छोराले सोध्यो- मम्मी, त्यो राति-राति घर आउने, बिहान-बिहान हामी स्कुलको लागि तयार हुँदै गर्दा दौडिँदै घरबाहिर निक्लिने हाम्रो ड्याडी नै हो?
छोरीले सोधी- मम्मी, डाइनिङ रूममा कहिलेकाहीँ हामीसँगै खाना खाने, खाना खाँदा बारम्बार फोन आइरहने अनि फोनमा कहिले बिरामीको पिसाब कति छ? दिसा के छ? हावा गयो कि गएन? कहिले ब्लड प्रेसर कति छ भनेर सोध्ने मान्छे हाम्रो ड्याडी नै हो?
बहिनीले सोधी- दिदी, त्यो अस्ति पार्टीमा झुलुक्क झुल्किने अनि हतार-हतार हस्याङ-फस्याङ डिजर्ट खाएर अलप हुने के हाम्रा भेना नै हुन्?
छिमेकीले सोधे- ए बैनी, रातबिरात एम्बुलेन्स आँगनमा आएर नाइट ड्रेसमै टपक्क टिपेर लैजाने के तिम्रा बुढालाई नै हो?
प्रश्नको शृंखला जारी नै रहँदा एकदिन भगवान नै आएर सोधेछन्- बालिके, सबै जना मेरो पूजा गरेर आयु बढाइदिने आसिक माग्छन्। मैले गर्ने त केही होइन। मेरो दूत बनेर जन्म-मृत्युको बीचमा आएर टक्कै उभिदिने तर थोरै जस र बढी अपजस पाउने त्यो मान्छे तिम्रै बुढा त हैनन्? खोइ कहाँ छन् ती?
श्रीमतीज्यू एकछिन चुप्प बस्छिन् र एकछिनमा बोली फुटाउँछिन्- आज उहाँको पाटन अस्पतालमा ड्युटी छ।
यस्तो सधैं फुर्सद नहुने पेसा अँगालेका ती डाक्टरलाई एकचोटि जसरी पनि भट्ने भगवानलाई इच्छा जागेछ। भगवान आफ्नो यान चढेर आकाशमार्ग हुँदै ती डाक्टर काम गर्ने अस्पताल पुगे। डाक्टर इमर्जेन्सीमा व्यस्त थिए।
भगवानले सोचेछन्- आफू भगवानकै रूपमा भेट्नुभन्दा बरू एउटा बिरामी बनेर डाक्टरलाई भेट्छु।
भगवान तुरून्तै एउटा बिरामीको रूप धारण गर्छन् र ती डाक्टरको सामुन्ने पुगेर आफ्नो पेट समात्दै बोल्छन्- मलाई साह्रै गाह्रो भयो डाक्टरसाब। पेट बेस्मारी दुख्यो। लौन मलाई उपचार गर्दिनुस्। मलाई बचाउनुहोस्!
अर्को एक जना सिरियस बिरामी हेर्दै गरेका ती डाक्टरले सुरूमा त ती बिरामीरूपी भगवानलाई इमर्जेन्सीको टिकट बनाएर ल्याउनुस् त भनेर एकथरी काम दिन्छन्।
टिकट लिएर जचाउन आउनुस् भन्दा त भगवानलाई एकछिन झनक्क रिस उठ्छ। तर ठीकै छ सोच्दै उनी टिकट बनाउने झ्यालतिर लाग्छन्।
बाहिर निस्किँदै गर्दा साइडको बेडमा भगवानले तिनै डाक्टरलाई देख्छन् जो एउटा बिरामीको छाति जोडजोडले थिचिरहेका छ्न्। डाक्टर असिनपसिन देखिन्छन्। तर बेडमा काठको मुढा जसरी लमतन्न सुतेको मान्छेको उठ्ने र बिउँतिने चालामाला थिएन।
एकछिनपछि टिकट बनाएर बेडमा बसिरहेका ती बिरामीरूप धारण गरेका भगवानसामु डाक्टर आइपुग्छन्।
डाक्टर सोध्छन्- कहाँ दुख्छ तपाईंलाई? कहिलेदेखि दुखेको हो?
यी प्रश्नको जवाफ दिँदै भगवान सबै नालीबेली बताउँछन्।
सामान्य जाँच गरिसकेपछि ती डाक्टर भगवानलाई सोध्छन्- रक्सी, चुरोट खानुहुन्छ?
