२०७४ सालको स्थानीय चुनावमा विवेकशील र साझा पार्टीले चाहेजस्तो नतिजा त निकाल्न सकेनन्। तर काठमाडौंको मेयर पदका लागि उनीहरूका उम्मेदवारले पाएको मत उत्साहजनक रह्यो।
धेरैलाई लाग्यो त्यो परिणामले नेपालमा वैकल्पिक राजनीतिका लागि सम्भावनाको ढोका खोल्यो। जोसैजोसमा दुई दलबीच पछिल्लो आम चुनावभन्दा अगाडि नै एकता भयो। हामी धेरैलाई लाग्योः अब त पक्कै केही हुन्छ।
अहिले फर्केर हेर्दा लाग्छ, पछिल्लो स्थानीय चुनावको त्यो झिनो सफलता पछि गएर झनै ठूलो र निराशाजनक असफलतामा बदलियो।
पानी र तेलजस्ता विवेकशील र साझा मिलेर एउटै पार्टी बनेपछि विवेकशीलले आफ्नो हुँदाखाँदाको गतिशीलता गुमायो। एकतापछि राजनीतिक पुँजी त थपिएन नै विवेकशीलले वर्षौंसम्म विभिन्न अभियानहरूमा लागेर बनाएको सामाजिक पुँजी पनि गुमायो।
उता त्यही समय नयाँ राजनीतिक शक्ति बनाउँछु भनेर बाबुराम भट्टराईले खोलेको नयाँ शक्ति पार्टी अनेक हण्डर खाँदै उपेन्द्र यादव नेतृत्वको पार्टीमा मिसिएर समाजवादी पार्टी बन्यो।
बिस्तारै नेपालका ठूला दलहरूले फरक प्रकृतिका नयाँ राजनीतिक शक्तिहरूबाट कुनै जोखिमको महसुस गर्नै परेन।
यस पटकको स्थानीय चुनावमा काठमाडौं लगायतका ठाउँमा स्वतन्त्र उम्मेदवारले मेयरमा जितेसँगै माहोल फेरिने झिनो सम्भावना देखा परेको छ। तर अघिल्लो पटकझैं यसपटक पनि एउटा सानो सफलताले ठूलो असफलतालाई जन्म दिने जोखिम उत्तिकै छ। त्यसैले नेपालमा यथास्थितिको राजनीतिलाई चुनौती दिने कोणबाट हेर्ने हो भने असाध्य संवेदनशील दोबाटोमा छौं हामी।
आगामी आम चुनावसम्म स्वतन्त्र उम्मेदवारीका आकांक्षीहरूले के गर्छन् भन्ने कुरा त्यसैले पनि धेरै महत्वपूर्ण छ। स्थानीय चुनावले देखाएको झिनो आशाको दियोमा तेल थप्ने कि त्यसलाई पूरै निभाउने भन्ने पनि अब उनीहरूकै हातमा छ।
वैकल्पिक राजनीतिको प्रयोगमा विगतको असफलता नदोहोर्याउने हो भने अब स्वतन्त्र उम्मेदवार बन्न चाहने सबैले विगतका पाठहरू मनन गर्नु जरूरी छ।
त्यस्तो पहिलो पाठ हो, पर्यटन राजनीतिको असफलता अवश्यम्भावी छ।
आजका दिनमा वारेन बफेट वा एलन मस्क पर्यटक बनेर नेपाल आउँदैमा हामी धनी हुन सक्दैनौं। त्यसै गरी सदियौंदेखि धमिलिएर चुनौतीको डंगुर लागेको हाम्रो राजनीति केही जना ‘स्वच्छ छवि’ का मानिसहरूको प्रवेशले सङ्लिँदैन। त्यस्तो राजनीतिक पर्यटनले ती पर्यटकको त हित गर्दैन नै, जिउज्यान दिएर राजनीतिमा लागेका अरू धेरैको भविष्य समेत बर्बाद पारिदिन्छ। र सिंगो वैकल्पिक राजनीतिक अभियानलाई असफलतातिर धकेलिदिन्छ।
