मृत्यु नै जीवनको सबभन्दा अवश्यम्भावी अन्तिम सत्य हो भन्ने थाहा हुँदाहुँदै हामीलाई यो सत्य स्वीकार गर्न गाह्रो हुन्छ।
आफू नजिकको कोही गुमेको घटना हामीलाई सधैं अप्रत्याशित र अकल्पनीय नै लाग्छ। यो पाँच दशकको जीवनमा मैले पनि धेरै जना गुमाएको छु, धेरैको मलामीमा सम्मिलित भएको छु, धेरैलाई सान्त्वना दिएको छु।
सान्त्वना दिनु एउटा कुरा, तर सान्त्वना लिने ठाउँमा उभिँदा नितान्त फरक अनुभव हुँदो रहेछ। यही अनुभव मलाई पहिलोपटक आमा गुमाउँदा भयो।
मेरी आमा स्वस्थ थिइनन्। उनी चिल्लो, पिरो, नुनिलो, गुलियो केही खान नहुने धेरै किसिमका रोगले ग्रस्त थिइन्।
'उहाँको सास जुनसुकै बेला जान सक्छ, इट कुड बी अ म्याटर अफ डेज्, विक्स, मन्थ्स ... डिपेन्ड्स अन हाउ वेल सी इज टेकन केयर अफ,' डाक्टरले यसो भनेको पाँच-सात वर्ष नै भइसकेको थियो।
परिवार, डाक्टर र हेरचाह गर्न रखिएका चौबीस घन्टे नर्सहरूको प्रयासले दिन, साता, महिना वर्षौंमा परिणत भए। उनको स्वास्थ्य अवस्था जीर्ण हुँदै गएको देखिन्थ्यो तर उनी आफैंले त्यसलाई झेलेर नै बसिन्।
एकदिन म अफिसमा हुँदा नआओस् भनेर चिताएको फोन आयो, 'आमालाई एकदम गाह्रो भयो, अस्पताल लाँदै छौं।'
हुन त अस्पताल जानु-आउनु आमाका लागि ठूलो कुरा थिएन। दस वर्षमा वर्षको दुई-तीनपटक अस्पतालको बास नियमित भइसकेको थियो। तर त्यस दिनको फोनमा अत्यास थियो। ताहाचलबाट उनी अस्पताल पुग्नु र म कालिकास्थानबाट पुग्नु सँगसँगै भयो।
आमालाई इमर्जेन्सीमा दौडाइयो। अनेक परीक्षण गरियो। आखिरमा जवाफ आयो, 'सी इज नो मोर।'
म टोलाएर हेरिरहेँ, आमाको सासबिहीन मुहार।
आज आमा गएपछिको तेस्रो आमाबिहिन 'आमाको मुख हेर्ने दिन' उनलाई सम्झिँदै त्यस बेलाका मेरा अनुभूति तपाईंहरूसँग बाँडेको छु। आमा बितेपछि मैले आफ्नो मनमा उम्लेका भावनाहरू केही कवितामार्फत फोनमा पोखेर राखेको रहेछु।
मान्छेको शरीरबाट सास गएपछि अनुहारमा परिवर्तन आउन थाल्छ भन्ने कुरा सुने पनि म त्यस दिन पहिलोपटक प्रत्यक्ष देख्दै थिएँ।
बिस्तारै
तिम्रो ओठ
तिम्रो अनुहारमा बिलिन भयो
त्यो गुलाबी ओठ
सेतो हुँदै गयो
म भेट्न चाहन्थेँ
तिम्रो त्यो रेभ्लन लिपिस्टिक
सेतो हुँदै गएको ओठलाई
रंगाउन चाहन्थेँ
गुलाबी, लाल
तिम्रो निधारको टीकासँग
मिल्ने गरी, म्याचिङ
म भेट्न चाहन्थेँ
तिम्रो पाउडर
तिम्रो फुस्रिँदै गाएको गालालाई
लिपपोत गर्न
एकछिन घोरिएँ
त्यो रक्तहीन मुहारमा
र महशुस गरेँ
तिम्रो मुहारमा छाएको
अलौकिक कान्ति
शान्ति
तिमी त आज
बिनामेकअप नै
बलेकी छौ
उज्यालो
झललल
मेरो स्मरणको तिम्रो अन्तिम आकृति
क्लान्त
शान्त
कान्त...
