२०७९ असार ८ गते। राति साढे १० बजे। घरमा सबै सुतिसकेका छन् तर म यो आक्रोश पत्र लेख्न बसेको छु।
केही घन्टा मात्रै भयो एक आत्मीय महिला साथीले आफूमाथिको यौन हिंसाको किस्सा सुनाउनुभएको। म अझै स्तब्ध छु। निद्रा परेको छैन। त्यसैले भोलि लेख्दा हुने यी शब्द अहिले लेखिबसेको छु।
यो विषयलाई दुई भाग र दुई लेखमा टुंग्याउने भएकाले म यहाँ पीडकहरूको पहिचान खुल्न सक्ने कुनै विवरण राख्दिनँ। खाली उनीहरूको कृत्यको मात्रै चर्चा गर्छु। पीडितको पहिचान त मैले कुनै पनि भागमा खुलाउने कुरै भएन।
पीडकहरूमध्ये सबैजसो मार्क्सवादी क्रान्तिकारीहरू छन्। त्यो पनि नेपालका वाम पार्टीहरूको धमिलो राजनीतिभन्दा केही दुरीमा रहेका शुद्धतावादी क्रान्तिकारीहरू। महिला अधिकारबारे चर्को नाराबाजी र पैरवी गर्नेहरू।
हिंसामा संलग्न एक जना मात्रै हुन्। तर उनलाई बचाउन पीडितमाथि शृंखलाबद्ध मानसिक हिंसा गर्नेहरूको संख्या धेरै छ। तीमध्ये केही दिउँसोसम्म मेरा आफ्नै पनि 'आइडल' हरू थिए।
साथीको विवरण सुनेपछि म एकैछिन काममा फर्केँ। साँझ परेपछि घर निस्कनुअघि रूसी क्रान्तिसम्बन्धी एउटा पोडकास्टका पुराना अंकहरू उधिनेर एउटा प्रसंग खोजेँ।
१२० वर्षअघि भ्लादिमिर लेनिनले क्रान्तिका लागि भनेर एक जना महिला कमरेडप्रति जस्तो व्यवहार गरेका थिए, २०२२ मा आउँदा फेरि त्यसको पुनरावृत्ति भएको थियो। त्यो पनि लेनिनका असली नेपाली शिष्य हौं भन्नेहरूबाटै।
त्यो पोडकास्ट शृंखला झन्डै असी घन्टा लामो भए पनि झन्डै वर्ष दिनअगाडि मोटामोटी कुन कालखण्डको विवरणमा त्यो प्रसंग सुनेको भन्ने मलाई थाहा थियो।
त्यसैले एक घन्टा जतिको मेहनतपछि मैले त्यो प्रसंग फेला पारेँ र फेरि एकपल्ट सुनेँ। (सुन्न यहाँ क्लिक गर्नुहोस्।)
धेरै रूसी क्रान्तिकारीहरूझैं निकोलाइ बाउम्यान पनि सन् १८९९ मा जारशाहीको आन्तरिक निर्वासनमा परेका थिए। त्यस क्रममा उनको एक विवाहित महिलासित सम्बन्ध रह्यो। महिलाले उनको बच्चा जन्माइन्। लगत्तै बाउम्यानको निर्वासन सकियो। त्यहाँबाट निस्केपछि उनीसित दुई विकल्प थिए- एक, सम्बन्ध स्विकार्नु अनि प्रायश्चित गरेर अघि बढ्नु। दुई, ती महिला कमरेडको चरित्र हत्या गरेर आफूलाई ओभानो देखाउनु।
निर्वासनबाट निस्कनासाथ उनले दोस्रो विकल्प समातेर ती महिलाको खुल्लमखुल्ला चरित्र हत्या गर्न थाले।
ती महिला र उनका श्रीमान दुवै क्रान्तिकारी दस्ताका सदस्य भएकाले दुवैको अपमान र बेइज्जतीको सीमा रहेन।
बाउम्यानले कतिसम्म गरे भने ती महिलालाई ‘भर्जिन मेरी’ का रूपमा कार्टुनमा उतारे अनि तिनको पाठेघरमा बच्चाको तस्बिर कोरेर ‘बच्चा कोजस्तो देखिन्छ?’ भन्ने शीर्षक राखे।
अपमान र बेइज्जती असहनीय भएपछि महिलाले आफ्ना कुरा एउटा चिठीमा लेखेर झुन्डिएर आत्महत्या गरिन्।
