यो किताब लेख्न सुरू गर्दा किन लेख्ने भन्ने प्रश्नमा म प्रष्ट थिएँ। तर कसरी लेख्ने भन्नेमा थिइनँ।
चार वटा निर्णायक क्षणहरूले 'नुन-तेल' लाई यो रूपमा छापिन सम्भव बनाए।
२०७३ सालमा कुस्माबाट सुरू गरेर बागलुङ, गुल्मी र पाल्पा हुँदै बुटवलसम्म एकल पदयात्रा गरेपछि सेतोपाटीमा एक किस्ता नियात्रा लेखेको थिएँ।
त्यसै क्रममा लाग्यो— यो यात्रा त किताबै लेख्न लायक पो छ त!
यात्राबारे ५० हजारभन्दा बढी शब्द लेख्दा पनि त्यो किताब भने बनेन। शब्द थप्दै गएपछि त्यो किताब बन्छ भन्ने यकिन पनि मलाई भएन।
त्यसैबीच पहिलो निर्णायक क्षण आयो २०७५ सालमा।
हामी हनिमुन भ्रमणमा भारत पुगेका थियौं। यात्राका क्रममा बसमा सँगै परेकी रूसी युवती अन्नालाई साधारण चिनजानपछि मैले सोधेको थिएँ— के छ हाल रूसको, के छ 'मुड' रूसीहरूको?
उनले भनिन्— पुस्ताअनुसारका तीन थरी मुड छन् रूसमा। पहिलो, मेरा हजुरआमा-हजुरबुबाको पुस्ता जसले सोभियत रूसको स्वर्णकाल देखे। उनीहरूलाई बितिसकेको समयको नोस्टाल्जियाले गाँजेको छ र अहिलेको अवस्थाप्रति चरम् असन्तुष्ट छन्।
दोस्रो मेरा आमाबुबाको पुस्ता जसले सोभियत शासनको अन्तिम दशकको हाहाकार र नब्बेको दशकको डामाडोल अवस्था भोगे। उनीहरूलाई लाग्छ, जे भए पनि अहिलेको अवस्था त्यसभन्दा राम्रो छ। उनीहरू कुनै पनि खालको अस्थिरताको सम्भावनाबाट त्रस्त छन्। अनि हाम्रो पुस्ता।
यति भनेर अन्नाले लामो सास फेरिन्। यस्तो लाग्थ्यो उनलाई आफ्नो पुस्ताको 'मुड' बताउन सकस परिरहेको थियो।
उनले भनिन्, 'हाम्रो पुस्ता बिलखबन्दमा छ र क्रुद्ध छ। पुटिनको शासनमा यति भ्रष्टाचार छ, यस्तो मनपरी छ, संसार अघि बढ्दै गर्दा रूस पछितिर खस्किँदै गइरहेको छ। न शिक्षाअनुसारको काम, न कामअनुसारको प्रगतिको सम्भावना। न समाजमा छाप छाड्ने र केही गर्ने अवसर। रूसमा युवाहरू निसास्सिइरहेका छन्।'
चीनमा अंग्रेजी भाषा पढाउँदै गरेकी अन्नालाई अनि मैले सोधेँ— अहिलेको चिनियाँ समाजसित रूसी समाजको कसरी तुलना हुन्छ त?
उनले भनिन्, 'कहिलेकाहीँ म केही महिना रूसमा बिताउँछु। जब बिदा सकेर काममा चीन फर्कन्छु, आफू बसेको सहरको अनुहार फेरिइसकेको हुन्छ। पहिलेका पसल, होटल र क्याफेहरू भत्केर तिनका ठाउँमा नयाँ संरचनाहरू स्थापित भइसकेका हुन्छन्। सबै कुरा नयाँनयाँ जस्तो। जबकि रूसको कुनै सहरमा पन्ध्र वर्षपछि फर्केर जाँदा पनि ऊबेलाको क्याफे जस्ताको तस्तै हुन्छ। माहोल पनि उस्तै। एक हदसम्म त रमाइलो र आफ्नोपनको अनुभूति पनि हुन्छ, तर समाज यति गतिबिहीन हुनु पनि राम्रो हो र?'
