हामी नेपाली को र के हौं? हाम्रो साझा विशेषता के हो? हाम्रो तुलनात्मक लाभको क्षेत्र के हो? अरूमा नभएको हाम्रो विशिष्टता के हो? हामीलाई एउटा चिजका लागि दुनियाँले चिन्ने हो भने केका लागि चिन्न सक्छ।
स्वभावतः यी प्रश्नहरू कहिलेकाहीँ मेरो मनमा उठ्छन्।
तर अक्सर यिनको चित्त बुझ्दो जवाफ फेला पर्दैन। कारण- यहाँ साहसीदेखि कायरसम्म, प्रतिभाशालीदेखि मुर्खसम्म, दयालुदेखि निष्ठुरसम्म, शान्तिवादीदेखि हिंस्रकसम्म सबै खालका मानिसहरू बस्छन्।
पछिल्लो समय भने म एउटा निष्कर्षमा पुगेको छु- हामी नेपाली मानिसहरूबीच झन्डै सर्वव्यापी भन्न मिल्ने एउटा प्रवृत्ति र व्यवहार छ; झिँगाको जस्तो।
त्यसैले अब नेपाललाई झिँगे मानिसहरूको देश भने हुन्छ।
किन त्यसो भनेर जान्नुअगाडि झिँगाको खास विशेषता के हो भन्ने बुझौं।
झिँगाका अनेक प्रजातिमध्ये एउटाले सिनो असाध्यै मन पराउँछ। कुनै ठूलो जीवको लास भेट्टियो कि त्यहाँ झिँगा जम्मा हुन्छन्। तिनले लगातार सिनो खान्छन्, अन्डा पार्छन् र तिनबाट लार्भा र प्युपा चरण हुँदै बच्चा निकाल्छन्। ती हुर्किन्छन्, फेरि त्यही चक्र दोहोर्याउँछन्।
तर झिँगाको संख्या अकासिँदै गएपछि के हुन्छ रे भने, सबै झिँगाहरूले सिनो भेटाउँदैनन्। अगाडिको पंक्तिमा हुनेहरूले दिनभर खाँदै दिसा गर्दै गर्छन्। पछाडिकाले त्यही दिसा खाँदै जान्छन् र यो चक्र दोहोरिइरहन्छ।
तिनको जीवन खाना र दिसासँगै सुरू हुन्छ, त्यसैसँग सकिन्छ।
यो मेरो मनगढन्ते कथा होइन। युवाकालमा दशकौंसम्म झिँगाहरूबारे गहिरो अध्ययन गरेका वातावरणवादी अभियन्ता डेभिड सुजुकीले उतिबेलै भिडिओमा यो कुरा व्याख्या गर्दै भनेका रहेछन्- कहिलेकाहीँ मलाई लाग्छ, हामी मानिसहरू पनि तिनै झिँगाभन्दा के पो फरक भयौं र?
