आउँदो भदौ महिनाको सुरूमै एक भारतीय नागरिक नेपालमा कथा वाचनका लागि आउँदै छन्। उनी हुन् आफूलाई 'बागेश्वर धाम सरकार/महाराज' भनेर चिनाउने धीरेन्द्रकृष्ण शास्त्री।
धीरेन्द्रकृष्ण शास्त्री चौधरी ग्रुपले निर्माण गरेको नवलपरासीस्थित मन्दिर शाश्वतधाममा उसैको निम्तोमा आउन लागेका हुन्।
धीरेन्द्र भारतमा विवादित मात्र छैनन्, उनका विचार र क्रियाकलाप कतिपय सन्दर्भमा खतरनाक हुने गरेका छन्। उनले सार्वजनिक रूपमै खुलमखुला छुवाछुतको अभ्यास गर्ने, महिलाको अस्मितामाथि प्रहार गर्ने, मुस्लिम र अल्पसंख्यहरूविरूद्ध मानिसहरूलाई भड्काउने, आफूसँग तिलस्मी शक्ति भएको दाबी गर्दै बिरामीका रोग र समस्याहरूको समाधान गर्ने, क्यान्सरका बिरामी फगत आफ्नो आशीर्वादले निको हुनेसम्मको अफवाह फैलाउने गरेका छन्।
उनका असामाजिक हर्कत कस्ता हुन्छन् भन्ने जान्न यो भिडिओ हेरौं।
पूरा भिडिओ हेर्न यहाँ क्लिक गर्नुहोस्।
धीरेन्द्रले दसौं हजार मानिसको भीड जम्मा पारेर खुलेआम छुवाछुतको यस्तो अभ्यास गर्ने गरेका छन्।
आज पनि अन्धविश्वासमा रूमलिएर छुवाछुत मान्ने मानिसको नेपालमा कमी छैन। तर माथिको भिडिओमा धीरेन्द्रले जे गर्छन्, त्यो छुवाछुत मान्नुभन्दा पनि धेरै गुणा ठूलो अपराध हो। यसले धर्मका नाउँमा अमानवीय जातीय भेदभाव र छुवाछुतलाई सार्वजनिक मञ्चमै प्रवर्द्धन गरेको छ। दलितलाई दसौं हजारको भीड सामु लाञ्छित र अपमानित गरेको छ।
धीरेन्द्र नेपालमा रहेका बखत यस्तो प्रमाणसहित कसैले प्रहरीलाई उजुरी गर्यो भने सायद छुवाछुत गर्ने उनलाई मात्रै होइन, त्यस्ता विभेदकारी प्रवृत्तिलाई मलजल गर्नेहरू समेत दण्डित हुनुपर्नेछ।
भारतमा हिन्दु धर्मको राम्रो पक्षको अभ्यास गर्ने, त्यसको प्रवर्द्धन गर्ने, भाइचारा, प्रेम र सहिष्णुता बढाउने धेरै गुरूहरू छन्। त्यस्ता मानिसहरू निम्ता गर्नु, उनीहरूको कुरा सुन्नु, सुनाउनु, एउटा कुरा। तर भारतमा गेरूवा वस्त्र धारण गरेर प्रवचन दिने कैयन समस्याग्रस्त 'गुरू' र 'बाबा' हरू पनि छन्। त्यस्ता समस्याग्रस्त बाबाहरूको भीडमा धीरेन्द्र अग्रपंक्तिमा पर्छन्।
भीड जुटाएर धर्मका नाममा व्यापार गर्नु र भड्काउपूर्ण कुरा गर्नु उनको प्रवृत्ति हो। मानिसहरूको धार्मिक आस्थाको फाइदा उठाउँदै उनी आफ्नो 'चमत्कार' चर्चा र प्रचार गर्छन्। उनले छरेको भ्रमको भूमरीमा भारतीय मात्र नभई अरू देशका मानिसहरू पनि फसिरहेका छन्।
धर्म र यसका आडमा हुने असुलीबारे पनि धीरेन्द्र प्रस्ट छन्।
पूरा भिडिओ हेर्न यहाँ क्लिक गर्नुहोस्।
