भारतमा पनि मंकीपक्स देखिएको छ। त्यसैले नेपालमा पनि मंकीपक्सको जोखिम बढेर गएको छ। भारतमात्र नभई मंकीपक्सका केसहरू अफ्रिकी महादेशबाहिर अरू देशमा देखिँदै गैरहेको छ।
मंकीपक्स सन् १९७० मा एक ९ वर्षीय कंगोली बालकमा पहिलो पटक देखिएको थियो। यद्यपि अनुसन्धान गर्न राखिएको बाँदरमा भने सन् १९५८ नै देखिएको थियो। तत् पश्चात अफ्रिकी महादेशमा मानिसमा यो संक्रमण लगभग सीमितजस्तो थियो। यदाकदा आयातित रोगको रूपमा भने अफ्रिकी महादेशबाहिर पनि देखिने गरेको छ।
हालै विश्व स्वास्थ्य संगठनले पनि मंकीपक्सलाई 'अन्तर्राष्ट्रिय जनस्वास्थ्य आपतकाल' को घोषणा गरेको छ। मंकीपक्सको विशेष खोप वा औषधि छैन तर विफरविरूद्धको खोप वा औषधि भने केहि प्रभावकारी देखिएको छ। नेपालमा सो खोप वा औषधि सम्भवत: सहजै पाइने भने छैन। तसर्थ, बच्ने उपाय नै अहिलेको उत्तम विकल्प मान्न सकिन्छ। कोरोनाको सुरूआती लहरमा पनि बच्ने तरिका निर्विकल्प उपाय थियो।
बच्ने उपाय भन्ने बित्तिकै सर्ने तरिकासँग सम्बन्धित हुने गर्दछ। मंकीपक्सको फैलावट विशेषत व्यक्तिगत सर-सफाइसँग सम्बन्धित हुन्छ। खासगरी संक्रमित व्यक्तिको थुकको छिटा, छालामा देखिएको घाउको तरल पदार्थ, संक्रमितले प्रयोग गरेका कपडाबाट संक्रमण सर्न सक्दछ।
यौन सम्पर्कबाट पनि संक्रमण सर्न सक्ने भएता पनि मुख्य स्रोत नै भने मानिएको छैन। तर हाल अफ्रिकी मुलुकबाहिर मंकीपक्सको संक्रमण फैलिरहेको तरिका भने अफ्रिकी मुलुकमा देखिएझैं परम्परागत नभई समलिंगी यौन सम्पर्क देखिएको छ।
हालै एक प्रतिष्ठित मेडिकल जर्नल 'न्यू इंल्याण्ड जर्नल अफ मेडिसिन' मा प्रकाशित अनुसन्धान लेखको नतिजा अनुसार ९६ प्रतिशत मंकीपक्स संक्रमित समलिंगी थिए।
बेलायतको 'युके हेल्थ सेक्युरिटी एजेन्सी' (युकेएचएसए) को रिपोर्टअनुसार त्यहाँ संक्रमण देखिएकाहरूमध्ये अधिकांश समलिंगी भएको उल्लेख थियो।
'न्यू इंल्याण्ड जर्नल अफ मेडिसिन' मा प्रकाशित लेखमा अनुसन्धानकर्ताहरूले संक्रमितमध्ये अधिकांशको घाउ/फोका (७३ प्रतिशत) गुप्तांग र गुद्वारमा पाइएका थियो।
अधिकांशमा ५ भन्दा कम घाउ/फोका देखिएको थियो। तसर्थ यो नै अफ्रिकी महादेशमा देखिँदै आइरहेको भन्दा फरक विशेषता बोकेको मंकीपक्स भाइरसभन्दा फरक नपर्ला।
गुप्तांग र गुद्वारमा घाउ/फोका देखिएकोले अधिकाश संक्रमितहरू यौन रोग वा एचआइभी क्लिनिकमा जाने गरेका थिए। छालामा देखिने घाउ/फोकापछि सबैभन्दा धेरैमा ज्वरो तथा लिम्फ ग्रन्थी सुन्निने जस्ता समस्या देखिएको अनुसन्धानले देखाएको थियो।
