केही साताअगाडि युट्युबमा मैले एउटा दोहोरी गीत सुनेँ। त्यसमा एक किशोरी गायिकाले एउटा टुक्का यस्तो गाइन्ः
जानु है बेलुकी पानी पिएर
घुम्न जाऊँ तल्तिर दस लाख लिएर...
म चकित परेँ त्यसको यकिन अर्थ नबुझेर।
पृष्ठभूमिमा केही नहुने हो भने त्यो टुक्कामा उल्लेख्य केही छैन। न पानी पिउनुमा केही खराबी छ, न दस लाख लिएर घुम्न जानुमा। दस लाख रूपैयाँ लिएर तल मधेसतिर वा भारततिर घुम्न जान पनि सकिन्छ, दस लाख पैसा अर्थात् दस हजार रूपैयाँ लिएर नजिकैको हाटबजारमा पनि जान सकिन्छ।
हालै फेरि युट्युबमा उनै गायिकाको एउटा भिडिओ फेला पर्यो जसमा उनले त्यो टुक्काको बचाउ गरेकी थिइन्।
यसबीचमा भएछ के भने टिकटकतिर त्यो क्लिप ‘भाइरल’ भएछ। मानिसहरूले त्यसमा एक अभिनेतामाथि नाबालिग बलात्कारको उजुरी दिएकी अर्की गायिकालाई जोडेर अरू दर्जनौं भाइरल टिकटक भिडिओ बनाएछन्।
सँगै उनको दोहोरी विवादमा आएछ र मानिसहरूले उनको आलोचना गरेछन्।
उनको पछिल्लो भिडिओ हेरेपछि मैले टिकटकमा ‘१० लाख’ खोजेर भिडिओहरू हेरेँ। युवायुवतीदेखि वृद्धवृद्धाहरूले समेत यो गाउने गायिकालाई समर्थन गर्दै र उजुरी दिने गायिकालाई ‘दस लाखका लागि नायकलाई ब्ल्याकमेल गरेको’ मा निन्दा गर्दै भिडिओहरू बनाउने अभियानै चलाएछन्।
सबै हेरेपछि म अलमल्ल परेँ कुरा कहाँबाट सुरू गरौं भनेर।
यो दोहोरी गाउने किशोरी गायिका आफैं नाबालिग हुन्। उनले आफ्नो बचाउ गरेको भिडिओमा १५ औं जन्मदिन मनाउँदै गरेको जानकारी दिँदै भन्छिन्– दस लाख भन्नेबित्तिकै कसैलाई घोचेर वा भन्छु भनेर, नाम तोकेर गाएको होइन, त्यसैले त्यसमा गलत के छ?
– गीतमा कसैको नामै जोडेको छैन भने कसैले विरोध गर्दैमा गीत किन हटाउने?
– गीतमा द्विअर्थी शब्द प्रयोग हुन सक्छन्, जस्तै फुल भनेको कुखुराको (अन्डा) पनि हुन सक्छ, गुलाबको पनि।
– गीत गाइसकेपछि पछुतो भयो।
– मेरो गल्ती छ भने म माफी माग्न मात्र होइन, सजाय भोग्न पनि तयार छु। छैन भने म किन डराउने, माफी माग्ने?
– म दुई तीन दिन सुत्दै सुतिनँ। कमेन्ट पढ्छु, राम्रो कमेन्ट आयो भने एकदमै खुसी लाग्छ, ढुक्क हुन्छु। एउटा नराम्रो कमेन्ट आयो भने रून थाल्छु। अनि त्यसपछि रातभरि रोयो बस्यो।
पछिल्लो भिडिओभर उनको मूल जिकिर के छ भने, दस लाखको प्रसंग आए पनि कसैको नाम नजोडेकाले उक्त गीतलाई लिएर उनलाई विवादमा तान्नु नाजायज हो।
अरू धेरैको भनाइ पनि यस्तै भेटियो। यो तर्क कति बलियो छ त?
