गत शुक्रबार संघीय संसदका दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गरेर नयाँ बानेश्वरबाट शीतल निवास फर्कने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीको सवारी व्यवस्थापनमा खटिएका प्रहरी (वरिष्ठ हवल्दार) ले सवारीकै बीचमा साइकलमा सवार एक डाक्टरलाई लाठी प्रहार गरे।
यो विषय व्यापक रूप लिँदै देशभरका अस्पताल ठप्प पार्ने स्तरमा पुगेपछि भिआइपीको सवारीका सम्बन्धमा फेरि पनि बहस सुरू भएको छ।
के भिआइपी सवारी व्यवस्थित गर्ने नाममा सर्वसाधारणको जीवन अस्तव्यस्त बनाउने अहिलेको परम्परा उपयुक्त छ?
शुक्रबारको घटनापछि अहिले राष्ट्रपति, सरकार र प्रहरीको आलोचना भइरहेको छ। काठमाडौंमा भिआइपीको सवारीमा सर्वसाधारणले सधैं यसरी नै सास्ती भोग्नु परेको छ। यसपछि भिआइपी र प्रहरीले गाली पाउनु नियमित घटना बनिसक्यो।
भिआइपी सवारी व्यवस्थित गर्दा आम जनजीवन अव्यवस्थित हुने र त्यसको अपजस फिल्डमा खटिने प्रहरीले भोग्नुपर्ने नियति रहिआएको छ। आखिर किन यस्तो भइरहेको छ? किन चुस्त र व्यवस्थित हुन सक्दैन भिआइपी सवारी? किन सर्वसाधारणले सास्ती भोगिरहनु र प्रहरीले गाली खाइरहनु पर्ने?
नेपालमा सवारी व्यवस्थापन प्रहरीले गर्छ। यसको इतिहास हेर्दा करिब एक शताब्दी पछाडि पुगिन्छ।
श्री ३ जुद्ध शमशेरको पालामा १९८७ साल (सन् १९३०) मा सवारी व्यवस्थापनका लागि ‘सवारी रूल ऐन’ जारी गरिएको थियो।
१९९६ सालमा ट्राफिक प्रहरीको स्थापना गरिएको थियो। उस बखत सवारी ऐन र ट्राफिक प्रहरी सवारी व्यवस्थापनका लागि ल्याइएको भए पनि भीमफेदीको बाटो मानिसहरूले बोकेर ल्याएका जम्मा १० वटा गाडी मात्रै थिए। सवारीको तामझाम चाहिँ श्री ३ चन्द्र शमशेरले बेलायत भ्रमणका क्रममा र भारतमा रहेका अंग्रेज शासकबाट सिकेर उनैले सुरू गराएका थिए भनिन्छ।
त्यही तामझाम राणा शासन र पञ्चायत हुँदै अहिले गणतन्त्रसम्म पनि यथावत् देखिन्छ। शुक्रबारको सवारी परिघटनाले तत्कालीन युवराजधिराज पारस शाहको २०६२ सालको सवारी सम्झाइदिएको छ। युवराज पारस तत्कालीन राजा ज्ञानेन्द्र शाहलाई विदेश भ्रमणका लागि बिदाइ गरेर विमानस्थलबाट राजदरबार फर्किँदै थिए।
नयाँ बानेश्वर पुगेपछि आन्दोलनकारी विद्यार्थीहरूले सुरक्षाकर्मीको घेरा तोडेर प्रदर्शन गरेका थिए। सामान्य आक्रमण पनि गरेका थिए। भनिन्छ, सो घटनापछि राजाको अनुपस्थितिमा राजप्रतिनिधि परिषदका अध्यक्ष समेत रहेका युवराज पारस आफ्नो सवारी सुरक्षा गर्न नसकेको भनेर धेरै रिसाएका थिए। भोलिपल्ट आफैं प्रहरी प्रधान कार्यालय पुगेर महानिरीक्षकलाई तथानाम गाली गरेका थिए रे।