उनको जीवनमा आधारित वृत्तचित्र ‘फोर्स अफ नेचर’ मा समेटिएको त्यो छोटो क्लिपमा लामो व्याख्या त छैन तर वातावरणीय मुद्दामा मानिसहरूको उदासीनतालाई व्यंग्य गर्दै उनले त्यसो भनेका हुन्।
पछि गएर उनी साविकको वैज्ञानिक शोध छाडेर मानिसलाई पर्यावरणीय मुद्दाहरूमा सुसूचित र शिक्षित बनाउने उद्देश्यले टेलिभिजन कार्यक्रम चलाउनेतिर लागे। ४४ वर्षमा झन्डै हजार अंकसम्म चलेको ‘नेचर अफ थिंग्स’ कार्यक्रमबाट उनले यो वर्ष विश्राम लिँदैछन्।
अब हेरौं आम रूपमा हामी नेपालीहरूको चेतना किन झिँगाको भन्दा बढी छैन भनेर।
अहिले माघको महिना छ। देशभर तुवाँलो लागिसकेको छ। सहरहरूबाट आकाश घुर्मैलो देखिन थालेको तीन महिना बितिसक्यो। जंगलहरूमा आगलागीको सुरूआत भइसक्यो। अबका तीनदेखि चार महिनासम्म देशभरका जंगलहरूमा फैलिने आगोबाट निरन्तर धुवाँ निस्कने निश्चित छ।
त्यसले श्वासप्रश्वाससम्बन्धी समस्या हुने शिशुदेखि वृद्धसम्म धेरैको ज्यानै लिने छ। अरू धेरैलाई हप्तौंसम्म अस्पतालको महँगो उपचार लिन बाध्य पार्नेछ। अलि वर्षपछि फोक्सोलगायतका शरीरका विभिन्न भागका क्यान्सर हुने बिरामीको संख्या यो प्रदूषणका कारण थपिनेछ। ती बिरामीले महिनौं वा वर्षौं महँगो र पीडादायी उपचार गर्नुपर्नेछ र धेरैले अकालमा ज्यान गुमाउनुपर्नेछ।
हिउँदका यी धमिला महिनाहरूमा सबै उमेरका मानिसका फोक्सोहरूमा दैनिक बीसौं खिल्ली चुरोट खाएजत्तिकै क्षति पुग्नेछ। दम वा क्यान्सर नभइहाल्ने मानिसहरूको पनि फोक्सोमा अनेक प्रतिकूल असर पर्नेछ। वर्षैपिच्छे यस्तो हावामा महिनौं सास फेरेका कारण हामी सबैका फोक्सोको क्षमता घट्दै जानेछ।
मिर्गौला वा मुटु फेल भन्ने हामीले सुनेका छौं तर अक्सर नसुनिने फोक्सो फेल हुने पनि एउटा अवस्था हुन्छ जसलाई ‘रेस्पिरेटरी फेल्यर’ भनिन्छ। त्यो अवस्थामा पुग्ने मानिसको संख्या बढ्दै जाने पनि निश्चित छ।
सबै जसो मृत्युहरू पीडादायी हुन्छन् तर केही रोगमा अरू अवस्थामा भन्दा पीडा हुने गर्छ। त्यसको एउटा उदाहरण रेबिज हो जहाँ मानिस तिर्खा लाग्दा पानी निल्न नसकेर छट्पटिँदै मर्छ। त्यस्तै फोक्सो फेलमा पनि अन्तिम अवस्थासम्म व्यक्तिको होस कायम हुने भएकाले असाध्यै कहालीलाग्दो मृत्यु हुन्छ।
कल्पना गर्नोस् त, उकालोमा दौडिँदा सास फुलेको जस्तो अवस्था सुतेका बेला भइरह्यो र पनि सास पुगेन भने के हुन्छ!
त्यो अवस्थामा भेन्टिलेटरको सेवा पाउने मानिस नेपालजस्तो देशमा घरखेत बेचेर आयु केही लम्ब्याउन बाध्य हुन्छ भने त्यो सेवाको खर्च जुटाउन नसक्ने मानिसको कुरै नगरौं।
चितवन लगायत देशभर अहिले फोहर जलाउने होड छ। घरमा प्लास्टिक हुनेले छेउमा त्यसैलाई जलाउँदै छन्, होटल र संस्थाहरूले त्यसै गर्दैछन्। कति त स्थानीय निकायहरूले नै त्यसो गर्दैछन्, मिश्रित फोहर जंगलमा लैजाने र जलाउने। प्लास्टिकदेखि बच्चाका फोहोर डाइपर, पुराना जुत्ता र थाङ्ना कपडा र सिसादेखि टिनका क्यानसम्म मानिसहरूले जलाएको मैले देखेको छु। जाडोमा आगो ताप्नेहरूले त प्लास्टिकदेखि टायरसम्म केही बाँकी राखेका छैनन्।