उनका विचारमा दलितहरू 'अछुत' छन् तर ब्राह्मणहरूले अरूबाट जुनसुकै रूपको सम्पत्ति दान लिन योग्य हुन्छन्। सामाजिक द्वेषलाई मलजल गर्ने यस्ता संकीर्ण र समस्याग्रस्त भाष्य उनी फैलाइरहेका छन्।
नेपालजस्तो गरिब, पिछडिएको र अभावग्रस्त समाजमा 'चमत्कारी' भनेपछि विश्वास गर्नेहरूको जमात ठूलो छ। केही समयअघि आँखा हेरेरै बिरामी रोग निको पार्छु भन्ने एक जना ठग 'सिमान्त गुरू' कहाँ पनि पैसा तिरेर भेट गर्ने नेपालीको भीड लाग्ने गरेको थियो। सार्वजनिक रूपमा त्यसको विरोध हुने थालेपछि र प्रशासनले हस्तक्षेप गर्न थालेपछि अहिले उनी 'आँखा हेरेर रोग निको पार्ने' व्यवसाय गुपचुपमा चलाइरहेका छन्।
धीरेन्द्रले त आफूमा भएको 'सिद्धी' लाई यति गहिरो र शक्तिशाली दर्शाउन खोजेका छन् कि यो भिडिओमा उनले सहजै क्यान्सरको सस्तो उपचार गरिदिन्छन्। यसले पीडा र समस्यामा रहेका कैयन नेपालीहरूलाई शोषणको अर्को दुश्चक्रमा फसाउन सक्नेछ।
पूरा भिडिओ हेर्न यहाँ क्लिक गर्नुहोस्।
कुनै एक ढोंगी व्यक्तिको वचनले क्यान्सरजस्ता रोग ठीक हुने भए वर्षौं पढेर मानिसहरू किन डाक्टर बन्नुपर्यो? जीवनभर एउटै विषयमा घोत्लिएर अध्येता किन बन्नुपर्यो? अर्बौं खर्च अनुसन्धान किन गर्नुपर्यो? उपचारमा चाहिने उपकरण र अस्पतालहरू किन बनाउनुपर्यो?
धीरेन्द्रले आफूलाई 'उन्नत चेतना' भएको व्यक्तिका रूपमा प्रस्तुत गर्दै आएका छन्। तर महिलाहरूबारे उनले जस्तो अभिव्यक्ति दिन्छन्, त्यसले उनको चेतको स्तर छर्लंग पार्छ। उनलाई लाग्छ, सिउँदोमा सिन्दुर र घाँटीमा मंगलसूत्र नलगाउने महिलाहरू सबै पुरूषका लागि 'खाली प्लट' हुन्। जो सिन्दुर र मंगलसूत्र लगाउँछन्, उनीहरूको 'रजिस्ट्री' भइसकेको छ।
भारतीय मिडियाहरूले 'बागेश्वर बाबा की गंदी बात' भनेर समाचार बनाएको यो अभिव्यक्ति अहिलेको समयमा कति आपत्तिजनक छ भन्ने व्याख्या गरिरहनुपर्दैन।
धीरेन्द्रका यी प्रचारात्मक करामतको केही झलकपछि अब केही गम्भीर विषयमा गहन चर्चा गरौं।
भारतलाई हिन्दु राज्य बनाउने र त्यसका लागि जस्तोसुकै संघर्ष गर्ने उनले घोषणा गरेका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीको सत्तारूढ भाजपाले समेत भारतलाई हिन्दु राज्य बनाउने भन्दैन। किनभने, भारतीय संविधानमा लेखिएको धर्म निरपेक्षता सबैका लागि अक्षुण्ण छ। तर धीरेन्द्र नेपालमा समेत हिन्दु राज्यको पक्षमा छन्। सार्वजनिक कार्यक्रमहरूमा उनले नेपालमा हिन्दु राज्य बन्छ भन्दा पनि 'अहिलेझैं कायम रहन्छ' भन्ने आशयसहित 'नेपालमा हिन्दु राज्य कायम रहेगा' भनेका छन्। अर्थात् नेपालको संविधानमा लेखिएको धर्म निरपेक्षताको कुराको उनलाई कुनै अर्थ छैन।
उनले बनाउन चाहेको 'हिन्दु राज्य भारत' कस्तो हो त?