आखिर मार खाने त प्रहरी नै भयो।
शुक्रबारको घटनापछि नेपाल प्रहरीका पूर्व वरिष्ठ उपरीक्षक (एसएसपी) ले पञ्चायतकालमा राजा वीरेन्द्रको सवारीमा खटिँदाको अनुभव बाँडेका छन्। उनी २०४६ सालमा राजा वीरेन्द्रको क्षेत्रीय सवारी क्याम्प पोखरामा खटिएका थिए। शिविरबाट राजाको सवारी पोखरा विमानस्थल हुँदै थियो। ती इन्स्पेक्टर बैदाम चेकमा खटिएका थिए।
राजाको सवारी आइपुग्नै लाग्दा तिनै इन्स्पेक्टरको नजिकबाट एउटा कुकुरले बाटो काट्यो। फिल्डमै रहेका तत्कालीन एक डिआइजीले इन्स्पेक्टरलाई कुट्न खोजे। यो दृश्य देखिरहेका सेनाका एक जर्नेलले सर्वसाधारणका सामुन्ने एउटा अधिकृतलाई कुट्दा उनीहरू कुन मनोबलले काम गर्छन् भनेर रोकेछन्।
यसपछि डिआइजीले इन्स्पेक्टरलाई निर्देशन दिएछन्– सवारीमा मान्छे, कुकुर, बिरालो केहीले पनि बाटो काट्न हुन्न, बुझिस्?
सायद सुरक्षाकर्मीमा अझै पनि त्यही किसिमको डर र मानसिकता कायम छ। यही कारणले फिल्डमा गत शुक्रबार खटिएका हवल्दार डाक्टरमाथि जाइलागे। जन्मिँदै जर्नेल सलामी खाँदै खाएका राजा, महाराजाको सवारीमा संवेदनशील हुनु स्वाभाविक पनि थियो होला। अहिले त जनताको बीचबाट आएका र केही दिनमा फेरि उही जनताकै बीचमा पुग्ने हैसियतका राष्ट्रप्रमुखको सवारीमा जनतालाई सास्ती दिएर किन यति धेरै तामझाम गर्नुपर्ने?
यहाँ बेलायती राजा चार्ल्स तृतीयलाई गत डिसेम्बर ६ मा लन्डनस्थित लुटनमा अन्डा प्रहार गरिएको घटना उल्लेख गर्नु सान्दर्भिक हुनसक्छ।
राजामाथि बेलायती नागरिक ह्यारी मेले अन्डा प्रहार गरे। तर राजा चार्ल्सले मुस्कुराउँदै नदेखे झैं गरे। त्यो कुनै मुद्दा बनेन। सुरक्षाकर्मीले अनावश्यक बल प्रयोग गरेनन्। कुनै सुरक्षाकर्मी कारबाहीमा पनि परेन।
राजा र सुरक्षाकर्मीले उक्त घटनालाई जनताको सामान्य असन्तुष्टिका रूपमा लिए।
उक्त घटनाअघिऽ चार्ल्स राजा हुनासाथ बेलायतको वेल्स भ्रमण गएका थिए। मानिसको भिडबाट एक व्यक्तिले राजालाई गाली गरे। राजाले नसुने झैं गरे, सुरक्षाकर्मीले सुरक्षामा मात्रै ध्यान दिए। त्यहाँ कुनै घटना हुन पाएन। बरू त्यहाँ उपस्थित सर्वसाधारणले नै ती व्यक्तिलाई अनुशासनहीन भनेर गाली गरे भन्ने समाचार आयो।
बेलायतका यी पछिल्ला दृष्टान्तबाट नेपालमा भिआइपीको सवारी व्यवस्थापनमा सहयोग पुग्न सक्छ। भिआइपी सवारीमा आलंकारिकता भन्दा पनि सुरक्षा संवेदनशीलतामा बढी प्राथमिकता हुनुपर्छ।
