एक स्वास्थ्यकर्मीले केही दिन अगाडि एउटा अनुभव सुनाएका थिए। केही हप्ता अगाडि नै डेंगी संक्रमण भएर निको भैसकेकाहरू हाल विभिन्न स्वास्थ्य समस्या लिएर दैनिक कम्तीमा आधा दर्जनको हाराहारीमा बिरामी आफ्नो प्राथमिक स्वास्थ्य केन्द्रमा आउने गरेको उनले सुनाएका थिए।
कोभिड-१९ को लहरलगत्तै 'पोष्ट कोभिड' को चर्चा र र समस्या देखिएको थियो। तर डेंगी संक्रमणपछि पनि स्वास्थ्यमा निरन्तर समस्या देखिने बारेमा भने नेपालमा योभन्दा अगाडि खासै थाहा थिएन वा चिकित्सकसँग परामर्श गरिदैन थियो।
तर हालै '२०२२ डेंगी महामारी' ले हालसम्मकै सबभन्दा धेरै संक्रमित भएका र अधिकांश संक्रमितले अत्यन्त शारीरिक पीडाको अनुभवबाट (विगतमा भन्दा) गुज्रेको बताएका थिए।
पछिल्लो समय संक्रमण हुनेको संख्यामा क्रमश: कमी हुँदै गैरहेको देखिए पनि संक्रमित भैसकेका कतिपयमा भने लामो समयपछि पनि स्वास्थ्यमा निरन्तर समस्या देखिने क्रम बढ्दो देखिन्छ।
अर्थात् डेंगी संक्रमितको संख्या घट्दै गैरहेको भएता भने पोष्ट-डेंगीको समस्या भने व्यापक हुँदै गैरहेको देखिन्छ।
शरीर तातिएको महसुस हुने(तर ज्वरो नदेखिने), शरीर फतक्कै गल्ने, अत्यधिक कमजोरी महसुस हुने, कहिलेकाहीँ आत्महत्याको सोच समेत आउने, सुतिराख्न मन लाग्ने र त्यस्तै मुटुको चालमा कहिलेकाहीँ तीव्रता आउने भन्दै एक संक्रमितले अनुभव साटेका थिए। ती बिरामी झन्डै एक महिना अगाडि डेंगी संक्रमित भएर उपचार गराएका थिए।
एक अर्का संक्रमितले थोरै शारीरिक काम गर्दा पनि छिटो स्याँ-स्याँ हुने, टाउको भारी हुने, अत्यधिक थकित महसुस हुने, एकाग्रता नहुने, शारीरिक तथा मानसिक कमजोरी महसुस हुने, मांशपेशी दुख्ने, गिजा (दात) दुख्ने र अत्यधिक कपाल झर्नेजस्ता समस्या हुने गरेको अनुभव सुनाएका थिए।
त्यस्तै, अर्का संक्रमितले आफूले सामान राखेको ठाउँ समेत पटक-पटक भुल्ने गरेको तर संक्रमण अगाडि त्यस्तो समस्या हुने नगरेको बताएका थिए।
'पोष्ट-डेंगी' को समस्या सम्भवत नेपालको लागि नौलो अनुभव भएकोले 'पोष्ट कोभिड' खासै सतहमा नआएको वा आइनसकेको हुनु पर्दछ।
विश्वमा 'पोष्ट-डेंगी' सम्बन्धी पर्याप्त अनुसन्धान भएको देखिँदैन। यसबाट पनि यो समस्याप्रति धेरैको ध्यानाकर्षण नभएको प्रष्टै हुन्छ।
हुनत डेंगी संक्रमण भएको कति हप्ता वा महिना पछिको अवस्थामा पनि स्वास्थ्यमा समस्या देखिरहे 'पोष्ट-डेंगी' को अवस्था जनाउने भन्नेमा विश्वका वैज्ञानिकबीच एकल धारणा बनिसकेको छैन। तर सन् २०२२ को डेंगी महामारीमा (हालैको) अधिकांश संक्रमित बिरामी औसत ८-१० मा स्वास्थ्य लाभ गर्ने गरेको तथ्यांकलाई आधार मान्दै तत् पश्चात देखिने स्वास्थ्य समस्यालाई यहाँ 'पोष्ट-डेंगी' भनिएको छ। यद्यपि अधिकांश 'पोष्ट-डेंगी' को समस्या भएकाहरू कम्तीमा एक महिनाभन्दा अगाडि नै संक्रमित भएका भेटिएका छन् र उनीहरूमा दुई वा सोभन्दा बढी स्वास्थ्य समस्या देखिने गरेका छन्।
