'फेरि ट्राई हान्ने हो अमेरिका! रहरै हो, जाग्यो। समुद्र नाघ्ने मन लाग्यो। बिदेसिनै परेपछि किन खाडी, मलेसिया जानु? त्यहाँ जान त समस्यै भएन। जतिबेलै जान सकिन्छ। आफ्नै भेगतिरका मान्छेहरूको प्रवृत्ति पछ्याउँदै अमेरिकै छिर्ने हो। चाहे पहाडको पाखो बेच्नु परोस् या तराईको दुई कट्ठा जग्गै फाल्न परोस्। हुँदा खाँदाको व्यवसाय त्याग्न परेनि, पोहोर किनेको नाइट बस सस्तैमा फ्याँक्न परेनि अमेरिकै छिर्ने हो। महिनौं लागोस् कि ज्यानै जोखिममा परोस्! कि छोरो रेलमा, कि छोरो जेलमा!'
यही सोचका साथ उनीहरूको यात्रा आरम्भ भएको थियो।
दाङका दुई, सल्यानका दुई, रोल्पाका तीन, र रूकुम पूर्वका पाँच गरी बाह्र जना।
उनीहरू समूह समूह गर्दै क्यारेबियन क्षेत्रको सेन्ट डोमिनिक अन्तर्राष्ट्रिय विमानस्थलमा थुप्रिए। त्यहाँबाट नेपालका लागि 'डिपोर्ट' (फिर्ता) हुनुअघि उनीहरूबीच चिनजान थिएन। बाटोमै जोडिँदै गए। चिनिँदै गए। तर सबैलाई एकअर्काको गन्तव्य थाहा थियो — सपनाको देश अमेरिका।
अमेरिका छिर्न पहिले पुग्नुपर्ने डोमिनिकन गणतन्त्र। त्यसअघि तान्जानिया।
नेपालबाट कोही अघिल्लो दिन, कोही पछिल्लो दिन, कोही दुई चार दिनपछि दुबई उड्नु तिनको अमेरिका यात्राको 'आगाज' थियो।
खुसीको पहिलो उडान काठमाडौंबाट भएको थियो, दुबईको तीस दिनको भिजिट भिसा लिएर। अधिकांश नयाँ पासपोर्ट बोकेर पहिलोपटक बिदेसिन लागेका उनीहरूमध्ये एक जना मात्र यसअघि विदेश गएका थिए। तीन जनाले त तीन महिनाअगाडि मात्र इ-पासपोर्ट बनाएका। उमेर बीसदेखि अठ्तीस वर्षसम्मका।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शंका लागेर अध्यागमनले केरकार गरेछ।
तर उल्टै 'यत्रो खर्च भइसक्यो, हामीलाई रोक्ने? यो खर्च कसले बेहोर्छ? टिकटको पैसा खेर गए को जिम्मेवार' भन्दै कर्मचारीसँग झर्किए।
'परी आएको आफैं बेहोर्ने' स्वघोषणा गरेर प्रस्थान अनुमति लिएछन्।
यो त आफ्नै देश थियो, कर्मचारीसँग जिद्दी गर्न सकियो। र, जान सहज भयो। सबैतिर यसैगरी त चल्दैन।
यताबाट उडे। चार-पाँच घन्टामा दुबई पुगे। पाँच-छ दिन त्यतै बसे। घुमे। दुबईबाट तान्जानिया जाने बन्दोबस्त मिलाए। स्थानीय एजेन्टले डोमिनिकन रिपब्लिकमा पानीजहाजमा काम गर्ने भनेर सिम्यान कार्ड एक-एकवटा हातमा थमाइदियो।
सपनाको एक पाइला थप नजिक पुगेकोमा एक तह खुसीको पनि थपियो। दुबईको गर्मीमा पनि शीतल महसुस भयो।