पर्यटकहरूलाई अरू देशबाट नेपाल आउने इच्छा भएझैं सक्रिय राजनीतिबाट बाहिर हुने धेरैलाई पनि पर्यटक बनेर राजनीतिमा आउने र त्यहाँ चमत्कार गरेर देखाउने लालसा र आफूबाट चमत्कार हुन सक्छ भन्ने भ्रम हुन्छ। उनीहरूले दिल्ली राज्यको सरकारमा रातारात आम आदमी पार्टी सरकारमा पुगेको देख्छन् तर त्यसका लागि अरविन्द केजरीवालले दुई दशकभन्दा लामो समयसम्म गरेको गृहकार्य देख्दैनन्।
हामीलाई १४ दिनमा एउटा झुण्ड खडा गरेर उम्मेदवारी दिने होइन, १४ वर्षदेखि राजनीतिक मुद्दामा काम गरिरहेको र यसपटक सफल वा असफल जे भए पनि अरू दशकौंसम्म त्यस्तो काम गरिरहने उम्मेदवारहरूको खाँचो छ।
त्यसैले अबको आम चुनावमा स्वतन्त्र उम्मेदवारहरूले कस्तो प्रदर्शन गर्नेछन् भन्ने कुरा को को उम्मेदवार हुने छन् भन्ने तथ्यले मात्र होइन, कस कसले इच्छा हुँदाहुँदै पनि यो यथार्थ आत्मसात गर्दै उम्मेदवारीको योजनाबाट पछि हट्ने छन् भन्नेमा पनि भर पर्नेछ। त्यो किन पनि भने बग्रेल्ती स्वतन्त्र उम्मेदवारहरू हुँदा त्यसले व्यक्तिगत उम्मेदवारको भोट मात्रै घटाउँदैन, ‘स्विङ’ मतदाताहरूलाई दिग्भ्रमित बनाएर समग्र अभियानलाई नै क्षति पुर्याउँछ।
त्यसैले अहिले आगामी चुनावका लागि उम्मेदवारीको योजना बनाइरहेका सबैलाई मेरो अनुरोध छ- कृपया, ठण्डा दिमागले सोच्नुहोस् कि कतै राजनीतिमा तपाईंले चाहेजस्तो परिवर्तन ल्याउन तपाईं उम्मेदवार बन्दा भन्दा नबन्दा पो बढी मद्दत मिल्छ कि?
दोस्रो पाठ, कांग्रेस–एमाले–माओवादीप्रतिको वितृष्णा स्वतः स्वतन्त्र वा वैकल्पिक किसिमका उम्मेदवारहरूको मतमा परिणत हुन्छ भन्ने छैन। देशभर मानिसहरूले २०४७ यता बारम्बार ठूला पार्टीका नेताहरूलाई धारे हात लगाइरहेका छन्। तर मत पनि दिइरहेका छन्। त्यसैले ‘ठूला पार्टीहरू जति बदनाम हुन्छन्, हाम्रो सम्भावना उति बढ्छ’ जस्तो लागेर तपाईं अब उम्मेदवार बन्न चाहनु हुन्छ भने पनि दसपल्ट सोच्नुहोस्।
काठमाडौंमा बालेन शाह, धरानमा हर्क साम्पाङ र धनगढीमा गोपाल हमालले अरू पार्टीको बदनामीका कारण मात्रै चुनाव जितेका होइनन्। तीनै जनाले मतदातालाई के विश्वासमा लिन सकेका हुन् भने अब हामी फरक किसिमको नेतृत्व दिन्छौं, सेवा प्रवाहको स्तर उकास्छौं, मतदाताप्रति उत्तरदायी हुन्छौं।
त्यसो भनिटोपल्न कसैलाई गाह्रो छैन तर भन्दैमा पत्याउने चरणभन्दा नेपाली समाज निकै अगाडि बढिसकेको छ। अब तपाईंले स्वतन्त्र उमेदवारीका लागि आफ्ना दाबीहरू गर्दै जाँदा मानिसहरूले तपाईंको ट्रयाक रेकर्ड खोतलेर हेर्नेछन्। सबै उम्मेदवार बालेन, हर्क र गोपाल हुँदैनन्, होइनन् भन्ने मतदाताले खुट्याउँछन्।
२०६२/६३ को आन्दोलनमा तपाईं कहाँ हुनु हुन्थ्यो? त्यसपछि सुरू भएको चरम दण्डहीनताको दशकमा तपाईंले के गर्नुभयो? जब विदेशमा रोजगार गरेर फर्केकी युवतीलाई राज्यका प्रतिनिधिहरूले लुटपाट र बलात्कार गरे, त्यसको विरूद्ध तपाईंले आवाज उठाउनु भयो कि भएन?
