भ्युटावरको विरोध गर्नेहरूलाई व्यंग्य कस्दै हालै एमाले अध्यक्ष केपी शर्मा ओलीले भनेछन्- 'यिनीहरूले त भीमसेन थापालाई पनि मूर्ख भन्छन्, धरहरा बनाएका थिए नि। धरहरामा कति मुरी धान फल्यो, कति दूध दियो, कति मासु दियो यिनीहरू त यस्ता खोज्दा रहेछन्। अब समाज भनेको दाल, भात र तरकारी मात्र होइन।'
ओलीको भनाइसम्बन्धी यो समाचारले अरू धेरै नेपालीहरूलाई जस्तै मलाई पनि एकसरो मनोरञ्जन दियो। एक हास्यकलाकारले भनेको भए त्यो एउटा गजब चुट्किला पनि बन्ने थियो। तर इतिहासको यो कालखण्डमा ओली जस्तो जिम्मेवारीमा छन्, त्यसले भने मलाई भीमसेन थापाकालीन नेपालको वास्तविक अवस्थाबारे गम्भीर मनन गर्न बाध्य बनायो।
दुई शताब्दी अगाडिको नेपाली समाज, त्यो बेलाको शासक–शासित सम्बन्ध अनि जीविकाका लागि भुइँ–मानिसहरूको संघर्ष बुझ्न मैले विद्वान इतिहासकार लुडविग स्टिलरको 'द साइलेन्ट क्राइ' पुस्तकका केही हिस्साहरू दोहोर्याएर पढेँ। यी दुई शताब्दीको समयमा समेत नबदलिएका कुराहरू र खास गरी शासक–शासित सम्बन्धमा आउन नसकेको परिवर्तनले मलाई झस्कायो।
सन् १९७६ मा पहिलो पटक सहयोगी प्रकाशनद्वारा प्रकाशित 'साइलेन्ट क्राइ' को कभरपृष्ठ। पृष्ठभूमिमा हस्तलिखित सुगौली सन्धिको पहिलो पृष्ठ।
र लाग्यो, ओलीले धरहराका लागि भीमसेन थापाको जयगान हुनुपर्छ भन्ने आशय राख्नु र उनी लगायत नेपाली शासकहरूको अहिलेको पुस्तामा भीमसेन थापाको शासकीय प्रवृत्ति दोहोरिनु संयोग मात्रै थिएन।
बाबु प्रतापसिंह शाहको मृत्युसँगै दुई वर्षको उमेरमा सन् १७७७ मा राजा बनेका रणबहादुर शाह सन् १७९९ मा स्वामी निर्गुणानन्द बनेर संन्यासमा गए। सन् १८०६ मा नेपाल फर्केर शासन फिर्ता गर्ने प्रयास गरेका उनी लगत्तै सौतेला भाइ शेरबहादुर शाहको शिरोच्छेदनमा परेर मारिए।
तर रणबहादुर शाहको मृत्युलगत्तै निर्वासनभर उनको अंगरक्षक बनेर बसेका भीमसेन थापाको हातमा सत्ता पुग्यो। त्यसका दुई कारण थिए।
एक, सन् १७९७ मा जन्मेका नयाँ राजा गीर्वाण युद्ध विक्रम शाह नौ वर्षे बालक थिए।
दोस्रो, भीमसेन थापाले भण्डारखाल पर्वमा ९३ जना प्रतिस्पर्धी भारदारहरूको हत्या गराए।
राजा गीर्वाण युद्धको १९ वर्षकै उमेरमा मृत्यु भएकाले उनका तीन वर्षे छोरा राजेन्द्र विक्रम शाहको समेत मुख्तियार बनेर थापाले नेपालमा तीन दशक लामो समयसम्म शासन गर्न पाए। भीमसेन थापाको शासनकालमा नेपालले अंग्रेजसँगको सन् १८१४–१८१६ को युद्धमा हार बेहोर्यो। लगत्तै सुगौली सन्धि भयो।
त्यसपछिका दुई दशकसम्म शासन गर्दा भीमसेन थापाले जे गरे वा गरेनन्, त्यो धरहरा निर्माणलगायत देशको विकास र अविकासका लागि आजका दिनसम्मका लागि सान्दर्भिक कुरा हो।
स्टिलर भन्छन्- भीमसेन थापाको सबभन्दा ठूलो असफलता ग्रामीण नेपालीहरूको दयनीय अवस्थामा सुधार ल्याउन नसक्नु वा झनै खराब हुन दिनु हो।
कसरी त?