तान्जानियाको दार-एस-सलाम विमानस्थल पुगे। नेपालीलाई अन-अराइभल भिसा रहेछ। तीन महिनाको भिसा लिए। तीन हप्ताजति बसे। स्पेनको मड्रिड हुँदै डोमिनिकन रिपब्लिक छिर्ने योजना बुने। मड्रिड जान कतारको दोहा जानुपर्ने, गए। भोलिपल्ट दोहाबाट स्पेनको मड्रिड पुगे।
मड्रिडबाट डोमिनिकन गणतन्त्रको राजधानीको सेन्ट डोमिनिक अन्तर्राष्ट्रिय विमानस्थल पुगे। सबै ठाउँमा सजिलै कहाँ छिर्न पाइन्थ्यो र? त्यहाँ नेपालको अध्यागमनभन्दा चर्को केरकार भयो। दुई दिन राख्यो। बुझ्नुपर्ने बुझ्यो। अन्तिममा डोमिनिकन रिपब्लिकको लागि 'लो-प्रोफाइल' भनेर आफ्नै देशमा फिर्ता पठाइदिने भयो।
कोहीकोहीले अन्तिम जुक्ति निकाले।
देशमा फर्किन जातीय, राजनीतिक कारणले जोखिम रहेको देखाउँदै आफ्नो मानव अधिकारको रक्षा गरी पाऊँ भनी स्पेनको शरणमा पर्न 'एसाइलम' दाबी गरे। दाबीका आधार पुगेनन्। उनीहरूको अर्जी अस्वीकृत भयो।
करिब एक महिना ठाउँठाउँ भौंतारिएर अन्तिममा प्रस्थान बिन्दु काठमाडौंमै आइपुगे।
खुसी शून्यमा झर्यो।
खर्चको खर्च। झन्झटको झन्झट।
तर कतार एअरवेजले दिएको लो-प्रोफाइलका इन-एडमिसेबल प्यासेन्जर्सको पत्रसहित नेपाल फर्किँदा उनीहरूमा रत्तिभर पश्चाताप भएको आभास पाइएन।
कथाव्यथा सबैको लामो छ।
सपनै ठूलो देखेपछि दुःख ठूलो हुने नै भयो। खर्च पनि ठूलै गर्नुपर्यो। पन्ध्र सोह्र लाख। तर पनि हाँसो हराएको छैन। कसले कसरी पठायो भन्नै चाहँदैनन्। खर्चको हिसाबकिताब पनि गर्नु छैन। न कहीँ गुनासो गर्नु छ। न कसैप्रति आवेश देखिएको छ।
तर सबैको मनसाय के चाहिँ प्रस्ट छ भने — यत्रो खर्च त भयो। एकपटक फेरि 'ट्राई' हान्ने हो अमेरिका!
अबको रूट चाहिँ कुन हुन्छ? थाहा छैन!
ऋणको भारी बोक्न क्रोएसिया पुगेका दिदीबहिनी
पूर्व भोजपुरतिरका दुई दिदीबहिनी उन्नति र सुनती (नाम परिवर्तन) समेतलाई बोकेर एकदिन पश्चिमतिरबाट आएको फ्लाई दुबईको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भयो। सयौं यात्रुको भीडमा उनीहरू अरूभन्दा फरक थिए।
यात्रुको प्रस्थान बिन्दु हुन्छ, गन्तव्य हुन्छ। उनीहरू भने क्रोएसिया गन्तव्य बनाएर उडेका तर गन्तव्यसम्म पुग्न नपाई प्रस्थान बिन्दुमै फर्किएका थिए। अझ भनौं गन्तव्यसम्म पुग्न पाएका, छिर्न नपाएका यात्रु।
कसरी त्यस्तो भयो त?
