यसपालिको चुनाव नेपालको इतिहासमा विशेष रहने छ। यसलाई बुझ्न र ठम्याउन जरूरी छ। किनभने यसमा लाखौं युवाको आक्रोश अभिव्यक्त भएको छ।
तर यसरी मात्र बुझ्यौं भने त्यो अधकल्चो हुन्छ। गलत हुन्छ। यसमा युवाहरूको आक्रोश मात्र होइन, परिवर्तनको आकांक्षा पनि जोडिएको छ जो आफैंमा धेरै तागतवर र सकारात्मक कुरा हो।
पुराना दल र खासगरी यी दलका घाम र जूनझैं चिरस्थायी पुराना नेताप्रति युवामा आक्रोश मात्र भएको भए उनीहरू फरक ढंगले प्रस्तुत हुन सक्थे। दिक्दार भएर उनीहरू मत हाल्नै नजान सक्थे। क्रोधमा सवार भएर उनीहरू सडकमा उत्रन सक्थे।
तर युवाहरूमा यसपालि परिवर्तनको ऊर्जा धेरै देखियो। नेता र दल फेर्न सकिन्छ भन्ने आत्मविश्वास धेरै देखियो। शान्तिपूर्ण बाटोबाट नयाँ दल बनाएर पुरानालाई चुनौती दिन सकिन्छ भन्ने साहस देखियो, जो पछिल्ला ३० वर्षमा कहिल्यै देखिएको थिएन।
निस्सासिँदो दिक्दारी र उम्लिएको आक्रोशलाई उनीहरूले परिवर्तनको सकारात्मक ऊर्जामा बदले। निर्वाचन र मतपत्रको तागतमा युवा पिँढीको विश्वास देखिनु हाम्रो लोकतन्त्रको ठूलो जीत हो। नभुलौं, धेरै मुलुकमा लोकतन्त्रमाथि विश्वास उठेर युवाहरू सडकमा आएका छन्। हिंसाको चक्रव्यूहमा मुलुकलाई धकेलेका छन्।
दुर्भाग्य, युवाहरूको यति ठूलो आकांक्षालाई पुराना दलका चिरस्थायी नेताले बुझ्न सकेका छैनन्। उल्टो बक्रदृष्टिले हेरेका छन्। कोही यो केही होइन भन्दै छन्। कोही षड्यन्त्र हो भन्दै छन्। कोही मिडियाले गलत प्रवृत्तिलाई बढावा दियो भन्दै छन्। दलका शीर्ष स्थानमा बसेका कसैमा पनि परिवर्तनको यो आकांक्षा र त्यसको तागतलाई ठम्याउने र ग्रहण गर्ने विवेक अहिलेसम्म देखिएको छैन।
यसपालिको चुनावमा तरंग पैदा गर्ने सबैभन्दा ठूलो भूमिका १८ देखि ३० वर्षका युवा मतदाताको छ। सेतोपाटीका सहकर्मी साथीहरूले पूर्वदेखि पश्चिमसम्मका २७ निर्वाचन क्षेत्रमा पुगेर पाँच हजारभन्दा धेरै मतदातासँग कुरा गरेका छन्। पहिलो पटक भोट हाल्दै गरेका र ३० वर्षमुनिका युवामा परिवर्तनको उत्कट आकांक्षा देखिएको छ। यो उमेर समूहका धेरैले नयाँ दललाई मत दिए। पुराना दलका क्षमता र ऊर्जावान् नेतालाई पनि मत दिए। सपना रित्तिएका र शिर ढलेका उम्मेदवारप्रति भने उनीहरूमा कुनै आकर्षण देखिएन।
पुराना दलका कतिपय पुराना नेताले यो नयाँ पुस्तालाई 'बोयलर पुस्ता' भनेर खिसिटिउरी गर्दा रहेछन्। नेपाल नबुझेको र नेपाल छाड्न आतुर यही पुस्ताले यसपालिको चुनावमा गडबढ गरेको उनीहरूको निष्कर्ष छ।
लोकतन्त्र, गणतन्त्र ल्याउन पुराना दल नेताहरूले गरेको संघर्ष र त्यागबारे यो पुस्तालाई केही थाहा नभएकोमा उनीहरूको दुखेसो छ। कति त उनीहरूसँग आक्रोशित नै छन्।
राजनीतिक चेत र दृष्टिकोण निर्माणमा अहिले नेपाली परिवार र समाजमा भइरहेको उलटपुलटबारे पुराना दल बेखबर देखिएका छन्। नेपाली समाजमा धेरै लामो समयसम्म घरमूलीले परिवारको राजनीतिक दृष्टिकोण तय गर्थे। परिवारले कसलाई मत दिने भन्ने उनैले तय गर्थे। बालाई हेरेर छोराछोरी कांग्रेस, कम्युनिस्ट वा राप्रपा बन्थे। बाहरूलाई पुराना दलका नेताहरूको संघर्षले रोमाञ्चित पार्थ्यो। उनीहरू आजभन्दा हिजोलाई सम्झेर कसलाई मत दिने भन्ने निर्णय गर्थे।