श्रीलंकामा गरिएको एक अनुसन्धानले त्यहाँ डेंगी संक्रमितमध्ये एक तिहाइमा दुई महिनापछि पनि 'पोष्ट-डेंगी' का समस्या देखिने गरेको देखाएको थियो।
ब्राजिलमा गरिएको अनुसन्धानले डेंगी संक्रमितमध्ये झन्डै पचास प्रतिशतमा ६ महिनासम्म पनि 'पोष्ट-डेंगी' को समस्या हुने नतिजा प्रकाशित गरिएको थियो।
क्युबामा गरिएको एक अर्को अनुसन्धानमा त डेंगी संक्रमित भएको २ वर्षसम्म पनि 'पोष्ट-डेंगी' को समस्याबाट प्रभावित हुने गरेको तथ्य पत्ता लगाएको थियो। सो क्युबाली अनुसन्धानमा डेंगी संक्रमितका पचास प्रतिशतभन्दा बढीमा 'पोष्ट-डेंगी' को समस्या देखिएको थियो।
रोचक विषय त के छ भने अधिकांश अनुसन्धानहरूले महिला संक्रमितहरूमा 'पोष्ट-डेंगी' समस्या बढी हुने गरेको नतिजा प्रकाशित गरेका थिए, जसको यकिन कारण भने थाहा छैन। लेखकसँग 'पोष्ट-डेंगी' को समस्या लिएर सम्पर्क गर्नेहरूमा अधिकांश महिला नै थिए/छन्।
कोभिड-१९ को लहर सकिएलगत्तै देखिएको 'पोष्ट कोभिड' को उपचारको लागि सम्बन्धित विशेषज्ञ चिकित्सकसँग (जुन अंगमा समस्या छ) सल्लाह वा उपचार गर्न भनिएको थियो। 'पोष्ट-डेंगी' मा पर्याप्त अध्ययन/अनुसन्धान नभएकोले उपचारको बारेमा पर्याप्त जानकारी वा अनुसन्धान भएको पाइँदैन।
तर हामीले 'पोष्ट कोभिड' मा जस्तै 'पोष्ट-डेंगी' मा पनि जुन अंगसँग सम्बन्धित समस्या देखिएको हो सोसम्बन्धी विशेषज्ञ चिकित्सकसँग सल्लाह/सुझाव वा उपचार लिन सुझाउने गरेका छौं।
विदेशमा गरिएका केही सीमित अनुसन्धानका अनुसार झन्डै पचास प्रतिशतमा 'पोष्ट-डेंगी' को समस्या एक महिनापछि क्रमिक सुधार हुँदै गएको देखिएको छ।
'पोष्ट-डेंगी' को समस्या विशेषत डेंगीको लक्षण कडा देखिएकामा बढी देखिने गरेको अध्ययनहरूले देखाएका छन्।
अन्तमा, हाल डेंगी संक्रमितको संख्या ओरालो लाग्दै गर्दा 'पोष्ट-डेंगी' को समस्या भने उकालो लाग्दै गैरहेको देखिन्छ। हाल '२०२२ डेंगी महामारी' मा धेरै मानिसले डेंगीका कडा लक्षणको सामना गर्नु परेकोले सम्भवत धेरै संक्रमितमा 'पोष्ट-डेंगी' को समस्या देखिन सक्ने सम्भावना प्रबल देखिन्छ।
(लेखक शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिटका संयोजक हुन्।)
(डाक्टर पुनका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुहोस्)