सन् १९५२ मा नर्म्यान भिन्सेन्ट पिलले एउटा पुस्तक लेखे द पावर अफ पोजिटिभ थिंकिङ। त्यसको एउटा संस्करणको खोलमा लेखकलाई 'सकारात्मक सोचका पिता' भनिएको छ। आजका दिनसम्म संसारभरको लेखन र पठनमा मात्र नभइ लोकप्रिय संस्कृतिमा त्यो किताबले जस्तो छाप छाड्न सकेको छ, त्यो हेर्दा उनका लागि त्यो पदवी अतिशयोक्तिजस्तो पनि लाग्दैन।
संसारभर उक्त किताबका जति भाषामा वैध र अवैध पुनर्मुद्रण भयो, त्योभन्दा धेरै उनकै किताबसित हुबहु सन्देश मिल्ने तर फरक खोल र लेखकको नाम भएका किताबहरू निस्के। जसले लेख्न सकेनन्, तिनले सकारात्मक सोचको मन्त्र घोकेर धाराप्रवाह प्रवचन दिन थाले।
अर्थात् सकारात्मक सोचको एउटा ससानो विश्वव्यापी उद्योग नै खडा भयो। कति मानिस त पिलले ठोस आकार दिएको उक्त अवधारणा मानिसहरूलाई पुस्तक वा भाषणका रूपमा बेचेरै धनी भए।
तर जो त्यो उद्योगको उत्पादनका उपभोक्ता थिए, तिनको एउटा समस्या थियो।
मानिस 'मोटिभेसन' का लागि एउटा किताब किनेर पढ्थे, सकारात्मक सोच राखेर सफल भएका मानिसहरूको कथा सुनेर उत्साहित हुन्थे र एउटै किताबले आफ्नो जीवन बदलिएको महसुस गर्थे।
तर तिनको वास्तविक जीवनसित किताबका कथा र त्यसभित्रको सन्देशको असाध्य कम तालमेल हुन्थ्यो। नचाहँदा नचाहँदै निराशा, हतासा र क्षोभजस्ता 'नकारात्मक' भाव पैदा हुन्थे।
परिणाम — मानिसहरू सकारात्मक र सफल हुन नसकेकोमा अपराधबोध गर्थे, आफैंलाई हेय दृष्टिले हेर्थे र निराश हुन्थे। अनि फेरि तिनै गुरूहरूको शरणमा पर्थे, अर्को किताब किनेर वा अर्को भाषण सुनेर।
यसरी एकतिर किताबको लेखक वा 'मोटिभेसनल स्पिकर' धनी हुँदै जान्थ्यो, उता उसको उपभोक्ता दीनहीन र निरूपाय हुँदै जान्थ्यो। वर्षमै कैयौं उत्प्रेरक किताब पढ्दा पनि ऊ जहाँको तहीँ हुन्थ्यो तर 'सकारात्मक सोच' को धन्दाले अर्को सीमा काटिसकेको हुन्थ्यो।
येल युनिभर्सिटीको सिलिम्यान कलेजकी प्रमुख तथा मनोविज्ञानकी प्राध्यापक डा. लोरी स्यान्टोसले 'द ह्याप्पिनेस ल्याब' पोडकास्टमा यही प्रवृत्तिलाई केन्द्रमा राखेर एउटा अंक नै बनाएकी छन् — डन्ट एक्सेन्चुएट द पोजिटिभ। त्यसमा आजका अनेक थरी 'मोटिभेसनल स्पिकर' हरूको झल्को दिने गरी पिलले दिएको भाषणको एउटा क्लिप सुन्न पाइन्छ।
मनोविज्ञानको नवीनतम शोधका आधारमा उक्त पोडकास्टमा स्यान्टोस भन्छिन् — सकारात्मक सोचको एकोहोरो ध्याउन्नले व्यक्तिलाई अघि बढाउनको सट्टा पछि पार्न सक्छ।
कारण — मानिसको मनका मौलिक विशेषताहरू छन् जसको पिलजस्ता मानिसलाई कुनै अत्तोपत्तो थिएन।
ती सबै विशेषता मनोविज्ञानको सिंगो प्राज्ञिक क्षेत्रले अझै बुझिसकेको छैन भने सन् १९५२ मा पिलले त्यसलाई बुझेका हुनुपर्थ्यो भन्ने अपेक्षा सायद उचित होइन। तर उनीपछि आजका दिनसम्म आउँदा पनि निरन्तर उनले प्रतिपादन गरेका र मनोविज्ञानले उल्टोपाल्टो मानेका कुराहरूको सुगा–रटाइ गर्नु चाहिँ गलत मात्र नभई चरम् प्राज्ञिक आलस्यको परिणाम हो।
भोलि अन्तर्राष्ट्रिय युवा दिवस छ। मुखैमा 'सकारात्मक सोच' झुन्ड्याइ हिँड्ने 'मोटिभेसनल स्पिकर' हरूको चारैतिर तानातान छ। लगत्तै हप्तौंसम्म युट्युबमा उनीहरूका प्रवचनको लश्कर लाग्नेछ।
तर आजको युवालाई हामीले दिनुपर्ने शिक्षा र उत्प्रेरणा के हो त? युवाले अग्रजहरूबाट बुझ्नुपर्ने कुरा के हुन् त?