देशमा बस्न ती दिदीबहिनीलाई मन भएन। दिदी काठमाडौं र बहिनी भोजपुरमै बसेर गृहिणीको जिम्मेवारी पूरा गर्दै व्यापार-व्यवसाय पनि गरेर घरखर्च टारेकै थिए। जिन्दगी कठिनै त थिएन। तर पनि यसअघि क्रोएसिया गएका साथीहरूको सिको गर्दै तिनलाई पनि उतै जाऊँ जाऊँ लाग्यो। तिनकै पाइला पछ्याए।
काठमाडौंमै बसेर बिदेसिने तयारी थाले।
क्रोएसियाको डुब्रोभ्निक भेरिटास डि.ओ.ओ. कम्पनीको सम्पर्कमा पुगे। रोजगारीको कुरा भयो। अलिअलि तालिम लिए। असिन्टेन्ट वेट्रेस बनेर सिजनल वर्करको रूपमा काम गर्न बोलायो कम्पनीले। बस्ने-खाने व्यवस्थासहित मासिक छ सय युरो तलब दिने सम्झौता भयो। नेपाली करिब चौरासी हजार रूपैयाँ।
कम्पनीले सम्झौता लगायत चाहिने कागजात पठाइदियो। अब चाहियो भिसा। भिसा लगाउने व्यवस्था नेपालमा छैन। भारतको नयाँ दिल्ली पुग्नुपर्ने भयो। हप्तौंको प्रयासपछि तेइस दिनको भिसा लाग्यो। नेपाल फर्किए।
काम गर्न जान श्रम स्वीकृति चाहिने भयो। अरू केही दिन लाग्यो श्रम स्वीकृति लिन। श्रम चाहिँ संस्थागत गरेनन्, व्यक्तिगत गरे।
उनीहरूजस्तै अरू दर्जनौं मान्छेको प्रक्रिया चाहिँ सबै म्यानपावरले गरिदियो। युरोप जाने सपना पूरा हुँदै थियो। हवाई टिकटको व्यवस्था गरे। यतिञ्जेल खर्चको ग्राफ एघार लाख रूपैयाँ कटिसकेको थियो। अनेकतिर ऋणदान गरेर जुटाए।
आखिरमा एकदिन नेपालबाट दुबई उडे। दस घन्टा ट्रान्जिटमा बसेर गणतन्त्र क्रोएसियाको राजधानीमा रहेको जाग्रेब विमानस्थलमा ओर्लिए।
जाग्रेब विमानस्थल पुग्नुअघि नै सम्बन्धित रोजगारदाता कम्पनीको रायको आधारमा उनीहरूको भिसा खारेज भइसकेको रहेछ। पासपोर्टमा 'अराइभल' को छाप लाग्नुपर्ने, अध्यागमनले भिसामै 'एबोलिस्ड' अर्थात 'खारेज' को ठप्पा लगाइदियो।
कम्पनीमा काम गर्न आवश्यक सिटभन्दा धेरै भिसा जारी भएको रहेछ। आवश्यक कोटा यसअघि गएका अरू मान्छेबाट पूर्ति भइसकेछ। उनीहरू ढिलो गए। कम्पनीले कोटा पूर्ति भएको जानकारी अध्यागमनलाई गरेछ। अध्यागमनले छिर्न दिएन। कम्पनीले कुरा गर्न चाहेन।
दुई दिन एअरपोर्टकै 'डिटेन्सन' कक्षमा राखियो। अलिकति ढोका खोलेर खाना दिने। बाहिरबाट ढोका लगाइदिने। राम्रो व्यवहार नगर्ने। जेलजस्तो 'डिटेन्सन'।
दुई दिन 'डिटेन्सन' मा बसेपछि नेपाल पठाइदियो। चार महिना लगाएर गएका मान्छे चार दिनमै फर्किए। फर्किँदा 'टिकटबापत लाग्ने सतासी हजार नेपाली रूपैयाँ सम्बन्धित व्यक्तिबाटै असूल गर्ने' भनी लेखेर 'डिपोर्ट लेटर' थमाइदियो। सपना यसरी चकनाचुर भयो, मानौं उनीहरू केबल बाह्र लाखको ऋणको भारी बोक्न क्रोएसिया पुगेका हुन्।