जब दोस्रो जनआन्दोलन दबाउन सक्रिय भएकाले ‘भविष्यमा सरकारी सेवाका लागि अयोग्य’ घोषित लोकमान सिंह कार्कीलाई चार दल मिलेर दण्डहीनताको साझा उम्मेदवार बनाएर अख्तियारमा भित्र्याए, तपाईं कति दिन प्रदर्शनमा निस्किनुभयो? लगत्तै जब उनले आफैं भ्रष्टाचार र अख्तियार दुरुपयोग गरेको पुष्टि हुँदै गयो, जवाफमा तपाईंले के गर्नुभयो?
२०७२ सालको भुइँचालोले लाखौं नेपालीको बिचल्ली बनाइदियो। तपाईंले चार किलो चामल बाँडेर सेल्फी मात्रै खिच्नुभयो कि आफ्नो जीविका र करिअर नै बिर्सेर मानिसहरूको सेवामा खट्नुभयो?
यसबीच मेडिकल शिक्षा र स्वास्थ्य क्षेत्रको भद्रगोल अवस्था सुधार गर्न दशक लामो आन्दोलन चल्यो। त्यसमा तपाईंको भूमिका के थियो? तपाईंले रमिता मात्रै हेर्नुभयो, सामाजिक सञ्जालमा सुधारका पक्षमा केही लेख्नु मात्रै भयो वा रातदिन खटेर सडकमा निस्किँदै प्रदर्शन गरेका कारण हिरासतसम्म पुग्नुभयो?
पछिल्लो आम चुनाव भएर नेकपा सरकार बनेपछि उसले माइतीघरमा उभिन निषेध लगाउनेदेखि मिडियाको मुख थुन्नेसम्मको प्रयास गर्यो। राहदानी ऐनमा संशोधन गरेर तजबीजका आधारमा नागरिकलाई विदेश जानबाट रोक लगाउने प्रयास गर्यो। कानुन बनाउँदा व्यक्ति वा संस्था विशेषका लागि अपवादमूलक प्रावधान राखेर नीतिगत भ्रष्टाचारलाई संस्थागत गर्यो। काठमाडौंवासीको सांस्कृतिक धरोहर गुठीप्रथालाई नै निशाना बनायो। यी हरेक कदमको तपाईंले कति प्रतिरोध गर्नुभयो?
कोभिड लागेपछि नागरिक अस्पताल बेड, आइसियु र भेन्टिलेटरको अभावमा तड्पिरहँदा सरकारलाई राम मन्दिरको चस्का लागिरहेको थियो। कतिसम्म भने नेपालमा कोभिड भित्रिइसक्दा पनि राम नवमीमा मन्त्रीसहितको दलबल लगाएर मन्दिरमा मूर्ति भित्र्याइयो। अनि त्यो दिनसम्म टेलिकमको म्यासेजमा ‘विश्वभर फैलिइरहेको कोरोना भाइरस’ भनियो र मूर्ति थपनापछि मात्रै ‘नेपालमा फैलिइरहेको कोरोना भाइरस’ भनियो। उता कोभिडका उपचार सामग्री खरिदमा अर्बौंको घोटाला भयो। भारतका नरेन्द्र मोदीको सिको गर्दै ‘दबंग’ शैलीमा लकडाउन गरेका कारण विपन्न कामदारहरू महिनौं हिँडेर घर जान बाध्य भए।
तपाईंले यस्तो सरकारी अकर्मण्यता र भ्रष्टाचार विरूद्ध कति आवाज उठाउनुभयो? कति भोका मानिसहरूको पेट भरिदिनुभयो? कतिका खाली खुट्टामा चप्पल पहिर्याइदिनुभयो? पहिलो लकडाउन खुकुलो भएपछि युवाहरूले देशव्यापी रूपमा स्वतःस्फूर्त प्रदर्शन गरे, कतिले सत्याग्रह समेत गरे। तपाईं त्यसमा रमिते मात्रै बन्नुभयो कि राज्यलाई जवाफदेही बनाउन अघि सर्नुभयो?
