नेपालमा पोडकास्टका नाममा कुनै फुर्सदिलो मानिस ल्याएर घन्टौं उसका अन्टसण्टन्ट कुरा सुन्ने र उसको अहंकार तुष्टि गर्ने लहर चल्नुभन्दा पहिल्यैदेखि भृकुटी राई र इतिसा गिरीले चलाउने गरेको 'बोजु बजै' ले सरल भाषामा गहन विषयहरूको उठान र चोटिलो विमर्श गर्दै आएको छ।
त्यही पोडकास्टको सब्स्ट्याक पेज 'कोल्ड टेक्स बाइ बोजु बजै' बाट हालै मेरो इमेलमा एउटा पोस्ट आयो — ह्वाट वुड सीता डु?
त्यसको अन्तिमतिर यो अनुच्छेद छ — यदि आजको नेपालमा सीता हुन्थिन् भने रामले परित्याग गरेकी एकल आमा भएकाले उनी वडा कार्यालयमा गएर घोषणा गर्नुपर्थ्यो, मेरा केटाकेटीका बाबु रामको अत्तोपत्तो छैन। त्यसपछि मात्रै उनले आफ्नो नागरिकताका आधारमा सन्तानलाई नागरिकता दिलाउन सक्थिन्। कथंकदाचित रामायणमा भनिएझैं पछि गएर राम केटाकेटीको पितृत्व दाबी गर्न आए भने झुटा बोलेको आरोपमा सीताले जरिवाना तिर्न र जेल जानुपर्थ्यो।
यो एउटै अनुच्छेदले अहिले नेपालमा एउटा फिल्म र नागरिकता ऐनका विषयलाई लिएर चलिरहेको राष्ट्रवादी हौवालाई जमिनमा अवतरण गराउँछ।
र, कमै सोधिने तर नसोधी नहुने एउटा प्रश्न सोध्छ — शास्त्रमा लेखिएकी सीताका विषयमा यत्रो विवाद, सरोकार, बहस र खिचातानी हुँदा आजका दिनमा स्वतन्त्र नागरिक बन्ने चेष्टाकै कारण राज्यबाट अपमानित सीताहरूबारे हाम्रो चिन्ता खै? नागरिकता ऐनमा यस्तो विभेदकारी प्रावधान राख्न पाइँदैन भनेर आवाज बुलन्द भएको खै?
हालै यस विषयमा क्लबहाउसमा भएको एउटा पेचिलो बहसमा मैले उक्त अनुच्छेद पढेर सुनाएँ। पक्ष र विपक्षमा बहस भयो।
'आदिपुरूष' फिल्मको एउटा संवाद र त्यसका लेखकले बोलेको एउटा वाक्यका कारण काठमाडौं महानगरपालिकामा हिन्दी फिल्म निषेध गर्ने मेयर बालेन शाहको निर्णयको पक्षमा हुने साथीहरूले तर्क गरेः
— राम र सीता बाँचेको समयमा अहिलेको नेपाल र भारत थिएनन् होला तर अहिले त जनकपुर नेपालमा पर्छ र सीता नेपालकी सांस्कृतिक विम्ब बनिसकेकी छन्। त्यसैले उनलाई भारतीय वा भारतमा जन्मेकी भन्न मिल्दैन।
— भारतले गर्ने धेरै बलमिच्याइँमध्ये सांस्कृतिक थिचोमिचो पनि एक हो। त्यसैले त्यसको जसरी सकिन्छ उसरी प्रतिकार गर्नुपर्छ।
— कानुनले महानगरको मेयरलाई फिल्म रोक्ने अधिकार नदिएको हुन सक्ला तर देशको सार्वभौमसत्ताको रक्षा गर्नु सबैको कर्तव्य हो भनेर संविधानमै लेखिएको छ, त्यसैले फिल्म रोक्नु उसको कर्तव्य हुन्छ, आदि।
यो सिंगो प्रकरणमा मेरा तीन आधारभूत तर्क थिए।
एक, कुनै फिल्ममा भएको संवाद वा त्यसका लेखकले भनेको कुराबाट आक्रोशित हुन वा प्रतिवाद गर्न पाइन्छ। त्यस्तो कलाकर्म बहिष्कार गर्न पनि पाइन्छ। त्यसैले यो प्रकरणमा बालेनले विधिवत रूपमा र निर्विवाद गर्न सक्ने एउटा काम थियो — फिल्म हेर्न हलमा नजाने। वास्तवमा यो त्यतिमै सिद्धिनुपर्ने कुरा थियो।
दुई, यो देशको सार्वभौमसत्ता के हो र त्यो कसरी सुरक्षित हुन्छ भनेर निर्धारण गर्ने ठेक्का कसको हो? सार्वभौमसत्तामा आँच आउने कुरा हलमा नदेखाइयून् भनेर चलचित्र सेन्सर बोर्ड राखिसकेपछि, उसले एउटा संवाद हटाएर फिल्म देखाउने अनुमति दिएपछि, महानगरले कुन कानुनी प्रावधानमा टेकेर नगर प्रहरी पठाएर फिल्म रोकेको हो?