खत्तम रहेछ रसियाको 'पोलिसी'
हल्का पानी पर्दै थियो। बालुवाटारस्थित रसियन दूतावासको अग्लो पर्खाल बाहिर मारामार लाइन थियो। लाइनमा रसियाको भिजिट भिसा लिन 'इन्टरभ्यु' दिनेहरू। रसिया जाने लहड चलेको थियो सहरमा।
त्यही लाइनमा भेटिए धादिङ कटुन्जेका एक, काभ्रे पनौतीका एक, दोलखा मेलुङका एक र रामेछाप दोरम्बाका एक गरी चार जना। अनेक तिरबाट आइडिया लिँदै व्यक्तिगत पहलमै यहाँसम्म पुगेका ती चारै जनाको भिसा लाग्यो।
अठ्ठाइस दिनको भिसा लाग्यो। सकेसम्म चाँडो जानुपर्यो। तयारी थाले। होटल बुक गरे। आउजाउको टिकट काटे। एकै दिन दुई जना बिहानको र दुई जना साँझको फ्लाइटमा उडे मस्को। दुबईमा ट्रान्जिटको समय कमबेसी भएर दुवै टोली सँगसँगै जसो मस्को पुगेँ।
मस्कोमा रसियाको बोर्डर गार्ड सर्भिसले उनीहरूलाई प्रवेश दिएन। सोधपुछ गर्न एउटा बन्द कोठामा राख्यो।
एकछिनमा त्यहाँको प्रहरी आएर 'स्ट्यान्ड-अप' भन्यो, उनीहरू उठे। 'सिट-डाउन' भन्यो, बसे।
होटल बुकिङ खोज्यो, देखाए। किन आएको भनेर सोधे, घुम्न भने।
अरू केही सोधेन। एकअर्काको भाषै राम्ररी नबुझे पनि टुटेफुटे अंग्रेजीमै काम चलाए।
कागजात ठीक नभएको पनि होइन। रसियाको वैध भिसा पनि छ। डकुमेन्ट पनि आफ्नै हुन्, अरूका होइनन्। गलत वा नक्कली पनि होइनन्। दस घन्टा 'होल्ड' गर्यो। अनि फर्काइदियो।
त्यहाँको बोर्डर गार्ड सर्भिसले नेपालको अध्यागमनलाई पठाएको पत्रमा लेखिएको छ — अन्य कारण।
चिठी, पासपोर्ट र कागजात एउटा खाममा राखे। उनीहरूलाई सुरूमै प्लेनमा ल्याएर छाडे। डकुमेन्ट एअर अरेबियाको स्टाफको हातमा बुझाइदिए।
काठमाडौंबाट उडेको साठी घन्टामा डिपोर्ट भएर काठमाडौंमै ओर्लिएपछि भन्दै थिए — खत्तम रहेछ रसियाको पोलिसी! मन लागेका मान्छेलाई छिराउने, मन नलागे नछिराउने। त्यहाँ नेपालबाट गएका अरू पनि देखिन्थे। अरू देशबाट पनि आएका थिए नेपालीहरू। रसियन आर्मीमा भर्ना हुने उद्देश्यका साथ क्यामरून, बंगलादेश, भारतसहित अरू धेरै देशका मान्छेहरू भिजिटमै आइरहेका थिए।
सरकारले सेनामा भर्ना हुन रसिया नजानू भन्छ। अध्यागमनले कडाइ गर्छ। त्यसका बाबजुद उताको सेनामा छिरेर करिअर बनाउने सुनौलो अवसर छ। उनीहरूले सुनेका छन्— दुई हजार जति नेपालीले भर्ना पाइसके अरे!
तर करिब पाँच लाख रूपैयाँ खर्चिएर सपना अधुरै रहेका उनीहरू भन्छन्, 'ऋण त तिर्नैपर्यो। खाडी भए पनि जाने हो। देशमा बसेर के गर्नु?'