आमाको त्यो मुहारको कान्तिमा डुबिरहेकै बेला खबर आयो, 'अब लाने बेला भो, शववाहन आइपुग्यो।'
मेरो मावल देवपाटनका घाटे वैद्य खलक भएकाले घाटसँग कुनै काम पर्दा मावल खलक स्वचालित हुने गर्छ। यसपालि पनि सबै व्यवस्था उनीहरूले नै गर्दै थिए।
शव अस्पतालको इमर्जेन्सीबाट ट्रलीमा गुडाउँदै शववाहनमा सारियो। म पनि त्यसैमा चढेँ। हाम्रो पशुपतिको यात्रा सुरू भयो।
यो नै आमासँगको मेरो अन्तिम यात्रा हुनेछ भनेर सम्झिँदा मनमा उनीसँग बिताएका बाल्यकालीन मावलका यात्राहरू याद आए।
पशुपतितिरको मेरो पहिलो यात्रा
तिम्रो काखमा गुटमुटिएर
बा'को भक्सवागन बिटलमा भएको हुनुपर्छ
तिम्रो माइती
मेरो मावलको यात्रा
तिम्रो न्यानो काखको
त्यो पहिलो यात्रा
म सम्झिन्नँ
तर अनुभूत गर्न सक्छु
त्यसपछि तिम्रो हात समाएर
टुकुटुकु ताँती गर्दै गएँ
बिस्तारै तिमीलाई
मोटरसाइकल पछाडि राखेर गएँ
मोटरमा चढाएर गएँ
धेरैचोटि
नियमित
याद नहुने गरी
आज पनि हामी सँगै छौं
तिमी लम्पसार छौ
म तिम्रो हात समाइरहेको छु
तिम्रो त्यो कोमल हात
अलि चिसो भएछ
म त्यही हात
कस्सेर समाइरहेछु
पशुपति पुगेपछि
त्यो हात सधैंका लागि छुट्टिने छ
मावली जाँदा छोटो होस् भनेर
कामना गर्ने मेरो मन
आजको यात्रा नटुंगियोस् भन्ने
कामना गरिरहेछ
म छु तिम्रै साथ
तिम्रो हात समाई
जाँदैछु पशुपतितिर
शव वाहनमा...
हामी पशुपति पुग्दा साँझको आरती चलिरहेको थियो। माहौल संगीतमय थियो। मेरी आमा संगीतको पारखी थिइन्। हामी (नेपालय) ले आयोजना गर्ने 'पलेँटी' कार्यक्रमको त उनी नियमित दर्शक नै थिइन्।
मेरा छोरीहरूले उनलाई एउटा ट्याब्लेट उपहार दिएका थिए, जसमा पलेँटीका अधिकांश गीत युट्युबमा अफलाइन सुन्न मिल्ने गरी डाउनलोड गरेर राखिएको थियो। उनलाई भेट्न जाँदा उनी प्राय: ती गीतहरू सुन्दै गुनगुनाइरहेकी हुन्थिन्।
उनी छानीछानी मीना निरौलाले गाएका पुराना गीतहरू सुन्थिन्। मीनाको स्वरसँग उनको विशेष लगाव थियो। खाटमा पल्टिएर गीतहरू गुनगुनाएको देख्दा उनले पहिलेपहिले भान्छामा काम गर्दै रेडियोसँगै ओठ चलाउँदै गुनगुनाएको याद आउँथ्यो।
पशुपति घाटको आरतीको भजन सुन्दै गर्दा उनले गुनगुनाएका कयौं नेपाली, हिन्दी गीत र भजनहरू मेरो स्मरणमा घुम्न थाले। म घरि फ्लासब्याकमा पुग्थेँ, घरि आरतीको भजनको ध्वनिले वर्तमानमा झस्किन्थेँ।
संगीतको पारखीका लागि आरतीको समयको मलामी पनि राम्रै संयोग जुरेजस्तो लग्यो।
संगीतको पारखी तिमी
रेडियो सुनेर गुनगुनाउँथ्यौ
तारा देवी
लता, आशाहरू
पलेँटीमा नियमित आउन थालेपछि
गुनगुनाउन थाल्यौ
शान्ति ठटाल
मीना निरौलाहरू
उडिजाऊँ भने म पन्छी होइन...
