रूसी राष्ट्रपति भ्लादिमिर पुटिनविरूद्ध रूसकै निजी सैन्य कम्पनी वागनर समूहका प्रमुख येवगेनी प्रिगोजिनले शनिबार विद्रोह छेडे।
सेतोपाटी पेरिस्कोपको आजको अंकमा हामी पुटिनका सेफ भनेर चिनिने प्रिगोजिन को हुन्, उनले किन विद्रोह गरे र यसले रूस-युक्रेनको जारी युद्धमा के प्रभाव पार्ने छ लगायत विषयमा कुरा गर्नेछौं।
प्रिगोजिनले अप्रत्याशित रूपमा छेडेको विद्रोह २४ घन्टा पनि नबित्दै नाटकीय रूपमै शान्त भएको छ। प्रिगोजिनका लडाकुले शनिबार बिहान मस्कोभन्दा लगभग ११०० किलोमिटर टाढा रहेको रोस्तोव सहर कब्जा गरेका थिए। युक्रेन युद्धका लागि कमान्ड केन्द्र र हातहतियार तथा अरू सामानको भण्डारका रूपमा रहेको सैनिक कार्यालय कब्जा गरेपछि उनका सैनिक मस्कोतर्फ अगाडि बढेका थिए। वागनर समूहले रोस्तोवदेखि मस्कोसम्मको आधाभन्दा बढी दूरी पार गरिसकेको थियो। लिपेत्स्क क्षेत्र पुगेपछि अचानक सुलहको घोषणा भयो।
बेलारूसका तानाशाही राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोले प्रिगोजिन र पुटिनको सुलह गराएका हुन्। सुलहका सबै शर्तहरू खुलाइएका छैनन्। हालसम्म प्राप्त जानकारीअनुसार प्रिगोजिनले बेलारूसमा शरण लिनेछन्। क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभका अनुसार प्रिगोजिनलाई सुरक्षित रूपमा बेलारूस जान दिने र विद्रोहमा सहभागी भएका उनका लडाकुहरूलाई पनि कारबाही नगर्ने सहमति भएको छ। त्यस्तै विद्रोहमा सहभागी नभएका वागनरका लडाकुलाई रूसी सेनामा भर्ना हुने विकल्प दिइने र युक्रेनसँग जारी युद्धमा लड्न दिइने छ।
प्रिगोजिनले पहिल्यैदेखि रूसी रक्षामन्त्री सर्गेइ शोइगु र जनरलहरूको कडा आलोचना गर्दै आएका थिए। प्रत्यक्ष रूपमा पुटिनको भने कहिल्यै आलोचना गरेनन्। शनिबार विद्रोह सुरू गर्दा पनि उनले पुटिनको नाम लिएनन्। तर युक्रेनविरूद्ध युद्ध अनावश्यक भएको, कुलीन वर्ग र भ्रष्ट जनरलले निहित स्वार्थ र अहंकारका लागि आक्रमण गरेको, रूसले आक्रमण गर्नुअघि दाबी गरेजस्तो युक्रेन र नेटोले ऊमाथि आक्रमण गर्ने योजना नबनाएको लगायत कुरा गरेर पुटिनको भाष्यको धज्जी उडाए।
प्रिगोजिनले आफ्नै संरक्षक पुटिनविरूद्ध किन विद्रोह गरे त?
