कुनै औषधीले जादु गरेझैं मोटोपना कम गर्छ भन्दा कसैलाई पनि पत्याउन गाह्रो हुन्छ। तर सेमाग्लुटाइड औषधीले अहिले पश्चिमा देशहरूमा अपत्यारिलो तरिकाले मान्छेको वजन घटाएर तहल्का मच्चाएको छ।
सेतोपाटी पडकास्ट ‘पेरिस्कोप’मा आज हामी सेमाग्लुटाइडले कसरी वजन घटाउँछ, यसको प्रयोगका फाइदा र बेफाइदालगायत विषयमा चर्चा गर्नेछौं।
सन् २०२२ को मेट गालामा रियालिटी टेलिभिजन स्टार किम कारदासियाँ धेरै तौल घटाएर मेरिलिन मोनरोले लगाएको गाउनमा सजिएर आएकी थिइन्। उनका बहिनी र अरू धेरै स्टार पनि एकै चोटि दुब्ला देखिएपछि हलिउड स्टारले के खान थाले भनेर चर्चा भएको थियो।
उनीहरूले कसरत गरेर वजन घटाएको दाबी गरे पनि धेरैले सेमाग्लुटाइडको प्रयोग गरेको अनुमान गरिएको थियो। कार निर्माता कम्पनी टेस्लाका मालिक एलन मस्कलगायत केही सेलेब्रिटीले त आफूले यो औषधी प्रयोग गरेको सार्वजनिक रूपमा नै स्वीकार गरेका छन्।
वर्षमा १० देखि २० प्रतिशतसम्म वजन घटाउने सेमाग्लुटाइड औषधीबारे कुरा गर्नुअघि मान्छे कसरी मोटाउँछ भन्नेबारे चर्चा गरौं।
मान्छेले बाँच्नलाई चाहिने शरीरका महत्वपूर्ण प्रक्रियाहरू र अरू काम गर्न चाहिने क्यालोरीभन्दा धेरै खायो भने, त्यो अतिरिक्त क्यालोरी बोसोका रूपमा बस्छ। पछि केही कारणले पर्याप्त क्यालोरी खान पाएन भने त्यही थुप्रिएको बोसो पगालेर शरीरले प्रयोग गर्छ।
मानव इतिहासको लगभग सबै समयमा खानाको अभाव थियो। २०औं शताब्दीको अन्त्यतिर मात्रै पृथ्वीका धेरैजसो मान्छेले अघाउन्जेल खान पाउन थालेका हुन्। अझै पनि गरीब देशमा मात्रै नभएर कतिपय धनी देशमा पनि सबैले भरपेट खान पाउँदैनन्।
पर्याप्त खानाको अभावको इतिहासबीच विकसित भएको हाम्रो शरीरलाई खाना कति महत्वपूर्ण र दुर्लभ छ भन्ने राम्ररी थाहा छ। त्यसैले अलिक धेरै खानेबित्तिकै बोसो बनाएर भण्डार गरिहाल्छ। वर्षैभरि चाहिनेभन्दा धेरै खाएपछि त्यो बोसो थुप्रिँदै गएर मान्छे मोटाउँछ।
मान्छेले खाना घटाए वा शारीरिक परिश्रम धेरै गरे पनि शरीरले भोलि खाना नपाइन सक्छ भनेर बडो गाह्रो मानेर मात्रै बोसो घटाउँछ। कतिसम्म भने लगातार खाना घटाउने वा अधिक परिश्रम गरेर चाहिने जति खाना नखाने हो भने शरीर बिस्तारै कम क्यालोरीमा चल्ने बन्छ। विज्ञानको भाषामा भन्ने हो भने मेटाबोलिजम कम गर्छ। यसरी गाह्रो गरी घटाएको बोसो फेरि भरपेट खान थाल्नेबित्तिकै लागिहाल्छ।
