पूर्व डायरी - ३
ओखलढुंगाबाट सोलुखुम्बु पुगेर त्यहाँको काम सकेर फेरि ओखलढुंगाकै बाटो खोटाङ पुग्नुपर्ने भएकाले आज निकै दौडधुप हुनेवाला थियो। सल्लेरीको कामकाज सकेर सामूहिक तस्बिर क्यामरामा कैद गर्दै दिउँसो एक बजे बिदा भयौं। सुन्दर थुम्काहरूमा बसेका लोभलाग्दा बस्ती नियाल्दै।
ओखलढुंगाको हिलेपानीबाट दिक्तेल जाने बाटो समात्यौं। खोला किनारको फिलिली बाटो छ भन्ठानेको परतिर दूधकोशी पुलसम्म मात्रै रहेछ। दूधकोशीमाथि १२० मिटर लामो पुलको डिजाइन सुर्खेत जाँदा भेरी नदीमाथि बनेको पुल सम्झाउने। पुल तरेर उकालो चढ्दा घाम डाँडाबाट झर्ने तयारीमा थिए। बाटो त्यस्तै हो पडाडमा। अनेक 'युटर्न' वाला घुम्ती। कतै बिग्रिएको उबडखाबड। कतै पहिरोले कुरूप बनाएको। कतै सर्लक्क सफाचट। छरिएको बस्तीमाझ कोरिएको राजमार्ग उक्लिँदै गयौं।
धार्मिक त्रिवेणी - हलेसीधाम
हलेसी आउनै लाग्दा डाँडामाथि एउटा गज्जबको संरचना टाढैबाट चम्किरहेथ्यो। होटल रहेछ। नाम सोध्न र बुझ्न पाइएन। पहिले त झकिझकाउ बत्ती भएको ठाउँ हलेसी हो किजस्तो लाग्यो। टाढैबाट ढोग्न पनि भ्याइयो। तर फोटोमा हलेसी खोंचमा भएझैं लाग्थ्यो। गुफाजस्तै। एकाएक पहाडमा उक्लिनु त नपर्ने। सोच्दासोच्दै होटल डाँडैमा छुटिसकेर हामी त हलेसीमै आइपुगेछौं।
मन्दिर करिब करिब बन्द भइसकेको थियो। पूजारी र प्रहरीलाई अनुरोध गरेर दर्शन भने गर्न पाइयो। गुरुजीसँगै भित्र गएर उहाँबाट मन्दिरको महिमा सुनिरहँदा हलेसी क्षेत्रमै ड्युटी खटिएका फूर्तिला इन्स्पेक्टर प्रमोद आए। उनको जोशिलो आगमनसँगै प्रत्येक मूर्तिछेउ पुगेर जानकारी लिन पाइयो। मन्दिर दर्शन गर्न भिआइपिहरू आइरहने र प्रमोदले नै गाइड गर्नुपर्ने भएकाले मन्दिरको पूजापाठबाहेक सबथोक जानकारी रहेछ उनलाई।
हिन्दु, बौद्ध र किराँत तीनै समुदायको साझा धार्मिक त्रिवेणी रहेछ हलेसी। मन्दिरमा हिन्दु श्लोक कोरिएका। बुद्ध शाक्यमुनिका वाणी पनि। विश्वकै अनौठो भूबनोटयुक्त ठाउँ मानिने। पूर्वको पशुपतिनाथ, दोस्रो लुम्बिनी, आदिम भूमिजस्ता उपनामको धनी रहेछ हलेसी धाम। एकाछेउमा हिन्दुहरूले पूजा गर्ने ठाउँ। अर्कापट्टि बौद्धहरूले प्रार्थना गर्ने ठाउँ। मन्दिर परिसरका तीनओटा गुफा हलेसी, बसाहा र भैरवलाई मधुरो बत्तीको उज्यालोमा आँखा तन्काई तन्काई हेर्यौं।
अँध्यारोमै दिक्तेल पुग्दा
हलेसी दर्शनले ऊर्जावान भएर दिक्तेलतर्फ बढिरहँदा तुलसी पराजुली र लोचन भट्टराईको सुमधुर स्वर रहेको गीत याद आइरहेथ्यो- खोटाङ जिल्ला दिक्तेल बजार।
उहिले उहिले खुबै सुन्दा लाग्थ्यो एकपटक खोटाङको दिक्तेल पुग्न पाए! अब केही बेरमा पुग्नै नै थियौं। पुग्यौं। तर अँध्यारोमा पुगेकाले कौतुहलता झन् बढ्यो। उज्यालोको पर्खाइमा।