त्यसको परीक्षण गर्न धेरै सत्य घटनाहरू प्रतिनिधित्व गर्न सक्ने एउटा काल्पनिक अवस्था हेरौं।
एउटी किशोरीलाई उनको चिनजानकै एउटा पुरुषले ललाइफकाइ बलात्कार गर्यो। अन्तमा उनलाई धम्क्यायो- कसैलाई भनिस् भने मारिदिन्छु।
त्यसपछिका दिनमा पनि उनलाई ब्ल्याकमेल गर्दै मौका हेरेर निरन्तर एउटा कोठामा लगेर यौन हिंसा गर्न थाल्यो। किशोरीले कसैलाई भन्ने आँट गरिनन् किनकि घरमा उनलाई सुन्ने र बुझ्ने मानिसकै अभाव थियो भने पीडक शक्तिशाली थियो र घरका बुढापाका मानिसहरूको विश्वासपात्र थियो।
अलि पछि गएपछि निरन्तरको भौतिक हिंसा सम्भव भएन तर मानसिक हिंसा चाहिँ गरिरह्यो। त्यसको कोड ‘उता’ शब्द भयो किनकि उसले हिंसाको स्थल बनेको कोठालाई पहिले हिंसा गर्ने बेला पनि ‘उता’ भनेर संकेत गर्थ्यो।
घरका सबै मानिस भएको ठाउँमा समेत उसले बेप्रसंगमै उनलाई इंगित गरेर भन्न थाल्यो- अब ‘उता’ जानुपर्यो।
अनि फोनमा धम्क्याउन थाल्यो- उता जान मानिनस् भने माथि पुर्याइदिन्छु।
अब त्यो पुरूषले प्रयोग गर्ने ‘उता’ शब्दमा दुनियाँका लागि केही खराबी छैन तर ती किशोरीका लागि त्यसमा आतंक र अस्तित्वकै खतरा जोडिन थाल्यो।
भाषाको यसखाले कुटिल प्रयोगलाई जनाउने एउटा विशिष्ट शब्द नै छ अंग्रेजीमा- डगह्विस्लिङ। जसरी कुकुरलाई तालिम दिने बेलाको सुसेलोको अर्थ कुकुरले मात्रै बुझ्छ, त्यसरी नै उत्पीडक, अपराधी वा हिंस्रकहरूले पनि पीडितले मात्रै बुझ्ने र उसमा मात्रै मनोवैज्ञानिक आतंक सिर्जना गर्ने तर अरूले बुझ्न र प्रतिवाद गर्न नसक्ने शब्दहरूको प्रणाली सिर्जना गर्छन्।
नेपालमा धेरै पुरुषहरू सानैदेखि त्यस खाले भाषाहरूको प्रयोगमा निपुर्ण बनिसकेका हुन्छन्। सिट्ठी मार्नु, खास किसिमले सुसेलो हाल्नु, आँखा मार्नु, जिब्रो फड्कार्नु, लगायतका संकेतहरूमा त हिंसा र दुर्व्यवहारका लागि शब्दको आवश्यकता समेत हुँदैन। जीवनकालमा मैले सुनेका र महिलालाई होच्याउन प्रयोग हुने दर्जर्नौं त्यस्ता द्विअर्थी शब्दहरू छन् जुन यहाँ दोहोर्याउन समेत लायक छैनन्।
समाज र समयअनुसार त्यस्तो भाषा निरन्तर फेरिइरहेको हुन्छ। जस्तो कि नाबालिग बलात्कारको आरोपमा अभिनेता पल शाह र क्रिकेटर सन्दीप लामिछाने पक्राउ परेयता कसैले कुनै पुरूषसित ‘तँलाई पल शाह वा सन्दीपझैं फसाउलान् है’ भन्यो भने त्यो एक वाक्यले एउटा निबन्धको जति अर्थ राख्छ। जस्तो कि, पल र सन्दीप निर्दोष हुन्, फसाइएका हुन्, उनीहरूलाई फसाउनमा प्रतिस्पर्धी कलाकारदेखि आइएनजिओसम्मको गिरोह सञ्चालित छ, आदि।