भारतबाट फर्केपछि म उनले भनेको कुरामा खुब घोत्लिएँ। देशका तीन पुस्ताको मनस्थिति कति सटिक रूपमा बताइन् उनले। अनि रूसी र चिनियाँ समाजलाई कति सहज रूपमा तुलना गरिन्।
हाम्रो देशमा पनि पुस्तान्तर भएको छ र छिमेकका देशभन्दा फरक हाम्रो समाजका मौलिक विशेषताहरू पनि छन्। तर त्यस्ता विषयको उम्दा साहित्य पातलो छ।
मलाई लाग्यो— मेरो यात्रा साहित्यमा यी विषय उनेर किताब तयार पार्न पाए कस्तो गजब हुन्थ्यो।
अन्नासितको कुराकानीले मलाई किताब लेख्न एउटा मोटामोटी गोरेटो देखाइदियो। बुवाको, आफ्नो र छोराको पुस्ताको अनुभव समेटेर गाउँको कथा लेख्ने। तर त्यही बेला अर्को एउटा निर्णायक घटनाक्रमले किताब लेखनको गोरेटोलाई राजमार्ग बनाइदियो।
पछिल्ला वर्षहरूमा म खुब पोडकास्टहरू सुन्छु। तीमध्ये एउटामा एक लेखकले लेखनसम्बन्धी एउटा किताब सिफारिस गरे, विलियम जिन्सरको 'अन राइटिङ वेल'। मैले अद्योपान्त त्यो किताब पढेँ। अँध्यारोमा भट्किरहेको यात्रीले बलिरहेको राँको भेटेजस्तै भयो र मेरो लेखनले गति लियो।
चार वर्षको लेखनपछि पाण्डुलिपि अरूलाई पढाउन लायक बन्यो भन्ने मलाई लाग्यो। साथीहरूलाई पढ्न दिएँ। उनीहरूमध्ये एकको प्रतिक्रिया बाँकीभन्दा फरक थियो।
'यस्तो पनि किताब हुन्छ?' भन्ने मनसायको त्यो प्रतिक्रियाले मलाई उतिखेर तिरीमिरी बनायो। तर फर्केर हेर्दा लाग्छ, त्यस्तो कटु तर इमानदार प्रतिक्रिया नपाएको भए यो किताब अहिलेभन्दा धेरै फितलो बनेर निस्किने निश्चित थियो।
तर औसत नेपालीजस्तै म पनि सबै सत्य कुरा बोल्न डराउँछु। त्यसैले त्यस्तो महत्वपूर्ण प्रतिक्रिया दिने साथीको नाम किताबको धन्यवाद खण्डमा समेत समेट्न सकेको छैन।
चौथो निर्णायक घडी चाहिँ केही महिनाअगाडि आयो जब मैले डा. नवराज केसीको 'शून्यको मूल्य' पढेँ।
कसैले किताब किन लेख्छ? प्रयोजन अनेक हुन सक्छन्। तर मेरो विचारमा एउटा राम्रो किताबले मानिसलाई बदल्ने क्षमता राख्नुपर्छ। किताब यस्तो बनोस् कि त्यसलाई पढेपछि पाठकले त्यो किताब पढ्नुभन्दा अघि र पढेपछिको आफू भनेर आफ्नो स्वत्वलाई नै दुई खण्डमा बाँडोस्।
किताबले सत्यको ढोका यसरी उघारोस्, पाठकका आँखा यसरी खोलिदेओस् कि त्यसपछिका दिनमा आँखा चिम्लिँदा पनि उसका अगाडि झल्झली त्यो सत्यको मार्ग प्रकट भइरहोस्। त्यसलाई बिर्सन खोजेर पनि उसले बिर्सन नसकोस्।
किताबले पाठकका सीमित जिज्ञासालाई शान्त गर्ने होइन कि असीमित जिज्ञासाहरूका लागि बाटो खोलिदेओस्। सत्य यो र यो मात्रै हो भनेर हैकम जमाउनुको सट्टा सत्यको खोजीमा आफैं लाग्न प्रेरित गरोस्, त्यो खोजीलाई सार्थक बनाउन आवश्यक शिल्प बाँडोस्।
आदर्श संसारमा त्यस्ता किताबहरू मात्रै छापिनुपर्ने हो, थोरै भए पनि। तर आदर्शभन्दा कोसौं टाढा रहेको हाम्रो संसारमा सबै खालका किताब हामी लेख्छौं, छाप्छौं र पढ्छौं।
डा केसीको किताब पढेपछि मैले आफैंलाई एउटा गम्भीर प्रश्न सोधेँ— जसरी यो किताबले मेरो संवेदनालाई झंकृत गर्यो, मनलाई दारूण दुःख र जीवनदायी प्रेमका दुई अतिबीच चचहुई खेलायो, मानव जीवनका सम्भावनाहरूबारे मेरो बुझाइलाई विशालता प्रदान गर्यो अनि मेरो चेतनामा नखुलेका अनेक द्वारहरू खुलायो, त्यस्तै मेरो किताबमा के छ?
यो प्रश्नले राती निदाउन नदिएपछि मैले केही साता घुँडा धसेर फेरि किताबमा काम गरेँ।
यसरी रूसकी अन्ना, अमेरिकाका विलियम जिन्सर अनि नेपालका एक नाम खुलाउन नमिल्ने मित्र र डा नवराज केसीले फरकफरक समयमा मलाई यो किताब लेखनमा निर्णायक धक्काहरू दिए। चारै जनालाई धन्यवाद।
.....
संसारमा भाषा र सञ्चार कहिलेदेखि अस्तित्वमा होलान्? बाह्र हजार वर्षदेखि जब कृषि क्रान्ति भयो? ७० हजार वर्षदेखि जब सचेत ज्ञान क्रान्ति भयो? दुई लाख वर्षअगाडि जब हाम्रो प्रजाति 'होमो सेपियन्स' विकसित भयो?