सन् १७४४ देखि सुरू भएको नेपाल बिस्तार अभियान धेरै हदसम्म आर्थिक रुपमा स्वनिर्भर थियो। नयाँ जमिन जित्न र शासन चलाउन खर्च बढी लाग्थ्यो तर त्यहाँबाट आउने करलगायतको आम्दानी पनि बढ्थ्यो। तर त्यो आम्दानीको बढोत्तरी देशमा गाभिएको नयाँ जमिनको उत्पादकत्वमा भर पर्थ्यो। पश्चिमतिर बढ्दै जाँदा नयाँ आम्दानीले खर्च धान्न छाडेका कारण नेपालका किसानहरूमाथि करको भार बढ्दै थियो।
सन् १८०९ मा नेपालको पश्चिमतिरको बिस्तार यात्रा रोकियो तर लगत्तै अंग्रेजसितको युद्धको तयारी सुरू भयो। परिवारहरूले राज्यलाई अतिरिक्त अन्न मात्रै दिनुपरेन, युवा जनशक्ति पनि दिनुपर्यो। हातहतियार बनाउन श्रमदान पनि बढाउनुपर्यो। स्वभावतः युद्धको भार आम मानिसहरूमाथि पर्यो।
त्यसैले युद्ध सकिने बेलासम्म आम नेपालीहरू निकै शुष्क र कंगाल बनिसकेका थिए। यो पृष्ठभूमिमा युद्ध सकिएपछि नेपालको ठूलो भूभाग गए पनि बचेको भूभागका मानिसहरूलाई आर्थिक राहत हुने अपेक्षा हुनु स्वभाविक हो। शान्तिकालमा समाज अघि बढ्ने र जीविका सहज हुने अपेक्षा पनि स्वभावतः थियो। तर परिणाम उल्टो भइदियो।
आम मानिसको अवस्था फेरिनका लागि उनीहरूको शिरमाथि रहेको अचाक्ली करको दर घट्नुपर्थ्यो, त्यसका लागि राज्यको खर्च घट्नुपर्थ्यो। खर्च घटाउन युद्धकालमा बिस्तारित सेनाको आकार घट्नुपर्थ्यो। देशको आर्थिक गतिविधि विविधीकरण भएर व्यापारको बढोत्तरी हुनुपर्थ्यो। जनसंख्या बढेसँगै जीविकाका नयाँ उपायहरू खोजिनुपर्थ्यो।
तर भीमसेन थापाले नेपाल–अंग्रेज युद्धपछिका दुई दशकभर ती कुनै काम गर्न सकेनन्।
देशभरको जमिन जागिर र बिर्ताका रूपमा पाउने मूलतः सैन्य पृष्ठभूमिका प्रशासकहरूको स्वार्थअनुसार युद्धकालमै कर प्रणालीमा घातक परिवर्तनहरू ल्याइसकिएको थियो।
जस्तो कि, पहिले जागिर वा बिर्तावालासित अधियाँमा जमिन लिएर किसानहरुले (त्यो बेला किसान भन्नु नै मोही किसान हुन्थ्यो किनकि नेपालमा जमिनमाथि निजी स्वामित्व सुरू भएको पछि मात्रै हो) खेती गर्थे भने अब कुत प्रणाली सुरू गरिएको थियो। नयाँ व्यवस्थामा आधा नभई निश्चित जमिनका लागि तोकिएको मात्रामा कर बुझाउनुपर्थ्यो, चाहे खडेरीले बाली नै नास गरोस्, चाहे पहिरोले खेतै बगाएको होस्।
त्यस्तै पहिले अन्नले कर तिर्ने गरेकोमा अब सिक्कामा कर तिर्नुपर्थ्यो। तर देशलाई आवश्यक पर्ने सिक्काको निक्कै सानो हिस्सा मात्रै यथार्थमा उपलब्ध थियो। देशको सीमित तामा ठूलो सेनाको हतियार बनाउन जाने हुँदा पर्याप्त सिक्का कुँद्ने विकल्पसमेत राज्यसित थिएन। त्यसैले आवश्यक मात्रामा सिक्का जुटाएर कर तिर्नु आम किसानका लागि महाभारत थियो।
