खेलका नियम जति धेरै जान्यो, खेलाडीलाई त्यति फाइदा हुन्छ। प्रेमीलाई चाहिँ प्रेमका नियम जति कम जान्यो, त्यति फाइदा।
खेलाडीले अरूले बनाइदिएको नियमअनुसार खेल्छ। प्रेमीले आफ्नो नियम बनाउँछ।
खेल नियममा बाँधिएर खेलिन्छ तर प्रेम नियमलाई नाघेर।
खेलमा जित्दा मजा आउँछ। प्रेममा हार्दा।
क्रिकेट चाहिँ मेरो प्रेम पनि थियो र खेल पनि।
बीस-पच्चीस वर्षअघि झापाको एउटा गाउँमा हामी क्रिकेटसँग प्रेम गर्थ्यौं। मैले 'हामी क्रिकेट खेल्थ्यौं' लेखिनँ। किनकि खेलका नियमअनुसार हामी खेल्दैन थियौं। हामीलाई क्रिकेटका नियमहरू थाहा थिएनन्।
नियम थाहा नहुनेहरूले नियम बनाउँछन्।
हाम्रा नियमहरू यस्ता थिए—
१. ब्याट हुँदैन थियो। ब्याटको ठाउँमा बाख्राको किलो ठोक्ने अलि लामो मुंग्रो हुन्थ्यो। अलि परिष्कृत हुँदै जाँदा हातले समाउन मिल्नेगरी खुकुरीले खुर्केर बनाइएको एक ब्याट प्रजातिको काष्ठीय वस्तु हुन्थ्यो। टस जितेको आधारमा कसले बलिङ वा ब्याटिङ पहिले गर्ने भन्ने हुँदैन थियो। त्यो रोज्ने सर्वाधिकार उसैसँग हुन्थ्यो जो ब्याटको मालिक हो। र, ब्याटको मालिकले जहिल्यै पहिले ब्याटिङ रोज्थ्यो।
२. केही गरी ब्याटिङ गरिरहेको बेला त्यो ब्याट-मालिकको आमाले उसलाई खाना खान बोलाउन आउनुभयो भने ऊ ब्याट नै लिएर जान्थ्यो। र ऊ खाना खाएर नफर्किउन्जेलसम्म खेल स्थगित हुन्थ्यो। तर जस्तै मुसलधारे पानी परे पनि खेल कहिल्यै रोकिँदैन थियो।
३. मंगलबार गाउँमा बजार लाग्थ्यो। त्यो दिन बरफ वा चटपटे खान भनेर सबैका बाआमाले एक वा दुई रूपैयाँ दिन्थे। त्यो बरफ वा चटपटे नखाईनखाई पैसा जोगाएर, सबैको पैसा भेला गरेर क्रिकेट खेल्न (रातो टेनिस बल) बल किन्थ्यौं। छक्का वा चौका हान्दा यदि त्यो बल हरायो भने जसले हान्दा हरायो, उसैले तिर्नुपर्थ्यो। त्यो किन्न सकेन भने उसले नजिकैका साथीलाई हारगुहार गर्न चाहिँ पाउँथ्यो।
४. वाइडको रन पनि आउँदैन थियो। बल पनि गनिँदैन थियो।
५. एउटा बलरले जति ओभर पनि बलिङ गर्न पाउँथ्यो।
६. दसौं विकेट झरिसकेपछि बाँकी एक्लै रहेको ब्याट्सम्यानले पनि एक्लै ब्याटिङ गर्न पाउँथ्यो।
७. छुट्टै अम्पायर राख्न मान्छे नपुग्ने भएकाले ब्याटिङ तिरको मान्छे अम्पायर हुन्थ्यो। र, उसलाई कसैले पहिल्यै भनिसकेको हुन्थ्यो, 'तँ मेरै घरको बाटो घर फर्किन्छस् हैन? यदि मलाई आउट दिइस् भने बाटो ढुकेर धुलाइ हान्छु।' त्यो खेलाडीलाई अम्पायरले हत्तपत्त आउट दिँदैन थियो।
तर विस्तारै नियम सिक्दै गयौं। रेडियोमा भारतका एफएमहरू टिप्न थाल्यो। पाँच दिनको टेस्ट क्रिकेट पनि रेडियोमा 'सुन्न' थाल्यौं। क्याच-आउट भएको व्याख्या रेडियोको मान्छेले जसरी गर्थ्यो, म त्यसैगरी दिमागमा त्यसको चित्र बनाउँथेँ। अनि दाँइ गरेर राखेको परालमा 'जम्प' हानेर रेडियोमा भनेजसरी क्याच लिएको अभिनय गर्थेँ।
क्याच लिइसकेपछि रेडियोको मान्छेले जस्तै तर नेपालको सन्दर्भमा व्याख्या गर्थेँ, 'ब्याट्सम्यानने ब्याक फुट में जाके मार्ने की कोशिश! लेकिन पोइन्ट पे खडे फिल्डर नवराज पराजुली ने दौडते हुवे जम्प किया! और हवा की उस बलको पंक्षी के तरह लपेटलिया। और यह आउट! बेहतरिन फिल्डिङ नवराज पराजुली की तरफ से। पोइन्ट की दिशा में अगर हवा में बल हो और वह बल नवराज को पार करके जाए, यह नामुमकिन है!'
