म्याक्स शुल्म्यान नामक अमेरिकी लेखकको एउटा विख्यात कथा छ — लभ इज अ फ्यालेसी।
त्यसमा उनले मानिसले गर्ने तर्कहरूमा पाइने आठ किसिमका भ्रान्तिहरूलाई उदाहरणसहित व्याख्या गरेका छन्।
नेपालीमा तिनको सरल व्याख्या हेर्न यो भिडिओ लिंकमा क्लिक गर्नुहोस्।
तीमध्ये एउटा छ — पोइजनिङ द वेल।
अर्थात् कसैले पिउन नपाउँदै कुवाको पानीमा विष मिसाइदिनु ताकि त्यो कसैलाई काम नलागोस्। अथवा पानीको मूल यसरी धमिल्याइदिने, कसैले पिउन नसकोस्।
तर्कशास्त्रमा यो धेरै पुरानो हतियार हो जहाँ विशुद्ध तर्कले नजित्ने जस्तो अवस्थामा एक पक्षले अर्को पक्षको इमान वा निष्ठामा प्रश्न उठाएर तर्कवितर्कमा प्रवेशै गर्दैन थियो। तर सामाजिक सञ्जालको विकाससँगै व्यक्तिको निन्दा र चरित्रहत्या सहज भएपछि यो भ्रान्तिको फैलावट र प्रयोग निकै व्यापक बनेको छ।
त्यस्तै भ्रान्तिको एउटा उदाहरण हो — फरक मत राख्ने मानिसलाई 'डलरवादी' को बिल्ला भिराउनु।
एउटा वादविवादको उदाहरण हेरौं।
परिदृश्य १
पक्ष १ः समलिंगी विवाह वैध हुनुपर्छ किनकि कानुनले कसैमाथि विभेद गर्नु हुँदैन। म विवाहमा कानुनी समानताको समर्थन गर्छु।
पक्ष २ः समलिंगी विवाहले समाजमा विकृति बढाउँछ, हाम्रो परम्पराको प्रतिकूल पनि छ। त्यसैले म यसको विरोध गर्छु।
पक्ष १ः हाम्रो परम्परामा कुनै बेला सतीप्रथा थियो, हामीले छाड्यौं। विधवा विवाह वर्जित थियो, हामीले सुरू गर्यौं। त्यस्ता धेरै कुरा पछि छाड्दै अघि बढ्दै जानुपर्छ।
पक्ष २ः तर समलिंगी बिहे भयो भने त्यो जोडीबाट बच्चा जन्मिन सक्दैन। त्यसैले त्यस्तो बिहेलाई कानुनी मान्यता दिनु हुँदैन।
पक्ष १ः उसो भए अनिच्छा वा बाँझोपनका कारण बच्चा नहुने यो देशका सबै मानिसको बिहे रद्द गर्नुपर्ला नि?
पक्ष २ः त्यो त अर्कै कुरा भयो। समलिंगी बिहे भनेको अप्राकृतिक कुरा हो।
पक्ष १ः प्रकृतिमा यस्ता कति जीवहरू छन् जसको एउटै शरीरमा पुलिंगी र स्त्रीलिंगी अंग हुन्छन्। अरू केही जीवहरू जीवनकालको एक खण्डमा पुलिंगी हुन्छन् र अर्कोमा स्त्रीलिंगी। उही लिंगी जीवहरूबीचको यौनक्रिया त १५ सयभन्दा बढी प्रजातिहरूमा भेटिइसकेकै छ। तीमध्ये ६३ प्रजातिका पुलिंगी र ७१ प्रजातिका स्त्रीलिंगी स्तनधारी जीवहरूमा समलिंगी सम्बन्ध भेटिइसकेको छ। मानिसले नभेटेका त्यस्ता जीव कति छन्, कसैलाई थाहा छैन। त्यसैले मानिसमा यस्तै चाहिँ प्राकृतिक हो, यस्तो होइन भनेर व्याख्या गर्ने तिमी वा म को हौं?