सिक्काको त्यही अभाव जागिर र बिर्तावाल प्रशासकहरूका लागि अर्को अकुत कमाइको स्रोत थियो। सिक्कामा पहुँचकै कारण उनीहरू मोही किसानहरूसित निकै सस्तोमा अन्न किनेर महँगोमा बेच्न सक्थे।
यसरी वर्षैपिच्छे जस्तो बढ्ने कुत तिर्न नसकेर ठूलो संख्यामा किसानहरू थातथलोबाट विस्थापित हुन्थे। कुत निर्धारणमा लिलाम बढाबढ हुने हुँदा धेरै कबोल्नेहरूले मलिलो जमिनमा खेती गर्न पाउँथे र त्यहाँका साविक किसानहरू विस्थापित हुन्थे। कबुलअनुसार कुत तिर्न नसके ती नयाँ किसान पनि फेरि विस्थापित हुन्थे।
यसरी जनसंख्याको ठूलो संख्या परम्परागत थातथलोबाट विस्थापित भएर नोकर, दास वा कमाराकमारीका रूपमा धनी मानिसहरूका घरमा परतन्त्र रूपमा बाँच्न अभिशप्त हुन्थे।
भीमसेन थापाको शासनको विशेषता के थियो भने उनी दासप्रथाको निन्दा गर्थे, कतै उजुरी पर्यो भने कुनै दासलाई मुक्त गर्न आदेश पनि दिन्थे। तर देशको सिंगो जनसंख्याबाट बढ्दो संख्यामा दास उत्पादन हुने अवस्था रोक्न सिन्को भाँच्थेनन्। न युद्धकालमा कडा पारिएका कुतका प्रावधान खुकुलो पार्नु, न सिक्काको प्रवाह बढाउनु, न व्यापारको बिस्तार गरेर जीविकाका नयाँ उपायहरू सिर्जना गर्नु।
कतिसम्म भने सेनाका सिपाहीहरूलाई पूरा पाल्न नसकेर एक वर्ष सेवामा राखेपछि दुई वर्ष अनिवार्य बेतलबी बिदामा घर पठाइन्थ्यो। तर सुधारका काम चाहिँ ठप्प थिए। जबकि अंग्रेजहरूले नेपालबाट खोसेपछिको कुमाउँका नयाँ प्रशासक जोर्ज विलियम ट्रेलले त्यस्तै ससाना सुधार गरेर पाँचै वर्षमा कुमाउँवासीहरूलाई धेरै राहत दिएका थिए। त्यहाँको उत्पादकत्व बढेसँगै कुमाउँ क्षेत्रबाट अंग्रेज सरकारले गरेको आम्दानी नै त्यो अवधिमा झण्डै ४० प्रतिशतले बढेको थियो।
भारदार र सेनाका उच्च अधिकारीसमेत सीमित मानिसहरू मात्रै धनी हुने र बाँकी सबै देशवासी अभाव र गरिबीमा पिसिने त्यो व्यवस्थामा धरहराजस्ता संरचनाको निर्माण शासकीय अहंकार कायम राख्न अनिवार्य थियो। आजका दिनसम्म पनि हामीलाई धरहरा, सुन्धारा, त्रिपुरेश्वर मन्दिर र बाग्मती पुलजस्ता संरचना कसले बनाए भन्दा भीमसेन थापाको नाम आउँछ। तर उनको शासनका तीन दशकमा रैतीबाट दासमा झरेका, भोकै र नांगै रहेका हाम्रै पुर्खाहरूको अवस्था हामीले सहजै बिर्सन्छौं। कारण, इतिहास लेख्ने ठाउँमा उनीहरू कहिल्यै पुगेनन्।
ओलीको भाषण सुनेर भीमसेनकालबारेको किताब पढेपछि मलाई लाग्यो- नेपालमा शासन गर्नेहरूको चरित्र आजका दिनसम्म बदलिएको छैन।