अहिले नयाँ पुस्ता फरक छ। आज जो ३० वर्ष पुगेको छ, ऊ जन्मिँदा मुलुकमा प्रजातन्त्र आइसकेको थियो। उसलाई कांग्रेस र एमालेका नेताले गरेको संघर्षबारे थाहै नभएको त होइन, धेरथोर जानकारी छ। तर उसको जीवनमा अब त्यसले धेरै अर्थ राख्दैन। उसले चाहेको स्वतन्त्रता, स्वछन्दता ऊ जन्मिँदै थियो। जसरी उसले सास फेर्ने अक्सिजन उपलब्ध थियो, त्यसरी नै स्वतन्त्रता पनि उपलब्ध थियो। जसरी भोलि अक्सिजन सकिएला भन्ने पिर उसलाई छैन, त्यसरी नै यो गणतन्त्रमा स्वतन्त्रता हरण होला भन्ने पिर उसलाई छैन। त्यतातिर उसको किञ्चित् पनि ध्यान छैन।
त्यसैले ऊ लोकतन्त्र र गणतन्त्र ल्याउन पुराना नेताले गरेको संघर्षको गीत गाएर बस्दैन। ऊ हिजोमा होइन, आज र भोलिमा बाँच्छ। उसलाई आज र भोलिको चिन्ता छ। उसका आजका समस्याबारे जुन नेता र पार्टीले कुरा गर्दैनन्, उसका भोलिका सपनासँग जुन नेता र दलले तादात्म्य राख्दैनन्, उनीहरूसँग उसको कुनै लगाव छैन।
इन्टरनेट युगको वेगवान् समयमा हुर्केको र बाँचेको यो पुस्ता आफैंमा अधैर्य छ। उसका आफ्नै सपना, चुनौती र बेचैनी छन्। हिजोको निर्वाहमुखी कृषि युगको सदस्य होइन ऊ।
निर्वाहमुखी कृषिमा सबै कुरा स्थिरझैं थिए। खेती किसानी गर्यो, बारीमा सागसब्जी फलायो, खायो। उब्रेको थोरै पैसाले चाडपर्व मनायो। एकजोर लुगा किन्यो। जसको उब्रिँदैन थियो साहुसँग ऋण काढेर गर्जो टार्यो। बाँकी समय त्यही ऋण तिर्नको पिरमा गुजार्यो। उसको संसार नै उसको गाउँ थियो। उसले जति बल गरे पनि आफ्नो जीवन बदल्न गाह्रो थियो। उसका लागि जीवन, समय र संसार धेरै हदसम्म स्थिर थियो।
यो निर्वाहमुखी अर्थतन्त्रबाट नेपाली समाज बाहिर निस्किन थालेको दुई दशक हुन थाल्यो। यो क्रम अझै जारी छ। गाउँका खेतबारीबाट युवा आफ्नो वर्कतअनुसार एकैपटक खाडी, मलेसिया, कोरिया, जापान, अस्ट्रेलिया र अमेरिका पुगेको छ। उसको परिवारको आशाको कारण बनेको छ। परिवारको भरथेग गरेको छ। पुराना राजनीतिक सम्बन्धबाट मुक्त गरेको छ।
आजका युवाका लागि गाउँ होइन, संसार नै उसको संसार हो। दैलेखको गाउँबाट, महोत्तरीको गाउँबाट वा सडक नपुगेको कुनै कुनाको गाउँबाट ऊ संसार आँक्न सक्छ। त्यहाँ पुग्न सक्छ। उसका सामु सम्भावना असीमित छन्। त्यसको कल्पनाले पनि ऊ एकैपटक रोमाञ्चित र अधैर्य हुन्छ। यो वेगवान् समयले मलाई पछाडि छाड्ने पो हो कि भनेर चिन्तित हुन्छ। पिरोलिन्छ।
त्यसैले उसलाई यो समयको वेग बुझ्ने नेता चाहिएको छ। उसको ढुकढुकी बुझ्ने, उसका कुरा गर्ने, उसको समयको देशका कुरा गर्ने नेता चाहिएको छ।
माथिबाट टम्म हरियो लेउ जमेको स्थिर पोखरीझैं देखिने पुराना दल देखेर ऊ निस्सासिन्छ। ऊ यसरी निस्सासिएको धेरै नै भयो। पुराना दल र नेता परिवर्तन भइहाल्छन् कि भनेर उसले धेरै पर्खियो। कामना गर्यो। सायद सकेको प्रयत्न गर्यो।
अस्ति स्थानीय तहको निर्वाचनमा केही सहरी ठाउँमा यो पुस्ताको धैर्यको बाँध फुट्यो। यसपालि संसदीय चुनावमा थप फुट्यो। उसले विकल्प पायो र त्यो अवसर समातेर विकल्प खडा पनि गर्यो। यो निर्वाचनसँगै उसले विद्रोहको पहिलो चरण पार गर्यो।
सबभन्दा महत्वपूर्ण कुरा यो विद्रोह नयाँ पुस्ता एक्लैले गरेको छैन। पुराना दलले यो बुझ्न अति जरूरी छ। भरसक उसले घरका सबै परिवारलाई यो विद्रोहमा सामेल गराएको छ। बा मानेनन् भने आमा, दिदीबहिनी, दाइभाइलाई मनाएर उसले भोट 'अन्तै' सारेको छ।
मेरा २८ वर्षीय भाञ्जा भक्तपुरको लोकन्थलीमा परिवारसँग बस्छन्। उनले यसपालि आमालाई सँगै लगेर दुइटा भोट बाको पार्टीलाई र दुइटा भोट घन्टीलाई दिए रे!
