यो वर्ष अप्रिल ५ मा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदलाई सम्बोधन गरे। त्यस क्रममा उनले युक्रेनको राजधानी किभनजिकैको बुचा सहरमा रूसी सैन्यले गरेका ज्यादती र युद्ध अपराधहरूका परिणामको फुटेज देखाए।
तिनमा कतै दर्जन जति गैरसैन्य मानिसका लास भुइँमा छरपस्ट देखिन्छन्। कतै हात पछाडि बाँधेर गोली हानिएका र सडक किनारमा साइकलको छेउमा पल्टेको मानिसका शव देखिन्छ। युद्धकै क्रममा खिचिएका ड्रोन भिडिओहरूमा रूसी ट्यांकहरूले साइकल चलाएको मानिसलाई निशाना बनाएकोदेखि दुई वृद्ध चढेको कारलाई निशाना बनाएर ध्वस्त बनाएको देखिन्छ।
रूसी सेना बुचाबाट निस्किएपछि त्यहाँका सडकको कैयौं किलोमिटरसम्म बाटोमा यसरी छरपस्ट लासहरू भेटिएका छन्, ती हेर्दा लाग्छ, बाटोमा फेला पर्ने गैरसैन्य नागरिकलाई एकनासले नजिकैबाट गोली हानेर मारिएको छ।
युक्रेनमा रूसी ज्यादतीहरूको क्रम अद्यापि जारी छ। युद्ध अगाडिको जीवन्त मरिउपोल सहर सिंगै खण्डहरमा बदलिइसकेको छ। युक्रेनभरिका सहरी क्षेत्रहरू साढे चार महिनादेखि निरन्तर बमवारी अगाडि बज्ने साइरनको चेतावनी सुन्न अभ्यस्त छन्। देशभरिका सबै ठाउँ कुनै पनि क्षणमा आकाशबाट मृत्यु बर्सिन सक्ने भयले आक्रान्त छन्। जमिनमुनिका तला र बंकरमा बस्नेहरूले महिनौंदेखि भोकै–प्यासै ज्यान धानिरहेका छन्।
सामान्य घाउ लाग्नेहरूले एन्टिबायोटिक र ड्रेसिङको अभावमा टिटानसजस्ता भयंकर पीडादायी संक्रमणमा धेरै दिन छट्पटिएर ज्यान गुमाइरहेका छन्। रूसी आक्रमणबाट भाग्न नसक्ने वृद्धवृद्धा र अपांगता भएकाहरू घरमा एक्लै भोक र प्यासले तड्पिएर मरेका छन्। मानवीय युद्धविराम भएको भनेर युद्धग्रस्त ठाउँबाट भाग्न खोज्नेहरूलाई समेत रूसले निशाना बनाएर मारिरहेको छ।
यस्तो वीभत्सताका प्रमाणहरू अहिले संसारभरका मानिससामु पुगिरहेका छन्। सामाजिक सञ्जालबाट मानिसले झन्डै 'रियल टाइम' मा युक्रेनबाट आउने भयावह भिडिओ र फोटोहरू हेरिरहेका छन्। युद्धका कारण चर्किएको महँगी र अभावका कारण त संसारका सबै देशका सबै जसो मानिसहरू प्रभावित भइरहेका छन्। यी दुवै कारणले कोभिड महामारीले सिर्जना गरेको दुष्चिन्ता र अवसादको प्रकोप झनै गहिरिएर गएको छ।
तर दोस्रो विश्व युद्धपछिकै ठूलो युक्रेनी युद्ध र संकटका बीच मानिसमा आशा जगाउने अनेक हृदयस्पर्शी समाचारहरू पनि आइरहेका छन्।