पछि गाउँका ठूला दाइहरूले अरू नियम सिकाउन थाले। अलि पछि दाइहरूले किनेको साँच्चैको ब्याटमा खेल्न थालियो। जस्तै सस्तो ब्याट भए पनि दाइहरूले स्टिकर उक्काएर 'एम.आर.एफ' लेख्थे किनकि उनीहरूलाई थाहा रहेछ- सचिन तेन्दुलकरले खेल्ने ब्याटमा 'एम.आर.एफ' लेखिएको हुन्छ।
र, एकदिन हाम्रो मंगलबारे गाउँको क्रिकेट टिम बन्यो— अमित सुब्बा, शालिक पराजुली, पदम खरेल, ज्ञानेन्द्र लिम्बू, मोहन बेघा, नवराज पराजुली आदिको। मैले ब्याटिङ गर्दा कहिलेकाहीँ ड्याङडुङ रन पनि बन्थ्यो। कतिपटक शून्यमै आउट। म ब्याटिङ राम्रो जान्दिनँ थिएँ।
तर नजान्दै मजा आउने कुरा मजा लिँदै जान्न खुब मजा आउँछ।
म बलर चाहिँ पहिलो रोजाइको थिएँ किनकि मैले बलिङमा आफ्नो ऊर्जा खन्याएको थिएँ।
मान्छेले आफ्नो ऊर्जा जुन विन्दुमा खन्याउँछ, त्यो विन्दुसँग मान्छेलाई जोड्ने अरू विन्दु ऊर्जाले आफैं खोज्छ।
पैसाको बाजीमा वरपरका गाउँसँग खेल हुन थाल्यो। चारकोसेको जंगलनेर जलथलको टिमसँग खेल्दा मैले लगातार योर्कर बल हानेर ह्याट्रिक गरेँ। हाम्रो टिमको क्याप्टेन अमितले कुद्दै आएर मलाई गर्ल्याम्म अँगाल्यो। भारतमा लामो समय क्रिकेट खेलेर आएकाले ऊ हामीभन्दा धेरै गुणा राम्रो क्रिकेट जान्ने थियो।
जान्नेले आफ्नो कामलाई अँगालिदिए भने आफूलाई पनि आफ्नो काम अँगाल्न हौसला मिल्ने रहेछ।
खेल जित्यौं। मेरो १० रूपैयाँ २० रूपैयाँ भयो।
मलाई पैसा दिँदै अमितले भन्यो, 'नबु, मैले तिमीजस्तो योर्कर फाल्ने बलर अहिलेसम्म देखेको छैन। तर तिमी अरू तरिकाको बलिङ पनि गर। बलरसँग धेरैखाले बल गर्ने तरिका भयो भने ब्याट्सम्यान झुक्किन्छ। तिमीले त्यसरी सिक्यौ भने भोलि नेपालको नेसनल टिमबाट बलिङ गर्न चान्स मिल्न सक्छ।'
यति सुन्दा एउटा मेरो निधारतिर यस्तरी हावा चल्यो कि निधारभरिको पसिना सुकेर शित्तल भयो। मेरो दिमागले कल्पना गर्न थाल्यो कि म नेपालको राष्ट्रिय टिमको बलर भएँ। भारतको क्रिकेट सुन्दै हुर्केको भएर होला, भारतसँग खेलेको कल्पना गरेँ।
अनि भारतको एफएमको कमेन्ट्री सुनेकाले गर्दा कमेन्ट्री पनि हिन्दीमै कल्पना गरेँ— भारतके ओपनर बल्लेबाज क्रिज पे खडे है। आज बडा स्कोर देखने को मिल सकता है। क्योंकि नेपाल की टिमके साथ भारत ने हमेसा बडा स्कोर खडा किया है। और नेपाल की तरफ से बलिङ ओपनिङ करने के लिए आए है एक नयें गेंदबाज- नवराज पराजुली। इनका यह पहला म्याच है। लेकिन क्याप्टेन ने इन से ओपनिङ करने की सोच बनाली है। इन की रनिङ काफी लम्बी है। और यह बल। सब चौंक गए है!! क्लिन बोल्ड कर दिया! पहले बल में ही धमाका! नवराज की योर्कर बलको भारतीय ब्याट्सम्यान पढ नहीं पाये…और दुसरी बल में भी विकेट…और तिसरी बल में भी…नेपाल की इस ह्याट्रिक के वजह से भारत की ब्याटिङ धराशायी हो गई है। भारतीय दर्शको में सन्नाटा छा गई है। अब सब जानना चाहेंगे की नेपाल की यह नई गेंदबाज नवराज पराजुली आखिर हे कौन?'