प्रिगोजिनको रक्षामन्त्री र जनरलहरूसँग पहिल्यैदेखि राम्रो सम्बन्ध थिएन। पछिल्लो समय पुटिन पनि प्रिगोजिनसँग झस्केको र उनलाई तह लगाउन खोजेको देखिन्छ।
अमेरिकी सञ्चारमाध्यमहरूले सुरक्षास्रोतको हवाला दिँदै जनाएअनुसार रूसी सेनाबाहेकका वागनर समूह लगायत सबै लडाकुलाई रूसी रक्षा मन्त्रालयसँग करार गर्न जुन १० मा मन्त्रालयले जारी गरेको आदेशका कारण प्रिगोजिनले विद्रोह गरेका हुन्।
प्रिगोजिनले बेग्लै सेनाको सेनापतिको हैसियत बनाइसकेका छन्। आफ्नो फौजलाई रूसी सेनामा गाभेर आफूलाई हैसियतबिहीन बनाउन खोजिएकाले उनी विद्रोह गर्ने निर्णयमा पुगेका हुन्। प्रिगोजिनले केही गर्न सक्ने भन्ने सूचना पाएर सुरक्षा एजेन्सीहरूले अमेरिकी राष्ट्रपति जो बाइडेन र अरू उच्च अधिकारीलाई समेत जुन महिनाको सुरूमै ब्रिफिङ गरेको दाबी अमेरिकी मिडियाले गरेका छन्।
'राजामाथि प्रहार गर्ने हो भने मार्ने गरी गर्नुपर्छ' भनिन्छ। प्रिगोजिनले पुटिनलाई सत्ताच्युत गर्न सकेनन्, 'नमरेको राजा' ले पनि प्रिगोजिनलाई केही गर्न सकेनन्।
शनिबार दिउँसो सम्बोधन गर्दै विद्रोहीलाई तहसनहस पार्ने उद्घोष गरेका पुटिन सुलह गरेर प्रिगोजिनलाई बेलारूस पठाउन राजी हुनुपर्यो। लगभग कुनै सैन्य प्रतिरोधबेगर मस्को नजिकै प्रिगोजिनका लडाकु पुगेकाले पुटिन कति अप्ठ्यारो परिस्थितिमा थिए भन्ने देखाउँछ।
तत्कालका लागि यो खड्गो टरेको छ। तर धेरै पश्चिमा विश्लेषकहरूले यो विद्रोहलाई पुटिनको अन्त्यको सुरूआत भनेका छन्।
अब हामी प्रिगोजिन को हुन् र पुटिनको संरक्षणमा उनले कसरी भस्मासुरको रूप धारण गरे भनेर चर्चा गरौं।
वागनर समूह युक्रेनमा जन्मेका रूसी स्पेसल-फोर्सका अवकासप्राप्त लेफ्टिनेन्ट कर्नेल डिमित्री उट्किनले स्थापना गरेका हुन्। नाजिवादी उट्किनले हिटलरका सबभन्दा मनपर्ने संगीतकार रिचर्ड वागनरको नामबाट यो समूह स्थापना गरेको मानिन्छ। पूर्वरूसी सैनिकहरूको यो समूहमा सुरूमा पुटिनका विश्वासपात्र प्रिगोजिनले लगानी गरेका थिए। प्रिगोजिनले पहिले वागनर समूहसँग आफ्नो कुनै पनि सम्बन्ध नभएको दाबी गरेका थिए। गत वर्ष युक्रेनमा रूसी आक्रमण भएको केही महिनापछि भने सो समूहको प्रमुख आफू भएको प्रिगोजिनले सार्वजनिक गरे। वागनर समूहको मात्रै नभएर समग्र रूसमा युक्रेन युद्धको 'फेस' उनै थिए।
प्रिगोजिन रूसको तत्कालीन लेनिनग्राद, हालको सेन्ट पिटर्सवर्गमा सहरमा सन् १९६१ मा जन्मेका हुन्। पुटिनको पनि यही सहरमा जन्म भएको हो। प्रिगोजिनले १८ वर्षमै चोरीबाट आपराधिक जीवनमा पाइला टेकेको रेकर्ड भेटिएको छ।