फेब्रुअरी २४ मा रूसले युक्रेनमा आक्रमण सुरू गरेलगत्तै किभको उत्तरतर्फको राजमार्गमा टयांक र बख्तरबन्द गाडीको ६४ किमी लामो लहर देखियो। त्यो लहरका स्याटलाइट तस्बिरहरू संसारभर पुगे। सैन्य शक्तिको त्यो प्रदर्शनले एकाध दिनमा किभसहित सिंगो युक्रेनलाई कब्जा गर्ने रूसको नियतलाई पुष्टि गर्थ्यो।
त्यो समयमा युक्रेनको सैन्यशक्तिदेखि राजनीतिक नेतृत्व र किभका सर्वसाधारणसित दुई उत्तिकै खराब विकल्प रहेको भान हुन्थ्यो- दसौं गुणा बलियो रूसी सेनाको आक्रमणको सामना गरेर अवश्यम्भावी हार बेहोर्नु वा अफगानिस्तानको सरकारले तालिवानसित गरेझैं आत्मसमर्पण गरेर त्यसपछि रूसी क्रुरताको सामना गर्नु।
ती ट्यांक र गाडीको लहर रूस र युक्रेन दुवैको छिमेकी तर रूसी पक्षले आफ्नै भूमिझैं प्रयोग गरेको बेलारूसतिरबाट किभतिर गइरहेको थियो। डेढ वर्षअगाडि चुनावमा धाँधली गरेर लाखौं बेलारूसीहरूबाट प्रदर्शन खेपेका त्यहाँका तानाशाह अलेक्जान्डर लुकाशेन्कोले रूसको सैन्य सहयोग लिएर त्यो प्रदर्शन दबाएका थिए।
बदलामा रूसी राष्ट्रपति पुटिनले बेलारूसलाई युक्रेन–अतिक्रमणको मुख्य मोर्चा बनाएका थिए। किन पनि भने, राजधानी किभ युक्रेनको बेलारूससितको उत्तरी सीमाबाट जम्मा ४०३ किमी (हवाइ दुरी) पर्थ्यो। युद्धमा खटिने सेनाका लागि बन्दोबस्तीका सामग्रीहरू सोभियतकालीन रेलवे नेटवर्कमार्फत रूसबाट बेलारूस हुँदै युक्रेनको सिमानामा पुर्याउने रूसको योजना थियो।
तर वाशिङटन पोस्टको एउटा समाचारअनुसार बन्दोबस्तीका सामग्री बोकेका बेलारूसका रेलवे डब्बाहरू हप्तौंसम्म डेग चलेनन्। रूसले धमाधम आफ्नो रेलवे हुँदै सामग्रीहरू बेलारूसका रेल ट्रयाकसम्म पुर्याउँथ्यो तर ती त्यहीँ अड्किन्थे। तिनलाई झारेर ट्रकमा हालेर लैजाँदा कैयौं दिन ढिलो हुन्थ्यो।
कारण- बेलारूसको रेलवेका कर्मचारीहरूले रेल सञ्चालन प्रणालीलाई 'साबोटाज' गर्थे र अवरूद्ध गरिदिन्थे। उता किभको छेउमा रूसी सेना भोकभोकै भएर छेउछाउका पसल र मल लुट्ने अवस्थामा थिए, यता बेलारूसको रेल चलेको थिएन।
यही अलमलबीच रूसको उत्तरी मोर्चाको आक्रमणले सुरूआती 'मोमेन्टम' गुमायो। दिनरात एकै ठाउँमा बस्ने ट्यांक, गाडीहरू र बन्दोबस्तीका ट्रकहरू युक्रेनी ड्रोन र गुरिल्ला आक्रमणको निशाना बने। एकाध हप्तामा त्यो ६४ किमी लामो लश्कर कुनै ठूलो स्थलयुद्ध नगरी तितरवितर भयो।
सानो छिमेकीमाथि ठूलो छिमेकी देशले गरेको त्यस्तो ज्यादतीमा बेलारूसका रेलवे कर्मचारी र अभियन्ताहरूले त्यसरी हस्तक्षेप नगरेको भए आजका दिनसम्म युक्रेनले डटेर रूसको प्रतिरोध गर्न कठिन थियो।