यो युगमा एकातिर लगभग सबैलाई अघाउन्जेल खान पुग्छ, अर्कातिर सवारी साधनको व्यापक प्रयोग र धेरैजसो कुर्सीमा बसेर गर्ने काम (टेबलवर्क) हुने भएकाले शरीरले अघिल्ला पुस्ताले जस्तो धेरै परिश्रम गर्नुपर्दैन। त्यसैले मोटोपन धनी देशमा मात्रै नभएर गरीब देशहरूमा पनि ठूलो स्वास्थ्य समस्या भएको छ।
मोटोपना नाप्ने सबैभन्दा सरल र चल्तीको तरिका भनेको बडी मास इन्डेक्स (बिएमआई) हो। जिम गर्ने बडीबिल्डर र खेलाडीहरूमा मसल धेरै भएकाले अलिक धेरै बिएमआई हुने भए पनि साधारण मान्छेको हकमा बिएमआईले मोटोपनाबारे लगभग सही जानकारी दिन्छ।
वजन र उचाइको अनुपातबाट बिएमआई नापिन्छ। साढे १८ भन्दा थोरै बिएमआई भयो भने कम वजन, साढे १८ देखि २५ भयो भने ठीक वजन, त्योभन्दा धेरै भए बढी र ३० भन्दा धेरै भयो भने मोटो भनिन्छ।
उदाहरणका लागि ५ फिट ९ इन्च अग्लो मानिसको तौल ७७ किलोभन्दा धेरै भयो भने बढी वजन र ९२ किलो वा धेरै भयो भने मोटो मानिन्छ। त्यस्तै ५ फिट ३ इन्च उचाइ भएको मानिस ६४ किलोभन्दा धेरै भयो भने बढी वजन र ७७ किलो वा धेरै भयो भने मोटो मानिन्छ।
मोटोपनाले डायबेटिज, मुटुरोग, मस्तिष्काघात र दर्जन बढी प्रकारका क्यान्सरजस्ता रोगको खतरा बढाउँछ। यी रोगका लागि राज्यले ठूलो लगानी गर्नुपर्छ भने मान्छेको आयु पनि घटाउँछ।
वर्ल्ड अबेसिटी फेडेरेसनले गत मार्च २ मा एउटा रिपोर्ट सार्वजनिक गरेको थियो। त्यो रिपोर्टअनुसार सन् २०३५ सम्ममा मोटोपनाका कारण गर्नुपर्ने स्वास्थ्यमा खर्च, अल्पायुमा मृत्यु र बाँचे पनि उत्पादकत्वमा हुने ह्रासका कारण यसले हरेक वर्ष विश्व अर्थतन्त्रलाई ४० खर्ब डलरभन्दा धेरै अर्थात् विश्वको कुल गार्हस्थ उत्पादन (जिडिपी) को ३ प्रतिशतको नोक्सान हुन्छ। यो भनेको हरेक वर्ष नयाँ कोभिड महामारी लागेजस्तै हो।
यस्तो अवस्थामा मोटोपना घटाउने सेमाग्लुटाइड औषधी मानव जातिका लागि वरदानजस्तै भएर आएको मानिन्छ। यसलाई जिएलपी-१ रिसेप्टर एगोनिस्ट्स वा जिएलपी-१ एनालग्स पनि भनिन्छ। जिएलपीको मतलब ग्लुकागन लाइक पेप्टाइड्स हो। हामीले खाना खाएपछि शरीरले पेटमा जिएलपी-१ हर्मोन पठाउँछ। यो हर्मोनले इन्सुलिनको उत्पादन गर्न सहयोग गर्छ र रगतमा चिनीको मात्रा घटाउँछ। जिएलपी-१ को नक्कल गर्ने भएकाले यो औषधीलाई जिएलपी-१ रिसेप्टर एगोनिस्ट्स वा जिएलपी-१ एनालग्स पनि भनिएको हो।
