने लोकनायक सलहेससम्बन्धी एक कार्यपत्रमा सलहेस गाथाका नायिकाहरू रेशमा, कुसमा, दौना मालिनहरू माली जातिका नभई तन्त्रविद्यामा निपुण मालिन सम्प्रदायका भनेका छन्।
वरिष्ठ साहित्यकार डा. राजेन्द्र विमल बौद्ध बज्रयानको प्रभाव मिथिलामा पनि रहेको बताउँदै मालिन प्रसंगलाई बुद्ध धर्मावलम्बीहरूको तन्त्र-मन्त्रमा विश्वास गर्ने बज्रयानी सम्प्रदायसँग जोड्छन्। उनी भिक्षु धर्मगुप्त भन्तेबाट प्राप्त जानकारीका आधारमा बुद्धमूर्तिका लागि माला उपलब्ध गराउने कार्य मैथिल मालिन समुदायले नै गर्ने गरेको बताउँछन्। राजस्थानमा यसैगरी शिरमाथि घैंटा राखी गरिने चरवा वा चरी नृत्यमा पनि माली जातिकै संलग्नता रहेको पाइन्छ।
मिथिला-मधेसमा तन्त्र-मन्त्र तथा टुना-मुना गर्ने महिलालाई डाइन-जोगिन भनिन्छ। वर्तमानमा डाइन-जोगिन भन्नासाथ नकारात्मक छवि उत्पन्न हुन्छ। तर अध्येता चौधरी डाकिनी विद्या र योग विद्यामा निपुणहरूलाई अपभ्रंसका रूपमा डाइन-जोगिन भनिन थालेको धारणा राख्छन्।
उनका अनुसार नकारात्मक शक्ति वा बोक्सीको पर्यायवाचीका रूपमा बुझिने डाइन शब्द कालान्तरमा नकारात्मकताको प्रतीक बन्न गएको हो। पहिले लोककल्याणकै काममा संलग्नहरूमध्यबाटै केहीले तन्त्रबाट प्राप्त शक्तिको दुरूपयोग गर्न थालेपछि यो शब्द नकारात्मक बन्न गएको उनको भनाइ छ।
तर मिथिलाका यज्ञ-अनुष्ठान लगायत विभिन्न चाडपर्वमा बनाइने अरिपन (अल्पना चित्र), विवाहको सुहागकक्षमा बनाइने कोहबरचित्र, श्रीपञ्चमीमा गरिने हलोपूजा, जटजटिन, सामा-चकेवा लगायतका उत्सवमा तन्त्रको लोकस्वरूप अद्यापि प्रचलित रहेको पाइन्छ। त्यसै उपक्रमको एक विशिष्ट आनुष्ठानिक क्रिया झिझिया पनि हो।
झिझिया शिरमा राख्नुअघि तान्त्रिक/धामीले झिझिया नाच्ने महिलाहरूका शरीर मन्त्रले बाँध्ने (सुरक्षित गर्ने) गर्छन्। नाच्ने बेला घैंटाभित्रको दियो निभ्नु या खप्टिएका घैंटाहरू झरेर फुट्नु अनिष्टकारक मानिने हुनाले परस्पर खप्टिइने घैंटाहरूलाई गिलो पिठोले टाँस्ने तथा दियोमा पर्याप्त तेल र बाती राख्नेजस्ता सावधानीहरू अपनाइन्छन्।
त्यसपछि झिझियालाई पनि अभिमन्त्रित गरी नाच्ने महिलाको शिरमा राखिन्छ। यसपूर्व ती महिलाको कपालको जुरोसमेत मन्त्रले बाँधिन्छ। झिझियाको गीतमा यसको चित्रण यसरी पाइन्छ –
तोहरे भरोसे देवी मैया जुडबा बन्हेलियै गे
देवी मैया जुडबापर होइयौ असवार
खेलब ह'म झिझिया