तीन, सार्वभौमसत्ता सम्पन्न देशको स्वतन्त्र नागरिक हुनुका नाताले संसारको जहाँसुकै बनेको साहित्य वा कलाकर्म हेर्न, सुन्न वा पढ्न मैले पाउने कि नपाउने? कि मैले अबदेखि आफ्नो र कला-साहित्यको बीचमा 'राष्ट्रवादी' सेन्सरसिपको पर्खाल स्वीकार गर्नुपर्ने हो? हामीले स्थानीय निकायहरूमा काम गर्ने प्रतिनिधि चुनेको हो कि हाम्रा लागि केकस्ता कलाकर्म स्वीकार्य हुन् भनेर सेन्सर गर्ने, हाम्रो विचार निर्माणको प्रक्रियामै हस्तक्षेप गर्ने इरानी पाराको 'मोरालिटी पुलिस' चुनेको?
यो प्रकरणमा विकास भएका घटनाक्रमहरूले भविष्यमा सिर्जना हुने यस्ता बहसहरू, तिनले बनाउने भाष्य र त्यसले आम नागरिकका जीवनमा पार्ने प्रत्यक्ष प्रभावहरूका कारण यसलाई विस्तारमा बुझ्न र विमर्श गर्न आवश्यक छ।
जुन समयमा नेपालमा फिल्मविरोधी राष्ट्रवादको उभार आयो, त्यसभन्दा केही दिनअगाडि मात्रै एक युवाले काठमाडौंको केन्द्रमा आत्मदाहको प्रयास गरे। यही उभार चल्दाचल्दै पूर्वबाट चलेको मनसुनको ताण्डवका कारण झण्डै दर्जन जनाको मृत्यु भयो, एक दर्जनभन्दा धेरै मजदुर त एउटै जलविद्युत आयोजनाको स्थलबाट बेपत्ता भए।
हेर्दा यी दुवै फुटकर घटनाजस्ता लाग्छन्। तर एकपल्ट ठन्डा दिमागले सोचौं त, नागरिकता पाउने संवैधानिक अधिकारका बाबजुद पूर्व राष्ट्रपतिको असंवैधानिक कदम र न्यायालयको निरन्तरको अनुदार रवैयाका कारण वर्षौंवर्ष नागरिकता नपाएका, उच्च शिक्षामा भर्ना हुन र बैंक खातासम्म खोल्न नपाएका झन्डै ६ लाख नागरिकको बिजोग कति गम्भीर कुरा हो?
त्यस्तै महिनौंको खडेरीपछि देशमा प्रवेश गरेको मनसुनले सुरूआती दिनमै यत्रो धनजनको क्षति गरेपछि अबको डेढ महिनासम्ममा हुन सक्ने क्षति र त्यसको न्यूनीकरणका लागि गर्नुपर्ने तयारी कति गम्भीर कुरा हुन्?
यी दुवैलाई एउटा फिल्ममा 'सीता भारतकी छोरी हुन्' संवाद भन्ने राखिएको कुरा र सामान्य ज्ञानमा कमजोर एउटा भारतीय नागरिकले कुनै बेला नेपाल भारतको भूभाग थियो भनेको बकम्फुसे कुराको सापेक्षमा राखेर हेरौं त!
एकातिर लाखौं मानिसको नैसर्गिक अधिकार कुल्चिएको र दैनिक जीवन चौपट भएको छ। अरू लाखौंलाई यो बर्खाभरि बाँचिने हो कि होइन भन्ने भय छ। अर्कोतिर मानिसहरूको 'भावनामा चोट पुगेको' छ।
यीमध्ये कुन चाहिँ नेपालको राष्ट्रिय मुद्दा बन्नुपर्थ्यो? सिंगो देश खटिएर समस्याको समाधान खोज्नुपर्थ्यो। अनि कुनलाई खाली बेवास्ता गरे पुग्थ्यो?
