'अन्ततः उमेर पुग्यो। अब टक्क लाएर नागरिकता बनाइन्छ। बालअधिकार ह्यानत्यान पनि ठीकै छ कि, तर नागरिक भन्या नागरिक हो नि यार! अब त कतै परिचयपत्र देखाउन भन्यो भने पनि शानसँग नागरिकता देखाउने हो। किन चाहियो कलेजको आइडी कार्ड! दादाको नागरिकतामा त जाबो मान्छेको अक्षर छ, मेरोमा त प्रिन्टेड हुन्छ होला। वाह! हिरोइन!'
बिहानैबाट फुरूकफुरूक चल्दै थियो मेरो। खाना खानेबित्तिकै बुबालाई हतारहतार तयार हुन लगाएँ। आफू त उठ्नेबित्तिकै तयारै थिएँ। दस मिनेट पर त छ जिल्ला प्रशासन। हिँड्दै गयौं बा-छोरी।
कार्यालय पुग्यौं। चाहिने कागजात दियौं। एकछिनमा भित्रबाट बोलावट आयो। म गएँ झ्यालनेर।
'अनि बुबाको नामबाट लिन खोज्नुभएको रहेछ नागरिकता, किन हो र? आमा हुनुहुन्न? लौ आमाको पहिचान खुलेको छैन भनेर घोषणा गर्नुपर्छ। पहिले त्यो मिलाएर ल्याउनू।'
म अकमक्क परेँ।
'हँ? के पहिचान नखुलेको? किन चाहियो र त्यो? बुबाको नागरिकता छ त त्यहीँ।'
झिजिँदै झ्यालबाट आवाज आयो — बुबाको त छ कि। तर बुवाको नागरिकताले मात्रै कहाँ पुग्छ? कि आमाको नागरिकता ल्याउनू, कि आमाको पहिचान खुलेको छैन भन्नुपर्छ। ल जानू अब।'
झ्यालउताका अंकल बोल्न छाडे। मेरो टाउको भननन गर्न थाल्यो।
'लौ अब के बन्दैन मेरो नागरिकता? के यार यो पहिचान नखुलेको? कहाँबाट ल्याउनु अब प्रमाण? भन्न के खोजेको हो पहिचान नखुलेको भनेर! दादाले नागरिकता लिँदासम्म त ठीक थियो त सबै। के भयो एक्कासि! के हो हत्तेरिका!'
बुबालाई खोज्न थालेँ। देख्दिनँ वरपर।
अत्तालिँदै हस्याङफस्याङ गर्दै थिएँ, झसंग ब्युँझिएँ।
उफ्! धन्न सपना रहेछ।
उठेर बक्क परेँ एकछिन। कस्तो खालको सपना होला। बाउको नागरिकताले पुग्दैन रे! हावा!
भाग्यवस्, यो कहिल्यै विपना नहुने सपना हो। मेरो सपनामा जसरी बुबा बोकेर नागरिकता बनाउन जाने हो भने त्यसरी अत्तालिनु पर्दैन। न पर्थ्यो न कहिल्यै पर्नेछ। तर यदि म आमा मात्रै लिएर गएको भए?
ओहो! मैले त सपनामा कति धेरै मान्छेको विपना पो देखेकी रहेछु!
नागरिकता विधेयक प्रमाणीकरण भयो।
पढ्दै थिएँ, देखेँ — नेपाली नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमै बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्ति वंशजको आधारमा नेपालको नागरिक मानिनेछ।
'बाबुको पहिचान नखुलेको...' एकछिन त्यहीँ रोकिएँ।
बडो महत्त्वपूर्ण कुरा रहेछ। दफा ८ मा गरिएको संशोधन हेरेँ।
बाबुको पहिचान नखुलेको पुष्ट्याइँ सहितको स्वघोषणा — आमाको नामबाट नागरिकता लिँदा निवेदनको साथमा बुझाउनुपर्ने अनिवार्य कागजात।
यी प्रावधान पढेको दिनदेखि मनमा अरू कुनै कुरा अलिबेर बस्न पाएको छैन। सायद सपनाले तर्साएको पनि त्यही भएरै होला।
यो बाबुको पहिचान हुन नसकेको भनेको के हो? आमालाई सन्तानको बाउ को हो भनेर थाहा नहुनु? जन्म दिने आमालाई जन्माएको बच्चा कसको हो भनेर कुन बेला थाहा हुँदैन? एकैपटक धैरै पुरूषसँग सहवास भयो अनि बच्चा बस्यो भने होला एउटा त। के राज्यलाई त्यो जानकारी चाहिएको?