मेरो विचारमा पृथ्वीमा भाषा र सञ्चारको अस्तित्व झन्डै पौने चार अर्ब वर्ष लामो छ। किनकि पृथ्वीमा जीवनको त्यति नै लामो इतिहास भूगर्भ विज्ञानले खोतलेको छ।
जब यहाँ जीवन सुरू भयो, त्यतिखेरैदेखि सञ्चार पनि स्थापित भयो। वास्तवमा जीवन सञ्चारमै टिकेको छ। पृथ्वीमा जब 'न्युक्लिक एसिड' नामक जीवनको आधारभूत रसायन विकास भयो, उसमा जीवन निर्माण र सञ्चालनका लागि आवश्यक सूचना थियो। तर त्यसलाई सञ्चार गरेर प्रोटिन नबनाएसम्म जीवन सिर्जना हुँदैन थियो। त्यसैले कोषहरूको केन्द्रमा हुने न्युक्लिक एसिडले प्रवाह गर्ने सूचनाका आधारमा जीवनका लागि आवश्यक प्रोटिन लगायत बाँकी संरचनाहरू बन्दै र विकसित हुँदै गए।
जीवनको निरन्तरता र विकासका लागि सञ्चार अनिवार्य भयो। जहाँ सञ्चार रोकियो, त्यहाँ जीवन रोकियो। त्यसैले जीवन भन्नु नै सूचना वा भाषाको निरन्तर सञ्चार हो।
जहाँ सञ्चारको हिस्सासम्म बच्यो, जीवन कायम रह्यो। त्यसैले पृथ्वीका ९५ प्रतिशतसम्म प्रजातिहरू लोप हुने गरी आएका पाँच ठूला विलुप्तिका घटनाहरूपछि पनि यहाँ फेरि जीवन मौलायो।
यहाँ जीवन जति विविध बन्दै गयो, भाषा र सञ्चार उति नै बृहत्तर बन्दै गयो। जति जटिल जीवन, उति नै गहिरो भाषा र उति नै व्यापक सञ्चार।
यदि पृथ्वीमा जीवन विकासको पूरा अवधि अर्थात् पौने चार अर्ब वर्षलाई सय वर्षे मानिसको उमेर मान्ने हो भने उसको जीवनको आखिरी दुई दिन बराबरको समय भयो। पृथ्वीमा हामी अर्थात् होमो सेपिन्स आएको। अर्थात् यो पृथ्वीमा ब्याक्टेरियाहरूले जीवन सुरू गरेको सय वर्ष भयो भने मानिसले जीवन सुरू गरेको दुई दिन। ब्याक्टेरियाले आफ्नो भाषा विकास गरेको सय वर्ष भयो भने हामीले आफ्नो भाषा विकास गरेको दुई दिन भयो।
एउटा दुई दिनको बच्चा र अर्को सय वर्षको वृद्ध छन् भने अस्तित्व टिकाउने, जीवन जिउने, भाषा बनाउने र विकास गर्ने अनि त्यसलाई सञ्चार गर्ने काम कसले कसबाट सिक्नुपर्ला?
मानिस जातिको आजको विडम्बना के छ भने, दुईदिने बालकले सयवर्षे वृद्धलाई सम्झाइरहेको छ पृथ्वीमा कस्तो सञ्चारमार्फत जीवनलाई अघि बढाउने भनेर। मानिसको यही अहंकारका कारण आज उसको अस्तित्व र भविष्य खतरामा परेको छ।
यो विषयलाई यसरी पनि हेर्न सकिन्छ— दैनिक जीवनमा जेलाई हामीले भाषा भनेर बुझ्छौं, त्यो पृथ्वीमा चलायमान भाषाहरूको समुद्रमा एउटा सानो छाल मात्रै हो।
तपाईंको वरिपरि जुन रूखहरू छन्, तिनको पनि भाषा छ भन्ने तपाईंलाई कहिल्यै लाग्यो? तिनको विलक्षण क्षमता देखेर तपाईं कहिल्यै वशीभूत हुनुभयो? पातलाई जराले सोसेको पानी आवश्यक छ र जरालाई पातले बनाएको खाना आवश्यक छ भन्ने सन्देश रूखमा कसरी प्रवाहित हुन्छ होला? सूर्यमुखी फूललाई जताजता सूर्य जान्छ, उतैउतै फर्किनुपर्छ भन्ने बोध वा लज्जावती झारलाई कसैले छोयो भने पात बन्द गर्नुपर्छ भन्ने बोध कसरी हुन्छ होला?
विज्ञानले अहिले केसम्म प्रमाणित गरेको छ भने जंगलमा रहेका अजंगका रूख र माटोमुनिका आँखाले नदेखिने च्याउ प्रजातिका प्रााणीहरूबीच मात्र होइन, एउटा अग्लो स्वस्थ रूख र होचो रोगी रूखबीच समेत जीवनदायी तत्वहरूको आदानप्रदान हुन्छ। जंगलको पर्यातन्त्रमा प्रजातिहरूबीच अस्तित्वका लागि संघर्ष मात्रै हुँदैन, सहकार्य पनि हुन्छ। प्रभावकारी सञ्चारबिना यस्तो कसरी सम्भव हुन्थ्यो?
सामान्यतया हामी बुझ्छौं, पछिल्ला वर्षहरूमा संसारमा भाषाको खुब विकास भएको छ। प्रविधिले त्यसलाई झनै विकास गर्नेछ भन्ने आशावाद छ हामीमा। आर्टिफिसियल इन्टेलिजेन्सले मानिसको बोली निस्केसँगै त्यसलाई तुरून्त जुनसुकै भाषामा अनुवाद गर्ने क्षमता सिर्जना हुने संघारमा छ।
अहो, भाषाको कस्तो विलक्षण र घर्षणहीन प्रयोगको युगमा प्रवेश गर्दैर्छौं हामी! हामीलाई यस्तै लाग्छ।
तर जब एउटा कोपिला चुँडेर फालिँदा बिरूवाबाट निस्कने आर्तनाद हामी सुन्दैनौं, जब प्रदूषित नदीमा हजारौं टन माछा मरेर डुङ्डुङ्ती गन्हाउँदा हामीले आफ्नो अस्तित्वमाथिको खतरा देख्दैनौं, जब प्रकृतिले हामीसित संवाद गर्ने भाषा हामीले बुझ्दैनौं र जब यी सबका कारण हाम्रो अस्तित्वमाथि खतराको बादल मडारिन्छ, तब हजार भाषामा बनेका भिडिओहरू बुझे पनि त्यसको के अर्थ?
जब सत्तामा हुनेहरूले शक्तिको मात्रै भाषा बुझ्छन्, शक्तिमा हुनेहरू पैसा र तत्कालीन नाफाको आत्मघाती भाषा मात्र बुझ्छन्, अनि सिंगो संसार तिनै मानिसहरूको इशारामा चल्छ, भाषाको त्यस्तो समृद्धिको के काम?