दोस्रो विश्व्युद्धपछि यही युद्धमा पहिलोपल्ट दसौं लाख मानिसहरू केही साताको समयमा शरणार्थी बने। तिनको महिनौंसम्म भरणपोषण गर्नु छिमेकी देशहरूका लागि महाभारत थियो। तर पनि युरोपका देशहरूले शरणार्थीको त्यस्तो आकस्मिक आगमनलाई जसरी व्यवस्थापन गरेका छन्, त्यसमा त्यहाँका सरकारहरूको मात्र नभई आम नागरिकको ठूलो भूमिका छ।
जस्तो कि, युक्रेनबाट आक्रमण छलेर निस्केका लाखौं आमाहरूसित काखेलगायतका केटाकेटी थिए। पोल्यान्ड जाँदा उनीहरूमध्ये धेरैले रेलवे स्टेसनमा यसै छाडिएका खेलौना, डाइपर र बच्चा गुडाउने 'स्ट्रोलर' हरूका चाङ भेटे। ती कुनै संस्था वा सरकारले किनेर त्यहाँ छाडेको थिएन, शरणार्थी आमाहरू आउन सक्छन् भनेर पोलिश सर्वसाधारण महिलाहरूले आफ्ना बच्चाका साधनहरू त्यहाँ छाडेर आएका थिए।
मुटु कपाउने जाडोमा जब युक्रेनीहरूको लश्कर जब सीमा कटेर पोल्यान्ड पुग्थे, उनीहरूमध्ये हजारौंका लागि सेलेब्रिटी सेफ होजे एन्ड्रेसले तातो खानाको व्यवस्था गरेका हुन्थे।
हजारौं युक्रेनीहरू शरणका लागि जर्मनी पुग्दा त्यहाँको रेलवे प्लेटफर्ममा उनीहरूको स्वागत गर्ने जर्मनहरूको घुइँचो थियो। त्यो मुखले गर्ने औपचारिक स्वागत मात्रै थिएन, आआफ्ना घरमा शरणार्थीहरूलाई बसाउने र ख्वाउने प्रबन्ध गरेर मानिसहरू उनीहरूलाई लिन त्यहाँ पुगेका थिए।
रोमानियादेखि पोल्यान्ड र जर्मनीसम्म युक्रेनी भाषा जान्ने स्थानीयहरूले शरणार्थी केटाकेटीलाई स्थानीय स्कुलमा भर्ना भएर पढ्न सघाउन स्वयंसेवकका रूपमा दोभाषेको काम गरे। मनोविज्ञ र मानसिक रोग विशेषज्ञहरूले निःशुल्क परामर्श दिए। युरोपबाहिरका मनकारीहरूले समेत युक्रेनीहरूका लागि ती देशमा एयरबिएनबीमा कोठा बुक गरिदिएर बिल तिरिदिए।
किभबाट लखेटिएपछि एउटा रेडियोका दुई सञ्चालकले पश्चिमी सहर लभिभ नजिकैको एउटा गाउँको एउटा कोठाबाट रेडियो कार्यक्रमहरू बनाए। त्यो रेडियोले प्रसारण गरेको सूचनाका आधारमा युक्रेनी सेनालाई सख्त जरूरत भएका ल्यापटपदेखि अरू बन्दोबस्तीका सामग्री घन्टाभरमा जम्मा हुन थाले। त्यो रेडियोले विस्थापित केटाकेटीलाई सुत्नुअघि मधुरा गीत सुनाउनेदेखि मानसिक विक्षिप्तताको संघारमा पुगेकाहरूका लागि विज्ञको परामर्श प्रसारण गर्नेसम्मको काम गर्यो।
युद्धको सुरूआतदेखि नै पेशेवर पत्रकारदेखि स्वेच्छाले पत्रकारिता गर्ने, वृत्तचित्र बनाउनेहरू र सर्वसाधारणसम्म आफ्नो ज्यान जोखिममा पारेर समेत रूसका युद्ध अपराधहरूको प्रमाण संकलन गर्न खटिएका छन्। यो युद्धको क्रूरता दर्शाउने विश्वविख्यात तस्बिर यही मार्च ६ को न्यूयोर्क टाइम्सको कभरमा छापिएको थियो।