जता हेर्यो, उतै विषाक्त धुवाँको मुस्लो छ। त्यो स्वास्थ्यका लागि कति घातक छ भन्ने कुरा हाम्रो वायुमण्डलमा प्रदूषण मापन गर्ने एअरक्वालिटी इन्डेक्स, जसका अनुसार काठमाडौं संसारकै तेह्रौं बढी प्रदूषित सहर छ, त्यसले समेत नाप्न सक्दैन।
कारण- त्यसका लागि अक्सर प्रयोग हुने मानक पिएम २.५ ले हावामा अढाइ माइक्रोमिटरसम्म आकार हुने ठोस कणहरू कति छन् भनेर मात्रै नाप्छ। तिनको रासायनिक चरित्रबारे केही जानकारी दिँदैन। प्लास्टिक र रबरसहितको मिश्रित फोहोर जलाउँदा निस्किने कार्सिनोजन (क्यान्सर गराउने तत्व) ले खास गरी त्यस्तो धुवाँ तत्काल फैलिने ठाउँमा क्यान्सरको जोखिम निकै बढाउँछ।
वायु प्रदूषणको स्थानीय प्रभाव कति जब्बर हुन्छ भने, मैले यो लेख लेख्दै गर्दा पिएम २.५ सवारी साधनको व्यापक आवतजावत हुने काठमाडौंमा अमेरिकी दूतावास रहेको क्षेत्रमा १६९ हुँदा भक्तपुरको सल्लाघारीमा ४३ मात्रै छ।
केही वर्षदेखि वायु प्रदूषणको विश्व राजधानी बनेको भारतको नयाँ दिल्लीमा प्रदूषण घटाउने प्रभावकारी काम नभए पनि कम्तीमा यस विषयमा बहस छ। मानिस चिन्तित छन् र प्रश्न गरिरहेका छन्।
केही वर्ष अगाडिसम्म वायु प्रदूषणको एक छत्र विश्व राजधानी मानिने चीनको बेइजिङमा त छोटो समयमै यति सुधार भएको छ कि मैले यी पंक्ति लेखिरहँदा त्यहाँ पिएम २.५ को मात्रा दिल्लीको भन्दा ५५ प्रतिशतले कम छ। दिल्लीमा पिएम २.५ को मापन २९१ हुँदा बेइजिङमा १३२ छ र काठमाडौंमा १६९ छ।
काठमाडौंको प्रदूषण त अझ दिल्ली वा बेइजिङको झैं अर्थतन्त्रका लागि नचलाई नहुने उद्योगधन्दा चलाएर भन्दा पनि धूले सडकबाट अनावश्यक रूपमा उड्ने धूलो, अव्यवस्थित रूपमा खाल्डाखुल्डी भएको बाटोमा गुड्ने पुराना गाडी र अनावश्यक रूपमा मानिसले फोहोर लगायतका चिजबिज जलाएका कारण उत्पन्न भएको हो।
त्यसलाई जागरूकता, इच्छाशक्ति र साझा पहल हुने हो भने ठूलो आर्थिक क्षति नै नबेहोरी कम गर्न सकिन्छ।
यसबीच नेपालमा के हुँदै छ त?
सायद नेपाल सरकार वायु प्रदूषण अझ बढेर सासै फेर्न नमिल्ने होस्, अनि सार्वजनिक बिदा दिएर आराम गर्न पाइयोस् भनेर कानमा तेल हालेर बसेको छ। यसअगाडि २०७७ सालमा यसै गरी पर्खेर चैतमा प्रदूषण चरम् बिन्दुमा पुगेपछि चार दिन देशभरका शिक्षण संस्था बिदाको घोषणा गरेको थियो।
सायद नागरिकहरूलाई सरकारबाट त्योभन्दा बढी अपेक्षा पनि छैन किनकि उनीहरू आफैं प्लास्टिक र टायर बालेको आगो तापेर मख्ख छन्। न आफ्नो स्वास्थ्यमा दीर्घकालमा पर्ने असरको चिन्ता, न नजिकै रहेका संवेदनशील मानिसहरूलाई तत्काल कठिनाइ भइहाल्न सक्ने कुराको बोध।
जसले आफैं विषाक्त धुवाँ निस्कने गरी आगो फुकेका छैनन्, उनीहरूले पनि यस्तो आत्मघाती काम रोक्न खास केही गरिरहेका छैनन्। यथास्थितिमा सबै खुसी नै देखिन्छन्।
आजका नेपालीहरूको झिँगा प्रवृत्तिबारे मलाई हालै एउटा शनिबारे यात्राका क्रममा तत्वबोध भएको हो।