गएको स्थानीय चुनावताका सेतोपाटीले काठमाडौंका आम मानिससँग कुरा गरेर यहाँका मतदाताले कसरी सोचिरहेका छन् भन्ने भेउ पाउनुअघि नै भाञ्जाले मलाई भनेका थिए—काठमाडौंमा यसपालि बालेनले जित्छ!
मैले पत्याइनँ। गम्भीरतापूर्वक लिइनँ।
मतदातासँग कुरा गरेपछि हामीले बल्ल काठमाडौंमा राजनीतिक दलका खुट्टामुनि भासिँदै गरेको जमिनको हलचल थाहा पायौं। चुनावको साँझ हामीले नै सेतोपाटीमा लेख्यौं- बालेन शाह चुनिँदै छन् काठमाडौंका मेयर
स्थानीय चुनावका दौरान मतदातासँग कुरा गर्न जाँदा उमेर ढल्केका कैयन बा-आमाहरूले हामीसँग भने, 'विदेश बस्ने छोराछोरीले यसपालि जसरी पनि लौरोलाई मत दिनू भनेका छन्। हामी त त्यसैमा मत दिने हो नानी!'
यसपालिको आम निर्वाचनमा पनि नयाँ पुस्ताले परिवारको पुरानो पुस्तालाई बदलेका, लतारेका धेरै उदाहरण हाम्रा सहकर्मीहरूले देशभरि नै भेटे।
अमन लामिछाने भरतपुर महानगर-१० को कुमारीचोकमा होटल चलाउँछन्। उनका बाबु एमालेका सक्रिय कार्यकर्ता हुन्। बाले यसपालि पनि सूर्यमै मत दिए। तर अमन, उनकी आमा र बहिनीले रवि लामिछानेलाई घन्टीमा मत दिए।
रत्ननगर-२, टाँडीका दिनेश श्रेष्ठ कांग्रेसका सक्रिय सदस्य हुन्। हामीसँग कुरा गर्दा कसलाई मत दिने भन्नेमा ठूलो दुविधामा थिए उनी। परिवारले भने विद्रोह गरिसकेको थियो। श्रीमती र छोराले हरि ढकाललाई घन्टीमा भोट दिने निर्णय गरिसकेका थिए।
पाँच वर्षपछि आउने चुनावमा यो पुस्ताका भाइबहिनी पनि मतदाता बन्ने छन्। २५-३० लाख नयाँ मतदाता थपिने छन्। सम्भवतः बाले पनि त्यो बेलासम्म परिवारभित्र राजनीतिक समर्पण गरिसकेका हुने छन्।
अब पनि पुराना दलमा नयाँ नेता आएन, नयाँ विचार आएन, नयाँ आशा आएन भने यी मतदाताले किन पुराना दललाई मत दिन्छन्? किन पुराना नेतालाई मत दिन्छन्? यी र नयाँ आउने मतदाताले किन शेरबहादुर देउवा, केपी ओली र पुष्पकमल दाहाल 'प्रचण्ड' लाई देशको प्रधानमन्त्री बनाउन मत दिन्छन्?
राजनीतिक मिति सकिएका पुराना दलका पुराना नेताका लागि त यी प्रश्नको धेरै अर्थ नहोला। राजनीतिक जीवन, ऊर्जा र भविष्य बाँकी रहेका पुराना दलका युवा नेताहरूका लागि भने यी प्रश्न पेचिला छन्। उनीहरूले नेता बदलेनन्, पार्टीलाई नयाँ बनाएनन् भने थप मतदाताले पार्टी बदल्ने छन्। नयाँ पार्टी समाउने छन्।
नेता बदल्नेबित्तिकै पुराना दल पनि नयाँ जस्ता हुने रहेछन्। नेतृत्व भनेको त्यति महत्वपूर्ण रहेछ।
यसपालि हामीले कुरा गरेका धेरै मतदाताले पुराना दललाई मत नदिने, राष्ट्रिय स्वतन्त्र पार्टी वा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई मत दिने बताए। कमल थापालाई हटाएर राजेन्द्र लिङ्देन नेतृत्वमा आउनेबित्तिकै मतदाताका नजरमा राप्रपा नयाँ दल बनेछ। पुरानो दलको कोटीबाट मतदाताले उसलाई अलग गरिसकेछन्। त्यसलै यसपालि राप्रपाले प्रत्यक्षतर्फ ७ सिट जित्यो। समानुपातिकमा झन्डै ६ प्रतिशत मत पुगेको छ।
यो निर्वाचनभरि कांग्रेसका महामन्त्री गगन थापाले मतदातासँग एउटा कुरा भनिरहे- यसपालि अरू कुनै पनि पार्टीमा संसदीय दलमा निर्वाचन हुनेवाला छैन। मलाई सांसद चुनेर पठाउनुभयो भने कांग्रेसमा भने पक्का चुनाव हुन्छ। म संसदीय दलको नेतामा उम्मेदवारी दिन्छु।
चुनावमा जाँदै गर्दा गगन केही संशयमा थिए। केही डराएका थिए। पुराना दल र उनको दलप्रति मतदातामा यति बाक्लो निराशा र आक्रोश थियो, त्यसको भेउ उनले निर्वाचनभन्दा केही महिनाअघि नै पाएका थिए। 'त्यसले मलाई पनि खान्छ कि' भन्ने डर उनलाई थियो।
त्यसैले उनले मतदातासँग भने- तपाईंलाई कांग्रेसमा आतेस लागेको नेतृत्वको विकल्प मै हुँ। संसदीय दलमा उम्मेदवारी दिएर म नेतृत्व बदल्ने छु। म आफैं प्रधानमन्त्री बन्नेछु।