राजतन्त्र हुँदा राजाको सवारीमा दरबारिया हाउगुजी थियो व्याप्त थियो। सवारीमा कुनै सानो घटना भयो भने फिल्डमा खटिनेको जागिर जाने त्रास थियो। प्रहरी सेवामा रहँदा म आफैं खटिएका सवारीका केही घटना सम्झन्छु।
दसैंमा राजा शक्तिपीठ दर्शनका लागि सवारी हुने परम्परा थियो। २०५४ सालको दसैंमा राजा वीरेन्द्रको सवारी भक्तपुरको नवदुर्गा मन्दिरमा भएको थियो। म चक्रपथको सिनामंगल क्षेत्रमा खटिएको थिएँ। साँझ परेको थियो। भक्तपुरबाट राजाको फिर्ती सवारी नजिकै आइपुगेको जानकारीसहित हामीलाई हाइ-अलर्टमा राखेर वरपर सबै गाडी बन्द गराउन आदेश भयो।
ठीक त्यही समय कामबाट फर्किँदै गरेको सडक विभागको डोजर आइपुग्यो। मेरो कमान्डमा खटिएको प्रहरीले सिटी फुक्दै चालकलाई डोजर साइड लगाउन भन्यो। आत्तिएको चालकले सन्तुलन गुमायो। डोजर सडकबाट तल खस्यो।
हल्लीखल्ली मच्चियो। दौडिएर पुग्दा दृश्य भयावह छ।
ड्राइभरको हात डोजरले किचेछ। ऊ ‘मरेँ, मरेँ’ भन्दै चिच्याइरहेको थियो।
सञ्चार सेटबाट उक्त अवस्था जाहेर गरी उद्धारको कुरा गर्दा आदेश आयो– अहिले ड्राइभरतिर होइन, सवारीतिर ध्यान दिनू।
कस्तो बिलखबन्ध! एकातिर हृदयविदारक स्वरमा डोजरको चालक चिच्याउँदै छ, अर्कातिर राजाको सवारीको साइरन कराउँदैछ।
राजाको सवारी हेर्न बसेका सर्वसाधारण मानिसहरू त्यो दुर्घटना हेर्न बाटो काटिरहेका छन्। धैर्य नगुमाई स्थिति सम्हालेर राजा सवारी पार गरेपछि डोजर चालकको उद्धार गरेको सम्झन्छु।
आजकाल कल्पना हुन्छ– अहिले जस्तै युट्युब र फेसबुक हुन्थ्यो भने?
यस्तै अर्को घटना पनि सम्झन्छु। सोही वर्ष राजा भक्तपुर नवदुर्गा मन्दिर सवारी हुने अघिल्लो दिन काठमाडौंका शक्तिपीठ दर्शनको सवारी सुरक्षार्थ म भद्रकाली क्षेत्रमा खटिएको थिएँ।
मलाई आदेश आयो– कालिकास्थानको दर्शन सकेर राजाको सवारी भद्रकालीतिर प्रस्थान भयो, गाडी र मानिसको आवतजावत रोकेर हाइ-अलर्टमा बस्नू।
मैले आफू मातहतका प्रहरीलाई सबैतिर सवारी रोक्न आदेश दिएँ। प्रहरीहरू सिटी फुक्दै आवतजावत रोक्नतिर लागे। यस्तैमा सिंहदरबारतिरबाट एउटा कालो टेम्पो हुइँकिँदै आएको देखियो। प्रहरीले उसलाई रोक्न खोजे तर चालकले टेम्पो नरोकी अगाडि बढायो।
सम्भवतः दसैंका यात्रु लिएर हिँडेको चालकले राजाको सवारी आइपुग्नु अघि नै भद्रकाली पार गर्न खोजेको थियो। तीव्र गतिमा हुइँकिएको टेक्पो भद्रकालीको घुम्तीमा यस्तरी पल्टियो कि एक साइडबाट घसेटिएर सडकको बीचमा पुग्यो। त्यतिन्जेलमा राजाको सवारी सिंहदरबारअगाडि पृथ्वीनारायण शाहको शालिक कटेर भद्रकालीतर्फ मोडियो।