केही दिनअघि क्लबहाउसको एउटा छलफलमा मैले भनेको थिएँ — आजका युवाले सुरूमा आफ्नो धरातल बुझ्नुपर्छ, समाज र समय बुझ्नुपर्छ। हाम्रा इन्द्रीयहरू बाहिरतिर फर्केकाले एक हदसम्म आफैंलाई बुझ्न पनि संसार बुझ्नुपर्ने बाध्यतामा छौं हामी।
आजको युवा कुन धरातलमा उभिएको छ त?
मैले भनेको थिएँ — स्पेनमा अस्ति भर्खर जमिनको तापक्रम ६० डिग्री सेल्सियस पुग्यो। अहिलेकै गतिमा पृथ्वी तात्ने हो भने सन् २०७० मा त्यत्रो जमिनमा हाल सहारा मरूभूमिको मध्यमा जस्तो तापक्रम हुनेछ जहाँ साढे तीन अरब मानिसको थातथलो हुनेछ।
वैज्ञानिकहरू भनिरहेका छन् — मानिसले तताएका कारण पृथ्वीको बाहिरी ठोस तह (क्रस्ट) अर्थात् हामी उभिएको धरातलमा यति फेरबदल आएको छ कि यसले प्राकृतिक भनिने गरेका भूकम्प र ज्वालामुखीजस्ता विपत्तिहरूको समेत जोखिम बढाएको छ।
एउटा अध्ययनका अनुसार सन् १९९३ देखि २०१० सम्म मानिस जातिले जमिनमुनिबाट २,१५० गिगाटन पानी तानेर समुद्रमा पठाएको छ जसका कारण पृथ्वीको २४–घण्टे फन्को मार्ने 'एक्सिस' नै बर्सेनि ४.३ सेन्टिमिटरले सर्दैछ। पृथ्वीको फन्को चालमा आएको यस्तो परिवर्तनका कारण फेरि संसारका विभिन्न भागबीचको सन्तुलन बिग्रेर कुनै ठाउँमा समुद्रको सतह थप बढ्ने अवस्था छ।
आफू उभिएको धरातलमा भइरहेको यस्तो परिवर्तनबारे युवाहरूलाई बेखबरै राखेर हाम्रो र हामीभन्दा अगाडिको पुस्ताले कहिलेसम्म उनीहरूलाई 'उत्प्रेरित' गरिरहने हो?
युवाले फेर्ने सास, पिउने पानी र खाने अन्न सबैतिर अहिले प्रदूषण र विषादीको बिगबिगी छ। खाद्य सुरक्षा छैन। देशमा रोजगारी छैन। विदेशको सम्मानजनक रोजगारीका लागि सहज र पहुँचको शिक्षा छैन। वर्षको आठ महिना दैनिक दर्जनौं चुरोटको धुवाँ पान गरेसरहको प्रदूषणमा बस्नु छ।
यस्तो बेलामा युवाहरूलाई आफू वरपरका यावत् समस्याहरूको गुरूत्व बुझेर, बुझाएर तिनको समाधानका लागि संगठित प्रयत्न गर्ने कि 'सकारात्मक सोच' र 'आत्म–उत्प्रेरणा' जस्ता कपासको मिठाइजस्ता विषयहरूको भुलभुलैयामा पारिरहने?
जुन युवा दिनमा २४ घन्टा धूलोधुवाँको तुवाँलोमा सास फेर्न अभिशप्त छ, उसलाई त्यो हावा सफा गर्ने दुःसाध्य काममा दशकौं खट्ने, संगठित हुने, स्वार्थ समूहहरूविरूद्ध संघर्ष गर्ने उत्प्रेरणा दिन कठिन छ तर वातानुकूलित कोठामा भाषणकलामा पोख्त भएको विदुषकलाई मञ्चमा दौडाएर एक घन्टा रनभुल्ल पार्न सजिलो छ।
स्वभावतः हामी सबैले सजिलो बाटो अपनाएका छौं। स्कुल–कलेजहरूले पनि त्यस्तै विदुषकहरूलाई बोलाएर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गरेका छन्। युवासम्बद्ध संस्थाहरूको हालत पनि उस्तै छ।
अब एउटा प्रश्न उठ्न सक्छ — केही नहुनुभन्दा त आखिर सतही र निष्प्रभावी भए पनि यही सकारात्मक सोचवाला 'जंक मोटिभेसन' को खेती ठिकै होइन र? आफू वरपरका ठूल्ठूला समस्या समाधान नभए पनि विद्यार्थी मेहनत गरेर पढ्न मात्रै उत्प्रेरित भए भने त्यो फाइदै भएन र?