इकोनोमिस्ट पत्रिकाको सहप्रकाशन '१८४३ म्यागजिन' मा दुई साताअघि उनीबारे एउटा लेख प्रकाशन भएको छ। सो लेखअनुसार प्रिगोजिनलाई सन् १९७९ मा दुई वर्षको 'सस्पेन्डेड' जेल सजाय दिइएको थियो। 'प्रोबेसनमा' छोडिएकै बेला पनि उनी चोरीका घटनाहरूमा सामेल थिए। विस्तारै उनी ठूला अपराध गर्न थाले।
उनको ग्याङका एक सदस्यको बयानअनुसार प्रिगोजिनले २५० रूबल लुटेको खुसीयाली मनाउने क्रममा एउटा गल्लीमा एक महिलालाई बेहोस हुने गरी घाँटी न्याँकेर सुनको झुम्का लुटेका थिए। त्यसका लागि भर्खर बीस वर्ष लागेका प्रिगोजिनलाई १३ वर्षको जेल सजाय दिइयो।
'फरेन पोलिसी' मा प्रकाशित एक लेखअनुसार रूसमा दशकौंदेखि 'चोरहरूको संसार' भनेर चिनिने आपराधिक संस्कार छ। जेलभित्र र बाहिर निस्केपछि पनि त्यही संस्कारका नियम अपराधीहरूमा लागू हुन्छ। कडाइका साथ लागू हुने ती नियमका आफ्नै नैतिक सीमाहरू तोकिएका हुन्छन्। एक निहत्था महिलालाई आक्रमण गरेर जेल गएका कारण प्रिगोजिनलाई जेलमा दुःख दिइयो। तर विस्तारै उनी त्यही आपराधिक संस्कारमा भिजे। अहिले पनि उनी अरू कुनै कानुन मान्दैनन् र त्यही संस्कारका नैतिक र अरू नियम नै वागनर ग्रुपमा लगाउँछन् भनिन्छ।
तीस वर्ष टेक्नै लाग्दा सन् १९९० मा उनी जेलबाट छुटे र लेनिनग्रादमा 'हट-डग' बेच्न थालेर नयाँ जीवन सरू गरे। व्यापार बढ्दै गए पछि उनले रेस्टुरेन्टहरू खोले। उनकै रेस्टुरेन्टमा सेन्ट पिटर्सवर्गका तत्कालीन उपमेयर भ्लादिमिर पुटिन खाना खान्थे। सोभियत संघ विघटन भएपछि त्यही उथलपुथलको समयमा पूर्वगुप्तचर पुटिन र अपराधीहरूको लामो साँठगाँठ सुरू भएको मानिन्छ। पुटिन शक्तिशाली बन्दै जाँदा प्रिगोजिनले पनि तरक्की गर्दै गए।
पुटिन सन् २००० मा राष्ट्रपति भएपछि उनले प्रिगोजिनलाई ठूलाठूला क्याटरिङका ठेक्का दिन थाले। देशभरका विद्यार्थीलाई स्कुलमा खाना खुवाउने ठेक्का उनले पाए। सेना र जेलका कैदीको खानाको ठेक्का पनि उनैले पाए। विशाल राजकीय भोज र विदेशी राष्ट्र/सरकार प्रमुखहरू आउँदा पनि खानाको चाँजोपाँजो उनैले मिलाउँथे। त्यति बेलादेखि नै पुटिनका सेफ भनेर उनको नामकरण भयो।
सन् २०१६ को अमेरिकी राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पलाई जिताउन रूसी ह्याकर र ट्रोल-सेनाको सफल परिचालन गरेपछि प्रिगोजिनले विश्वव्यापी ख्याति कमाए। तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुस सन् २००५ मा रूस भ्रमणमा जाँदाको एउटा भोजमा पुटिन र बुसनजिकै उभिएका प्रिगोजिनको फोटो पाँच-सात वर्षअघि नै भाइरल भएको थियो।