गगन प्रधानमन्त्री नै बन्छन् भन्ने कति मतदातालाई लाग्यो थाहा छैन। तर यो मान्छेले जितेर गयो भने कांग्रेसमा नेतृत्व बदल्न लड्छ भन्नेमा धैरै मतदाताले विश्वास गरे। उनलाई यसपालि मन खोलेर मत दिए।
पुराना दल र तिनका नेता फेरिनु पर्छ भन्ने हुटहुटी मतदातामा कति धेरै रहेछ भन्ने गगनको निर्वाचन क्षेत्रको परिणाम मिहीनसँग हेर्यो भने थाहा हुन्छ। त्यहाँ कांग्रेसीले मात्र होइन, अरू मतदाताले पनि गगनलाई मत दिए।
पाँच वर्षअघि ३४ सय मतले एमालेका राजन भट्टराईलाई हराएका गगनले यसपालि दोब्बरभन्दा बढी, ७ हजार मतले हराए। पाँच वर्षअघि केही वडामा गगनले धेरै मत ल्याएका थिए, केहीमा राजनले। यसपालि एमालेले जितेका सबै वडामा गगनले धेरै मत ल्याए। वडा मात्र होइन, सबै ३३ वटै मतदान केन्द्रमा यसपालि गगनले राजनलाई हराए।
पाँच वर्षअघि काठमाडौं-४ मा समानुपातिकतर्फ एमाले पहिलो दल बनेको थियो। यसपालि कांग्रेस पहिलो बन्यो। काठमाडौंका धेरै निर्वाचन क्षेत्रमा घन्टी समानुपातिकमा पहिलो दल बन्दा काठमाडौं-४ मा दोस्रोमा थन्कियो।
सेतोपाटीले काठमाडौं-४ मा चुनावका दिन 'एक्जिट पोल' गरेको थियो। त्यसले के देखायो भने पहिलो पटक मत दिन लागेका धेरै युवा मतदाताले गगनलाई मत दिए। अघिल्लो पटक राजन भट्टराईलाई मत दिएका कैयन मतदाताले पनि गगनलाई भोट दिए।
क्षमता र ऊर्जावान् उम्मेदवार छ भने यसपालि मतदाताले 'आफ्नो' दलभन्दा बाहिरको उम्मेदवारलाई पनि मत दिए। मत चलायमान हुन थालेको छ। मतदाताले विवेक पुर्याएर मत दिन थालेका छन्। त्यो लोकतन्त्रका लागि राम्रो संकेत हो।
निर्वाचनका बेला मतदातासँग वाचा गरेको नभए पनि अरू दलमा पनि सांसदहरूले यसपालि शीर्ष नेतालाई संसदीय दलमा चुनौती दिनु पर्छ।
नवनिर्वाचित सांसदज्यूहरू, तपाईंहरूले आफ्नो पार्टी जोगाउन पनि चुनौती दिनु पर्छ।
त्यसले दलभित्रको शून्यता तोड्छ। स्थिरता तोड्छ। लेउ जमेको पोखरीमा तरंग पैदा गर्छ। हरेक दलभित्र नयाँ र पुरानो पुस्ताबीच संघर्ष चलिरहेको छ भन्ने नयाँ पुस्ताका मतदातालाई पनि थाहा हुन्छ। घरमा बासँग, पुरानो पुस्तासँग चलिरहेको आफ्नो असहमतिको झल्को उसले दलहरूमा पनि देख्छ। परिवारजस्तै दल पनि सहमति-असहमति मन्थन गर्दै, नयाँ सामन्जस्य स्थापित गर्दै अघि बढ्ने छन् भन्ने उसले आश गर्छ। तपाईंको दलप्रति युवाले आशा गर्ने ठाउँ राख्न पनि सबै प्रमुख दलमा कसै न कसैले पुराना नेतालाई चुनौती दिनै पर्छ।
२०७४ सालमा एमाले-माओवादी गठबन्धनले चुनाव जितेपछि एमाले संसदीय दलमा धनश्याम भुसालले केपी ओलीविरूद्ध उम्मेदवारी दिन चाहेका थिए। 'यस्तो बेला पनि ओलीविरूद्ध उम्मेदवारी दिने? कार्यकर्ताले हामीलाई के भन्छन्' भनेर माधव नेपालले उनलाई रोके।
यसपालि भुसाल छैनन्। तर कसै न कसैले ओलीविरूद्ध उम्मेदवारी दिन जरूरी छ। योगेश भट्टराई, विष्णु पौडेल, सुवास नेम्वाङ वा अरू कोही उम्मेदवार बन्न जरूरी छ। माओवादी केन्द्रमा पनि वर्षमान पुन, जनार्दन शर्मा वा कसैले उम्मेदवारी दिन जरूरी छ।
युवा वा अरू नेताले आँट गरेनन् भने एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डले आफैं कसैलाई उठ्न प्रेरित गरून्। केही सांसदहरूलाई मत हाल्न पनि लगाइदिऊन्, ताकि घिटीघिटी भएको मानिसलाई 'आर्टिफिसियल ब्रिदिङ' (प्राकृतिक श्वासप्रश्वास) मार्फत जोगाएजसरी दल जोगियोस्। चलायमान बनोस्।
वामपन्थी दलका दोस्रो-तेस्रो पुस्ताका नेताले सक्नुभयो भने अहिले नै वामदलहरूबीच एकता गर्नुहोस्, पुराना नेतालाई अभिभावक बनेर बस्ने ठाउँ देखाउनुहोस्। आफूहरूबीच स्वस्थ प्रतिस्पर्धा गरेर नयाँ नेता छान्नुहोस्। मुलुक चलाउनुहोस्। वाम मतदातालाई नयाँ आशा दिनुहोस्।