त्यहाँ अरू धर्म र सम्प्रदायका मानिसहरूको के हैसियत हुन्छ? उनीहरू सम्मानका साथ बाँच्न पाउँछन्, समान नागरिकका रूपमा बाँच्न पाउँछन्?
पहिले यो भिडिओ हेरौं।
पूरा भिडिओ हेर्न यहाँ क्लिक गर्नुहोस्।
उनको भनाइले प्रस्ट हुन्छ, उनी यस्तो व्यवस्था चाहन्छन् जहाँ हिन्दुहरू मिलेर डोजर किनून् र अरू धर्मका मानिसका घरमाथि तिनलाई चलाऊन्।
एक त अहिले नै भारतको सत्ता संस्थापनले व्यक्तिलाई न्याय पाउन न्यायालयमा जाने अवसर समेत नदिई अन्धाधुन्ध घरमा डोजर चलाएर क्षणभरमै बेघरबार बनाउने गरेको छ। व्यक्तिको निजी सम्पत्तिको रक्षा गर्ने र न्याय पाउनेजस्ता आधारभूत संविधानप्रदत्त अधिकारहरू खुलेआम कुल्चिएका छन्। सुरूमा अल्पसंख्यक समुदायतिर लक्षित भए पनि तालिबानी शैलीको त्यस्तो न्याय स्थापित भएपछि, त्यसबाट भारतको हिन्दु समुदाय समेत अछुतो छैन। मानिसका आधारभूत अधिकारमाथि बुलडोजर चलाउन अभ्यस्त भएपछि राज्यले सबै खाले समस्याको समाधान त्यसैमा देख्ने गरेको छ।
जस्तो कि, उत्तर प्रदेशको कानपुरमा सुरूमा अफ्रिन फतिमा जस्ता मुसलमानहरूलाई निशाना बनाएको डोजर एक दिन हिन्दु समुदायका आमा–छोरी ४५ वर्षे प्रमिला र २० वर्षे नेहा दीक्षिततिर सोझियो। उनीहरू डोजरले घर भत्काउँदै गर्दा आगलागी भएर घरभित्रै जलेर मरे।
उनीहरूको आर्तनाद सहितका भिडिओ यो वर्षको फेब्रुअरी महिनामा व्यापक फैलिए।
तिनमा प्रस्ट देखिन्थ्यो — टहरो पहिल्यै ह्वारह्वार्ती जलिरहँदा भित्रबाट जल्दै गरेका आमाछोरीले हृदयविदारक चित्कार छोडिरहेका थिए। बाहिर एक युवा (सम्भवतः प्रमिलाका छोरा शिवल) सासै फुत्केलाजस्तो गरी हारगुहार गर्दै थिए। तर योगी आदित्यनाथलाई 'बुलडोजर बाबा' को पगरी गुथाइदिने उत्तर प्रदेश प्रहरीको प्राथमिकता जलिरहेको टहरोमा बुलडोजर चलाउनु थियो, उनीहरूको प्राण बचाउनु थिएन।
पछि घरको खण्डहरमा पल्टिरहेका आमाछोरीका डढेका अस्थिपञ्जरको फोटोसमेत यति विभत्स छ कि, त्यसलाई यहाँ राख्ने आँट मैले गरेको छैन।
उता भारतीय समाज यति संवेदनाशून्य बनेको छ कि उत्तर प्रदेशमा 'बुलडोजर बाबा' मुख्यमन्त्रीको लोकप्रियता कायमै छ। यता नेपाली समाज समेत यो सबबाट यति बेखबर र लापरवाह छ कि, हाम्रा धेरै केटाकेटी टिकटक र युट्युबमा 'बुलडोजर बाबा जिन्दावाद' को हिंस्रक र घृणाजन्य नारा दिनरात सुनेर हुर्किरहेका छन्।
तर धीरेन्द्र यो बुलडोजर न्यायको वकालत गर्दैछन्।
माथिको भिडिओमा उनी जुन बुलडोजर न्यायको वकालत गर्दैछन्, त्यो योगी आदित्यनाथको भन्दा पनि भयानक छ। उनले चाहेझैं हुने हो भने सरकारको डोजर त छ नै, हिन्दु समुदायका नागरिकहरू आफैं पैसा जुटाएर डोजर किन्नेछन् र अर्को समुदायको बस्ती निमिट्यान्न पार्न निस्किनेछन्।