खानामा बिष खुवाएर गरिने राजनीतिक हत्याका प्रचलनका कारण अन्तभन्दा रूसमा भान्से अझ विश्वासिलो हुनुपर्छ। आफ्ना हजुरबुवा स्तालिनका सेफ रहेका पुटिनलाई यो कुरा थाहा नहुने कुरै भएन। पुटिनका भित्री घेरामा पुगेका प्रिगोजिनले प्रशस्तै पैसा कमाए। विस्तारै गोप्य रूपमा वागनर समूहमा लगानी पनि गर्न थाले।
सन् २०१४ मा पुटिनले युक्रेनबाट क्राइमिया लिँदा रूसी सेनाको बर्दी नलगाएका वागनर समूहका र अरू लडाकु खटाए। डोनबास क्षेत्रमा रूसी समर्थनमा छेडिएको पृथकतावादी विद्रोहमा पनि तिनै परिचालन भए। पुटिनलाई पनि ती रूसी सेना होइनन् र आफूले त्यो गराएको होइन भनेर अन्तर्राष्ट्रिय समुदायसँग बहाना बनाउन सजिलो भयो।
पुटिनको निर्देशनमा प्रिगोजिनले ट्रोल-फार्म भनेर चिनिने इन्टरनेट रिसर्च एजेन्सी पनि खोले। त्यसै मातहतका ट्रोल र ह्याकर परिचालन गरेर ट्रम्पलाई निर्वाचित गराउन सक्दो प्रयास गरे। ट्रम्प निर्वाचित भएपछि अमेरिकी सुरक्षा एजेन्सीले उनलाई निर्वाचन हस्तक्षेपको सूत्रधार भनी औंल्यायो। प्रतिबन्ध पनि लगायो। उनले त्यसपछि अन्तर्राष्ट्रिय ख्याति प्राप्त गरे। वागनर समूह प्रिगोजिनले नै चलाउँछन् भन्ने गाइँगुइँ चल्न थाल्यो। तर त्यो बेला उनले त्यसलाई अस्वीकार गरे।
वागनर समूह रूसको तर्फबाट सेनासँगै लिबिया, सिरिया र अफ्रिकी मुलुकहरूमा खटिन थाल्यो। पैसा, तेल वा अरू बहुमुल्य वस्तु लिएर कुनै पनि तानाशाहका लागि भाडामा लड्न थाल्यो। तानाशाहहरूसँग रूसको कूटनीतिको महत्वपूर्ण हिस्सा बन्यो। कतिसम्म भने अहिले वागनर समूह रूसी राज्यबाट अलग हुने हो भने अफ्रिका महादेशमा रूसको कुनै सैन्य हैसियत नहुने केही विश्लेषकहरूको दाबी छ।
पुटिनले गत वर्ष युक्रेनमा आक्रमण गरेपछि भने प्रिगोजिन वागनर समूहको कमान्डरका रूपमा सार्वजनिक भए। पुटिनले सन् २००५ मा जेल हालेका त्यस बेलाका रूसका सबभन्दा धनी व्यक्ति मिखायल खोदोरकोव्स्कीका अनुसार आक्रमणको सुरूमै वागनर समूहलाई युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको हत्या गर्न खटाइएको थियो। सुरक्षा एजेन्सीमा रहेका प्रिगोजिनलाई मन नपराउनेहरुले युक्रेनीलाई त्यो सूचना चुहाएपछि त्यो योजना विफल भएको दाबी हाल लन्डनमा निर्वासनमा रहेका खोदोरकोव्स्कीले गरेका छन्।
