अनलाइन टिकट! त्यो पनि कर्णालीतिर उड्ने हवाइजहाजको। सम्झिऽऽऽने पानी छम्किनेऽऽऽ।
लाइन बस्दा बस्दा त टिकट पाउने ग्यारेन्टी नहुने ठाउँमा अनलाइन? यता देशको पारा देखेर पशुपतिनाथले चलाएका छन् भन्ने गरिन्छ। कर्णालीको हवाइ यातायातको पारा देख्दा कतै मष्टो देवताकै भरमा चल्याको त छैन भन्ने लाग्छ। दुईपटक कर्णाली पुगिसक्दा पनि चाल पाएको छैन।
सिलसिलामा सरकारी काम। जानुपर्ने जुम्ला। उड्नुपर्ने नेपालगञ्जबाट। टोली पाँच जनाको। पाँचै जनालाई एकैपटक जान सम्भवै भएन। तीन जनासम्म मिलाउन सकिन्छ कि भन्ने दुविधायुक्त कुरा आयो जुम्लाका सिडिओ मेडम विजया कुमारी प्रसाईबाट।
धुकचुक धुकचुकमै काठमाडौंबाट बिहानै नेपालगञ्ज जाने भइयो।
तर कर्णालीको प्लेन हो। नउडुन्जेलसम्म जुनसुकै बेला नउड्न सक्छ भन्ने डरले सताउन थाल्यो।
कर्णाली जाने तीन ओटा एयरलाइन्स छन् अरे! सीता एयरको आज रद्द भयो, भोलिलाई तिनै यात्रु रहे, टिकट पाउने सम्भावनै रहेन। समिट एयरको एउटा फ्लाइट पूरै 'प्याक'। तारा एयरको पनि सारा टिकट बिक्री भइसकेछन्। त्यसमाथि रारामा पर्यटकको घुँइचो लाग्ने सिजन भएकाले एयरलाइन्सहरूको पारा त्यही हो- नेपाली यात्रुभन्दा विदेशी पर्यटकलाई प्राथमिकता। रारा नभए लुक्ला जान मन गर्छन्।
यो सबै बुझ्दा हाम्रो भने मनै अमन हुन थालेको थियो। त्यसमाथि 'अब कुनै एयरलाइन्सले दोस्रो फ्लाइट गरेछ भने मात्र सम्भावना भयो है सरहरू' भन्दै जुम्लाका सहायक सिडिओ प्रमिला म्यामले भन्नुभयो।
अरू जिल्लामा दिउँसो बेस्सरी हावा चल्ने भएकाले पहिले त्यता फ्लाइट गरेर मात्र जुम्ला जाने रहेछन् प्लेनहरू। अब त झन् प्लेन जाने नजाने टुंगो हुन दिउँसोसम्म कुनुपर्ने भयो। भोलि कार्यक्रम छ। गाडी नै रिजर्भ गरेर लैजाऊँ? न प्लेन आइहाल्छ कि?
म, किशोर र किरण। आजै जुम्ला पुग्ने योजनाका साथ हिँडेका तीन थान राष्ट्रसेवक काठमाडौं एयरपोर्टमा प्लेनको पर्खाइमा थियौं। चालामाला यताका एयरलाइन्सको पनि निको थिएन। एक घन्टा 'डिले' भइसकेको थियो श्री एयरलाइन्सको प्लेन।
उता नेपालगञ्जबाट यही बेला एक जना महिला स्टाफले फोन गरेर भनिन्, 'तपाईंहरूलाई दोस्रो फ्लाइटमा तीन ओटा सिट मिल्न सक्छ।'
ला ! हामी त काठमाडौंमै पो छौं।
'नो प्रोब्लम, भ्याउनुहुन्छ। बरू यता ल्यान्ड गर्नासाथ कल गर्नु।'
यति सुनेपछि भोलिको कार्यक्रम हुने आशा जागृत भयो। उता कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रमुख अतिथि बन्न सुर्खेतबाट बिहानै गाडी लिएर जुम्ला प्रस्थान गरिसक्नुभएको थियो। प्रमुख अतिथि पुग्ने, आयोजक नपुग्ने भए त्यो भन्दा लाजमर्दो के होला?
फेरि धुकचुक धुकचुक। थ्री इडियट्सका आमिर खानलाई सम्झिँदै भन्नुपर्ने भयो 'अल इज वेल'।
यता डेढ घन्टा भइसक्यो प्लेन डिले भएको। क्याप्टेन आउन ढिलो भएर अरे!
त्रिभुवन विमानस्थलको यात्रु कक्षमा छिटफुट खाली सिट। भीड भने खचाखच। स्वर्गीय रवीन्द्र अधिकारी पर्यटन मन्त्री हुँदा विमानस्थलभित्र केही थान कुर्सी थप्दा वाहवाही भएको प्रसंग चल्यो। जाबो सानोसानो सुधार हुँदा चीरकालसम्म खुसी हुने हामी। त्यत्ति पनि गर्दैनन् र पो त!
