पहिले पहिलेको कुरा— आइकनोग्राफी (मूर्ति बनाउने कला) सिक्न जो विद्यार्थी गुरूकुल आउँथे, सुरूमा कति समय त उनीहरू केबल ध्यान मात्र गर्थे रे। एक वर्षसम्म कुनै कालो पत्थरमा चित्र कोर्न सिक्थे रे। अनि बल्ल विस्तारै पिलर र अन्य भाग बनाउन थाल्थे। र अन्त्यमा, मूर्तिको आँखा चाहिँ उसले मात्रै बनाउन पाउँथ्यो जो वर्षौं सिकिसकेको विज्ञ हो।
अहिले सुन्दा पनि अचम्म लाग्छ। त्यो मूर्तिकारलाई यस्तो लाग्ने रे कि ऊ भगवानको मूर्ति होइन, स्वयं भगवान नै बनाउँदै छ। अनि भगवानकै आँखामा आँखा जुधाउने आँट त कसरी गर्नु?
त्यसैले मूर्तिका आँखा बनाउँदा, ऊ आफ्ना आँखा झुकाउँदै, लुकेजसरी बनाउँथ्यो अरे। आफ्नो आँखा सिधा नगरी मूर्तिमा भावसहितको आँखा बनाउन कति ठूलो साधना चाहिन्छ होला!
केही समयअघि मैले यस्तै संस्कारका मूर्तिकारलाई भेटेकी थिएँ, भारत तमिल नाडुका। उनलाई उग्र नरसिंहको मूर्ति बनाउनु थियो। उनले मलाई भनेको सम्झिन्छु, 'मलाई मूर्ति बनाउन त ६ महिना लाग्छ। तर त्यो पत्थर जसमा मेरो ध्यान अडियोस्, जुनभित्र उग्र नरसिंह बनाउन सकिने ऊर्जा होस्, त्यो पत्थर भेट्न कति समय लाग्छ चाहिँ थाहा छैन। जति नै समय लागोस् ,नभेटुन्जेल कुरिरहन्छु।'
तपाईं अहिले भारतको 'एल्लोरा केभ्स' जानुस्, त्यहाँ भएका शिवका मूर्तिहरू हेर्नुस्। प्रत्यक मूर्तिका आँखामा अलगअलग स्वरूपका शिवको मनको भाव देखिन्छ। जस्तै; जुन पार्वतीसँग खेल्दै गरेका शिवको मूर्ति छ, त्यसमा शिवका आँखा घरेलु, चञ्चल देखिन्छन्। उनै शिवको अर्को, जुन वध गरिरहेको रूद्र रूप देखाउने मूर्ति छ, त्यहाँ मूर्तिकै आँखामा अपार शक्ति देखिन्छ।'
भारतीय पुरातत्वविद् सावनी सेटए एक मूर्तिकारभित्र जरूरी हुने भक्ति, मूर्तिमा चाहिने पृथकताबारे बोल्दै थिइन्। म कानमा उनी बोलेको पोडकास्ट बजाउँदै मोबाइलतिर हेर्दै थिएँ। ठ्याक्क उनको कुरा सुनेर मुख 'आँ' भएकै बेला देखेँ एउटा मूर्ति। रोकिएँ।
भर्खर शिवका स्वरूप-स्वरूप देखाउने आँखाको कुरा सुनेको, आँखा सुरूमै मूर्तिका आँखातिर दौडिए।
देख्छु— आँखाको भावले नै गर्जन सुनाउने त टाढाको कुरा, जिउकै डवलले 'बा हो? बा होइन?' लाग्ने बाघको मूर्ति।
मूर्ति देखेपछि, कानमा बजिरहेको आवाज बन्द भयो। म बस एकोहोरो त्यो बाघलाई हेरेको हेर्यै भएछु। मन प्रश्नै प्रश्नको अँध्यारो ओडारभित्र पस्यो।
- यो जति हेर्दा पनि मूर्त नै नलाग्ने मूर्ति कसले बनायो होला?
- जो आफैं मूर्तिकार थिए, उनमा कलाचेत त भरपुर थियो होला। यस्तो खरायोले देखे पनि हाँसेर हिँडिदेला जस्तो बाघ बनेपछि 'यो के बनाएँ मैले?' भन्दै उनी आफैं तर्सिएनन् होला?
- हामी त मूर्तिमै भगवान देखेर भक्तिले आँखा लुकाउने कला सभ्यताका सन्तान। के भएर यसरी लाजले अनुहार लुकाउनुपर्ने भयौं होला?
