असार १५ गते सामाजिक सञ्जालमा धेरैले धान दिवस मनाएको, रोपाइँमा रमाएको तस्बिरहरू राखे। दैनिक अखबारहरूमा पुनः एकपटक धान खेतीको महत्व र धान उत्पादनमा आत्मनिर्भरताका लेखहरू लेखिए। मेसिनबाटै धान रोपिएका फोटा पनि सार्वजनिक भए।
यथार्थमा धान दिवसको अवसरमा देखिएका यी सब गतिविधि कर्मकाण्डी हुन्। वर्षको एक पटक गरिने अनि बिर्सिने। धान दिवसको रमाइलोबीच धेरैले बिर्सिने वा थाहा नपाएको यथार्थ के भने, धान खेती तस्बिरमा देखाइएजस्तो सहज छैन। मेसिनबाट रोपाइँ हुने कुरा पनि ऊँटको मुखमा जिराजस्तै।
माटो तयार गर्ने, ब्याड राख्ने, ट्रयाक्टर वा हलोले खेत तयार गर्ने, रोप्ने, मल हाल्ने, सिँचाइ गर्ने, गोडमेल गर्ने, रोगकीराको ओखती गर्ने, धान काट्ने, सुकाउने, भण्डारण गर्ने, चामल बनाउने इत्यादि धान खेतीका नियमित प्रक्रिया हुन्। झट्ट हेर्दा सजिलो देखिए पनि धान खेतीमा निकै दुःख छ।
आकाशे पानीमा निर्भर हुँदा रोपाइँको समय पनि फरफरक पर्न जान्छ। मलको समस्या विगत दुई-चार वर्षदेखि ज्यूँकात्यूँ छन्। जे जस्तो प्रतिबद्धता जनाए पनि समयमा मल नआउँदा किसान हतोत्साही भएका छन्। सरोकारवालाहरू कहिले कर्मचारी त कहिले बाह्य परिस्थिति देखाएर पन्छिने गरेका छन्।
गत वर्षको तुलनामा यो वर्ष असार १० सम्म धान रोपाइ १० प्रतिशतले घटेको छ। अर्थात् २०७८ को असार १० सम्म देशभर २७ प्रतिशत रोपाइँ सकिएको थियो । यस वर्ष सोही अवधिमा १७ प्रतिशत धान खेतमा मात्रै रोपाइ हुन सकेको छ।
विस्तारै व्यावसायिकता मौलाउँदै गए पनि हाम्रो खेती प्रणाली निर्वाहमूखी छ। धानबालीका लागि सामान्य १२० दिन भए पुग्छ। त्यसपछि गहुँ, मकैका लागि ७० देखि ८० दिन काफी छ। बाँकी १६५ दिन भने यत्तिकै छोडिएको देखिन्छ। यसको अर्थ हो, खेत पूरै उपयोग गरिएको छैन। यसो हुनुमा पक्कै पनि बिउ, मल, सिँचाइ, श्रमिक अभाव मुख्य कारणहरू हुन्।
धान निर्यातकर्ताबाट आयातकर्ता
सन् असी दशक आधाउधीसम्म नेपालले धान निर्यात गरेको गर्थ्यो। आर्थिक वर्ष ०३५/३६ मा नेपालले २४ करोड ३८ लाख ६३ हजार मूल्यको चामल निर्यात गरेको तथ्यांक छ।
आयातकर्ता बन्नुमा हाम्रो खानपान ‘भातमुखी’ हुँदै जानु हो। पहिले पहाडी क्षेत्रमा त्यहीँका उब्जनीले जीवनयापन गरिन्थ्यो। मकै, भटमास, कोदो, आलु इत्यादिमा निर्भर स्थानीय अहिले भातपारखी भएका छन्। जबकि मकै, भटमास, कोदो उत्तिकै स्वस्थ्यकर हुन्। तराईमा साँझ रातीको खानपिनमा गहुँको रोटीलाई प्राथमिकता दिइन्थ्यो। अहिले दुवै छाक प्रायःजसो घरमा भात नै पाक्छ।
आयातमुखी अर्थतन्त्र