पितृसत्ताले दसौं पुस्ता लगाएर बनाएको त्यस्तो महिलाद्वेषी भाष्यको भासमा जब अधकल्चो बुझाइ र अपरिपक्व तर्कक्षमता भएका कलिला मस्तिष्कहरू फस्छन्, त्यसले विषाक्त सार्वजनिक संवादलाई सिर्जना गर्छ।
दोहोरी गाउने ती किशोरी गायिकाले बोलेको कुराको भिडिओ क्लिपलाई लिएर अरूले आ-आफ्नै भाष्य बनाए।
गायिका आफैं पनि सुरूमा गीत गाउँदा दस लाख शब्द ल्याउनु आफ्नो गल्ती थियो वा थिएन भन्नेमा प्रष्ट छैनन्। उनले आफ्नो बचाउमा भनेका कुराले आफ्नो गल्ती थिएन भनेझैं लाग्छ। पछि गएर फेरि ती शब्द गाएकामा पछुतो छ भन्छिन्।
एउटी १५ वर्षे किशोरीको सोचाइ वा तर्क प्रणालीमा यस्तो असंगति हुनु स्वाभाविक होला। तर अहिलेको अवस्था के छ भने, सामाजिक सञ्जालमा ५० देखि १०० जनाले ‘घुम्न जाऊँ तल्तिर दस लाख लिएर’ गीतका शब्द सुन्छन्। उनीहरू बलात्कारको आरोप लगाउने महिलाहरूले लाखौं पैसाका लागि निर्दोष पुरूषलाई फसाउँछन् भन्ने भाष्यमाथि विश्वास अझ दरिलो बनाउन सक्छन्। सामाजिक सञ्जालमा यो दोहोरीको सन्दर्भ जोड्दै पीडित गायिकालाई गाली गरेको सुन्दा यस्तै लाग्छ।
त्यसैले अहिलेको नेपाली समाजलाई खास सांस्कृतिक चेत दिन पाठ्यसामग्रीको जति भूमिका छ, दोहोरी जस्ता श्रव्य–दृश्य सामग्रीको भूमिका त्यसभन्दा दसौं गुणा बढी छ। होसमा होस् वा बेहोसीमा, तीसौं लाख मानिसले सुन्ने गरी गाएको गीतले समाजमा गहिरो प्रभाव छाड्छन्। त्यस्ता कुराको बौद्धिक प्रतिवाद नहुँदा समाजमा धेरैलाई त्यस्ता सामग्रीले बनाउने भाष्य ठिकै हो भन्ने भ्रमसमेत पर्ने गर्छ।
त्यसबाहेक लोकदोहोरी गीतको जस्तो व्यापार अहिले चलिरहेको छ, त्यहाँ कसले के गायो भन्नेभन्दा त्यो गीत कति बिक्यो र कति कमायो भन्ने कुराको मात्रै मतलब छ।
अब हेरौं गीतको व्यावसायिक मोडल उल्लिखित विवादसित कसरी जोडिन्छ भन्ने कुरा।
पछिको अन्तर्वार्तामा दोहोरी गायिकाले आफूले ती शब्द गाएकोमा पछुतो लागेको बताइन्। त्यसको अर्थ ‘जान–अन्जानमा गल्ती भएको’ भन्ने लगाउने हो भने विवादमा आउनासाथ, गलत हो भन्ने लाग्नासाथ ती गीत वा त्यो टुक्कालाई युट्युबबाट हटाउन सकिन्थ्यो।
त्यसले व्यापारिक होडबाजीकै बीचमा पनि गल्ती हुन्छ, त्यसलाई महसुस गरेर सिक्दै जान सकिन्छ भन्ने पाठ ती किशोरी गायिका र यो गीत सिर्जना गर्नेहरूलाई पढाउँथ्यो। यौन हिंसा वास्तवमा कति जटिल र संवेदनशील कुरा हो, कलामा त्यसलाई कसरी जिम्मेवारीपूर्वक प्रस्तुत गर्ने भन्नेजस्ता कुरामा घोत्लिन बाध्य पार्थ्यो।