नेपाल राम्ररी छिर्न पाएका छैनन् उनीहरू, जहाँ भए पनि बिदेसिने योजना बनाइसके।
डिपोर्टको प्रवृत्ति यस्तो
युवाहरू बस्नै चाहँदैनन् देशमा। अध्ययन गर्न बिदेसिने युवाको बाटो बेग्लै छ। काम गर्न जानेको बेग्लै। तर तयारी शून्य, महत्वाकांक्षा ठूला ठूला राखेर जोखिम मोलेर बिदेसिनेहरूको शैली झन् डरलाग्दो छ। अब खाडी, मलेसिया जस्ता परम्परागत गन्तव्य मुलुकमा रूचि घटिसक्यो। श्रम गरेर जानेको संख्या घट्दैछ। बरू भिजिट भिसामा जाने, काम गरेर बस्ने प्रवृत्ति मौलाउँदो छ।
त्यसका लागि जापान, अमेरिका, न्युजिल्यान्ड, मेक्सिको र रोमानिया, मोल्डोभा जस्ता युरोपका देशहरू नयाँ रोजाइ बन्दैछन्। जापानको पन्ध्र दिने र रसियाको तीस दिने भिजिट भिसा — अजरवैजान, न्युजिल्यान्ड, क्रोएसिया, ब्राजिलका भिसा लगाउन जे जति गर्न मन्जुर हुन्छन्।
युवाहरू ती देशका विमानस्थलसम्म पनि पुग्छन् तर कैयौं प्रवेश नपाएर डिपोर्ट भई फर्किन्छन्। कसैको जाँदाजाँदै भिसा खारेज भएर, कोही 'लो-प्रोफाइल' भनेर। कोही भिसामा सामान्य 'अल्फाबेट' नमिलेर। कोही भ्रमणको उद्देश्य नमिलेर। कोही अन्य अन्य कारणले।
सन् २०२३ को सुरूआती नौ महिनामा रोजगारीका लागि विदेश गएका तीन सय ९८ जना, भिजिटमा गएका तीन सय ५८ जना र परिवार/नाता सम्बन्ध भिसामा गएका एक सय एक जना गरी एक हजार एक सय २२ जना डिपोर्ट भएर आए।
'डिपोर्टी' मध्ये एक सय ५८ जना अर्थात चौध प्रतिशत महिला छन्। सबभन्दा बढी महिला फर्किने पाँच देशमा युएई, कुवेत, साइप्रस, मलेसिया र जापान छन्।
सुनौलो सपना देखेर बिदेसिएका नेपाली युवाहरू दुई-चारवटा देशबाट होइन, पैंतीस देशबाट फर्काइएका छन्।
सबभन्दा बढी युएईबाट एक सय ७१ जना। मलेसियाबाट एक सय २६ जना। साउदी अरबबाट ९७ जना। टर्कीबाट ८८ जना। दक्षिण कोरियाबाट ८० र जापानबाट ७७ जना। रसियाबाट ५६, रोमानिया र साइप्रसबाट ३६-३६ जना। यस्तै गरी अन्य देशबाट पनि।
डिपोर्ट हुनेहरू जाँदै जोखिम मोलेर दुविधा भईभई जाने भएकाले जाने बेला तिनको तामझाम हुँदैन। डिपोर्ट भई फर्किँदा स्वागत गर्न विमानस्थलमा आफन्तको भीड हुने पनि कुरै भएन।
बस, गयो, आयो!
कसरी आयो भनी सोध्दा जवाफ आउँछ — यसपालि डिपोर्ट भयो, आयो!
बरू विमानस्थलमा झर्नासाथ अध्यागमनमा उनीहरूको एक मात्र जिज्ञासा हुन्छ — हामीलाई फेरि जान समस्या त हुँदैन नि सर? अर्कै रूटबाट भए पनि जान त पाइन्छ नि!
(लेखक गोकर्णप्रसाद उपाध्याय वरिष्ठ अध्यागमन अधिकृत हुन्।)
(गोकर्णप्रसाद उपाध्यायका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुस्)