सार्वजनिक विमर्शको यस्तो विषयान्तर असाध्य गम्भीर र डरलाग्दो कुरा हो।
यी त भए नेपालको परद्वेषी राष्ट्रवादका केही व्यावहारिक पाटा। अब त्यसका केही सैद्धान्तिक पक्ष हेरौं।
जसरी नश्लभेदी वा जातिभेदीहरूले मानिसलाई नश्ल र जातका आधारमा अपरिवर्तनीय समूहहरूमा बाँड्छन्, उग्रराष्ट्रवादीहरूले पनि राष्ट्रियताका आधारमा मानव जातिलाई त्यसरी नै बाँड्छन्।
त्यसो गर्नासाथ व्यक्तिका बाँकी सबै पहिचान गौण हुन पुग्छन्। व्यक्ति हाड–छाला भएको, भोक लाग्ने, रोजगारी आवश्यक पर्ने, राज्यप्रति मिश्रित भाव बोकेको विवेकशील मानिसबाट राष्ट्रियताको एक आयामिक पहिचान बोकेर हिँड्ने भीडको एउटा सदस्यमा बदलिन्छ।
उसको जीवनका अरू सबै मुद्दाहरू ओझेलमा पर्छन्। ऊ परिआएमा संविधान मिच्न वा हिंसामा उत्रिन पनि हिच्किचाउँदैन।
यस्तो उग्रराष्ट्रवादी भाष्य हावी हुने नेपाल एक्लो देश भने पटक्कै होइन। संसारमा जति पनि तानाशाह वा तानाशाह–अपेक्षीहरू छन्, तीमध्ये सबै जसोले त्यस्तो भाष्यलाई मलजल गर्छन्।
सिरियाको इस्लामिक स्टेट लगायत आतंककारी समूहहरूले विभिन्न देशमा हत्या र आतंक मच्चाउँथे, अमेरिकामा डोनाल्ड ट्रम्पले धेरै सिंगा मुस्लिम–बहुल देशहरूलाई नै 'मलद्वार–देश' भनेर सूचिकृत गरिदिन्थे। केही आतंककारीहरूको अपराधलाई लिएर सिंगो समुदाय र देशलाई लाञ्छित गर्थे।
हुँदा हुँदा २०१८ फेब्रुअरी १८ मा ट्रम्पले स्वीडेनमा हुँदै नभएको आतंककारी हमलालाई उद्धृत गर्दै अमेरिकामाथि मडारिइरहेको भनिएको आतंकवादको जोखिमको विषयलाई उराले। पछि गएर धेरैले अनुमान लगाए — ट्रम्प पक्कै पाकिस्तानको सेहवान नामक ठाउँ र स्वीडेन देशको नाममा झुक्किएको हुनुपर्छ किनकि दुई दिनअगाडि सेहवानको एउटा सुफी तीर्थस्थलमा भएको आत्मघाती हमलामा ८५ जना मारिएका थिए।
साँचो कुरा जेसुकै भए पनि त्यसले ट्रम्पका उग्रसमर्थकहरूलाई केही फरक परेन। उनीहरूलाई जसरी हुन्छ मुसलमानहरूको दानवीकरण गर्नु थियो। त्यही दानवीकरणमा आधारित आप्रवासन नीतिको पैरवी गर्नु थियो। श्वेत सर्वसत्तावादी शासन स्थापित गर्नु थियो।
आफ्नो विश्वदृष्टि अनुसारको भाष्यले सत्यमा टेकेको होस्, अर्धसत्यमा वा झुटमा, उनीहरूलाई केही फरक पर्दैन थियो। जबसम्म ट्रम्पले उनीहरूका काल्पनिक वैरीहरूमाथि निशाना साँधिरहन्थे, तबसम्म उनले गरेको जुनसुकै भ्रष्टाचार वा दुराचारप्रति आँखा चिम्लिदिन उनीहरू तयार थिए।
सामाजिक सञ्जालको यो युगमा संसारका सबै देश र समाजहरूमा अहिले यस खाले खतरा छ।
यो लेखमा मैले जोडेका तीन विषयबीच कस्तो अन्तर्सम्बन्ध छ भनेर बुझ्न एउटा परिदृश्य कल्पना गरौं — नागरिकता नपाएको तोडमा काठमाडौं महानगरको बीचमा रहेको माइतीघरमा आत्मदाहको प्रयास गर्ने नीरजकुमार कामतको पक्षमा बालेनले सटिक र पेचिलो पोस्ट लेख्दै नागरिकताको मुद्दामा देखिएको उग्रराष्ट्रवादलाई ठाडो चुनौती दिएको भए के हुन्थ्यो?