किभबाट भाग्ने क्रममा रूसको आक्रमणबाट केही मिनेटअगाडि मारिएका एउटी आमा र उनका दुई बच्चासहितको त्यो तस्बिर खिच्नुअगाडि उक्त पत्रिकाकी फोटो पत्रकार लिन्सी अडारियो र उनका स्थानीय सहयोगीले झन्डै आफ्नै ज्यान गुमाएका थिएनन्। मार्च महिनामा मात्रै यो युद्धमा कम्तीमा पाँच जना पत्रकार र एक जना वृत्तचित्र निर्माताले ज्यान गुमाएका थिए।
तर युद्धमोर्चाभन्दा टाढा रहेका संसारभरका हजारौं मानिस मिलेर रूसी युद्ध अपराधहरूको प्रमाण जुटाउने, व्यवस्थित गर्ने र अन्तर्राष्ट्रिय फौजदारी अदालतसम्म पुर्याउने काम गरिरहेका छन्। तीमध्ये धेरैले सामाजिक सञ्जालमा अनवरत आइरहने तस्बिर र भिडिओको विश्लेषण गरिरहेका छन्। ड्रोन क्यामरा र स्याटलाइट प्रविधिले त्यस्तो खोजलाई मद्दत गरेका छन्।
सबै खाले माध्यमबाट आउने त्यस्ता सूचनाहरूलाई संग्रहित र व्यवस्थित गरेर सार्वजनिक गर्ने 'बेलिङक्याट' त्यस्तो खोजको अग्रपंक्तिमा छ। उनीहरूको शोधले भविष्यमा हुन सक्ने फौजदारी मुद्दाका लागि प्रमाण जुटाउने मात्र नभई रूसले झूटा दाबी गर्नासाथ तिनको खण्डन गर्ने प्रमाणहरू पनि सार्वजनिक गर्न सघाएको छ।
यही अप्रिल ९ मा विख्यात गायक जोन लेननका छोरा जुलियन लेननले वार्साको एउटा हलमा मैनबत्तीहरूको उज्यालोमा आफ्ना बाबुको सन् १९७१ को प्रख्यात गीत 'इम्याजिन' गाए। जुलियनले विश्वव्यापी भाइचारा र शान्तिको आह्वान गर्ने त्यो मर्मस्पर्शी गीत गाइरहँदा युक्रेनमाथि रूसले भीषण हमला गरिरहेको थियो। तर अर्कोतिर त्यही कार्यक्रममा युक्रेनबाट त्यति बेलासम्म विस्थापित भइसकेका ४५ लाखभन्दा बढी शरणार्थीहरूका लागि दस अर्ब डलरको सहयोग उठ्यो।
यो युद्धको सुरूतिरै बेलायती फुटबलर डेभिड बेकह्मले आफ्नो ७ करोडभन्दा बढी फलोअर भएको इन्स्टाग्राम खाता युक्रेनको खार्किभको प्रसूति अस्पताल प्रमुख इरिनालाई प्रयोग गर्न दिए ताकि युद्धको बीचमा महिलाहरूको ज्यान जोगाउन उनले सन्देश पठाउन र सहयोगहरू उठाउन सकून्।
यो युद्धका सुरूआती दिनमा जब रूसको जित निश्चित मानिएको थियो, रातारात रूसी सेनाको विशेष टुकडी युक्रेनी राष्ट्रपति जेलेन्स्किी बसेको घरको पर्खालनजिकै पुगेको थियो। निरन्तर रूसी फौजको प्रगतिबारे जासूसी अनुगमन गरिरहेका पश्चिमा देशहरूले उनलाई ज्यान जोगाउन त्यो क्षणमा किभबाट र युक्रेनबाटै बाहिर पुर्याउने प्रस्ताव गरेका थिए।