जब सास फेर्नलाई शुद्ध हावा छैन, पिउन सफा पानी छैन र खाना उब्जाउन विषरहित माटो नै छैन भने हाम्रा आफ्नै कुराहरू पनि तात्तातै पचासौं भाषामा अनुवाद हुनुको महत्व के छ?
मेरो विचारमा इतिहासमै मानिस जाति भाषाको यति गरिब कहिल्यै भएको थिएन।
एकचोटि कल्पना गरौं त, हाम्रा बाजेबज्यै कसरी प्रकृतिसित संवाद गर्थे। कसरी उसका विराटताप्रति नतमस्तक थिए। अनि कसरी उसले कोरिदिएको लक्ष्मणरेखालाई जीवनको दैवी सीमारेखा मान्थे।
आज न हामी हाम्रो अस्तित्वसित जोडिएका कुराहरू व्यक्त गर्न सक्छौं, न सुन्न र अनुभूत गर्न। हामी प्रेमको भाषाबाट विच्छेदित छौं, दया र करूणाको भाषाबाट परै छौं। हामीले लज्जा र जिम्मेवारीबोधको भाषा बुझ्न छाडेको त युग भइसक्यो।
हामी केही बोध गर्दैनौं तर बोल्छौं। बोल्छौ मात्रै होइन कराउँछौं, चिच्याउँछौं। घोक्रो फुल्ने गरी। सञ्जालहरू दूषित र विषाक्त हुने गरी। तर के त्यो सञ्चार हो?
सम्भवतः इतिहासमा पहिलोपल्ट मानिस आफ्नै भविष्यप्रति यतिविधि बेमतलबी र संवेदनहीन बनेको छ।
अहिले संकट ढोकैमा छ। ३५ करोड मानिसहरू अहिले नै भोकमरीसित पौंठेजोरी खेल्दै छन्। जल, जमिन र वायु गरी जीवनका तीनै अवयवलाई मानिस आफैंले विषाक्त बनाएको छ। पृथ्वीमा अर्बौं वर्षदेखि जीवन सम्भव बनाएका पर्यातन्त्रहरू धराशायी बन्दै छन्। हाम्रो आफ्नै भविष्य चरम अन्यौलको घेराभित्र छ।
तर पनि यस विषयमा संवाद गर्न हामीसित साझा भाषा छैन।
वैज्ञानिकहरू भन्छन्— रातारात हामी बदलिएर सूर्यबाहेक बाँकी सबै कुरा बल्नबाट नरोक्ने हो, यही गतिमा खनिज ऊर्जाहरू बालिरहने हो भने सभ्यताको अन्त संघारमै छ।
तर एउटा विक्षिप्त वा नशाग्रस्त चटके आएर चर्को स्वरमा भन्छ— जलवायु संकट भन्ने कुरा नै मिथ्या हो, मान्छेका कारण त्यो हुने होइन र त्यसलाई रोक्न केही गर्नै पर्दैन।
हामी वैज्ञानिकहरूलाई होइन, त्यही लठैतलाई सुन्छौं, उसकै पछि लाग्छौं। हामीलाई उसकै भाषा परिचित र पाच्य लाग्छ। हाम्रो सोच्ने प्रणाली र जीवनशैली नै उसको दर्शनसित मिल्दो छ। आजका दिनमा वैज्ञानिक निल डिग्रेस टाइसनलाई भन्दा जोर्डन पिटर्सन जस्ता चटकेलाई युट्युबमा तीन गुणा बढी मानिसहरूले यसै पछ्याएका होइनन्।
हामी निजी गाडी चढ्छौं। पेट्रोल र डिजलले चल्ने निजी गाडी चढ्नेहरूले एकचोटि सोचौं त, खाडी वा अफ्रिकाको जमिनमुनिबाट निस्केर नेपाल आउने बेलासम्म अनि हाम्रो यात्राका क्रममा त्यो इन्धनले के के बर्बाद पार्यो होला?
के हामीलाई त्यस्ता विनाशकारी साधन चढ्दा अपराधबोध हुन्छ?
सम्भवतः हुँदैन।
कारण— हामीलाई लाग्छ पृथ्वीलाई बर्बाद पार्ने अरू कोही छ। काठमाडौंको वायु प्रदूषण गरिदिने अरू कोही छ। बागमतीलाई ढल बनाउने अरू कोही छ। माटोमा विषादी भर्ने अरू कोही छ। संसारमा समस्या त अरूमा मात्रै छ, हामी त खाली तिनको सााक्षी वा सिकार मात्रै भएका छौं।
यस्तो किन हुन्छ त? किन भने यो विषयलाई सही ढंगले सोच्ने हामीसित भाषा नै छैन।
हामीलाई स्कुल र कलेजले कसरी जागिर खाने वा उद्यम गर्ने भनेर सिकाए तर कसरी बाँच्ने भनेर सिकाएनन्। मालिक वा कामदारसित कसरी बोल्ने भनेर सिकाए तर प्रकृतिसित कसरी संवाद गर्ने भनेर सिकाएनन्। रूखसित, माछासित चराचुरूंगीसित कसरी संवाद गर्ने भनेर सिकाएनन्। प्रकृतिको भाषा सिक्न, उसले खिचेका लक्ष्मणरेखाहरूको सम्मान गर्न सिकाएनन्।
परिणाम— हाम्रो शरीर त हाडमासुको बन्यो तर दिल पत्थरको बन्यो। त्यहाँ दया, करूणा र प्रेमका लागि ठाउँ नै रहेन। कतिसम्म भने जेलाई हामीले प्रेम भन्दै आएका छौं, त्यसको अधिक हिस्सा खाली बासना हो भन्ने पनि हामीलाई बोध छैन। किनकि प्रेमको भाषा हामीलाई कसैले सिकाएकै छैन।
पृथ्वीमा जीवन कसरी जेलिएको छ भन्ने हामीलाई बोध नै छैन किनकि हामीले न अध्यात्मको भाषा सिकेका छौं न त विज्ञानको। हाम्रो समग्र भाषाको सीमा एउटा जुवाडेको जस्तो छ- कसले कति कमायो, जोड्यो वा गुमायो। हाम्रो जीवनका उपलब्धि पनि त्यही खालमा छन्, हाम्रा खुसी र दुःख पनि त्यहीँ छन्। हामी शिक्षकहरूले विद्यार्थीहरूलाई त्यही साँघुरो भाषा सिकाइरहेका छौं, अभिभावकहरूले सन्तानलाई पनि।
तपाईंलाई थाहा छ, आज पनि हाम्रो जीवनको आधारभूत संरचना डिएनएमा आठ प्रतिशत अर्थात् एक लाख भाइरसका जिन छन्? तीमध्ये एउटा जिन यस्तो छ जसले सालनालको विकास गरेर मानिसजस्तो स्तनधारी जनावरको उदविकास सम्भव बनाएको छ। अनि यो पनि थाहा छ, सायनोब्याक्टेरिया नामक किटाणुले नाइट्रोजन फिक्सेसन बन्द गरिदिने हो भने आजको आजै पृथ्वीको सबै आँखाले देखिने जीवन तबाह हुन्छ?
