सतहत्तरमध्ये हिमालदेखि तराईसम्म फैलिएको एक्लो जिल्ला धादिङ। तुवाँलोभित्र लुकेको सदरमुकाम धादिङबेसी।
सदरमुकामलाई बिहानै छोडेर उत्तरी रूबी भ्यालीतर्फ उक्लिनुअघि दक्षिणमा रहेको राजधानीको लाइफलाइन पृथ्वी हाइवेतर्फ झर्यौं। रसुवाको बाटो भएर जाने तयारी थियो। फुर्केखोला पुगेपछि हाइवेसँग जोडियौं।
त्रिशुली किनारैकिनार राजधानीतर्फ दौडिएका नाइट बसका यात्रु निदरीमा लुटपुटिएका थिए होलान्। उता त्रिशुलीको भने वर्षौदेखि निँद हराम छ। अत्यधिक दोहन, फिरफिरे प्रयोग र अवैध उत्खननले। धमिलिएको त्रिशुलीमा पानी होइन 'पीप' बगेझैं लाग्थ्यो।
ओभरलोड भई आउने र रित्तै फर्किने मालवाहक गाडीका कारण हाइवेको बायाँ साइड उबडखाबड थियो, दायाँ सर्लक्क। तर पछिल्ला वर्षमा हाइवे निकै सुध्रिएकै हो। सडक चाक्लिएकै हो। छेउछाउका होटल, खाजाघर पनि हिजोभन्दा सुधारोन्मुख भएकै हुन्।
गल्छी पुगेपछि राजधानीको लाइफलाइन छाडेर निर्माणाधीन चौडा, अनवरत गाडी चिप्लिँदै गरेको राजमार्ग तीव्र गतिमा निर्माण हुँदै थियो। निर्माण त रेट्रोफिटका लागि पाइपहरूको घेराबन्दीमा रहेको नुवाकोट दरबार पनि भइरहेकै थियो। चीन सरकारको सहयोगमा। तर हाइवेको गतिमा होइन। सुस्त सुस्त।
नुवाकोटको बट्टारबाट त्रिशुली, कालिमाटी हुँदै रसुवाको सदरमुकामतिर उक्लिँदै गर्दा बाटो छेउछाउ गिटी फुटाउँदै गरेका महिलाहरूले अछामकी हतौडावालीको सम्झनालाई ताजा बनाए। उता हतौडावाली देखिन्थे, यता घनवाली पनि देखिए।
दुई हजार मिटरको उचाइमा, चिरिच्याट्ट घरहरूसहित स्वागत गर्न बसेको धुन्चेमा लोकल मुसुरोको दाल, गुन्द्रुक अचारसहितको खाना पाइयो। हाम्रो 'लन्च टाइम' र हाइल्यान्ड सेकेन्डरी बोर्डिङको 'टिफिन टाइम' जुधेछ। टिफिन टाइम सकिएको घन्टीले विद्यार्थीहरू कक्षातर्फ दौडिएसँगै हामी पनि स्याफ्रुबेसीतर्फ दौडियौं।
धुन्चेबाट अलि तल गोसाइँकुण्डको पानी ओसारेर ल्याउने घट्टेखोलाको पानी छोएर मनमा गोसाइँकुण्डवाला 'फिलिङ' पनि ल्याइयो।
स्याफ्रुबेसी आसपास पुलपारि एउटा घर। भित्ता नभएको। बरू भित्तामै घरजस्तै लाग्ने प्रवेशद्वार चाहिँ रहेछ। पहरो छेडेर बनाएको घर र आधा बन्द सटरमा आँखा जान्छन्। त्यसमाथि लेखिएको नेपालीको पौरख, नेपालको गौरव शब्दले तान्यो। २२.१ मेगावाटको चिलिमे हाइड्रोपावर प्लान्टको सुरूङ मार्गको प्रवेश बिन्दु रहेछ। भित्र हेर्न पाइने रहेछ। गुटुङटुङ पस्यौं। २,८२६ मिटर हेडरेस टनेल र २४३ मिटर टेलरेस टनेलका साथै अन्य विशेषताको अनुभव सुरुङभित्रै पसेर गर्न पाइयो।
छेउछाउका पहरा, पतझर रूख, स्याफ्रुबेसी बजार, ठाउँठाउँमा फहराइरहेका पहेँलो, हरियो, रातो, सेतो र नीलो गरी पाँच रङका बौद्ध सम्प्रदायका झन्डा, अर्थात लोङ्दर, टिमुरेको तातोपानी अनि त्रिशुलीलाई नियाल्दानियाल्दै साँझ पर्न थालिसकेको थियो। त्रिशुली किनारमा पहाड छेडेर बनिसकेका र बनिरहेका सुरूङहरू देख्दा लाग्छ, रसुवा चाँडै सुरूङको जिल्ला घोषित हुनेछ।
रसुवागढी झुल्किसकेछ। रसुवागढीमा एकातिरबाट आएको भोटेकोशी र अर्कोतिरबाट आएको लेन्देखोला एकाकार भई एक तमासले सुसाउँदै बगिरहेछ। गोलाइ जिउलो अगाडिको सेतीजस्तै। नदीभन्दा हावाको सुसाई कडा। चौबीसै घन्टा यस्तै हावा चल्छ रे! स्थानीयले भनेका!