पक्ष २ः जेसुकै भए पनि म समलिंगी बिहे मान्दिनँ।
पक्ष १ः तिमीलाई कसैले समलिंगी बिहे गर भनेकै छैन। अरू कसैले त्यसो गरेको अवस्थामा यो देशको कानुनले त्यो बिहेलाई मान्यता दिने वा नदिने, त्यस्तो बिहे गरेकैमा उसलाई अरू नागरिकहरूले पाउने अधिकारहरूबाट बञ्चित गर्न राज्यले पाउने वा नपाउने भनेर जनमत संग्रह भयो भने तिमी कता भोट हाल्छौ?
परिदृश्य २
पक्ष १ः समलिंगी विवाह वैध हुनुपर्छ किनकि कानुनले कसैमाथि विभेद गर्नु हुँदैन। म विवाहमा कानुनी समानताको समर्थन गर्छु।
पक्ष २ः यो पश्चिमाहरूले हामीमाथि लादेको कृत्रिम एजेन्डा हो। तिमी डलरवादी हौ, त्यसैले समर्थन गर्छौ, त्यो कुनै अनौठो कुरा भएन। म त कुनै पनि हालतमा यो देशमा समलिंगी विवाहलाई मान्यता दिन्नँ किनकि मलाई डलर खानु पनि छैन, समाज भाँड्नु पनि छैन, तिमीसित बहस गर्नु पनि छैन।
बहस समाप्त। तिक्तता र निन्दा सुरू।
अहिले अवस्था कस्तो बनिसकेको छ भने, महिला अधिकारको कुरा कसैले गर्छ भने ऊ डलरवादी। आदिवासी जनजातिको कुरा गर्ने पनि डलरवादी। दलित अधिकारको कुरा गर्ने पनि डलरवादी। मानव अधिकार वा न्यायको विषय उठाउने पनि डलरवादी। वातावरण विनाशको विरोध गर्ने र पर्यावरण रक्षाका मुद्दा उठाउने विकासविरोधी र डलरवादी। यौनिक र लैंगिक अल्पसंख्यकका अधिकारहरूको कुरा गर्ने त खाँटी डलरवादी!
हुँदाहुँदै आफूसित सहमत नहुने, तर्कवितर्क गर्ने सबै डलरवादी!
आखिर कसरी स्थापित भयो यो भाष्य नेपालमा?
यो प्रश्नमा म लामो समयदेखि चिन्तनरत थिएँ। केही समयअगाडि भारतका विद्वान पत्रकार पी सैनाथले गरेको यस्तो भाष्य निर्माणबारे व्याख्या मलाई निकै रोचक र सान्दर्भिक लाग्यो।
कारण — भारत र नेपालमा अरूलाई डलरवादी भएको आरोप लगाउने एकै किसिमका मानिसहरू हुन्। अनि दुवै समाजमा ती आरोप खेप्ने मानिसहरू पनि लगभग एकै किसिमका।
सैनाथ भन्छन् — मानिसको स्वतन्त्रता र मुक्तिका अनेक बहस भारतीय उपमहाद्वीपमा हजारौं वर्षदेखि थिए। तर जब अंग्रेजले भारत जिते, इतिहासमा त्यो लेख्न जरूरी ठानेनन्। उनीहरूलाई यो लेख्न सुविधा भयो कि, पिछडिएको भारतमा समानता, न्याय, मानव अधिकारजस्ता प्रबोधन युग (इनलाइटनमेन्ट) का अवधारणा अंग्रेजहरूले बेलायतबाट ल्याएका हुन्। बेलायत यहाँ आउनुअगाडि त यहाँ बर्बरता सिवाय केही थिएन।
भारतमा हिन्दु राष्ट्रको वकालत गर्ने राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) जस्ता संस्थाले अंग्रेजहरूको त्यो भाष्यलाई अर्को उचाइमा पुर्याइदिए। कारण — उनीहरूलाई मनुस्मृतिमा आधारित वर्णव्यवस्था अनुसारको भारतमा जानु थियो, जातव्यवस्थाको परम्परागत तहीकरणलाई संस्थागत गर्नु थियो। समानता, न्याय र स्वतन्त्रता जस्ता अवाधारणाको त्यहाँ कुनै ठाउँ थिएन।