विज्ञानको भाषा बुझ्न र महत्वबोध गर्न सक्ने भए सायद हामी भाइरस र ब्याक्टेरियालाई समेत माया गर्न सक्थ्यौं, उसको अस्तित्व र आफ्ना सीमाहरू स्वीकार गरेर सहअस्तित्वको विकल्प खोज्थ्यौं। त्यसो भएको भए मानिसले बर्सेनि बीसौं हजार प्रजातिहरू लोप पार्ने विकासको मोडल अपनाउँथ्यो होला र?
अब हाम्रो एउटा यस्तो सन्ततिको कल्पना गरौं जो अहिले हामीले जार वा बोतलमा पानी किनेर खाएझैं सिलिन्डरमा अक्सिजन किनेर सास फेर्न विवश छ। यो अवस्था सर्वथा काल्पनिक समेत छैन। दिल्लीमा वर्षैभरजसो ज्यानमारा वायु प्रदूषण हुन थालेपछि सहरभरि 'अक्सिजन क्याफे' हरू खुल्न थालिसकेका छन्।
उसको संसारमा जलवायु संकटबाट सिर्जित प्राकृतिक विपत्तिहरू यति व्यापक र भयावह भइसकेका छन् कि उसको सिंगो वर्ष आफ्नो ज्यान जोगाउन र आफ्ना प्रियजनको आपतकालीन उद्धारमा बित्छ। जसका लागि क्यान्सर लगायत असाध्यै गम्भीर रोगहरू लागेको अवस्था आम भएको छ र स्वस्थ अवस्था अपवाद भएको छ।
उसले आजको मदमत्त हाम्रो पुस्तासँग संवाद गर्न पायो भने के भन्थ्यो होला? बोल्न पायो भने के बोल्थ्यो होला? त्यस्तो संवादको भाषा कस्तो हुन्छ होला?
मैले माथि भनेँ, भाषाको निरन्तर सञ्चार नै जीवन हो। तर अहिलेको चल्तीको भाषामा भन्नुपर्दा भाषा शक्ति पनि हो।
हामीसित भाषा छ, शक्ति पनि छ। तर हाम्रो नजन्मेको वा भर्खर जन्मेको सन्ततिसित हामीसम्म पुग्ने भाषा छैन, त्यसैले शक्ति पनि छैन। यो एकोहोरो शक्ति सम्बन्धमा उसको भविष्य हाम्रो हातमा छ, हाम्रो भविष्य पनि हाम्रै हातमा छ।
हामी आफ्नो भविष्य अलि कठिन बनाउँदै छौं, उनीहरूको भविष्य किचिमिची पार्दैछौं।
हामी सन्ततिहरूलाई जन्म त दिँदैछौं तर तिनलाई बाँच्न चाहिने हावा, पानी र माटो भने बर्बाद पार्दैछौं।
तर भाषाको गरिबीका कारण हाम्रो आफ्नै बोध कति निम्छरो छ भने हामीलाई लाग्दैछ, हामी आफ्नो युगको एक साधारण वा आम जीवन बाँच्दैछौं। हामीलाई बोधसम्म छैन कि हामीले आफ्नै सन्ततिको र आफ्नो सभ्यताको भविष्य मेटिरहेका छौं।
विज्ञहरू अहिले भनिरहेका छन्— मानिस जातिको अझै भाषामा थोरबहुत जति पकड बाँकी छ, त्यो पनि अहिले गुम्ने संघारमा छ।
केही कम्पनीको नाफाका लागि सिर्जिएका अल्गोरिदमका इसारामा भएको भाषाको दुरूपयोगका कारण मानिसले अहिले नै स्वत्व गुमाइरहेका छन्। त्यही बचेखुचेको स्वत्व र भाषा र सञ्चारमाथिको नियन्त्रण पनि मानिसले अब मेसिनलाई सुम्पने संघारमा छ।
फेरि पनि केका लागि? केही मानिसहरूको असीमित धनार्जन सम्भव पार्न!