नोवो नोर्दिस्क कम्पनीले सुरुमा यो औषधी डायबेटिज रोगका लागि ओजेम्पिक नाममा बजारमा ल्याएको थियो। औषधी प्रयोग गर्नेको डायबेटिज नियन्त्रण हुनुका साथै वजन पनि घट्यो। त्यसपछि यो कम्पनीले विगोभी नाम दिएर धेरै डोज भएको यो औषधी मोटोपनाका लागि उत्पादन गर्न थाल्यो। विगोभी हप्ताको एक दिन सुईबाट लिइन्छ। अहिले अरू कम्पनीले पनि यस्तै औषधीहरू बजारमा ल्याएका छन् वा ल्याउने क्रममा छन्। खाने गोलीका रूपमा पनि ल्याउने प्रयास हुँदैछ।
जिएलपी-१ एनालग्स वा सेमाग्लुटाइड औषधीले शरीरमा इन्सुलिन बनाउने सन्देशको साथै कलेजोलाई चिनी उत्पादन गर्न लगाउने ग्लुकागनको उत्पादनलाई दबाउँछ। यसरी यसले दुई तरिकाले रगतमा चिनीको मात्रा घटाएर डायबेटिज नियन्त्रण गर्छ। त्यसको अलावा यो औषधी दिमागमा पुग्छ र अघाएको महसुस गराउँछ। साथै यसले पाचन प्रणालीअन्तर्गत पेटबाट खाना तल जाने प्रक्रियालाई पनि सुस्त बनाउँछ। यस कारणले मान्छेलाई अलिक धेरै समयसम्म भोक लाग्दैन। कतिसम्म भने यो औषधी खाएपछि मान्छेले धेरै खानै सक्दैन। जबर्जस्ती खायो भने बिरामी पर्छ।
बोसो घटाउन या त खाना घटाउनुपर्छ या त शारीरिक परिश्रम बढी गर्नुपर्छ। यो औषधीले धेरै खान पुग्ने आर्थिक हैसियत भएकालाई पनि पर्याप्त खान नदिएर मोटोपना घटाउँछ। यो औषधीसँगै शारीरिक परिश्रम पनि बढाउने वा कसरत गर्ने हो भने त झन् धेरै वजन घटाउँछ।
यो जादुयी औषधी सबैलाई जरूरी छैन। अधिकांश मान्छेले खाना अलिक कम खाने र अलिअलि कसरत गर्ने हो भने तौल नियन्त्रणमा राख्न सक्छन्।
केही मानिसले वंशाणुगत वा लामो समयसम्म मोटो रहेका कारण चाहेर पनि मोटोपना घटाउन सक्दैनन्। स्वस्थ शरीरले अब खाना पुग्यो भनेर दिमागमा सन्देश पठाउन सक्छ। तर धेरै मोटो मान्छेमा यो सन्देश प्रक्रियाले काम गर्दैन। डाक्टरहरूका अनुसार थोरै समयमा धेरै क्यालोरी खाइराख्दा तौल नियन्त्रणमा राख्ने यो प्रणालीले राम्ररी काम गर्दैन। द न्युयोर्कर पत्रिकाका अनुसार यो प्रणालीमा काम गर्ने धेरै चिजमध्ये लेप्टिन हर्मोन एक हो। शरीरको बोसोले उत्पादन गर्ने लेप्टिनले खाना खाएपछि अब पुग्यो भन्ने सन्देश दिमागमा पठाउँछ। तर मान्छे मोटाउँदै गएपछि बोसोले उत्पादन गर्ने यो हर्मोन धेरै भएर यसले काम गर्न छोड्छ। खाना पुग्यो भन्नुको साटो दिमागले धेरै भोक लागेको भन्ने सोच्न थाल्छ। अनि शरीरले मेटाबोलिजम कम गर्छ वा थोरै क्यालोरीमा चल्ने बनाउँछ र रूचि झन् बढाउँछ।
यसरी यस्ता मान्छेले एकातिर थोरै क्यालोरी खर्च गर्छन् भने अर्कातिर हरदम भोकमरीमा बल्ल खाना भेटेजसरी जति सक्यो त्यति खान्छन्। यसरी तौल अनियन्त्रित तरिकाले बढ्दै जान्छ र मान्छेले चाहेर पनि घटाउन सक्दैन। यस्ता मान्छेले पेटको जटिल र खर्चिलो शल्यक्रिया गरेर मात्र तौल घटाउन सक्छन्।