अथवा किताबभित्रकी सीता माताको जयगान गाउनुको सट्टा अहिले राज्यले दिइरहेको अपमानको विष पिएर सन्तानलाई नागरिकता दिलाउन विवश एकल महिलाहरूको पक्षमा दरो आवाज उठाएको भए के हुन्थ्यो?
अहिले उनको वाहवाही गरेका अधिकांश राष्ट्रवादीहरू अरिँगालझैं उनीमाथि खनिने थिए। सामाजिक सञ्जालमा उनका प्रशंसक र समर्थकहरूको संख्या ओरालो लाग्ने थियो। उस्तै परे उनले सामाजिक सञ्जालमा देशद्रोही भएको आरोप खेप्नुपर्ने थियो। मानिसहरूको धम्की सुन्नुपर्ने थियो।
त्यसको बदला विवादित संवाद मेटेर चलचित्र सेन्सर बोर्डले पास गरिसकेको फिल्म मात्र नभई सबै भारतीय फिल्म काठमाडौंका हलमा रोक्ने 'लोकप्रिय' निर्णय गर्दा उनले ठ्याक्कै उल्टो प्रतिक्रिया पाए। उनको चौतर्फी वाहवाही र जयगान भयो। अरू सहरका मेयरहरूसमेत उनको त्यो होडमा सामेल भए।
अर्थात् भीडको कसैलाई चिढ्याएर भए पनि न्यायको पक्ष लिनुभन्दा भीडको मनोविज्ञान बुझेर भीडकै पछि लाग्न बालेनलाई सहज र लाभदायी भयो।
नेतृत्वको यस्तो प्रवृत्ति किन खतरनाक हुन सक्छ भन्ने एउटा उदाहरण —
कुनै बेला उग्र नारामार्फत भीडलाई विरोधी पार्टी र यथास्थितिप्रति रूष्ट बनाएर जनमत जितेका डोनाल्ड ट्रम्पले एउटा बिन्दुमा गएर त्यही भीडमाथिको नियन्त्रण गुमाए।
एउटा भाषणमा उनले 'मैले (कोभिडको) भ्याक्सिन लगाएँ' के भनेका थिए, भीडले उनैलाई उल्लिबिल्ली पारेर अपमानित गर्न थाल्यो।
पछि गएर उनले भ्याक्सिन लगायतका केही विषयहरूका बारेमा बोल्नै छाडे जसमा उनको घोषित धारणा उनको मुख्य जनमतको भन्दा 'उदार' थियो। अर्थात भीडले उनलाई सेन्सर गर्न थाल्यो, भीडले चाहेको विषयमा आगो ओकल्ने उनी भीडले चित्त दुखाउला जस्तो लागेको विषयमा चुप बस्न थाले। नेतामाथिको आफ्नो यस्तो नियन्त्रणशक्ति पत्ता लगाएको उग्र भीडले उनलाई अझ बढी अनुदार, परद्वेषी र श्वेत सर्वसत्तावादी हुने बाटोमा डोर्याउँदै लग्यो।
रामायणकी सीताका विषयमा रातदिन चिन्ता गर्ने नेपाली राजनीतिका नयाँ नयाँ पात्रहरू आजकी सीतामाथिको ठाडो अन्याय हुँदा मुकदर्शक बनेर बस्नु त्यस्तै भीड–सिर्जित सेन्सरसिपको परिणाम त होइन?
हो भने यस्तो राजनीतिले हामीलाई जनउत्तरदायी लोकतन्त्रको मुकाममा पुर्याउला कि नागरिकलाई भोकभोकै पारेर राष्ट्रवादको नारा उराल्ने अधिनायकवाद वा सर्वसत्तावादको भासमा?
(जीवन क्षेत्रीका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्।)
ट्विटरः @jiwan_kshetry
(लेखक जीवन क्षेत्रीको किताब 'नुन–तेलः विगततिर पदयात्रा' हालै प्रकाशित छ। उनले पाठकहरूका लागि नियमित रूपमा सिफारिस गर्ने सामग्रीहरूका लागि हेर्नुहोस्ः द हिमालयन गेज।