कस्तो आपत! जताततै सिटी र साइरनको आवाज छ। तुरून्तै टेम्पो उठाएर धकेल्दै साइड लगाउन सक्यौं। ठ्याक्कै सवारी आइपुग्यो। धन्य! अर्को कुनै घटना भएन।
पूजाआजा सकेर राजाको सवारी महांकालतर्फ गयो। बल्ल टेम्पो ड्राइभर र यात्रुहरूलाई हेर्न भ्याइयो। चालकलाई सामान्य चोट लागेको रहेछ। यात्रु कसैलाई केही भएको थिएन। पछि राजाको सवारी निर्बिघ्न चलाउन सकेकोमा धन्यवाद भन्दा पनि टेम्पोलाई टाढै रोक्न नसकेकामा गाली खानु पर्यो।
उस बेलाका राजाले आफ्नो सवारीमा त्यस्तो तामझाम चाहन्थे कि चाहन्न थिए, थाहा भएन। सोध्ने हैसियत कसैको हुँदैन थियो। ‘पवन’ बाट सुरू हुने राजाको सवारीमा ‘विश्राम’ नभनेसम्म दरबारको हाउगुजीले पिरोल्थ्यो।
सवारीअघि निरीक्षणमा आउनेहरूले ‘तेरो सिपाहीले युनिफर्म राम्ररी लगाएको छैन भन्नेदेखि तेरो सिपाही कसरी उभिएको छ हेर’ भन्नेजस्तो टोकसो गर्थे। सुरक्षाको कुरामा भन्दा बढी बाहिरी तामझाम ध्यान हुन्थ्यो। गत शुक्रबार भएको राष्ट्रपतिको सवारीतिर फर्कौं।
सवारी सकियो तर वीर अस्पताल अगाडिबाट फैलिएको झंकार भने आइतबारसम्ममा मुलुकभरका अस्पतालमा पुग्यो। दूरदराजमा बिरामीलाई डोकोमा बोकेर अस्पताल ल्याउनुपरेको हुन्छ। ताप्लेजुङ, मुगु, कालिकोट जस्ता जिल्लाका दुर्गम बस्तीका बिरामीलाई राष्ट्रपतिको सवारीसँग के लेनदेन? उनीहरू उपचारबाट किन बन्चित हुनु?
सिनामंगलमा डोजरले किचेको चालकको आवाज राजाको सवारीको साइरनले दबाएको थियो।
आज पनि त्यही नियति जस्ताको तस्तै छ। राष्ट्रपतिको सवारीमा पनि फिल्डमा खटिएका प्रहरीले ‘माथिको आदेश’ बमोजिम सबै गाडी र मान्छेको आवागमन रोक्न खोजे। यही क्रममा डाक्टरमाथि बल प्रयोग गरे।
प्रहरी कार्यालयले बल प्रयोग गर्ने प्रहरीलाई निलम्बन गरेर कारबाही प्रक्रिया सुरू गरेको भनेर विज्ञप्ति निकाल्यो। डाक्टरहरूले देशभरका अस्पताल ठप्प पार्ने निर्णय गरेका थिए। उनीहरूले यो निर्णय फिर्ता भने लिइसकेका छन्। यदि ट्रमा सेन्टरको डाक्टरको ठाउँमा डोजर चालक वा टेम्पो चालक परेको भए? सायद आवाज कतै हावामा विलीन हुन्थ्यो होला।
डाक्टरहरूको संगठित आवाजले भिआइपीको सवारीमा सर्वसाधारण नागरिकले भोग्नुपर्ने सास्तीको सादा चित्र बाहिर ल्याइदिएको छ। फिल्डमा खटिएका प्रहरीले ‘दुर्व्यवहार’ नगरेकै ठाउँमा पनि सर्वसाधारणले लामो जाममा परेर चुपचाप भोग्ने सास्तीमाथि पनि बहस हुन आवश्यक छ। यसबारे सरोकारवाला निकायहरू गम्भीर हुनु पर्छ।
यो त सतहमा आएको घटना मात्र हो। यसको कारण र समाधान खोजिनुपर्छ। प्रहरीको ‘दुर्व्यवहार’ प्रवृत्ति हो कि तत्कालीन परिस्थितिको उपज?