जिएलपी-१ को नक्कल गर्ने यो औषधी त्यस्ता मान्छेको पनि दिमागमा पुग्छ र अघाएको महसुस गराउँछ र अघि चर्चा गरेजस्तै धेरै समयसम्म भोक लगाउँदैन। यसरी यो औषधीले धेरै मोटो मान्छेलाई पनि बिनाशल्यक्रिया वजन घटाउन सहयोग गर्छ।
मोटो मान्छे आफूले चाहँदा-चाहँदै पनि वजन घटाउन सक्दैनन् भन्ने जानकारी डाक्टर-वैज्ञानिकलाई मात्रै थाहा हुन्छ। यो औषधीबारे चर्चा भएपछि सर्वसाधारणलाई पनि त्यो जानकारी भएको छ। यसले मोटा मानिसहरूलाई लाज र ग्लानि कम भएको छ भनेर पश्चिमा मिडियाहरूले लेखेका छन्।
सेमाग्लुटाइडले वजन कम गर्ने मात्रै नभएर विभिन्न लत पनि कम गर्छ भन्ने मानिन्छ। द एटलान्टिकले यो औषधी प्रयोग गरेपछि धेरै सपिङ गर्ने लत भएकी एक महिलाको लत कम भएको भन्दै कतिको रक्सी, चुरोट र नङ टोक्नेजस्तो आदत पनि कम भएको लेखेको छ।
यसले रक्सी र चुरोटको लत कम गर्छ कि भनेर क्लिनिकल ट्रायल नै सुरु भइसकेको छ। प्रयोगशालाका मुसामा यो प्रयोग गर्दा अल्कोहल र कोकिन थोरै खोजेको देखिइसकेको छ।
जिएलपी-१ एनालग्सले फिल-गुड हर्मोन भनेर जानिने डोपामिनमा पनि असर गर्छ। यौन र खाना खाने जस्तो मानवजातिको निरन्तरता र बाँच्नका लागि जरूरी काम गर्दा दिमागमा यो हर्मोन पुगेर आनन्दको अनुभूति दिन्छ। र त्यस्ता काम फेरि गर्न मन लगाउँछ। रक्सी, चुरोट र लागुपदार्थ सेवन गर्दा पनि त्यसरी आनन्द हुन्छ। यसको कुलत लागेपछि यो प्रक्रियामा असर गर्छ। कसै-कसैमा यो प्रक्रिया ठीक नभएर पनि कुलत लाग्छ भनिन्छ। कुलत लागेकाहरूमा यस्तो काम गर्दा थोरै मात्रै डोपामिन रिलिज हुन्छ र उनीहरूले धेरै र बारम्बार यी पदार्थ सेवन गर्छन्। जिएलपी-१ एनालग्सले डोपामिनको प्रक्रियालाई दुरूस्त राखेर खाना खानेलगायत अरू लत हटाउन सक्छ भनेर विज्ञहरू मान्छन्।
यो औषधीलाई मोटोपनाले निम्त्याएको स्वास्थ्य समस्या र त्यसको आर्थिक भारका कारणले अहिलेसम्मकै सबैभन्दा महत्वपूर्ण औषधी भन्छन्। भाउ घटे पनि केही वर्षमै यो औषधीको बजार विभिन्न खाले क्यान्सरको औषधी र उपचार विधिभन्दा ठूलो हुन्छ भनिन्छ। कतिले त अर्को दशकसम्ममा यो औषधी कोलेस्ट्रोलको औषधी स्ट्याटिनजस्तै सामान्य रूपमा लिइने भविष्यवाणी गर्छन्।