मैले पुराना दलका जति पनि नेता र सांसदसँग कुरा गरेको छु, कसैमा पनि आफ्ना शीर्ष नेताप्रति कुनै आशा र भरोसा बाँकी छैन। उनीहरूले फेरि प्रधानमन्त्री बनेर कुनै चमत्कार त कुरै छाडौं, पार्टीको साख जोगाउने राम्रो काम गर्छन् भन्ने पनि धेरैलाई विश्वासै छैन। तर पनि धेरैको भनाइ छ- यसै हटाउनु भएन। यति सिनियर, पितातुल्य नेताहरू छन्। पार्टीमा उहाँहरूको योगदान छ।
उनीहरूको पक्कै योगदान छ। त्यसमा दुई मत छैन।
शेरबहादुर देउवा, केपी ओली र पुष्पकमल दाहाल 'प्रचण्ड' नेपाली राजनीतिमा दुई दिनको लहरमा उदाएका नेता होइनन्। उनीहरूले ठूलो दु:ख, कष्ट, जेल-नेल, त्याग र खतरा मोलेर मुलुकमा जनताको शासन स्थापित गरेका हुन्। अहिलेका युवा पुस्ता र नयाँ पार्टीका नेताहरूले कल्पनासम्म पनि गर्न नसक्ने सास्ती भोगेर र साहस गरेर आफ्नो दल र मुलुकलाई यहाँसम्म ल्याएका हुन्।
देउवा र ओली एकदलीय व्यवस्था र राजाको हुकुमी शासनविरूद्ध सतिसालझैं उभिएका मानिस हुन्। आफ्नो राजनीतिक आस्थाका कारण एक जनाले ९ वर्ष र अर्कोले १३ वर्ष जेल जीवन बिताएका हुन्।
माओवादी सशस्त्र युद्ध ठीक थियो वा बेठीक, यो लेख त्यसको समीक्षाको विषय होइन। तर प्रचण्डले ठूलो खतरा मोलेर माओवादी राजनीति अघि बढाएका हुन्। मुलुकलाई गणतन्त्रमा लगेर जनताको शासनमाथि दरबारको खतरा सधैंका लागि सक्काउन र मुलुकलाई समानुपातिक-समावेशी लोकतन्त्रमा लैजान उनको ठूलो योगदान छ। निमुखा, समाजमा हेपिएका र बञ्चितीमा परेका नागरिकलाई राजनीतिको मूलप्रवाहमा ल्याउन प्रचण्डको भूमिका सानो छैन।
लाख कमजोरीका बाबजुद पनि नेपालमा लोकतन्त्रको गाडी अघि बढेको छ। राजा हटेपछि आवधिक निर्वाचन भएका छन्। यसपालिसम्मका चार निर्वाचनले समाजमा मतदाताको अधिनायकत्व स्थापित गरेका छन्। दलभित्रको सुधारका लागि तीव्र दबाब उत्पन्न भएको छ।
दक्षिण एसियामै पनि हाम्रा दलहरू तन्नममध्ये पर्दैनन्। भारतमा २४ वर्षपछि अस्ति भर्खरै कंग्रेस-आईले पार्टीमा निर्वाचन गर्यो। भारतको स्वतन्त्रताको नेतृत्व गरेको कंग्रेस-आईको त्यो हालत छ। नरेन्द्र मोदीले बिनानिर्वाचन भारतीय जनता पार्टी (भाजपा) कब्जा गरेर बसेका छन्।
'ग्रास-रूट' बाटै निर्वाचन गरेर, महाधिवेशन प्रतिनिधि छान्ने र महाधिवेशनबाट नेतृत्व छान्ने सायद दक्षिण एसियामै नेपाली कांग्रेस एक मात्र दल होला। आन्तरिक निर्वाचन र लोकतन्त्रमा एमाले कांग्रेसभन्दा पनि अघि थियो। ओलीले दलभित्रको लोकतन्त्रको सुई पछाडि घुमाएका छन्। तर यो अस्थायी हो। फेरि पनि भोलि एमालेले आन्तरिक निर्वाचन नगरी सुखै छैन।
मलाई लाग्छ, लाख कमजोरीका बाबजुद हाम्रा राजनीतिक दल दक्षिण एसियाका थुप्रै दलका तुलनामा राम्रा छन्। प्रगतिशील छन्। जनतासँग जोडिएका छन्। तर युगचेत अनुसारका छैनन्। युगले जस्तो माग गरेको छ, त्यस्ता छैनन्। कैयन सवालमा पुरातनपन्थी छन्। यी दलहरू पुराना नेताका पुराना सोच र शैलीमा कैद छन्। पुराना नेताले यी दललाई यसरी अँचेटेर आफ्नो कब्जामा राखेका छन्, उनीहरूसँगै दलहरू पनि सक्किने खतरा बढेको छ।
दलहरूको शैली र तरिका कति पुरातनवादी छ, कति अलोकतान्त्रिक छ भन्ने सांसदको टिकट वितरणमा हेरौं। महाधिवेशनका प्रक्रियामा हेरौं।
कांग्रेस, एमाले र माओवादीमा यसपालि कहाँबाट को चुनाव लड्ने भनेर कसले निर्णय गर्यो? कसले टिकट पाउने, कसले नपाउने भनेर कसले निर्णय गर्यो? मूलतः देउवा, ओली र प्रचण्डले नै निर्णय गरे। उनीहरूले जसलाई चाहे, उसले टिकट पायो। जसलाई दिन चाहेनन् उसले पाएन।
एमालेमा भीम रावलले टिकट पाएनन्। घनश्याम भुसालले टिकट पाएनन्। उनीहरूले किन पाएनन्, त्यसको जवाफदेहिता कसैले निर्वाह गरेन। ओलीले सार्वजनिक रूपमा ओठे जवाफ दिए- एउटैले किन सधैं टिकट पाउने? नयाँले अवसर पाउनु परेन!
