वि.सं १९९० मा स्थापित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल अहिले पनि अधिकांश सर्वसाधारणबीच टेकु अस्पतालको नामले परिचित छ। आज माघ १० गते अर्थात् अस्पतालको वार्षिकी।
राज्यको केन्द्रीय अस्पतालहरूमध्ये आकार तथा जनशक्तिको संख्यामा सानो भए पनि विश्वलाई त्रसित पारेको र लाखौं मानिसको ज्यान लिएको संक्रमण 'सार्स कोरोना भाइरस-२' विरूद्धको लडाइँमा भने अग्रणी भूमिका खेलेको थियो।
देशमा जब-जब संक्रमणको महामारी हुन्छ, तब-तब अस्पतालले सधैं अग्रणी भूमिका खेलेको छ र विगत २१ वर्षदेखि यी कुराको म साक्षी हुन पाएको छु।
२१ औं शताब्दीको प्रवेशसँगै नयाँ-नयाँ उच्च संक्रामक तथा प्राण घातक रोगहरू देखिने र पहिचान हुने क्रम बढ्दो छ। पछिल्लो समयमा देखिएको प्यान्डेमिक 'सार्स कोरोना भाइरस-२' यसको ज्वलन्त उदाहरणको रूपमा लिन सकिन्छ।
चीनको वुहानबाट फैलन सुरू भएको 'सार्स कोरोना भाइरस-२' विश्वभरि तहल्का मच्चाएर नेपालमा प्रवेश गरेलगत्तै पटक/पटक घातक लहरहरूको सृजना गर्दै हजारौं मानिसको मृत्युको कारक बनेको थियो।
दोस्रो लहर विशेषत उग्र र पीडादायक रह्यो। सो समय अक्सिजनको हाहाकार देखिएको थियो भने एकपछि अर्को ठूला अस्पतालहरूले उपचार गर्नबाट हात उठाएका थिए। तर टेकु अस्पतालले भने थप शय्या थपेर आफ्नो क्षमताभन्दा बढी बिरामीलाई उपचार गरेको थियो। एकमात्र सरूवा रोग टेकु अस्पताल त्यसबेला सबैको आशा र भरोसाको केन्द्र बनेको थियो।
कोभिड-१९ को लहरमा केही शिथिलता आएसँगै डेंगी महामारीको अर्को विपत्ति आइलागेको थियो। यसपटक इतिहासमा नै डेंगीको कारणले सबैभन्दा धेरै संक्रमित र मृत्युको अवस्था देशले बेहोर्नु परेको थियो।
डेंगी देशको सबै जिल्लासम्म पुगेको अर्थात् देश नै 'डेंगीमय' भएको थियो। काठमाडौं उपत्यका डेंगीबाट सबभन्दा बढी प्रभावित भएको थियो। टेकु अस्पतालले 'डेंगी क्लिनिक' नै खोलेर हजारौंलाई विशेष सेवा प्रदान गरेको थियो।
डेंगी महामारीले उत्कर्षमा पुग्दै गर्दा अस्पतालको आकस्मिक कक्ष अगाडि दैनिक कम्तीमा आधा दर्जनको हाराहारीमा बिरामी अचेत हुने गर्दथे। विगतको तुलनामा धेरै संक्रमितहरूमा रक्तस्रावको समेत समस्या देखिएको थियो। यसले डेंगी नेपालमा कडा रूपमा प्रस्तुत भएको प्रष्टै देखिन्थ्यो।
मौसमी संक्रामक रोगहरूको निदान र उपचारमा पनि यस अस्पतालले प्रमुख भूमिका निभाउँदै आइरहेको छ।
झाडापखाला, हैजा, भाइरल हेपाटाइटिस (ए र इ), टाइफाइड, स्क्रब टाइफस, फ्लु आदि जस्ता मौसमी संक्रामक रोगहरूविरूद्ध यस अस्पतालले सेवा दिँदै आइरहेको छ।
मैले जुनियर मेडिकल अधिकृत भएर सेवा सुरू गर्दा हैजाका बिरामीले अस्पताल भरिने गर्थ्यो। त्यहीँ कारणले पनि सुरूमा टेकु अस्पताल पहिले 'हैजा अस्पताल' को नामले चिनिन्थ्यो। अहिले पनि बर्सेनि हैजाको जोखिम देखिने गरेको छ।
मौसमी मात्र नभई जनावरको टोकाइ (रेबिज), टिटानस, एचआइभी/एड्स, हेपाटाइटिस (बि र सी), छाला तथा यौन रोगजस्ता बेमौसमी संक्रामक रोगहरूको (१२ महिना नै देखिने) उपचारमा पनि अग्रणी भूमिका खेल्दै आइरहेको छ।