यसको उत्तर खोज्नु पर्छ।
सवारी हुनुभन्दा आठ–दस घन्टाअघिदेखि सुरक्षाकर्मी फिल्डमा खटिनुपर्ने अवस्था छ। खाना र आरामको उचित प्रबन्ध छैन। शौचालय समेत जान नपाउने अवस्था हुन्छ। यसरी सडकमा खटिएको प्रहरी मनुवा ‘माथिको आदेश’ पालना गर्दै सर्वसाधारणलाई छेक्दै कर्तव्य निर्वाह गर्ने नियतिबाट गुज्रिएको हुन्छ। ठूलो भिडका माझ विकल्पविहीन अवस्थामा सानो संख्यामा प्रहरी खटेका हुन्छन्। सार्वसाधारणमा आक्रोश हुन्छ। यस्तो अवस्थामा द्वन्द्वको बलियो सम्भावना कायम रहन्छ।
सजायको भागी बन्ने सडकका मानिसहरू नै हुन्; सर्वसाधारण, डाक्टर वा प्रहरी जो भए पनि। पैदलयात्री रोकिए। गाडीहरू लामो जाममा परे। डाक्टर कुटिए। हवल्दार निलम्बनमा परे।
एक जना हवल्दारको निलम्बन वा ऊमाथिको कारबाहीले भिआइपी सवारीले निम्त्याउने सबै समस्या समाधान हुन्छ?
हुँदैन।
लाठी किन चलाउनु परेको हो, खोजीको विषय अवश्य हुन्छ तर आदेशअनुसार बाटो खाली गराउनु फिल्डमा खटिएको प्रहरीको कर्तव्य हो। त्यसैले भिआइपीको सवारीमा देखिएका समस्याको दीर्घकालीन समाधान खोज्न जरुरी छ।
आफ्नै राष्ट्र प्रमुखको नियमित सवारी व्यवस्थापन नै कठिन भइरहेको अवस्थामा विदेशी राष्ट्र प्रमुख वा सरकार प्रमुखको भ्रमणमा झन् विकराल अवस्था उत्पन्न हुन्छ। यो पनि भोग्नु परेकै छ। सवारी व्यवस्थापनकै हैरानीका कारण नेपाल सरकारले विदेशी राष्ट्र प्रमुख वा सरकार प्रमुखको भ्रमणमा बिदा दिने गरेको देखिन्छ। यसो गर्नु सजिलो त हो तर रचनात्मक र दीर्घकालीन उपाय होइन।
नेपालले विदेशी राष्ट्र प्रमुख वा सरकार प्रमुख आउँदा बिदा दिने गरेजस्तो उपाय बेलायत वा अमेरिकाले गर्ने हो भने के होला! यी देशमा त प्रत्येक दिन जसो कुनै न विदेशी भिआइपीको भ्रमण हुन्छ। संसारका शक्तिशाली अमेरिकी राष्ट्रपति जो बाइडेन र तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पले लन्डन भ्रमण गर्दा समाचार हेर्ने–सुन्नेले बाहेक अरू कसैले थाहा पाएनन् होला।
लन्डनको व्यस्त सडक भिआइपीको सवारीमा बन्द हुँदैन। उनीहरूले अपनाएको सवारी व्यवस्थापन विधि हाम्रो जस्तो देशका लागि उपयोगी हुन सक्छ।
धेरै टाढा जानै पर्दैन, संसारमा सबैभन्दा बढी मानिसले टिभीमा हेरेको भनिएको बेलायतकी महारानी एलिजाबेथको शवयात्रा वा राजा घोषित हुन चाल्र्स तृतीय बकिंघम दरबार आउँदा सडक एकातर्फ मात्रै बन्द गरिएको थियो। सर्वसाधारणलाई कुनै सास्ती थिएन। सवारीको बाटो र समयको बारेमा पहिले नै सूचना थियो।
के हाम्रा राष्ट्रपतिको सवारीमा सर्वसाधारणको सास्ती घटाउन सकिँदैन?
