प्यारी दिदी,
मलाई तपाईंको नाम थाहा छैन।
मलाई यत्ति थाहा छ— कीर्तिपुरको टियू क्रिकेट ग्राउन्डको गेटनेर एउटा धुलाम्मे भुइँ छ। त्यो भुइँमा एउटा सानो नाङ्लो छ। नाङ्लोमा केही प्याकेट चाउचाउ र पानीका बोतल छन्। नाङ्लोकै छेउमा केही कागजका टुक्रा छन् जसमा नम्बर लेखिएको छ।
नेपाल र कुवेतको सेमिफाइनल क्रिकेट हेर्न मोटरसाइकलमा आउनेहरूले तपाईंबाट त्यो नम्बर लेखिएको कागजको टुक्रो लान्छन्। हेलमेट तपाईंलाई जिम्मा लगाइदिन्छन् र ढुक्कले क्रिकेट हेर्न भित्र छिर्छन्l ढुक्क भएबापत उनीहरूले तपाईंलाइ प्रतिटाउको ५० रूपैयाँ तिर्छन्।
(मैदानभित्र हेलमेट बोक्नु तनाव हो। यति सानो तनाव अर्कोलाई जिम्मा दिएर हिँड्न पाउँदा अनि फर्किएर आउँदा हेलमेट त्यहीँ हुन्छ भनेर ढुक्क हुन पाउँदा त मान्छे कति हलुका भएको महसुस गर्छन्! तनावले भरिएको आफ्नो शिर कसैलाई जिम्मा लगाइदिएर आफू हिन्दिन पाउनु अनि आफू फर्केर आउँदा आफ्नो शिर त्यहीँ हुन्छ भनेर ढुक्क हुन पाउनु हो भने मान्छेले त्यसका लागि के के तिर्न तयार हुँदो हो?)
दिदी, मलाई तपाईंको नाम थाहा छैन तर तपाईंका ती हातहरूलाई चिन्छु जसले बाइक लिएर आएका हातहरूलाई भनिरहेका हुन्छन्, 'हेलमेट मैकहाँ छोडिदिनुस्। मकहाँ छोडेर जाँदा तपाईंको हेलमेट जस्तो थियो तपाईं फर्केर आउँदा पनि म निख्खुर त्यस्तै राखिदिनेछु।'
(आफूले कसैलाई छोडेर आफू कुनै यात्रामा निस्किएको बेला यात्राभरि एउटै चिन्ता हुन्छ— म फर्किँदा ऊ मैले छोडेजस्तो रहेनछ भने म त्यसपछि कहाँ फर्किउँला?)
दिदी, मलाई तपाईंको नाम थाहा छैन तर तपाईंका ती आँखालाई चिन्छु जसले बाइक लिएर आइरहेका हरेक हेलमेटहरूलाई भनिरहेका हुन्छन्— हे हेलमेट पछाडिको शिर, तपाईं क्रिकेट हेर्न आउनुभएको छ। म क्रिकेट बुझ्दिनँ। क्रिकेट हेर्दा तपाईंको शिर एकदमै खुसी हुन्छ होला। तपाईंको मन पनि खुसी हुन्छ होला। तर तपाईंले मेरो नाङ्लोबाट पानी र चाउचाउ किनिदिनुभयो भने मेरो परिवारको पेट खुसी हुन्छ।'
तपाईंलाई चिन्छु दिदी, किनकि दस वर्ष अगाडि बालाजुको बस रोक्ने ठाउँनेर बाटोको छेउमा मेरी दिदीको ठेला थियो। रातको दुई-तीन बजेसम्म कठ्यांग्रिदो चिसोमा लुगलुग काम्दै मेरो दिदीभिनाजुले त्यही ठेलामा चियाखाजा बेच्नुहुन्थ्यो।
पानी परेपछि मान्छे तातो चिया खान आउँथे अनि भिज्दै ओतिँदै मेरी दिदीभिनाजुले चिया बेच्नुहुन्थ्यो। रातभरि नसुतेकाले मेरी दिदीका आँखाको वरिपरि बनेका काला धब्बालाई म चिन्छु। मुटु हल्लिने चिसोले दिदीको जिउमा ल्याएका दर्जनभन्दा बढी रोगलाई म चिन्छु।