कुनै बेला भोटलाई जित्ने नेपाल। २००९ सालसम्म भोटमा रहेको नेपाली बाबु र भोटेनी आमाबाट छोरो जन्मिए नेपालको र छोरी जन्मिए भोटको नागरिक हुने व्यवस्था थियो अरे! रसुवागढी नाकामा चन्द्र, सूर्य र त्रिशुल अंकित सम्बत् १९१२ को शिलालेखले इतिहासप्रति गर्व महसुस गराए। तर पारि चीन र वारि नेपाल दुवैतिरका भौतिक संरचना हेर्दा उता बडेमाका, भव्य र आधुनिक, यता अति सामान्य।
६६ हजार रूपैयाँ भाडा तिरेर तिब्बतीहरूको बाटो कुरेर बसेको टिमुरेको अध्यागमन कार्यालय होस् वा कन्टेनर पार्किङस्थल वा कामचलाउ हेलिप्याड, जे हेर्यो त्यसैले मुटु चस्काउने।
कन्टेनरले भरिएको टिमुरे। चहलपहल छैन। कोभिडपछि तिब्बतले गरेको कडाइसँगै थोरै संख्यामा कन्टेनर आउन थालेपछि यसको 'चार्म' घटेको बुझियो। सरकारी कार्यालयको बोर्ड नेपाली वा अंग्रेजीबाहेक तेस्रो भाषामा त्यही अध्यागमन कार्यालय देखेँ। तिब्बती हो वा चिनियाँ ठम्याउन सकिएन। आज व्यापारिक केन्द्र टिमुरेमै बास बस्ने भइयो। वडा अध्यक्षको होटल 'रिभर भ्यु' मा।
भोलिपल्ट नयाँ वर्षको पहिलो बिहानीको सुरूआत काउन्टरमा बजिरहेको मानेको ध्वनी कानमा परेसँगै भयो। बाहिर हाम्रा गाडीले पनि हर्नको ध्वनी बजाएर बोलाए। टिमुरेबाट सोमदाङका लागि हिँड्दा छ्यांग खुलेको आकाश र हावामा फर्फराइरहेका झन्डासँगै मन पनि फर्फराइरहेको थियो।
स्याफ्रुबेसी पुगेर गाडी बदल्यौं। अब तीन वटा टाटा सुमोले हामीलाई रूबी भ्याली लैजाने छन्। म चढेको गाडीका चालक थिए नुवाकोट, त्रिशुलीका 'एक्स' आर्मी श्रीराम बोहरा।
उकालो सुरू भयो। जब्बर उकालोमा अघिअघि एउटा बस आकाशै धुलाम्मे पार्दै उक्लिँदै थियो। निकैबेर पछुवा भएपछि साइड त पाइयो तर अलिक पर आमाछिदिङमो गाउँपालिकाको थाम्बुचेतबाट उकालो लाग्दा एउटा गाडीको पट्टा भाँचियो। पहिलो गाँसमै ढुंगा भनेको यही होला सायद।
गहिरोमा बसेको चिटिक्क थाम्बुचेत बजार। नयाँ वर्षको दिन। ग्यारेजहरू बन्द छन्। होटल समेत खुलेका छैनन्। खुलेकाले पनि चियाधरि बनाउद्द मानेनन्। कामदारहरू नयाँ वर्ष मनाइरहेकाले। एकछिन बजार डुल्यौं। हाइटको बेस्मारी हावा लाग्ने गुम्बा घुम्यौं।
गाडी बिग्रिएर रन्थनिएका हामी चिलिमे हाइड्रोको ड्याम र वरिपरिको थाम्बुचेत बस्तीलाई फन्को मारिरहँदा सडकसँगै जोडिएको आगँनीमा एउटी महिला तानसँग खेल्दै थिइन्।
के बुनेको दिदी?