तिम्रो पन्छी हुने आकांक्षा
उडेर मुक्त हुने इच्छा
बिस्तारै भजन सुन्न थाल्यौ
गुनगुनाउन थाल्यौ
फूलको आँखामा
फूलै संसार
सम्झना छ
म बालक हुँदा
छ बजे रेडियो खोलेर उठाउँथ्यौ
ॐ जयजगदिश्वर हरे
स्वामी जगदिश्वर हरे
यो भजनसँगै सुरू हुन्थ्यो
हाम्रो दैनिकी
हतार हतार
स्कुल बस भ्याउने हतारो
आज तिमी पशुपति पुग्दा
आरती चलेको थियो
भजन चल्दै थियो
भक्तजनको संकट प्रभु नै दुर करे...
ॐ जयजगदिश्वर हरे
तर आज मलाई हतारो थिएन
तिम्रो सबै कष्ट दुर भएको थियो
तिमीलाई दु:ख दिएर
जीवित राख्ने धपेडी सक्किएको थियो
तिमीमा सास देखेर
आमा रहेको स्वार्थ साँध्ने
मेरो स्वार्थी दैनिकी सकिएको थियो
मलाई उठाउने भजन सुन्दै
तिमी थियौ
एकाग्रह निद्राहीन
ब्रह्मनालमा
चिर मुद्रामा...
पशुपति आर्यघाटमा आमाको अन्त्येष्टिपछि हामी घर आयौं, किरियापुत्री भएर बस्यौं। भेट्न आउने आफन्त र साथीहरूको धुइरोले किरिया बसुन्जेल धेरै सोच्ने फुर्सद भएन।
जब सबै सक्कियो र म घर आएँ, पुराना एल्बम पल्टाउन थालेँ। म आमा भएका फोटाहरू पल्टिएपछि रोकिँदो रहेछु। मन काटिन्थ्यो, अब त आमा कुनै पनि फोटोमा हामीसँग हुने छैनन् भन्ने भान हुँदा।
लाग्यो, अबका सबै चाड र फोटाहरू अपूर्ण हुने छन्।
पुराना तस्बिर पल्टाएँ
दसैं
तिहार
जन्मदिन
सबै कति पूर्ण
सबैमा तिमी पाएँ
अबको
दसैं
तिहार
जन्मदिन
अपूर्ण हुनेछ
तस्बिर
माहौल
रमझम
म
सबै अपूर्ण
तिमीबिना
कसरी पूर्ण हुन्छ
मेरो केही
तिमी त गयौ
विवश छु
अपूर्णता स्वीकार्न
मेरा तस्बिरहरू
अब सदा अपूर्ण रहने छन्
अपूरणीय...
मान्छे हुन्जेल हामीलाई त्यो अस्तित्व साधारण लाग्छ। गएपछि त्यो खालीपनले पोल्छ। महशुस हुन्छ, ग्लानी हुन्छ, पश्चाताप हुन्छ। बितेको सम्झना अमूल्य लाग्छ। पहिल्यै यो स्थिति ज्ञात भएको भए म यसो गर्थेँ, उसो गर्थेँ भन्ने सोचले पोल्छ।
यस्तै केही पोलाइमा भ्याएर, नभ्याएर नउठाइएका कयौं फोन कलहरू पनि पर्छन्। धेरै फोन गर्ने मान्छे नभएपछि फोन नै बज्न छाडेजस्तो लाग्छ।
मेरो फोनमा
सबभन्दा बढी आउने फोन
तिम्रै हुन्थ्यो
मेरो फोनबाट
सबभन्दा बढी जाने फोन
तिमीलाई हुन्थेन
कति फोन मैले
व्यस्त भएर उठाइनँ
कति फोन मैले
झर्को मान्दै उठाएँ
अब तिम्रो फोन
आउने छैन
मैले झर्को मान्नुपर्ने पनि छैन
अब कोसँग झर्को मानौं?
मेरो फोनमा रहेको तिम्रो
एक नम्बरको अभावमा
मेरो फोन आज टुहुरो भएको छ आमा...
मसँगै...
(किरणकृष्ण श्रेष्ठका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्)
ट्विटरः @KiranKrShrestha