धेरै छाडा बोल्ने र पुटिनसँग सिधा पहुँच भएकाले कसैलाई नटेर्ने प्रिगोजिनसँग रूसी जनरलहरूको सम्बन्ध पहिल्यैदेखि उति राम्रो थिएन। सन् २०१८ मा सिरियामा कुर्दहरूको नियन्त्रणमा रहेका तेलको खानी कब्जा गर्न पठाएका उनका लडाकुलाई रूसी जनरलहरूले अमेरिकी सेनाको हातबाट मारेको भनिन्छ। तेल खानीको सुरक्षामा खटिएका अमेरिकी स्पेसल फोर्सले हटलाइनमार्फत रूसी हाइकमान्डलाई सम्पर्क गर्दा त्यहाँ रूसी सैनिक छैनन् भन्ने स्पष्टोक्ति दिए। त्यसपछि अमेरिकाले गरेको बमबारीमा सय न्दा धेरै वागनर समूहका सेना मारिएका थिए भनिन्छ।
वागनर समूहका एक लडाकुलाई उद्धृत गर्दै १८४३ म्यागजिनले लेखेअनुसार प्रिगोजिनले आक्रमणका लागि क्रेमलिनसँग अनुमति लिएका थिए। तर उनलाई तह लगाउन जानीजानी आफ्नो सैनिक त्यहाँ नरहेको रूसी रक्षा मन्त्रालयले अमेरिकी सेनालाई भन्यो।
जेलेन्स्कीको हत्या गर्न असफल भए पनि युक्रेनसँग युद्ध लम्बिँदै गएपछि प्रिगोजिनले झन् धेरै शक्ति आर्जन गर्न थाले। किभ कब्जा गर्न नसकेर रूसी सेना फर्केपछि र ठूलो संख्यामा सैनिक मारिन थालेपछि युद्ध धान्न पुटिनको अनुमतिमा प्रिगोजिनले रूसका जेलमा रहेका कैदीहरू वागनर समूहमा भर्ती गर्न थाले। त्यसो गर्न उनले सुरक्षा, जेल प्रशासन, अदालत वा अरू कुनै राज्यका अंगसँग अनुमति लिनुपर्थेन। सिधै जेलमा गएर छानीछानी कैदीहरू भर्ती गर्थे।
सेप्टेम्बर २०२२ मा सार्वजनिक एउटा भिडिओमा जेलभित्र केदीलाई सम्बोधन गर्दै प्रिगोजिनले भनेका छन्, 'भगवान र अल्लाहले तिमीहरूलाई यहाँबाट शव राख्ने बाकसमा बाहिर निकाल्न सक्छन्। म भने तिमीहरूलाई यहाँबाट जिउँदै निकाल्न सक्छु। वागनर समूहबाट युक्रेनमा लड्यौ भने कुनै पनि हालतमा जेल फर्किनुपर्ने छैन।'
प्रिगोजिनले कैदीहरूलाई निर्णय लिन ५ मिनेट मात्रै दिए।
यसरी भर्ती भएर अग्रपंक्तिमा आएपछि लड्दिनँ भन्ने कैदीको विभत्स हत्या गरिन्थ्यो। त्यसरी भागेर पछि पक्राउ परेका येवगेनी नुजिन नामका एक पूर्व कैदीको टाउकोमा वागनर समूहले ठूलो हतौडाले हानेर हत्या गरेको भिडिओ पोस्ट गरेको थियो। प्रिगोजिन खुसी भएर त्यो युनिटको भ्रमण गरे र 'डरपोकहरू मार्नका लागि' भन्ने कुँदेर एउटा हतौडा उपहार दिए। त्यसपछि रूसभरि हतौडाको बिक्री ह्वात्तै बढ्यो र हतौडा युक्रेन युद्धको एक बिम्बका रूपमा स्थापित भयो।
यसरी एकातिर आफ्नो स्वतन्त्रताको लोभ र अर्कोतर्फ ज्यानको बाजी लगाएका वागनर समूहका कैदीले रूसी सेनाभन्दा कुशलतासाथ लडे। यसरी युद्धमा सेनाभन्दा राम्ररी लडेपछि पुटिन प्रिगोजिनसँग झन् खुसी भए।