पहिलोपटक मैले यस अस्पतालमा 'वयस्क खोप शाखा' को परिकल्पना गरेको थिएँ।
खोपले संक्रमणबाट हुनसक्ने जटिलतालाई रोक्न महत्वपूर्ण भूमिका खेल्ने गर्दछ। हाल यस अस्पतालमा 'खोप शाखा' ले आफ्नो सेवा प्रवाह गरिरहेको छ।
पछिल्लो समय अध्ययनको शिलशिलामा विदेशी शैक्षिक संस्थाहरूले अनिवार्य गरेका खोपहरू लगाउने विद्यार्थीहरू बढी आउने गरेको देखिन्छ। तर देशभित्र देखिँदै आइरहेको संक्रामक रोगहरूविरूद्धका खोपहरूको बारेमा धेरैमा चासो वा जानकारी भएको भने देखिँदैन।
पछिल्लो समय निमोनिया तथा फ्लुविरूद्धको खोप लगाउनेको संख्यामा भने बर्सेनि वृद्धि हुँदै गइरहेको छ।
यति हुँदाहुँदै हालको भौतिक संरचना, तालिम प्राप्त जनशक्ति र अनुसन्धान पर्याप्त भने हुन सकेको छैन। नेपाल सरकारले अस्पताललाई १०० बाट ३०० शय्यामा स्तरोन्नति गर्ने निर्णय गरेको छ। जुन स्वागतयोग्य देखिन्छ। रोगको पहिचान बिना उपचार, परामर्श तथा प्रकोप/महामारी रोक्ने उपाय थाहा वा प्रभावकारी हुँदैन। जसको लागि अनुसन्धान अपरिहार्य हुनेछ। नेपालमा बर्सेनि ज्वरोको कारक थाहा नभएका संक्रामक रोगको चाङ बढ्दो छ।
कोभिड-१९ माथि नियन्त्रण गर्न पनि अनुसन्धानले नै महत्वपूर्ण भूमिका खेलेको थियो। टेकु अस्पताललाई अनुसन्धान केन्द्रको रूपमा विकास गर्न सके आगामी दिनहरूमा अज्ञात भनिने वा हुने रोगहरूको समयमा नै पहिचान गर्न ठूलो मद्दत मिल्ने छ।
वास्तवमा टेकु अस्पताललाई दक्षिण एसियाको नै 'संक्रामक रोग अनुसन्धान हब' बनाउन सकिने छ, जुन मेरो पनि सपना हो। तर यसको लागि सम्बन्धित निकायले विशेष चासो र वातावरण बनाउन अति आवश्यक हुन्छ।
छिमेकी देश भारतमा देखिँदै आइरहेका तर नेपालमा पुष्टि भइनसकेका जीका भाइरस, चन्दीपुरा भाइरस, निपा भाइरसजस्ता प्राण घातक रोगहरूको चुनौती पनि नेपाललाई छ। यी यस्ता ज्ञात/अज्ञात रोगहरूको अवस्था, चुनौती र समाधानको उपाय अनुसन्धानबाट नै सम्बोधन गर्न सकिने छ।
कोभिड-१९ को महामारीसँगै विश्वभरि नै सरूवा रोगप्रति विशेष चासो र संवेदनशीलता बढेको देखिन्छ। यसर्थ, सरूवा रोगको अध्ययन अनुसन्धानमा ठूलो लगानी गरेको पनि देखिन्छ। अझ भविष्यमा कोभिड-१९ जस्तै अर्को तीव्र गतिमा फैलन सक्ने घातक संक्रमण देखिन सक्ने प्रति सजकता अपनाइएको देखिन्छ। तर नेपालले भने नसर्ने रोगहरूको तुलनामा सरूवा रोगको लागि पर्याप्त योजना, अध्ययन अनुसन्धान, आर्थिक तथा भौतिक सहयोग निराशाजनक नै देखिन्छ।
तसर्थ टेकु अस्पताललाई २१ औं शताब्दीमा देखिने तीव्र गतिमा फैलन सक्ने घातक संक्रामक रोगहरूको चुनौतीको सामना गर्न सक्षम अस्पतालको रूपमा विकास गर्न 'रोड म्याप' नै बनाउन अति आवश्यक भइसकेको छ। किनभने जबजब महामारी फैलन्छ तबतब सर्वसाधारण मात्र नभई सरकारको पनि आशा र भरोसाको केन्द्र टेकु अस्पताल नै रहँदै आइरहेको छ र भविष्यमा पनि हुनेछ।
(लेखक शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिटका संयोजक हुन्।)
(डाक्टर पुनका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुहोस्)