त्यसो भए ओली स्वयं २०४८ सालदेखि किन अविछिन्न चुनाव लड्दै छन्, टिकट पाउँदै छन्? नयाँलाई अवसर दिने ओलीको एकल फैसला हो भने ईश्वर पोखरेल, सुवास नेम्वाङ र विष्णु पौडेलले किन टिकट पाए?
कांग्रेसमा मिनेन्द्र रिजालले किन टिकट पाएनन्? जबकि अघिल्लो संसदमा प्रतिपक्षी दलबाट गगन थापा र मिनेन्द्रको मात्र आवाज सुनिन्थ्यो। एमाले र माओवादीको गठबन्धन बनेर देशभरि कांग्रेसका उम्मेदवार हारेको समयमा पनि मिनेन्द्रले मोरङ- २ बाट चुनाव जितेका थिए। व्यक्तिगत क्षमता र कांग्रेसमा गरेको योगदानका हिसाबले मिनेन्द्रसँग सुजाता कोइरालाको तुलना नै हुँदैन। तर देउवाले सुजातालाई टिकट दिए र उनले हारिन्। त्यसको जिम्मेवारी र जवाफदेहिता कसले लिन्छ?
समानुपातिकमा पुराना नेताहरूको त्यस्तै स्वैच्छाचारिता छ। समानुपातिकको पहिलो वा दोस्रो नम्बरमा को, केका मापदण्डका आधारमा पर्छ? आरजु देउवा र मञ्जु खाण केका आधारमा महिलातर्फको समानुपातिक सूचीमा परे?
समानुपातिक प्रतिनिधित्वको संवैधानिक मर्म के हो? कुन चाहिँ पिछडिएको वर्ग वा तप्कामा देउवा र खाण श्रीमतीहरू पर्छन्? कि उनीहरूले कांग्रेसमा दु:ख गरेका, योगदान गरेका तर अवसर नपाएका महिलाहरूको प्रतिनिधित्व गर्छन्? श्रीमान प्रधानमन्त्री र गृहमन्त्री अनि बिना लाजशरम श्रीमतीहरू समानुपातिकमा उम्मेदवार!
हामीले कुरा गरेका कांग्रेसका कैयन परम्परागत मतदाताले 'भाउजू' हरूलाई जिताउन कांग्रेसलाई समानुपातिकमा किन मत दिने भनेर आक्रोश पोखे। कतिले कांग्रेसलाई पाठ सिकाउन घन्टीलाई मत दिने बताए। कतिले समानुपातिकमा मत नै नहाल्ने बताए।
पाँच वर्षअघिको चुनावमा एमाले र कांग्रेस दुवैले समानुपातिकतर्फ ३१ लाख बढी भोट ल्याएका थिए। ३१ लाख नेपालीको आस्था र विश्वास जित्नु भनेको सानो कुरा होइन। कैयन मानिसहरूले आफ्नो मुटुको सानो टुक्रा मतपत्रमा राखेझैं गरी मत हाल्छन्। कैयन मतदाता रूखमा, सूर्यमा, हँसिया-हतौडामा मत हालेर भावविभोर हुन्छन्। मेरो दलले, मेरा नेताले राम्रो काम गर्छ, मुलुकलाई अगाडि लैजान्छन् भन्ने विश्वास गर्छन्।
दलका नेताले बनाएको समानुपातिक सूचीले ती मतदाताको भावनाको कति कदर गर्छ? त्यसको मान राख्ने, सबैलाई मान्य हुने, पारदर्शी प्रक्रियाबाट समानुपातिकको सूची तयार गर्नु पर्छ भन्ने नेताहरूलाई किन कहिल्यै आउँदैन?