चितवन वरिपरिका पहाड घुमेर हामी साँझ अबेर फर्किँदै थियौं। डाँडाहरूमा सुरू भएको जंगली डढेलो हामीले दिउँसै देखेका थियौं। साँझ चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रको जंगलमा बाटोको छेउमा कम्तीमा चार ठाउँमा ह्वाह्वार्ती फोहर जलाएको भेटायौं। त्यहाँ सबै खाले मिश्रित फोहोर जलेर विषाक्त धुवाँ छाडेको त थियो नै, जंगलमा हिउँदको ओस कायम भएकाले मात्रै डढेलो लाग्नबाट रोकिएको थियो।
एकाध हप्तामा त्यसरी दैनिक लगाइने आगोले जंगलका पातपतकरदेखि साना बिरूवा, सर्पदेखि जरायोसम्मका जनावरको नाश हुने गरी डढेलोको रूप लिने कुरा निश्चित छ।
त्यहाँ कसले त्यसरी फोहोर व्यवस्थापन गर्थ्यो भन्ने मलाई थाहा भएन तर त्यसमा आपत्ति कसैको भएको देखिँदैन थियो। न मध्यवर्ती क्षेत्रका उपभोक्ता समिति, न जनप्रतिनिधि, न त वरपरका आम मानिसकै। न त्यो बाटोमा नियमित ओहोरदोहोर गर्ने यात्रुले त्यसमा कुनै आपत्तिजनक कुरा भेटेका थिए। बरू बाटो सफा राख्न विभिन्न रूखमा बाँधेर राखिएका डोकोमा जम्मा भएको सबै फोहोर पनि त्यसरी नै जल्ने रहेछ।
केही समयअगाडि मैले अर्को के पनि याद गरेको थिएँ भने भरतपुरपारि नवलपुरको मौलाकालिका मन्दिर नजिकै रहेका होटलहरू दैनिक हजारौं प्लास्टिकका थाल, कचौरा र चम्चा प्रयोग गरेर मन्दिरै ढाकिने गरी जुठोपुरोसहितका त्यस्ता प्लास्टिक जलाउन अभ्यस्त थिए। सेलरोटीलाई पचास रूपैयाँमा बेच्ने ती पसलले एउटा भाँडा माझ्ने मानिस राख्नुभन्दा दिनभर डाँडै ढाकिने गरी विषाक्त धुवाँ निकाल्ने विकल्प रोजेका थिए।
त्यसमा न मन्दिरका पदाधिकारीहरूलाई कुनै आपत्ति थियो, न पुण्य कमाउन गएर क्यान्सर गराउने कण तानेर फर्किने तिर्थारूहरूलाई।
आफ्नो र अरूको स्वास्थ्यप्रति यति बेपर्वाह मानिसहरू भेट्न सायद दक्षिण एसियाभन्दा अन्त गाह्रै पर्छ होला।
अवस्था अब कस्तो भइसकेको छ भने, जुन दिन आफैंलाई वा आफ्नो परिवारको सदस्यलाई क्यान्सर हुँदैन, तबसम्म यो समस्याबारे सोच्नसम्म कोही पनि तयार छैन। देशकै शिक्षित र सहरी क्षेत्र मानिने चितवनमा त मलाई लाग्छ, श्वासप्रश्वासको समस्याका कारण अस्पतालको आइसियु र भेन्टिलेटरसम्म पुगेर फर्किने व्यक्तिमा समेत घर फर्केपछि फोहोर नजलाऊँ भन्ने चेतना आउँदैन। सायद अन्यत्रको अवस्था पनि खासै फरक छैन।
मलाई लाग्दैन, हाम्रो यो अवस्था सिनोमा झुम्मिएर खाने र दिसा गर्नेबाहेक केही नसोच्ने झिँगाहरूभन्दा खासै फरक छ।
अन्तमा, नेपालीहरूलाई यो समस्याबारे सचेत र जागरूक बनाउने मेरो ससानो प्रयास कसरी असफल भयो भन्ने एउटा उदाहरणसहित यो लेखको बिट मार्छु।
यो वर्षको वर्षायाममा सफा हावा छँदै आउँदो हिउँदमा वायु प्रदूषण कम गर्न के गर्न सकिन्छ भनेर म निकै घोत्लिएँ। लाग्यो, कोभिडका बेला जसरी मोबाइलले बारम्बार मानिसलाई सामाजिक दुरी राख्न वा खोप लगाउन सम्झाउँथ्यो, कम से कम फोहोर नजलाउन त्यसरी सम्झाउन सके केही भइहाल्थ्यो कि?