म प्रश्नको ओडारभित्रै थिएँ, बाहिर बाघ बनाउने मूर्तिकारको अनुहार टुप्लुक्क देखियो। मूर्तिकार झिँजिएको अनुहार लगाउँदै बोलिरहेका थिए, 'जम्मा २५ हजार त पाएँ मैले त्यो मूर्ति बनाएको।'
मेरा सबै प्रश्नहरूको जवाफ त्यहीँ थियो।
ती मूर्तिकारलाई जसले काम दियो, उनीहरूलाई कलाको उत्कृष्ट नमूना चाहिएको थिएन। आफ्नो लागि छुट्याइएको रकम सुनेर मूर्तिकारले यति त सुरूमै थाहा पाए।
अब उनले लक्ष्मीको बाहन जत्तिकैको बाघ बनाए पनि उनलाई दिइने लक्ष्मीमा कुनै फेरबदल हुनेवाला थिएन।
होइन, मरिमेटी कला कौशल देखाएपछि तै तै बक्सिस पाइहालिन्छ कि भनेर आश गर्न यो कुनै पारखी जर्साबले अह्राएको काम पनि थिएन। यो त केबल 'तेरो स्थानीय क्षेत्रमा धेरै मूर्ति कि मेरोमा धेरै' को तँछाडमछाड सम्हाल्न अलिकति बजेट छुट्याइदिएको एउटा 'प्रोजेक्ट' मात्रै थियो।
यो बाघ कलाप्रेमीले होइन, फत्ते गर्नुपर्ने प्रोजेक्टले मागेको बाघ थियो। त्यो पनि सिङ न पुच्छरको बोका बनाउनसमेत मुश्किल पर्ने दाममा!
माग्नेको ऊर्जाले जति चाहेको महसुस हुन्छ, दिनेले त्यति मात्र दिन सक्छ।
एउटा बाघको मूर्ति मात्रै होइन अचेल हाम्रा वडावडामा बनेका शिव, सुम्निमा, पारूहाङ, सुँगुर, कुकुर; जे हुन्, प्रायः त्योजस्ता लाग्दैनन्। किन लाग्दैनन् होला? किन अचेल बन्ने मन्दिरहरू मूर्ति राखिएका घरजस्ता हुन्छन् अनि मूर्तिका देवता चाहिँ 'फेन्सी ड्रेस कम्पिटिसन' मा गएका मान्छेजस्ता?
सायद मूर्ति बनाउनेको ऊर्जाले चिन्छ, पछि हेर्नेले यो मूर्तिलाई कसरी हेर्नेवाला छ। अब हामी हेर्नेहरू यस्ता भइसक्यौं, कुनै खुब सुन्दर मूर्ति नै देख्यौं भने पनि, बसिरहेर श्रद्धा दर्शाउने फुर्सद हामीसँग छैन। एकछिन अडिएर तारिफसम्म गरौंला, त्यत्ति!
बनिसकेपछि श्रद्धा पाउँदिनँ भन्ने थाहा पाएको मूर्तिले बन्दै गर्दा साधना कसरी पाउँछ? त्यो पत्थरको ऊर्जाले साधना आकर्षित नै गर्न सक्दैन।
अब हामी ईश्वरको मूर्तिमा ईश्वर खोज्दैनौं। केबल 'यो मेरो ठाउँको हो' भन्न सकिने गर्व/घमन्ड खोज्छौं। हेर्नेले आफूलाई खोज्नेवाला नै छैन भन्ने थाहा पाएरै त होला, अब पहिलेजसरी बन्दै गर्दाको पत्थरमा ईश्वर आउँदैनन्।
बोलाउनेको आँखामा आफ्नो लागि प्रेम छैन भन्ने थाहा पाएपछि जनावर त छेउ आउँदैनन् भने ईश्वर झन् कसरी आउलान्?
अब कलालाई निपुर्ण बनाउने भक्ति वरपर छैन।
अब यदि केहीले मूर्तिलाई मूर्त बनाउने साधना जन्माउन सक्छ भने त्यो हो कलाकारलाई कर्मको फलजसरी दिइने पैसा। पारिश्रमिकले आफ्नो इज्जत गरेको महसुस भए नुनको सोझो गर्दा गर्दै निश्चल साधना जन्मिन्छ।
हुन त एउटा पवित्र कलाकार यसरी पैसाको पासोमा पर्न नहुने हो। आफ्ना हरेक सिर्जनालाई सन्तान सोचेर जन्म दिनुपर्ने हो।
तर जन्माएर जसलाई सुम्पिनु छ उसले मेरो कलालाई सन्तान होइन, सामान सोच्छ भन्ने थाहा छ भने म मेरो कलालाई सन्तान जसरी किन जन्माउँछु? बरू आफूले पहिले नै सामान सोचे, कम्तीमा आफूभित्रकी आमा ढुक्कले बस्न त पाउँछे!