मेरो घरबाट पठाइदिने पैसा नभएपछि मैले दिदीले त्यसरी कमाएको पैसाले त्रिभुवन विश्वविद्यालयमा मास्टर्स डिग्री पढेको थिएँ। मेरी दिदीले भाँडा माझेर कमाएको पैसाले मैले कीर्तिपुरमा आफ्नो कोठाभाडा तिरेको छु।
दिदी, तपाईं जुन भुइँमा बसेर पानी बेच्दै हुनुहुन्छ त्यसैको पारिपट्टीको जंगलमा बसेर मैले अंग्रेजी किताबका ठेलीहरू रित्याएको छु। त्यहाँका रूखहरूले देखेका छन् मैले कसरी पढ्ने भोकमा घरबाट आमाले पठाइदिनुभएको चिउरा मिसाएको थिएँ।
सरकारले बाटो छेउबाट ठेला खेदाउन थालेपछि मेरी दिदीले काठमाडौं छोडेर जाने बेलामा भन्नुभएको थियो, 'नबु, सरकारले ठेला राख्न नदिने भयो। अब हाम्रो कमाउने भाँडो रहेन। रोगले गर्दा भिनाजु र म खेती गरेर कमाउन सक्दैनौं। खाने धान कसोकसो गरेर फलाउँला। तैंले पढिसक्न आँटिस्। ख्याल गर्नू। पैसा जोगाउनलाई नखाने नगर्नू। छिन्लास्।'
मलाई तपाईंको नाम थाहा नभएर के भयो दिदी, म तपाईंलाईं मेरै दिदीको नामले चिनुँला।
दिदी, तपाईं पनि नाङ्लोमा पानी बेच्दा, अलिकति पैसा लिएर क्रिकेट हेर्न आउनेहरूको हेलमेट रूँगिदिँदा अलि ख्याल गर्नुहोला। नत्र सरकारले थाहा पायो भने उसले आदेश दिनेछ— यत्रो पानी बेचेर, हेलमेटको भाडा उठाएर यिनीहरूले सरकारलाई कर तिर्दैनन्। यसरी कुम्ल्याएको पैसाले यिनीहरूले उद्योग चलाउन सक्छन्। अस्पताल खोल्न सक्छन्। मिडिया हाउस खोल्न सक्छन्। यिनीहरूलाई यहाँबाट तुरून्त लखेटिहाल!
यिनीहरूलाई जनतालाई लखेट्न र भत्काउन आउँछ, समेट्न र बनाउन आउँदैन।
दिदी, आजभन्दा डेढ महिनाअगाडि तपाईंको नाङ्लोलाई धूलोले पुर्ने गरी गाडीका लस्कर लिएर यो देशका सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डज्यू यही कीर्तिपुर मैदानमा सवारी भै'बक्सेको थियो। जे भए पनि देशको प्रधानमन्त्रीले आएर खेल हेरेपछि खेलाडीलाई पनि हौसला हुन्छ र मैदानको हालत देखेर त्यसलाइ सुधार्न केही गरिबक्सन्छ भनेर हामी भावुक भयौं।
प्रधानमन्त्रीले 'त्रिवि क्रिकेट मैदानमा तत्काल फ्लड-लाइट र डिजिटल स्कोर बोर्ड जडान गर्न' निर्देशन दिइबक्सियो। तर बोलेको ४४ दिन भयो, यसबीचमा यति धेरै खेलहरू भइसके तर यो स्वाँठ सरकारले भुत्लोभाङ केही गरेन। बरू उनकी छोरीले लाइट जडान गरिएको फेक फोटो फेसबुकमा हालिन्। यी फेकहरूबाट गफ फ्याँक्नेबाहेक अरू धेरै आशा नगरम् दिदी!