यसको जवाफमा एउटा प्रतिप्रश्न राखेर म यो लेखको बिट मार्छु।
नेपालमा प्रचलित 'जंक मोटिभेसन' को माछाबजारमा एक विद्वानले आफ्नो सफलताको मानकलाई यसरी व्याख्या गरेका छन् — म नेपाल यातायातको भिडभाडमा यात्रा गर्दा जुत्ता मैलो र कच्याककुचुक हुन्थ्यो। मैले सपना देखेँ, म यही बाटोमा आफ्नै गाडी गुडाउँछु। एक दिन गुडाएँ पनि।
वाह, सकारात्मक सोचबाट प्राप्त हुने सफलताको कस्तो भव्य उदाहरण।
तर एकचोटि गहिरिएर सोचौं त — काठमाडौंमा नेपाल यातायातजस्ता सबै सार्वजनिक बसहरूमा कोचिएर हिँड्नै यात्रु जतिले कार चढेर हिँडे भने के हुन्छ?
कोही पनि साधन चढेर कहीँ पुग्दैन, काठमाडौंको पूरै सडक सधैंका लागि जाममा पर्छ। पार्किङ सबैलाई पुग्ला, चलाउन कसैलाई पुग्दैन। गन्तव्यमा पुग्नका लागि गाडी घरमै छाडेर पैदल जाँदा छिटो हुन्छ।
आजका युवालाई हामीले भोलि काठमाडौंजस्तो सहरमा कार चढेर हिँडेको सपना देखाउने कि अहिले नै पक्षघातग्रस्त भइसकेको सहरको ट्राफिक खुकुलो हुने गरी चुस्त सार्वजनिक यातायात प्रणाली विकास गर्न उत्प्रेरित गर्ने?
जुन युवालाई काठमाडौंमा कार चढ्नु नै सफलताको मानक भनेर बुझाइयो, उसलाई म अब आउँदा दशकहरूमा जलवायु संकटका कारण हुने अर्बौं मानिसहरूको सम्भावित विस्थापन, त्यसले ल्याउन सक्ने द्वन्द्व र विग्रहलगायत हाम्रो सभ्यतालाई नै अस्तव्यस्त बनाउन सक्ने कुराहरूबारे कसरी बुझाऊँ?
त्यो काम अजिनोमोटो र कुखुराको धूलोयुक्त चाउचाउमा पल्केको बच्चालाई पोषणयुक्त कोदोको ढिँडो ख्वाउनुजत्तिकै कठिन छ। युवालाई दिइने 'जंक मोटिभेसन' यसैकारण फाइदाजनक त छैन नै, युवा र समग्र समाजका लागि उल्टै हानिकारक छ।
यसपालिको अन्तर्राष्ट्रिय युवा दिवसमा युवाहरूलाई मेरो संदेश यही छ — हामी कुनै पनि बौद्धिक तिकडमको खोलमा लुटुपुटु पर्दैमा वा भाग्दैमा हाम्रो समयका कुनै पनि समस्याहरू समाधान हुँदैनन्। यथार्थ जतिसुकै कुरूप र समस्या जतिसुकै गम्भीर भए पनि तिनलाई जस्ताको तस्तै हेर्ने, बुझ्ने, पर्गेल्ने र सामना गर्ने जटिल र कष्टकर बाटो नहिँडी उज्यालो भविष्य सम्भव छैन।
त्यसका लागि पिल र उनका शिष्यहरूले भनेझैं आफ्नै मनलाई 'बलियो' पारेर पुग्ने छैन, सिंगो समाज र संसार परिवर्तन गर्नका लागि संगठित हुनुपर्नेछ। आफ्नो मनको सुरूङबाट निस्केर सिंगो समाज र सिंगो इतिहासलाई पढ्नु र बुझ्नुपर्नेछ।
त्यो बाटोमा असफलता, निराशा, हन्डर, ठक्कर लगायत नर्मन भिन्सेन्ट पिलले कहिल्यै नस्वीकार्नु भनेका मनोभावहरू हाम्रा साथी बनेर सँगै रहनेछन्। हामीले सुरू गरेका कति लडाइँहरू त हाम्रो जीवनकालमा समेत टुंगिने छैनन्। शारीरिक-मानसिक सीमाहरूका कारण कति लडाइँबाट चाहेर पनि अलग बस्नुपर्नेछ। कति लडाइँमा नचाहेर पनि हामीले हार स्वीकार गर्नुपर्नेछ।
तर हाम्रो मानवीय नैतिकता र संवेदनाले, हाम्रो न्यायचेतले हामीलाई आफू वरपरको संसारलाई राम्रो र न्यायपूर्ण बनाउनका लागि निरन्तर लडिरहन प्रेरित गर्नेछ।
आखिर एकबारको जुनी यसै फाल्ने इच्छा त कसको पो हुन्छ र?
(जीवन क्षेत्रीका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्।)
ट्विटरः @jiwan_kshetry
(जीवन क्षेत्रीको पुस्तक 'नुन–तेलः विगततिर पदयात्रा' हालै प्रकाशित छ र अमेजनमार्फत नेपाल बाहिरका ११ देशमा समेत उपलब्ध छ। उनले पाठकहरूका लागि नियमित रूपमा सिफारिस गर्ने सामग्रीहरूका लागि हेर्नुहोस् द हिमालयन गेज।)