एउटा सम्प्रदायमाथि अर्को जाइलाग्ने त्यस्तो अभियानले भारतजस्तो बहुल देशमा गृहयुद्धलाई जन्म दिनेमा शंका छैन। अहिले नै त्यसखाले गृहयुद्धको झल्को दिनेगरी उत्तर-पूर्वी राज्य मणिपुरमा महिनौंदेखि हिंसाको आगो दन्किरहेको छ। (मणिपुर हिंसा र भाजपाको हिन्दु राष्ट्रको योजनाबीचको सम्बन्धबारे मेरो पोडकास्ट सुन्नुहोस् यहाँ)
मैले यी पंक्ति लेख्दै गर्दा मध्य-भारतको हरियाणा राज्यमा समेत त्यस्तै द्वन्द्व र हिंसाको तयारी यसरी चलिरहेको छ।
योबाहेक, धीरेन्द्रले आफ्ना कथित 'दिव्य दरबार' हरूमा 'चमत्कार' गरेर लाखौं मानिसहरूलाई दासवत भक्त बनाएका छन्। त्यसपछिको यथार्थ के छ, यो भिडिओमा हेर्नुहोस्।
धीरेन्द्रजस्ता 'चमत्कारी बाबा' का नाममा आफ्नो स्वार्थ पूरा गर्न तम्सिनेहरूको पनि कमी छैन। यसका लागि एकपल्ट फेरि भारतकै उदाहरण हेरौं।
भारतमा साम्प्रदायिक विद्वेषको विष यति फैलिएको छ कि त्यहाँका सबै जसो टेलिभिजन च्यानलहरू अहिले त्यही विषको खेतीलाई व्यापार बनाएर चलिरहेका छन्। त्यसमा पनि उल्लेखनीय के छ भने, विश्वकै नवौं धनी तथा भारतका दोस्रो धनी मुकेश अम्बानीको च्यानल 'टिभी १८' त्यो होडमा निकै अघि छ।
हालै उक्त च्यानलका एक प्रस्तोता अमन चोपडाले भारतमा ढुंगा हान्ने (मुसलमान) मानिसहरूको 'पर्मानेन्ट इलाज' को माग गरे।
हिटलरले जर्मनीमा यहुदीहरूको नरसंहारलाई 'पर्मानेन्ट सलुसन' भन्ने गरेका कारणले उक्त शब्द विवादित हुन गयो। धेरैले उनको आलोचना गरे। तर एक दिन उनले ट्विटरमा एक अग्रज पत्रकारलाई जवाफ दिँदै प्रस्ट पारे, उनको 'पर्मानेन्ट इलाज' र हिटलरको 'पर्मानेन्ट सलुसन' एकै कुरा हुन्।
हेर्नुहोस् भारतका वरिष्ठ पत्रकार रवीश कुमारले यस विषयमा सप्रमाण गरेको सटिक विश्लेषण।
पूरा भिडिओ हेर्न यहाँ क्लिक गर्नुहोस्।
यस्ता नाजीवादी अभिव्यक्तिको माध्यम आफ्नो टेलिभिजनलाई बनाउँदा मुकेश अम्बानीलाई प्रत्यक्ष ठूलो आर्थिक लाभ त छैन। तर यस्ता कार्यक्रमले समाजमा ल्याउने विभाजन, उत्पन्न गर्ने विद्वेष र वैमनश्य अनि तिनका आधारमा हुने साम्प्रदायिक हिंसा सबैले भारतको हालको सत्ता संस्थापनलाई फाइदा पुर्याउँछन्। जति साम्प्रदायिक विग्रह हुन्छ र भारतका बहुसंख्यक हिन्दुहरू कट्टर र ध्रुवीकृत हुन्छन्, सत्तारूढ भाजपाको भोट बैंक उत्तिकै बलियो हुन्छ।
मणिपुरमा दन्किरहेको हिंसाको आगोदेखि हालै हरियाणामा फैलिएको भीषण दंगासम्मबाट अहिले भारतको सरकारले लाभ लिन खोजेको र आउँदो वर्ष हुने चुनाव यता धेरै यस्ता घटना हुन सक्ने भनेर अहिले विश्लेषकहरू चिन्तित छन्।