प्रिगोजिन भने विस्तारै सैनिक हाइकमान्डले आफूलाई बदनियतवश हातहतियार नदिएको भनेर जनरलहरूलाई तथानाम गाली गर्न थाले। लगातार भिडिओ बनाएर रूसीहहरु धेरै प्रयोग गर्ने एप 'टेलिग्राम' मा हाल्थे। जनरलहरू कति नालायक छन् र बहादुरी साथ लडिरहेका आफ्ना लडाकुहरूलाई कसरी सेनाले असहयोग गर्छ भनेर आरोप लगाउँथे।
यो सबका बाबजुद वागनर समूह युक्रेनसँग लडिरह्यो। एक महिनाअघि लामो लडाइँ र धेरै नोक्सानीपछि बाख्मुत सहर पनि वागनर समूहले नै कब्जा गरेको थियो। पछिल्लो समय एकपछि अर्को हार बेहोरिरहेको रूसका लागि त्यो विजयको खासै रणनीतिक र सामरिक महत्व नभए पनि देखाउनका लागि ठूलो थियो।
विशेष सैनिक अपरेसन भनेर युक्रेनमा आक्रमण सुरू गरेका पुटिनले कसैले 'युद्ध' शब्द उच्चारण गर्दा पनि खोरमा हाल्थे। तर सेनाले युद्धमा राम्रो प्रदर्शन गर्न नसकेको भनी रक्षामन्त्री सर्गेइ शोइगु र सेनाप्रमुख भ्यालेरी गेरासिमोव लगायत जनरलहरूलाई गालीगलौज गर्दा पनि पुटिन वास्ता गर्दैन थिए। युद्धका बेला सेना धेरै शक्तिशाली हुने र आफ्नाविरूद्ध मोर्चाबन्दी गरेर कू गर्नसक्ने डरले पुटिनले उनीहरूलाई सन्तुलनमा राख्न प्रिगोजिनको प्रयोग गरेको पश्चिमा विश्लेषकहरु दाबी गर्छन्।
प्रिगोजिन लगायत अरू कट्टरपन्थीहरूले धेरै विरोध गरेपछि पुटिनले २०२२ अक्टोबरमा गेरासिमोवलाई हटाएर जनरल सरगइ सुरोभिकिनलाई युक्रेन आक्रमणको सर्वोच्च कमान्डर बनाए। सिरियामा विद्रोहीहरूको क्रुर दमन गरेर, विशेषगरी अलेपो सहरलाई तहसनहस हुने गरी बमबारी गरेर ख्याती कमाएका सुरोभिकिनसँग प्रिगोजिनको सिरियामा वागनर समूह लड्दादेखिकै राम्रो सम्बन्ध थियो।
सुरोभिकिनले आफू कमान्डर भएपछि युक्रेनका ऊर्जा पूर्वाधारहरूमा व्यापक आक्रमण गरे र युक्रेनी सेनालाई पूर्वाधारको सुरक्षा गर्नमा थोरै भए पनि अल्मल्याए। तर सुरूको भन्दा राम्ररी नै युद्धमोर्चाको नेतृत्व गरिरहेका सुरोभिकिनलाई तीन महिनामै पुटिनले एकाएक हटाए र गेरासिमोवलाई कमान्डर बनाए। सुरोभिकिनलाई दोस्रो वरीयतामा राखे। यी निर्णय रूसी सेनाभित्रको आन्तरिक शक्तिसंघर्षका कारण भएको मानिन्छ।
प्रिगोजिन धेरै शक्तिशाली भएको र उनको महत्वकांक्षा बढ्दै गएको भन्ठानेर उनलाई देखी नसहने गेरासिमोवलाई फेरि पुटिनले नियुक्त गरेको कति विश्लेषक मान्छन्। कति भने प्रिगोजिन र सुरोभिकिन मिलेर आफैंलाई कू गर्लान् भन्ने डर समेत पुटिनलाई भएको ठान्छन्।