तपाईंलाई भेटेर म भित्र छिरेँ। तपाईंले हेलमेट हेर्नुपर्ने भएकाले खेल हेर्न पक्कै पाउनुभएन होला। भाइको नाताले तपाईंले हेर्न नपाउँदाको कुराबारे सुनाउन मन लाग्यो।
भित्र नेपालका कप्तान रोहित पौडेलले ९४ रन बनाउनुभयो। कुशल मल्लले ५७ रन बनाउनुभयो। अरूले पनि दर्शकको चित्त बुझ्दो खेल्नुभयो। पानीमा रूझ्दै हामी खेल हेरिरहेका थियौं। भिआइपीमा कहिलेकाहीँ आउने नेताहरूलाई पानीले भिजाएको थिएन। उहाँहरूका लागि आकाशबाट पानी नै परेको थिएन। भिआइपि बस्ने जुनसुकै ठाउँमा घाम, पानी, भोक जस्ता झिनामसिना दुःख आई नै पुग्दैनन्। त्यहाँ पुग्न दुःखहरू पनि भिआइपी नै हुनुपर्छ– जस्तै यो पद खुस्कियो भने अर्को कुन झुट बोल्ने?
दिदी, पानीले भिजेको चिसै भुइँमा बसेर पनि यसरी क्रिकेट हेर्ने हामीसँग एउटा न्यानो सपना थियो। यो सेमिफाइनल र फाइनल जितेपछि हामी भारत र पाकिस्तान जस्ता देशसँग क्रिकेट खेल्न पाउने छौं। भारतमा विराट कोहली नामक खतरा ब्याट्सम्यान छन्। मलाई उनको ब्याटिङ औधि मन पर्छ। तर मलाई ललित राजवंशीको स्पिन बललाई विराट कोहलीले छक्का हान्न खोज्दा हावामा उडेको बल भिम सार्कीले चरा उडेजसरी समातेको हेर्न मन छ। रोहित शर्माले हाम्रो सोमपाल कामीको बललाई कुट्न खोज्दा ब्याटमा नछोएर स्टम्प भाँचिएको हेर्न मन छ। कुनै पनि भारतीय बलरलाई हाम्रो कुनै पनि ब्याट्सम्यान (किनभने अहिलेको ब्याटिङ शैली हेर्दा ११ जना नै ब्याट्सम्यान जस्तो खेलिरेका छन्) ले हिर्काएर छक्का भएको बललाई दर्शक दिर्घामा उभिएर समात्दै त्यो बलसँग सेल्फी खिच्न मन छ।
दिदी, त्यही तातो सपना बोकेर हामीले खेल हेरिरहेका थियौं। आफ्नो पाँच ओभर नसकिँदै हाम्रो करन केसीले कुवेतको पाँच विकेट झारिसकेका थिए। तर मुसलधारे पानी झर्न थाल्यो। पीच तिर्पालले छोपियो। तर मसँग छाता थिएन।
वरपर हेरेँ— एउटा छातामा ६ देखि सात जनासम्म घुस्रिएर उभिएका थिए। म पनि एउटामा घुस्रिएँ। म त के भनौं, एकपट्टिको गाला घुसारेँ।
तर हावासहित यसरी पानी बढ्यो कि टाउको बाहेक जिउको सबै भागबाट तर्तरी पानी बग्यो। खेल अझै हुन्छ कि भन्ने अलिकति आश र यस्तो हावापानीमा मोटरसाइकल कुदाउँदा लडिन्छ भन्ने डरले करिब ३० मिनेट लगातार चुटाई खाइरहेँ। अन्त्यमा मैले ओत मागेको छाता प्वाल परेपछि भिज्न केही बाँकी रहेन।
बरू भिज्दै कोठा पुग्छु अनि तातो कपडा फेर्छु भनेर मोटरसाइकल निकालेर निस्किन लागेँ। मजस्तै कतै भिज्न बाँकी नरहेकाहरू कोठा फर्किन बाइक निकाल्न थाले। म मोटरसाइकल लिएर गेटनेर आइपुग्दा तपाईंलाई देखेँ, दिदी।
तपाईंलाई देखेर म फत्रक्कै गलेँ। तपाईं अघिको सानो नाँङ्लोले आफ्नो टाउको छोप्न खोजिरहनुभएको रहेछ। त्यति सानो नाङ्लोले त्यत्रो हावापानीमा तपाईंको कपाल पनि जोगाइरहेको थिएन।
दिदी, खोला बगेझैं तपाईंको जिउभरि पानी बगिरहेको थियो। तपाईं पानीले चुटाइ खाँदै लुगलुग काम्दै उभिरहनुभएको थियो।
म छक्क परेँ— अलि पर रूखहरू थिए। त्यहाँ ओत लाग्नुभएको भए भिज्न त भिज्नुहुन्थ्यो होला तर मुसलधारे पानीले त्यसरी चुट्दैनथ्यो। यो खुला भुइँमा किन उभिनुभएको होला!