अवश्य सकिन्छ तर यसतर्फ प्रयास भएकै छैन। सर्वसाधारणको बेवास्ता गरेर परम्परागत ढंगले नै चलाइँदै छ। राष्ट्रपति भवन, शीतल निवासबाट संसद भवन, बानेश्वरसम्म सवारी चलाउँदा सडकको एकातर्फमात्रै यातायातका साधन बन्द गरेर पनि सुरक्षा दिन सकिन्छ। राजकीय सवारी बानेश्वर चोकबाट मात्र चलाउँदा हुन्छ। हनुमानढोका सवारी चलाउनु छ भने न्युरोड गेटबाट राजकीय सवारी गर्दा हुन्छ।
यसो गर्दा परम्परा पनि धानिन्छ, राष्ट्रपतिको मर्यादा पनि रहन्छ, सर्वसाधारणले सास्ती भोग्नु पर्दैन।
कतिपय अवस्थामा हेलिकप्टरको प्रयोग गर्दा सर्वसाधारणलाई सास्ती हुँदैन, सडक बन्द भएर हुन सक्ने क्षति पनि कम हुन्छ। यसरी व्यवस्थापन गर्न सके फिल्डमा खटिने सुरक्षाकर्मीले पनि राम्ररी काम गर्न सक्छ। कसैले सास्ती खेप्नु पर्दैन, कोही कुटिनु पर्दैन।
हामी नेपाली भिआइपी सवारीमा अनेक तामझाम र खर्च गर्छौं तर विदेशी भिआइपीका लागि उनीहरू विश्वस्त हुने गरी बुलेट प्रुफ गाडी छैन। उनीहरूले आफ्नै देशबाट बुलेट प्रुफ गाडी ल्याउने गरेका छन्। चिनियाँ राष्ट्रपति सी जिनपिङ आउँदा होस् वा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आउँदा, उनीहरूले आफ्नै बुलेट प्रुफ गाडी ल्याएका थिए। एउटा सार्वभौम राष्ट्रका लागि यो निकै लाजमर्दो अवस्था हो। तामझाममा खर्च गर्नुभन्दा भरपर्दो सुरक्षा व्यवस्थामा खर्च गर्नु सान्दर्भिक हुन्छ।
शुक्रबारको घटनाबाट पाठ सिकेर भिआइपीको सुरक्षा व्यवस्था गर्ने निकायहरूले सवारी व्यवस्थापन पुनरावलोकन गर्नुपर्छ। अनुकूल परिमार्जन गर्दै सवारी सुव्यवस्थित गर्नुपर्छ। विदेशी मुलुकहरूले अपनाएका विधिहरूको अध्ययन गरेर सिक्न पनि सकिन्छ। यति गर्न सके राष्ट्रपति वा अन्य भिआइपीको सवारीमा हुनसक्ने दुःखद घटना कम गर्न सकिन्छ।
भिआइपीहरूको सवारी पद र प्रतिष्ठासँग जोडेर तामझाम गर्नुको साटो सुरक्षाको दृष्टिले बलियो बनाउनु पर्छ। सर्वसाधारणलाई सास्ती दिएर राष्ट्रपति संस्थाको वा राष्ट्रपतिको व्यक्तिगत गरिमा कायम हुँदैन।
(लेखक शिवजी श्रेष्ठ नेपाल प्रहरीका पूर्वप्रहरी अधिकृत हुन्। उनी हाल ब्रिटिस प्रहरीको ह्याम्प्सायर पुलि कन्स्टेबुलरीका सल्लाहकार छन्।)
शिवजी श्रेष्ठका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्