यस्तो माहोलमा घृणा फैलाउनुजस्तो नरेन्द्र मोदी सरकारसित नजिकिने सजिलो उपाय अरू हुन सक्दैन भन्ने मुकेश अम्बानीको लगायत सबै भारतीय टेलिभिजन र अरू धेरै जसो मूलधारका मिडियाले बुझिसकेका छन्। त्यसैले उनीहरूबीच घृणा फैलाउने होड चलिरहेको छ। त्यही होडमा अरूलाई उछिन्न अमन चोपडाले हिटलरको शब्द सापटी लिएर अर्को समुदायलाई निशाना बनाएका हुन्।
सारमा, भारतको आसेपासे पुँजीवादमा नरेन्द्र मोदी र योगी आदित्यनाथजस्ता नेताहरूको चाप्लुसीका लागि मुकेश अम्बानीजस्ता धनी मानिसहरूले नश्लीय सफायाको नाजीवादी आह्वानलाई प्रश्रय दिएका छन्।
आज अम्बानीले जियो नेटवर्कको मोबाइल सेवा अब्बल बनाएर पनि व्यापार बढाउन सक्छन्। बनाइरहेका छन्। त्यसमा खर्च र प्रतिस्पर्धा अलि बढी छ। तर मोदी सरकारलाई खुसी पारेर नयाँ विशाल पेट्रोकेमिकल प्लान्ट खोल्ने हो भने न प्रतिस्पर्धा हुन्छ, न अतिरिक्त खर्च। उल्टै अनन्तकालका लागि खास क्षेत्रमा एकाधिकार कायम गरेर निरन्तरको नाफा सुनिश्चित हुन सक्छ। त्यसैले उनलाई आफ्नो च्यानलमा नाजीवादी प्रोपागान्डा आउँदा हाइसन्चो मात्र होइन, दीर्घकालमा नाफै नाफा छ।
तर मलाई लाग्छ, यस्ता विषयमा आजका दिनसम्म भारत र नेपालको अवस्था निकै फरक छ।
धीरेन्द्रले आफ्नो कथा वाचनमा भन्लान्— सिन्दुर र मंगलसूत्र नलगाउने महिला 'खाली प्लट' हुन्, दलितहरू अछुत हुन्, ब्राह्मणहरू महान हुन्, नेपालमा पनि बुलडोजर चलाएर अल्पसंख्यकहरूको नाश गर्नुस् र हिन्दु राष्ट्र कायम राख्नुस्!
आजको पाँच वर्षपछि के होला म भन्न सक्दिनँ, तर आजका दिनमा नेपालमा यस्ता खाले विचार र सन्देश धेरै बिकेका छैनन्। नेपालमा धार्मिक र राजनीतिक सहिष्णुता भारतको भन्दा धेरै उन्नत छ। सबै धर्म, सबै जातजाति, सबै सम्प्रदायको नेपाल बनाउने काम एक दिनको काम होइन। यसमा हामी सबैले निरन्तर प्रयत्न गर्नुपर्छ। यसमा हामी सबैको जिम्मेवारी छ।
नेपालको अग्रणी व्यावसायिक समूहका नेता र जनताबाट निर्वाचित सांसदका रूपमा यस मामिलामा विनोद चौधरीको आममानिसको भन्दा झनै ठूलो जिम्मेवारी छ भन्ने म ठान्छु। त्यसैले यति समस्याग्रस्त 'बाबा' लाई नेपालमा ल्याएर, धार्मिक र राजनीतिक असहिष्णुताको जुन विषाक्त वातावरण भारतमा बनेको छ, त्यो क्रमशः यहाँ पनि भित्र्याउने कामको सुरूआत चौधरी ग्रुपले नगरोस्।