हरेक औषधीजस्तै यसका पनि नराम्रा साइड-इफेक्टहरू हुन्छन्। पश्चिमा देशमा हाल वर्षभरिको डोजको १० हजार डलरभन्दा धेरै पर्ने यो औषधीका नराम्रा पक्षबारे चर्चा गरौं। यसले सुरुमा झाडा-बान्ता, कब्जियत, रिङ्गटा लाग्नेजस्ता समस्या हुन्छ। कतिमा यसले कपाल झर्ने समस्या पनि आउन सक्छ। एकदमै थोरै प्रयोगकर्तामा मिर्गौलाले काम नगर्ने, प्यानक्रियाजमा समस्या, आन्द्रा बन्द हुने, थाइरोयडको क्यान्सरजस्ता गम्भीर समस्या पनि देखिन सक्छ।
बेलायतको औषधीसम्बन्धी नियामक निकायले गत महिनामात्रै आत्महत्या वा आफैंलाई हानि पुर्याउने सोच बढाएको आशंकामा यो औषधीको समीक्षा थालेको छ।
यसको अर्को नराम्रो पक्ष भनेको यो औषधी वजन घटाउनका लागि प्रयोग गरे पनि डायबेटिजका लागि गरेजस्तै लगातार प्रयोग गर्नुपर्छ। यो औषधी सेवन गर्न छोडे तौल फेरि बढ्छ र घटेको तौलमा रहन अतिरिक्त कसरत-परिश्रम गर्नुपर्छ।
त्यसैले डायबेटिजका बिरामीले डाक्टरको सल्लाहमा कम डोजबाहेक अरू सामान्य मान्छेले यो औषधी प्रयोग गर्नु हुँदैन। वजन घटाउनका लागि खानामा परहेज र कसरत गरेर मात्रै नघट्ने गरी मोटो मान्छेले डाक्टरको सल्लाह र निगरानीमा सेवन गर्नुपर्छ। यसका केही साइड-इफेक्ट र केही दीर्घकालीन खतरा भए पनि धेरै मोटो मानिसमा डायबेटिज, मुटुरोग, मस्तिष्काघात र क्यान्सरजस्ता रोगको खतराभन्दा कम हुन्छ। त्यसैले चिकित्सकले धेरै मोटा मानिसलाई यो औषधी प्रयोग गर्ने सल्लाह दिन्छन्।
सामान्य वा अलिकति मात्रै बढी तौल भएकाले यो औषधी प्रयोग गर्न नहुने भए पनि कतिले कस्मेटिक प्रयोजनका लागि राम्रो देखिन यसको प्रयोग गर्छन्। कस्मेटिक प्रयोजनका लागि प्रयोग धेरै भएकाले कतिपय मुलुकमा अहिले डायबेटिजका बिरामीलाई समेत यो औषधीको अभाव छ।
राम्रो देखिन अनेकथरि खतरा मोल्ने र जतिसुकै खर्च गर्न तयार हुनेका लागि यो कम खतरा भएको उपाय भएको छ। यो डायबेटिजका लागि क्लिनिकल ट्रायलपछि मात्रै बजारमा ल्याइएकाले यसको खतरा नगण्य मात्रामा हुने भन्दै धेरैले प्रयोग गरिरहेका छन्। यसरी कस्मेटिक प्रयोजनका लागि प्रयोग गर्नेमा हलिउड स्टारदेखि लिएर अरू सेलिब्रिटी र धनाढ्यहरू छन्।
अहिले धेरै महङ्गो यो औषधीको दाम बिस्तारै कम हुँदै जानेछ। पश्चिमा देशमा यसको व्यापक प्रयोग भइरहेकाले सुरुमा डायबेटिजका लागि विकसित गरेको र अहिले वजन घटाउन पनि प्रयोग हुने यो औषधीका अरू नसोचेका फाइदा पनि बिस्तारै देखिन सक्नेछन्। त्यस्तै यसका अरू साइड-इफेक्टबारे पनि थाहा हुनेछ। तर केही गरे पनि वजन घटाउन नसक्ने धेरै मोटा मानिसका लागि योभन्दा राम्रो अर्को औषधी नआइन्जेलसम्मका लागि यो वरदान नै रहने विश्वास गरिन्छ।