इच्छा भए उपाय नहुने कुरै छैन। उदाहरणका लागि, कांग्रेसले साधारण सदस्यता पूरै खुला गरेर तिनै सदस्यको मतबाट महाधिवेशन प्रतिनिधि छान्ने प्रक्रिया अपनाउन सक्छ।
महाधिवेशन सदस्य र प्रतिनिधिले समानुपातिकको क्लस्टरअनुसार मत दिएर पार्टीबाट समानुपातिकमा सांसद हुनेहरूको नाम चुन्न सक्छन्। हरेक निर्वाचन क्षेत्रमा तिनै सदस्यले 'प्राइमरी निर्वाचन' गरेर आफ्नो दलको उम्मेदवार छान्न सक्छन्। त्यसो गरे क्षमता भएका अहिलेका धेरै नेता नै उम्मेदवार छानिने छन् तर क्षमता र प्रतिभा भएका नयाँ मानिस पनि छानिने छन्। स्वर्णिम वाग्ले जत्तिको मानिसले टिकटका लागि कांग्रेसका नेताका ढोकामा याचना गर्नु पर्दैन। रामेश्वर खनालले २०७० सालमा जस्तो अपमान भोग्नु पर्दैन।
सबै पार्टीले आफ्नो दलका उम्मेदवार प्राइमरीमार्फत् छाने राजनीतिमा आउने चाहने जुनसुकै राजनीतिक दर्शन र आस्था भएको मानिसले ठाउँ पाउँछ। हर्क साङ्पाङ, बालेन शाह, रवि लामिछाने, तोसिमा कार्की, सोविता गौतमहरू आफ्नो आस्था, विश्वास र रूचिअनुसारको पार्टीमा प्राइमरी लडेर राजनीतिमा छिर्छन्। वा त्यो बेला पनि उनीहरूले जरूरी देखे भने नयाँ दल खोल्छन्।
प्राइमरीमार्फत् नयाँ मानिसहरूलाई सधैं ढोका खुला राख्ने अमेरिका वा बेलायतमा हत्तपत्त नयाँ दल आउँदैनन्। आए धेरै टिक्दैनन्। किनभने भएका दललाई नै नयाँ मानिस छिरेर नयाँ बनाउने सम्भावना त्यहाँ सधैं खुला रहन्छ। अमेरिकाका रिपब्लिकन, डेमोक्र्याट वा बेलायतका लेबर र कन्जरभेटिभ पार्टीहरूका पनि समस्या छन्। समस्या बिनाको मानिस, दल वा समाज कहीँ हुँदैन। मानिस, दल, समाज भनेकै समस्या र सम्भावनाको सम्मिश्रण हो।
तर ती दलहरू हाम्रा दलजस्ता लेउ जमेका पोखरी होइनन्। जो सम्भावना र सपना भएका सबै मानिसलाई बाहिर राखेर आफू रमाउँछन्। आफू सुरक्षित ठान्छन्। त्यहाँका नेता हाम्रा नेता जस्ता होइनन् जसले 'राजनीतिक र्याकेट' वा स्वर्गीय प्रदीप गिरिका शब्दमा सीमित मानिसको 'राजनीतिक गिरोह' मार्फत दल कब्जा गरेका छन्। त्यसो गर्न त्यहाँ सम्भव पनि छैन।
सम्भव हुने भए सिनेटमा आफ्नो पहिलो कार्यकाल पनि नसकेका ४७ वर्षीय बाराक ओबामा अमेरिकाको राष्ट्रपति बन्न सम्भव थिएन। राजनीतिमा आएको आठ वर्षमा ४२ वर्षीय ऋषि सुनक बेलायतको आधुनिक इतिहासमा सबभन्दा कान्छा प्रधानमन्त्री बन्ने थिएनन्।
प्रधानमन्त्री वा दलको सभापति सबै युवा नै हुनु पर्छ भन्ने होइन। म युवा वा बूढाको पक्षपाती होइन। राजनीतिमा निरपेक्ष रूपमा उमेरले अर्थ राख्छ भन्ने कुरा सही होइन।
अमेरिकामा पपुलिस्ट र चरम ध्वंशकारी (लोकतन्त्रलाई ध्वंश गर्ने सन्दर्भमा) डोनाल्ड ट्रम्पलाई हराउन ७७ वर्षीय जो बाइडेन आउनुपर्यो। ब्राजिलमा भर्खरै त्यस्तै पपुलिस्ट र दक्षिणपन्थी पूर्व सैनिक जनरल जेयर बोल्सोनारोलाई राष्ट्रपति निर्वाचनमा हराउन राजनीतिबाट ओझेल परिसकेका ७७ वर्षीय पूर्व राष्ट्रपति लुइज लुला आउनु पर्यो।
त्यसैले सबै उमेर समूहका ऊर्जावान्, नयाँ सोच र दृष्टिकोण भएका र समाजलाई अघि बढाउन सक्ने नेता दलमा उदाउन सक्ने लोकतान्त्रिक विधि तय हुनु पर्यो। त्यसले मात्र राजनीति र समाजलाई अगाडि बढाउन सक्छ।
त्यसैले दललाई सीमित राजनीतिक गिरोहतन्त्रमार्फत कज्याउने, स्वस्थ प्रतिस्पर्धालाई दुरूत्साहित गर्ने र आफ्नो हैकम सधैं कायम गर्ने अहिलेको परिपाटीको प्रतिरोध हुनु र यसलाई बदल्न जरूरी छ।
नत्र यसले नेताको स्वार्थका लागि दललाई त खुम्च्याउँछ नै, क्षमता भएका दलका अरू नेता, मुलुकको सम्भावना र हाम्रो प्रगतिलाई पनि सीमित गर्छ।
कांग्रेस, एमाले, माओवादी दलमा सम्भावना र सामर्थ्य भएका नेता नभएकाले जनताले बालेन शाह वा रवि लामिछानेका रूपमा राम्रा नेता चुनेका होइनन्। उनीहरूको त राजनीति भर्खरै सुरू हुँदैछ। उनीहरूको आचरण, क्षमता र कौशलको परीक्षण हुन बाँकी नै छ। नैतिक धरातलको परीक्षण हुन बाँकी नै छ।
दलका बूढा नेताहरूले ठाउँ र अवसर यसरी ओगटे त्यहाँ प्रतिभा र सम्भावना भएका नेताको पालो नआउँदै उनीहरू बूढा हुने र मक्किने सम्भावना बढी भयो। भएका दलभित्रबाट नयाँ नेता उदाउने सम्भावना कम भएपछि मतदाताले नयाँ दल र नयाँ नेता उभ्याएका हुन्।
३० वर्षदेखि एउटै नेता बेहोर्ने र बारम्बार असफल भए पनि फेरि उसैलाई राख्ने धैर्य आजको दुनियाँमा सबैसँग हुन्न। नेपाली मतदाताले गगन थापा, बालेन शाह वा रवि लामिछानेलाई पनि अब अर्को ३० वर्षसम्म बेहोरी रहँदैनन्।
त्यसैले अहिलेका शीर्ष नेताहरूले बुझ्नुपर्यो, उनीहरूको पालो पुगिसक्यो। उनीहरूले गरेको त्याग र संघर्षको सट्टा जति अवसर उनीहरूले पाए त्यसबाट साँवा, ब्याज र ब्याजको पनि स्याज उनीहरूले उठाइसके।
कैयन पटक मन्त्री, कोही दुई पटक प्रधानमन्त्री कोही ६ पटक प्रधानमन्त्री। दुई पटक पार्टी अध्यक्ष, तीन पटक सभापति। कोही ३० वर्षदेखि अविछिन्न पार्टीको सुप्रिम लिडर!