आजका दिनमा पनि देशभर जनप्रतिनिधिहरूबीच भ्युटावर, प्रवेशद्वार र मूर्तिहरू स्थापना गरेर 'अमर' हुने हुटहुटी छ। तर अस्पतालहरूमा औषधि छैनन्। स्कुलमा शिक्षक र विद्यार्थी छैनन्। विपन्न मानिसहरू सरकारी अस्पताल गएर पनि ऋणै थपिने गरी खर्च गरेर उपचार गर्न बाध्य छन्। धेरै सरकारी अस्पतालका दरबन्दीहरू पञ्चायतको सुरूआतदेखि अहिलेसम्म उत्तिकै छन्।
विपन्न मानिसहरू समेत उपचारका लागि घरखेत बेचेर निजी अस्पताल जान बाध्य छन्। मध्यम वर्गका युवाहरू छोराछोरीलाई ठिकठाक शिक्षा दिन मात्रै पनि अरबका मरुभूमिमा कठोर श्रम गर्न बाध्य छन्। महँगो उपचारकै कारण बर्सेनि पाँच लाख नेपाली गरिबीको रेखामुनि धकेलिइरहेको समाचार त केही दिनअघि मात्रै आएको थियो।
सायद भीमसेन थापाको पालामा 'धरहरा त ठिकै हो तर गरिबी र दासताको जुवामा पिसिएका मानिसलाई राहत चाहिँ किन नदिएको?' भनेर उनलाई सोध्ने पनि कोही थिएनन्। तर आज भने 'भ्युटावरको खर्च पूरै फजुल हो, त्यो धनराशि अस्पताल र स्कुलमा किन खर्च हुँदैन?' भनेर प्रश्न सोध्ने जमात ठूलो छ।
ओलीलाई त्यो प्रश्न र आलोचना पचेको छैन र उनले भ्युटावरको विरोध गर्नेहरूको बारम्बार गिल्ला गरेका छन्। उसो त मानिसहरूलाई त्यसरी मनोरञ्जन नदिइरहने हो भने त्यस्तै अरु कठिन प्रश्न थपिन्छन् भन्ने उनलाई राम्रै थाहा छ।
जस्तो कि, वर्ष दिनमा विस्थापित गर्ने भनिएका तुइन किन चार वर्षे ओलीशासनपछि पनि ज्यूँका त्युँ छन्? विश्व रेकर्ड नै राख्ने गरी एकै दिन देशभर उद्घाटन भएको सयौं सरकारी स्वास्थ्य संस्थाका जग किन पुरिइसके? भएका स्वास्थ्य चौकीमा निःशुल्क हुने भनिएका ३५ थरीमध्ये किन एउटा पनि औषधि उपलब्ध छैन?
यस्ता प्रश्न तब झनै पेचिला हुन्छन् जब ओलीको गृहजिल्लाको भ्युटावरे विकास उदांगो हुन्छ। झापाको भद्रपुरमा रहेको अञ्चल अस्पतालमा आजका दिनसम्म पञ्चायतकालमा झैं ५० बेडको दरबन्दी छ। अस्पताल २०० सिट क्षमतामा चलिसके पनि दरबन्दी र पूर्वाधार थप्नमा देशभरका अरू अस्पतालमा झैं यहाँ पनि सत्तामा पुग्ने सबै पार्टीहरूले निरन्तर कञ्जुसी गरेका छन्। बिर्तामोडनेरको शनिश्चरे प्राथमिक स्वास्थ्य केन्द्रमा दैनिक सयौं बिरामीको ओइरो लाग्छ तर अहिले त्यहाँ जम्मा एक चिकित्सक छन्। त्यहाँ पनि सरकारले निःशुल्क दिने भनेका औषधिहरूको अभाव छ।
भीमसेन थापाले शान राख्न धरहरा बनाउँदै गर्दा एकतिर लाखौं मानिसहरू चर्को कुत तिर्न नसकेपछि पुर्खाको थातथलो छाडेर कमाराकमारी बस्न धनी मालिकको खोजी गर्दै थिए। अर्कोतिर हजारौं मानिसहरू चारकोशे झाडीको औलो छिचोलेर भारततिर भासिँदै थिए।