'स्यामा' (मुस्कुराउँदै)।
स्यामा! तामाङहरूको कुनै पहिरन भन्ने अनुमान गरे पनि ठ्याक्कै भन्न सकिएन।
अलमलिएको मेरो अनुहार पढेर उनले भनिन्, 'तामाङनीहरू सारीमाथि लाउँछन् स्यामा।'
ए! दिदीको आफ्नै घर हो?
'हो। काठमाडौं, टोखामा पनि छ। छोराहरू उतै पढ्छन्। यहाँ बुढाबुढी मात्र। पुर्ख्यौली थलो भएर बसेका।'
कि जग्गाजमिन धेरै भएर छोड्न नसकेको?
'अम्म्मम्म! पहिला त धेरै थियो। आलिकति हाइड्रोले लाग्यो। आलिकति प्रोजेक्टले। अब घर र यत्ति आँगन छ।'
बडो मिठो कुरा गर्ने तामाङनी दिदी।
दिदीको नाम नि?
'छिरिङ डोल्मा।'
फुर्सदिला हामी व्यस्त छिरिङलाई अल्मलाइरहँदा चिया पिउन कल आएपछि कुराकानीलाई बिट मार्दै जाने अनुमति माग्छौं।
'ए, तपैंहरू च्या पिउन जान्छ? म बनाउँछु नि च्या।'
दायाँबायाँ हेरेँ। होटल छ र तपाईंको?
'छैन। तपैंलाई च्या खुवाउन होटल चाहिन्छ र? घरको च्या खानुस्। म बनाएर ल्याउँछु।' (तान छोडेर जान खोजिन्।)
अपरिचित मान्छे। पहिलो पटक बोल्दैछौं। तर पनि आफ्नो काम छाडेर छिरिङले देखाएको आत्मीयताले मन छोयो।
उत्तरी धादिङमा यस्तै मान्छेहरू होऊन्! आशा गर्दै उनको संस्कार र सत्कार देखेर चकित हुँदै चिया पसलतिर लाग्यौं।
धुन्चेबाट अर्को गाडी बोलाउन समय लाग्ने। बिग्रेकोलाई वेल्डिङ गरेरै भए पनि जाने भइयो। त्यही आसपास बस्ने चिलिमे हाइड्रोका गाडीहरू बनाउने मिस्त्री खोजेर ग्यारेज खोल्न लगाइयो। केही सीप लागेन। अनि बाँकी दुइटा गाडीमा जेनतेन यात्रा गर्ने भइयो। बिग्रिएका गाडीका गुरूजी त्रिशुलीबाट नयाँ पट्टा झिकाएर गाडी बनाएपछि त्रिशुलीतिरै फर्किने गरी बसे। बाँकी टोली खाना खाएर उकालो लाग्यौं।
थाम्बुचेतबाट ७-८ किलोमिटर उक्लिएर बाहुनडाँडा पुगेपछि फुस्स्स्स्स्स आवाज आयो। हामी सवार गाडीको पछाडि देब्रेतिरको टायर काटिएर पंक्चर भइसकेछ। 'एक्स्ट्रा' टायर थियो। फेरिसकेपछि थाहा भयो त्यसमा पनि हावा कम छ।
अब के गर्ने?
अर्को आइडिया! अगाडिको गाडीको 'एक्स्ट्रा' टायर। त्यो पनि 'चेन्ज' गरेपछि थाहा भयो त्यसमा त हावा झन् कम छ।
उफ! गाडीले यति धोका किन दिएको? त्यसमाथि गुरुजीहरू कस्तो हावा? लामो यात्रामा कम्तीमा गाडीको 'कन्डिसन' त चेक गर्नुपर्ने!