प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहाल एकाएक अस्वस्थ भएर सलाइन चढाएपछि निदाउनु भएको रहेछ। डिस्टर्ब गर्ने कुरा रहेन। ओसन बाबुले खानाको प्रबन्ध गरेका रहेछन्। चामल, दाल, तरकारी सबै लोकल। स्वाद नहुने कुरै भएन। जिब्रोमा स्वाद लागेपछि खाना नथप्नु कसरी? दोस्तहरूले बिहानै मन्दिर जाने योजना बुने। म त्यसको हिस्सा हुनेवाला थिइनँ। आफ्नो बेडतिर हानिएँ।
खोटाङलाई बुझ्दा
राति पुगेकाले दिक्तेल बजारको नाप नक्सा हेर्न पाइएको थिएन। बिहान दाहाल सरलाई पनि अलि सञ्चो भइसकेछ। उहाँसँगै प्रशासन कार्यालयकै आँगनीबाट वरिपरिका डाँडापाखा, फाँट, घरहरू नियाल्यौं। सेरोफेरोमा नजर दौडायौं। पूर्वमा भोजपुर। पश्चिममा ओखलढुंगा। उत्तरमा सोलुखुम्बु। दक्षिणमा उदयपुर।
अरे वा! यसरी ट्याक्कै मिलेर चार वटै दिशामा चार फरक जिल्लाले सीमाना छुट्याएका नेपालका आधा दर्जन जिल्लामध्ये खोटाङ पनि रहेछ। बाँकी पाँच वटा पूर्वदेखि पश्चिमको क्रममा मिलाउँदा तेह्रथुम, नुवाकोट, लमजुङ, जुम्ला र दैलेख भएको मात्र पाएको छु।
राई जातिको बाक्लो बसोबास रहेको। २०६८ को जनगणना अनुसार ३६.६ प्रतिशत राई जाति। खोटे राजाहरूले राज्य गरेकाले खोटेहाङ हुँदै खोटाङ नामकरण भएको मान्यता रहेको। ७५ हजारभन्दा बढी हेक्टर कुनै न कुनै किसिमको खेतीका लागि योग्य र उर्वर भूमि।
दुई नगरपालिका र आठ गाउँपालिका गरी १० स्थानीय तह। विकट भूगोल। राजमार्गबाहेक अन्यत्र कालोपत्रे बाटो नभएका कारण आवागमनमा कठिनाइ। तै पनि करिब १ लाख ७५ हजार जनसंख्या धानेको। जिल्लाको पुरानो सदरमुकाम त खोटाङ बजार रहेछ। २०२० सालपछि दिक्तेलतिर सार्न थालिएको।
दिक्तेल बजारमा गीतमा जति रौनकता बाँकी रहेनछ। कुनै बेलाको ठूलै व्यापारिक केन्द्रझैं लाग्ने दिक्तेल अहिले साँघुरिँदै गएछ। कतै सडक विस्तार, कतै ढलान, कतै खानेपानीको पाइप र विद्युतको तारको भद्रगोल व्यवस्थापन तत्काल हुने देखिँदैन। आधुनिकता ग्रहण गर्दै गरेका अधिकांश पुराना घरको गिजिङमिजिङ सजिलै हट्ने छाँट पनि छैन। यद्यपि सदरमुकामको मुहार फेर्न स्थानीय तह, प्रदेश र संघ सबै सरकार लागि परेकाले केही हुन्छ भन्ने आशा छ।
मूल बजारबाट ३-४ किलोमिटर पर रहेको कारागार। मूल सडकसँगै जोडिएको पुरुषलाई अटेसमटेस हुने गरी राख्न बाध्य र महिलालाई खुकुलो गरी राख्न सफल भवन छ। महिलातर्फको भवन भने जीर्ण भइसकेकाले बनाउनु पर्ने अवस्थामा पुगेको। कारागार भित्रको दैनिकी अरू जिल्ला जस्तै सामान्य। कोही ढाका टोपी र कोही मुडा बुन्न व्यस्त। कोही क्यारम, कोही चेस खेल्न मस्त।