यस प्रकार तन्त्र-मन्त्रबाट समेत सुरक्षित छु भन्ने मनोवैज्ञानिक बल प्राप्त गरेपछि झिझिया टोली कथित बोक्सीको सिद्धि-उपक्रम बिथोल्ने साधन र संयन्त्रका रूपमा झिझिया नृत्यका साथ अगाडि बढ्छन्।
महिला स्वतन्त्रता र उन्मुक्तताको पाटो
प्राचीन मिथिलाका कथामा सीताको पौरूष तथा गार्गी, मैत्रेयी, भारतीको वैदुष्य आदि जुन स्तरमा पाइन्छ, त्यसको आलोकमा यहाँ नारी स्वतन्त्रता कुण्ठित थियो भन्ने आधार खासै देखिन्न। तर कालान्तरमा खासगरी मुगलहरूको आक्रमणपछि मिथिलाका नारीहरू शिथिला भएका देखिन्छन्।
पछि मुगल वर्चस्वबाट मिथिला मुक्त भइसक्दा पनि यसको शास्वत जीवनशैली र चिन्तन-परम्परा लीकमा आउन सकेन। फलतः जातीय, वर्गीय, लिंगीय विभेदका स्वरूपहरू मौलाउँदै गए। यस्तै परिपाटीबीच पनि महिलाहरूले आफ्नै अग्रसरतामा प्रतिरोधी ढंगले नभई सामाजिक प्रवाहसँगै बग्दै आफ्ना लागि आनन्द, उन्मुक्तता र स्वतन्त्रताका पाटाहरू पहिल्याएको पाइन्छ। यसको साक्ष्यका रूपमा हामी मधुश्रावणी, बरिसाइतजस्ता पर्वलाई लिन सक्छौं। तर यी पर्वहरू कथित उच्च तथा सम्भ्रान्त जातिहरूमा सीमित रहे।
खासगरी कृषिकर्मको चटारो भएको समयमा यी अनुष्ठानहरू पर्ने भएकाले पनि हुन सक्छ – यिनमा श्रमजीवी वर्गका महिलाहरू समाहित हुन सकेका देखिँदैनन्।
श्रमजीवी महिला वर्गले खेतीपातीबाट अलि फुर्सदिलो समय दशमीलाई आत्मरञ्जनका निमित्त झिझियाका माध्यमबाट उपयोग गर्न थाले। यसअन्तर्गत प्रचण्ड गर्मीलाई विदा गर्दै आगमन भएको शरदऋतुको सन्ध्या तथा रात्रिकाललाई ग्राम-भ्रमण तथा उन्मुक्त विचरणमा लगाई आध्यात्मिक तथा लौकिक आनन्दमा महिलाहरू रमाउने गर्छन्।
यस्तै नृत्यको केही फरक रूप जटजटिनमा पनि मनोरञ्जक र तान्त्रिक पाटोका साथै वर्षा नभएर कृषिकर्म अगाडि बढ्न नसकेको समयलाई सिर्जनात्मक रूपमा उपयोग गर्ने परिपाटी देख्न सकिन्छ। त्यही समय पावस झिझिया मनाइने प्रसंग माथि आइसकेकै छ।
सबै जाति-वर्गका महिलाको संलग्नतामा हुने आनन्द र उन्मुक्तताको उत्सव सामा-चकेवालाई यसै कोटिको रम्य अनुष्ठानका रूपमा लिन सकिन्छ।
झिझियाको सामयिकीकरण र भविष्य
सरसर्ती हेर्दा झिझिया फगत एउटा नृत्य भए पनि यसमा पाइलैपिच्छे अनेकौं विधानको व्यवस्था र परिपालना निर्दिष्ट हुन्छ।
हालको समयमा झिझियाको पृष्ठभूमिमा रहेको बोक्सी, धामी-झाँक्री तथा टुना-मुनाजस्ता कुरामा विश्वास गर्न सकिन्न। तर अन्धविश्वासै भए पनि आस्थाबाट पृथक भएपछि कुनै पनि परम्परा निस्सार हुन जान्छ।