तर सम्भवतः त्यो विवाद र टिकटकको प्रचारकै कारण हाल ३४ लाखभन्दा बढी पटक हेरिएको सुरूको दोहोरी हटाउनमा कसैको पनि व्यापारिक हित छैन। यस्ता विवादले गायिका किशोरीको मनोविज्ञानमा कस्तो असर पर्छ र उनकै उमेरका यौन हिंसामा परेका किशोरीहरूलाई त्यसले कति आघात गर्छ भन्नेजस्ता कुराप्रति ती व्यापारीहरूको कुनै सरोकार छैन।
उनीहरूले सुरूको दोहोरीको व्यापार त गरे नै, दोहोरी गायिकाले 'म रातभर रोएँ' भनेर दिएको अन्तर्वार्ता फेरि बेचेर पैसा कमाए। उनको किशोर मष्तिस्कमा जति आघात पर्दै जान्छ, जति विकृत, संवेदनहीन र सनसनीपूर्ण रूपमा उनले गाउँदै र बोल्दै जान्छिन्, उनीहरूले त्यसबाट उति नै पैसा कमाउँदै जान्छन्। जसले कमाउन सक्दैनन्, उनीहरूले पनि सामाजिक सञ्जालको ध्यान किनबेचको बजारमा राम्रै प्रशस्ति बटुलिरहन्छन्। अर्काको बर्बादीबाट आफू सिर्जनशील नहुनुको क्षतिपूर्ति गर्छन्।
उनका अभिभावक जसले यो अवस्थामा उनलाई सही निर्णय लिन सिकाउनु पर्ने हो, फाइदा देखेर उनीहरू पनि यसमा समर्थक बनेका देखिन्छन्।
पछिल्लो भिडिओमा उनले भनेअनुसार गीत विवाद आएपछिका दिनमा कक्षामा आएर स्कुलका प्रिन्सिपलले भने- गाउन त राम्रो गाएको हो तर बुझ्नेले नराम्रो बुझ्यो। दोहोरीमा जे पनि हुन्छ नानी, केही पनि हुँदैन, नआत्तिऊ!
मेरो विचारमा ती प्रिन्सिपल साक्षर होलान्, शिक्षित छैनन्, कम्तीमा शिक्षाको अर्थ किताब घोक्नमा सीमित नगर्ने हो भने।
गीतमा एक ठाउँमा ‘होश गर अठार पुग्नै बाँकी छ’ भनिएको छ, माथिको मुख्य विवादित टुक्का त भइहाल्यो। समग्रमा गीतको सार नाबालिग केटीले वयस्क केटालाई फसाउन खोजेको भन्ने छ।
समाजमा मानिसहरू त्यही भाष्य प्रयोग गरेर बलात्कार र उत्पीडनमा पर्ने नाबालिगदेखि बालिगसम्म महिलाहरूका आरोपलाई लत्याउन धुरिएका छन्। कतिसम्म भने, देशको नाबालिग बलात्कारसम्बन्धी कानुन नै पुरूषद्वेषी भयो, त्यसलाई खारेज गर्नुपर्यो भनेर चर्को पैरवी भइरहेको छ। झन्डै बेहोसी भन्न मिल्ने मानसिक अवस्थामा नाबालिगले गाएका गीत हेरेर तीसौं लाख मानिसले त्यस खाले भाष्यलाई समाजमा स्वीकृति दिलाउन प्रयास गरिरहेका छन्।
त्यो पृष्ठभूमिमा ती प्रिन्सिपलले त्यो दोहोरीमा राम्रो के बुझे? बालबालिकाहरले वयस्कसित दोहोरी गाएर यौन हिंसाजस्तो दुःसाध्य विषयलाई सामान्यीकरण गरेको, यौन हिंसाका पीडितहरूलाई पुरूष फसाउँदै लाखौं असुली गर्ने व्यक्तिमा चित्रण गरेको कुरा राम्रो हो?
त्यस्तो बुझाइ भएका ती प्रिन्सिपलले आफ्ना स्कुलका बालबालिकाहरूलाई यौन हिंसा र त्यसबाट बच्ने उपायहरूबारे कस्तो शिक्षा दिन्छन् होला?