तर एक्कैछिनमा देखेँ, तपाईंको छेउमा भुइँमा तिर्पालले छोपेर अटीनअटी राखिएका केही दर्जन मान्छेका टाउकोजस्ता देखिने स्वरूप।
अनि थाहा पाएँ ती तिनै हेलमेट हुन् जसलाई सुरक्षित राखिदिने जिम्मा लिएर प्रतिहेलमेट ५० रूपैयाँ लिँदै गर्दा तपाईंले भन्नुभएको थियो— हेलमेट मैकहाँ छोडिदिनुस्। मकहाँ छोडेर जाँदा तपाईंको हेलमेट जस्तो थियो तपाईं फर्केर आउँदा पनि म निख्खुर त्यस्तै राखिदिनेछु।
दिदी तपाईं आफूले तिर्पाल नओढेर किन निर्जीव हेलमेटलाई ओढाउनुभएको? हेलमेटहरू भिज्छन् भनेर?
र मैले लिँदा जस्तो थियो त्यस्तै राखिदिन्छु भनेको बाचा तोडिन्छ भनेर? बाचालाई बचाउनुभएको हो दिदी?
निर्देशन मात्रै दिन जान्ने हाम्रा नेताहरूले बाचा बचाउन तपाईंबाट सिकून्।
तपाईं पर रूखनेर किन ओत नलाग्नुभएको? आफ्नो हेलमेट लिन भिज्दै भाइबहिनीहरू आउँदा तपाईं त्यहीँ त्यो नम्बर भएको कागज लिएर उभिरहनुभएन भने ती भाइबहिनीहरूले धेरैबेर भिज्नुपर्छ भनेर? आफू पानीको चुटाईले भिजेर भए पनि भरोसालाई भिज्न नदिनुभएको हो दिदी?
पदको लोभले मात्र भिज्न जान्ने हाम्रा नेताहरूले जनताको भरोसालाई कसरी भिज्न नदिने भनेर तपाईंबाट सिकून्।
दिदी, भोलि नेपालले क्रिकेटको ठूलो प्रतिस्पर्धाको फाइनल खेल खेल्नेछ। त्यहाँ आएर त्यो माहोलको फाइदा उठाउन क्रिकेटका लागि भुत्लोभाङ नगरेका केही स्वाँठ नेताहरू आउनेछन्। तपाईंको नाङ्लोलाई उनीहरूको गाडीको धूलोले फेरि पुर्नेछ। देशका ठूल्ठूला मिडियाहरूमा उनीहरूकै चिल्ला फोटाहरू आउनेछन्। भिडिओ क्यामराको नाक भिआइपी कक्षमा बसेका तिनीहरूकै नाक खिच्न व्यस्त हुनेछ।
त्यतिखेर मैदान वरपरको भुइँमा बसेर हजारौं दर्शकहरूले 'नेपाल! नेपाल!!' भन्दै चिच्याउने छन्। त्यही भुइँमा बसेर म गेटबाहिरको भुइँमा नाङ्लो बोकेर पानी बेचिरहेकी तपाईंलाई सम्झिनेछु।
पानी बेचिरहेकी दिदी, भाइको दुःख पनि सुनाउँछु ल!
तपाईंसँग किनेको पानी गेटभित्र छिर्ने बेला सुरक्षा-गार्डले बाहिरै फालिदिन्छन्। हामी पानीमा भिजेरै भए पनि खेलाडीलाई हौसला दिन्छौं। तर आयोजकले 'तिमीहरूले पानीको बोतलले खेलाडीलाई हान्छौ' भनेर भुइँमा बस्ने हामीहरूको पानीको बोतल खोस्छ। अनि खेलाडीको भविष्यमा पानी खन्याउने नेतालाई भिआइपी कक्षमा राखेर पानी खुवाउँछ!
(नवराज पराजुलीका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुहोस्)
ट्विटरः @Nawarajpoet