अहिले पनि ओलीले झापामा सगर्व अर्बौंको भ्युटावर ठड्याउँदै छन्। तर युवाहरू दैनिक हजारौंको संख्यामा भारतको कालापत्थरदेखि अरबका मरूभूमिसम्म गइरहेकै छन्। जसले केही वर्षअघिसम्म सन्तानलाई अरब पठाउने सपना देख्थे, महँगो उपचारले गरिबीतिर धकेलेपछि उनीहरूमध्ये धेरै अब तिनलाई कालापत्थर पठाउन मात्रै सक्ने अवस्थामा पुगेका छन्।
भीमसेन थापाको शासनका बेला बिर्तावालहरूले एउटा सिक्कामा एक पाथी अन्न किने भने त्यसलाई बेचेर तीनवटा सिक्का कमाउँथे। त्यसरी थुप्रिँदै जाने धन काठमाडौं लगायतका सहरमा लगानी गर्थे। गाउँलेसित गाँस काटीकाटी अन्न दिएर पाएको एकाध सिक्का कर तिर्दा सकिने हुँदा कहिल्यै धन हुँदैनथ्यो। गाउँ र गरिब पर्यायवाची थिए।
अहिले पनि देशमा धनको अभाव छ, गाउँमा सिटामोल नपाएर मानिस मरिरहेछन् अनि जयसिंह धामीहरूका ज्यान तुइनहरूले लिइरहेका छन्। तर सत्तामा हालीमुहाली हुनेहरूले आफ्नो जिल्ला वा निर्वाचन क्षेत्रमा अर्बौंको फजुल खर्च गरेको गर्यै छन्।
सायद त्यसैले भीमसेन थापाप्रति केपी ओलीको गहिरो अनुराग छ। भीमसेन थापाका उनीजस्ता भ्युटावरप्रेमी उत्तराधिकारीहरू नेपालमा धेरै छन्। भ्रष्ट नेता र कार्यकर्ताहरू पनि सबै पार्टीमा छन्। भागबण्डा गरेर सरकारी स्वास्थ्य र शिक्षणसंस्था धराशायी बनाउन अनि निजी संस्था खोलेर नाफाखोरी गर्नमा पनि सबै पार्टी संलग्न छन्।
तर ओलीको एमाले एउटै यस्तो पार्टी हो जसलाई यी कुनै काम गरेकोमा ग्लानिबोध छैन, बरू गर्व छ। त्यसैले ओलीले आलोचकहरूको ढुक्कसँग मजाक उडाउँदै छन्- धरहरामा कति मुरी धान फल्यो, कति दूध दियो, कति मासु दियो, यिनीहरू त यस्ता खोज्दा रहेछन्।
नोट- सन् १९५६ मा नेपाल आएका लुडविग एफ. स्टिलर सन् १९६९ मा नेपाली नागरिक बनेका थिए। अमेरिकी विश्वविद्यालयहरूबाट डिग्री लिएर आएका स्टिलरले त्रिभुवन विश्वविद्यालयबाट फेरि इतिहासमा स्नातकोत्तर र विद्यावारिधि गरे। सन् १९६८-१९७४ मा त्रिविमा इतिहास विषय पढाए। नेपालको इतिहासबारे उनले Prithvi Narayan Shah in the light of Dibya Upadesh, The Rise of the House of the Gorkha, The Silent Cry र Letters from Kathmandu: The Kot Massacre जस्ता किताब प्रकाशन गरेका छन्।
एजुकेसनल पब्लिसिङ हाउसले पुनः प्रकाशन गरेका यी किताबका नयाँ संस्करण अहिले पनि नेपाली बजारमा उपलब्ध छन्। नेपालको इतिहासमा पृथ्वी नारायण शाहको काठमान्डू विजय अभियानदेखि राणा शासनको अन्तसम्मको समयबारे उनका लेक्चरहरूको पोडकास्ट संस्करण केही वर्षअगाडि Record Nepal ले प्रकाशित गरेको थियो जसलाई यहाँ सुन्न सकिन्छ।