उनका ‘भाइरल’ हुने गीतबाट रूपैयाँ कमाउन अभ्यस्त व्यापारी वयस्कहरूले त्यस्ता विसंगत दोहोरीको बचाउ गर्नु एउटा कुरा हो तर ती गायिकाजस्ता सयौं बालबालिकाको शिक्षाको जिम्मा लिने व्यक्तिले त्यसो गर्नु अक्ष्यम्य हो।
अन्तमा, जसले दस लाखवाला क्लिपमा अर्की गायिकालाई जोडेर बीसौं टिकटक भिडिओहरू बनाएका छन्, उनीहरूको पैरवीको धरातल नै अर्कै छ।
उनीहरूका विचारमा त्यो गीत खास प्रकरणमा एउटा अभिनेतालाई बलात्कारको आरोप लगाउने अर्की गायिकाप्रति लक्षित त छ नै, त्यसो हुनु जायज र आवश्यक पनि छ किनकि समाजमा ती अभिनेताजस्ता पुरूषहरू भयंकर ठूलो शोषण र दमनमा परेका छन्। अनि यो दोहोरीजस्ता गीत उनीहरूलाई न्याय दिलाउने दिशामा चालिएका कदम हुन्।
केहीले त टिकटकमा पल शाह र सन्दीप लामिछाने दुवैको फोटो राखेर दुवै ‘पीडित’ पुरूषहरूको ‘न्याय’ का लागि त्यो दोहोरीलाई हतियार बनाएका छन्।
उनीहरूका विचारमा एकादेशमा बलात्कार र यौन हिंसा समाजका ठूला समस्या थिए होला तर अहिले तिनका नाममा पुरूषहरूको शोषण मुख्य समस्या बनिसकेको छ।
यही भाष्यमा टेकेर पचासौं टिकटक र युट्युब प्रयोगकर्ताहरूले महिलाद्वेषी सामग्रीहरूका घरेलु उद्योग नै खोलेका छन्। त्यो उद्योग अब यति नाफामूलक बनिसकेको छ कि त्यसमाथि हस्तक्षेप गर्न निकै कठिन देखिन्छ।
तर दुई खाले मानिसलाई जवाफदेही बनाउन भने अब ढिला गर्नु हुँदैन।
एक, त्यो दोहोरी गाउनेजस्ता कलिला मस्तिष्कहरूमा हिंस्रक पितृसत्ताको विष भर्ने र तिनबाट निःश्रित महिलाद्वेषी भाष्य बेचेर धनी हुने कथित व्यापारीहरू।
यो विवादित दोहोरी 'छहारी' नामक सन् २०२२ मै सुरू भएको युट्युब च्यानलले प्रसारण गरेको हो। यौन हिंसाका पीडित नाबालिगलाई होच्याउन नाबालिग किशोरी नै प्रयोग गरेको अभियोगमा महिला आयोग लगायतका संयन्त्रहरूले त्यो च्यानलका व्यापारीलाई कारबाही गर्न सक्छन्।
दुई, यो दोहोरी गायिकाजस्ता बालबालिका र किशोरकिशोरीलाई जीवनमा चाहिने सबै खालको शिक्षा दिने जिम्मा लिएका तर त्यसबाट चुकेका उनका प्रिन्सिपल र शिक्षकहरूलाई यौन हिंसाको जटिल विषयमा प्रशिक्षण दिन, संवेदनशील बनाउन र जवाफदेही बनाउन पनि उत्तिकै आवश्यक छ।
नत्र भने आगामी पुस्ताले यौन हिंसामा पीडक र पीडितमध्ये को दोषी भन्ने बहसमै जिन्दगी बिताउनेछ। त्यसलाई कसरी रोक्ने, निरूत्साहित गर्ने वा अपराधीलाई दण्डित गर्ने भन्ने विषयले बहसमा प्रवेश समेत पाउने छैन।
पाठकहरूका लागि लेखकले साप्ताहिक रूपमा सिफारिस गर्ने सामग्रीहरूका लागि हेर्नुहोस्ः द हिमालयन गेज
(जीवन क्षेत्रीका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्।)