यदि कसैले जागिर आह्वान गर्छ भने उसले पाउने भनेको कर्मचारी नै हो, कलाकार होइन।
कलाकारको निष्ठा पाउन त आह्वान गर्ने स्वरमा कलाको सम्मान सुनिनुपर्छ।
'साँच्चै त्यो झुर गीत सुन्यौ? हुर्मतै लिएछ नि संगीतको! शब्द पनि कस्तो बाटोमा फालेको टिपेजस्तो छ। न धुन भर्न कुनै मेहनत गरेको देखिन्छ! पहिलेका गीत कस्ता हुन्थे, सुन्दै कान पवित्र हुने,' साथीसँग बसेर कुनै गीत हेर्दै यस्तो टिप्पणी गरिरहँदा हामीले एकथोक कहिल्यै ख्यालै गरेनौं। युट्युबमा त्यो गीतको शीर्षकमा गीतकारको, संगीतकारको नामसम्म अटाएको हुँदैन। कति गीतमा त गीतकार 'डिस्क्रिप्सन' मा समेत भेटिँदैन।
एउटा लेखकले सिनेमा लेख्छ। भएभरका पात्र ऊ जन्माउँछ। तर एउटा मात्रै पात्र निर्वाह गर्ने हिरो/हिरोइनले ऊभन्दा पाँच गुणा बढी पैसा पाउँछन्। जबकि लेखक बाँच्ने लेखेर मात्रै हो। हिरो/हिरोइनलाई जसरी उसको लागि होर्डिङ बोर्डमा कारको चाबी पकड्दै मुस्कुराएर पैसा कमाउने बाटो खुल्दैनन्।
यहाँ कलाप्रेमीलाई कथाहरूले कला गुमाउँदा मन दुख्छ। तर कुनै कथाकार कथा लेखेरै धनी भयो भने चाहिँ त्यही मनमा झन् दनदनी आगो बल्छ।
कविताहरू तबसम्म मात्र सुन्दर लाग्छन् जबसम्म कविले सित्तैमा कविता सुनाउँछन्।
आफ्नो कर्मको मोल त हरेक पेसाले माग्छ। तर केबल गीतकार, संगीतकार, लेखक, मूर्तिकार, चित्रकार जस्ता यी सर्जक मात्र हुन् जो पैसाको कुरा गर्नेबित्तिकै व्यापारी जस्ता लाग्न थाल्छन्।
यी कलाप्रेमी प्रश्न गर्छन्— ल ठीक छ, कलाको इज्जत भएन, सही मोल पाइएन रे। त्यस्तो हुँदा कमजोर काम गर्नुभन्दा बरू काम छोड्ने हिम्मत किन नगरेको? कलासँग इमानदार हुनुपर्दैन?'
ती कलाप्रेमीलाई प्रश्नकै जवाफ— प्रत्येक नेपाली नागरिकलाई सम्मानपूर्वक बाँच्न पाउने हक हुनेछ। के यो हक बोकेर आएको गणतन्त्र अरू सबैका लागि आएर कलाकार चाहिँ राजतन्त्रमै छुटेका हुन्?
जसले जस्तो सम्मान गर्छ, उसलाई सम्मान अनुरूपकै काम पस्किदिनु पनि कलासँग इमानदार हुनु नै हो। यसलाई सर्जकहरूको जिद्दी, हठ, लाचारी जे बुझे पनि, जे बुझेर सुध्रिए पनि, कलालाई बिसेक नै हुन्छ।
सुन्दर कलात्मक सिनेमामा प्रत्येक सिनले दुइटा कुरा बोलिरहेका हुन्छन्।
एउटा, जो प्रस्ट देखिन्छ।
दोस्रो, जुन नियालेर हेर्दा मात्रै भेटिन्छ।
सिनेमाको भाषामा यसलाई अंग्रेजीमा 'सबटेक्स्ट' भनिन्छ। कहिलेकाहीँ कुनै खुब हँसाउने सिनको सबटेक्स्ट मुटु कमाउने दुःख हुनसक्छ। सामान्य लाग्ने, दुई केटाकेटी खेलिरहेको दृश्यको सबटेक्स्ट शक्तिशाली राष्ट्रहरू बीचको शीतयुद्ध हुनसक्छ।
यसपालिको 'मूर्ति-काण्ड' मा जुन हाँसो, ठट्टा, खिसी थियो त्यो प्रस्ट देखिएको सिन थियो।
सबटेक्स्टले के भन्दैछ, त्यो बुझ्नका लागि हाम्रो ध्यान 'मूर्ति कस्तो बन्यो' होइन, 'जस्तो बन्यो, त्यस्तो किन बन्यो?' मा हुनुपर्छ।
जबसम्म हाम्रा मूर्तिकारले, गीतकारले, कथाकारले, लेखकले, संगीतकारले, चित्रकारले पाउनुपर्ने नाम, दाम र मान पाउँदैनन् तबसम्म हाम्रा सबै सिर्जनामा त्यही बाघको बेढंगी अनुहार झल्किरहने छ।
(सृजना पोख्रेलका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुस्)
ट्विटरः @SrijanArt