हामी चाहन्छौं हाम्रा सन्तति स्वस्थ्य होऊन्। छिमेकीहरू सुरक्षित होऊन्। त्यसैले सारा विश्व जनस्वास्थ्य र नागरिक कल्याणको लागि साझा लक्ष्यका साथ अगाडि बढ्दैछ।
तर एउटा ठूलो चुनौती छ- लागुऔषध।
लागुऔषध दुर्व्यसन, दुरूपयोग र अवैध ओसारपसार अनन्त समस्याको रूपमा प्रकट भइरहेछ। समस्याको आकार दिनदिनै भीमकाय हुँदैछ। प्रभाव वेगसाथ उकालो लाग्दैछ। यसले परिवारहरूलाई टुटाइरहेछ। समाजलाई बिगारिरहेछ। शरीर र मानसिक स्वास्थ्यमा असर गरिरहेछ। युवाहरूलाई मृत्युको मुखसम्म घचेटिरहेछ। हिंसा र अपराध बढाइरहेछ। भ्रष्टाचारमा चुनौती थपिरहेछ। दिगो विकास लक्ष्य प्राप्तिमा अड्चन पुर्याइरहेछ।
गत आर्थिक वर्षमा नेपालमा मात्रै कम्तीमा २७ किसिमका लागुऔषध बरामद भए। सयौं ठाउँमा लागुऔषध फेला परेका छन्। हजारौं मानिस पक्राउ परेका छन्। लाखौं मानिस प्रभावित भएका छन्। करोडौंको लागुऔषध बरामद भएको छ।
अर्बौंको लगानी गर्नुपरेको छ राज्यले, रोकथामका लागि।
लागुऔषधको चुनौतीलाई परास्त गर्न यसलाई नै महान शत्रु ठानेर ठूलै युद्ध लड्नुपर्ने देखिन्छ। त्यसका लागि सर्वप्रथम लागुऔषधका किसिम, उत्पादन, प्रकार, स्वरूप, असर कस्ता छन् भनेर चिन्न जरूरी छ।
यहाँ विश्वमा बढी प्रयोग हुने मुख्य मुख्य लागुऔषधहरूबारे छोटकरीमा प्रस्तुत गरिएको छ-
गाँजा
गाँजा विश्वको सबैभन्दा विवादास्पद र सर्वाधिक प्रयोग हुने लागुऔषध हो। सन् २०२० को तथ्यांकअनुसार करिब एक्काइस करोड अर्थात विश्व जनसंख्याको ४ प्रतिशत मानिस गाँजाका नियमित सेवनकर्ता छन्।
पछिल्लो एक दशकमा यो संख्या २३ प्रतिशतले बढेको हो। महादेशगत रूपमा उत्तर अमेरिकामा धेरै प्रयोग हुन्छ गाँजा। एक सय ५४ देशमा यसको अवैध खेती हुन्छ। सन् २०२१ सम्म अफ्रिकाका ९, अमेरिकाका १५, एसियाका ६, युरोपका ३२, ओसेनियाका २ गरी ६४ देशले गाँजालाई मेडिकल (औषधीय) प्रयोजनका लागि र करिब आधा दर्जन देशले मनोरञ्जन प्रयोजनका लागि गाँजा खुला गरेका छन्।
अफिम
विश्वमा घातकको हिसाबले पहिलो नम्बरमा रहेको लागुऔषध हो अफिम। जसबाट हेरोइन, मर्फिन, कोडेनजस्ता सुषुप्त बनाउने प्रकृतिका लागुऔषध तयार हुन्छन्। सन् २०२० मा अमेरिकामा मात्रै अफिमजन्य लागुऔषधहरूको 'ओभरडोज' ले ९२ हजार जनाको मृत्यु भयो।
विश्वभर अफिमका ६ करोडभन्दा बढी अर्थात् जनसंख्याको १.२ प्रतिशत प्रयोगकर्ता छन्। सबैभन्दा बढी प्रयोग हुने क्षेत्र दक्षिण र दक्षिण पश्चिम एसिया हो। ५७ देशमा अवैध खेती भएको अफिम पछिल्ला पाँच वर्षमा तीनवटा देश (अफगानिस्तान, म्यानमार र मेक्सिको) ले विश्व उत्पादनको ९७ प्रतिशत हिस्सा ओगट्छन्।