पसिना नै सुकाइदिने यो मिठो कल्पना गरेको भोलिपल्ट कलेजमा परीक्षाको रूटिन आयो। मेरो ओठ सुक्यो। खेलकुद सबै सुक्यो। सबै खेल ठप्पै। म पढाइमा पहिलो हुने छात्र थिएँ। त्यो परीक्षापछि अर्को कक्षामा गएसँगै उमेर पनि अर्को वर्ष चढ्यो। सबैतिरको माहोल यस्तो थियो कि अब त्यो कुरामा ध्यान दिनुपर्छ जुन कुराले जागिर दिन्छ।
त्यो बेलामा खेलकुदबारे प्रायः सबैको मान्यता यस्तो थियो—
१. खेल खेलेर कसैले परिवार पाल्न सक्दैन।
२. पढ्न नजान्नेहरूले खेल खेल्ने हो।
३. खेलले जागिर दिँदैन।
४. खेल्नेहरूलाई सरकारले गन्दैन।
५. खेल्दा चोटपटक लागेर अंगभंग भयो भने कसैले हेर्दैन।
६. खेल्नु भनेको भविष्य बिगार्नु हो। आफ्ना खुट्टामा आफैंले बञ्चरो हान्नु हो।
पाँच जना छोराछोरीलाई पढाउँदा अनि तीन वटी छोरीको बिहे गर्दाको ऋणले बाआमाको टाउको यति भारी भइसकेको थियो कि, उहाँहरू बिहान चार बजेतिरै उठेर खै केके गुनगुन गुनगुन सल्लाह गर्नु हुन्थ्यो। त्यो सल्लाहमा 'पैसा' भन्ने शब्द दोहोरिरहेको म पल्लो कोठाको खाटबाट सुन्थेँ।
यस्तो बेला म त्यो कुरामा होमिन सक्दिनँ थिएँ जे गरेर परिवार पाल्न सकिँदैन, जो पढ्न जान्नेहरू गर्दैनन्, जसले जागिर दिँदैन, जसलाई सरकारले गन्दैन, जुन काम गर्नु भनेको आफ्नो खुट्टामा आफैंले बञ्चरो हान्नु हो।
र, यदि म क्रिकेटमा हाम फाल्नै चाहेको भए पनि हाम फाल्ने ठाउँ कहाँ हो, केही थाहा थिएन। जलथल हल्दिबारीसँग पैसाको बाजीमा क्रिकेट खेलेर राष्ट्रिय टिममा परिँदैन थियो। कसरी कोसँग खेल्ने हो बताइदिने कोही थिएन। अनि खेल्न कहाँ जाने? चन्द्रगढी? धनकुटा? विराटनगर? कि काठमाडौं?