उनका पतिले औपचारिक रूपमा बाउम्यानविरूद्ध रसियन सोसल डेमोक्रेटिक लेबर पार्टी भनेर संगठित क्रान्तिकारी पार्टीमा उजुरी गरे।
पार्टीका धेरै कमरेडहरू बाउम्यानसित क्रूद्ध भए र १९०३ को पार्टी कंग्रेसमा उनीमाथि कारबाही हुनुपर्ने माग उठ्यो। मार्तोभ, ससुल्येज र एक्सलरोड गरी निर्णायक तहमा रहेका नेताहरूले उनलाई पार्टीबाट निस्कासन नै गर्नुपर्ने माग राखे।
तर बाउम्यान लेनिनका विश्वासपात्र थिए अनि लेनिन पार्टीका उदाउँदा नेता।
लेनिनले त्यो विषयलाई पार्टी बैठकमा प्रवेशसमेत दिएनन्। भने, 'त्यो उनीहरूको व्यक्तिगत मामला हो र पार्टीको सरोकारभन्दा बाहिरको कुरा।'
यसरी लेनिनको भिटोले बाउम्यानलाई बचायो। पार्टीमा एउटा नजिर बसायो। त्यही वर्ष पार्टी बोल्शेभिक र मेन्शेभिक गरी दुई चिरा हुनुका कारणहरूमध्ये त्यो प्रकरणलाई पनि एक मानिन्छ।
त्यो घटनाको डेढ दशक नबित्दै लेनिन नेतृत्वको बोल्शेभिक पार्टीले रूसको मक्किँदो जारशाहीबाट शासनसत्ता हत्यायो।
वर्षौंको गृहयुद्धपछि अरू मिलिसियाहरूलाई हराएर साम्यवादको नाममा फरक किसिमको व्यवस्था सुरू गर्यो।
संसारभरका मानिसलाई लाग्यो- सोभियत संघमा आदर्श खालको समतामूलक समाज निर्माण भइसक्यो। त्यहाँ वर्गीय विभेद उन्मूलन हुनासाथ लैंगिक, जातीय, क्षेत्रीय आदि विभेदहरू पनि अलप भए।
त्यसैले संसारभरका कम्युनिस्टहरूले भन्न थाले- समानताका बाँकी सबै लडाइँ थाँती राखेर वर्गविहीन व्यवस्थाका लागि लडौं, सर्वहाराको अधिनायकवादका लागि लडौं। त्यो व्यवस्था आएपछि मात्रै सबै खाले असमानताका समस्या थोकमै समाधान हुन्छन्।
संसारभरका महिला, दलित, आदिवासी र सीमान्तकृत मानिसले त्यसलाई पत्याए। क्रान्ति सफल बनाउन भनेर रगत पसिना बगाए।
अगुवा क्रान्तिकारीहरूको सामन्ती र शिकारी ‘बाउम्यान’ प्रवृत्ति ज्यूँका त्युँ रह्यो। तिनले विभेद, असमानता र हिंसा कायम राख्न अनेक खाले जुक्ति सुझाए, जसरी लेनिनले बाउम्यानलाई बचाउन भनेका थिए- यो पीडक र पीडितहरूको व्यक्तिगत मामला हो र यो विषय पार्टीको कार्यक्षेत्रभित्र पर्दैन।
वामपन्थी बौद्धिकहरूले पनि फूलबुट्टा भरेर लेख्दै गए- क्रान्तिका क्रममा जो जो क्रान्तिकारीहरूको वासना र हिंसाको शिकार भए, उनीहरूले क्रान्तिका लागि सांस्कृतिक बलिदान गरे- जसरी निकोलाइ बाउम्यानको शिकार बनेकी महिला कमरेडले गरेकी थिइन्। उनीहरूले कुनै असमञ्जसमै नपरी समानताको गाथा गाउँदै हिँडे।
साथीको प्रकरण कुनै दिन सतहमा आयो भने कमरेडहरूले के भन्नेछन्, मलाई थाहा छैन। तर त्यो सतहमा आउनुअगाडि भने संसारभरका यौन हिंस्रक र दुराचारीहरूले जे जे गर्छन्, उनीहरूले पनि त्यही गरेछन्।
एक, पहिले गल्ती स्विकारिसकेको पीडकले बयान फेरेर आफू निर्दोष भएको जिकिर गर्ने।