नेपाल अझै पनि धेरै असल समाज छ भन्ने मेरो विश्वास छ। हिन्दु राज्यको बेलाबेलामा चर्चा हुने गरे पनि भारतमा झैं त्यसका लागि घृणा, द्वेष र हिंसाको प्रयोग व्यापक भइसकेको छैन। इन्टरनेटका ट्रोलहरूले अन्यथा अर्थ दिन खोजे पनि नेपालका आमनागरिकमा समाजको प्रगतिका लागि बहुसंख्यकले अल्पसंख्यकमाथि थिचोमिचो र हिंसा गर्नुपर्छ भन्ने गलत भाष्य भारतमा झैं स्थापित छैन। महिला उपभोग्य वस्तु हुन्, दलित अछुत हुन्, फरक आस्था राख्नेलाई समुदायले नै बुलडोजर लगाएर ध्वस्त गर्नुपर्छ भन्नेजस्ता घृणा र हिंसा बेच्ने प्रयोग छैन।
बरू, नेपालका वास्तविक हिन्दु धर्मावलम्बीहरूले 'यस्तो साम्प्रदायिक लठुवा हाम्रो धर्मको प्रवक्ता हुन सक्दैन, हामीलाई सद्भावपूर्ण आस्था नै प्यारो छ र यस्ता मान्छेबाट दूषित हुनुबाट हाम्रो आस्थालाई जोगाउनुपर्छ' भनेर संगठित हुने सम्भावना छ।
यसले धर्मका नाममा अन्धविश्वास फैलाएर हिन्दु धर्मलाई नै बदनाम गर्यो, यसलाई तिरस्कार गर्नुपर्छ भन्ने सम्भावना छ।
धर्मप्रति आस्था बढाउन यसको नाममा भएका विसंगति हटाउँछौं, अन्धविश्वास अन्त गर्छौं, सेवाभाव बढाउँछौं तर यस्ता साम्प्रदायिक र हिंस्रक व्यक्तिलाई दण्डित गर्छौं भन्ने पनि सम्भावना छ।
मानिसहरूले धर्मले त समयसित कदम मिलाउँदै लिंगभेद र जातिभेदजस्ता कमजोरीलाई अन्त गर्ने प्रगतिशील बाटो समाउनुपर्छ, विभेद फैलाउनु त आजका दिनमा उल्टै अधर्म हो भन्न सक्छन्।
धर्मका नाममा हाल भारतमा भइरहेको साम्प्रदायिकताको विष खेतीलाई पूर्ण रूपमा अस्वीकार गर्छौं भन्न सक्छन्।
एउटा सम्प्रदायले अर्कोमाथि घृणा र हिंसा गरे सिंगो समाज हार्छ, त्यसैले आफ्नो दूषित धन्दाका लागि नेपालको समाजलाई नै बर्बाद पार्ने प्रयासको प्रतिवाद गर्छौं भन्न सक्छन्।
धीरेन्द्र शास्त्रीजस्ता व्यक्तिहरूले चाहेजस्तो राजनीतिक प्रयोग अघि बढ्दै जाँदा कसरी सिंगो भारत रणमैदान बन्दैछ र त्यहाँको सिंगो युवा पुस्ताको भविष्य कसरी बर्बाद हुँदैछ भनेर मैले मेरो किताब 'नुन-तेल' को जुनैद र मोइनुल अध्यायमा पनि सविस्तार लेखेको छु।
आफूलाई समाजका 'पथप्रदर्शक' भन्दै घृणा, द्वेष र हिंसा फैलाउने यस्ता व्यक्तिहरूले समाजलाई भयानक विग्रहतर्फ लैजानेछन्। यस्ता मानिसलाई भारतबाट आमन्त्रण गरेर समाजलाई त्यो दिशातिर धकेल्ने काम आज र भोलि पनि कसैले पनि नगरौं!
ट्विटरः @jiwan_kshetry
(जीवन क्षेत्रीका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्।)
(जीवन क्षेत्रीको पुस्तक 'नुन–तेलः विगततिर पदयात्रा' हालै प्रकाशित छ र अमेजनमार्फत नेपाल बाहिरका ११ देशमा समेत उपलब्ध छ। उनले पाठकहरूका लागि नियमित रूपमा सिफारिस गर्ने सामग्रीहरूका लागि हेर्नुहोस् द हिमालयन गेज।)