तपाईंले कोरोनाविरूद्धको खोप कहिले लगाउनुभयो? के तपाईंलाई थाहा छ, तपाईंले लगाउनुभएको त्यो खोपले कहिलेसम्म काम गर्छ? अब बुस्टर डोज लगाउनुपर्छ कि पर्दैन? हो, आजको यो लेखमा यही विषयबारे चर्चा गर्दैछु।
सामान्यतया:संक्रमण भएपछि वा खोप लगाएको ६ महिनापछि कोरोनाविरूद्धको एन्टिबडीमा ह्रास हुँदै जाने विभिन्न अनुसन्धानहरूले देखाएको छ। नेपालमा अधिकांश मानिसहरूले खोप वा बुस्टर डोज लगाएको ६ महिना बढी भइसकेको छ। अहिले फेरि संक्रमण बढ्दै जाँदा मानिसहरूले खोपको बुस्टर डोज (अतिरिक्त मात्रा) बारे चासो लिएको देखिन्छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो सातायता नेपालमा कोरोना संक्रमण फेरि उकालो लागेको देखिन्छ।
गत चैत १२ गते एकैदिन १६ जनामा संक्रमण देखिएयता दैनिक संक्रमितको संख्या बढिरहेको छ। हिजोमात्र ३४ जना नयाँ संक्रमित थपिएका छन्। पछिल्लो समय भारतमा संक्रमण बढेका कारण नेपालमा पनि संक्रमण बढेको देखिन्छ। त्यसैले अहिले मानिसहरू थोरै भए पनि संक्रमणलाई लिएर फेरि सचेत हुन थालेका छन्। कतिले फेरि खोप लगाउनुपर्छ कि पर्दैन भनेर चासो देखाएका छन्।
हालै मार्च २७ मा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले निरन्तर अतिरिक्त खोपको आवश्यकता सबैलाई नपर्ने सूचना प्रकाशित गरेको छ।
विकसित देशहरूले अतिरिक्त खोप दिने क्रमलाई निरन्तरता दिँदै गर्दा यस्तो सूचना सार्वजनिक भएको हो।
डब्लुएचओको प्राविधिक समूहले जेष्ठ नागरिक, दीर्घ रोगी, रोग प्रतिरोधात्मक क्षमता कम भएकालाई खोपको अतिरिक्त मात्रा पछिल्लो खोप लगाएको ६ वा १२ महिनाभित्र लगाउन सकिने भनेका छन्।
नेपाल सरकारले पनि ५५ वर्ष माथिका जेष्ठ नागरिक, स्वास्थ्यकर्मी, गर्भवती, दीर्घ रोगी, रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकालाई पहिलो अतिरिक्त खोप लगाएको ६ महिना भैसकेको भए दोस्रो अतिरिक्त मात्रा लगाउन अनुरोध गरेको छ।
तर डब्लुएचओको प्राविधिक समूहले युवा तथा स्वस्थ व्यक्तिलाई भने निरन्तर अतिरिक्त खोप आवश्यक नपर्ने जनाएको छ। यो कुरालाई हेर्दा डब्लुएचओले कोरोनाविरूद्धको खोप कहिलेसम्म लगाउने वा कतिसम्म निरन्तरता दिने भन्ने अन्यौललाई सम्बोधन गर्न खोजेको देखिन्छ। यद्यपि खोपसम्बन्धी विभिन्न अनुसन्धान भइरहेकाले आगामी दिनमा यसबारे थप तथ्यहरू प्रकाशित वा सार्वजनिक भने हुने नै छन्।
केही महिना अगाडि छिमेकी देश चीनमा कडा लकडाउन खुकुलो गरेलगत्तै हजारौं मानिसले कोरोनाको कारण मृत्युवरण गर्नुपरेको थियो। पछि चीन सरकारले उपलब्ध गराएको तथ्यांकले मृत्यु भएकामध्ये धेरै खोप नलगाएका र जेष्ठ नागरिक थिए।
पछिल्लो समय संख्यात्मक हिसाबले कोरोना कम तथा स्थिर रहे पनि यो भाइरस हामीसँगै रहेको र सायद अझै केही समय निरन्तर रहने हुँदा खोपको पूर्ण मात्रा नलगाएकाहरूले लगाउने र अतिरिक्त मात्रा लगाउनुपर्ने उमेर समूहले खोप लगाउँदा आगामी दिनमा फैलन सक्ने कोरोनाको नयाँ प्रजातिबाट सुरक्षित रहन सकिन्छ।
२०७९ फागुन ९ गतेसम्मको तथ्यांक अनुसार नेपालको कुल जनसंख्याको ७६.५ प्रतिशत र १२ वर्ष माथिका ९५.७ प्रतिशतले पूर्ण मात्रा खोप लगाएको देखिन्छ। तर अतिरिक्त मात्रा खोप लगाउने संख्या भने २७ प्रतिशत मात्र रहेको देखिन्छ। केही समययता नेपालमा भौतिक दूरी कायम गर्ने, मास्क प्रयोग गर्ने, साबुन पानीले हात धुनेजस्ता जनस्वास्थ्यको मापदण्ड पालना गर्न छोडिसकिएको छ। तर पछिल्लो सातादेखि नेपालमा अस्वाभाविक रूपमा संक्रमण फेरि बढ्न थालेकाले यस्ता मापदण्ड कडाइका साथ पालना गर्नुपर्ने देखिन्छ।
(लेखक शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिटका संयोजक हुन्।)
(डाक्टर पुनका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुहोस्)