अब उनीहरूले पाउन के बाँकी छ, गर्न के बाँकी छ?
पुराना दलका सबै नवनिर्वाचित सांसदहरूलाई म केही प्रश्न सोध्न चाहन्छु। तपाईंहरूले एकछिन आँखा चिम्लिएर उत्तर सोच्नुहोला।
के तपाईंका शीर्ष नेताहरूले आफूले गरेको त्यागको अनुपातभन्दा धेरै अवसर पाइसकेनन्? आवश्यकताभन्दा बढी सत्ता प्रयोग गरिसकेनन्? तपाईंहरूलाई लाग्छ, देउवा, ओली र प्रचण्डले फेरि प्रधानमन्त्री भएर मुलुकमा उधुम गर्न बाँकी छ? प्रगति र सुशासन ल्याउन बाँकी छ?
अनि मुलुकमा कति नागरिक देउवा, ओली वा प्रचण्डको सरकार पर्खेर बसेका छन्? कतिलाई उनीहरूप्रति आशा छ? उनीहरूको शासन बेहोर्न कति मानिस लालायीत छन्?
खासमा तपाईंहरूले आँखा चिम्लेर गम्नै पर्दैन, तपाईंहरूलाई यसै थाहा छ- तपाईंका शीर्ष नेता अब सत्तामा जानुपर्ने कुनै कारण छैन। कसैले उनीहरूको शासनको अपेक्षा गरेका छैनन्।
तपाईंहरूलाई यो पनि थाहा छ– नेताहरू अब सत्तामा जति दिन बस्छन्, उनीहरूले खाने र घटाउने भनेको दलको पुँजी मात्रै हो। पाँच वर्षपछि आउने चुनावमा तपाईंहरूलाई धौधौ पर्नेगरी दलको मत घटाउने हो।
२०४८ सालमा कांग्रेसले ३८ प्रतिशत पपुलर मत पाएको थियो। २०६४ सालमा माओवादीको उदय हुँदा २२ प्रतिशतमा झर्यो। गएको वर्ष ३३ प्रतिशत पुगेको थियो। यसपालि फेरि २६ प्रतिशतमा झरेको छ।
एउटा नयाँ दल आउनेबित्तिकै ८ लाख मत गायब भएको छ। आठ लाख मत भनेको आठ लाख मानिस हुन्। उनीहरूले किन कांग्रेसलाई मत दिएनन्? एमालेको झन्डै सात लाख मत गायब भएको छ। माओवादीको झन्डै तीन लाख।
एकै वर्षमा कांग्रेस, एमाले र माओवादीको २५ प्रतिशत मत किन र कसरी हरायो? यसको जिम्मेवारी कसले लिने हो?
ताइवानमा भर्खरै सम्पन्न स्थानीय निर्वाचनमा राष्ट्रपति साइ इङ वेनको दलले धेरै ठाउँमा मेयरको चुनाव हार्यो। त्यसको जिम्मा लिँदै उनले दलको प्रमुखबाट राजीनामा दिने घोषणा गरेकी छन्।
हाम्रोमा जवाफदेहिता खोइ? एउटै निर्वाचनमा २५ प्रतिशत मत घटेको जिम्मेवारी कसैले लिनु पर्दैन?
पाँच वर्ष यिनै नेताहरूले हालिमुहाली गर्ने र यिनैलाई अघि लगाएर २०८४ सालको निर्वाचनमा जाने हो भने फेरि अर्को २५ प्रतिशत मत घट्न बेर लाउँदैन। त्यो बेला पनि उनीहरूले त्यसको जिम्मेवारी लिने छैनन्। त्यतिखेरसम्म ठूलो दलका रूपमा अर्कैको उदय भइसकेको हुनेछ।
बिनाजवाफदेहिता वर्षौंदेखि शीर्ष स्थानमा बसेका नेतालाई अझै दलको बाँकी पुँजी खान र पाँच वर्षपछि मत घटाउन संसदीय दलमा छान्ने कि तपाईंहरूले चुनौती दिएर र नयाँलाई संसदीय दलमा मत दिएर नेतृत्व बदल्ने आँट गर्ने?