राज्यलाई जानकारी चाहिएको नै किन? नागरिकतामा जन्म दिने दुवैको पहिचान खुल्नुपर्छ भनेर? तर यदि त्यसो हो भने त हरेक नागरिकतामा बुबा र आमा दुवैको परिचय खुलाउनु अनिवार्य हुन्थ्यो होला।
आजको दिनमा यदि सब नागरिकलाई आ-आफ्नो नागरिकता पल्टाएर देखाऊ भन्ने हो भने, कम्तिमा एक-तिहाई जनसंख्याको नागरिकतामा आमाको नामनिसान छैन होला। मेरै उमेरका प्रायः साथी समूहमा नागरिकतामा आमाको पनि नाम राख्ने म एक्लै हुन्छु। मैले रहरले राखेकी हुँ।
जब बाबुको नामबाट नागरिकता लिँदा आमाको नामको एक अक्षर पनि आवश्यक पर्दैन भने आमाको नामबाट नागरिकता लिँदा बाबुको पहिचान, विवरण किन चाहिन्छ?
नेपालको संविधान, भाग ३, 'समानताको हकमा' कतै, 'माथि जेसुकै लेखिएको भए पनि नागरिकताको हकमा भने महिलाको नागरिकता हैसियत पुरूष नागरिकताभन्दा एक दर्जा कम रहनेछ' भनेर लेखिएको छ हो? मैले पढ्न छुटाएकी हुँ?
होइन भने एक नागरिक आमाले आफ्नो सन्तानलाई नागरिकता दिलाउन, एक नागरिक बाबुभन्दा थप कागजात पुर्याउनुपर्ने किन हो?
हाम्रो गाउँमा एक जना आमा भन्नुहुन्थ्यो, 'सत्य भनेको आमा मात्रै हो हेर केटाकेटी। बा त बा हो/बा होइन!'
आमाले मजाकमा भन्नुभएको हो। तर एक तरिकाले सोच्ने हो भने, आमा गलत हुनुहुन्न। कुनै बच्चा आफ्नो हो कि होइन भनेर, जन्म दिने आमालाई थाहा नहुने कहिल्यै हुँदैन। तर बाउलाई भने कहिलेकाहीँ थाहा नहुन पनि सक्छ। उसले त आमाले भनेको पत्याइदिने हो। गलत नियत राखेका अपराधीहरूको अहिले कुरा नगरौं। त्योबाहेक नागरिकता दिलाउन आएको कुनै पुरूष असली पिता हो कि होइन, ऊ आफैंलाई थाहा नहुन सक्छ। प्रमाणित गरिदिन आमा चाहिन्छ। त्यसैले तर्क नै लगाउने हो भने बरू बाबुको नामबाट नागरिकता निकाल्दा चाहिँ आमाको पहिचान खुलाएर नागरिकता स्पष्टीकरण दिनुपर्ने होइन र?
यस्तो तर्क सुन्नेबित्तिकै कतिलाई यो सब कुरा अनावश्यक बखेडाजस्तो लाग्यो होला। कतिको मुखमाथि जुँगामै झुन्डिएको हुन्छ — यी डलरे महिलावादीहरू तिललाई पहाड बनाउँछन्!
कुनै कुरा झरेर जाने तिल हो कि थिचेर बस्ने पहाड, त्यो कुरा आफ्नै काँधमाथि नबस्दासम्म थाहा हुँदैन सायद।
साख्खै भए आफ्नै दिदी, नभए नाताकी दिदीलाई सम्झिनुहोस्। दिदीलाई बिहे गरेर पठाउनुभयो। केही समयमै मायालु भाञ्जा जन्मिए। तर पछि दिदीको डिभोर्स भयो। भिनाजु राम्रा मान्छे हुन्, असल पिता हुन्, केवल मन नमिलेर अलग्गिएका हुन् भने त केही छैन। तर दिदी भिनाजुसँग छुट्टिँदा जिउभरि घाउ बोकेर फर्केकी हुन् भने? कहिल्यै त्यो मान्छेको अनुहार हेर्न नपरोस् भनेर आएकी हुन् भने? भाञ्जाको जिन्दगीमा भिनाजु बाउ नभएर केवल वीर्य हुन् भने?
यस्तो बेला अब भाञ्जालाई नागरिकता दिन दिदी पर्याप्त छैनन् भन्ने थाहा पाउँदा कस्तो लाग्छ तपाईंलाई? सामान्य हो कुरा? त्यति नागरिकताका लागि अनुहार पनि हेर्न नसक्ने मान्छेलाई अनुरोध गर्दै जानपर्नु अन्याय होइन?
जाबो तिलले यति नराम्ररी त नथिच्नुपर्ने नि है?