मंकीपक्सका संक्रमितहरूमा महिला भने थिएनन् अर्थात् सबै जसो पुरूषहरू नै थिए। संक्रमितमध्ये २ प्रतिशत बाई-सेक्स्युअल थिए तर महिलाहरूमा संक्रमण नदेखिनुमा अनुसन्धानको विषय बनेको देखिन्छ।
हाल अफ्रिकी महादेशबाहिर फैलिरहेको पछिल्लो तर विस्तृत माथि उल्लेखित प्रकाशित अनुसन्धानलाई आधार मान्ने हो भने नेपालमा मंकीपक्सको जोखिम, निदान कति सहज होला भन्ने प्रश्न उठ्नु स्वाभाविक हो। अझ भारतमा पनि मंकीपक्सका संक्रमितहरू देखिने क्रम जारी रहँदै गर्दा नेपालमा पनि जोखिम बढेको छ।
नेपाल-भारत खुला सीमाना, परीक्षण पछि मात्र संक्रमित पुष्टि हुने र भारत आवत-जावत गर्ने अधिकांश ग्रामीण इलाकामा बसोबास गर्नेहरू हुँदा मंकीपक्स संक्रमण भित्रिएको सम्भवत: सहज थाहा भने हुने छैन।
भारतमा देखिएको पछिल्लो मंकीपक्स संक्रमित विदेश भ्रमण इतिहास नभएको भनिएकोबाट पनि मंकीपक्स भाइरस भारतमा धेरै अगाडिदेखि नै फैलिरहेको सहज अनुमान गर्न सकिन्छ।
नेपालमा बिरामीहरू शारीरिक पीडा नभएसम्म अस्पताल वा स्वस्थ्यकर्मीको सम्पर्कमा प्राय: आउने गर्दैनन्।
मंकीपक्सका बढी संक्रमितहरूमा घाउ/फोका त्यो पनि गुप्तांग अथवा गुद्वारमा देखिने, घाउ/फोकाको संख्या कम देखिनु र अधिकांशमा २-४ हप्तामा आफैं निको हुनुले भारतमा जस्तै संक्रमण नेपालमा भित्रिएको वा समुदायमा फैलिएको धेरैपछि मात्र पुष्टि हुने सम्भावना बढी देखिन्छ।
हालसम्म अफ्रिकी मुलुकबाहिर देखिएको मंकीपक्स भाइरसको कारणले मृत्युवरण भने कसैले गर्नु परेको छैन।
यो कोरोना भाइरस जतिकै संक्रामक वा तीव्र गतिमा फैलने पनि गरेको छैन। तसर्थ, मंकीपक्सलाई पनि अरू छाला रोग सरह पहिचान तथा उपचार गर्न सकिन्छ/ गर्नुपर्छ।
अधिकांश मंकीपक्स संक्रमित पहिला यौन रोग वा एचआइभी क्लिनिकमा जाने गरेको अनुसन्धानले देखाएकोले सम्भवत: त्यस्ता स्वास्थ्य क्लिनिकमा मंकीपक्स भाइरस पत्ता लाग्ने सम्भावना पहिला र बढी देखिनेछ। अर्थात् नेपालमा छाला तथा यौन रोग विशेषज्ञसमक्ष नै मंकीपक्सका केसहरू पहिला पुग्नेछन् वा बढी पुग्ने छ।
मंकीपक्स संक्रमित ९५ प्रतिशत संक्रिय यौन सम्पर्कमा रहेको भन्ने अध्ययनमा देखाएको र गुप्तांग वा गुद्वारमा हुने घाउ/फोकाबाट संक्रमण सर्ने मुख्य कारक मानिएकोले मंकीपक्सको फैलावट रोक्न 'कन्डम' प्रयोग सबभन्दा उत्तम उपाय हुनसक्छ। यद्यपि यो मात्र पूर्ण समाधानको उपाय भने होइन।
(लेखक शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिटका संयोजक हुन्।)