सैन्य संरचनाको केन्द्रमा रहेका जेलेन्स्की त्यसरी देश छाडेर हिँडेका भए रातारात सिंगो किभ रूसको नियन्त्रणमा जाने र अर्को दिन रूसी स्वार्थअनुसारको अर्को व्यक्तिले किभबाट शासन गर्ने निश्चित थियो। एउटा सार्वभौम देशको सेना पनि रातारात गुरिल्ला युद्ध लड्ने विद्रोही मिलिसियामा बदलिने थियो।
जेलेन्स्कीले किभ छाडेर सापेक्षतः सुरक्षित पश्चिमी युक्रेनको लभिभतिर मात्रै गएको भए पनि किभको केन्द्रीय राजनीतिक र सैन्य संरचना छिन्नभिन्न हुन्थ्यो। तर श्रीमती र छोराछोरीसहित घरमा थुनिएका जेलेन्स्कीले आफूलाई उद्धार गर्ने प्रस्ताव ठाडै नकारेर पश्चिमा देशहरूसित हतियार र गोलीगठ्ठाको माग गरे।
त्यो समाचार निस्कनासाथ युक्रेनभर देशभक्ति र लडाकु भावनाको लहर चल्यो। राष्ट्रपतिले किभ नछाडेपछि सरकारी संयन्त्रको कसैले पनि आफ्नो ठाउँ र काम छाडेन। आपतकालमा पनि राज्यले गर्ने अत्यावश्यक काम भइरहे। किभबाहिर बुचा नजिकैको होस्टोमेल विमानस्थल कब्जा गरेर सैन्यबेस बनाउने रूसको प्रयासलाई त्यहाँका युक्रेनी सैनिकहरूले निस्तेज पारिदिए।
एकै रातमा किभ कब्जा गर्न नसके पनि रूसले केही दिनमा जेलेन्स्कीको सरकार निस्तेज पार्न निकै जोडबल गर्यो। जेलेन्स्कीको हत्याकै लागि चेचेन लडाकुहरूको दस्ता खटाइएको भन्ने समाचारले किभमा गम्भीर भयको छाया पार्यो।
तर आक्रमणको साता बित्दा-नबित्दै युक्रेनले आफ्नो हात माथि पारिसकेको थियो। त्यसबीच सिलसिलाबद्ध रूपमा भावुक भिडिओहरू सामाजिक सञ्जालमा पोस्ट गरेर जेलेन्स्कीले विश्वव्यापी रूपमा सहयोगको याचना गरिरहेका थिए। अर्कोतिर रूसले युक्रेनको सञ्चार संरचना ध्वस्त पारेर इन्टरनेट अवरूद्ध पार्न चाहन्थ्यो ताकि किभबाट आउने सन्देश र युक्रेनी सेनाको आन्तरिक सञ्चार चार अवरूद्ध होस्।
त्यो अवस्थामा युद्धको तेस्रो दिन युक्रेनका उपप्रधानमन्त्रीले ट्विटरमार्फत स्याटलाइटबाट चल्ने इन्टरनेटका लागि विश्वकै धनी व्यक्ति एलन मस्कको कम्पनी स्पेस-एक्ससँग सहयोग मागे। त्यसको पर्सिपल्ट स्पेस-एक्सको स्टारलिंक स्याटलाइट इन्टरनेटको टर्मिनल किभमा पुगिसकेको थियो। (समाचारहरूका अनुसार रूसले युक्रेनलाई सैन्य घेराबन्दी गरिरहँदा आक्रमण सुरू हुनुभन्दा छ हप्ता अगाडिदेखि स्पेस-एक्सले त्यो भौतिक पूर्वाधारको तयारी गरिरहेको थियो।)
यसरी रूसी आक्रमणको पहिलो सात्राभित्रै युक्रेनले रूसी आक्रमणले कुनै असर पार्न नसक्ने अत्याधुनिक प्रविधिको सञ्चार संयन्त्र निर्माण गर्यो। त्यही समयमा रूसले विकास गरेको गोप्य सञ्चार प्रणालीले काम नगरेकाले रूसी पक्ष युक्रेनकै टेलिकम र इन्टरनेट संरचना प्रयोग गर्न बाध्य थियो।