अफगानिस्तान एक्लैले ८६ प्रतिशत उत्पादन गर्छ। सन् २०२१ मा अफगानिस्तानमा २.७ अर्ब डलर (जिडिपीको १२ प्रतिशत) बराबरको अफिम अवैध निकासी भएको देखिन्छ।
एम्फेटामाइन टाइप स्टिमुलेन्टस् (एटिएस)
विश्वमा गाँजापछि दोस्रो बढी दुरूपयोग हुने लागुऔषध हो एम्फेटामाइन टाइप स्टिमुलेन्टस् (एटिएस)।
यिनीहरू केन्द्रीय स्नायु प्रणालीलाई उत्तेजित पार्ने औषधिहरूको समूह हुन्। जसमा सबैभन्दा बढी प्रयोग हुने एम्फेटामाइन र एस्टासी पर्छन्। पछिल्लो एक वर्षमा एटिएस बरामदमा १५ प्रतिशत वृद्धि हुनु र पछिल्लो एक दशकमा बरामद पाँच गुणा वृद्धि हुनुले यसको खतरनाक वृद्धिदर प्रष्ट हुन्छ।
एक सय ३ देशमा एस्टासी, एक सय ५ देशमा एम्फेटामाइन र एक सय १७ देशमा मेथाफेटामाइन बरामद हुनुले यसको विश्वव्यापी सञ्जाल देखाउँछ। सन् २०२० मा विश्वभर पाँच सय पच्चीस टन एटिएस बरामद हुनुले यसको जोखिम आकलन गर्न सकिन्छ।
करिब साढे तीन करोड मानिस अर्थात् विश्व जनसंख्याको ०.७ प्रतिशत एटिएस प्रयोग गर्छन्। एम्फेटामाइन टाइप स्टिमुलेन्टस् बढी उत्पादन क्षेत्र पूर्वी र दक्षिण पूर्वी एसिया हो।
कोका
दुई करोडभन्दा बढी अर्थात विश्व जनसंख्याको ०.४ प्रतिशत मानिस कोकाका नियमित प्रयोगकर्ता छन्। उत्तर अमेरिका र युरोप बढी प्रभावित हुन्। पछिल्ला पाँच वर्षमा कोलम्बिया (६१ प्रतिशत), पेरू (२६.४ प्रतिशत) र बोलिभिया (१२.६ प्रतिशत) ले लगभग शतप्रतिशत कोकाको झार उत्पादन गर्दै आएका छन्।
सन् २०२० मा विश्वभर २ लाख ३४ हजार हेक्टरमा कोकाको झार खेती भएको थियो। त्यसैगरी विश्वका आठ देशमा अवैध खेती गरेको पाइएको कोकामध्ये एक हजार ४ सय २४ टन अवैध कोकिन बरामद गरिएको थियो।
न्यु साइकोएक्टिभ सब्स्टान्सेस
विश्वमा न्यु साइकोएक्टिभ सब्स्टान्सेसका दुई करोड अर्थात् विश्व जनसंख्याको ०.४ प्रतिशत प्रयोगकर्ता छन्। नियन्त्रित औषधिको रूपमा प्रयोग ट्रामाडोल (दुखाइ कम गर्ने औषधि), केटामाइन (पार्टीहरूमा मनोरञ्जनको लागि प्रयोग हुने), फेन्टानिल, बेन्जोडाइजेपाइन, एलएसडि आदि न्यु साइकोएक्टिभ सब्स्टान्सेसका केही उदाहरण हुन्।
तिनको प्रयोग कुनै क्षेत्र विशेष नभएर विश्वव्यापी छ। सन् २०२१ को अन्त्यसम्म एक हजार एक सय २७ किसिमका साइकोएक्टिभ सब्स्टान्सेसहरू पहिचान भएका छन् जसमध्ये पछिल्लो एक वर्षमा मात्रै ७७ नयाँ किसिमका फेला परेका छन्।
लागुऔषध कहाँ फस्टाउँछ?