माछा, मासु, फलफूल, खानेतेल लगायत अधिकांश खाद्यान्न हामी आयात गरिरहेका छौं। तथ्यांक हेर्ने हो भने हरेक वर्ष आयात खर्च बढ्दै गइरहेको देखिन्छ। बढ्दो आयातका कारण विदेशी मुद्रा कम हुँदै गएको छ।
अहिले नेपालले कुल चामल मागको कम्तीमा एक चौथाई आयात गर्छ। भन्सार विभागको तथ्यांकअनुसार नेपालले दैनिक औसत करिब साढे १३ करोडको धान र चामल आयात गरिरहेको छ। चालु आर्थिक वर्षको पहिलो ११ महिनामा नेपालमा ४५ अर्ब २९ करोड रूपैयाँको धान–चामल र धानको बिउ आयात भएको छ।
समग्रमा कृषि तथा पशुजन्य उत्पादनको आयात आर्थिक वर्ष २०७८/७९ को फागुनसम्म २ खर्ब ८८ अर्ब ६७ करोडको पुगेको छ। २०७७/७८ मा यस्तो आयात २ खर्ब १२ अर्ब ८१ करोडको थियो।
घट्दै धान खेती
पहाड छोडेर मानिसहरू सहर पस्दा पहाडका धेरै जमिनमा खेती हुन नसकेको अवस्था एकातिर छ भने अर्कोतिर तराईमा जग्गाको व्यापक खण्डीकरण बढेको छ। खण्डीकरण हुनुको मुख्य कारण अंशबन्डा बताइए पनि बच्चाहरूको पढाइ, लेखाइ, औषधोपचारमा जग्गाको व्यापक किनबेच भइरहेको छ।
नेपालमा मागअनुसार उत्पादन नहुने र बाढी, मल अभाव र प्रकोप लगायत कारणले उत्पादन घट्ने अवस्था देखिएको छ। कृषि मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७७/७८ मा १४ लाख ७३ हजार ४ सय ७४ हेक्टरमा रोपाइँ हुँदा ५६ लाख २१ हजार ७ सय १० टन धान उत्पादन भएको थियो।
२०७८/७९ मा १४ लाख ७७ हजार ३ सय ७८ हेक्टरमा धान रोपाइँ हुँदा समेत ८.७४ प्रतिशतले घटेर ५१ लाख ३० हजार ६ सय २५ टनमा झरेको छ।
चैते धान– समाधानका सूत्र
चामलको आत्मनिर्भरताका लागि समयसापेक्ष प्रविधिको मिल सञ्चालन गर्नु आवश्यक छ। मिलको कच्चा पदार्थ ‘धान’ को आपूर्ति कसरी हुनसक्छ र वर्षको कति पटक हुन सक्छन् त्यो अहम प्रश्न हो। वर्षको एक पटकभन्दा दुई पटककमा खर्च अझ कम हुन्छ।
नेपालको परिप्रेक्ष्यमा चैते धान (रोपाइँ फागुन, दाउनी असार) को ठूलो मान्यता छ। ‘अघनी धान’ (रोपाइँ असार, दाउनी कात्तिक) को आठ महिनापछि चैते धान हुन्छ। मतलब ठ्याक्कै ६ महिना हुँदैन। घामको रापको सय क्यालोरी फरकले धानको उत्पादकत्वमा फरक पार्ने रहेछ।
त्यसैकारण मिलको क्षमताको ठ्याक्कै आधा खपत चैते धानले गर्दैन। अर्को अवस्था चैते धान मध्य वर्षामा दाउनी हुने भएको हुनाले धानमा २५ प्रतिशतदेखि ३० प्रतिशतसम्म ओस हुन्छ। धान दाउनी हुनेबित्तिकै सुकाउन जरुरी छ। भण्डारणका लागि धानमा १३ प्रतिशतको ओस राख्न जरुरी छ। मध्य वर्षामा धान दाउनीको व्यवस्थापन किसानहरूका लागि जटिल हुन्छ। मौसम बदलावका कारण ताप्रकम तलमाथि हुँदा धान बिग्रन्छ। त्यसैले नोक्सानी हुने सम्भावना हुन्छ। यसले गर्दा धानको मूल्य र परिमाण कम पाउने अवस्था सिर्जना हुन्छ।