त्यसैले तिनले रटान लगाइरहे — यी सबै पश्चिमबाट आयातीत कुराहरू हुन्।
भारतको संविधान यस्तै आयातीत अवधारणाहरूको संग्रह हो भन्ने उनीहरूको जिकिर सधैंभरि छ। जबकि यथार्थ त्यसभन्दा १८० डिग्रीले फरक थियो। भारतमाथि उपनिवेश लादेको बेलायतमा सत्रौं शताब्दीदेखि नै कुनै न कुनै रूपमा चुनावहरू भइरहे पनि र सन् १८०२ मै पहिलो आमचुनाव भए पनि, सन् १९२८ मा आएर मात्रै महिलाले पुरूषसरह मताधिकार पाएका थिए।
सन् १७८८–८९ मा पहिलो राष्ट्रपतिय चुनाव गराएको अमेरिकाले १९२० पछि मात्रै महिलालाई मत हाल्ने अधिकार दिएको थियो। अश्वेत महिलाहरूले त अमेरिकाको सिभिल राइट्स आन्दोलनको बलमा सन् १९६५ मा मत अधिकार कानुन जारी भएपछि बल्ल व्यवहारतः मत हाल्ने अवस्था बनेको थियो।
जबकि त्यसअगाडि नै भारतको संविधानले कुनै लिंग, जात, रङ, नश्ल, आदिका आधारमा भेदभाव नगरी मत हाल्ने व्यवस्था गरिसकेको थियो।
त्यस्तै दोस्रो विश्वयुद्धपछि संयुक्त राष्ट्रसंघको स्थापनाकालमा मानव अधिकारको विश्वव्यापी घोषणापत्र बन्दा सुरूमा त्यसको भाषामा 'अल मेन आर बर्न फ्री एन्ड इक्वल' भन्ने परेकामा त्यसलाई 'अल ह्युमन बिइङ्स आर बर्न फ्री एन्ड इक्वल' बनाउनमा भारतीय प्रतिनिधि महिलावादी अभियन्ता हंसा मेहता जिम्मेवार थिइन्।
जुन बेला पश्चिम र मध्यपूर्वका मानिसहरू दशौं लाखको ज्यान जाने गरी चार सय वर्ष लामा 'क्रुसेड्स' नामक रक्तपातपूर्ण लडाइँ लड्दै थिए, त्यही बेला भारतीय उपमहाद्वीपमा असाधारण बहुलताबीच फरक संस्कृतिका मानिसहरू एकअर्कासित मिलेर बाँच्न अभ्यस्त थिए। त्यसैले बहुल समाजको निर्माण आयातीत धारणा हो भन्ने पनि अर्को झुटा कुरा हो।
यसबाट के देखिन्छ भने, कुन कुरा भारत वा नेपालजस्ता देशको मौलिक र कुन चाहिँ आयातीत भन्ने कुरा जहिले पनि ऐतिहासिक तथ्यसित कम र यो बहसमा भाग लिनेहरूको भविष्यप्रतिको योजनासित बढी जोडिएका छन्।
जस्तो कि, भारतको स्वतन्त्रताका बेला त्यहाँ कांग्रेसको जगजगी थियो भने राष्ट्रिय स्वयंसेवक संघ लगायतका हिन्दुत्ववादीहरूको अवस्था कमजोर थियो।
यसका मुख्य दुई कारण थिए।
एक, हिन्दु राष्ट्रका पिता मानिने भिडी सावरकर नाशिकका कलेक्टरको हत्याका लागि जेल परेका बेला अंग्रेजहरूसित दयाको याचना गर्दै कम्तीमा सात वटा याचिका दायर गरेपछि सन् १९२४ मा छुटेर अंग्रेजको विरोध गर्न बन्द गरेका थिए। स्वतन्त्रता संग्रामभन्दा आरएसएसजस्ता संस्था घोषित रूपमै अलग थिए।
अर्को, महात्मा गान्धीका हत्यारा नाथुराम गोड्सेसित सावरकरको सम्बन्ध उनको जीवनकालमा खुला रहस्यजस्तै थियो। तर १९६६ मा उनको मृत्यु भएलगत्तै नाथुरामका सहयोगी भाइ गोपाल गोड्सेले आत्मकथामा त्यो सम्बन्धलाई खुलस्त बनाइदिएका थिए।