सीता एयर, नेपालगञ्जबाट पुनः जुम्लाको फ्लाइट हुने पक्का भयो भन्दै फोन आयो। उता जुम्लाको टिकट कन्फर्म त भयो यता काठमाडौंको प्लेन उड्ने नामै लिँदैन।
बल्ल बल्ल यात्रुलाई बोर्डिङ गरेर बसमा चढाइयो। बीस मिनेट भइसक्यो बस डेग चल्दैन। अरू एयरलाइन्स फुत्तफुत्त उड्ने हाम्रो चाहिँ थचक्क बसिरहने? तरिका हो? यात्रुहरूको धैर्यको बाँध बिस्फोट हुनेवाला थियो। क्रु मेम्बरले मनपरी गरेकामा स्टाफसँग रिसाएर के अर्थ?
'यो कुरा अब मिडियामा आउँछ,' यात्रुहरू कराउन थालेपछि तिनको तनाव व्यवस्थापन गर्नकै लागि भए पनि बस मन्द गतिमा प्लेनतिर मोडियो। यात्रु एकएक गरी एयर-होस्टेसको कृत्रिम हाँसोले अघिको तनाव बिर्सिँदै प्लेनमा उक्लिए।
अबको पखाई प्लेनभित्रै। प्लेन रोकिएकै ठाउँमा केहीबेर रोकिइरह्यो। बल्लबल्ल गुड्न थाले पनि केही समय एयर ट्राफिकमा अड्किनै पर्यो।
भैरहवा विमानस्थल सञ्चालनमा आए त कम होला कि एयर ट्राफिक?
कुरा चलिरहँदा प्लेनले भुइँ छोड्यो। भुइँ छोडेर उड्ने हजुर पश्चिम दिशामा...।
प्लेनमा छटपटी छ सबैलाई। कोही सिट सार्छन्। कोही सिट बेल्ट। कोही झ्यालबाट थुम्का थुम्की चियाउँछन्। कोही 'फ्यान' चलाउन खोज्छन्। प्लेनमा दिने खाजा कोभिडले खाइदियो। अहिले दिनु पर्दैन। फाइदै भएको छ एयरलाइन्सलाई।
दुई घन्टा ढिलो गरी १ हजार ३४० मिटरको उचाइमा रहेको त्रिभुवन विमानस्थलबाट उडेको प्लेन त्यति नै समय ढिलो गरी १४० मिटरको उचाइमा रहेको नेपालगञ्ज विमानस्थलमा अवतरण भयो। अघि एयर-होस्टेसले 'अठार हजार फिटको उचाइमा उड्नेछौं' भने पनि खासमा उन्नाइस हजार पाँच सय तीन फिटसम्म उडेको कम्पासले देखाइरहेको थियो।
यसपालि नेपालगञ्ज ल्यान्ड हुनासाथ घरभन्दा पहिले अघि आएको फोन पछ्याउँदै सीता एयरको काउन्टरमा खबर गरेँ। जुम्ला जाने निश्चित गर्न काउन्टरतर्फ हानियौं। भनेअनुसार न्यौपाने जीलाई भेट्यौं।
सामान कति छ? सोधियो।
टाढैबाट देखायौं। लगेज जोख्न हाल्यौं।
ह्यान्डब्याग समेत जोख्न भनियो। सूचनामूलक सामग्री पनि थियो। चार किलो बढी भयो अरे! निकाल्न भनियो। तीन सय ग्राम बढी पनि स्वीकार्य भएन। अनुरोधले कसैलाई छुनेवाला देखिनँ।
वाह रे! एयरलाइन्स तिम्रो 'एक्युरेसी' भन्न मन लाग्यो।
खोज्न त यस्तै 'एक्युरेसी' खोजेको हो। समयमा। मूल्यमा। रेस्पोन्समा। सेवामा। बढी भएको सामान फर्किँदा बर्दिया लैजाने गरी नेपाल प्रहरीको जिम्मामा छोड्यौं।
प्रतिव्यक्ति सात हजार तिर्यौं। बोर्डिङ पास र टिकट त उहिलेउहिले शाही नेपाल वायुसेवा निगमले दिने टाइपकै रहेछ। हस्तलिखित। टिकटमा जति मूल्य लेखे पनि भयो। राज्यलाई जति देखाए पनि भयो। हातमा टिकट परेको डेढ घन्टा त्यहाँ पनि हल्लिँदै, सोध्दै गयौ। प्लेन कति बेला आउने? कति बेला उड्ने? केही टुंगो छैन। काउन्टर ग्राहकमैत्री छैनन्।