'फरेन अफेयर्स म्यागजिन' मा छापिएको एक लेखअनुसार पुटिनले हिरो मान्ने १८औं शताब्दीका शक्तिशाली रूसी जार पिटर द ग्रेटले दरबारमा अलेक्जेन्डर मेन्शिकोभ नामका एक जनालाई जोकरजस्तो बनाएर राखेका थिए। मेन्शिकोभ साधारण परिवारबाट आएका थिए। कुलीनहरूसँग हैसियत मिल्दैन थियो तर उनी जारप्रति एकदमै बफादार थिए। त्यसैले कुलीन र शक्तिशाली भारदारहरूलाई तह लगाउन जार पिटरले उनलाई जे गर्न र भन्न पनि छुट दिएका थिए। भलै तमासा देखाउन जारले बेला-बेला मेन्शिकोभलाई भारदारी सभामा लौराले हिर्काइरहन्थे।
प्रिगोजिनलाई कतिले पुटिनको मेन्शिकोभ भन्छन्।
प्रिगोजिनको यो विद्रोह हुँदै गर्दा कतिले जार निकोलस द्वितीयको शासन अन्त्यसँग पनि जोडे। रूसका अन्तिम सम्राट निकोलस द्वितीयको लोकप्रियता उनको तानाशाही नेतृत्वमा सन् १९०५ मा जापानसँगको युद्धमा लज्जास्पद हार र सन् १९१४ मा सुरू भएको प्रथम विश्वयुद्धमा सेनाको खराब प्रदर्शनका कारण ज्यादै खस्किएको थियो। त्यसैको दबाबमा सन् १९१७ मा उनी गद्दी त्याग्न बाध्य भए।
युक्रेनसँगको युद्धमा खराब प्रदर्शनपछि पुटिनको पतन पनि त्यसरी नै हुने त होइन भनेर कतिले आकलन गरे। पुटिन आफैंले पनि हिजोको सम्बोधनमा सन् १९१७ को स्थितिसँग तुलना गरेपछि अझ उनको क्रेमलिनमा पकड फुस्किँदै गएको भने।
हाललाई यो संकट टरेजस्तो देखिए पनि प्रिगोजिनलाई धूलोपिठो पार्छु भनेको केहीबेरमै उनलाई माफी दिनु परेपछि रूसी भूमिमा पुटिनको मात्रै नियन्त्रण नभएको देखिन्छ। प्रिगोजिनको सेना मस्कोतर्फ बढ्दा युक्रेनमा खटाइएका केही रूसी सेना उनलाई रोक्न रूसतर्फ फर्केको हल्ला चलेको थियो। सुलहपछि त्यो अहिलेलाई रोकिएको छ।
प्रिगोजिनको सेना मस्कोतर्फ बढ्दा केही बेर भएको झडपमा केही अत्याधुनिक हेलिकप्टरहरू नष्ट भए पनि रूसले हिजोको विद्रोहमा खासै भौतिक सैन्य क्षति बेहोर्नुपरेन। तर पनि युक्रेनविरूद्ध युद्धमा र स्वयं पुटिनका लागि यो विद्रोह ठूलो धक्का हो। युक्रेनसँग लड्न अग्रपंक्तिमा फर्किने वागनर समूह र रूसी सेनाबीचको अविश्वास झनै बढ्नेछ। भर्खरै पश्चिमाहरूको साथमा 'काउन्टर अफेन्सिभ' सुरू गरेको युक्रेनलाई रोक्न अझ मुश्किल हुनेछ।
अझ कमजोर हुँदै गए भने आफू सत्ताच्युत हुनै लागेको ठानेर अत्तालिएका पुटिनले आफ्नो सत्ता र ज्यान जोगाउन अन्तिम अस्त्रका रूपमा आणविक हतियार प्रयोग गर्ने खतरा भने यो प्रकरणले झन् बढेको छ। त्यस्तै कू गरेर प्रिगोजिन वा अरू त्यस्तै खराब मान्छेले सत्ता हातमा लिए भने पनि विश्वकै लागि खतरा हुनेछ।