यसरी नयाँ धर्म निरपेक्ष गणतन्त्र भारत सिर्जनामा हिन्दुत्ववादीहरूको भूमिका नभएको मात्रै होइन कि, सिंगो स्वतन्त्रता संग्रामका प्रमुख सेनानीको हत्यासित उनीहरू जोडिएका थिए। त्यसैले नयाँ भारतमा आफ्नो भनेर दाबी गर्न मिल्ने र यस्तो भविष्य बनाउँछौं भनेर आम भारतीयहरूलाई सपना देखाउन मिल्ने असाध्यै कम कुरा थिए उनीहरूसित।
त्यसैले नयाँ र स्वतन्त्र भारतमा आफ्नो भूमिका खोज्ने क्रममा उनीहरूले भाष्य सिर्जना गरे — कांग्रेसको नेतृत्वमा संविधानमा जे लेखियो, त्यो सारा आयातीत हो, हाम्रो मौलिक होइन। त्यसैले अब त्यसलाई भत्काउनुपर्छ र हाम्रो मौलिकताअ नुसारको हिन्दुराष्ट्र सिर्जना गर्नुपर्छ। धर्म निरपेक्षता, समावेशिता र बहुलताजस्ता 'पश्चिमा' अवधारणाहरूलाई उखेलेर फाल्नुपर्छ।
त्यो परियोजनामा उनीहरू तत्काल त सफल भएनन् र स्वतन्त्रतापछिको झन्डै चार दशकसम्म भारतमा कांग्रेसले एकछत्र जस्तै राज गर्यो। तर सन् १९९० को दशकमा भने राम जन्मभूमिको मुद्दामार्फत मानिसहरूको ध्रुवीकरण तीव्र पारेर उनीहरू आफ्नो भाष्यलाई भारतीय समाजमा बलियोसँग स्थापित गर्न सफल भए। त्यही भाष्यले सिर्जेको उभारलाई भजाउँदै सन् २०१४ मा नरेन्द्र मोदी भाजपाको एकलौटी बहुमतसहित भारतको सत्तामा पुगे।
त्यस यता 'मौलिक' भारतीय मूल्यसहितको देश बनाउने जस्तो अभ्यासमा मोदी सरकार लागेको छ, त्यो हाम्रासामु जगजाहेरै छ।
यसरी भारतको छद्म–मौलिकतावादी वा कथित पश्चिमाविरोधी वा डलरवादविरोधी भाष्यले इतिहा पुनर्लेखन मात्र गरेन, एउटा बिल्कुल फरक किसिमको भविष्यसमेत सिर्जना गर्यो।
स्वभावतः नेपाल भारतझैं अंग्रेजहरूको उपनिवेश बनेन। तर पनि आर्थिक, शैक्षिक, सांस्कृतिक लगायत धेरै हिसाबले बेलायती उपनिवेशको प्रभावबाट नेपाल अछुतो रहेन। बेलायतपछि विश्वशक्ति बनेको अमेरिकाको त्यस खाले प्रभाव पनि नेपालमा स्वभावतः पर्यो।
यो अवस्थामा धेरै भूतप्रेमी नेपालीहरूलाई लाग्छ — नेपाल त उही ठीक थियो जहाँ रैतीहरूले राजालाई भगवान विष्णुको अवतार मान्थे। सबै खाले मानिसहरू आफ्नै थान्कोमा बस्थे। राज्यले बोल भनेको भाषा बोल्थे, मान भनेको चाड मान्थे, लगाऊ भनेको पोशाक लाउँथे। नबोल भनेको भाषा, नमान भनेको चाड र नलगाऊ भनेको पोशाक बिर्सिन्थे।
ऊ बेला नेपाल गजब थियो भन्ने तर्कमै टेकेकाले उनीहरू भन्छन् — नेपाल अब जानु पर्ने पनि त्यतै हो। अनि यो पनि दाबी गर्छन्, त्यता नजाँदा त समाज र देश बर्बादै हुन्छ।
१९५० दशकको आरएसएसलाई जस्तै उनीहरूलाई पनि थाहा छ — अहिलेको परिपाटी बदलिएर समाज त्यतापट्टि नजाँदासम्म उनीहरूको आफ्नै औचित्य र भविष्य छैन।
तर उनीहरू भन्छन्, देशको भविष्य छैन!