ज्ञानको सचेत प्रयोगमार्फत आफ्नो शक्ति बढाउन ७० हजार वर्ष खर्चेको होमो सेपिन्सले पहिलोपल्ट त्यसको उल्टो आफ्नो शक्ति र श्रेष्ठता अरू कसैलाई हस्तान्तरण गर्ने प्रक्रिया सुरू भएको छ। प्रकृतिसित संवाद गर्न बिर्सिसकेको, भाषाको विराटतालाई ग्रहण गर्नै नसकेको मानिसले भाषा र सञ्चारसित कायम निम्छरो सम्बन्ध पनि अब टुटाउने संघारमा छ। तपाईंका लागि सोचिदिने, निर्णय गरिदिने र त्यसलाई कार्यान्वयन गरिदिने मेसिन साथमा भयो भने तपाईंलाई भाषाको के काम?
सूचना–प्रविधि युगको यस्तो 'डिस्टोपिया' अबका दिनमा प्रस्ट हुँदै जाने नै छ। अहिले भने हाम्रो भाषा परीक्षाका लागि यो भिडिओ हेरौं-
यी दुई अबोध बालबालिका अफगानिस्तानको एउटा सहरमा छन्। घरमा अन्न छैन। भोक मेट्न काम पाउनु अनिवार्य छ तर त्यही काम पाउन मुस्किल छ। दाइ चाहिँले कसै गरी दुईपैसा जुटाउन नसक्ने हो भने बहिनीलगायत सिंगो परिवार भोकले हुने मृत्युको केही कदम नजिक पुग्छ।
कल्पना गर्नुहोस् त, कुपोषण भइसक्यो, मृत्युले पछाडिबाट खेदेको खेद्यै छ। शिक्षा, स्वास्थ्य र उज्यालो भविष्य त अब सपनामा पनि आउन छाडिसकेका छन्। आज कसै गरी छाक जुट्यो भने भोलिको टुंगो छैन। भोलि जुट्यो भने पर्सिको टुंगो छैन।
अब कल्पना गर्नुहोस्, यस्तै कुनै परिवारकहाँ एक दिन मागेर वा किनेर खाना खाने विकल्प ठप्पै भयो। भोकमरीजन्य मृत्युले परिवारका सबैको कठालो समात्यो। त्यही बेलामा एउटा भुसतिघ्रे आएर भन्यो, 'यो सानी बच्ची बेच्ने भए म यति पैसा दिन्छु।'
आमा, बाबु, दाइ सबैको छाती चिरियो। भोकले शुष्क भए पनि उनीहरूले नाइँनास्ति गरे। बच्चा किन्न आउनेलाई फर्काइदिए।
अर्को दिन, भोकले सबै जना थलै परिसके। सम्भावनाका बचेखुचेका बाटाहरू पनि बन्द भए। भुसतिघ्रे फेरि फर्केर आयो। महँगिएको अनाज किनेर छ महिना परिवार पाल्न पुग्ने रकमको प्रस्ताव गर्यो। बच्चीलाई पनि पेटभर खाना खान दिने वाचा गर्यो।
अब कल्पना गर्नुहोस्, सानी बच्चीसित सदाका लागि बिछोड हुनुअगाडि घरमा प्रलाप चलिरहेको छ र माथिको भिडिओ हेरेझैं तपाईं त्यसलाई हेरिरहनुभएको छ।
त्यहाँको दृश्य कस्तो होला भनेर अनुमान लगाउनुअगाडि फेरि एकपल्ट माथिको भिडिओ हेर्नुहोस्।
दाइको रूवाइ वेदनाको गहिराइबाट मूल फुटाएर आएको छ। त्यसमा अस्तित्वको निसासलाग्दो भय छ। त्यो रूवाइको मूलमा घरका मानिसहरूलाई बचाउन नसकिएला कि भन्ने पहराजत्तिकै भारी चिन्ता छ।
तर बहिनीका आँखामा खाली अन्यौल छ। वेदना, भय र चिन्ता बोक्ने मस्तिष्कका हिस्साहरू उनमा अझै विकसित भएका छैनन्। दाइ रोएको देखेर उनलाई रोऊँरोऊँ लागेको छ तर एकै छिनमा उनले केही जुटाएर खान दिए भने उनको रूवाइ तत्काल निर्दोष हाँसोमा बदलिन सक्छ।
एक दिनको भोक र मृत्युतिर धकेल्न लागेको भोकमरीबीचको भेद नै उनलाई थाहा छैन। उनको व्यावहारिक बुझाइ छ— मागेर, रोएर, कठिन श्रममा धसिएर जसरी भए पनि दाइले आजसम्म खान दिएको छ। अब पनि दिन्छ। दिन यसै गरी कट्दै जान्छन्। साथमा दाइको छहारी रहुन्जेल उनलाई अस्तित्वको भय छैन।
तर बहिनीको त्यही भरोसा दाइलाई भारी परेको छ। असमयमै वयस्क बन्नुपरेको दाइलाई भोकको गुरुत्व थाहा छ, मृत्युको भयानकता थाहा छ। संसार कति निर्मम छ, राज्य कति बर्बर छ भन्ने समेत थाहा छ।
परिवारको ज्यान धान्न विष पिएर गरेको संघर्षको अनुभव दाइलाई छ। तर त्यस्तो कठिनाइबीच पनि बहिनीको, बाआमाको माया, निकटता र आत्मीयताले उसलाई बल दिएको छ। प्रेमको त्यही लहरोले उसलाई बाँच्नुको सार्थकता दिएको छ।
मलाई लाग्छ, कति दिन त उसलाई आफू अघाउन बहिनीले सन्तुष्ट हुने गरी खाएको हेरे पुग्ने गरेको हुनुपर्छ, आफ्नो पेट भोकै रहे पनि। उसको अस्तित्वमा ऊ एक्लै छैन, सास धान्न ऊमाथि निर्भर परिवारका सबै सदस्य छन्।