झन्डै बीस वर्षपछि सीता एयरको प्लेन चढ्दै थिएँ। बीस वर्षअघि साथी अंगद सीता एयरमा कार्यरत रहँदा र बाले दिने महिनावारी ४-५ हजार रूपैयाँको भरमा काठमाडौंमा गुजारा गर्दाताकाको प्लेन चढ्ने रहर अंगदले नै बिना पैसा र बिना टिकट काठमाडौंदेखि धनगढीसम्म फ्रीमा उडाएर पूरा गरेका थिए। यसपालि सरकारको खर्चमै उड्दै भए पनि तत्काललाई गोजीबाटै तिर्नुपर्ने थियो।
लामो प्रतीक्षापछि सीता एयरको फुच्चे प्लेन उड्दै आएर बस्यो। फ्युल भर्यो। जहाजभरि मान्छे बोकेर बत्तिँदै उकालो लाग्यो। कान गुम्म भए। बेलाबेला स्वाट्टस्वाट्ट तल झार्दा मुटुले ठाउँ छोड्थ्यो। दायाँबायाँ समाउने ठाउँ थिएन। अगाडि यात्रुहरू आफ्नै सिट च्याप्प अँठ्याएर बसेका देखिन्थे। जे होस् ३ हजार ६२० मिटरसम्मको उचाइमा हिमालको सामुन्नेबाट उड्दै जुम्ला एयरपोर्टमा झर्न पाइयो। जीवनकै पहिलो जुम्ला यात्रा अविस्मरणीय रह्यो।
प्लेनको जुम्ला यात्राले मलाई तीन दशकअघिको बाल्यकालमा पुर्याएर अवतरण गर्यो। बझाङ जिल्लाको एयरपोर्ट अगाडिको गाउँमा।
जागिरे बा कहिले तराई कहिले पहाड। ठूलाबाले हाँकेको संयुक्त परिवार। ठूलाबा पनि प्रायः जजमानी गर्न र मुद्दा मामिला मिलाउन हिँडिरहने। म लगायत भाइबहिनीलाई हेर्ने जिम्मा पाएकी असी नाघेर कुप्रो परिसकेकी बजी (बज्यै) को वरिपरि दिनहरू बित्थे। बजी मेरो सबैभन्दा नजिक थिइन्। त्यो पहाड थर्काउँदै, क्षितिजमा उड्दै आएर सेतीपारिको समतल जमिनमा बस्ने वस्तु देखाउँदै बजीलाई सोध्ने गर्थेँ।
'बजीऽऽ, बजीऽऽऽ त्यो क्या हो?'
बजी भन्थिन्, 'चीलगाडी।'
'चीलगाडी क्या अर्न आयाको हो?'
'नेपाल झान्या माइस (मान्छे) लिन आयाको हो।'
'नेपाल काँ हो बजी?'
'काँ पो हो? राजाका देश भन्दाछन्।'
बजीले अर्को जुनी लिइसक्नुभयो होला यो तीन दशकमा। तर बजीले चिनाएको दुर्गममा उड्न्या चीलगाडीले जुनी फेर्याको नाइँ। कर्णाली उड्न्या प्लेन हेर्दा त्यस्तै लाग्छ। न उड्न्या ठेगान छ। न लिन्या भाडाको। अलिकति प्रविधिको प्रयोग गरिकन टिकट दिन्या व्यवस्थासम्म नाइँ। हातमा बोक्न्या ह्यान्डब्याग समेत जोखिकन पन्ध्र किलोभन्दा सय ग्राम बढी पनि लिन नपाइन्या।
म फ्ल्यासब्याकबाट फर्किरहँदा मष्टो देवतै चढ्याझैं गरी बर्बराउँदै थिए एक यात्रु, 'मुस्कानसहितको सेवाको कुडा गर्नु हुँदो तपाईं। ठुस्किएरै भया पनि सेवा त दिया हुन्या। लुक्ला जान्या पर्यटक भेट्या जुम्लाका छाडी उतै कुद्न्या। रारा जान्या भेट्या हुम्ला जान प्लेनभित्र बसिसक्याका यात्रु झारीकन उतै उड्न्या। अऽऽऽ बद्नाम मौसमकन गर्न्या। कर्णालीका हावाकन गर्न्या।'
हामीभन्दा कैयौं गुणा धेरै हैरानी निरन्तर खेपिरहने कुनै जुम्लाबासी हुनुपर्छ। किनकी भर नाइँ नउड्यासम्म जुनसुकै बेला नउड्न सक्न्या कर्णालीका चीलगाडीको।
(लेखक उपाध्याय गृह मन्त्रालय, लागुऔषध नियन्त्रण शाखाका प्रमुख हुन्।)
(गोकर्णप्रसाद उपाध्यायका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुस्)