डाक्टरको प्रश्नमा मनमनै हाँस्दै भगवान ‘खान्नँ’ भनेर छोटो उत्तर दिन्छन्। त्यसपछि ती डाक्टर गर्नुपर्ने जाँच र दिने औषधिका बारेमा भगवानलाई भन्छन्।
एकछिनमा भगवानले एउटा अप्ठ्यारो प्रश्न सोधेर ती डाक्टरलाई आच्छुआच्छु पारौं न त भन्ने सोच्छन्। नर्सिङ स्टेसनमा पुगेका ती डाक्टरलाई हातको इशाराले आफ्नो बेडतिर आउने साउती गर्दै भगवान आफूले राख्ने कुरा सोच्न थाल्छन्।
डाक्टर उनको बेड नजिक पुगेपछि भगवान बोल्छन्- ल डाक्टरसाब, म सब टेस्ट त जसोतसो पैसा जम्मा गरेर गर्नेछु तर तपाईंले मलाई ग्यारेन्टीका साथ रोग ठीक पार्दिनेछु भनेर बाचा गर्नुपर्यो। तब मात्रै म टेस्ट गर्न तयार हुन्छु, ग्यारेन्टी छैन भने जाँच गरेर के काम?
बिरामीको रूप धारण गरेका ती भगवानको यस्तो कुरा सुनेर एकछिन त डाक्टर के भनौं के भनौंको अवस्थामा पुग्छन्।
करिब दुई मिनेटको मौनपछि डाक्टर बोल्छन्- हेर्नुस् मैले पढेको किताब र सिकेको अनुभवबाट तपाईंलाई उपचार गर्ने हो। म महान आत्मा होइन। म सिर्फ तपाईंको दुःख कम गर्न बसेको एउटा माध्यम हुँ। तपाईंले खोजेको त्यस्तो ग्यारेन्टी तपाईंलाई मैले त दिन सक्दिनँ। तर यो संसारमा दुई जना छन् जसले तपाईंलाई सत प्रतिशत ग्यारेन्टी दिन सक्छन्।
डाक्टरको यस्तो कुरा सुनेर भगवानलाई कौतुहलता जाग्यो।
भगवानले सोधे- को हुन् मलाई ग्यारेन्टी दिन सक्ने?
भगवानको प्रश्नमा उत्तर दिँदै डाक्टर बोल्छन्- हजुर, तपाईंलाई त्यस्तो ग्यारेन्टी कि त कुनै ठगले दिन सक्छ कि त भगवानले। म पुस्तक र अनुभव प्रयोग गर्ने सामान्य मानिसले त्यो ग्यारेन्टी दिन कदापि सक्दिनँ।
डाक्टरको उत्तर सुनेर भगवानलाई नै पर्नु आपत आइलाग्यो। किनभने उनको प्रश्न फेरि उनैमाथि आएर तेर्सिएको थियो।
भगवानलाई पनि थाहा छ- मानिसको नाशवान शरीरको कसैले पनि ग्यारेन्टी दिन वा लिन सक्दैन।
एकछिन त भगवानलाई आफू र ठगलाई एउटै तराजुमा राखिएको पो हो कि भनेझैं पनि भयो। भगवान यस्तो सोच्दै थिए, फेरि ती डाक्टर एउटा सिरियस बिरामीको उपचारमा तल्लीन हुन थाले।
भगवानले चारैतिर हेरे। इमर्जेन्सी माछाबजारजस्तो थियो। जता हेर्यो त्यतै दुखाइ र सन्ताप छ। भगवानलाई डाक्टरको माया लागेर आयो। सधैं यो 'नेगेटिभ इनर्जी' मा सकेसम्म पोजेटिभ भएर काम गर्ने डाक्टरलाई कसरी हुन्छ अझ धेरै सकारात्मक ऊर्जा दिनुपर्छ भन्ने सोच भगवानलाई आउँछ। यही सोच राख्दै भगवान बिस्तारै इमर्जेन्सीबाट अन्तर्ध्यान हुन्छन्।
भोलिपल्ट बिहान इमर्जेन्सीमा भीडभाड थियो। सबै मान्छे हिजो बिरामी रूप धारण गरेका ती भगवान बसेको बेड वरिपरि झुम्मिएका थिए। ती डाक्टर पनि भर्खरै अस्पताल आइपुगेका थिए। त्यो बेडमा के भएछ भनेर उनी पनि त्यतै लागे।
बेडमा कोही थिएन। तर बेडमाथिको भित्तामा बेटाडिनको जस्तो रङले मिलेका र बान्की परेका अक्षरमा केही लेखिएको थियो।
अगाडि पुगेर दुईटै गालामा हात लगाएर ती डाक्टर भित्तामा लेखिएको लाइन पढ्दै थिए।
भित्तामा लेखिएको लाइनको अन्तिम शब्द काटेर त्यसलाई ‘ठग’ शब्द बनाइएको थियो।
पहिले लेखिएको लाइन- ग्यारेन्टी सिर्फ दुई जनाले दिन सक्छन्ः कि त ठग कि त भगवान!
भित्तामा पछि लेखिएको लाइन- ग्यारेन्टी सिर्फ दुई जनाले दिन सक्छन्ः कि त ठग कि त ठग!
(डा. आयास लुइँटेल पाटन अस्पतालका आवासीय चिकित्सक हुन्।)
ट्वीटर: @luintelaayas
(डा. आयास लुइँटेलका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुहोस्।)