त्यसैले परिवारको कुनै पनि सदस्यसितको वियोग उसका लागि अतिरिक्त र अकल्पनीय बज्रपात हो, जसका लागि ऊ कसै गरी पनि मानसिक रूपमा तयार छैन। त्यसमाथि आफूमाथिको भरोसामा बाँचेकी अबोध बहिनीसित छुट्टिनु, उसलाई बिरानो र सम्भवतः भयानक भविष्यतिर धकेल्नु भनेको उसका लागि आफ्नो ब्रह्माण्ड नै धुजाधुजा हुनु हो।
स्कुल गएर गृहकार्यको चिन्ता गर्नुपर्ने उमेरमा परिस्थितिले त्यो बालकलाई कति भार बोकाएको छ, एकचोटि गमेर हेरौं त।
त्यो त भयो यी बालबालिकाको कुरा।
फेरि एकपल्ट यी बालिकाजस्तै कुनै निर्दोष काल्पनिक बालिकाको कुरा गरौं जो भोकमरीका कारण बेचिन बाध्य छिन्। कल्पना गरी हेरौं, आफ्नो ज्यानभन्दा पनि प्यारो गरेर, खडेरी र हिमपात छिचोलेर, आफू भोकै बसेर उसलाई खुवाएर हुर्काएकी सानी छोरीसित सदाका लागि छुट्नुपर्दा तिनका बाबुआमा कति विक्षिप्त हुँदा हुन्।
कुनै बेला तिनीहरू हुर्केको, बढेको, पढेर प्रगति गरेको, नातिनातिनी जन्माएको सपना देखेर हुर्काएका सन्तानको भविष्य त्यसरी खरानी बनेको साक्षी बस्नुपर्दा उनीहरूमाथि कत्रो बज्रपात हुँदो हो।
अब एकैपल्ट त्यस्ती एक अबोध बालिकाको ठाउँमा हामीलाई राखेर हेरौं त। तिनले आफ्नो सिंगो ब्रह्माण्ड ठानेको परिवारबाट तिनलाई गलहत्याएर लगिँदैछ। भविष्य कति भयावह छ भन्ने पूरा बोध छैन तर घरबाट अपरिचितसित निस्किनुपर्दाको भय नै तिनको कलिलो मनमा हुन्डरी ल्याउन पर्याप्त छ। तिनलाई आकाशै चिरिने गरी रूवाउन त्यही वियोग काफी छ।
माथिको भिडिओ हेरेदेखि नै त्यसले मेरो मथिंगल खल्बलाइदिएको छ। त्यो बालकको हृदयविदारक रूवाइको दृश्यले मेरो मस्तिष्कमा गहिरो छाप छोडेको छ। र मैले आफैंलाई सोधेको छु— आखिर ऊ किन त्यस्तो भयंकर पीडाबाट गुज्रन अभिशप्त छ?
त्यो बालक अफगानिस्तानको फरक भूगोलमा फरक मानिसहरूको कोखमा जन्मियो, त्यसैले मभन्दा टाढा छ। तर त्यहाँ जन्मिनु उसको छनौट थिएन। जसरी मेरो कोखमा जन्मिनु मेरो छोराको पनि छनौट थिएन।
भौगोलिक संयोग अलिकति तलमाथि भइदिएको भए त्यो बालकको बाबु नेपालमा भएर उसलाई यहिँ जन्माएर हुर्काउन सक्थ्यो। म उता जन्मेर छोरालाई उहीँ जन्म दिन सक्थेँ। त्यो अवस्थामा आजका दिनमा त्यो बालक उभिएको कहाली लाग्दो धरातलमा मेरो छोरा उभिइरहेको हुने थियो।
त्यसरी हेर्दा त्यो बालकको अस्तित्वको संघर्ष उसको आफ्नो मात्रै होइन, तपाईं हामी सबैको हो। उसको कुपोषण, भोकमरी र वियोगका लागि मुख्य जिम्मेवारी त्यहाँको तालिवान शासकको हो तर एउटा सभ्यता र प्रजातिका रूपमा तपाईं हामी पनि ऊप्रतिको जिम्मेवारीबाट मुक्त छैनौं।
आजका दिनमा मैले, मेरो परिवार र समाजले, देशले वा सिंगो मानव जातिले के गर्यो भने ती बालबालिकाको जस्तो बिचल्ली हुने अवस्था अन्त हुन्छ? यो प्रश्नको जवाफ भएको भए सायद म गौतम बुद्ध हुन्थेँ।
म गौतम बुद्ध होइन किनकि मसँग यस्ता यावत् प्रश्न छन् तर तिनका जवाफ छैनन्।
म गौतम बुद्ध होइन, त्यसैले मेरो मथिंगल खल्बलिएको छ, म अशान्त छु, व्यग्र छु, अधिर छु।
म गौतम बुद्ध होइन, त्यसैले मैले माथिका जस्ता प्रश्नैप्रश्नले भरिएको किताब लेखेँ।
म अशान्त, अधिर र व्यग्र छु, तपाईं पनि त्यसै हुनुहोस् भन्ने म चाहन्छु। त्यसैले मैले लेखेको किताब तपाईं पढ्नुहोस् भन्ने म चाहन्छु।
गौतम बुद्धको जस्तो तत्वबोधपछिको उनले हासिल गरेको मानसिक शान्ति उत्तम अवस्था हो। तर दुखी संसारमा सिद्धार्थ गौतमको जस्तो व्यग्रता र छट्पटी पनि स्वाभाविक हो।