चामलमा राष्ट्र आत्मनिर्भर हुन चैते धानको व्यवस्थापन व्यावहारिक र व्यावसायिक हुन जरुरी छ। हामीले यस समस्याको समाधानलाई नारा र गफमा मात्र सीमित नराखी नेपाल कृषि केयर र आरजु राइस मिलमार्फत व्यावहारिक प्रयोग गर्ने निर्क्यौल गर्यौं। धान दाउनी हुने बित्तिकैको व्यवस्थापनको समाधानमा ठूलो लगानी गरी करिब ४०० टन चैते धान किसानबाट सिधै किन्ने कार्यक्रम अगाडि बढायौं।
राष्ट्रको आवश्यकता लामो मसिनो चामल भएकोले ‘तेजगोल्ड’ जातका हाइब्रिड धान लगाउन किसानसँग अन्तरक्रिया गरी विश्वास दिलायौं। यो क्रम बडो कठिन रह्यो। तर पनि करिब १०० बिगाहाका किसानलाई चलिरहेको मूल्यभन्दा करिब २५ प्रतिशत बढी मूल्य स्थापित गरी धान मिलमा ल्याएको दुई दिनभित्रै खरिद मूल्य भुक्तानी गर्ने सम्झौता गर्यौं।
अहिले हामी हर्षित छौं। यो कार्य सफल भयो, अब राष्ट्र चामलमा आत्मनिर्भर हुन सक्छन् भन्नेमा पूर्ण विश्वस्त भएका छौं। सैद्धान्तिक गफको आधारमा होइन व्यावहारिक प्रयोगबाट। यसका लागि हामीले बुद्ध एयरमार्फत करिब डेढ दशकको विभिन्न प्रयोगपछि निर्क्यौलमा पुगेका छौं।
यसपालि धानको उत्पादन सरदर करिब ३० प्रतिशत बढेको छ। तर विकासे बिउ हाइब्रिडको सिद्धान्त अनुसार समयसापेक्ष रेखदेख गरेको खण्डमा सय प्रतिशत धान उत्पादन बढ्न सक्ने कुरा धेरै किसानले स्थापित गरेका छन्।
किनेको धान तुरुन्त सुकाउन स्वचालित यन्त्रहरूबाट सुकाई भण्डार र व्यवस्थापन पनि सफलताका साथ स्थापित गर्यौं। यसपालिको अनुभवबाट आउने वर्षको चैते धानको आधार मूल्य यस वर्षको भन्दा बढी दिन सक्नेमा पूर्ण विश्वस्त छौं।
आरजु राइस मिलको वार्षिक क्षमता २० हजार टन धान भण्डारण र चैते धानको ७ हजार टन जुन करिब २ हजार बिगाहा बराबरको फसल हो। अघनी धानको आवश्यकता करिब १३ हजार टन हो जुन करिब थप १५०० बिगाहा हो। मिललाई आवश्यक पर्ने धान उब्जनीका लागि वार्षिक ३५०० बिगाहा पर्न आउँछ। २० हजार टन धान भनेको १२ हजार टन चामल र २ हजार टन कनिका हो।
माथिकै मोडलमा आरजु राइस मिलले तदारूकताका साथ कार्यहरू गरिरहेको छ। २०७९–८० सालसम्ममा पूर्ण रूपले स्थापित भइसकेपछि आगामी ५ वर्षभित्र आत्मनिर्भरको बाटोमा राष्ट्रलाई डोर्याउनेमा हामी पूर्ण विश्वस्त छौं।
धानको उत्पादकत्व बढाएर नेपाल धानमा आत्मनिर्भर हुने, भोकमरी हुन नदिने, धान–चामल निर्यात गर्ने र देशको आर्थिक वृद्धिदर बढाउने एउटा प्रमुख माध्यम धान नै हो। अब कर्मकाण्डी सोचाइलाई त्याग्न जरूरी छ। खेतीकिसानीका लागि सबैको सद्भाव र सहयोग अनिवार्य छ।