जिल्ला प्रशासन कार्यालयमा नागरिकता लिनेको अत्यधिक चाप। कर्मचारी बेपत्तै कम। तीन जनामध्ये सबै खरिदारको सरूवा भएको। पाँच जना सुब्बामा तीन मात्र रहेका। सँगै मालपोत कार्यालय जोडिएकाले त्यहाँका गुनासा पनि प्रशासनमै आउने। ७४ किलोमिटर टाढा खोटाङ बजार र ऐंसेलुखर्कमा इलाका प्रशासन भए पनि दिक्तेलको चाप उस्तै छ।
जिल्लामा रूपान्तरणकारी आयोजनाका रूपमा दूधकोशी हाइड्रोपावर, अरुण हाइड्रोपावर, सुनकोशी नदीको फोक्सिङटार पुल, गाईघाट-दिक्तेल रणनीतिक सडक रहेका। ठूलै संख्यामा लाहुरेहरू भएका। जनजातिको बाक्लो बसोबास रहेको र घरेलु हातहतियार पड्काउने कार्य संस्कृति र संस्कारसँग जोडिएको हुँदा त्यसको समस्या निदान गर्नै कठिन रहेको बुझियो।
लागुऔषधको समस्या विकरालै छैन। तर दूधकोशी, हलेसी क्षेत्रमा प्रयोग बढ्दै रहेछ। उदयपुरको सीमानातिर गाँजा तथा गाँजाजन्य पदार्थ उत्पादन र कारोबारको समस्या छ। कारागारमा दुई जना कैदीबन्दी लागुऔषध मुद्दाका रहेछन्। अन्य लागुऔषधको चर्को समस्या नभए पनि सतर्क हुनुपर्ने भने देखिन्छ।
के-के छुट्यो त यसपालि?
सिलसिला कामको भएकाले बाटोमा पर्ने हलेसीधाम र त्यहाँको अलौकिक भूबनोट हेर्न पाइयो। बाटैमा रहेको भूलभूले दूधकुण्ड र त्यहाँका माछाबाहेक अन्यत्रका पर्यटकीय स्थलको दर्शन यसपटक गर्न पाइएन। बिहान अल्छी नगर्ने साथीहरू दिक्तेलको कालिका भगवती मन्दिर घुमेर आए।
त्यसबाहेक दिप्रुङ झरना, बराहताल, छितापोखरी, महादेव गुफा, साकेला थान, ट्याम्के डाँडा जस्ता सुन्दर पर्यटकीय ठाउँ सबैका लागि दोस्रो पटकलाई बाँकी रहे। गाडीबाटै आएकोले खानीडाँडा, लामीडाँडा र थामखर्क विमानस्थल टेक्नै कुरै भएन।
डिएसपी मित्र उमेशसँग बिहानीको खाना र रावाखोलाको मिठो माछा थपीथपी खाइयो।
सुनकोशी, दुधकोशी जस्ता ठूला, रावाखोला, सावाखोला, साप्सुखोला, तापखोला जस्ता मध्यम स्तरका र, मेवाखोला, टुवाखोला, तापखोला, तावाखोला, छेपेखोला, दिखुमखोला, वेलियाखोला, मखुवाखोला, रुपुवाखोला, लप्सेखोला जस्ता साना खोलैखोला भएको खोटाङका कुनै पनि खोलाको पानी स्पर्श गर्न पाइएन।
खोटाङका साथै उदयपुर, ओखलढुंगा, सोलुखुम्बु र भोजपुर लगायत जिल्लाका भूभागहरू देख्न सकिने रुपाकोट डाँडा पनि त उक्लिन छुट्यो। यी सबै ठाउँको चित्र मनमा कोरेर अर्को पटक आउने अभिलाषाका साथ खोटाङबाट मध्यपहाडी लोकमार्गको बाटो हुँदै भोजपुर लागियो।
(लेखक उपाध्याय गृह मन्त्रालय, लागुऔषध नियन्त्रण शाखाका प्रमुख हुन्।)
पूर्व डायरी- १ ओहो, ओखलढुंगा!
पूर्व डायरी- २ सोलु सरर, मनै हरर
(गोकर्णप्रसाद उपाध्यायका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुस्)