दुखी संसारमा आँखा चिम्लेर बस्नु, दुःखका बारेमा विमर्श नगर्नु, त्यसको पहिचान गर्ने र मेटाउने प्रयास नगर्नु, यी सब भारी समस्याका कुरा हुन्। जीवनका जटिल प्रश्न छल्न कुनै नशाको सहारा लिनु झनै खराब कुरा हो। त्यो नशा मदिरा वा औषधिमा मात्र हुँदैन। त्यो विभेद र हिंसामा हुन्छ। जातिभेद र नश्लभेदमा हुन्छ। सबैभन्दा बढी अज्ञानतामा हुन्छ।
हो, अज्ञानता एउटा नशा हो जसले हामीलाई बालुवामा टाउको धसाएर आफू वरपरका सबै समस्याबारे बेखबर बनाउन सहयोग गर्छ। दुःखबोध र त्यसलाई सामना गर्ने अग्रसरताले व्यग्रता र छट्पटीलाई जन्म त दिन्छ तर दुःखका कारण खोतलेर तिनलाई निर्मूल गर्नेतिर लाग्ने हो भने त्यसले हामीलाई निर्वाणतिर पनि डोर्याउँछ।
प्रयास गर्दागर्दै जवाफ नपाउनु एउटा कुरा हो तर सही किसिमले प्रश्नहरू सोध्न समेत नसक्नु, सोध्न नचाहनु र तिनीसित भाग्नु अर्कै कुरा हो।
मेरो डर के भने सिंगो मानव जाति आज त्यस्ता प्रश्न आफैंसित सोध्न समेत डराइरहेको छ।
तपाईंलाई लाग्ला अतिशय संकटमा परेका दुई बालबालिकाको उदाहरण देखाएर मैले विषयलाई अतिरञ्जित गर्दैछु। तर संयुक्त राष्ट्र संघको विश्व खाद्य कार्यक्रमको पछिल्लो आँकडाअनुसार संसारमा झन्डै ३५ करोड मानिस अहिले भोकमरीको ढिकमा छन्। ३५ करोड अर्थात् नेपालको जनसंख्याभन्दा झन्डै १२ गुणा बढी।
ती हरेक परिवारमा अहिले ती अफगान बालबालिकाका जस्तै हृदयविदारक दृश्यहरू चलिरहेका छन्।
अन्तमा म तपाईंलाई चार तस्बिरले भन्ने एउटा कथा छोटकरीमा सुनाउँछु।
यो ज्युँदो पृथ्वीको तस्बिर हो जहाँ यस्ता मायालाग्दा बालबालिकाहरू खेल्ने गर्थे।
तर आजभन्दा १०९ वर्षअगाडि यो तस्बिरमा भएजस्तो चराहरूको एउटा प्रजाति लोप भएर गयो।
कुनै बेला अमेरिकी महादेशमा आकाशै ढाकेर दिउँसै अँध्यारो हुने गरी उड्ने गरेको परेवाको एक प्रजातिकी मार्था नामक अन्तिम सदस्यको तस्बिर हो यो। मानिसले यस्ता करोडौं प्रजातिहरूलाई पृथ्वीबाट लोप बनायो।
तर आखिरमा एक दिन प्रकृतिमाथि मानिसले गरेको ज्यादतीको मूल्य मानिस आफैंले तिर्ने बेला आयो।
सुरूमा खडेरी पर्यो र भोकमरी भयो। अनि आन्दोलन र विद्रोह भयो। अनि गृहयुद्ध।
दोस्रो तस्बिरका आएलान र गालिब कुर्दी नामक दाजुभाइ आफ्नो देश सिरियाबाट विस्थापित भए। टर्की पुगे। त्यहाँबाट ग्रिस जान खोज्दै थिए। बाटोमै डुंगा डुब्यो। बाबुआमा बचे तर दाजुभाइको डुबेर मृत्यु भयो।
संसारलाई रूवाउने यो तस्बिर तिनै आएलान कुर्दीको पार्थिव शरीरको हो।
यो कथा सुनिरहँदा तपाईंलाई के लाग्यो? आएलान कुर्दीको ठाउँमा हाम्रै बच्चाहरू हुन सक्थे अथवा भोलिका दिनमा हुन सक्छन् भनेर चिसो पस्यो? भोकमरी र द्वन्द्वको जुन सिलसिलाका कारण ती सुन्दर बालकले त्यस्तो भयानक मृत्यु भोग्नुपर्यो, त्यसको जरामा रहेको जलवायु परिवर्तनजन्य विपत्तिले भविष्यमा ठूलो संख्यामा बालबालिकाको त्यस्तो मृत्यु हुनेछ भनेर पनि चिसो पस्यो?
पसेन भने त्यो धेरै ठूलो समस्याको कुरा हो।
मानिसहरूलाई त्यस्तो विकराल भविष्यको सम्भावनाबारे बोध गराउँदै यस विषयमा संवाद गर्न आवश्यक पर्ने भाषा प्रदान गर्नु मेरो किताबको उद्देश्य हो।
स्मरण रहोस्, भविष्यका लागि कुनै पनि कुरा पूर्व–निर्धारित छैन। गत दुई लाख वर्षमा एकपछि अर्को विपत्तिलाई छल्दै मानिस जाति आजको अवस्थामा आएको हो। उसले समयमै सचेत निर्णय लिएर पृथ्वीलाई ध्वंश गर्ने बानी छाड्यो भने सायद सम्भावनाका केही ढोकाहरू अझ खुल्लै छन्।
मेरो डर यत्ति हो, तपाईं हामी दाल–भात–डुकुको दैनिकीमा भुलिरहँदा सबै खाले सत्तामा रहेका नाफा र मोजमस्तीको नशामा लठ्ठ केही मानिसहरूले ती सम्भावनाका बाँकी ढोका पनि ढ्यापढुप्पै नपारून्। अनि हाम्रै सन्तानले 'त्यत्रो विनाश हुँदा किन केही नबोलेको' भनेर हामीलाई प्रश्न सोध्ने अवस्था नआओस्।
(जीवन क्षेत्रीका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्।)