काठमाडौं त झापाबाट धेरै टाढा लाग्थ्यो।
देशको टिमबाट क्रिकेट खेल्ने बाटो के हो भन्ने कुरा हामी गाउँमा बस्नेलाई कहिल्यै थाहा भएन। सपनासम्म पुग्ने पनि बाटो हुन्छ भन्ने कुरा देश बनाउनेहरूलाई थाहा भएन। उनीहरूले बाटो भनेको गिटी र अलकत्रा मात्रै बुझ्छन्। हुन त जसको दिमागमा जे छ, उसले त्यति मात्रै बुझ्ने हो।
बाटो थाहा नपाएपछि मैले झापामै बोर्डिङ स्कुलमा जागिर खान थालेँ। मैले बलिङ गर्न चटक्कै छोडेँ। मेरो जिन्दगीको क्रिकेटमा नयाँ खेलाडी जन्मियो। त्यो खेलाडीको नाम थियो 'पैसा कमाउनुपर्ने दबाब।'
त्यो दबाबले दाबेर बलिङ गर्न थाल्यो। त्यसपछि पैसा कमाउनुपर्ने दबाबले हरेक वर्ष बलिङ गर्यो र हरेक वर्ष मेरो सपनाको विकेट लियो।
म हार्दा हार्दा थाकेँ।
कुनैकुनै थकानले यसरी थकाउँछ कि सपनाले 'आऊ मेरो हात समाएर उठ' भन्दा पनि उठ्ने तागत पुग्दैन।
र, मेरो नेपाली राष्ट्रिय टिमबाट क्रिकेट खेल्ने सपनाको पनि विकेट पतन भयो।
केही वर्षपछि जब मास्टर्स पढ्न कीर्तिपुर आएँ, तब एकदिन त्रिविको क्रिकेट मैदानमा नेपाली राष्ट्रिय टिमले क्रिकेट खेलेको देखेँ। सानैमा रेडियोमा कमेन्ट्री सुनेको कुनै दमदार ब्याट्सम्यानले जस्तै मैदानको चारैतिर रन बनाइरहेका ज्ञानेन्द्र मल्ललाई त्यहीँ देखेँ। विपक्षी ब्याट्सम्यानले बल नै पढ्न नसक्ने बनाएर स्टम्प लडाइरहेको शक्ति गौचनलाई त्यहीँ देखेँ। आजको नेपाली क्रिकेट उभिने जग बनाइरहेका ती पुराना खेलाडीलाई त्यहीँ देखेँ। र, देखेँ जादुगरी मान्छे जो मैदानमा हुँदा घरको मूल खाँबोजसरी विश्वास गर्न सकिन्थ्यो। उसको नाम थियो- पारस खड्का।
मैदान परको भुइँबाट ती सबै खेलाडीलाई दुई हात जोडेर नमस्कार गरेँ। मेरा जोडिएका दुई हातको बीचमा जुन हावा थियो त्यो हावा नभएर मैले यो देशका लागि क्रिकेट खेल्न नसकेको सपना थियो। त्यसपछि मैदानमै मैले आँखा चिम्लिएँ। अन्तिमपटक आफूबाट बिदा भइरहेको आफ्नो सपनालाई आफ्नो हातको त्यही हावामा महसुस गरेँ। हात खोलेर त्यो हावालाई त्रिविको त्यो क्रिकेट मैदानको हावामा मिसाइदिएँ।
अहिले पनि जबजब त्रिवि मैदानमा नेपालको खेल हुन्छ, तब म त्यो भुइँमा जान्छु। दर्शकहरूसँग त्यो भुइँमा बसेर जब म 'नेपाल! नेपाल!!' भन्छु तब मनमा कतै लाग्छ कि मैले अर्पण गरेको हावा अझै यो मैदान वरपर छ। मलाई लाग्छ कि त्यो हावाले आज खेलिरहेका नेपालका खेलाडीलाई छुन्छ। अर्थात् मेरो सपनाले उहाँहरूलाई छुन्छ र उहाँहरूले जित्दा मेरो सपनाले जित्छ।
मैले क्रिकेट खेल्ने सपना अर्पण गरेको केही वर्षपछि मैले नयाँ खेल भेटेँ।
त्यो खेलको नाम थियो— कला।
त्यसभित्रको एउटा प्रिय खेलाडी मलाई भेट्न आयो।
उसको नाम थियो— कविता।
मलाई अँगालेर उसले भन्यो, 'नबु, तिमीले बलिङ गर्न छोडेर के भयो त, अब ब्याटिङ गरौं। तिम्रो लागि म ब्याटिङ गर्छु।'
त्यसपछि हरेक वर्ष 'सपना मार्ने दबाब' भन्ने खेलाडी मेरो विकेट लिन खोज्दै योर्कर बलिङ गर्छ।
तर त्यतिखेरै कविताले एक कदम खुट्टा अघि सारेर ब्याटले झ्याम्म हान्छ र हुन्छ—छक्का!
(नवराज पराजुलीका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुहोस्)
ट्विटरः @Nawarajpoet