एसियाका अधिकांश ठाउँमा अफिम प्रयोग डिस्अर्डर। उत्तर अमेरिकामा कोकिन प्रयोग डिस्अर्डर। पूर्वी र दक्षिण पूर्वी एसिया, अस्ट्रेलिया र न्युजिल्यान्डमा एटिएस प्रयोग डिस्अर्डर व्यापक पाइन्छ। सन् २०२० मा सुईको माध्यमबाट ड्रग्स लिने संख्या एक करोडभन्दा बढी पुगेको छ भने विश्वभर ५९ ओटा एस्टासी उत्पादन कम्पनी नष्ट (डिस्मेन्टल) गरिएका छन्।
लागुऔषध त्यहाँ फस्टाउँछ जहाँ अभाव छ। जहाँ द्वन्द्व छ। जहाँ संकट छ (युक्रेनमा २०१७ मा १७ वटा एमफेटामाइन ल्याबहरू रहेकोमा २०२० मा ७९ पुग्नु त्यसको गतिलो उदाहरण हो)। जहाँ कानुनको शासन कमजोर छ। जहाँ राम्रो अभिभावकत्व छैन। जहाँ स्थानीय सरकार कमजोर छ। जहाँ लागुऔषधको समस्यालाई पूर्णतः वेबास्ता गरिएको छ।
नेपालमा यी सबै समस्याहरू रहेकाले लागुऔषध कारोबार र सेवनको उर्वर भूमि बन्ने खतरा बढ्दै गएको छ। होइन भने एकै वर्षमा ६६ जिल्लाबाट लागुऔषधसहित करिब ५ हजार ७९७ मानिस पक्राउ पर्ने थिएनन्। अर्बभन्दा बढी रूपैयाँको ब्राउन सुगर एकै पटक बरामद हुने थिएन। कम्तीमा २७ किसिमका लागुऔषधको ओसारपसार र कारोबार हुने थिएन। ८ प्रतिशतभन्दा बढी अपराध यसकै कारण हुने थिएनन्।
कोभिडपश्चात लागुऔषध
कोभिड-१९ आफैंमा एक महामारी मात्र रहेन अन्य थुप्रै सामाजिक आर्थिक समस्याहरू फस्टाउने आधारको रूपमा पनि रह्यो। कोभिड-१९ पश्चात विश्वभर लागुऔषध प्रयोगकर्ताहरूको पुनः दोहोरिने क्रम बढ्यो। मदिरा, चुरोट र गाँजाको उपभोग बढ्यो। लागुऔषधहरूको उपलब्धता, मूल्य र शुद्धतामा समस्या भयो। नियन्त्रित र सिन्थेटिक लागुऔषधको प्रयोग वृद्धि भयो। अनलाइन कारोबारले आकास छोयो। कारोबारमा 'कन्ट्याक्टलेस' विधिलाई बढावा मिल्यो।
खतरनाक लागुऔषधबाट कसरी बच्ने?
लागुऔषधबाट सदियौंदेखि सारा विश्व आक्रान्त छ। कोलम्बिया, अफगानिस्तान जस्ता केही देशमा त ड्रग डिलर्सहरूले खतरनाक तरिकाले राज्य सञ्चालनमै प्रभाव पारेको अनुभव पनि छ। गोल्डेन ट्रायंगल, गोल्डेन क्रिसेन्ट, एन्डेन जस्ता लागुऔषधको उर्वर क्षेत्रमा राज्य पनि कमजोर देखिन्छ। त्यसैले लागुऔषधको समस्या निमिट्यान्न पार्नेभन्दा पनि न्यूनीकरण गर्दै जाने हो।
यसका लागि सर्वप्रथम युवाहरूलाई कूलतमा पर्न नदिन सचेतना अभिवृद्धि गरिनुपर्छ। लागुऔषधको जोखिममा पर्न लागेकालाई निरूत्साहन गर्नुपर्छ। परिसकेका सुरूआतकर्ताहरूलाई पुनर्स्थापनामा लैजानुपर्छ।
अवैध ओसारपसार र कारोबार रोकथाममा ध्यान दिइनुपर्छ। कारबाहीमा शून्य सहनशीलता अपनाइनुपर्छ। होइन भने लागुऔषधको अन्धकार र खतरनाक दुनियाँमा प्रवेश गर्न युवाहरू थप हौसिइरहने छन् जसको मूल्य चुकाउन यो समाज, यो राज्यलाई हम्मे हम्मे पर्नेछ।
(लेखक उपाध्याय नेपाल सरकारका उपसचिव हुन्।)
(गोकर्णप्रसाद उपाध्यायका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुस्)