भूततिरको त्यो यात्राको औचित्यबारे जजसले प्रश्न उठाउँछन्, तिनलाई उनीहरू भन्छन् — डलरवादी।
जुन दिन हामीले यस्तो भाष्य विगतमा पूर्व वा पश्चिममा कस्ता अवधारणाहरू मौलिक रूपमा सिर्जना भए भन्नेभन्दा निकै फरक हो र हाम्रो भविष्यलाई प्रभावित गर्ने गम्भीर प्रयास हो भन्ने बुझ्छौं र बुझाउँछौं, यो भत्किन थाल्छ।
मानिसहरू अहिलेको अवस्थाप्रति असन्तुष्ट होलान्, तर जन्मैले कोही सानो र ठूलो हुने, कोही राजा र रैती हुने भविष्य आज कसैको कल्पनामा पनि छैन। त्यस्तै धर्म, आस्था, लैंगिकता, आदिका आधारमा राज्यले नागरिकको तहीकरण र विभेद गर्ने अवस्था आओस् भन्ने पनि आम मानिसको चाहना हुँदैन। तर स्वाभाविक लाग्ने यिनै कुरा स्थापित गर्न पनि समाजमा स्वस्थ बहस र मन्थन भने अनिवार्य छ।
लेखको सुरूतिर मैले राखेको पहिलो संवाद मैले नयाँ पुस्ताका एक युवासित गरेको वास्तविक संवाद हो।
एन्ड्रयु टेटजस्ता महिलाद्वेषी 'इन्फ्लुएन्सर' बाट प्रभावित उनी कसै गरी आफ्नो तर्कबाट टसको मस नभएपछि मैले भनेँ — आफूले कस्तो बिहे गर्ने भन्ने तिम्रो छनौट हो। तर अरूले यस्तै बिहे गर्नुपर्छ, होइन भने कानुनी मान्यता दिनु हुँदैन भन्ने अधिनायकवादी सोच हो। त्यस्तो सोचले युगान्डाको जस्तो अवस्थामा पुर्याउँछ जहाँका सांसदले धेरै वर्षपहिले समलिंगी सम्बन्धलाई अवैध मान्ने कानुन बनाएपछि यसपालि त्यस्तो सम्बन्धका लागि मृत्युदण्डसम्म दिने नयाँ कानुन बनाएका छन्। के समाजमा बहुसंख्यकलाई गलत लाग्ने सम्बन्ध राखेकैमा अल्पसंख्यकलाई मृत्युदण्ड दिने व्यवस्था तिमीलाई ठीक लाग्छ?
उनीसित मेरो यो बहस अझै टुंगिएको छैन। किनकि हाम्राबीच अझै एकले अर्कालाई डलरवादी भन्ने भाष्य प्रवेश गरेको छैन। तपाईंहरूलाई पनि मेरो यही सल्लाह छ — जमेर बहस गरौं, कुरा गर्नुअगाडि नै तिमी 'फलानोवादी, ढिस्कानोपन्थी' भन्दै मूल धमिल्याउने काम नगरौं। स्वस्थ बहसले अझै पनि समाजलाई सही दिशामा डोर्याउने तागत राख्छ भन्ने मेरो विश्वास छ।
ट्विटरः @jiwan_kshetry
(जीवन क्षेत्रीका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्।)
(जीवन क्षेत्रीको पुस्तक 'नुन–तेलः विगततिर पदयात्रा' हालै प्रकाशित छ र अमेजनमार्फत नेपाल बाहिरका ११ देशमा समेत उपलब्ध छ। उनले पाठकहरूका लागि नियमित रूपमा सिफारिस गर्ने सामग्रीहरूका लागि हेर्नुहोस् द हिमालयन गेज।)