दुई, क्रान्तिकारीहरू मिलेर पीडितलाई दोष लगाउने, उसको नियत वा चरित्रमा खोट खोज्ने। पीडकको देवत्वकरण गर्दै कसरी ऊबाट यौन हिंसा असम्भव छ भन्ने भाष्य सिर्जना गर्ने।
तीन, यौन हिंसाको मूल मुद्दै बिर्सिने गरी विषयान्तर गरेर भुलभुलैया सिर्जना गर्न खोज्ने। पीडितले कसैलाई बताए किन बताएको भनेर खत थाप्ने। नबताए किन चुप लागेको भनेर प्रश्न उठाउने। बहसले मूल मुद्दाभन्दा परपरै चक्कर लगाउने अवस्था सिर्जना गर्ने।
चार, पीडककी श्रीमतीलाई उपयोग गरेर पीडितलाई ब्ल्याकमेल गर्ने। पीडकका भक्त वा अनुयायी महिलाहरूलाई परिचालन गरेर पीडकको भाष्य स्थापित गर्ने।
पीडक र उनका परिवारले किन यस्तो बाटो समाते होलान् भन्ने म बुझ्न सक्छु। तर एउटा ‘क्रान्तिकारी’ दलको महिला युवा नेता पनि पीडितको खोट खोज्ने त्यो भीडमा मिसिएको सुन्दा त म झनै स्तब्ध भएँ।
यो आक्रोश पत्र सबै पीडकहरूले पढ्नेछन् भन्नेमा म विश्वस्त छु। त्यसैले यो उनीहरूका लागि पीडितको साथी हुनुका नाताले मेरा तर्फबाट एउटा खबरदारी पत्र पनि हो- लेनिनले बाउम्यानलाई बचाएयताका सवा शताब्दीमा केही कुरा उस्तै छन् तर सबै उस्तै छैनन्। संसारमा धेरै परिवर्तन भइसकेका छन्।
महिलाहरूको संगठित प्रयासबाट यौन हिंसा गरेबापत हार्वे वेन्स्टेइनजस्ता शक्तिशाली शिकारीहरू अहिले जेलको हावा खाइरहेका छन् भने बेलायतको राजसंस्थाका सदस्यले राजकीय शान र मान खोसाएर अर्को देशको अदालतको कठघरामा उभिएका छन्।
यी शब्दहरू लेख्दै गर्दा ज-जसका अनुहार पीडकका रूपमा मेरो मानसपटलमा घुमिरहेका छन्, तिनको सिंगो जीवन र कृति त्यही एउटा घटनामा उनीहरूले देखाएको रवैयामा सीमित छैन भन्ने मलाई राम्रैसित थाहा छ।
पीडित साथी र म दुवै जनाको उनीहरूप्रति एक हदको सदाशय पनि छ- उनीहरू अझै पनि यो मामलामा इमानदार भएर आऊन्। गल्ती स्विकारून्। क्षमा मागेर प्रायश्चित गरून्। यौन हिंसा गर्नेले त्यो हिंसाका लागि, उनका सहयोगीहरूले ढाकछोप र पीडितमाथिको हिलो छ्यापाइका लागि।
हिंसाको गम्भीरता बढी भएको भए स्वतः त्यो अवस्था रहने थिएन तर अहिलेको अवस्थामा साथीको विवेकले पनि के देखेको छ भने वास्तवमै गल्तीका लागि प्रायश्चित गरेर अब तिनलाई नदोहोर्याउने प्रण उनीहरूले गर्छन् भने एउटा मौका दिनुपर्छ।
तर होइन, अझै पनि क्रान्तिकारी मुखुण्डो लगाएर पीड कको देवत्वकरण जारी राख्छन् र पीडितमाथि प्रश्न गरिरहन्छन् भने त्यसो गर्ने सबै जनाको मुखुण्डो उतारेर उनीहरूको असली अनुहार सार्वजनिक गर्नुको विकल्प रहने छैन।
मध्यरात १२ बजिसकेको छ। यति आक्रोश पोखेपछि आज मलाई निदाउने बाटो खुलेको छ। घटनाक्रमले मुठभेडको दिशा लिएछ भने यसको भाग दुईमा फेरि भेटौंला।