बारम्बारका अशुभ संकेतसँगै एक टोलीले फर्किने मुड बनायो। तर नयाँ वर्षको पहिलो दिन यसरी हारे वर्षैभरि हारिरहनुपर्छ भनेर मनोबल बढाउने अर्को टोलीले गाडीलाई तीनवटै टायर बनाएर ल्याउने गरी अघिको ग्यारेजमा पठायो। दुवै गाडी तल झरे। हामी हिँड्दै चौहत्तरतिर बढ्यौं।
गाडीहरू मर्मत गरिए। तेस्रो गाडीको पनि सामान आउँदै थियो। आधा घन्टा जतिमा बन्ने भएपछि गोलजुङको सेरोफेरोमा अलमलिँदै तेस्रो गाडी पनि कुर्यौं। अन्ततः तंग्रिएका गाडीहरू नयाँ जोशका साथ हामी चिया खाएर बसिरहेको ठाउँमा आइपुगे।
कोइराला सरले धुपौरो खोजे। बासनादार धुप बाले। विश्वकर्मा बाबालाई सम्झिँदै तीनवटै गाडीको तीनपटक पूजा परिक्रमा गरे। यति भएपछि अब गाडी बिग्रिएर धोका नदिने 'अन्धविश्वास' का साथ अगाडि बढ्यौं।
हेर्नैपर्ने पार्वती कुण्ड रहेछ गत्लाङमा। अलि पर ठूलो कान्छा तामाङको होटलमा चार माना भटमास, केही आलु र अरू खाजा खायौं।
ठूलो कान्छा भन्दै थिए- आलु मूल खेती हो यहाँको।
हुन पनि जताततै आलु मात्रै लगाएको देखिने। कतैकतै जौ। ठूलो कान्छाले पोहोर लाङटाङबाट एउटाकै करिब एक लाख पर्ने ३३ वटा चौंरी ल्याएर पालेका रहेछन्। माथि लेकमा। तीनवट मरिसकेछन्। गर्नसके चौंरीको व्यापार राम्रै रहेछ।
हामी अलि तलबाट टिपेर ल्याएको बोझो चपाउँदै अझ उकालो लाग्यौं। उचाइ बढ्दै थियो। आलुखेत, जौखेत, चौंरीका झुन्ड, लौठ सल्लाको जंगल। डाँडाबाट झर्दै गरेको सूर्य। तराईका सिमललाई माथ खुवाउने लौठ सल्लाका आकृति सबै उछिन्दै जाँदै थियौं। आकाशमा टिलपिल टिलपिल ताराहरू पात झरेका सल्लाका हाँगामा फुलेझैं लाग्थे।
उकालोओरालो, भीरपहरा पार गर्दै साढे नौ बजे चौध घन्टे यात्रापछि उत्तरी धादिङको रूबीभ्याली प्रवेश गर्यौं। सोमदाङ बिन्दुबाट। बाटो लामै त होइन तर गाडीको गडबडीले अनावश्यक लम्बिएको थियो नयाँ वर्षको पहिलो दिनको यात्रा।
खोल्सामा बसेको सोमदाङ। चिसो हावा। उस्तै चिसो पानी। बाटो छेउछाउ हिउँ। बाटोमाथि र मुन्तिर गरी दुई वटा होमस्टे। छानोमा काठकै फ्लेक। हामी बसेको होमस्टेमा काम गर्ने सबै पुरुष मात्र। घरको मूल गेट र अरू थुप्रै ठाउँमा झुन्ड्याइएका चौंरी र भेडाका सिङसहितको खप्पर।
चिसोमा त्यसै पनि खाना रुच्छ। त्यसमाथि दिनभरको थकानपछि प्राप्त लोकल स्वाद। थर्मसका थर्मस तातोपानी रित्यायौं। मस्तले खाना खायौं। आगोको रापमा मज्जैले जीउ ततायौं। अनि मस्त निदायौं। भोलि रूबी भ्याली पुग्ने सोचका साथ!
(लेखक उपाध्याय नेपाल सरकारका उपसचिव हुन्।)
(गोकर्णप्रसाद उपाध्यायका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुस्)