हुँदाहुँदा खड्गप्रसादले पार्टीभित्रको विवादको झोकमा संविधान मिचेर दुई दुईपल्ट संसद विघटन गरे। उनको विकल्पमा बनेको 'संविधान-रक्षक' भएको दाबी गर्ने देउवा सरकारले २०४६ पछिका दलीय विकृति दोहोरिने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएर एमालेको फुट सम्भव बनाइदियो। सत्तामा हुनेहरूले व्यवस्थामाथि यस्तो खेलबाड गर्दा तपाईं कहाँ हुनु हुन्थ्यो?
यो देशमा अंगिरा पाशीदेखि निर्मला पन्तसम्मका हत्याराहरू कहिल्यै दण्डित भएनन्। नवराज बिक, उनका साथीहरू र निर्मला कुर्मीका हत्याराहरूलाई अहिले सत्तामा हुने दलहरूले संरक्षण नै गरिरहेका छन्। निहारिका राजपुतहरूको न्यायको लडाइँ अद्यापि जारी छ। दलीय स्वार्थमा सिंगो न्यायालयलाई नै पंगु बनाइएको छ। न्यायधीशहरूले बलात्कारीहरू होइन बलात्कृतहरूलाई दण्डित गरिरहेका छन्।
यी यावत् मुद्दामा तपाईंको आवाज कहिले कुन तीव्रतामा उठ्यो? तपाईं त्यस्तो अन्यायको प्रतिवादमा हुने कति प्रदर्शनमा सहभागी हुनुभयो वा आयोजना गर्नुभयो?
यी सबै सामाजिक–राजनीतिक मुद्दामा मेरो भूमिका के थियो भनेर यदि तपाईंले कपाल कन्याउँदै सोच्नुपर्छ भने यस पटकको आम निर्वाचनमा तपाईं पछि हटेकै राम्रो।
विगतको अनुभवले हामीलाई यस विषयमा सिकाउने तेस्रो तथा यस लेखका लागि अन्तिम पाठ- सक्रिय वा चुनावी राजनीतिभन्दा बाहिरै रहेर पनि समाजलाई प्रशस्त योगदान दिन सकिन्छ। समाजमा परिवर्तन चाहने तपाईं हामी सबैको एउटा साझा चुनौती छ- आफू कुन भूमिकामा रहँदा समाजलाई अधिकतम योगदान दिन सम्भव हुन्छ भनेर बेलैमा पर्गेल्नु।
त्यसो गर्न नसक्दा तत्कालीन साझा पार्टीको पर्यटक राजनीतिको हुलमुलमा मिसिएर धेरै जनाले धेरै कुरा गुमाएको इतिहास हाम्रैअगाडि साक्षी छ। त्यसैले राम्रो सोचविचार नगरी राजनीतिमा हानिएको छलाङले समाज र व्यक्ति दुवैलाई प्रशस्त क्षति गर्न सक्छ।
अन्तमा, आगामी आम चुनावमा उम्मेदवारी दिने मनसाय बोकेका साथीहरूलाई मेरो भद्र झक्झकाहट यत्ति हो- तपाईंको उम्मेदवारीले जिम्मेवार र जवाफदेही राजनीतिको धिपधिपे दियोमा तेल वा बतास दुवैको काम गर्ने सम्भावना रहन्छ। तपाईंलाई ‘म तेलको काम गर्न सक्छु’ जस्तो लाग्छ भने पनि कृपया एकपल्ट इमानदार भएर विगतको समीक्षा गर्नुहोस् कि विगत डेढ वा दुई दशकमा तपाईंले समाज र देशका लागि जे जे गर्न सक्नुभयो, त्यसले तपाईंको आकलनलाई पुष्टि गर्छ वा गर्दैन।
यदि गर्दैन जस्तो लाग्छ वा तपाईं दुविधामा हुनुहुन्छ भने आउनोस्, मझैं अलि पछि बसेर अघि जान चाहने साथीहरूको होस्टेमा हैंसे गरौं।