यस्तोमा हामीले बोक्सीजस्ता कुरालाई समाजको नकारात्मक तत्त्व मान्दै विद्यमान राजनीतिक, सामाजिक, धार्मिक विकृतिहरूमा त्यस्ता नकारात्मकतालाई निरूपित गरी तिनको शुद्धीकरण-कामनाका साथ झिझियालाई निरन्तरता दिनुपर्छ।
लोकप्रियताले खुम्चिएको सिर्जनशीलता
हाल अत्यन्त चर्चित र लोकप्रिय रहेको झिझिया केही दशकअघिसम्म झन्डै अपरिचयको अन्धकारमा डुबिसकेको थियो। एउटा खास झिझियाको गीत रेकर्ड भएर प्रकाशमा आएपछि यसको प्रस्तुतिले विशेष गतिशीलता पाएको देखिन्छ।
मिथिला क्षेत्रमै पनि प्रायः जुनसुकै सांस्कृतिक आयोजन हुँदा त्यसमा एउटा झिझियाको नृत्य अनिवार्यझैं समावेश हुन थालेको छ। नेपालका साथै भारततर्फ पनि यसले नयाँ सिराबाट अवसर र ऊर्जा पाएको त्यही गीतको लोकप्रियतापछि नै हो।
यसरी आजको दिनमा झिझियाले मिथिलाको 'कल्चरल एन्थम' जस्तो स्वरूप ग्रहण गरिसकेको छ। यो अचानक यसरी व्यापक हुनुमा ‘गीत घर–घरके’ नामक क्यासेट-एल्बमको ठूलो भूमिका रह्यो। जनकपुरधामका संगीतकर्मीहरू सुनील मल्लिक, आभास लाभ, अशोक दत्त, रश्मि रानी, सुमन सिंह र प्रवेश मल्लिकको संलग्नतामा मिथि समूहले निकालेको उक्त क्यासेटभित्रको ‘तोहरे भरोसे बढम बाबा झिझरी बनेलियै’ गीतले सफलताको कीर्तिमान रच्यो।
रामनारायण ठाकुरद्वारा संकलित उक्त गीत साँच्चीकै घर-घरको गीत बन्न पुग्यो। त्यसको प्रचण्ड लोकप्रियताको घामले झिझियाको मूल भने सुकाइदियो।
यो एउटा गीत नै जताततैका जमघटमा, मञ्चमा, प्रतियोगितामा नृत्यका लागि प्रयोग हुन थाल्यो। झिझियाका अन्य भाका, भाव, शब्दहरू बटुलेर मौलिक प्रस्तुतितर्फ कलाकारहरू मात्र नभई परम्परागत झिझिया खेल्ने ग्रामीण महिला समुदाय पनि अग्रसर हुन छाडे। फगत कतिसम्म भने, गाउँघरमा विधिविधानपूर्वक गरिने झिझिया नाच पनि त्यही गीत बजाएर गर्न थालियो।
एकपटक सिरहामा आयोजित झिझिया प्रतियोगितामा यो पंक्तिकार निर्णायकका रूपमा सहभागी भएको थियो। त्यहाँ अधिकांश ग्रामीण समूहहरूको सहभागिता थियो। तर प्रस्तुत १५ नृत्यमध्ये दुइटा मात्र सहज ग्राम्य स्वरूपका थिए, बाँकी सबैमा यही गीत बजाएर नाचिएको थियो।
यसरी झिझियाको हरियाली त निकै बढ्यो तर सिर्जनात्मक र जीवनदायी जरा मक्किई पो सक्यो कि भन्ने आशंका उत्पन्न हुन्छ। यो दुखद र विकराल अवस्था हो।
झिझियाको विशिष्टता र व्यापकता जोगाउन पनि कलाकारहरूले यसका अन्यान्य स्वरूपलाई मञ्चमा ल्याउनुपर्छ। स्वयं सुनील मल्लिकहरूले पनि जनतालाई पुरानो गीतको ह्याङओभरबाट मुक्त गर्न झिझियाको नयाँ गीत सिर्जना गर्नुपर्छ।
(लेखक गीतकार तथा संस्कृतिविद् हुन्।)