यो त नेपाली पुरूषसँगै बिहे हुँदाको कुरा।
विदेशीसँग बिहे गर्दा त अझ कानुन चाहन्छ — छोरी नेपाल बस्दै नबसोस्। जति नै वर्ष नेपाल बसे पनि, ज्वाइँलाई यहीँ राखे पनि, भोलि नातिनीले वंशजको नेपाली नागरिकता कहिल्यै पाउँदिनन्। बाआमाले त छोराछोरीलाई बराबर गरेर हुर्काए। कहिल्यै केही कुरामा छोराभन्दा अलग व्यवहार गरेनन्। छोरीलाई विदेश घुम्ने, विदेशी ज्वाइँ रोज्ने स्वतन्त्रता दिए। तर पनि छोरीको हैसियत छोरासरह हुन सकेन।
जाबो तिलजत्रो कुराले छोरीको हैसियत नै बदल्न त नसक्नुपर्ने नि है?
अझ भयंकर डर त अर्को छ। यो तिलजत्रो कुराले छोरीको हैसियत मात्र बदल्दैन, छोरीलाई हिंसा सहने पनि बनाउन सक्छ।
मानौं मेरो कुनै भारतीय पुरूषसँग बिहे भयो। एक वर्षमै छोरी जन्मिई। अलि समयपछि लोग्नेको व्यवहार बदलिन थाल्यो। थाहा भयो लोग्ने डरलाग्दो रिसाहा छ। हातखुट्टा भाँचिने गरी त पिट्दैन, तर हरेक दिन कहीँ न कहीँ नीलो-रातो डाम बसेकै हुन्छ।
भर्खर बिहे गरेको एक वर्ष भयो, भारतको नागरिकता पनि छैन। उसलाई चटक्क छोडेर नेपाल आएँ भने सरकार 'बच्चालाई फर्काएर नल्याउनू, नागरिकता दिन्नँ म' भन्छ। आफू नेपाल आएर आफ्नै नामबाट नागरिकता दिन खोजे छोरी कहिल्यै देशकी प्रधानमन्त्री हुन पाउँदिन। कहिल्यै ठूलो सपना देख्नै पाउँदिन। आमाको मन न हो, सायद म डराउँछु।
सोच्छु होला — बरू छोरीको नागरिकता हुन्जेल सहन्छु, जे जे हुन्छ। भारतकै नागरिक होस्, पहिलो दर्जाकी होस्!
मैले वर्षौंसम्म हरेक दिन निलडाम सहेर बस्न सक्ने सम्भावना तिलजत्रै कुरा हो?
भोलि मेरो दादाले जोसुकैसँग बिहे गरे पनि, जुनसुकै देशकी भाउजू ल्याए पनि भदा/भदैनीले आमाको देश त के, नामसमेत नभनी वंशजको नागरिकता पाउँछ। यदि दादा र म बराबर हो भने मेरी छोरीले पनि ठ्याक्कै त्यस्तै हक पाउनुपर्ने होइन? भोलि मेरै कारण अंगीकृत नागरिकता बोकेकी छोरीलाई कुन मुखले 'यो देशमा भेदभाव छैन नानी, छोराछोरीको हक बराबर छ' भन्नु मैले? कति ठूलो झन्डाले देशको लाज छोप्नु?
यी सब प्रश्न क-कसलाई गरिरहेछु खै!
सायद अलिअलि सबैलाई होला। विधेयक बनाउनेलाई। विधेयक अँगाल्नेलाई। विधेयकलाई गाली गर्दा 'सुरक्षा खतरा' मात्रै देख्नेलाई। यो असमानता देखाउने अघिल्ला लेखहरू 'फेरि यी डलरे महिलावादीको रोनाधोना' भनेर पन्छाउनेलाई। सबैलाई।
तर सबभन्दा बढी, विधेयकको पक्षमा टेबल ठोक्ने महिला सांसदलाई। केबल प्रश्न होइन जानकारी पनि।
'अ' प्रिय सांसदज्यू,
सायद तपाईंलाई आफ्नो घरमा यी केही समस्या कहिल्यै आइपर्दैनन् भन्ने लागेरै टेबल ठोक्नुभयो होला। तर यति त तपाईंलाई पनि थाहा छ, आमाले आफ्नो नामबाट नागरिकता दिन्छु भन्नेबित्तिकै बाबुको पहिचान नखुलेको घोषणा गर् भन्नु, आमाको पहिचान पर्याप्त छैन भन्नु हो। यो राज्यले तपाईंलाई एक पुरूषसरह पक्का नागरिक मान्दैन। यदि तपाईं यो विधेयकमा समस्या देख्नुहुन्न भने तपाईं स्वयं पनि आफूलाई यो देशको पक्का नागरिक मान्नुहुन्न। नागरिक हुनु त सांसद हुने आधारभूत योग्यता हो नि है? यसरी त तपाईंको योग्यता नै पुगेको रहेनछ।
होस्, कृपया पद छोडिदिनुस्!
(सृजना पोख्रेलका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुस्)
ट्विटरः @SrijanArt