प्रसंगवश भेट भएका स्वास्थ्य मन्त्रालयका एक पदाधिकारीलाई मैले त्यो प्रस्ताव राखेँ। उहाँले अरू सरकारी तथा गैरसरकारी निकायका जिम्मेवार मानिसहरूसित इमेलमा भेट पनि गराइदिनुभयो।
मैले यस्तो सन्देशको प्रस्ताव पनि पठाएँ-
प्रदूषणबारे जान्नै पर्ने कुराहहरू: विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर बर्सेनि वायु प्रदूषणका कारण ६७ लाख मानिसको मृत्यु हुन्छ। नेपालमा फोक्सोको दीर्घ रोगका कारण हुने उमेर–समायोजित मृत्युदर संसारकै सबैभन्दा बढी छ। प्लास्टिकसहितको मिश्रित फोहर जलाउँदा त्यसमा भएका क्यान्सर बनाउने कणहरू वायुमण्डल हुँदै हाम्रो फोक्सो र रगतसम्म पुग्छन्। तिनले फोक्सो र शरीरका अन्य भागको क्यान्सर गराउन सक्छन्। पातपतिंगर मात्रै जलाउँदा आउने धुवाँमा पनि कार्बन मोनोअक्साइडजस्ता विषाक्त ग्यास हुन्छन्। वायुमण्डलमा हुने सबै खाले धुवाँले दम लगायतका समस्या गराउँछ अनि दीर्घ रोगी, बालबालिका र वृद्धवृद्धाको ज्यान लिन सक्छ। हामीले असावधानीवश सिर्जना गरेको धुवाँले छिमेकमा कसैको ज्यान लिइरहेको हुन सक्छ। त्यसैले कुनै पनि किसिमको फोहोर नजलाऊँ र जलाउन नदिऔं। सुख्खा मौसममा जंगलमा आगलागी हुन सक्ने गतिविधिहरू नगरौं। साइकल, विद्युतीय चुलो र विद्युतीय सवारी साधन प्रयोग गरौं। वायुमण्डललाई स्वच्छ राख्न आआफ्नो ठाउँबाट योगदान गरौं।
त्यसमा थप केही चरण अरू काम पनि भयो। तर आजका दिनसम्म त्यस्तो सन्देश कतै बजेको मैले सुनेको छैन।
उसो त सकेसम्म धेरै सञ्चारमाध्यमहरूमा पुगेर जनस्वास्थ्यका लागि यो सन्देश निःशुल्क छाप्न वा प्रसारण गर्न अनुरोध गर्ने विचार पनि आएको थियो। सायद स्वास्थ्य मन्त्रालयले तदारूकताका साथ त्यो अभियान चलाइदिएको भए केही सञ्चारमाध्यमसम्म त्यस्तो याचना गर्न म पनि पुग्थेँ होला।
तर जब स्रोतसाधनले लैश सिंगो राज्यले यस्तो संवेदनशील विषयमा सिन्को भाँच्दैन, एउटा व्यक्तिको प्रयासले कति पो गर्न सकिन्छ भनेर म पनि पछि हटेँ।
आखिर झिँगाहरूको बीचमै जन्मे, हुर्केर बढेपछि एक्लै को मौरी बन्न सक्छ र?
पाठकहरूका लागि लेखकले साप्ताहिक रूपमा सिफारिस गर्ने सामग्रीहरूका लागि हेर्नुहोस्ः द हिमालयन गेज
(जीवन क्षेत्रीका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्।)