पछिल्ला साताहरूमा रूसले पूर्वी युक्रेनको डनबास क्षेत्रको भूभाग कब्जा गर्दै निरन्तर अघि बढिरहेको छ। त्यसैले कतै रूसले खनिज सम्पदाले धनी पूर्वी युक्रेनको ठूलो हिस्सा र दक्षिणतिर त्यसलाई २०१४ मा आफैं कब्जा गरेको क्राइमियासम्म जोड्ने जमिनको हिस्सामा स्थायी कब्जा जमाउने त होइन भन्ने प्रश्न उठिरहेको छ। त्यसो भएमा भ्लादिमिर पुटिनले युक्रेनमा आफ्नो विशेष सैन्य अपरेसन सफल भएको दाबी गर्न पाउने छन् भने एक इन्च भूभाग पनि रूसलाई नदिने भनेर लडिरहेका युक्रेनीहरूका लागि त्यो ठूलो क्षति हुनेछ।
तर फेब्रुअरी २४ मा रूसले युक्रेनमा आक्रमण थालेलगत्तै जेलेन्स्कीलाई हटाएर राष्ट्रपति बन्न भनेर युक्रेनका रूस–समर्थित पूर्व राष्ट्रपति भिक्टोर यानुकोभिच बेलारूसको राजधानी मिन्स्क पुगिसकेका थिए। यी तिनै राष्ट्रपति यानुकोभिच हुन् जसले २०१४ को युक्रेनी मैदान क्रान्तिका बेला सुरक्षा फौजबाट सय जना प्रदर्शनकारी नागरिकको हत्या गराएपछि भागेर रूस पुगेका थिए।
युक्रेनका लागि पुटिनको योजना सफल भएको भए आज उनै यानुकोभिचले रूसी सेनाको मद्दतले सिंगो युक्रेनमा फलामे हातले शासन गरिरहेका हुने थिए, जसरी बेलारूसमा लुकाशेन्कोले गरिरहेका छन्।
त्यसैले यो युद्धमा युक्रेनले केही भूभाग गुमायो भने युक्रेनी समाज र देशका लागि त्यो पीडादायी त हुनेछ तर सिंगो देशलाई पराजय र पराश्रयको अपमानमूलक अवस्थाको ढिकबाट फर्काउनु सानोतिनो उपलब्धि होइन।
झट्ट हेर्दा युक्रेनजस्तो सानो देशले रूसजस्तो सैन्य महाशक्तिको सफलतापूर्वक प्रतिकार गर्नु अनौठो देखिन्छ। तर आफ्नो अस्तित्वका लागि लडिरहेका युक्रेनीहरूलाई संसारका सबै कुनाका मानिसहरूको अनेक खाले सहयोग प्राप्त भइरहेको छ।
आफ्ना खेलौना शरणार्थी भएर आउने युक्रेनी बालबच्चाका लागि छाडिदिने पोलिश केटाकेटीदेखि सैन्य र अन्य प्रयोगका लागि अत्याधुनिक सञ्चार प्रविधि एकाध दिनमा उपलब्ध गराउने विश्वकै धनाढ्य व्यक्तिसम्मले युक्रेनी प्रतिरोधलाई सघाइरहेका छन्।
यो युद्धमा डटेर रूसको प्रतिकार गर्ने मुख्य भूमिका भने ज्यानलाई प्रत्यक्ष जोखिम हुँदा पनि डेग नचली कर्तव्य पूरा गर्ने युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र संसारकै ठूलो आणविक हतियारको भण्डार भएको देशको बलियो सेनालाई खाली हातले प्रतिकार गर्न पनि तत्पर हुने स्वतन्त्रताप्रेमी युक्रेनी नागरिकहरूको छ।